अतिवादहरू कहिल्यै ननासिने दर्शनका रूपमा पटक पटक विभिन्न स्वरूपमा प्रकट भइरहन्छन् । क्रान्ति र रूपान्तरण अँगालो हाल्दै एउटै डुङ्गामा सहयात्रा गर्छन् । एउटा युगको अन्त्यमा तीनै फेरि त्यही अगतिवादको जामा फेर्छन् । संस्कारको पगरी गुथ्छन् । यस्तो किन हुन्छ ?

उनको अन्तर्मनको कुनै कुनाबाट चियाएर एउटा दमित स्वरले उनलाई प्रश्न वाण तेर्साउँछ । उनी नाजवाफ हुन्छन् ।

उनी आजकाल ऐना हेर्दैनन् । पानी छायाहरू देख्दा तर्किन्छन् । तिनीहरू उनका स्वरूपहरूलाई प्रतिबिम्बित गर्ने क्षमता राख्दैनन् । उल्टो उनलाई तर्साउँछन् । आतङ्कित बनाउने भरमग्दुर प्रयास मात्र गर्छन् । उनी सचेत छन् । पितापुर्खाको झझल्को आउने निष्प्राण अनुहारको कलेटीहरू हेर्नु नपरोस् भनेर उनी भाग्छन् । त्यही सचेतनाको पनि उनले दैनिक अभ्यास नै गर्नु परिरहेको छ । पहिला यस्तो थिएन । एकोहोरो घोत्लिइरहँदा कहिले उनलाई उनकी श्रीमती चिमोट्छिन् । उनी झस्कन्छन् ।

“आज बाहिर नजाने हो ?” उनलाई उनकी श्रीमती सोध्छिन् ।

केही नबोली उनी भुँइको टोपी टिप्छन् । टाउकामा भिर्छन् । अनि, सर्ल्याक्क… सोफाबाट उठ्छन् । त्यसपछि उनको सधैँको गन्तव्यहीन यात्रा शुरु हुन्छ । प्रत्येक दिनको उनको दैनिकी नै यस्तै छ । उजाड बस्तीहरूमा, उदाङ्गो समाजमा र कोलाहल बिहानीसँगै, उनको मौन यात्रा शुरु हुन्छ । पिठ्यूँपछाडि हात राख्दै उनी भुइँतिर हेर्दै हिँड्छन् । कसैले बोलाएको पनि सुन्दैनन् । प्रवाह पनि गर्दैनन् ।

००००

डिल्ली खड्का आफ्नी छोरीहरूलाई औधी माया गर्थे । उनको अस्तित्वको जिउँदो सालिकको रूपमा उनका छोरीहरू ठिङ्ग उभिएका थिए । उनकी श्रीमती तीनै सजीव पुतलीहरूलाई स्याहार्नमा आफ्नो अधिकांश समय खर्चिन्थिन् ।

“छोरीहरू कता गए ? अलि ध्यान देऊ है, ध्यान देऊ !” उनी आफ्नी श्रीमतीलाई अक्सर सम्झाइरहन्थे ।

भुजेलनी उनकी अर्धाङ्गिनी मात्र नभएर उनकी साझेदार पनि थिइन् । वर्षौं अघि ती चखेवाको जोडीले समाज भन्दा पर आफ्ना लागि छुट्टै संसारको निर्माण गरेका थिए । त्यो नवीन सभ्यताको निर्माणमा एउटा इँटा डिल्ली खड्काले थप्दा, भुजेलनीले अर्को इँटा थपेकी थिइन् । १७ वर्षको कलिलो उमेरमा गाउँबाट सहर पसेका थिए उनी । पिताजी उनलाई लट्ठक नै सम्झन्थे । उनी भने सपनाका सिकारी थिए । थोरै समयमै उनले राम्रो उन्नति गरे । घरबार पनि जोडे, घरजम पनि गरे । भुजेलनीलाई उनले आँटले नै ल्याएका थिए । उनको बैँस कुरकुर गरेको बेला थियो त्यो । उनले इन्कार गर्न सकेनन् ।

स्वास्नी पाल्ने आँट भएका उनका लागि घरको ढोका बन्द भयो सधैँको निम्ति । उनले पनि खासै जिद्दी गरेनन् । पिताजीले पनि स्विकार्ने कुरै थिएन । त्यसपछिका वर्षहरू डिल्लीले आफ्ना लागि आफ्नै संसार, आफ्नै संस्कार निर्माणमा खर्चिन थाले । उनी भुजेलनीलाई औधी प्रेम गर्थे । उनले छोरा र छोरीमा जिद्दी गरेनन् । उनकी श्रीमती दुई छोरी पाए पछि नानी पाउन नसक्ने भइन् । ती दुई मायाको चिनो, ती दुई जोईपोईका लागि काफी थिए । खुब प्रीतसँग हुर्काए ।

केही समय डिल्ली र उनकी श्रीमतीले समाजको खिसीटिउरी सुने, सहे । उनीहरूले त्यसको प्रवाह गरेनन् । बिस्तारै उनीहरूका छोरीहरू हर्कंदै गए । सहरको एउटा राम्रो कुनामा आलिसान महल उनले खडा गरे । ठूलाठूला तारबार सहितको कम्पाउण्ड र फलामको गेट हाले । त्यो गेट र तारबारले उनले खपेका खिसीटिउरीहरूलाई छेक्यो । उनका छोरीहरू अस्वाभाविक चर्चा र चासोबाट पर रहँदै सुरक्षित तरिकाले हुर्कन थाले । त्यस घरभित्ता भित्र कलकलाउँदो संस्कार हुर्कन लाग्यो- कुनै चराको गुँड जस्तो, माया र मोहले भरिएको, स्वतन्त्र र पवित्र ! त्यो परिवार चुँचा र चुँचा मिलाएर एकअर्काको भुँडी भरिरहेका चरा र बचेरा जस्ता देखिन्थे ।

डिल्लीको हैसियतले जित्न धेरै समय लागेन । बिस्तारै केही आफन्त र साथीभाइहरू उनी र उनको परिवारसँग नजिकिँदै गए । उनले उत्साहित भएर सहर्ष स्वागत भने गरेनन् । पहिलो त भुजेलनी नै मानिनन् । त्यसमाथि उनी पनि आफ्ना छोरीहरूलाई अनावश्यक प्रभावबाट जोगाउन चाहन्थी । अक्सर डिल्ली विवाह, व्रतबन्ध र अन्य सामाजिक कार्यहरूमा एक्लै जान्थे ।

आफ्ना अन्य दाजुभाइहरू मध्य डिल्ली नै सबैभन्दा सम्पन्न भए । उनी बिना परिवारको ठूलो कार्य हतपत सम्पन्न हुन गाह्रै थियो । उनका पिताजीको सयौँ रोपनी जग्गाजमिनहरूमा पनि तत्कालको गर्जो टार्ने त्यति शक्ति थिएन जति उनीसँग सामर्थ्य थियो । उनलाई आफ्नो पैतृक थलो आइजाइ गर्ने बाटो खुलेको थियो । तर पनि भुजेलनी र तिनका छोरीहरू बिरलै त्यो घर गए । उनीहरू त्यता झ्याम्मिएनन् ।

केही समयपछि डिल्लीका बुवा बिते । जेठो दाजुको घरमा उनी र उनका भाइहरू कर्ता बस्नु पर्ने भयो । भुजेलनी पनि सपरिवार त्यस तर्फ लागिन् । उनलाई त्यहाँ त्यति राम्रो व्यवहार भएन । सोझामा त भनेनन् । तर तिनले त्यस्तै महसुस गरिन् । कहिले तिनले पर सरेको नाटक गरिन् त कहिले सन्चो नभएको । जे होस् तिनी त्यहाँ धेरै दिन बसिनन् । आफ्नै घर फर्किन् । आमा फर्किने भएपछि छोरीहरूले पनि बस्न मन गरेनन् । उनीहरू पनि फर्किए ।

पिताजीको काम सकेर जब डिल्ली फर्किए । तिनकी ठूली छोरीले आफ्नी आमा र आफूहरूलाई त्यस घरमा दुर्व्यवहार भएको कुरा झिकेर आक्रोशित भई । डिल्लीले सुनी मात्र रहे । हँ या अहँ भनेर प्रतिक्रिया दिएनन् ।

त्यस घटना पछाडि डिल्लीकी ठूली छोरीमा ठूलो प्रभाव पर्यो । उनी आफ्नी छोरी प्रतिदिन विद्रोही बन्दै गरेको महसुस गर्थे । उनले आफ्नी छोरीहरूलाई जहाँ जहाँ पठाउँथे र जहाँ जहाँ उनीहरू पढ्थे ती डिल्लीले सुरक्षित ठहराएका स्थानहरू थिए । ती ठाउँहरू विद्रोहको तयारी स्थल जस्ता देखिए । तर पनि डिल्ली गद्गद नै थिए । उनी छोरीहरूप्रति गर्व गर्थे ।

ती दुवै केटीहरू पढाइमा साह्रै अब्बल थिए । डिल्ली छोरीहरूलाई सधैँभरि आफैसँग राख्न चाहन्थे । तर ठूली छोरीले मानिनन् । पढ्न विदेश जाने भई । छोरी पठाउन कुनै गाह्रो नभए पनि उनको मन पट्टक्कै मानेकाे थिएन । वाद्यताले पठाए । केही दिन उनलाई न्यास्रो लाग्यो । सम्झे – सायद यो समाज छोरीहरूका लागि लायक छैन ।

डिल्लीले छोरी बिगार्यो । उनका नजिकका आफन्तहरू यस्तै कुराहरू गर्थे । डिल्लीकी छोरी विदेशमा कुनै कालो अंग्रेजसँग विवाह नै नगरी सँगै बस्छे रे ।अलिक अधबैंसे मान्छेहरू खासखुस गर्थे । लिभिङ टुगेदर भन्छन् हौ त्यसलाई । युवाहरू उनीहरूलाई सच्याउँथे । जे होस्, डिल्लीकी ठूली छोरीले आफ्नो मनले खाने विदेशी केटो मन पराएकी थिई । उनीहरू सँगै बस्थे । सारा दुनियाँले थाहा पाइरहँदा डिल्ली खड्का र भुजेलनीले यो न थाहा पाउने कुरै थिएन । उनीहरू छटपटाए । भित्रै भित्रै पिल्सिए । छोरीलाई सम्झाए ।

तर छोरीले मानिन । खासै मतलब राखिन । राखोस् पनि किन ? यो त्यसको समय थियो । डिल्ली खड्काको समयभन्दा अघि समय बढेको थियो । उनकी छोरी आफ्नो अश्वेत प्रेमीसँग युरोपका सडकहरूमा डुल्थी । उनीहरू आइफल टावर घुम्थे । एउटै बागुट्टे टोक्दै हिँड्थे । समुद्र किनारा भौतारिन्थे । कफी सपहरूमा गफिन्थे । डिल्ली खड्का र भुजेलनी उनीहरूका फोटाहरू हेर्थे ।

‘तिनीहरूका सबन्धलाई म स्वीकृति दिन्न ।’ डिल्ली खड्का स्वास्नीतर्फ हेर्दै मुरमुरिन्थे ।

स्वास्नी ‘आजकालको जमाना… ’ भन्न खोज्थिन् तर सक्दैन थिइन् । बाउले जहिले किचकिच मात्र गरिरहने भएकाले छोरी प्राय उनीसँग कुरा गर्न रुचाउँदैन थिई । आमासँग मात्र कुरा गर्थी । छोरीसँग ठूलो मतभेद हुन लाग्यो । त्यो भन्दा बढी डिल्ली खड्का त्यो कालो अङ्ग्रेजलाई घृणा गर्ने भएका थिए ।

डिल्ली खड्काकी बूढीआमा नातिनीका विषयमा उनलाई सोध्थिन् । उनी धेरै त बताउँदैन थिए । तर उनी त्यो बेला आफ्नी छोरीलाई नै समर्थन गर्थे ।

‘उनीहरू स्वतन्त्र छन् । आफ्ना इच्छा लागेका कुरा गर्छन् । जमाना कहाँ पुगिसक्यो !’ डिल्ली खड्का स्थिर भएर जवाफ दिन्थे ।

आमा अवाक् भएर उनलाई हेर्थिन् । माइलो आफू पनि बिग्रियो । परिवार पनि बिगार्यो । उनकी आमा उनका अन्य दाजुभाइ र उनीहरूका परिवारसँग बसेर बिलौना गर्थिन् ।

डिल्ली खड्का त्यो सम्बन्ध यतिकै टुटिदिए हुन्थ्यो भन्ने कल्पना गरेर बस्थे । कहालीलाग्दो यातनाको स्मरणमा दिन गुजार्दै थिए । रातभर अनेक तर्कनाले निद्रा बिथोलिरहन्थ्यो ।

“कति चिन्ता लिएको ?” श्रीमती उनी छटपटाउँदै ओल्टेकोल्टे फर्केको देखेर हैरान-परेसान हुन्थिन् ।

छोरीलाई सम्झाउने उनले पनि प्रयास नगरेकी होइनन् । तर छोरीको तर्कका अघि उनी फतक्कै गल्थिन् । डिल्ली खड्का र उनकी छोरीको तर्कवितर्कले स्तर लिएको थिएन । बाउछोरीको बहस बाउ हुनुको अधिकार र छोरी हुनुको आजादी केन्द्रित मात्र थियो ।

लाख सम्झाउँदा, झपार्दा पनि डिल्ली खड्काकी छोरीले सुनेको-नसुनेकै गरी । एकदिन त्यसले छाती ठोकेरै भनी, “बुवा, तपाईंले आफ्नो धरातल भुल्नु भयो । तपाईं एउटा अगतिवादको भुमरीमा फस्नु भएछ । फर्केर पुरातनको कैदमा जाकिनु भयो । क्रान्ति छोड्नु भयो तपाईंले ।”
डिल्ली खड्का खङ्ग्रङ्ग भए । भुजेलनीले उनको मुखमा ट्वाल्ल हेरिन् । उनले भुइँतिर हेरे ।
त्यसपछि उनको अहंकार र विनय एकसाथ शिथिल भयो ।

उनकी छोरी उनको अधिकारको परिधि भन्दा बाहिर निवृत्त भएकी थिई । उनले छोरी गुमाएका थिए ।

“जब तपाईंको कर्मले मलाई समेट्दैन भने, तपाईंको धर्मले पनि मलाई बाँध्दैन ।”

डिल्ली खड्काले उ बेला घोषणा गर्न नसकेको, पिताजीलाई दिएको जवाफ सम्झिए ।

००००

अलि वर पातलो बस्ती सकिएपछि डिल्ली खड्काले टाउकाको टोपी फुकाले । दायाँतिर, जोर-गणेश इँटा-टाइल्स उद्योगको साइनबोर्डलाई ट्वाल्ल परेर हेरिरहे । बायाँबाट एउटा टिपर धुलो उडाउँदै कुद्यो । त्यो धुलोले डिल्ली खड्कालाई छोप्यो । डिल्ली खड्काले धुलो टकटकाए । दायाँतिर एउटा मोड देखियो । उनी त्यतै मोडिए ।

त्यसपछि पनि डिल्ली खड्काले बाबु हुनुको कर्तव्य पूरा गरिरहे । उनले एउटा नवीन संस्कारको जगमा कान्छी छोरी हुर्काए । त्यही विभिन्न अनुभवहरूमा आधारित नवीन संरचनाको कसीमा छोरीलाई नापिरहे । कान्छी आज्ञाकारी नै थिई । सायद त्यसलाई बाबुप्रति सहानुभूति हुनुपर्छ ।

डिल्ली खड्का बेलाबेला स्वास्नी भएको हक जताउँदै भन्थे पनि, “मैले एउटा भूल गरिसकेँ । यसलाई कुनै हालतमा बाहिर पठाउँदिन ! र मनलाग्दी गर्न दिन्न !”

डिल्ली खड्का कान्छी छोरीका लागि उपर्युक्त बर खोज्न तिर लागे । एउटा यस्तो बर, जो डिल्ली खड्का हुनुको अस्तित्वमा मद्दतगार हुन्थ्यो । जसले डिल्लीले गुमाएको परिचय, पुनः फर्काउँथ्यो । भनेकै जस्तो फेला पार्न सकिरहेका थिएनन् । लाग्दथ्यो कान्छीले पनि त्यस्तै उत्साहका साथ उपर्युक्त बर खोज्दै थिई ।

डिल्ली खड्का खाली हात बसिरहँदा एकदिन ‘बुबाले के भन्नु होला’ भन्ने डराई डराई छोरीले उनको अगाडि सङ्कोच खोली ।  हृदयको राजकुमारलाई प्रस्तुत गरी । डिल्ली खड्का एकछिन गम खाए । सुनी मात्र रहे ।

उनले हुनेवाला ज्वाइँको थर सोधे । आर्थिक हैसियतमा चासो राखे । परिवारको बारेमा रुचि लिए । उनलाई पनि सङ्कोच नलागेको होइन । उनी दुबिधामा नपरेका होइनन् ।

“उनीहरू मान्छन् त?” उनले छोरीलाई सोधे ।

“उसले कुरा गर्छु भनेको छ ।” छोरीले भनी ।

“तिम्रो त्यही इच्छा छ भने… हुन्छ !”

उनले यति मात्र भने ।

छोरीको इच्छा र बाउछोरीको वार्तालापका बाबजुद  भुजेलनी यस विषयमा डिल्लीसँग थप सल्लाह गर्न चहाँन्थिन् । तर डिल्ली खड्काले जरुरत ठानेनन् । एकदिन बाध्यताले हो या किन हो उनले स्वास्नीलाई भने ।

“अब छोरीले मन पराइहाली, दिऊँ है !”

“हुँदैन !” भुजेलनीले विरोध जनाइन् । उनले आफूले खपेको सामाजिक विभेद स्मरण गरिन्–गराइन् । तिनको बिमतिले डिल्ली खड्कालाई छोएन झैँ उनलाई लाग्यो । भुजेलनी डिल्लीको अघि भुतभुताइन् । डिल्ली खड्काले टेरपुच्छर लगाएनन् । डिल्ली खड्का झन् गर्विलो ढङ्गले प्रस्तुत भए । उनको अहङ्कारले भुजेलनीको स्वाभिमानलाई जितेको थियो । उनले कान्छी छोरीलाई स्वीकृति दिए । डिल्ली खड्काको विजय भएको दिन थियो त्यो ।

००००

लमतन्न सुतेको सडकको छेउबाट एउटा दुर्गन्धित खोला कन्दै-कन्दै बग्दै थियो । अनि त्यही अप्रिय गन्ध उत्साहका साथ डिल्ली खड्काको नाकमुनि आएर ठोकियो । डिल्ली खड्काको तन्द्रा भङ्ग भयो । उनी टक्क अडिए । बायाँतिरको सानो गल्लीमा मोडिए ।

डिल्लीकी कान्छी छोरी एउटा सम्भ्रान्त संस्कारमा गएकी थिई । कहिले नफर्किने गरी । त्यो त्यतै रमाई  । त्यतै भुली । गर्व गर्दागर्दै डिल्लीको गर्व सकिएको थियो । विवाह भएपछिको एकाध पटक बाहेक त्यसले डिल्लीको घर टेकिन । छोरीलाई उनले जुन उत्साहका साथ बिदा गरेका थिए । त्यो उत्साह, त्यो प्रफुल्लता धेरै दिन टिकेन ।

डिल्लीको संस्कार उनको छोरीको संस्कारको अघि हारेको थियो । यस्तै प्रतीत हुन्थ्यो उनले प्रत्यक्ष कहिल्यै स्विकारेनन् । उनी कहिले चित्त बुझाउँथे । कहिले आफैले आफैलाई तर्क गर्थे । कहिले श्रीमतीसँग सङ्गति मिलाउँथे त कहिले आफ्नै सुरसँग !

संस्कारहरू कुनै धार्मिक मूल्य मान्यताहरू मात्र हुन् र ! या फेरि यी केवल मान्छेको भ्रमपूर्ण भोगाइहरूको सस्ता आडम्बरहरू हुन् ! मैले पिताजीले भने जस्तै गल्ती गरेको हुँ कि मेरा छोरीहरूले आरोप लगाए जस्तै ! मैले गल्ती गरेको भन्न मिल्छ ? म किन स्विकारूँ ? अन्तर्द्वन्द्व कसको कोसँग नभएको हो र ! व्यक्ति र व्यक्ति बीचको द्वन्द्वको अस्तित्व छ । समाज र व्यक्ति बीचको द्वन्द्व, समाज र समाज बीचको द्वन्द्व । के यसलाई सहर्ष स्वीकार गर्न सकिन्न ?

आफ्नै मनसँगको अन्तर्द्वन्द्व गर्दै डिल्ली खड्का अघि बढिरहे । एउटा भावना र अर्को भावना बीचको अनुकूलता र प्रतिकूलतामा उनको पाइला चलिरह्यो । आफ्नै मूल मान्यता विरोधी क्रान्तिकारी विचार अनि फेरि प्रतिक्रान्ति हुने गरी  आफ्नै मूल्यमान्यताहरूलाई चुनौती दिन व्यस्त थिए । आजको विद्रोह भोलिको समाजका लागि अतिवाद कसरी हुन सक्छ भन्ने दर्शन उनी समात्न कोशिस गर्दै थिए । तर स्पष्ट थिएनन् । त्यस्तो खालको दर्शनको सैद्धान्तिक जग अस्तित्वमै छैन भन्ने उनलाई लाग्यो ।

मान्छेको जन्म र विकास यस्तै प्रयोजनका लागि या यसरी नै हुँदो हो ! मान्छे हुनुको अस्तित्व नै आफ्नै अस्तित्वको संरक्षण गर्नु हाे ?आफूले हासिल गरेको फगत ज्ञान छाँट्तै हिँड्नु र अरूमा लाद्न चाहनु नै मान्छेको नैसर्गिक स्वभाव हो कि !

उनी रहस्य भावले स्वयंलाई सुमसुम्याउँछन् ।

घरबाट हिँडेको लामो समय भइसकेको छ । उनी एक फन्को लगाएर घरतर्फ सोझिन्छन् ।

बाटाभरि छोरीहरूलाई सम्झन्छन् ।  प्राणप्रिय छोरीहरू ! आफ्ना युग बाँचिरहेका छोरीहरू ! दुइटा फरक संस्कारमा जीवन व्यतीत गरिरहेका  दुई छोरी ! एउटीले संस्कार फेरे जस्तो उनलाई लागेथ्यो । अर्कीले संस्कारमा फर्किए जस्तो उनले ठानेका थिए । उनी ठम्याउन सकिरहेका छैनन्, कुनमा उनकी जित भएको थियो र कुनमा पराजय ! दुवैबाट उनले आरोप खेपेका थिए ।

के मेरा छोरीहरू पनि भोलि अर्को अतिवादी, अर्को रुढीवादीका रूपमा दर्जा होलान् ? के उनीहरूको जीवन अर्को पुरातनवादी सोचको तयारी हुनेछ ? समयको खप्की खाइरहेका मेरा छोरीहरू देख्दा, के म हर्षले आनन्दित हुनेछु ? के त्यस्तो बेला म उनीहरूलाई खुच्चिङ भनेर भनौँला ?

एउटा आसुरी मुस्कान उनको चिउँडो भन्दा माथि देखा पर्न ठिक्क थियो । तर  त्यसलाई रोके ।

यो मेरो गम्भीर भूल हो । म एकसाथ अतिवादी र क्रान्तिकारी कसरी हुन सक्छु ? सायद मेरो बुझाइमा केही समस्या छ कि ? इतिहासमा पिताजीले मेरो पुस्ता माथि थोपरेका आदर्श र संस्कारहरू पनि कुनै गम्भीर भूलकै परिणाम हो कि ! मैले मेरा छोरीहरूमा लाद्नु बेकार थियो कि ?

मानसपटलको परिधिभन्दा बाहिर स्मरणको इतिहासले नभेट्ने कुनै इतिहासको गम्भीर अपराधका लागि जसरी भागिदार हुन सक्दिनँ । त्यसरी नै मेरा उत्तराधिकारीहरूले मेरो संस्कारको भागिदार हुनु पर्छ भन्ने छैन । आफ्नै आदर्शमा टिक्न नसक्नेको अर्को के पृथक् आदर्श हुन सक्छ र ?

कुनै दिन मेरो पूर्वजको संस्कार हारिरहँदा मेरो विद्रोहले जितेको दिन थियो त्यो । मेरो विद्रोहलाई मैले दबाउँदा मेरो संस्कारले मलाई सम्मान गरे जस्तो लाग्यो । त्यस्तै संस्कार मैले फेरि समाउँदा त्यसले पुनः सहादत प्राप्त गर्यो । छोरीहरूको अघि त्यो एक निमेष पनि टिकेन ।

समाजमा अतिवाद र क्रान्ति सँगसँगै एउटै युगमा बाँच्दा हुन्, म र मेरो पिता जस्तै ! कहिले क्रान्तिले अतिवादसँग सम्झौता गर्छ । कहिले अतिवादले क्रान्तिसँग घुँडा टेक्छ । म र मेरा छोरीहरू जस्तै !  समाज निरन्तर परिवर्तनशील छ । जायज र नाजायज प्रत्येक युगकै समाजका दुई पक्ष हुँदा हुन् !

मेरो दृश्यभन्दा बाहिर पनि  समाज छ । त्यहाँका पनि आफ्नै विभेदहरू होलान् ! त्यही पृष्ठभूमिमै विभिन्न खालका विद्रोहले तयारी गर्दै होलान् ! मेरो जानकारीको पहुँचभन्दा बाहिर ! मेरा छोरीहरूले पनि त प्रशस्त चुनौतीहरूको सामना गर्दा होलान् । श्वेत र अश्वेतको ! कुलिन र नीचको ! संस्कार र कुसंस्कारको ! या अन्य कुनै यस्तै ! उनीहरू संघर्ष गरिरहँदा म मूकदर्शक भएर हेरिरहन सकुँला ?

मभन्दा प्रगतिशील मेरी श्रीमती रहिछ । ऊ आफ्नो समयभन्दा अघिकी भविष्यवक्ता छे । छोरीहरूको भावना बुझ्छे । उनीहरूलाई समर्थन गर्छे । विमति पनि राख्छे । अस्तित्व स्वीकार पनि गर्छे । आमा हुनुको कर्तव्य यही होइन र ?

घरको मूल गेटले उनलाई ठाडो सत्कार गर्यो । उनले उप्किन लागेको कालो गेटको रङ्गलाई नियाले ।

मेरा छोरीहरूको पराजय भएको हो भने पनि मैले कहाँ जिते र ? उनीहरूले जितिरहँदा म पनि  हारिरहेर बस्न सक्दिनँ । म एकसाथ अतिवादी र क्रान्तिकारी दुवै बन्न सक्तिन । किन बनेँ ? कसरी बनेँ ? कस्तो दुर्लभ !

भीमकाय फलामे गेटको सानो मान्छे छिर्ने ढोकाको चुकुल उनले घुमाए । डिल्ली खड्का स्वात्त… भित्र छिरे ।

भुजेलनीले डिल्लीलाई मुस्कानसहित स्वागत गरिन् ।