नयाँ सहरमा आएपछि जीवनशैली नै बेग्लै भयो । अपरिचित मान्छेहरूको भीडमा आफूलाई पाएजस्तो महसुस भयो ।
सुरुका दिनहरूमा मान्छेहरूका भीडमा म प्रायः एक्लै हुन्थेँ बिहानीको पैदल यात्रामा ।

एकदिन धेरै वर्षपछि मन्त्रिनी आमैलाई भेटेँ बाटामा । त्यो पनि यो हालतमा ।

उनी रुँदै कालोपत्रे सडकको छेउमा फ्याँकिएको चामलको सेतो टल्किने भात बोटुकामा उठाउँदै थिइन्, ‘मलाई मार्छन् यिनीहरूले । कुट्छन् । म कसरी बस्नु यहाँ……?’

‘आमैलाई किन गाली गर्नु भएको तपाईंहरूले ?’, मैले सोधें ।

‘एक घण्टा बस्नु न यहाँ, अनि थाहा हुन्छ आमाको बारेमा’, उनका छोरी र ज्वाइँ दुवै एकै स्वरमा भन्दै थिए ।

००००

खासमा मन्त्रिनी आमैको नाम गोमा हो ।  उनी मन्त्री भएर मन्त्रिनी भनेको होइन । उनका श्रीमान् मन्त्री भएर पनि हाेइन ।

‘मन्त्रीको बिहे पनि खाइयो,  मन्त्रिनी पनि ल्याइयो..सोए सोएला हे सोएला’, यस्तै गीत गाए जन्तीले । त्यतिबेला मात्रै गोमालाई थाहा भयो कि उनका श्रीमान् मन्त्री रहेछन् ।

घरमा रेडियोमा समाचारमा फलानो मन्त्री भनेर धेरै नामहरू आउने गरेको गोमाले पनि सुनेकी थिइन् ।

‘यी बेहुला पनि रेडियोमा नाम आउने मन्त्री नै पो हुन् कि क्या हो ?’, गोमा बेहुलीको घुम्टोभित्र अलिकति पुलकित भएर मुस्कुराएकी थिइन् । त्यो उनको चौबिस घण्टामा पहिलो मुस्कान थियो ।

बिहे गरेर आएपछि मन्त्रीको घरलाई उनले आफ्नो माइतीघरभन्दा महान् ठानिन् । उनले माइतमा नपाएको सुख घरमा पाइन् ।
घरका आँगनमा पानीको धारो थियो ।

गाई भैँसीलाई घाँस पानी गर्ने मसिने र उसकी श्रीमती थिए । सानैदेखि मसिनेलाई मन्त्रीले घरमा राखेर पालेका थिए । पालिमा बस्थे मसिनेको परिवार । तिनीहरूको एउटी छोरी मात्रै जन्मेकी थिई । त्यो पनि लाठे भइसकेकी थिई ।

गोमा मेलामा जानु पर्दैनथ्यो । ढिकी र जाँतोमा जानु पर्दैनथ्यो । घर लिप्नु र पोत्नु पर्दैनथ्यो । खाएका भाँडाकुँडा धुनु पर्दैनथ्यो ।
गोमा सिर्फ खाना तयार गर्थिन् । भान्सामा सकिएको कुरा सकियो भनेर मसिनेलाई अराउँथिन् । सधैँ चिटिक्क परेका लुगा लगाएर बस्थिन् ।

मन्त्री एक मात्र छोरो थिए, अनि उनका दुईवटी बहिनी । गोमालाई केही समयपछि मात्रै थाहा भयो, मन्त्री वास्तवमा रेडियोमा नाम आउने मन्त्री होइन रहेछन् । उनी गाउँमा तमसुक, अंशबण्डाका कागज, सम्पत्तिको हस्तान्तरण, झगडाका मिलापत्र कागज, अड्डामा हाल्ने विभिन्न खाले निवेदनहरू लेखिदिने विशेषज्ञ रहेछन् ।

सबै लेखोटका ज्ञाता, सर्वज्ञ भएकाले गाउँमा उनलाई मन्त्रीको उपाधि दिएका रहेछन् गाउँलेहरूले । सबैको उनलाई बोलाउने नाम मन्त्री थियो । उनको वास्तविक नाम के थियो प्राय धेरैलाई थाहा थिएन ।  मन्त्री भनेपछि पुग्यो ।  मन्त्री निकै जाँगरिला मान्छे थिए । रातदिन नभनी काम गर्थे मान्छेका । उनको धेरैजसो समय घरमाभन्दा सदरमुकाममा बित्थ्यो ।

उनी लेखनदास, वकिल, दलाल, मध्यस्थकर्ता सबै थिए । दाम पनि निकै कमाए । नाम पनि निकै कमाए । छिमेकी केटाकेटी मन्त्रिनीको नजिक नजिक हुन्थे । उनी पनि केटाकेटी आँगनमा आएर खेलेको देख्दा औधी खुसी हुन्थिन् । उनलाई कुराउनी असाध्यै मन पर्थ्यो । हप्तैपिच्छे मसिनेलाई कुराउनी पकाउन लगाउँथिन् । अनि केटाकेटीलाई पनि दिन्थिन् । केटाकेटी बानी परिसकेका थिए कुराउनी खान । परैबाट केटाकेटी कराउँथे, ‘मन्त्रिनीआमै, कुराउनी !’ त्यो केटाकेटीको भीडमा म पनि थिएँ ।
उनका चार छोरी जन्मिए । चार हुनुको पछाडि छोराको चाहना हुनुपर्छ । तर कसैलाई भनेनन् । गोमा पनि चार छोरी जन्माउँदा निकै कमजोर भइसकेकी थिइन् ।

‘लोग्नेमान्छे ! वञ्चित गर्न पनि भएन, अर्को खोज्न थाल्लान् भन्ने डर, कान्छी । बर्सेनि जन्मिए यी छोरी ! अब त भो भन्दै छु । उहाँ पनि मान्नुभाछ’, गोमा देवरानीसँग दुखेसो पोख्थिन् ।

‘वञ्चित त गर्नुहुन्न दिदी सातै जना जन्मिए पनि । लोग्नेमान्छेको के भर ? तिम्रा देवरले कसरी अर्की लिएर भोटान गएका आजसम्म आएनन् ! म यिनै दुई वटा नानीको मुख हेरेर बाँचेकी छु ।’

मन्त्रीले जग्गा मनग्गे जोडे । अग्लो टाँडे घर बनाए । त्यो गाउँको सबैभन्दा ठूलो घर मन्त्रीको थियो । छोरीहरू हुर्किए । तिनका क्षमता अनुसार अलिअलि पढे । अनि मन्त्रीले छोरीहरूको धूमधामसँग बिहे गरे । गाउँकै ठूला बिहे ।  चार वटी छोरीको यति धूमधामसँग बिहे गर्दा पनि मन्त्रीलाई आर्थिक सङ्कट परेन ।

त्यसपछि गोमा र मन्त्री त्यो काठको टाँडे घरमा एक्लै भए । पालिको मसिनेको परिवार मात्रै थियो बिहानबेलुका मन साट्ने ।
मन्त्रीलाई सानैदेखि दम थियो । तातोपानीको बाफ लिन्थे हरेक बेलुका ।

त्यो हिउँदमा धेरै हुस्से लाग्यो । चिसो धेरै बढ्यो । यही चिसो काल बन्यो मन्त्रीको । गोमा एक्लै भइन् । जीवनका सबै रङहरू उडेर कतै टाढा गए जस्तो भयो गोमालाई ।  त्यसमाथि मसिने पनि छोरीका घरमा बस्ने, त्यतै खेती गर्ने भनेर बाटा लाग्यो ।
अब गोमाको अन्तिम विकल्प भनेको कुनै एउटी छोरीसँग बस्ने हो ।

तर कोसँग ? उत्तर थिएन गोमासँग ।

जेठी छोरी —ज्वाइँ काठमाडौँमा एउटा सटर भाडामा लिएर सानो पसल गर्छन् । अनि दुई वटा साँघुरा कोठा भाडामा लिएर बस्छन् । ती दुई वटा कोठा नै तिनको गाउँ हो । सहर हो । प्रदेश हो । देश हो । अनि विश्व हो । यस्तो अवस्थामा गोमा त्यहाँ गएर बस्न सम्भव थिएन । त्यो गोमाको अकल्पनीय बाटो थियो ।

माइली छोरीको बिहे भारतीय सैनिकमा काम गर्दै गरेका भारतीय नागरिकसँग भएको थियो । संस्कार र व्यवहार सबै भारतीय थियो । अनि जागिरको कारणले छोरी ज्वाइँ बिरालाले बच्चा सारे जस्तो सरिरहनु पर्थ्यो । गोमाका लागि माइली छोरीसँगको बसाई पनि एउटा स्वैरकल्पना जस्तै भयो ।

कान्छी छोरीको बिहे एउटा सम्पन्न परिवाको केटासँग भएको थियो । ऊ निजी विद्यालयमा पढेको थियो ज्वाइँले । त्यही कारण बन्यो छोरी ज्वाइँको पोल्याण्ड यात्राको सफलता । उनीहरू पोल्याण्ड गएको पाँच वर्ष भइसेको थियो । उनीहरू त्यहाँका स्थायी बासिन्दा भइसकेका थिए । युरोपियन संस्कार र संस्कृतिका लीन भइसकेकाहरूसँग गोमाले बाँकी जीवनको सौम्यता कल्पना गर्नु हास्यास्पद नै हुन्थ्यो ।

अब रह्यो साइँली छोरीको कुरा । एक मात्र विकल्प गोमाको लागि ।

साइँली  सानैबाट सम्पत्तिको निकै महात्वकाङ्क्षी थिई । दिदी बहिनी बजार जाँदा पनि ‘मेरो पैसा हरायो’ भनेर आफ्नो पैसा लुकाएर दिदी बहिनीको पैसामा बजार भरेर आउँथी । फेरि ऊ पल्लो गाउँका भण्डारी पण्डितका छोरासँग विवाह भएकोले गर्दा दूरीको हिसाबले सहजता पनि थियो गोमालाई । अनि ज्वाइँ पनि बेला मौकामा जजमानी गर्न पनि जान्थे । बाबुले सिकाएको पेशा थियो त्यो । पक्कै अधर्मी छैनन् !, यही सोचिन् गोमाले ।

त्यही भएर गोमाले त्यही साइँली छोरीलाई प्रस्ताव राखिन्, ‘साइँली, एउटा कुरा भन्छु है, ल ? आज आमाको मुख हेर्ने दिन पनि अरू तीन वटी दिदीबहिनीहरू आउन सकेनन् । टाढा छन् । टाढा पनि भए । ती मेरा मनमा मात्रै रहे । दुख पर्दा नजिकै भएर हेर्ने तैं छेस् । अब म एक्लै बस्न नसक्ने भएँ । आँतले हार्यो, नानी ।’

‘ममी मसँग बस्ने भए एउटा सर्त छ, सबै दिदीबहिनीले मान्नु पर्छ ।’

‘हुन्छ, नानी । म उनीहरूलाई सहमत गराउँछु ।’

‘यो जग्गा जमिन मेरो नाममा पास गरिदिनू । म आमा पालौंला, भोलि आमाको शेषपछि त्यो त बाँड्नु पर्छ भनेर अरू आउँछन्, त्यो हुनुहुँदैन ।’

सबै दिदीबहिनी सहमत भए साइँलीको प्रस्तावमा । गोमा साइँलीकी भइन् । साइँली गोमाकी ! त्यसपछि साइँला ज्वाइँले मान्छे लिएर आएर गोमाको घर भत्काए ।

‘ल, लिनुस् पैसा । यो भन्दा बढीको काठ छैन र बेच्न पनि सकिंदैन ।’ साइँला ज्वाइँलाई घर किन्ने मान्छेले हातमा रुपैयाँ थमाएर गयो । ज्वाइँले पैसाको बिटो अस्कोटको भित्री गोजीमा हाले ।  छिमेकी राउत जेठालाई जग्गा ठेक्का लगाए ।
बाटोतिरको दुई कट्ठा जग्गा पनि बेचे । र गोमालाई लिएर ज्वाइँ घरमा आए । गोजीबाट पैसा झिकेर साइँलीलाई दिए, ‘बन्दना, राख यो पैसा ।’

‘सस्तै दिनुभयो नि त्यत्रो घर !’

‘त्यही पनि धन्न भन न !’

साइँलीले कालोपत्रे बाटाको अगाडि एक कट्ठा भिटा पहिल्यै किनेकी थिई । त्यसैमा साइँलीले आमाको घर र दुई कट्ठा बेचेको पैसाले दुई तले पक्की घर बनाई ।

आज गोमा र उनकी साइँली छोरीको परिवार त्यही घरमा बस्छन् । यो त्यही घर हो जहाँ अहिले गोमा रुँदै छिन् ।

००००

‘एक घण्टा बस्दा के थाहा हुन्छ भन्नुभएको तपाईंहरूले ? थाहा पाइसकेको छ । हाम्रा घरमा पनि बूढाबूढी छन् । हामी पनि सँगै बसेका छौं ।’

‘नानी मलाई मार्छन् यिनीहरूले…’ बूढी मान्छे लगातार आतङ्कको भुमरीमा थिइन् । उनको सुकेर मुरली जत्रो भएको शरीर काँपिरहेको थियो । आँखाले राम्रो भेउ दिइरहेका थिएनन्, किनभने ट्याम्पो छेवैबाट आउँदा पनि उनी चटपटाइनन् । कुनै फिल गरिनन् । बरु लगातार त्यही बाटाका उत्तापट्टि पोखेको एक कचौरा जति भात टिप्दै थिइन् । त्यो भात सेतो थियो । बिहानै शीतको थोपा जस्तै टल्किरहेको थियो ।

‘किन फ्याँक्नु भएको त भात यो सडकको छेउमा, आमै ?’ मैले नजान्ने गाउँको बाटो सोधे जस्तो गर्न थालेँ ।

‘नानी, बिहानै मलाई खाजा खान दिएको अरे हिजोको बासी भात,’ आँखाभरि आँसु टिलपिलाउँदै बोलिन् ।

‘होइन, यी ढाँट्छिन् । नपत्याउनु, भाइ । त्यो भात उनलाई दिएको होइन । हिजो उब्रिएको भात कराइमा थियो । बिहानै उनले देखिन् । ‘पोख्नुहुँदैन भन्दाभन्दै अनि लगेर पोखेकी,’ गाईको थलामा आगो फुक्दै गोमाका ज्वाइँ कराए ।

‘मलाई बस्नखान दिएनन् यहाँ, नानी ! आछिछि….’, आमै एक्लै बोल्दै एक हातले कचौरा समातेर एक हातले सेतो भात टिपिरहेकी थिइन् ।

बिहानैको शीतका थोपा सूर्यको प्रकाशसँगै मोती जस्तै टल्किरहेका थिए, सूर्यका किरणसँग जिन्दगीका उमङ्ग साटिरहेका थिए । तर सम्भव छ ? सूर्यका किरणले शीतका थोपालाई जिन्दगीको भीख दिन्छ ? दिँदैन । बरु सूर्यका किरणको आगमनसँगै शीतका थोपाको जिन्दगी सखाप हुँदै थियो । गोमा पनि तिनै शीतको थोपा हुन् जस्तो लाग्यो । अनि साइँली छोरीको घर सूर्य । मान्छेले बाहिरबाट हेर्दा झलमल छ । सूर्योदय भइरहेको छ । तर शीतको जीवन धरापमा छ, यो कोही पनि देख्दैनन् । बाहिर धरतीमा त सूर्योदय भइरहेको थियो, तर गोमाको जीवनमा सूर्यास्त भइरहेको देखें मैले ।

गोमालाई बेस्सरी ‘मन्त्रिनी आमै, कुराउनी छ ?’ भनेर बेस्सरी कराउन मन थियो । मेरो जिब्रो कुराउनी सम्झेर रसाइरह्यो । तर आफैँलाई सम्हालेर म अघि बढेँ । बिहानका घाम चर्किंदै थिए । शीतका थोपा जिन्दगीको भीख मागिरहेका थिए घामका किरणसँग !