फुर्सदको बेला घरको छतमा गएर टहलिन्थी ऊ । आकाशमा झलमलाएका ताराहरू हेरेर रमाउँथी । सोच्ने गर्थी सबैको दिलमा बसेको ध्रुवतारा जस्तै चम्कनेछु म । गमलामा फुलेको गुलाबको सुन्दरता देखेर आह्लादित हुन्थी । फूलसँग आफूलाई तुलना गर्दै अनुहारमा मादकता छर्ने गर्थी । जीवनभर साथ दिन्छु भन्ने श्रीमान् साथमा थियो । दुई जना सन्तान हुर्किसकेका थिए । अभाव केहीको थिएन उसलाई ।

तैपनि, पछिल्ला केही वर्षमा खल्लो हुँदै गएको थियो उसको दैनिकी । सपनाको स्वाद नमिठो हुँदै थियो । सब थोक पाएर पनि अपूर्ण, भरिभराउ भएर पनि अभाव जस्तो बिस्तारै गुड्दै थियो जीवनको रथ । निराकार भित्र आकार खोज्दै तौलँदै थिई जिन्दगीको तौल उसले ।

लामो समयको यातनापछि खुल्ला आकाशमा फुत्किएकी छ ऊ । दौडिएर गगन चुम्न मन छ । आज खुसीको दिन । तर खुसीमा छुट्ने अट्टहास हाँसो भने छुट्न सकेको छैन । न त दिल खोलेर हाँस्न सक्छे । न त चिच्याएर रुन सक्छे । भरोसाको बाँध भत्कियो अब । विश्वासको सगरमाथा ढल्यो । जटिल सम्बन्धको पूर्णविराम सँगसँगै उसले आजादी पाएकी छ । तर किन किन उसलाई यो स्वतन्त्रताले खुसी दिएन । उसले सोचेकी थिइन्, आजादीको रङ्ग यति फिका हुन्छ भन्ने । खुसीको पल यति नमिठो शून्य हुन्छ भन्ने ।

फिका रङ्गको खुसीको प्रमाणपत्र लिएर उसले शून्य शून्य लाग्ने आजादीलाई अव दैनिकी बनाउनु पर्ने छ । हुनेछैन, अव विश्वासको अभावमा जीवनको खल्लो आभास । पटक पटक प्रमाण जुटाउँदै प्रस्टीकरण मागिरहेको उसको लोग्नेको कुटिल चलाखीपन । हरेक पल उसको आदेशमा चल्नुपर्ने एउटा निरीह महिलाको भूमिका पनि सकिएको छ । पूर्णविराम लागेको छ ।

उसलाई लागेको थियो, सम्बन्ध जोगाउन मान्नुपरेका हैकम, आदेश र जिम्मेवारीका बोझ थन्काएर एउटा गर्विलो जिन्दगी बाँच्छु भन्ने । पन्छी जस्तै आकाशमा उड्छु भन्ने । उडानका पखेटा फटफटाउँदै संसारभर पुग्छु भन्ने । तर खै किन आफैभित्र निसास्सिएकी छ ऊ । भर्खरै पाएको आजादीले उसलाई उकुसमुकुस भएको छ । शब्दविहीन र संवेदनाविहीन शून्य भएकी छ । उसको मानसिकता स्थिर प्राय छ ।

निकै भारी मनले आफ्ना सामान्य लुगाफाटा सुटकेसमा हालेर उसको लोग्ने घरबाट निस्किएको भर्खरै हो । गेटअगाडि कुरिरहेको ट्याक्सीमा गएर सिटमा थचक्क बस्यो ऊ । निकै दयनीय भावमा घरलाई एक पटक हेर्यो । सुइया सुस्केरा हाल्यो र गेटपछाडि उभिएको आकृतितिर नजर फर्कायो । गेटपछाडिको धुमिल आकृति सँगैसँगै उसले मालाको धड्कन महसुस गर्यो । आफ्नो गल्तीको प्रायश्चित गर्दे बर्बरी आँसु बर्सायो । नयनबाट बर्सिरहेका आँसुको तपतपलाई महसुस गर्यो । आत्मग्लानिले शिर झुकायो । हरेक दिन हजारौँ बचन लगाउने सक्ने ऊ आज भने नाजवाफ भएको थियो । शब्दविहीन भएको थियो । ऊ चुपचाप अघि बढ्यो ।

ट्याक्सीले स्पिड लिएको महसुस गर्नासाथ उसले गेटभित्रबाटै अलि पर नियाली । कोही गैरहेको, केही छुटिरहेको र केही हराइरहेझैँ उसलाई नमिठो लाग्यो । अप्रिय घटनाको आशङ्काले भयभीत देखिन्थी ऊ । जिन्दगीको खम्बा नै भाँचिएपछि आउन सक्ने हरेक परिस्थितिको पूर्वानुमान गरिसकेकी थिई माला । आँखैअगाडि सूर्य चढेको ट्याक्सीले गति बढायो । बिस्तारै धुमिल हुँदै थ्यो उसको आकृति । हडबडाई ऊ, लामो सास तानेर गेट ढ्याम्मै लगाई । एकै सासमा तिन तलामाथिको कोठामा पुगेर बजारिई । ऊ बरबराई, उफ् कस्तो नमिठो आजादी, कति नमिठो स्वतन्त्रता ।

जुरुक्क उठेर, ड्रेसिङ टेबलमा सजाएर राखेकी थिई चुरा र पोते । अफिस जानुअघि छड्के सिउँदो कोरेर रातो सिन्दूर लगाउने गरेकी थिई । सिन्दूरको बट्टाले गिज्याएजस्तै लाग्यो उसलाई ।एकै झड्कामा दर्जनौँ चुरा फुटाई, अनि सेतो कार्पेटको भुइँमा सिन्दूर छरेर रगताम्मे बनाई । लामो श्वास फेर्दै डाँको छोडेर रोई ऊ ।

दिनभरको अदालती झमेला । कागजात, वकिल र इजलास अनि न्यायाधीशको तार्किक प्रश्नको सवाल । करिब २४ वर्षसम्मको सम्बन्ध । निलो मसीको एक हस्ताक्षर सँगै पूर्णविराम लागेको छ । अब पुनः नजोडिने गरी टुटेको छ । छुटेको छ, एउटा सहयात्रा । दुखका सयौँ पहाड उक्लिएर सुखको गन्तव्य सुरु भएको थियो उसको । इज्जत, मान, प्रतिष्ठा, दौलत सबथोक मिलेको थियो । खुसी र सुख मात्रै थियो उसको जीवनमा । तर सायद भावीले खुसी लेख्न छुटायो कि उसको निधारमा ? वा दैवले नै नजर लगायो कि । उसको खुसी र सुखले साथ छोड्यो ।

अटल विश्वासले अग्लो पहिचान बनाएको उसले आफूलाई नामेट पार्यो । मालाको विश्वास, त्याग र भरोसालाई लत्त्याउँदै पटक पटक धोका दिइरह्यो । ऊ कहिले सहकर्मीसँगको रासलीलामा भेटिन्थ्यो त कहिले आफूले पढाउने विद्यार्थीसँग उठबसमा हुन्थ्यो । ऊ हरेक पटक केही न केही हर्कत गरिरहेकै हुन्थ्यो । यो पटक भने मालाकै अगाडी कुकर्म गर्यो । यसैको परिणाम स्वरूप एउटा प्रेमको महल गर्ल्याम्म ढल्यो । सुखद परिवार क्षणभरमै टुक्रियो ।

परिवारको विरुद्धमा गएर सूर्यसँग प्रेमविवाह गरेकी थिई मालाले । उसको विवाहपछाडि बन्द भए, सबै आफन्तका आँगन । अनि छहारीहरू । प्रेमको सागरमा सूर्यमालाको जोडी एक भएर अगाडी बढ्दै थियो । दुख, सङ्घर्ष र अभावका समयमा मायाको सहारा थियो, र त छिट्टै बितिगए दुई दशक । जिम्मेवारीको जाँतोमा पिल्सँदा पिल्सिँदै, दौडँदा दौडँदै आफैलाई खोज्ने, सोध्ने र माया गर्ने फुर्सद नै भेटिन उसले । पारिवारिक बन्धनले उसलाई मेसिन बनायो । अरूका लागि बाँचिदिने परजीवी बनाएको थियो ।

नराम्रा समाचार सुन्न मन लाग्दैन उसलाई । परिवार टुटेका र छुटेका कथा पढ्न मन लाग्दैन मालालाई । प्रेम वियोगमा छटपटाएका प्रेमिल मन देख्दा छटपटाउँछे ऊ । बिछोडका दृश्यले आघात हुन्छ उसलाई । तर उसले जे नहोस् भनेकी थिई, त्यही देखी उसले । चलचित्रमा पनि हेर्न नचाहने दृश्य आज साक्षात् उसैले देखी । ऊ चुपचाप हेरिरहन विवश थिई ।

हुन त सूर्यका पछिल्ला केही व्यवहारले शङ्का नउब्जाएको पनि हैन । तर उसले बेवास्ता गरिदिएकी थिई । अनावश्यक आदेश र झैझगडाले हरेक दिन खल्लो बनाउँथ्यो सूर्य । यो गर उ नगर । योसँग बोल, यसलाई यो किन भनिस् ? किन सोधिस् ? यो सँग नबोल । हरेक काम गर्नअघि आदेश जारी गर्थ्यो । ऊसँगको मिठास सकिँदै थियो सम्बन्धमा । अनि भत्कँदै थियो, भरोसाको धरोहर र आत्मीयता पनि ।

श्रीमानको लामो आयुको कामना गर्दे निराहार व्रत बसेर पूजा गर्ने तिजको दिन । अफिस बिदा भएकाले ऊ ढिला नै उठी । सानैदेखि विद्रोही स्वभावकी ऊ व्रत, धर्म भन्दा पनि मानवीय काममा विश्वास राख्थी । तिजको दिन घरमै श्रीमान् र छोरासँग बिताउँछु भन्ने थियो ।

बिहान उठेर चिया बनाउने सुरसारमा थिई ऊ । माथिल्लो तल्लामा रहेको किचन पस्ने ढोका भित्रबाट लक थियो । उसलाई अचम्म लाग्यो । सधैँ खुल्ला हुने ढोका कसले लगायो ? उसले ढकढक गरी ।

निकै बेरपछि हतारिँदै उसको लोग्नेले ढोका खोल्यो । ऊ हाफ पाइन्टमै थियो । असिनपसिन हुँदै टाउको निहुराएर हडबडाउँदै बोल्यो । उत्ति नै बेला घरमा बिहानको काम गर्न आउने केटी चोर बिरालोको चालमा बाथरुम पसी । मालाले वेसिन मुनिको डस्टविन हेरी । भर्खरै प्रयोग गरिएको कन्डमबाट तप तप लेदो चुहिरहेको थियो । माला केही बोल्नै सकिन । ढ्याम्मै भुइँमा पछारिई । अचेत अवस्थामै उसलाई सूर्यले सोफामा ढल्काएको थियो । होस आउँदा, नजिकैको कुर्सीमा बसेर सूर्य फोनमा व्यस्त थियो । सूर्यको अनुहारमा आफूले कुकर्म गरे भन्ने अलिकति पनि पश्चात्ताप थिएन । मालाले बेस्वादिलो नजर फ्याँकी सूर्यको अनुहारतर्फ । मनमनै धिक्कारी…

उसले सोची, हैन यी पुरुषहरू कुन चिजले बनेका हुन्छन् । सेकेण्ड भरमै रूप परिवर्तन गर्ने ? कसरी गर्न सक्दा हुन यस्तो नाटक ? घरको किचनमै कामवालीसँग रासलीला मच्चाउन उनीहरूलाई कुन नैतिकताले दिँदो हो ? अनि समाजमा नैतिकताको गफ लगाउँदै हिँड्न कुन स्वाभिमानले दिन्छ होला ?

सँगै हिँड्दा निकै माथिल्लो स्तरको कुरा गर्ने सूर्य । घरमा काम गर्ने महिलासँग रङ्गेहात भेटिएपछि मालाले टुटाएकी हो सूर्यसँगको बाँकी जिन्दगी । अनि जीवनभर सँगै बाँच्ने सपना । आँखैअगाडि देखेको सत्यलाई असत्य हो भनेर बाँच्ने अवस्थामा थिइन माला । सूर्यले लाख बिन्ती गर्यो । गल्ती भयो भन्दै माफ माग्यो । गिडगिडायो । अहँ ढुङ्गा बनेको मालाको मन पग्लिएन । केही दिन अफिसमा बिदा मागी र सम्बन्धविच्छेदको मुद्दा अगाडी बढाएकी थिई ।

पटक पटक चोरी गर्दै आएको सूर्यलाई आफ्नो गल्ती खास लागेको थिएन । उसले पटक पटक हात जोड्यो । अब गल्ती नगर्ने बाचा गर्यो । छोराछोरीको खुट्टा छोएर पाउ पर्यो तर माला स्विकार्ने अवस्थामा थिइन् । मालालाई सम्झाउनको लागि नेता लगायो, मन्त्री लगायो, पद पावर सबै प्रयोग गर्यो तर सफल भएन । पूर्व कृषिमन्त्रीको पनि भिडियो सार्वजनिक भएको थियो भन्दै घटनालाई सामान्यीकरण गर्यो । तर विश्वास टुटेको मालाको मनले अब सूर्यलाई स्विकार्ने अवस्था थिएन ।

सम्बन्धविच्छेदको अन्तिम दिन । इजलासमा बहस हुँदै थियो । धोका र चोटले आघात परेकी माला निकै कन्फिडेन्ट देखिन्थी । उसलाई यो जटिल सम्बन्ध सकाउन हतार थियो । उता सूर्य भने माफीको भिख मागिरहेको थियो । अरू बेला बोली सुनेरै सन्चो बिसन्चो थाहा पाउने माला अहिले भने सूर्यको आँखामा अनवरत छल्किरहेको आँसु देख्दा पनि निराश बनिन । जति बढी सूर्यको अनुहारमा पिडा देख्थी, उति खुसी मिल्थ्यो उसलाई ।

घर परिवार र सम्बन्ध गुमाउनुको पिडा भन्दा पनि सम्पत्ति गुमाउनुको पिडा सूर्यको अनुहारमा झल्किन्थ्यो । इजलासमा धेरै पटक भनिरह्यो । ‘जे सुकै होस, मालाको नाममा घर पास गर्न सक्दिन मैले ।’ अन्ततः भएको सबै सम्पत्ति छोराछोरीको नाममा राख्ने सहमति पश्चात् नै राजी भएको थियो सूर्य ।

एक हप्तादेखि नै, मालाको फोनमा घण्टी बजिरहेको छ । प्राय फोन नगर्ने उसका भिनाजुले गफ गर्न खोजिरहेका छन् । फेसबुकमा म्यासेज छाडेका छन्, भाइवरमा पनि खबर छाडेका छन् ।

उनी भन्दै थिए, “हातखुट्टा भाँचेर कोठामा राख, सूर्यलाई । एक पटकलाई माफ गरिदे । सम्बन्ध नै किन तोड्नुपर्यो । यस्ता घटना समाजमा भैरहन्छ नि । पुरुषले गल्ती गर्यो भनेर महिलाले पनि गल्ती गर्न हुन्न । मुद्दा फिर्ता लिनू ।”

वर्षेपछि फोन गरेको भिनाजुले एक मिनेटमै आदेश र निर्देशन दिए ।

सूर्यको विषयमा कुनै बहस गर्नु थिएन उसलाई । मौन बसी माला ।

सूर्यले एक पटक मात्रै हैन, पटक पटक टुटाएको थियो उसलाई । कुटिल चाल चल्दै फसाएको थियो उसलाई । यो पटक उसले विश्वास तोडेको मात्रै हैन । मालाको मनमा बसेको उसको पूज्य तस्बिर पनि फुटाएको थियो । कहिल्यै नजोडिने गरे टुटाएको थियो ।

आँखाबाट झरेको आँसु पुछ्दै भिनाजुलाई प्रश्न गरी, “सूर्यको ठाउँमा मैले पनि यस्तै गरेको भए, तपाईंले यस्तै निर्देशन दिनुहुन्थ्यो ? तपाईं भन्न सक्नुहुन्थ्यो ? मालाले एक पटक गल्ती गरेकी हो, माफी दिनुस् ?”

मालाको प्रश्नमा नाजवाफ भए उनी ।