ऊ यस्तै बाह्र /चौध वर्षकी हुँदी हो । त्यो समय उसलाई बाटामा हिँड्दा कोही कसैले हेरिरहे जस्तो लाग्थ्यो तर उसले उक्त हेराइको अर्थ नबुझ्नाले होला सायद, जो कोहीले हेरे पनि  कुनै मतलब हुँदैनथ्यो । बस् ऊ आफ्नो बाटो सरासर लाग्थी ।

समयको रफ्तार बढ्दै गयो । समयले हर कुरामा परिवर्तनको आधिपत्य जमाउँदै गयो । गाउँमा नयाँ नयाँ परिवर्तनहरू देखिन थाले । गाउँको चहल पहल पनि निक्कै बढ्न थाल्यो । उक्त गाउँमा नयाँ नयाँ अनुहारहरू सलबलाउन थाले ।

रोजा पनि एकपछि अर्को वर्षको उपकेराभित्र कस्सिँदै गइरहेकी थिई । ऊभित्र पनि नौला नौला अनुभवहरू सञ्चार हुन थाले । अब भने रोजालाई कुनै पुरुष नजरले हेरेमा मात्र पनि कता,कता मनमा तरङ्ग उत्पन्न हुन थाल्यो ।

ऊ अब भने त्यस्ता हेराइको पारखी पनि बन्न थालेकी थिई । कारण उमेरले उसको चाहालाई उक्साइरहेको थियो, ती हेराइहरू नै पुरुषहरूको मन पराइ हो भनेर ।

एकदिन गाउँमा छिमेकीको छोरीको विवाह भयो । ऊ  बेहुलीकी साथी बनेर बसेकी थिई । सजधजकासाथ उसको पनि रूपरङ्गमा परिवर्तन आएको थियो । उमेर नै उस्तै हो कि, रोजा आफै पनि राम्री । आज त झन् ऊ धपक्कै बलेकी थिई । बेहुलीभन्दा  सुन्दर देखिएकी थिई ।  सबैका नजरहरू दौडिरहेका थिए ऊतिर । युवाहरूको विशेष नै भइहाल्यो  । रोजालाई भने अत्तोपत्तो थिएन कि आफू त्यस ठाउँको आकर्षणको केन्द्रबिन्दु भइरहेकी छु भनेर ।

कसो कसो गर्दा उसको नजर श्याम भएतिर दौडियो ।  झसङ्ग झस्की र नजर भुइँतिर गिराई उसले । लज्जाबोध भयो । श्यामले एकटक लगाएर ऊतिर हेरिरहेको रहेछ । ऊ रनभुल्लमा परी ।

दिन ढल्केर साँझको आवरण भर्न तयारीमा थियो । बेहुली अन्माउने समय पनि भइरहेको थियो । जन्तीहरू बाटो लाग्ने तयारीमा थिए । बेहुलीलाई गाडीमा राख्ने तयारी भइरहेको थियो । सबै हतारमा थिए । श्याम भने अझै टोलाए झैँ भइरहेको  थियो ।

यता रोजा पनि अनेकन् प्रश्नहरूको लहर मनभरि दौडाएर एकोहोरिई रहेकी थिई । केही बेरमा  जन्ती बाटो लागे पनि । श्यामले पनि एकपल्ट रोजालाई पुलुक्क हेरेर गाडीभित्र चढ्यो ।

मानौँ त्यो एकपल ती दुईका लागि नौलो तरङ्ग बनेर उर्लिइरहेको थियो । श्यामलाई त्यही ठाउँमा मन छाडिएको हो भन्ने भान भइरहेको थियो भने यता रोजालाई आफू कहाँ हराएँ झैँ महसुस भइरहेको थियो ।

त्यो रात रोजालाई रातभर निद्रा लागेन । ओछ्यानमा यताउति पल्टिइरही । किन हो किन त्यो नौलो सुकुमार मुहारको झझल्कोले तर्साइरह्यो । ऊ यताउता कोल्टे फेर्दै छटपट गरिरही । रात त्यसै  बित्यो ।

बिहान निन्याउरो अनुहार पार्दै रोजा आमाको छेउमा गई । उसको अनुहार हेरेर शहरबाट कलेज बिदा भएर आएकी दिदीले प्रश्न गरिन्‚ “रातभरि नसुते जस्तो निन्याउरो अनुहार‚आँखा पनि ननिदाए जस्ता ‚ साथीको विवाह भएकोले निद्रा हराम भएको ? बरु बेहुली आनन्दले सुतिहोला । हाम्री रोजाको पो निद्रा उडेछ है  ?’

दिदीको कुराले रोजालाई चस्स घोच्यो । उसको विवाह नभएर के भो त ? उसको निन्द्रा उडेकै हो । त्यो  अदृश्य बेहुलालाई अचानक सम्झी  ।  र दिदीलाई भन्न थाली‚ “खै ! के भो भो ? मलाई आज राती पटक्क निन्द्रा लागेन ।”

दिदीले फेरि झिस्काउँदै भनिन्‚ “तैंले पनि तेरो निन्द्रा बिथोल्ने सैतान भेटिस् कि क्या हो ? अस्तिसम्म त आनन्दले सुत्थिस्  । हामीसँगै सुत्दा पनि तँ छिट्टै भुस भएर निदाउँथिस् । कि जन्ती आउनेको हुलमा कोही थियो कि तेरो मन चोर्ने ? मान्छेको निद्रा त्यति बेला हराम हुन्छ कि मनमा पीडा हुनु पर्छ कि कसैले आँखा मिलाएको हुनु पर्छ । ”

दिदीको कुरा कहीँ कतै सत्य हो झैँ लाग्यो रोजालाई । हुन पनि श्यामको एकोहोरो हेराइले असहज पनि मिठो अनुभव भएको थियो ।

दिदीको कुरालाई उसले अस्वीकार गरे झैँ मस्किँदै भनी‚ “के नचाहिँदो कुरा गर्नु भएको ? कसैले हेर्दैमा आफ्नो निद्रा कसरी गायब हुन्छ ? त्यस्तो पनि हुन्छ र ?”

हुन त रोजा अनभिज्ञ पनि थिई यस्ता कुराहरूबाट ।

दिदीले फेरि अलिक गहन मुद्रा बनाउँदै भन्न थालिन्‚”हो नि ! रोजा । जब केटीहरुले पन्ध्र/सोह्र वर्षमा टेक्छन् । त्यो समयमा उसलाई नौलो अनुभूत हुन थाल्दछ । कसैले हेरिदिँदा मात्र पनि लज्जाबोध  हुन्छ । अलिकति केही नौलो देख्दा पनि अनौठो महसुस हुने गर्दछ । त्यसै त्यसै कता कता लाज लागे झैँ हुने गर्दछ । अनावश्यक रूपमा कोही कसैको सम्झना आइदिने हुन्छ ।  सबैमा यस्तो नहोला तर केही युवतीहरूमा यस्तो हुनु स्वाभाविक हो । कतै तँलाई पनि त्यस्तै त भएको छैन ?”

दिदीको प्रश्नले एकोहोरिई । रोजालाई झन्डै यस्तै यस्तै लक्षण देखा परेको थियो । उसले मुख फोरेर दिदीलाई केही भन्न सकिनन् ।

रातको यस्तै एघार बजेको थियो । रोजा दिदीसँगै सुतेकी थिई । दिदी भने अझै फोनमा के के हेर्दै ढल्किरहेकी थिइन् । एक्कासि रोजा मुसुक्क हाँस्दै के के बकबक गर्न थाली । कुरा अस्पष्ट भए पनि एउटा वाक्य चाहिँ दिदीले बुझिन् । “हजुर, मलाई पनि खुब याद आउँछ ।” त्यति भनेर फेरि ऊ स्वाँ,स्वाँ निदाई ।

अब भने दिदीलाई पक्का भयो कि रोजाले कुनै युवकलाई मन पराइरहेकी छ तर भन्न सकेकी छैन ।

दिनानुदिनको रोजाको व्यवहार परिवर्तनले पनि दिदीको शङ्कालाई अझ बलियो बनाइरहेको थियो । पहिलाभन्दा फरक स्वभाव । शृंगारपटारमा ध्यान । पहिला पहिला कतै जाऊँ भन्दा पनि अल्छी गर्ने । आजकल भने कतै जाऊँ भन्दा उत्सुक भएर दिदीको पछि लाग्ने । बोलीचालीमा भिन्नता । बोल्दा पनि हाँसेर बोल्ने । सानो कुरामा पनि हाँस उठ्ने । कोही परपुरुष देख्दा लाजको लाली गालामा चढ्ने । जे होस् दिदीलाई पूर्ण रूपमा ज्ञात भयो रोजाले कसैलाई चाहेकी छ भन्ने ।

एकदिन रोजा साथीकोमा जानु छ भनेर घरबाट निस्की । सधैँभन्दा भिन्न रूपरङ्ग, पहिरन, ओठमा हल्का लिपस्टिक, आँखामा गाजल अनि मुहारमा हल्का खुशी र अधरमा मधुर मुस्कान पनि छरिएको थियो । दिदीले अनुमान काटिसकेकी थिइन् । आज पक्कै रोजा आफ्नो केटा साथीलाई भेट्न गएकी हो भनेर । उनले पनि बहिनीलाई केही रोकटोक गरिनन् । किनकि वयस्क भइसकेकी बहिनीलाई अहिलेको समयमा बन्देज गर्नु भनेको पनि उसको इच्छा विपरीत जानु हो । उनलाई विश्वास पनि थियो कि आफ्नी बहिनीले गलत पाइला चाल्ने छैन भनेर ।

यो उमेरमा कसैलाई मन पराउनु भनेको स्वाभाविक हो ।

रोजा गएको दुई चार घण्टाभित्र घर आइपुगी । आउँदा उसको अनुहारमा आश्चर्यमय प्रश्नचिन्हहरू तैरिरहे झैँ थियो ।

कता कता लज्जाभाव,आफैले आफैलाई प्रश्न गरिरहे झैँ तर अनुत्तरित बनेर आफै जवाफको खोजीमा भौंतारिरहे झैँ देखिन्थी । दिदीले अड्कल काटिसकेकी थिइन् कि यसलाई नौलो अनुभव केही भयो भनेर तर सोध्न सकिनन् ।

केही क्षणपश्चात् दिदीले अनजान बन्दै प्रश्न गरिन्‚ “अनि साथीलाई भेटिस् त ? के रैछ साथीको खबर ? घर परिवार सबै ठिकै रैछ ? बेहुला कस्ता रैछन् त ?”

रोजाले अलिक अप्ठ्यारो मान्दै भनी‚ “अँ ठिकै रैछ । तर खै ! मलाई त कस्तो अचम्मको कुरा सुनाई,  छक्क परें  । त्यस्तो पनि हुन्छ र लोग्ने मान्छेहरू ? मलाई त कस्तो डर पो लाग्यो रश्मीको कुरा सुनेर । म त कहिल्यै बिहे गर्दिनँ त्यस्तो हुन्छ भने ।”

“हैन के भन्छे ? कस्तो कुरा सुनाई ? रोजा अब त तैंले पनि यस्ता कुराहरू बुझ्नु जरुरी छ । यौनका कुरा, पुरुष र महिलाको सम्बन्ध । एकार्का प्रतिको आकर्षण त्यसपश्चात् विवाह अनि वैवाहिक जीवन सम्बन्ध कस्तो हुन्छ भनेर । अनि बेहुलासँग अरू कोही पनि आएको थियो ?”

दिदीको प्रश्नले एकपटक रोजाको दिमाग चर्कायो । उसले अलि अलि लजाउँदै अनि केही डर, केही मिठासको अनुभूति पोख्दै भनी‚ “अँ त्यो विवाहमा आउने श्याम पनि आएको थियो ।”

दिदीलाई कुरो बुझ्न समय लागेन । रोजाले त्यही श्यामलाई मन पराउन थालेकी हो भनेर । तर रश्मिको कुराले ऊ त्रसित बनेकी थिई । किनकि ऊ भर्खर त सोह्र /सत्र पुग्दैछ । उसलाई लोग्ने-स्वास्नीको शारीरिक सम्बन्धबारे त्यति थाहा पनि त छैन । भर्खर यौवनको उकालो चढ्दै गरेका युवतीलाई के थाहा त्यस्ता सम्बन्धहरू ? त्यस्तै रश्मि पनि आफ्नो श्रीमानसँगको व्यवहारिक पक्षसँग कहाँ जानिफकार थिइन् र ? हो कतै कतै भने केही पढेको भरमा थाहा पाउन सक्छन्  तर कुनै केटाहरूसँगको सम्बन्धमा नपरुन्जेल  र कुनै केटाहरूसँग शारीरिक सम्बन्ध नभइन्जेल उनीहरू यस्ता शारीरिक कुराबाट अनभिज्ञ नै हुन्छन् । दिदीलाई रोजाको मनोविज्ञान बुझ्न गाह्रो भएन ।

रोजा त्यसै उदास उदास भएर बस्थी । कहिलेकाहीँ मुस्कुराउँथी पनि  । कतै डराए जस्तो, आत्तिए जस्तो अनि मुहारमा निरसपन छाए जस्तो देखिन थालेपछि दिदीले रोजालाई राम्रा राम्रा प्रेम कथा भएका सिनेमाहरू देखाउन थालिन् । उसलाई हँसाउने, रमाइला रमाइला कुराहरू गर्न थालिन् ।

रोजाको मनमा अनावश्यक हाउगुजी पसेको थियो जसले गर्दा उसको मानसिक स्थिति नै बिग्रेला जस्तो भएको थियो  । कतै रोजा जीवनमा पुरुषहरूदेखि नै त्रसित बन्ने हो कि ? भन्ने डर पनि थियो दिदीलाई  । त्यसैले यौनका कुराहरू पनि बुझाउने गर्थिन् रोजालाई ।

रोजाले पनि दिदीको कुरामा निक्कै चाख दिएर सुन्न थाली । रोजाको व्यवहारमा पनि थोरै परिवर्तन देखा पर्न थाल्यो । दिदीसँग दिनप्रतिदिन खुल्दै गई ।

बहिनीको मनोभाव झन् बुझ्न थाली दिदीले  । यही मौका पारेर खुसुक्क बहिनीलाई सोधिन्‚”रोजा अब तिमी पनि ठुली हुँदै छौ तिमीलाई पनि त कतैबाट प्रेमको प्रस्ताव आइरहेको होला ? नढाँटी भन त मलाई  । हो कि होइन ?”

दिदीको प्रश्नले ऊ लजाई र मुहार रातो बनाउँदै भनी‚ “छैन, त्यस्तो कसैसँग पनि अहिलेसम्म ।”

“हेर बहिनी तिमी पक्कै कसैको प्रेममा छौ । म बुझ्छु तिम्रो मनोभाव । तिमीले मलाई नडराई भन । ” सम्झाउँदै भनिन् ।

दिदीको जिज्ञासालाई आत्मसात् गरेर रोजाले केही अप्ठ्यारोपन झल्काउँदै भनी‚ “दिदी, हो मलाई एउटा केटाले मन पराउँछ । म पनि उसलाई मन पराउँछु तर ?”

“तर के ? किन रोक्यौ ?” दिदीले आग्रहसँग भनिन् ।

“दिदी मलाई त्यो केटो मन पर्छ तर मभित्र पुरुषप्रति डरको जरो गाडिएको छ । किनभने तपाईंको पनि वैवाहिक सम्बन्ध राम्रो भएन । तपाईं र भिनाजुको सम्बन्ध टुट्यो । अनि अस्ति रश्मीले पनि मलाई के के भनी । त्यो सुनेर  कस्तो डर लाग्न थाल्यो पुरुषहरूसँग ।”

बहिनीको डरको कुरा सुनेर उनले  रोजालाई सम्झाइन्‚ “होइन‚ पुरुषहरू कुनै भयानक जनावर होइनन् । सम्बन्ध जोडिनु मात्र विवाहको अर्थ होइन । विवाह भनेको जीवनभरको नाता हो जो विश्वास र मायामा अडेको हुन्छ । तर सबैको यस्तो भाग्य हुँदैन । मेरो सम्बन्ध बिग्रनुमा त्यस्तो भयानक डराउनु पर्ने कारण केही छैन ।  हाम्रो बिचार मिलेन अनि हामी छुट्टियौँ । अब रश्मीको कुरा आयो । उनी नयाँ नयाँ दुलही छिन् उनलाई नयाँ दुलाहासँग सुरु सुरुमा डर लाग्नु स्वाभाविक हो । सुरुमा राम्रो चिनजान नहुँदा डराउनु,धक मान्नु स्वाभाविक हो । सायद त्यस्तै भएको हुनु पर्छ । अनि तिमीले पुरुषहरूसँग डराउनु पर्ने  कारण छैन जबकि तिमीले तिम्रो केटालाई चिनेकी छौ । ”

दिदीको कुराले रोजाले अझ विश्वस्त नभए झैँ भएर भनी‚”तर ?”

“के तर ?” दिदीले फेरि प्रश्न राखिन्  ।

रोजा नतमस्तक भएर भुइँ कोट्याउन थाली ।

बहिनीको नजानिंदो डरको कारण बुझ्न उनलाई गाह्रो भएन र रोजालाई बिस्तारमा सम्झाउन थालिन् ।

“…” रोजालाई दिदीले केही यौन सम्बन्धित र शारीरिक सम्पर्कबारे सम्झाइन् । तब रोजा केही आश्वस्त बन्दै दिदीसँग खुलेर बोल्न थाली  ।

अर्को हप्ताको शनिवार दिदीले श्यामलाई बोलाउन भनिन् रोजालाई  । पहिला त ऊ लजाई फेरि हाँस्दै हुन्छ भनी ।

शनिवार ठिक दुई बजे श्याम आयो रोजालाई भेट्न । पहिला त रोजाले बोल्न धक मानी । उसलाई दिदीको अगाडि अलिक अप्ठ्यारो पनि महसुस भयो । तर दिदीले रोजाको मनोभाव बुझिन् र श्यामको नजिक गएर बस्दै गर, गफगाफ गर म चिया खाजा बनाएर ल्याउँछु भनेर भान्सातिर लागिन् । केही बेरपछि दिदी आउँदा रोजा र श्याम कुरा गरिरहेका थिए । तर रोजाको मुहारमा डर /लाजको लाली सलबलाइरहेको थियो ।

यसरी रोजाको पुरुषहरूप्रतिको नकारात्मक हाउगुजी हटाउन दिदीले अहम् भूमिका खेलिन् । प्राय: श्यामलाई घरमा बोलाएर गफ गर्ने‚श्यामको पढाइको बारेमा बुझ्ने गतिविधि हुन थाल्यो । श्याम पनि शालीन र सभ्य केटो थियो । ऊ सबैलाई आदर गर्ने स्वभावको थियो । ज्यादा बोल्ने बानी पनि थिएन उसको ।

अब भने रोजाले आफ्नो मनको भयलाई बिस्तारै हटाउन थालेकी थिई । कहिलेकहीँ श्यामसँग आउटिङ् जाने, फिल्म हेर्न जानेसम्म भई । तर पनि उनीहरूबिच उत्ताउलोपन भने पटक्क देखिन्नथ्यो ।

समयको बहावले उनीहरूलाई पनि आफूसँगै बहाउँदै लग्यो । अब भने श्याम र रोजा खुलस्त भएर हिँड्न,बोल्न थालिसकेका थिए । रोजा र श्यामको उमेरमा पनि परिपक्वता आइसकेको थियो । उनीहरू अब वयस्क भइसकेका थिए । प्रेम के हो ? विवाह के हो ? भन्ने छुट्ट्याउन सक्ने भइसकेका थिए ।

श्याम र रोजाले अब वैवाहिक सम्बन्धमा गाँसिने निर्णय पनि गर्न थालिसकेका थिए । श्यामले पनि आफ्नो घरमा बाआमालाई रोजाको बारेमा सबै कुरा भनेर विवाह गर्ने निर्णय सुनाएको थियो ।

यता रोजाले पनि एकदिन दिदीलाई सर्माउँदै भनी‚ “दिदी अब श्याम र म विवाह गर्ने  ।”

दिदीले जिस्क्याउँदै भनिन् रोजालाई‚”अरे ! तिमी त लोग्ने मान्छेसँग डराउने मान्छे । श्याम पनि लोग्ने मान्छे नै हो । ऊसँग चाहिँ डर लाग्दैन ? श्याम चाहिँ हाउगुजी होइन ? श्यामले के त्यस्तो मन्त्र लगायो ? तिम्रो डर नै भगाउने हँ !”

दिदीले हाँस्दै यति भन्दा रोजाको मुहारमा लाजको लाली छाइसकेको थियो । उसले पनि लजाउँदै भनी ‚ “दिदी बल्ल बुझेँ नि त ! पुरुष र महिलाको प्रेम, आकर्षण, सम्बन्ध अनि …”

“अनि …के ?”दिदीले व्यङ्ग्य हान्दै फेरि थपिन्‚ त्यसैले संसारको नियमसँग त्रसित हुनुहुन्न । महिला, पुरुष रथका दुई पाङ्ग्रा हुन् । एक अर्काका परिपूरक हुन् । पुरुषबिना नारी अधुरो हुन्छ । नारीबिना पुरुष अधुरो । अब त डर भाग्यो नि ! होइन ?”

दिदीको कुरालाई आत्मसात् गर्दै रोजाले स्वीकारोक्ति जनाई ।