म’सँग प्राथमिक, निम्नमाध्यमिक र, माध्यमिक तहको “स्थायी अध्यापन अनुमतिपत्र” छ । “अधिवक्ताको लाइसेन्स त मैले चार वर्ष अगाडि नै निकालिसकेको हो नि !” भन्दै चिया गफमा फुर्किने मेरो साथी ‘सोमे’ उर्फ सोमराज र ‘म’ पनि त्यै ड्याङको मुला अध्यापन अनुमति पत्रअधिवक्ताको लाइसेन्सकतै कुनामा थन्क्याएर भाँडा हान्ने काममा व्यस्त छौँ ।

फरक त्यति हो, काम एउटै भाँडा हान्ने भए पनि धरातल छुट्टै, ऊ अस्ट्रेलिया म र क्यानडा । सोमे र मेरो फेसबुकप्रोफाइल कसैले खोतलेर हेर्यौ भने ‘मा…कसम’ जसले पनि विद्वान भन्छ नै ! काठमाडौँ उपत्यकाका करिब-करिब सबै क्याम्पस पढेको त्यो पनि ५/७ वटा विषयमा डिग्री गरेको सजिलै अनुमान गर्न सकिन्छ ।

रत्न राज्य क्याम्पस‘(R.R.) वा नेपाल मानविकी क्याम्पसको एम.ए.इन इङ्ग्लिस लिट्रेचर‘, नजिकै ‘नेपाल ल क्याम्पस’को ‘एल.एल.बि’, पाटन संयुक्त क्याम्पसको ‘एम.ए. इन रुरल डिभलपमेन्ट’, र कीर्तिपुर केन्द्रीय क्याम्पसको एम.ए.इन पोलिटिकल साइन्समेरो फेसबुके प्रोफाइलमा देखिने डिग्री हुन् ।

जसमध्ये ‘R.R.को इङ्ग्लिस र ल क्याम्पस’को L.L.B. निमा आन्टीसँगको एक राते सहवासले कनीकुथी कटाएका डिग्री हुन् । नझुक्किनुस् यार…! निमाको गेसपेपर परीक्षाको अघिल्लो दिनको रातमा पढेर कटाएका हुन् भन्या ! अरू फेसबुके डिग्री त सब बकवास । त्यै भएर अचेल म फेसबुकलाई बेवकुफभन्न रुचाउँछु ।

सबैले सबैलाई  मात्रै बेवकुफ बनाउँछन् त ! कसैले कसैलाई नै बाँकी राख्दैनन् त ! मेरो डिग्री र सोमेको डिग्रीमा उसका थप डिग्रीमा ताहाचल क्याम्पसको एम.एड.इन इङ्ग्लिस ल्याङ्ग्वेज‘  र वन इयर बिएडको डिग्री पनि छ ।  यी दुवै डिग्री पनि बेवकुफे डिग्री मात्रै हुन् । आफैलाई बेवकुफ बनाउने डिग्री तातो न छारोका ।  

यतिका धेरै डिग्रीधारी हामीले शाेधकार्य यानि थिसिस क्यासमै किनेर बुझाएको ! अनि भुत्राको ज्ञान-प्रज्ञान हुनु हामीमा । जे भए नि पैसा चैँ परेको छ है हाम्रो डिग्रीमा । एकदिन सोमेले “अस्ट्रेलियाको सवारी” स्टाफ नर्स सकेकी, अल्कामा काम गर्दै गरेकी पट्ठी पट्याएर उसको क्लियर ग्रीन सिग्नल पाएको खुशीमा दिएको जाँडे पार्टीमा जाँडले मातेर बोलेको बोली साँच्चिकै कटु सत्य लाग्छ ।

था छ डम्मरे !  मैले त अस्ट्रेलियाको सवारी भेटे नि अब छिटै उड्छु सवारीसँगै, अनि नि ! उता गएर मैले मस्काएको भाँडाको चमक र टी.यु. को सर्टिफिकेटको निलो रङ्गको स्टिकरको चमकमा कुन चम्किलो छ तुलना गर्छु यार । भन त … डम्बरे कुन चम्किलो होला !”

टी.यु. को सर्टिफिकेटको निलो रङ्गको स्टिकरको चमकको तुलनामा मैले क्यानडामा हानेको भाँडाको र सोमेले अस्ट्रेलियामा हानेको भाँडाको चमक सयौँ गुणा चम्किलो लाग्छ । टी.यु.को सर्टिफिकेट देखाउँदा मलाई आमाले भनेको सम्झन्छु;

तेरा ती खोस्रे कागजले पढाइमा अब्बल भएको भाइलाई इन्जिनियरिङ पढाउन सक्छस् ? बैनीलाई बिस्सी नर्सिङ पढाउन र दिदीको  बिहे-दान गर्न सक्छस् ? तँ काठमाडौँ बस्दा लागेको ऋण तिर्न बन्धक राखेको पाटे खेत निखन्न सक्छस् ?”

आमाका प्रश्नरूपी वाणले म खिस्रिक्क हुन्थे प्रतिउत्तर त के आमाको अनुहारमा सिधा हेर्न पनि असमर्थ हुन्थेँ ।  तर हिजो-आज आमा प्राय: भिडियो कलमा सम्झाउनुहुन्छ,  “आफ्नो स्वास्थ्यको ख्याल राखेस्  ।”

आमाका चम्किला आँखा देख्दा टी.यु.को सर्टिफिकेटको चम्किलोपन फिक्का-फिक्का लाग्छ । सोमेको पनि मेरो जस्तै हो हालत । र त प्रेम गरेकी ऊ बेलाकी प्रेमिका र अहिलेकी जीवनसङ्गिनीलाई जाँडकै तालमै “अस्ट्रेलियाको सवारी” भन्यो । त्यो उसको अवचेतन मनको सत्य थियो निस्किहाल्यो ।

अचेल म उसलाई कहिलेकाहीँ कल गर्दा जिस्काउँछु; “तेरो र तेरो अस्ट्रेलियाको सवारीको हालखबर कस्तो छ ।” ऊ रिसले मुरमुरिन्छ ।

सोमेले एउटा औषधि कम्पनीको ‘चिकित्सा प्रतिनिधि (MR)सहायक’ भएर कसरी-कसरी अस्ट्रेलियाको सवारीजुटायो र जाँडे पार्टी दिइहाल्यो । र दिन गन्ती पो गर्न लाग्यो पखेटा लगाउने आफ्नो र आफ्नो परिवारको ! आफू भने प्रोग्रेसिभ स्कुलको ल्याङ्ग्वेज काडिनेटरकहाँबाट जुटाउने त अस्ट्रेलियाको सवारीसजिलो रहेन मेरो अवस्था ।

“सँगैको साथी हवाईजहाज माथि मन मेरो फुरुरु… ।” गीतमा तर यथार्थमा मेरो मन  भतभती पो भयो ।  मेरो मनको व्यग्रतालाई ढाडस दिन मैले पनि थाले अस्ट्रेलियाको सवारी जुटाउन! बुबा-आमाले दशैँमा दिएको आशीर्वादको चुरो कुरो “आके-ताकेको पुगोस् !” मैले नि मनैदेखि बोईङ् जहाज चढाउने सवारी खोज्न साँच्चिकै आँक्न र ताक्न थालेको थिएँ ।

संयोग नै भन्नु पर्छ, कुनै समय काठमाडौँमा कोठा भाडा तिर्न नसक्दा बि.बि.एस.को सबै विषय पास गरेर फर्स्ट इयर र सेकेण्ड इयरको अङ्ग्रेजी मा अड्केकी सुधा जी‘ ! त्यो समय उनले मलाई दश हजार दिएर गर्जो टार्देकी थिइन् मैले उनको बि.बि.एस.को अङ्ग्रेजीको पासो निकाल्दिएको थिएँ नक्कली परीक्षार्थी भएर !  जो मेरो फेसबुके साथी थिइन् ।

उनैले प्रस्ताव राखिन्; “तपाईं अङ्ग्रेजीमा खरो हुनुहुन्छ आई.इ.एल.टी.एस.मा ७.५ ल्याउनु भयो भने, मेरो नि MBS र कामको अनुभव छ क्यानडाको एक्सप्रेस इन्ट्री भिजामा ट्राई गरी हेरुम् न !”

हेर्ने मात्रै हो भने त सक्दिन भनेँ ।

लु उसो भए कागजी बिहे गरौँ पहिला अनि तपाईं आई.इ.एल.टी.एस. गर्नुस् डम्बर जी” भनिन् उनले  ।

मनमा लड्डु फुटे ! सोमेलाई साक्षी राखेर अदालती विवाह गरेपछि स्कुले जागिरको  बिट मारेर आई.इ.एल.टी.एस. को तयारीमा जुटेँ  । ७.५ मात्रै होइन ८ नै पो आयो भुर्रै उडिहालिन्छ कि जस्तो अनुभूत भयो ।

आई.इ.एल.टी.एस.को परिणाम पछि करिब पाँच महिनापछि एक्सप्रेस इन्ट्रीको क्यानडाको भिजा लाग्यो । उड्न खोजेको थिएँ अस्ट्रेलिया तर…! जाने टुङ्गो भएपछि सुधा जीको परिवार र मेरो परिवारलाई जानकारी गराएर कागजी बिहेलाई वैधानिकता दिँदै मन्दिरमा सिन्दूर-पोते गरियो ।

आमा ढुस्किँदै हुनुहुन्थ्यो; “तेरो नि  बिहे यस्तो  भाँडाकुटी खेलेजस्तो जेठो छोरो भएर नि !” 

बुवाको अर्कै पिर; “तेरो छोरो पढाउन पाटे खेत बन्धकमा छ अब नौमती बाजा बजाएर बिहे गर्ने हो भने पाटे खेतको सधैँको लागि माया मार्दा हुन्छ ।”

आमाको बोलीमा बिर्को लाग्यो । कस्तो टर्रो विडम्बना आफ्ना छोराछोरीको बिहे भाँडाकुटी खेल । होइन नि, सारा जिन्दगी नै केटाकेटीको भाँडाकुटी खेल जस्तै नै ! उफ्…!

सोमे भन्दा मैले (ए होइन नि हामीले- सुधा र मैले‘) ८ दिन ढिलो नेपाल छोड्यौ । सोमे र म किन यस्तो भयौ ? के निमा आन्टीको सहवासमा परीक्षा पास गर्नु हाम्रो रहर हो ? ट्यु मक्किनु हाम्रो कारण हो

हो ।  धेर थोर त पक्कै हो । अनि बिना आधार खाली प्रमाणपत्र बाँड्ने राज्य र बाँड्न उक्साउने/लगाउने हामी जनता नि उतिकै दोषी, होइन र !

जे भए नि ७/८ वर्ष काठमाडौँ बसेर भेला गरेका प्रमाणपत्र, जुन आज भाँडा हान्न, ट्वाइलेट हान्न काम लागिरहेका छन् । कहिलेकाहीँ फुर्सदमा ती भाँडा हान्न सहयोग पुर्याउने मृत प्राय: खोस्टे सर्टिफिकेट मुसारेर काठमाडौँ बसाइँलाई रिक्याप गर्दै खित्किन्छौँ, मुर्मुरिन्छौँ अनि स्खलित हुन्छौँ सोमे आफ्नो धरातलमा म आफ्नै ।

धन्य टी.यु.! अब त टी.यु.को पनि ट्युको पनि हावा फुस्केर टायर मक्केर जीर्ण भएको घरको कुनामा पल्टेको खियाले पुरिएको साइकल जस्तै-जस्तै हालतमा पुग्न लागेको खबर यदाकदा सुनिन्छन् । सिकाउने प्रिय प्रोफेसर भन्दा पनि स्वाँठ भर्तीकेन्द्र बनेपछि, हाम्रो घरमा पालेको ब्याडे बाख्राको बोको पसेर खोर भत्काएको जस्तो त भै हाल्ने भयो नि !

सोमे र मैले  उदयपुरन त तराई न पहाड भन्न सकिने भन्नलाई भित्री मधेसबाट काठमाडौँ सँगै छिरेका पढ्न अनि काम गर्न/खोज्न, र ठुलो बोईङ् जहाज चढेर सँग-सँगै जस्तो नै देश छोडेका ।  फेसबुकमा देखिएका डिग्री किन भेला पार्न खोज्यौ ? त्यसको उत्तर न मसँग छ, न सोमेसँग, न त राष्ट्रसँग छ । कमजोर आर्थिक अवस्थाले पढेपछि पैसो अलि बढी कमिन्छ कि भन्ने आश पो हो कि ! ‘पढेर ठुलो मान्छे बन्नु’ भन्ने बा-आमाले  दिएको दशैँको आशीर्वादले पो लागेको पो हो कि ! खोइ के-के ? तर एउटा गाँठी कुरो के हो त्यसको उत्तर अहिलेसम्म भेटेकै छैनौँ ।

केही फेसबुके डिग्री त काठमाडौँको लोकल बसमा छुट लिन आइडी कार्ड  भेला पार्न गर्यौ कि जस्तो भान हुन्छ । हुन पनि विश्व भाषा क्याम्पसको चाइनिज‘, ‘जर्मनअङ्ग्रेजी लेखनकक्षा त ‘मा…कसम’ आई.डी.कार्ड भेलै गर्न सल्लाहले नै एडमिसन मात्रै गरेकै हो । 

सोमेलाई एउटा गतिलो निवेदन लेख्ने ढङ्ग छैन, म बबुरो नि त्यै ड्याङे न हुँ एल.एल.बि.को डिग्री र अधिवक्ताको लाइसेन्सधारी म ७२ को संविधान कहिले जारी भयो भन्ने प्रश्नको उत्तर खोज्न सधैँ गुगल गर्नु पर्छ । काठमाडौँको बसाइँमा मैले केही काम गरिन ! गरे तर मैले गरेको कामलाई कसैले काम ठानेको भए, मलाई पनि म पनि यो देशको नागरिक भन्ने अनुभूत हुन्थ्यो होला । सायद म नि यो बिरानो देशमा भाँडा हान्ने काम गर्न आउँदिन थिए कि !

अरू विषयमा जे-जस्तो भए पनि मेरो अङ्ग्रेजी स्पोकन राम्रो थियो जसले ८ बर्षको काठमाडौँ  बसाइँमा भात ख्वायो । त्यै अंग्रेजीले निजि स्कुलमा ६/७ वर्ष ८/१० वटा स्कुलमा पढाएँ  । कुनै पनि स्कुलमा तथाकथित स्कुल सञ्चालकहरूले शिक्षक त परै को कुरा एउटा निम्च्छरो कामदार नि कहिल्यै सम्झिएन । र त मन विरक्त बनाएर, अनागरिक भएर बाच्नु भन्दा गैर-आवासिय नागरिक हुने आकर्षणले स्थान पायो हाम्रो जीवनमा । 

सोमेसँग राम्रो वाककलाको क्षमता छ । ऊ बोल्दा शब्द चयन गतिलो तरिकाले गर्छ, सितिमिति उसले भनेको कुरा कसैले नाइँ भन्नै सक्दैन । भलै पर्याप्त अध्ययनको अभावले सान्दर्भिक जानकारीलाई संश्लेषण र विश्लेषण गर्न सक्दैन ।

तर उसको त्यो क्षमताको समयमै पहिचान गरेर त्यसै अनुरूपको मल-जल पाएको भए आज ‘मा…कसम !’ सोमे गतिलो व्यवस्थापक बन्ने थियो । मेरो अङ्ग्रेजी भाषा-साहित्य प्रतिको लगावले बेलैमा पहिचान पाएको भए ! के म हेरोल्ड पिंटर, जेन अस्टिन, जोन मिल्टन जस्तै नबने पनि ड्यामरे बस्नेटत बन्थे कि ! खैर यी कोरा कल्पना, मनका लड्डु घ्युसँग खाए जस्तै हो !