मुसलधारे पानी परिरहेको थियो । तराईको एउटा इलाका प्रहरी कार्यालयमा मुसलधारे वर्षाको कारणले छाना चुहिएर प्रहरीहरूलाई कार्यालयको आवश्यक कागजातहरू जोगाउन आपत् परिरहेको थियो । जताततै पानी चुहिरहेको थियो कार्यालय प्रमुख इन्स्पेक्टर नरेश कार्यालयको कागजात कसरी जोगाउने होला भन्ने तनावमा भएको बेलामा एउटा सरकारी नम्बर प्लेट भएको जिप कार्यालय अगाडि आएर रोकियो । सरकारी गाडी देखेर सबैको ध्यान त्यतै तानियो । इन्स्पेक्टर नरेशको ध्यान पनि त्यतै गयो । गाडीबाट एउटी राम्री महिला ओर्लिन् र सिधै इन्स्पेक्टरको अगाडि आइन् ।

“एउटा जाहेरी दिनु छ ।” ती महिलाको अनुहारमा चिन्ता प्रस्ट देखिन्थ्यो । वर्षाका कारण सिउँदोको सिँदुर अलिकति मेटिएको थियो तर ती महिला विवाहित भएको बुझ्न सकिन्थ्यो ।

“के जाहेरी दिन चाहनुहुन्छ भन्नुहोस् ।”

“मेरो श्रीमान्  मनोज वन कार्यालयमा वन अधिकृत हुनुहुन्छ । उहाँ, हिजो रातिदेखि घर फर्केका छैनन् ।” महिलाले एकै श्वासमा आफ्नो गुनासो सुनाइन् ।

इन्स्पेक्टर नरेश झस्कियो । उसले वन अधिकृतलाई चिन्दथ्यो । जिल्ला प्रशासन कार्यालयमा कहिलेकाहीँ मिटिङ हुँदा एकदुई पटक भेट भएको थियो । जाहेरी दिन आएको महिला वन अधिकृतको श्रीमती हो भन्ने थाहा पाएपछि इन्स्पेक्टरले कुर्सीमा बस्न अनुरोध गर्‍यो र एउटा जवानलाई एक गिलास पानी ल्याउन अह्रायो । त्यस महिलालाई जस्तो स्वागत प्रहरी कार्यालयमा सबैलाई हुँदैनथ्यो । केही आत्मीयता पाएपछि महिला रुन थालिन् ।

“नरुनुहोस् म्याडम, तपाईंको जाहेरी लिइसकेपछि उहाँलाई खोज्न हामी आकाश र जमिन एक गरिदिन्छौं । कुनै चिन्ता नलिनुहोस् । पानी पिउनुहोस् ।” इन्स्पेक्टर नरेशले सहानुभूतिका देखाउँदै भन्यो ।

महिलाको जाहेरी लिइसकेपछि इन्स्पेक्टरले भन्यो, “म्याडम, अन्यथा नलिनु होला हामी केही सोधपुछ गर्छौं जसबाट तपाईंको श्रीमानलाई खोजी गर्न सहज हुनेछ । आशा छ तपाईंले हामीलाई सहयोग गर्नु हुनेछ ।” महिलाले सहमति जनाइन् ।

“मनोज सर, कहिले देखि हराउनु भएको हो ?”

“हिजो साँझ बेलुकीको खाना खाएर नजिकैको पार्कमा घुम्न निस्कनु भएको थियो । त्यसपछि फर्कनु भएको छैन । पहिला त आउनु होला भनेर पर्खिरहेँ, राती अबेरसम्म नफर्केपछि ड्राइभरलाई साथमा लिएर पार्कमा खोज्न गएँ तर त्यहाँ कोही पनि थिएन । त्यसपछि छिमेकमा वरिपरि खोजियो कतै भेटिएनन् ।  कता जानु भएको होला ।” भन्दै महिला रुन थालिन् ।

“नरुनुस् म्याडम, अलिकति धैर्य राख्नुहोस् । सबै ठिक हुन्छ । उहाँको कसैसँग शत्रुता थियो कि तपाईंलाई केही थाहा भए भन्नुहोस् ।”

“महिलाले अस्वीकारमा टाउको हल्लाइन् । के उहाँको अफिसमा कसैसँग झगडा भएको थियो ? वनको कुनै ठेकेदार वा माफिया ?”

“मेरो जानकारीमा भएसम्म कसैसँग त्यस्तो छैन । मसँग त झगडा नगर्ने मान्छेले अरूसँग के झगडा गर्थे ।” महिलाले रुँदै भनिन् ।

“उनको कसैसँग प्रेम सम्बन्ध त थिएन ?” इन्स्पेक्टरले हिचकिचाउँदै सोधे ।

“होइन सर, उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो । मलाई थाहा भएसम्म उहाँले कहिल्यै कुनै केटीलाई ध्यान दिएर हेरेको जस्तो लाग्दैन ।” महिलाले टाउको नउठाई भनिन् ।

इन्स्पेक्टर नरेश गहिरो सोचमा डुब्यो । यीमध्ये एउटा कारण पनि होइन भने अरू के हुन सक्छ ?

“कतै हिजो तपाईँहरू दुईबीच झगडा भएको थियो कि ?”

“हैन सर, उहाँलाई झगडा कसरी गर्ने थाहै छैन भने हामी बिच कसरी झगडा हुने ?”

“घर वा बाहिरको कुनै पनि व्यक्तिसँग सम्पत्ति सम्बन्धमा कुनै मुद्दा त चलिरहेको थिएन ?”

“मेरो जानकारीमा छैन सर । यदि कसैसँग हाम्रो कुनै विवाद छैन भने मुद्दा कसरी अगाडि बढ्छ ?”

“ठिकै छ म्याडम, तर उहाँ घरबाट बाहिर निस्कनुको कुनै कारण होला ? बिना कारण केही हुँदैन, हैन र ? तपाईंलाई पनि यो राम्रोसँग थाहा हुनुपर्छ । ठीक छ, के तपाईंसँग उहाँको कुनै फोटो छ ?”

“हजुर, मैले ल्याएको छु ।” महिलाले पर्सबाट एउटा फोटो निकालेर दिइन् ।

“ठिक छ म्याडम, हामी उहाँलाई खोज्न सक्दो प्रयास गर्नेछौँ । तपाईंले पनि केही सुराक पाउनुभयो भने हामीलाई अवश्य जानकारी दिनुहोला ।”

“हुन्छ, हस्…।” भन्दै उक्त महिला त्यही सरकारी गाडीमा चढेर फर्किन् ।

० ० ० ०

यस घटनालाई लिएर जिल्ला वन डिभिजन कार्यालयदेखि माथि विभागसम्म हलचल मच्चियो । वन अधिकृत जस्तो व्यक्ति कसरी र कहाँ बेपत्ता भयो ? उनी एक्लै कतै गएका हुन् कि अपहरणमा परेका हुन् ? अनेकौं प्रश्नहरू उब्जिए तर उत्तर कसैसँग थिएन । कुरो मन्त्रीसम्म पुग्यो र जिल्लाको प्रहरी प्रमुखलाई छिट्टै पत्ता लगाउन कडा निर्देशन दिए । जिल्ला प्रहरी प्रमुखले सम्पूर्ण जिल्लाको टोलीलाई खोजी कार्यमा लगाइदिए । आखिर, यो जिल्लाको एक वरिष्ठ अधिकृत बेपत्ता भएको केस थियो । मनोजको फोटो सबै प्रहरी युनिटमा पठाइयो ताकि केही सुराक पाउन सकियोस् । विगत केही दिनमा फेला परेका सबै बेवारिसे शवहरूसँग पहिचान गर्ने कोशिस गरियो तर कुनै फाइदा भएन । पुरै जिल्ला प्रहरी यसको अनुसन्धानलाई लिएर चिन्तित थियो ।

नागरिकमा चर्को आक्रोश उत्पन्न भइरहेको थियो र सञ्चार माध्यमले पनि जिल्लाको खस्किँदै गएको कानून व्यवस्थामाथि बारम्बार प्रश्न उठाउँदै आएकाले प्रहरीको अनुसन्धानबाट सरकार सन्तुष्ट हुन सकेको थिएन । गृहमन्त्रीले जिल्लाको प्रहरी प्रमुखलाई परिवर्तन गर्नु परेको थियो ।

जिल्लामा आएका नयाँ प्रहरी प्रमुखले फरक किसिमले अनुसन्धान सुरु गरेका थिए । वन कार्यालयमा पनि गहिरो सोधपुछ गरियो तर कुनै सुराक फेला पर्न सकेन । वन अधिकृत मनोजको श्रीमतीसँग पनि कडा सोधपुछ गरियो तर यहाँ पनि केही उपलब्धि भएन । छिमेकमा पनि सबैलाई सोधपुछ गरियो तर त्यहाँबाट पनि केही उपलब्ध प्राप्त भएन । प्रहरीलाई एउटै कुरा थाहा भयो कि मनोज एकदमै असल व्यक्ति थिए र उनी धेरै नम्र, दयालु र साहसी व्यक्ति थिए । उनी रिसाहा, भ्रष्ट वा खराब चरित्र भएको कसैले भनेनन् । रहस्य समाधान हुनै सकिरहेको थिएन ।

० ० ० ०

त्यो घटना भएको ६ वर्ष बितिसकेको थियो । ती महिला आफ्ना दुई सन्तान लिएर कहिले इलाका प्रहरी कार्यालयमा जान्थिन्, कहिले प्रहरी उपरीक्षकलाई भेट्ने गर्थिन् । कहिले वन विभागका उच्च अधिकृतलाई भेट्थिन् त कहिले राजनैतिक दलका नेतालाई भेट्थिन् । उनी हार मानेर चुप बस्ने खालकी थिइनन् । उनले आशा छोडेकी थिइनन् । उनको सिउँदोमा सिँदुर अझै देखिन्थ्यो ।

यस पटक फेरि अर्को प्रहरी प्रमुख परिवर्तन भएको थियो । महिला उनलाई भेट्न गइन् ।

“सर, मेरो श्रीमान् बेपत्ता भएको सात वर्ष हुन लाग्यो । आजसम्म प्रहरीले उनको कुनै सुराक पत्ता लगाउन सकेको छैन । अब तपाईं नै भन्नुस् अब मैले कति प्रतीक्षा गरूँ ? छोराछोरीले बाबा कहाँ हुनुहुन्छ भनेर सोध्छन्, मैले के जवाफ दिऊँ ? मैले सात वर्षदेखि न पेन्सन पाएको छु न तलब, भन्नुहोस् म आफू र बच्चालाई कहाँबाट खुवाउनु ? यति भनिरहँदा ती महिलाको आँसु झर्‍यो । उनको चित्कार सुनेर सबै प्रहरी कर्मचारी एसपीको कार्य कक्षमा आए ।

महिलाको रोदन सुनेर एसपी दामोदरको मन पनि छियाछिया भयो । आखिर एउटी महिलाले कहिलेसम्म धैर्य गर्न सक्छिन् ? सहनुको पनि कुनै सीमा हुन्छ । एसपी दामोदरलाई पनि यो घटना निकै अनौठो लाग्यो । उनले दुई जना महिला हवलदारलाई बोलाएर ‘म्याडमलाई एक गिलास पानी दिनू’ भने ।

“म यहाँको पानी पिउन चाहन्न, म यहाँ पानी पिउन आएको होइन, मेरो श्रीमानको बारेमा जानकारी लिन आएकी हुँ । यो सहानुभूतिको नाटक बन्द गर्नुहोस् र मेरो श्रीमानलाई खोज्नुहोस् र मलाई दिनुहोस् । तपाईंलाई हात जोडेर बिन्ती गर्छु ।” भन्दै महिलाले एसपी दामोदरको खुट्टा समाउन थालिन् ।

एसपी दामोदर विचलित भए । उनलाई सान्त्वना दिन महिला प्रहरी बोलाइयो र उनले मुद्दाको फाइल पढ्न थाले । अनुसन्धानको कुनै निर्णय नहुँदा महिलाले पाउनु पर्ने पेन्सन र अन्य रकम पाउन सकेका थिएनन् ।

गौतमले पुरै फाइल पढ्न थाले । यो घटनाको प्रारम्भिक अनुसन्धान इलाका प्रहरी कार्यालयले गरेको थियो । इलाकाले केही गर्न नसकेपछि थप अनुसन्धानको लागि जिल्लामा झिकाइएको थियो । अनुसन्धानको लागि जिल्लामा विशेष टोली गठन गरियो तर यसले पनि केही गर्न सकेन । यसबाट पनि मुद्दा नसुल्झिए पछि अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई सुम्पियो । तर दुर्भाग्यवश सीआईबीले पनि यो समस्या समाधान गर्न सकेको थिएन ।

एसपी दामोदरले यस मुद्दाको कुनै बलियो आधार नभएको महसुस गरे । यस मुद्दा सम्बन्धमा घुमिफिरी शङ्काको सुई महिला तर्फ गएर रोकिन्थ्यो । महिलासँग सबै टोलीले सोधपुछ गरेको थियो तर उनको भनाइ हरेक पटक उस्तै थियो । त्यसैले उनलाई थप सोधपुछ गर्नु प्रहरीले आवश्यक ठानेन ।

त्यसै त मिडियामा प्रहरीको छवि निकै खराब भएको थियो । यो अवस्थामा महिलालाई पक्राउ गर्नु निकै जोखिमपूर्ण काम हुन्थ्यो । एसपी दामोदरले मनमनै सोचे र तीन जना हवलदारलाई बोलाएर सादा पोशाकमा महिलाको घरमा गोप्य निगरानी राख्न खटाए । उनीहरूलाई कडा निर्देशन दिइएको थियो ।

“महिलाले निगरानी भइरहेको थाहा नपाओस्, सतर्कता अपनाउनु । तीनैजनाले आठ घण्टाको ड्युटी बाँडेर निगरानी गर्ने र सिधै मलाई खबर गर्नु, बुझ्यौ ।”

“हस्, सर ।”

तीन दिनपछि एक हवलदारले महिलालाई भेट्न राति एकजना पुरुष व्यक्ति आएको थियो र ऊ उज्यालो हुनु अगाडि बिहानै गएको बतायो । यो जानकारी निकै महत्त्वपूर्ण थियो । एसपी दामोदरको मेहनतले केही नतिजा दिन थालेको थियो । उनलाई अझ कडा निगरानीमा राख्न निर्देशन दिइएको थियो । भोलिपल्ट हवलदारले त्यही मान्छे फेरि आएको बतायो ।

त्यस व्यक्तिको बारेमा बुझ्दा उनी केदार नाम भएको व्यक्ति भएको बुझिएको थियो । एसपी दामोदरले तुरुन्तै इलाका प्रहरीको इन्स्पेक्टरलाई ‘केदारलाई उठाएर ल्याउन’ आदेश दिए । इन्स्पेक्टरले केदारलाई कार्यालयमा ल्याएर सोधपुछ गर्न थाले ।

यता, केदारको परिवारका सदस्यहरूले आफ्नो समुदायका मानिसहरूको साथमा इलाका प्रहरी कार्यालयमा आएर घेराउ गर्न लाग्यो । त्यतिन्जेल मिडियाहरू पनि आइपुगेका थिए । सुरक्षाको लागि थप प्रहरी बल बोलाउनु पर्‍यो । एसपी दामोदर यी कुराबाट कत्ति पनि डराएनन् र केदारको घरमा तलासी गर्न टोली पठाए । टोल छिमेकका पुरै इलाका प्रहरी कार्यालयमा जम्मा भएकाले केदारको घरमा तलासी गर्न कुनै प्रतिरोध भएन ।

तलासीमा एउटा फोटो बाहेक अर्को केही भेटिएन । फोटोमा केदारसँग एउटी युवती थिइन् ।  त्यस फोटोमा युवतीले मास्क लगाएकोले आँखा मात्र देखिन्थ्यो । ती आँखा देखेर एसपी केदार अलिकति चकित परे । उनलाई त्यो आँखा चिरपरिचित लागिरहेको थियो । उनले आफ्नो दिमाग सम्झिन धेरै जोड दियो तर केही सम्झिन सकेन ।

केदारको बारेमा अनुसन्धान गर्दा उनी वन अधिकृत मनोजकै चालक भएको पाइएको थियो । यसबाट केदार र महिला बीचमा केही न केही कुरा रहेको निष्कर्ष निकालिएको थियो । महिलालाई भेट्न केदार राती किन आउने गर्दथ्यो ?  महिलालाई सोधपुछ गर्नु जरुरी थियो । एसपी दामोदरले महिलालाई पनि सोधपुछको लागि बोलाए ।

महिलालाई सोध्दा उनले भनिन्, “केदार उनको भरपर्दो चालक थिए । कसैले उनीहरूको सहयोग नगर्दा केदारले नै उनीहरूलाई सहयोग गरेको थियो । दिनभर अफिसमा ड्युटी हुने भएकाले कहिलेकाहीँ राती आएर सामान पुर्‍याउने गर्थे ।”

प्रहरीले सोधपुछमा विभिन्न प्रक्रिया अपनाए पनि महिला आफ्नो बयानमा विचलित भइनन् । एसपी केदार चिन्तित देखिन्थे । उनी उठेर अर्को कोठामा गए ।

महिलाका दुई छोराछोरी त्यहाँ खेलिरहेका थिए । ती बालबालिकालाई देखेर एसपी दामोदरको छैटौँ इन्द्रियले केही सुराक देख्यो । उनी ती बालबालिकासँग खेल्न थाले । केही बेरपछि दुवै छोराछोरी उनीसँग झ्याम्मिन थाले । एसपी दामोदरले दुवै बालबालिकाका लागि विभिन्न खानेकुरा मगाए । दुवै जना एकदम खुशी देखिन्थे । ठुलो चाहिँ बच्चाले भन्यो, “थैंक्यू अंकल” । सानो चाहिँले भन्यो, “अंकल तपाईंलाई एउटा कुरा भन्न मन लागेको छ भनम् ।”

“भन, के कुरा भन्न मन लाग्यो तिमीलाई ?”

“अंकल, तपाईंले हामीलाई केदार अंकलसँग बचाउनुहोस् ।”

एसपी दामोदर आश्चर्यचकित भयो । सानो बच्चा लगभग आठ–नव वर्षको थियो । एसपी दामोदरले उसलाई काखमा लिएर कपाल मुसार्दै भन्यो, “म तिमीहरूलाई अवश्य बचाउँछु तर यो भन तिमी किन केदार अंकलसँग डराएको ?”

“केदार अंकल साह्रै नराम्रो हुनुहुन्छ । उनले मलाई कुटपिट गर्छन् र मलाई त्यही ठाउँमा पठाइदिने भन्छन् जहाँ उनले मेरो बुबालाई पठाएका थिए ।”

निर्दोष बालकले एसपी दामोदरलाई ठूलो सुराक दिएको थियो । जसको अर्थ केदारले नै मनोजको हत्या गरेको थियो । तर किन ? ती बच्चाहरूलाई यो थाहा थिएन किनभने तिनीहरू त्यति बेला सानै थिए । यसको मतलब महिला र केदार बीच पहिलेदेखि नै केही सम्बन्ध थियो । मनोजलाई यस बारेमा थाहा भएपछि उनको हत्या गरी शव कतै फालिएको थियो । अचानक एसपी दामोदरलाई केदारको फोटो याद आयो । मास्क लगाएकी युवतीको आँखा महिलाको जस्तै देखिन्थ्यो । अब स्थिति स्पष्ट भइसकेको थियो तर पर्याप्त कुनै प्रमाण थिएन ।

एसपी दामोदरले फेरि फोटो ध्यान दिएर हेर्दा त्यही महिला नै हो भन्ने प्रस्ट भयो । एसपी दामोदरलाई त्यो दिन याद आयो जुन दिन ती महिलाले उनको अफिसमा यति धेरै नाटक रचेकी थिइन् । होहल्ला गरेर वितण्डा मच्चाएकी थिइन् । कडाइका साथ सोधपुछ गर्दा पनि महिलाले केदारसँग आफ्नो कुनै सम्बन्ध नरहेको र मनोजको हत्या आफूले र केदारले नगरेको बताइरहिन् ।

एसपी दामोदरले इलाका प्रहरी कार्यालयबाट केदारलाई जिल्लामा झिकाए । पहिलेकोभन्दा बढी केरकार गर्दा मनोजको हत्या गरेको स्वीकार गर्‍यो । केदारलाई महिलाको अगाडि बसाएर बयान रेकर्ड गरियो, त्यसपछि बाध्य भएर महिलाले पहिलो पटक मुख खोलिन् ।

“केदार वन कार्यालयको सरकारी चालक थिए र मेरो श्रीमानको गाडी चलाउने गर्थे । उहाँ जिल्ला भ्रमणमा धेरै दिन बाहिर जानुहुन्थ्यो । केदारले नै हामीहरूको हेरचाह गरिरहन्थ्यो । घरायसी सानोतिनो काम गर्थे । बच्चाहरूलाई खेलाउने पनि गर्थे । कहिले हामी दुबै जना नजिक भयौं पत्तै भएन । एक दिन ठूलो पानी परिरहेको थियो । मनोज भ्रमणमा थिए । बच्चाहरू डराएका थिए त्यसैले मैले केदारलाई घरमा सुत्न भनें । त्यो दिन हामी दुवैले पहिलो पटक शारीरिक सम्बन्ध राखेका थियौं । त्यसपछि यो क्रम जारी रह्यो ।

एक दिन मनोज बाहिर गएको बेला केदार त्यो रात पनि घरमै सुतेको थियो । त्यसै बेला मनोज फर्केर आएको र हामी दुवैलाई आपत्तिजनक अवस्थामा देखेको थियो । त्यो दृश्य देखेर मनोज पागल बन्यो र केदारलाई कुट्न थाले । मनोजको उग्र रूप देखेर म डराएँ र मनोजको टाउकोमा पछाडिबाट लट्ठीले प्रहार गरें । मनोज लडेर बेहोस भए । म धेरै आत्तिएको थिएँ । मनोज होशमा आएपछि के होला ? उसले केदारलाई मार्नेछ । म केदार बिना बाच्न सक्दिनथें, त्यसैले  केदारलाई मनोजलाई मार्न आग्रह गरें । केदारले मनोजको घाँटी थिचेर मारेको हो । त्यसपछि केदार र उनका भाइ मिलेर लाशको विसर्जन गरेका थिए ।”

दुवैको बयान लिइसकेपछि केदारको भाइलाई पनि पक्राउ गरिएको थियो । उसले कुनै विलम्ब नगरी आफ्नो अपराध स्वीकार गर्‍यो । जब ती दुबैलाई लाश कहाँ राखिएको छ भनेर सोधियो, उनीहरूको कुरा सुनेर एसपी दामोदर पनि छक्क परे ।

त्यति बेला तराईमा पर्ने हुलाकी सडकमा पुल निर्माणको काम चलिरहेको थियो । पुलको पिलरको लागि करिब १८ फिट गहिरो खाडल खनिएको थियो ।  खनिएको खाल्डो मध्ये एउटा खाल्डोमा मनोजको लाश फालेर कसैले थाहा नपाओस् भनेर माटोले पुरिएको थियो । त्यसपछि त्यहाँ पुल बनाइ सकिएको थियो ।

ठूलो किसिमको क्रन र डोजर मगाइयो । पुलको पिलर नजिकबाट खाडल खनियो । लगभग २०/२२ फुट गहिराइसम्म खनेपछि एउटा नरकंकाल भेटियो । त्यो नर कङ्काल मनोज कै थियो तैपनि डी एन ए परीक्षण गराउनु आवश्यक थियो । डी एन ए जाँच प्रतिवेदनमा त्यो कङ्काल मनोज नै हो भन्ने सिद्ध भयो । यो सात वर्षसम्म केदार र महिलाले आफ्नो सम्बन्ध गोप्य राखेका थिए । केदार विवाहित भए पनि महिला कान्छी श्रीमती हुन चाहन्थी । समाजको अगाडि महिला मनोजको सती सावित्री श्रीमती बनेर नाटक गरिरहेकी थिइन् । तर वास्तविकता एक दिन बाहिर आउनु नै थियो ।

तीनैजना माथि मुद्दा चल्यो । महिला र केदार माथि जन्मकैदको फैसला भयो भने ती महिलाले आफ्नो श्रीमानलाई छल गरेकी थिइन् र त्यसको परिणाम पनि भोग्दै थिइन् । तर, यही छलमा मनोजको मृत्यु भयो र दुवै बालबालिका अनाथ भए । एउटा छलले गर्दा हासीखुशी परिवारलाई नष्ट गर्‍यो ।