मलेसियाको समयानुसार रातिको तीन बजेको छ । कोठाभित्र अन्धकार छाएको छ । सबै मीठो निद्रामा मस्त निदाएका छन् तर सोहन एक्लै सागरको गहिराइमा गएर सोचिरहेको छ । चिन्तित छ ।

बिहान उठेर नुहाउनु, खाना पकाउनु छ उसले । सात बजे ड्युटी जानु छ । परन्तु निद्रा भने कता कुन अँधेरो कुनामा हरायो ? खोज्दै छ । तर कतै भेटिँदैन । झन् उसको मनमा बेचैनी व्यापक हुँदै छ  ?

मलेसियामा सेक्युरिटी गार्डको जिन्दगी पनि के जिन्दगी ? कहिले बिदा नहुने । बाह्र घण्टा काम । मलेसियामा सेक्युरिटी गार्ड हुनु चुनौतीपूर्ण कार्य रहेछ । बिरानो देशमा अरूको सम्पत्तिको सुरक्षा गर्नु त्यति सजिलो काम पक्कै पनि होइन ।अरूको सम्पत्तिको सुरक्षा गर्दागर्दै आफ्नो जीवन असुरक्षित हुने । स्वयम्लाई सुरक्षित राख्नु नै ठुलो लडाइँ जितेजस्तो हुन्छ । यता चोरहरूको बिगबिगी छ ।

हिजो बिहानै दस बजेको घटना हो । कालू दाइ होस्टेलबाट बिस मिनेटको  दुरीमा रहेको बैङ्कमा पैसा झिक्न जानुभएको थियो । घर पैसा नपठाएको दुई महिना जति भएको थियो । तीन हजार रिङगेट पैसा बैङ्कबाट झिकेर नेपाल पढाउन आईएमईतर्फ जाने बेला अचानक एउटा मोटरसाइकलमा दुई काले आए । एकले कालू दाइलाई पछाडिबाट बेसरी समात्यो, अर्कोले उनको गोजीमा भएको  मोबाइल, पैसा सबै थोक निकाल्यो । र भागे । किन्तु चोटपटक लागेन । पोर्ट केलाङको बिच बजारमै सयौँ मान्छेहरूको अगाडि । महिनाभरि दैनिक पन्ध्र सोह्र घण्टा काम गरेर, पसिना तथा रगत बगाए  कमाएको धन लुटिँदा उनको होसहवास नै उड्यो । मुटुको धड्कनै रोकियो । उनका सयौँ सपनाहरू छियाछिया भए । तैपनि कालू दाइ केवल टुलुटुलु हेरी मात्रै रहे । अरू के पो गर्न सक्थे ? त्यसबेला तिनीहरूसँग लडाइँ गरे पनि पछि होस्टेलमा आएर काट्छन्, मार्छन् भन्ने डर थियो । कतिपटक कोठामै गएर मोबाइल ,एटीएम कार्ड र पैसा लुटेको सम्झना आयो उनलाई । घरपरिवार, छोराछोरी सम्झे । त्यसपछि आँखाभरि आँसु भरेर होस्टेल फर्किए ।

त्यो घटनाको बारेमा सेक्युरिटी कम्पनीका मालिक सरदारजीलाई जानकारी दिइयो । परन्तु उहाँले भन्नुभयो, “मलेसिया में ऐसा होता है । क्या करें ? तुम ठिक हो, यही बढी बात है !”

उनका यस्ता कुरा सुनेर कालू दाइले कुनै प्रतिक्रिया दिएनन् । मन मनै सोचिरहे, “हे ईश्वर ! मेरो भाग्य नै फुटेको रहेछ । कसलाई के दोष दिने ? आफ्नो पिडा कसैलाई भनेर केही फरक  पर्दैन । यहाँ सबै लुटेरा र विश्वासघाती  मात्रै रहेछन् ।”

यस्तै घटना हरेक दिन घट्छन् यहाँ । हजारौँ विदेश  कामदार लुटिन्छन् । आफ्नो गल्ती नभए पनि गाली खानु, कुटपिट सहनु, अङ्गभङ्ग  हुनु साधारण कुरा हो । कयौँ कामदारहरूको हत्यासमेत भएकाे छ । त्यस्तै चलिरहन्छ । हामी गरिब देशका, अत्याचार  सहेर बसेका गरिब नेपाली कामदारको दुःखपीडा बुझिदिने यहाँ को छ  र ? जे जस्तो छ, ठिकै छ ।

मोहन ठगुन्ना 

मोहन ठगुन्ना

सोहनको नयनबाट आँसु होइन, रगत बगिरहेका छन् । मलेसिया आएको पाँच महिना मात्रै भएको छ ।उसलाई एक वर्षे छोरीको मायाले सताएकाे छ । जहिले पनि छोरीको तोतेबोली कानमा गुन्जिरहन्छ। रोगी बुढीआमाको चिन्ताले सताइरहन्छ । हरेक पल नेपालमा पत्नीलाई फोन गरेर हालखबर बुझिरहन्छ । नेपाल फर्कने इच्छा छ । नेपालमा जन्मे, नेपालमै फूलझैँ फुली सुगन्ध छर्ने सपना भए तापनि  घरको गरिबीले मलेसियामा आफैँभित्र गुम्सिरहेकाे छ ।

तीन हप्ता पहिलेको त्यो भयानक घटना भिडियोझैँ बारम्बार सोहनको आँखाअगाडि आएर उसलाई त्रसित बनाइरहेकाे छ । ऊ डराइरहेको छ । तर कसैलाई भन्न सकिरहेको छैन, एक्लै तड्पिरहेकाे छ ।

मलेसियाको सेलान्गोर जिल्लाको पोर्ट केलाङ भन्ने ठाउँको एउटा बियर कारखानामा सोहन र सानु गार्डको पोस्टमा काम गर्दै थिए । राति कारखाना  बन्द हुन्थ्यो, केवल दुई सेक्युरिटी गार्ड मात्रै हुन्थे ।  त्यति ठुलो फेक्टरी,  डरलाग्दो, सुनसान, कहिलेकाहीँ मुसा  यताउता जाँदा  पनि सोहन  डराउँथ्यो । जिन्दगीमा पहिलोचोटि घरबाट निस्केको थियो ऊ । जेजस्तो भए पनि सबै ठिकठाक नै चलिरहेको थियो । तर त्यो दिन नसोचेकाे भयो ।

सानु मेनगेटको गार्ड हाउसमा थियो । सबै क्यामराहरू चेक गर्दै थियो । सोहन परिवारसँग भिडियो कलमा व्यस्त थियो । कारखानाको चारैतिर चेकजाँच पनि सँगै गर्दै थियो । त्यसैबेला अचानक सानुको चिच्यायो, ‘सोहन सोहन । पुलिस पुलिस । हेल्प, हेल्प..।’

सुन्नेबित्तिकै सोहन बतासझैँ त्यतैतिर दौडेर गयो । पुग्दा उसको होसहवास उड्यो ।  उसले देख्यो, मेनगेट तोडफोड गरेर पाँच छ जना चोर  गाडी नै लिएर भित्र पसेका थिए । एक जनाले सानुलाई समातेको थियो, अर्कोले धारिलो खुकुरीले … ! तर पनि तिनीहरूसँग पुरै जोस, तागत लगाएर सानु लडिरहेको थियो । कुनै चलचित्रमा हिरो-भिलेन बिचको फाइटको सिनजस्तै देखिन्थ्यो ।

दुई तीन चोर अफिसबाट सामान गाडीभित्र ओसार्दै थिए । सानुको त्यस्तो भयावह अवस्था देखेर  सोहनको रगत उम्लिन थाल्यौ । रिसले चुरचुर भयो । आफ्नो हातमा भएको लौरोले २ चोरको टाउकोमा बेसरी हिर्कायो अनि ती दुवैको पन्जाबाट सानुलाई छुटाएर गार्ड हाउसभित्र लग्यो । ढोका बन्द गरिरहेको मात्रै के थियो, दुई राक्षस आएर सोहनलाई  लछारपछार पारे  । शरीरभरि धारिलो खुकुरीको घाउ हुँदा पनि सोहनले हिम्मत  देखाउँदै एउटा हातले हान्न लागेको खुकुरी  रोक्यो, अर्को हातले सेकम (साइरन) बजायो । र, कारखानाको चारैतिरबाट रातो बत्ती बल्दै, ट्वा ट्वा ट्वा ट्वा .. साइरन वजन थाल्यो । तब ती चोरहरू भागे ।

सानुको अवस्था नाजुक थियो । जताततै रगत नै रगत देखिन्थ्यो । केहीबेरपछि पुलिस आइपुग्यो । तब दुवै बेहोस थिए । होस आउँदा हस्पिटलको बेडमा थिए । शरीरभरि घाउपट्टी देखेर दुवै छक्क परे । दुई हप्तासम्म उपचार भयो । आजभोलि सोहनलाई अलिकति निको भएको छ । ऊ डराइडराइ काममा जान थालेको छ । तर अहिलेसम्म घरमा कसैलाई केही बताएको छैन । साथीहरूको मोबाइलबाट घर फोन गर्छ । भन्छ – ‘मेरो फोन बिग्रेको छ । जब तलब आउँछ तब मात्रै नयाँ फोन किनेर फोन गर्छु । चिन्ता नगर्नु ।’

भगवान्को आशीर्वादले उसलाई एउटा जीवन दान मिलेको छ । तर सानुले उपचारका क्रममा यो संसारबाटै सदैवका लागि बिदा लियो । उसका  सयौँ सपना भताभङ भए, हजारौँ इच्छा रहर अधुरै रहे । आफ्नो जीवन साथीलाई एकलै तड्पाएर, रगतका आँसुमा बगाएर ऊ गयो । त्यस्तै त रहेछ परदेशीको जिन्दगी। यो कस्तो विडम्बना ..? हे भगवान् ! गरिबलाई  जतासुकै गए पनि कहिले निको नहुने चोटै चोट किन दिन्छौँ ?

सोनु गयो । सधैँका लागि गयो । श्रीमती र छोराछोरी, घरपरिवार, इष्टमित्र सबैलाई रगतका आँसुमा रुवाएर गयो । आँसुकाे भेलमा डुबाएर, विगत र भविष्यकाे माझमा तड्पाएर गयो । आफूले भने सबै बन्धनबाट मुक्ति पाएर गयो ।

‘मलेसियामा सपना सजाउँछु । परिवारका इच्छा, आवश्यकता पूरा गर्छु’ भनेर आएको थियो ऊ ।  जहाजमा चढेर आकाशमै खुसी हुँदै, हजारौँ सपना सजाउँदै । जाने बेला पनि आकाशमै जहाज चढेर गयो, परन्तु सारा सपना खाडीमा खरानी बनाएर काठैको बाकसमा । घर आँगनमा काठको बाकसभित्र सानुको मृत शरीर देख्दा बुढीआमाको मुटुमा कस्तो विस्फोट भयो होला ? साना छोराछोरीको कोमल मनमा कस्तो भाव उब्जियो होला ?  पत्नीको सिउँदोको सिन्दूर पुछिँदा उनको मन कति रोयो होला ? त्यो दिन पुरै गाउँ नै रोयो होला ! त्यो पलको बयान गर्ने मसँग कुनै शब्द छैन । हिम्मत पनि छैन ।