उसका अगाडिका सबै दाँत चरक्क चर्किए, टुक्रिए र हातमा झरे । गिजाबाट न त रगतको धारा बह्यो न त कुनै किसिमको पीडा बोध भयो । ऊ पूर्ण रूपमा थोती भई ।

“आइ एम अ डिस्को डान्सर टु रुरु ।”

ऊ असिनपसिन भएर ब्युँझन्छे । ऊ अर्थात् मञ्जुश्री ।

“उफ् !” हतारहतार जिब्रोले दाँत र हातले गाला सुमसुम्याउँछे । धन्न ! सही सलामत छन् ।

उसलाई बारम्बार यही सपनाले पिरोल्छ । “कुन चाहिँ बज्याले घन्काएर मरेको, छ्या !” कोक्को बोतलबाट पानी तनतनी पिउँछे ।

सुनौलो सन्ध्या थियो जब बचेराहरू चिरबिराए र माउका पखेटा गुँडतिर फरफराए । डाँडाले घामलाई निलेर जून ओकलेको क्षणमा मञ्जुश्रीको कष्टप्रद निद्रा चुँडालिएको थियो । निलो व्योममा पोतिएको लालीले मञ्जुश्रीको खाना खाने समयको जनाऊ दिँदै थियो । अब भने झन् ठूलो स्वरमा घन्किन थाल्यो, “आइ एम अ डिस्को डान्सर, जिन्दगी मेरा गाना…।”

त्रासदीपूर्ण तन्द्राबाट भर्खर ब्युँताएको थियो त्यस गीतले । त्यसैले ऊ रिसाउन पनि पाइन । त्यस सपनामा उसका दाँत अनायास फुस्केर ऊ थोती र कुरूप  बन्छे, जसका कारण उसको जीवनमा जटिलता थपिन्छ । पटकपटक एक वा अर्को रूपमा दाँत फुस्केर झरेको हुन्थ्यो मञ्जुश्रीलाई र उसको निद्रा भङ्ग हुन्थ्यो जसरी आज भयो ।

उद्विग्न मन र क्लान्त तन लिएर मञ्जुश्री तरकारी किन्न निस्की । त्यसै दिन त हो उसले पृथ्वी ठेलावाललाई देखेकी । गीत घन्काउने उही रहेछ जो ठेलामा फलफूल र तरकारी राखेर बेच्थ्यो । व्यापार नहुने घडीमा ऊ नजिकैको होटेलमा भाँडा माझ्थ्यो र राति चिरिप्प हुने गरी छ्याङ लाएर सुत्थ्यो । ठेलामा राखेको स्पिकरमा गीत बजेको रहेछ ।

बिथोलिएको निद्राले सबै कुराको आभास मञ्जुश्रीलाई सकसपूर्ण तवरले हुँदै थियो । त्यो साँझ त्यसपछि सामान्य तरिकाले बित्यो । बाहिरको कल्याङमल्याङ र भित्री उद्वेलन बीच कसले जित्ने भनेझैँ गरी मञ्जुश्रीको मनमा अन्तर्द्वन्द्व चलिरह्यो । त्यस रात बडो त्रासमा मञ्जुश्री आफ्ना दाँत जिब्रोले सुमसुम्याउँदै सुती ।

मञ्जुश्री कोठामै घाम तापेर पढ्दै थिई ।

“वो हसिना वो नीलम परी…”

“साला, फेरि बजायो मोरोले ।”

हिजो तरकारी किन्दा उसले सोधेकी थिई, “दाइ, तपाईंको नाम चाहिँ के नि ?”

बडो अनौठो लवजमा जवाफ फर्काएको थियो, “पृथ्वी ।”

“अनि घर यहीँ कि कता प¥यो ?”

“रामेछाप, अनि आफ्नो ?”

“मेरो विराटनगर ।”

बाटै छेउमा पर्ने मञ्जुश्रीको कोठामा आउने मिश्रित स्वरहरूमा फाटेको स्पिकरबाट बजेको गीतले अझ कोलाहल थप्यो ।

“ह्या” पढ्दै गरेको किताब टेबलतिर हुत्त्याई । त्यहाँ रु १००मा किनेको नेपालको ठडिएको झण्डा पुर्लुक्क लड्यो ।

फेरी समयले तरकारी किन्ने बेला लिएर आयो । मञ्जुश्री बाहिर निस्कँदा पृथ्वी ठेलामै ढल्किरहेको थियो । उसको ठेला ठेला नभएर रिक्साजस्तो कुदाउन मिल्ने र छत भएको घामपानी छेक्ने थियो । सिटमै ढल्किएर आफ्ना खुट्टा ठेलाको ह्याण्डलमा अड्याएको थियो । आर्मी प्रिन्ट भएको गमबुट लगाएर शानसँग पल्टिरहेको थियो जब मञ्जुश्री त्यहाँ पुगी ।

“के छ दाइ, आरामै ?” उसले सोधी ।

“ठीक, मस्ती, बब्बाल छ । बरु तिमी पो ठीक छैन जस्ती छ्यौ ।”

“हैन, ठीकै छ ।” छोटो जवाफ फर्काई मञ्जुश्रीले ।

“ल भन, के लाने ?”

“लौका दिनू न ।”

सानो लौकाको रु ४० लियो पृथ्वीले ।

“ल धनियाँ पनि लैजाऊ, यसको पैसा परेन तिमीलाई ।” धनियाँको मुठो मञ्जुश्रीतर्फ बढाउँदै पृथ्वीले भन्यो ।

“तपाईं गीत चाहिँ किन बजाइरहनुहुन्छ दाइ साँझमा ?”

“सबैभन्दा एक्लो फिल हुन्छ नानी साँझमा, मायालुको यादले सताउँछ त्यही भएर ठूलो स्वरमा गीत बजाएर, नाचेर एक्लोपन हटाउँछु ।” गम्भीर भए पनि पृथ्वीको मुहारबाट मसिनो हाँसोको रेखी फुस्किन्छ ।

“चना मिसाएर पकाऊ ए–वान हुन्छ है ता” हिँडिसकेकी मञ्जुश्रीतर्फ आफ्नो आवाज लम्काउँछ पृथ्वी ।

मन्जुश्री पर्खिरहेकी थिई । “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा” नारायण गोपाल पनि सुनिए त्यो स्पिकरबाट । आज मन्जुश्रीको हृदयभित्र थिग्रिएको प्रेम माथि आएर मनै धमिलो बनायो । मन्जुश्रीको मात्र पनि होइन, उता पृथ्वीको पनि । मन्जुश्रीले झ्यालबाट पृथ्वी देखिन्छ कि भनेर चिहाई तर देखिएन, देखियो त केवल बादलले धमिल्याएको सगर । कसप्रतिको प्रेम उर्लियो मन्जुश्रीको मनमा ठेगान लागेन । तरकारी किन्न प्रेमले भरिएको आकुलव्याकुल मुटु लिएर ऊ तल झरी । धरतीले मन्जुश्रीको स्पर्श पायो ।

उसो त आज दुवै बोलेनन् मुखले, आँखाले भने सागरजति बोले । मन्जुश्रीले तरकारी पनि अन्यत्रै किनी ।

बकुल्लाहरू उड्दै थिए । चमेराहरू उठ्दै थिए । मन्जुश्री लोलाइरहेकी थिई कि टोलाइरहेकी थिई ऊ आफैँलाई पत्तो भएन । लालीमय साँझको रसास्वादन गर्दै थिई झ्यालबाट । ठूलो पृथ्वीले फन्को मार्दै थियो । डाँडाले घामलाई निल्न आँटेको थियो जब सानो पृथ्वीले पनि फन्को मारिसकेर ठेला रोक्यो ।

आज गीत बजेन । आज तरकारी पनि किन्न जानुपरेन, बिहानकै रहेको थियो ।

“स्याऊ किलोको २३०, केरा ९० को २ दर्जन, लग भाइ आज भर्खर ल्याएको” पृथ्वीले भन्यो एउटा ठिटोलाई । उसले किनेन । बरु मञ्जुश्रीले लगी आधा किलो । पृथ्वी आज अशान्त देखिन्थ्यो, सुनामी आएको सागरजस्तो ।  के भयो दाइ भनेर सोध्दा पनि बोलेन ऊ । मञ्जुश्रीले थप कुरो कोट्याइनँ ।

त्यसकै भोलिपल्ट पृथ्वी कराउँदै तरकारी र फलफूल बिकाउने चेष्टा गर्दै थियो । खासमा त्यति साह्रो व्यापार हुँदैनथ्यो । जाबो ३४ रुपियाँको मार्जिन राखेर बेच्न खोज्दा पनि महँगो भन्थे मान्छेहरू । मञ्जुश्री त्यहाँ पुगी । आज खोला सुसाएसरी सुसायो पृथ्वी । हिजो रातभरि अनिदो बसेको कुरा बतायो । मञ्जश्रीले सुनिरही हिजोको सन्नाटाको राज, “हिजो मेरो बिहे भएको ८ वर्ष पूरा भएको थियो ।” कुनै गहिरो गर्तबाट वर्षौँदेखि पुरिएको खजाना झिके सरी विगत झिक्यो पृथ्वीले । अनिदो त ऊ पनि बसेकी थिई, दाँत झरेर । ऊ  कुनै स्कुलको कक्षाकोठामा सबैले देख्ने गरी थोती भएकी थिई ।

“सीताष्मालाई मैले भवानीको मन्दिरमा बिहे गरेर भित्र्याएको थिएँ आफ्नो कोठामा । म यस्तो फिरन्ते थिइन पहिला । यी फलहरूले रुखलाई छोडेझैँ आफ्नो घर छोड्नुपर्यो मैले । मेरो त्यो एउटा कोठामा संसार अटाएको थियो ।” सुस्तरी भन्दै गयो, “एउटा कुनोलाई भान्सा बनाएको थिएँ, अर्को कुनोमा एउटा खाट थियो र खाटमुनि थिए लुगाका झोला र पोकाहरू । त्यस दिन आफूले लगाएको जनै चुँडालेर झुल टाँगेको थिएँ ।”

यत्तिकैमा एकजना अधबैँसेले सोध्यो, “काउली कसरी छ, भाइ ?” र पृथ्वीले काउली बेच्न थाल्यो । मन्जुश्रीले पनि काउली किनिसकेकी थिई । ऊ फर्किई ।

टन्टलापुर घाममा मञ्जुश्री हिँडी आफन्तकोमा । बाटैमा रहेको पृथ्वीले गिज्यायो, “झोला त दह्रै छ नि !”

“दुई चार दिनलाई पुग्ने छ ।” हाँसी ऊ । बजेको गीतको तालमा पृथ्वी जसरी नै जीउ हल्लाई । आजभोलि उनीहरूको जीउले पनि मित लाएको छ, गीतको तालमा एकअर्कासँग नाचेरै कुरा गर्छन् ।

पृथ्वी अब मोरो रहेन । मञ्जुश्रीको यादमा बस्ने भइसकेको थियो । मञ्जुश्री आफ्नो कोठा फर्किएको दिन गीतको प्रतीक्षामा थिई । तर त्यस दिन कुनै गीत बजेन । तरकारी किन्न निस्कँदा ठेला पनि थिएन ।

साँझ सकिनै आँटेको थियो जब एउटा मारुती भ्यानले फुक्न थाल्यो, “२ किलो स्याउ रु ५०० मात्र, २ दर्जन केरा २०० मात्र” । मानिसहरू त्यहीँ झुम्मिन थाले । मञ्जुश्री तीन छक्क परी  किनकि ठेलामा भन्दा महँगो दाम थियो त्यो । आज पृथ्वीको इन्तजारमै साँझ बित्यो ।

मञ्जुश्रीले जिब्रोले सबैभन्दा अगाडिको माथिको दाँत ठेली । दाँत पक्लक्क हातैमा झ¥यो । रगत आएन । ऊ थोती भई । एकपल्ट झरिसकेको दाँत फेरि पलाउने वाला थिएन । ऊ हमेसाका लागि थोती भई । जिब्रोले दाँत फुस्केको गिजा सुमसुम्याउँदा रातको २ः३० बजे ऊ झल्याँस्स ब्युँझन्छे । त्यसपछि उसलाई निद्रा पर्दैन । त्यो दिन सामान्य तरिकाले बित्छ ।

पृथ्वीको घुमाइले साँझ लिएर आयो तर पृथ्वी भने आएन । उसले सोध्न पाइन सीताष्मा कहाँ गई, के भयो उसलाई र सुनाउन पाइन आफ्नो सपना । आयो त केवल मारुती भ्यान जसले फुकिरह्यो, “२ किलो स्याउ रु ५०० मात्र !”