झन्डै कर्णाली जत्रै लाग्ने सङ्लो पानी बगेको टान नदी समुद्रमा मिसिँदै गरेको दोभानमा विशाल स्टिल कारखाना स्थापित रहेछ । देख्तै मैले चित् खाएँ । अनि सँगै बगलमा बसेकी गाइड मेडमलाई सोधेथें- “हैन कोरियामा त नदीमा बाढी पनि आउँदैन कि क्या हो ?”

– “हो कोरियामा त्यति बाढी आउँदैन । वर्षभरि पैँतालिस दिन जति हल्का मनसुन आउँछ । किन सोध्नुभयो ?”

“यति ठूलो नदीको दोभानमा यत्रो स्टिल कारखाना ? हाम्रो देशमा भए कहाँ पुऱ्याइसक्थ्यो बाढीले- कारखानाको अस्थिपञ्जरसमेत नामेट पारेर ।” “हाम्रो देशमा बाढीपहिराको त्यति समस्या छैन । सामान्य मात्र वर्षा हुन्छ । हिउँदे झरी बादल कहिलेकाहीँ लाग्छ जाडो मौसममा ।”

“त्यही पनि पानी मात्र हो र । आँधीबेहरी, चट्याङ, हिमआँधी पनि आउँछन् हाम्रो देशमा त । एक महिनाभित्रै यहाँको वर्षभरिको जति पानी पर्दो रहेछ ।”

गाइड मेडम र म संवाद गर्दै बसबाट उत्रिँदै थियौँ । वर्षाबाढीको प्रचुरताको बखान गर्दै कोरियाली युवतीमाथि म आफ्नो देशको मौसमी उदात्तता याने सुप्रिमेसी ओढाउन खोज्दै थिएँ । हामी त्यतिबेर दक्षिण कोरियाको पूर्वी सहर उल्सानबाट फर्किएर पोहाङ सहर किनारको पोस्को स्टिल कारखानाको अवलोकन गर्ने कार्यक्रमअनुसार मूल गेटअगाडि पुगेका थियौँ ।

हाम्रो स्वागतमा खटिएकी युवतीले झुकेर अभिवादन गर्दै कारखानाको समीक्षालयतर्फ डोऱ्याइन् । जापानी परम्पराकै अभिवादन चल्दो रहेछ यहाँ पनि ।

स्वागत कक्षमा बसेर कारखानाको सामान्य परिचय लियौँ । कारखानाको लागि चाहिने कच्चापदार्थको आपूर्ति, पुँजी, बजारव्यवस्था, प्रचारप्रसार, कर्मचारी, मजदुर, प्राविधिकहरूको व्यवस्थापन, कारखानाको सञ्चालन आदि विविध विषयमा जानकारी पाएथ्यौँ ।

कारखानाको पल्लो भेगको समुद्री किनारमा बुट्यान पाखाभरि झिलिमिली हजारौं भुइँघरहरूको बस्ती रहेछ । झलक्क देख्ता पर्यटक आएर बस्ने रिसोर्ट एरिया होला भन्ने लागेको थियो ।

कारखानाकै कामदार कर्मचारीहरूको बसोबास क्षेत्र रहेछ । बस्तीको वरिपरि शैक्षिक संस्था, आमोदगृह, खेलकुद मैदान, स्टेडियम, सङ्ग्रहालय समेतको व्यवस्था रहेछ । कर्मचारी मजदुरका सन्तति, परिवारको शिक्षा र मनोरञ्जनका लागि समेत कारखानाले थुप्रै लगानी र शिक्षा, आमोदप्रमोद जस्ता विषयमा अतुलनीय व्यवस्था गरेको देख्दा आश्चर्य लाग्यो । कर्मचारी र कामदारका सन्ततिहरूको पठनपाठन र व्यक्तित्व विकासका लागि अरू पनि धेरैथरी योजना कार्यक्रम र साधनहरूको व्यवस्था गरिएको रहेछ ।

स्वागतकक्षकी युवतीले हामीलाई कारखानाको टावरमा लगेर यी सबै दृश्यहरू देखाएकी थिइन् कारखानाको बाहिरी एरियामा थरिथरीका कच्चापदार्थहरूका थुप्रै रास र पहाडै थिए। समुद्रकिनारमा टुँडो परेको कारखाना क्षेत्रमा विशालकाय पानीजहाजहरूले किनारसम्म माल ल्याएपछि रेलका डिब्बामा उतारेर गोदामभित्र पुऱ्याउने व्यवस्था रहेछ ।

त्यस्तै अर्को पट्टिको टुँडाबाट तयार माल पानीजहाजमा लोड गरेर विभिन्न देशतिर पठाउने व्यवस्था रहेछ। विभिन्न देशका विभिन्न कम्पनी, र कारखानाहरूका अर्डरअनुसारकै स्टिल, आल्मुनियम, फलाम, सिसालगायत धातुका किला, पुर्जा, प्लेट, रड आदि सामग्रीको निर्यात गर्ने गरेको जानकारी पायौँ । पहिला कच्चा पदार्थ प्रशोधन गरेर फलाम निकालेपछि त्यही फलाम पगालेर स्टिल बनाउने, स्टिलका पनि विभिन्न खाले पाता, रड, काँटा, किला, छड, प्लेट, चक्कादेखि सिन्का, सियो, कन्कर्नासम्मका सामान तयार गर्ने विभिन्न मेसिनरीहरूले एकै साथ काम गर्ने रहेछन् ।

कारखाना, गोदाम र जहाजमा सामान राख्ने उतार्ने कामकाज सम्पन्न गर्न पचास पचपन्न हजार भन्दा बढी कामदारहरू भए पनि जोखिम र श्रमका कामहरू रोबोटले सञ्चालन गर्दा रहेछन् । चारसय रोबोटहरू कार्यरत थिए त्यहाँ । अरूभन्दा अलि बेग्लै देखिने नाइके रोबोटको अगाडि लगेर म्याडमले बताउन थालिन्-

“महाशय विश्वकै नयाँ पुस्ताको अत्याधुनिक रोबोट हो यो । यसले काम मात्र गर्दैन विविध प्रकारको विश्वव्यापी आर्थिक, सामाजिक र मानवविकास सम्बन्धी आवधिक जानकारी पनि राख्दछ । विश्वका अर्धविकसित राष्ट्रहरूको आर्थिक, भौतिक वृद्धिदर, प्राकृतिक सम्पदा र मानवस्रोत साधनको सूचकाङ्कहरूले यसको मस्तिष्क भरिएको छ । यो अत्याधुनिक पुस्ताको वैज्ञानिक रोबोट हो । तपाईँले बुझ्न चाहे आफ्नो देशको आर्थिक, सामाजिक स्थिति र अवस्थाको तत्काल जानकारी पाउन सक्नु हुन्छ, यसबाट । तर यो श्रमको काम पनि उत्तिकै खुसीसाथ गर्छ । एकछिन पनि फाल्तु बस्न चाहँदैन ।”

म्याडमले परिचय गराउँदा रोबोटले हामीलाई अभिवादन गरेर झुक्दै मुसुक्क हाँस्यो । अनि यथावत् आफ्नो काममा लागिरह्यो ।

कारखानाका अन्य गतिविधिहरू देखाउँदै म्याडम भन्दै गइन्- “यो स्टिल कारखाना हाम्रो देशका (सामसुङ, हुन्डाइ, पोस्को) तीन ठूला आर्थिक प्रतिष्ठानमध्ये एउटा हो । अनि विश्वकै तेस्रो ठूलो स्टिल कारखाना पनि हो । यसको लागि चाहिने पन्ध्र मेगावाट विद्युत् ऊर्जामध्ये असी प्रतिशत कारखानाले उपभोग गर्ने कच्चा पदार्थकै बाइप्रोडक्टबाट उत्पादन हुन्छ । बाँकी बीस प्रतिशत थर्मल प्लान्टबाट आपूर्ति गरिन्छ ।” मेडमको कुरा सुन्दै रोबोटतिर एक टकसँग हेर्दै थिएँ म ।

उसले एक्कासि रिसाएर मलाई लक्ष्य गर्दै भनेजस्तो लाग्यो- “थुइक्क पाजी ! त्यत्रो विधि जलसम्पदाको धनी भएर पनि सानो थर्मल प्लान्टको कुरा सुन्दा तँलाई चुम्बकले तानेझैँ आनन्द र आश्चर्य हुन्छ ?”

म नेपालबाट आएको भन्ने बित्तिकै पहिल्यै त्यसले अनुहार बिगारझैँ गरेथ्यो । अहिले कारखानाको प्रगति सुनेर अरू साथीसँगै मैले पनि खुसीले दन्तप्रदर्शन गर्दा उसले खिसीट्युरी गरेर दपेट्न थालेझैँ लाग्यो । मेरो देशको मानवविकास, प्राकृतिक साधन तथा स्वच्छ प्रशासनदेखि ऊ उल्टो मुर्मुरिएको रहेछ ।

यता रिसेप्सनलेडी भन्दैथिइन्‚ ‘थर्मल प्लान्टको लागि चाहिने युरेनियम इरानबाट आयात हुन्छ । खरीढुङ्गा ब्राजिलबाट आउँछ । टर्पेन्टाइन चीनबाट, पहेँलो माटो मङ्गोलियाबाट अनि गिट्टीबालुवा चाहिँ भियतनामबाट मगाउने गरिएको छ ।”

बिसौँ भीमकाय पानीजहाजहरूको ताँती थियो कारखानापछाडि समुद्रमा । मेडम हामीलाई त्यता देखाउँदै विवरण दिँदै थिइन् । कानले उनको कुरा सुन्दै गरे पनि म रोबोटतिरै केन्द्रित बनेर हेर्न पुगेछु । बलिष्ठ हातहरूले स्टिलका रड र प्लेटहरू मेसिन बक्सामा ड्यामड्याम बजारेर राख्दै आफ्नो काममा ऊ तल्लीन देखिन्थ्यो । काम गर्दागर्दै पनि पिलिकपिलिक मतिर हेर्दै, औंलाले अश्लील आकार बनाएर देखाउँदै गिज्यए झैँ र कहिले भने सरापेझैँ गर्दै थियो ।

उसले भनेजस्तो लाग्यो- “इस् खा छुसी ! तेरो कालीगण्डकीको बगरभरि सुन छ, युरोनियम छ । खरीढुङ्गा झिकेर कहाँ पुऱ्याउँदै छस् । फलाम, अभ्रक, पेट्रोल झिक्न सकिनस् । जमिनमाथि हुर्हरी बल्दा पनि दैलेखको पेट्रोल निकाल्न सकिनस् । मोरङ, झापाको त के सक्छस् ? सीमापारिबाट मुनिमुनि तानिसक्यो होला छिमेकी दाइले । अरू त के कुरा, राजधानीको मुटु- टेकुमा रहेको विशाल भण्डारबाट प्राकृतिक ग्याँस झिकेर बाल्नसम्म सकिनस् । चुलाचम्का चिसै राखेर आमा, दिदीबहिनीहरूले अभावको ललनी गाउँदा तँलाई मजा आउँछ । ग्याँस, पेट्रोल, विद्युत् लगायत ऊर्जा क्षेत्रमा सधैँ अर्काको भर परेर गुलामी गर्दा तँलाई आनन्दले निद्रा लाग्छ । हुँदाहुँदै चामल, मकै त अन्तबाटै झिकाउन थालिछस् । अल्छी हिर्दोक । प्रकृतिले दिएका त्यत्रो विधि असीम साधन स्रोतलाई सुमर्न नसक्ने नामर्द पाजी ।”

रोबोट आफ्नो काम गर्दागर्दै अत्यन्त आक्रामक अनुहार प्रदर्शन गरेर मसँग रिसायो । पिलिकपिलिक घोइरा आँखा तेर्स्याएर आगोको ज्वाला उकेलेझैँ गर्दै थियो । बेलाबखत म भएतिर लम्किएझैँ पनि गर्दै थियो । लवटा कसेर गालामा ड्याम्म बजाइहाल्छ कि जस्तो गरेर आक्रामक अनुहारले मलाई थर्कारहेको थियो ।

उसको अभिनयजन्य- प्रताडनाले झाँगलझुँगल पार्दापार्दा म मनमनै काँतर बनेछु । केही नभइकन पनि त्यसैत्यसै थिलथिलो हुन पुगेछु । अत्यास र ग्लानिसँगै तरबरै फुटेको सन्त्रासको पसिनाले एकै छिनमा निथ्रुक्कै भिजिसकेछु । अडिनै गाह्रो भएर कता जाऊँ, के गरौँ लाग्न थालेपछि आसनबाट जुरुक्क उठेँ । अनि ब्रिफिङ गर्दै गरेकी म्याडमसँग अनुमति लिएर सरासर शौचालयतिर लागेको थिएँ ।

एकछिन हलचल नगरी शौचालयको बहिरी पेटीमा आराम गरेर बसें । लघुशङ्का सूचिसँगै मुखहात धोएर केही बेर यताउता टहलिएँ । झ्यालबाट परपरसम्म देखिने समुद्रका लहर अनि बिचबिचका काला चट्टानहरू हेर्दै एकछिन सुस्ताएपछि बल्ल साथीभाइको समूहमा फर्किएको थिएँ। फेरि उही रोबोटतिर आँखा पुगेछन् । तनमन एकत्रित गरेर पूर्ण क्षमताका साथ ऊ आफ्नो काममा लागिरहेको थियो ।

अत्यन्त व्यस्त हुँदाहुँदै पनि उसले पालैपालो दृष्टि घुमाएर मेरो अनुहारमाथि औँला ठड्याउँदै थियो- “अल्छी । नेपाली बाँधा !” गालीको एक झटारो उसले ममाथि बर्साइहाल्यो – “बङ्गलादेशको क्षेत्रफलको तुलना गर्दा पन्ध्र करोड मान्छे अटाउने देशमा तिन करोड बस्दा पनि छिमेकीसँग मागेर खान्छस् । देशमा उत्पादन नहुने कुनै चीजबीज छैन । सबै खाले अन्नबाली, फलफूल, जडीबुटी, पशुपक्षी, वनस्पति, माछा, सर्प गँगटादेखि हिउँ, तुसारो, गर्मी, सर्दी केचाहिँ छैन तेरो देशमा ? त्यस्ता देशमा यस्ता मान्छेको जन्म अनि यिनैको थातबास हुनु । धिक्कार छ तँलाई ! तेरो अझै पतन होस् । अझै सत्यानाश् होस् !”

मतिर हेर्दै रोबोट बर्बराइरहेको थियो । मलाई उसका शब्दशब्द आगोका झिल्काझिल्का बनेर पोलिरहेका थिए । खपी नसक्न कष्टले छटपटाइरहेको थिएँ र मुन्टो लुकाएर छलिन अलि परतिर लागेको थिएँ ।

अठार देशका बाइसजना प्रशिक्षार्थी थियौँ हामी त्यहाँ । कोरियाली संस्था (कोइका)ले आयोजना गरेको विकास प्रशासनसम्बन्धी तालिममा सहभागी हुन गएको मेरो आफ्नो रूप, वर्ण, पोसाक भाषाज्ञान आदि कतै केही कमी थिएन । माली, किर्गिज, मङ्गोलिया, लाओस, बर्मा आदि देशका सहभागीहरू मभन्दा धेरै विषयमा कमजोर थिए । तर रोबोट किन मलाई मात्र गिज्याएर खेदो गरिरहेको थियो । मनमनै विभिन्न थरी प्रश्नहरू खेलाएर कुण्ठित बनिरहेको थिएँ ।

केही बेरमा साहस जुटाएर मैले पनि भनिदिएँ- “हाम्रो देशमा पनि भर्खरै गणतन्त्र आएको छ । मानवविकास र आर्थिक समृद्धितर्फ हामी पनि कङ्गारु र भ्यागुता शैलीमा छलाङ मार्न लागेका छौं । हालै त अझ जम्बोजेटको शैलीमा उडान भर्न तयार भएका छौं । यसको लागि उल्टो गन्ती सुरु भइसकेको छ ।”

आफ्ना कुराहरू राखेर रोबोटतिर सोझै हेर्दै पड्किएँ म पनि । अलि मत्थर होलाझैँ लागेको थियो । ऊ त झन् च्याँठ्ठिएर बम्किन थाल्यो- “यी: आयो छुसी तेरो देशमा गणतन्त्र ! यहाँका सय-पचास तले अग्ला घरहरूमा तेरै देशका कर्णधारहरू डोरीमा झुन्डिएर रङरोगन भर्दैछन् । नयाँ भवन, मलहरूमा वायरिङ, पाइपिङ, खापा, जालीको बन्दोबस्त गर्दै छन् । सहरी बस्तीबाहिरका पशुपालन केन्द्रहरूमा अग्ला रूखमा चढेर डालेघाँसका हाँगा छिमल्न लागेका छन् । तेरै देशका क्रिम सन्ततिहरू कोही असावधानीका सिकार बनेर कारखानाभित्र आगोको ज्वालामा भुसुनाझैँ पग्लिँदै छन् । मेसिनले च्यापिएका, करौँतीले रेटिएका, गोदामहरूमा पुरिएका, रेलका लिकमा दबिएका कति कर्णधारहरूको विवरण चाहियो तँलाई ? हेर्छस् तेरो देशका वीरवीराङनाहरूको हविगत ? युवा सन्ततिको श्रम र सीपलाई विदेशमा भजाएर पेट पाल्न पल्किएको तँजस्तो साइँदुवाले कस्तो गणतन्त्रलाई कति दिन धानेर देशलाई सुखी, समृद्ध बनाउन सक्लास् ? नेतानायकहरू कान टोकाटोक गर्दै छन् रे । डढेलो सल्काएर आफ्नै देशलाई खरानीमा शेष पार्न खोज्दै छन् भन्ने खबर छ । खालास् मूले ठूलो भाग ! आयो गणतन्त्र तँलाई अब !”

रोबोट झनझन रिसाउँदै आगोको ज्वाला ओकलेर बरबराउन थाल्यो । मैले आफ्नो देश र गणतन्त्रका सकारात्मक पक्ष प्रस्तुत गरेर प्रतिवाद गर्दागर्दै पनि उसलाई भरोसा दिलाउन सकिनँ । देशविदेशका अत्याधुनिक सूचनासञ्जालले मस्तिष्क भरिएको त्यो रोबोट मैले पाल्सी र फटाहा कुराले बढाइचढाइ गरेको पत्याउँदैन भन्ने पक्का थियो । आफ्नै नादानी देखेर रिसाएको रोबोटसँग आल्तुफाल्तु कुरा गर्ने या गफ छाँट्ने आँटै आएन । किनकिन यतिबेर ऊदेखि सारै दकस लागेर आयो ।

बिनाकारण अपराधबोध भएर म्याउ परेछु । अरू साथीहरूको पछाडि मुन्टो लुकाएर सहारा लिँदै कारखाना बारेको ब्रिफिङको समय बिताएथें । बल्लबल्ल त्यहाँको कार्यक्रम सकियो । अनि त्यो कारखाना परिसर छोडेर हामी सबै बाहिरिएथ्यौँ । त्यति बेर हतारहतार दौडिएर सबैभन्दा अघि लागेको थिएँ । बजारमा चियानास्ता लिएपछि अलि बौरिएछ । पसिना ओभाएर जिउ हल्का भयो । एकछिन साथीहरूबिच गफठट्टा पनि चले । अनि बिस्तारै पोहाङ सहर छोडेर अघिल्लो दिन बसेको ग्योङग्जो सिटीको ड्रयागन होटेलतर्फ फर्किएका थियौँ ।

राति सुतेपछि पनि त्यही रोबोटले सिरानीछेउमा आएर पिलिकपिलिक आँखा बाल्दै पछ्याइरहेझैँ लाग्यो। बलिष्ठ हात उजाएर बजाइहाल्छ कि भनेर पसिनैपसिना भएछु । सन्त्रासको आँधीले रातैभरि छटपटी भइरह्यो । बिहानीपख हल्का निद्रा परेछ । तन्द्रा मिश्रित सपनामा पनि त्यही रोबोटले आएर हप्काइरह्यो सारै हेपेझैँ गरेर । हरर फिल्मजस्तो लाग्ने मेरो आफ्नै देशको अन्धकार भविष्यको वृत्तचित्र देखाइरह्यो । घाँटी अँठ्याएझैँ गरेर ऐँठन गराइरह्यो । पसिनापसिना बनेर छटपटाउँदै र बरबराउँदै लामो समय बिताएछु ।

हातखुट्टा फालेर बलैसँग बिपनामा उत्रिँदा टिरिङ्टिरिङ् घण्टी बजिरहेको । कति बेर अघिदेखि हो- साथीहरू फोनबाट बोलाउँदै रहेछन् । बिहानै गेड्जो सहरको खाद्य महोत्सवमा अतिथि सहभागी बन्नु पर्ने थियो । उठ्न निकै ढिला भइसकेछ। हतार हतारमै हात मुख धोएर बाटा लागेको थिएँ ।