“हो र ?”

“होइन होला ।”

“व्यापक छ गाउँभरि ।”

“कसको रैछ ?”

“खै कसको बोकी कसको ?”

“नखरमाउली केटीहरू सम्हाल्नै गाह्रो भैसक्यो ।”

“केटी मात्र कहाँ समाजै भाँडिसक्यो ।”

“कुरा गर्‍यो कुरा कै दुःख ।”

पँधेरोमा पानी थापिरहेका महिलाहरू कुरा गरिरहेका थिए । चिया पसल, पानी पँधेरो लगायत दुई चार जना जमघट हुने ठाउँमा त्यही चर्चा चलेको हुन्थ्यो ।

“गाउँमा सानो कुरा पनि  डढेलो जस्तै फैलिन्छ । डढेलोले सके जति डढाउँछ पनि ।” चिया पसलमा गफ गर्दै मनवीरले कुरा शुरु गरे ।

“सरोकार नै नभएकालाई के फरक पर्छ । हात विष, पात विष, खाए विष, नखाए के गर्ला विष ।”  जस्वाले थप्यो ।

“आफूलाई पर्ला भन्ने होइन कि गाउँमा नै जटिल समस्या आयो भन्ने हो” फोन्स्याले जोड्यो ।

“अलिकति थप न थप” हर्के अलि अलि लागेको सुरमा बोलिरहेको थियो ।

“खाएको पैसा दिन मर्न जान्छ, घिच्छ मात्र” सन्तोली रिसाए जस्तो गर्छे ।

“नरिसाऊ सन्तोली यस्तै छ एक्लो जिन्दगी । भोलि हिसाब पाउँदै छु सबै ऋण चुकाउँछु ।” हर्के फकाउन खोज्छ ।

“तिर्ने होइन, भन्ने मात्र । जुनेलीको कुरा के रै सुन्यौ ?”  जिज्ञासा राखी सन्तोलीले ।

“खै आजकलका केटाकेटीहरू खेल्दै जिस्किँदै दुर्घटना हुनसम्म…” हर्केले थपेको गिलासलाई सुरुक्क गर्दै । “चर्चा त निकै छ नि” सन्तोलीले गिलासमा अझै थपेर गई ।

“तिमीले सुनेको मैले पनि हो, नयाँ नौलो केही छैन ।” हर्के लरबराउँदै गर्दा अरू ग्राहक थपिए ।

आइमाईहरूको पँधेरोगफ, चिया पसलको चर्चा र सन्तोलीको भट्टीबहसको विषय एकै थियो । प्रसंग थियो — जुनेलीको गर्भधारण ।

जुनेली गर्भवती भएको कुरा एक कान दुई कान मैदान भएको थियो । अविवाहित केटी गर्भवती हुनु गाउँभरि कै चासोको विषय हो । जुनेलीका बुवाका लागि चिन्ताको विषय हो । समाजको चासो र चिन्ताको विषय हुँदा हुँदै पनि मजाक र खिसीको विषय बनेको छ । परिस्थिति यस्तै रह्यो भने जुनेली मात्र होइन धेरै कन्या गर्भवती भएको देखिने भयावह छ । जुनेलीको बाबू धनवीर मात्र होइन पुरै परिवार तनावमा रह्यो ।

थाहा पाएदेखि परिवारले विभिन्न किसिमले सोधपुछ गरिरहेका छन् । कुनै बेला सम्झाएर, कुनै समय हप्काएर । समाजका अगाडि लाजको पसारो भयो । यसको भनी बताई मात्र दे तिमीलाई केही पनि हुँदैन अनुनय विनय गरी सोधे । जुनेली बोल्नु  ढुङ्गो बोल्नु  एकै थियो ।

यस्तै गर्दा दिन बिते, महिना बिते, अन्तिम समय आउनै लाग्यो । जुनेलीकी आमा पारुले निकै कोसिस गरी । धनवीर र पारुको केही सीप चलेन छोरीको अवैध पेट बोकेको पाल्न बाहेक उपाय पनि केही थिएन । केही समयअघि मात्र थाहा भएको भए फाल्न सकिने थियो । त्यो समय पनि गयो ।

अबको विकल्प जुनेलीलाई मुख खोल्न लगाई जिम्मा लगाउने । जन्मने शिशुको नाता हक कायम गरिने । अर्को विकल्प दुख परेको मान्छेलाई आमाछोरा जिम्मा लगाउने कानुनी उपचार र व्यवस्थापन दुवै हुन जाने । अनिर्णयको बन्दी भएर रुमल्लिइरहेका थिए धनवीर दम्पती ।

सदरमुकामका धेरै होटेल रात्रि भन्दा पनि दिउँसो बुकिङ हुन्छन् । फोन तथा सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरी भेट्ने ठाउँ र गर्ने क्रियाकलाप पूर्व निर्धारित नै हुन्छन् । पूर्व सूचनाअनुसार निर्धारित ठाउँमा पुग्छ । आफ्नो काम पूरा गर्छन् र आफ्नो बाटो लाग्छन् ।

पुलिस प्रशासनले पनि राति निगरानी बढाउँछ तर दिउँसो त्यति महत्त्व दिएको हुँदैन । विभिन्न बहानामा शहर पस्छन् र त्यहाँका गतिविधिमा सामेल हुँदै घर फर्कन्छन् । कहिले मेला–महोत्सव, कहिले जात्रा, कहिले कापी किताब किन्न त कहिले साथीले बोलायो भनी । हरेकलाई शहर पस्ने बहाना चाहिएको हुन्छ । होटेल  होटेलमा कुकृत हुने गर्दछन् । जुवा, तास, वेश्यावृत्तिको अखाडा नै भन्दा हुन्छ ।

बढ्दो बेरोजगारी, चलन चल्तीको फेसनले मानिसलाई कुकृत गर्ने प्रेरित गरिरहेको छ । साथीहरूको लहलहैमा लाग्नै पर्ने, अरूहरूले गरे जस्तै गर्नु पर्ने, सामाजिक सञ्जालको अधिकतम प्रयोगले मानवीय समवेदना समेत बाँकी रहेको छैन । जताततै विकृति विसङ्गति फैलिएको छ । आत्महत्याका घटना दिन प्रतिदिन बढिरहेको छ । चोरी, डकैती, लुटपाट पनि बढेकै छन् ।

अस्ति मात्र डल्लीले आत्महत्या गरी । एउटा केटाले डल्लीलाई दुई चार दिन लगेछ घरले स्वीकार गरेन भनी फर्काएछ । घर फर्किनु बेकार सम्झी आत्महत्याको बाटो रोजी । मैना भिरबाट लडेर मरी भन्ने समाचार आयो ।
एउटा केटालाई स्वीकार गराई घरजम गर्नु अर्को अक्करे भीर रोज्नु । दुई विकल्प थिए । भीरको बाटो सहज लाग्यो त्यही रोजी मैनाले । यी यस्ता प्रतिनिधि घटना मात्र हुन् ।

वेलुमति अर्काको पेट बोकी, लैजाला भन्नेले धोखा दियो । सीमित रकमका लागि अस्मिता बेची अन्ततः समाल्न गाह्रो भयो । आत्महत्या रोजी ।

निलु पढाइमा अब्बल थिई । जेहेन्दार विद्यार्थीको रूपमा विद्यालयमा निकै प्रशंसा हुन्थ्यो । लहलहैमा साथीहरूको संगतले अवैध सम्बन्धको लतमा परी पढाई  बिग्रियो । गर्भपतन गराउन शहर गएकी । बढी समय भएको गर्भपतन गर्न धेरैले अनकनाए । गराउनु नै पर्ने भएकाले गर्भपतन गराई । अत्यधिक रक्तस्राव भयो । उपयुक्त उपचार पाउन सकेन ज्यान गयो ।

शहर बजार देहव्यापारका केन्द्र नै भैसके । सानोतिनो प्रयासले कसैले रोक्ने सोच गरे पनि सम्भव हुन सकेको छैन । कसैलाई विभिन्न परिस्थितिले त्यहाँसम्म पुर्‍याउँछ भने कोही लहलहैमा त कोही मनोरञ्जन गर्दा गर्दै चपेटमा पर्न जाने अवस्था छ । आज केटाकेटी हुर्काउनु भन्दा बढी कुलतबाट जोगाउन मिहिनेत गर्नु पर्ने हुन्छ । हरेक क्षण कुलत, विसङ्गति, विकृतिसँग जोडिने भय हुन्छ । भड्किलो व्यवहार, सामाजिक सञ्जालको दुरुपयोगले मानवीय भावना नै समाप्त भैसकेको छ । विकृति यति बढेको छ कि जसले प्रत्येक दिन आपराधिक घटना र दुर्घटना गराइरहेको छ ।

घटना त घट्छन् नै ।  कुनै घटनाले अवसर पनि सिर्जना गर्छ । घटना दुर्घटना भयो भने भयावह हुन्छ । धेरै त पर्छ टर्छ । त्यस्तै समस्या पनि निम्त्याउँछ र आफै समाधान पनि हुँदै जान्छ । सानो घटनाले पुरै गाउँ प्रभावित पारेको हुन्छ । घटना सानो होस् वा ठूलो त्यसको चर्चा विभिन्न किसिमले हुने गर्छ ।

चोकमा बसेका बेला, पानी पँधेरो गएका समय, विद्यालयमा शिक्षकहरू बीच त्यस्तै विद्यार्थी विद्यार्थी, अनि जहाँ अलिकति जमघट भयो त्यहाँ विभिन्न थरी कुरा चलिहाल्छन् । दुई महिला एक ठाउँ भेटिए भने घण्टौँ कुरा गरिदिन्छन् । ‘तिमीलाई मात्र भनेको, कसैलाई नभन्नु नि’थेगो हुन्छ यो, सबै ठाउँमा सबैसँग यहीँ प्रवृत्ति दोहरिने ।

त्यसैको सिलसिलामा गोप्य मान्ने, गोप्य राख्न चाहने, यौनका कुरा सजिलै फैलिन्छन् । हुन त काम पर्दाभित्रै हुन्छ, लुकिछिपी हुन्छ तर चर्चा परिचर्चा त्यसैको बढी हुन्छ । घटनाहरू अधिकांश त्यसैसँग जोडिएका हुन्छन् । चाहे महिला–महिला कुरा गरुन्, चाहे पुरुष–पुरुष कुरा गरुन्, चाहे महिला–पुरुष कुरा गरुन् यौनकै प्रसंग हुन्छ । बूढापाकामा नि चलेकै हुन्छ, खेल्दै गरेका बालवनितामा पनि । चाहे त्यो मजाकमा होस् या गम्भीर, चाहे त्यो आफ्नाको होस् या पराइको प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कुरा सुरु हुन्छ  त्यही प्रसंगबाट  र त्यही प्रसंगमा नै टुंगिन्छ ।

अहिले जुनेली चर्चित बनेकी छ । हर्क साहुको पसलमा चिनी किन्दै जनकले कुरा बढायो, “अभिभावकले मेरा केटाकेटी के गर्दैछन् हेर्नु पर्ने हो, चासो राख्नु पर्ने हो, सरोकार नराखेको रहेछ क्या हो ?”

“खै के भन्नु भड्किलो गतिविधि हुँदा बुझ्नु पर्थ्यो, यतिका समय हुँदा त्यत्तिकै हेरिरहे केही उपाय खोजे पनि हुन्थ्यो ।” हर्के साहुले जोड्यो ।

“एउटा पालेर राख्ने भेट्टायो भने जिम्मा लगाउन पाए पनि हुन्थ्यो ।” जनकले फेरि सुझाव दिँदै भन्यो ।

“निकै जटिल परिस्थिति आइलाग्यो ।” चिनीको झिल्ली दिँदै हर्के साहुले भन्यो ।

त्यतिखेरै देवसिंह आइपुग्यो “के छ हो साहुजी नयाँ नौलो, तपाईंको त बस्तीभरि निकै हल्लीखल्ली छ । आगो बढाउनु भन्दा निभाउनु ठिक हुन्थ्यो । यहाँ त पानी हाल्ने भेटिँदैनन् घ्यू थप्ने मात्र आउँछन् ।”

“यस्तै भयो, यस्तो होला भन्ने डर निकै अघिदेखि थियो ।”

पसलमा कुरा चल्दै गर्दा दीले आइपुग्यो । पुग्दै गर्दा कुरा जोडिहाल्यो । एक दुई गर्दा गर्दै निकै जमघट नै  भयो । कुरा के के हुन लागे । कोही उदाहरण प्रस्तुत गर्ने । कोही के कोही के । कुराको प्रसंग, नङरका मान्छे, पातका चरा, भातिभाती बोल्छन् भने जस्तै भयो । एकछिन पछि सबै एक एक गरी पसलबाट बाहिरिए ।

० ० ० ०

एकाएक जुनेलीलाई व्यथा लाग्यो । जुनेलीबाट जन्मने सन्तान अवैध हो भन्ने गाउँलाई थाहा छ, परिवार पूरा जानकार छ । तैपनि मानवीय समवेदना स्वरूप पनि अस्पताल पुर्‍याउन लागे धनवीरले । अस्पताल उपचारका लागि सदरमुकामको प्रसूति गृहमा राखेका थिए ।

मनको पीडा थाम्नै नसकी बुबाले सोधे, “अन्तिम  समय आइसक्यो अब त भन जुनेली त्यो कुलंगार को हो जसले यस्तो बित्यास पार्‍यो ।”

बुवाको बाध्यता, समस्या बुझी जुनेलीले मुख खोली, “लहरी गाउँको जंगे थापा ।”

एता उपचार चलिरहेको छ भने उता धनवीरले कारबाही शुरु गर्यो । लहरी गाउँको जंगे थापाको तीन पुस्ते खोजेर एउटा वकिल मार्फत नाता कायम गरिपाउने मुद्दा  लेखायो । फिरादको ब्यहोरा उपचारको शय्यामा रहेकी जुनेलीलाई भेटेर वकिलले तयार गरे ।

‘ब्यहोरा ठिक साँचो हो, फारक परेमा कानुन बमोजिम सहुँला–बुझुँला’ लेखिएको नेपाली कागजमा जुनेलीले ल्याप्चे लगाई । हदै सम्मको कारबाहीको माग दाबी लेखिएको थियो । धनवीर अरू कारबाही भन्दा पनि जन्मने शिशुको जिम्मा मात्र लिए त्यही कारबाही मानिन्थ्यो भन्ने बुझाइ थियो । जुनेलीलाई पनि एक दिनको प्यास मेट्ने स्वार्थीसँग जीवन त के काटिन्थ्यो तर लोक लाजबाट बाचिन्छ भन्ने थियो । सत्य सत्य ब्यहोरा भन्ने छु र न्याय पाउनेछु । जन्मने नवजात शिशुले बुवा भन्ने र कानुनी रूपमा भोलिका दिनमा लेख्न पाउने छ । उपचार भन्दा बढी महत्त्व छ मुद्दाको । नयाँ जन्मने बच्चाको पहिचान अहम् हुनेछ ।

यस्तै सोच्दै दस्तखत गरी ल्याप्चे लगाई । हदै सम्मको कारबाही र सत्यतथ्य छानबिनमा विश्वस्त थिई । राति अबेरसम्म डक्टरहरूको अथक प्रयासले आमा शिशु सकुशल राखी प्रसूति सफल भयो । सफलताको परिणाम सुन्ने, सफलताको कथा सुन्ने, खुसीयालीको मिठाइ बाँड्ने कोही थिएन । सत्यतथ्य कसैले सोध्यो भने अवैध शिशुलाई जन्म दिएको समाचार बन्ने थियो । लाज पचाएर धनवीरले खबर सुने । कागजमा लेखिएको औषधि सामग्री पुर्‍याए ।

मुद्दाभन्दा फरक बाटो गए कानुनी उपचार छिटो हुन्छ भन्ने वकिल सावको सुझाव आयो । जबरजस्ती करणीको निवेदन लेखियो । जिल्ला प्रहरी कार्यालयमा दर्ता गरियो । दुवै उपचार पाउने कल्पनासँगै प्रसव पिडालाई रातदिन काट्दै थिई जुनेली ।

लहरी गाउँको जंगे थापाको घरमा पुलिस गए । जंगेलाई समातेर ल्याए । जि.प्र.का पुर्‍याएपछि आमा शिशु मगाइयो ।

छलफल शुरु भयो । जुनेलीले घटनाको सबै बेली बिस्तार गरी ।

जंगे भन्छ, “मैले गल्ती गरेकै छैन । के छ प्रमाण ?”

“प्रमाण यही बालक हो” जुनेली प्रतिउत्तर दिन्छे ।

‘हो, होइन’को बहस–विवाद मै दिन गयो ।  नानी रोयो ।

“तिम्रो छोरो रोयो, फकाऊ” जुनेलीले भन्दा “जसको हो उसैले फकाउला” जंगेले जवाफ दियो ।

धनवीर पनि रिसको झोकमा कस्सिएर बोल्यो, “अर्काकी छोरी बिगार्ने, जिम्मा लिन आनाकानी गर्ने न्याय दिलाई पाऊँ हजुर ।”

स्थिति बुझी ड्युटीको सिपाहीले जुनेलीको बचाउको भाषामा भन्यो, “जंगे तिमीबाट बिगार भए जस्तो छ, बेहोर्नु बाहेक अरू उपाय छैन ।”

जंगे इन्कार गरिरह्यो । दिन ढल्यो नानी समातेर जुनेली गेटबाट बाहिरिई ।

एउटाले सोध्यो, “के हो ?”

पुलिसले जवाफ दियो, “ज क”।

अर्कोले सोध्यो “को हो ?”

पुलिस बोल्यो जुनेली ।

जसरी गाउँभरि चर्चा थियो त्यसरी शहरका चोक चोकमा चर्चा छ जुनेलीको । चिनेका नचिनेका सबैमा त्यही चर्चा छ – मल्लाघरे साइँलो धनवीरकी छोरी जुनेली । पुलिस पुलिसमा पनि खासखुस चल्यो ।

“त्यो त उहीँ हो” एउटाले भन्यो ।

“झन्डै कुटाकुट परेको त्यो मेलामा”अर्कोले थप्यो ।

“त्यो दिनको ड्युटीमा भएकालाई थाह होला” तेस्रोले थप्यो ।

“चालामाला त ठिक थिएन, दुर्घटना भैहालेछ” चौथो पुलिसले थपे ।
डिउटीपोस्टमा रहेको सिपाही बोल्छ, “लग्यो भने छोरो उपहारमा छ ।”

“बहु बिहाले जागिर पनि जाने, मामाघर पनि बस्नु पर्छ” टाढा रहेको सिपाहीले उतै बाट उत्तर फर्कायो ।

पुलिस बिच पनि जुनेलीको चर्चा हुन लाग्यो । मेलाड्युटी, बजारड्युटीमा   रहेका केटाहरूले देखेको विषयमा कुरा गर्दागर्दै धनवीर र जुनेली बाहिरिए ।

दोस्रो दिन बिहानै स्थानीय छापामा जबरजस्ती करणीको मुद्दा दर्ता भएको समाचारको अग्र भागमा लेख्यो । समाचार पत्रहरूले अविवाहित बालिकाले बच्चा जन्माई, बलात्कारका घटना दिनानुदिन बढ्दै, बालिका बलात्कार एक युवक पक्राऊ, नाबालकले जन्माइन् शिशु यस्ता यस्ता विभिन्न शीर्षकका समाचार देखिए छापामा । धेरैले पुलिसलाई, धेरैले अस्पताललाई, धेरैले गाउँलेलाई स्रोत बनाएर समाचार लेखेका थिए ।

द्रुत सञ्चारको युगमा सरोकार राख्ने नराख्ने सबैले जानकारी पाएका थिए । हत्या, बलात्कार जस्ता घटनाको खबर सनसनी फैलिएका हुन्छन् । सामाजिक सञ्जालले पनि बढाई चढाइ गरेर लेखे । छापामा सामाजिक सञ्जालका वालहरूमा, चोकचोक चियापसल, होटलहरूमा त्यही विषयले चर्चा पायो । सकारात्मक खबर सञ्चार हुन समय लाग्छ । विकृति, विसङ्गति र नकारात्मक खबर छिटो सञ्चार हुन्छ ।

अझै कति दिनसम्म जुनेलीको चर्चा हुने हो ? कि यो आगो निभ्न अर्की जुनेली चर्चामा आउनु पर्ने हो ?

परशुराम १२ डडेल्धुरा