बिहानै झिसमिसे देखिकै न्यास-ध्यान, घण्ट र शङ्खको मधुर आवाज, संस्कृतका लयात्मक मन्त्रहरूको गुञ्जन, पहिरनमा सधैँ नै गेरु वस्त्र, निधारमा कहिल्यै नछुट्ने रातो, पहेँलो र सेतो रङ मिश्रित चन्दन, त्यसमाथि जन्मजात माछामासु नखाने यति भएपछि धर्मानन्द उपाध्यायलाई आफू गाँउभरिकै एक नम्बरकै धार्मिक व्यक्ति मै हुँ भन्ने अहमले खर्लप्पै निल्छ । त्यसैले त  उनी अन्य जो कोही व्यक्तिलाई सहजै अधार्मिक र कु-संस्कारी घोषणा गर्दिहाल्छन् ।

छरछिमेक र गाउँ टोलका धेरै व्यक्ति धेरै पटक उनका स्व-घोषणाका शिकार भै सकेका छन् । त्यति मात्रै कहाँ हो र परिवारका सदस्यहरू; बाँसगढी माविमा  विज्ञान शिक्षकको रूपमा काम गर्ने कान्छो छोरो प्रताप, बुहारी पार्वता, १९ बर्से नाति केटो रोनिज र ७ वर्षे नातिनी उनको घोषणाको हजारौँ पटक नै शिकार भैसकेका छन् ।

परिवार बाहेकका मानिसहरूलाई अधार्मिक, कुलाङ्गार कुसंस्कारी घोषणा गर्दा अलिक ठट्यौली तरिकाले गर्छन् । किनभने यसले बाहिरिया मानिसहरूको प्रतिवादबाट जोगिन सकिन्छ, तर घरभित्र उनको घोषणा गर्ने रौनक धेरै नै फरक हुन्छ ।  आँखा राता-राता पार्दै दाह्रा किट्दै २/४ थान फोहोरी गाली गर्दै हिंसात्मक तरिकाले अधार्मिक घोषणा गर्छन् । यस्तो खाले घोषणाको करोडौँ पटक शिकार भएकी छन् उनकी आफ्नै बाउनी गौडेल्नी आमोई ।

शायद यस्तै पटक-पटकको घोषणाको परिणाम आमोईको २ दशक देखिनै आफ्ना बाउन धर्मानन्दसँग बोलचाल पानी बराबर छ । त्यसैले परिवारमा उनी भएको-नभएको नाति रोनिज बाहेक त्यति सारो  कसैलाई वास्तै हुँदैन ।  सबैले मसिनको जस्तै व्यवहार गर्छन् । उनीसँग परिवारका सदस्यले विरलै दोहोरो कुरा गर्छन् ।  समयले ८९ वर्षको छेकोमा कुद्दै गरेका धर्मानन्द पाध्यायको धर्म, संस्कृतिका,र संस्कारको आफ्नै विशाल शब्दकोश छ । कुनै शब्दको अर्थ उनी आफैलाई  थाह छैन, त कुनै शब्दको अर्थ उनी आफ्नो स्वार्थ अनुरूप सहजै परिवर्तन गर्छन् र वेद, गीता र अन्य धर्मशास्त्रको सन्दर्भ जोडिहाल्छन् । ती सन्दर्भको परख गर्ने कोही नहुँदा उनको कुरालाई कसैले काट्ने साहस राख्दैनन् ।

आफूलाई सनातन हिन्दु धर्मको ठेकेदार सम्झने धर्मानन्दको जन्मथलो तेह्रथुमको विकट लिम्बु गाउँमा भएको हो । अभावले हातमुख जोर्न नसकेपछि उनीलगायत गाउँका धेरै मानिसहरू विसं को ८/९ सालतिर कामको खोजीमा पहाडै पहाडको बाटो सिक्किम हुँदै बर्मा पुगेका थिए ।  बर्मामै  एकजना नेपालीभाषी ब्राह्मण परिवारको घरमा हली र भान्छेको रूपमा ११ वर्ष काम गरेर बिताए ।  दायाँबायाँ नगरी दिइएका निर्धारित कामहरू कुनै खोट बिना गर्ने धर्मानन्दको  बानीले गर्दा उनी जुन घरमा काम गर्थे, त्यही घरकी ब्राह्मण सुकन्या ‘सीतादेवी गौडेल’को विवाह आफ्नै घरमा काम गर्ने हली धर्मानन्दसँग भयो । बर्मामा त्यो समयमा नेपालीभाषी ब्राह्मण युवकहरूको अभावले गर्दा सितादेवीका माता-पिताले यस्तो कठोर निर्णय लिएका थिए ।

बिहे गर्नुअघि सीतादेवीका मातापिताले धर्मानन्दलाई  घर ज्वाइँ राख्ने सर्त राखेका थिए जुन सर्तमा धर्मानन्द मञ्जुर पनि थिए । तर बिहे गरेको ७ महिनापछि ससुराली सँगको खटपट खासमा उनको हलीबाट ज्वाइँको यात्राले तय गरेको अहंकारी भावनालेका कारण तीन महिनाकी दोजिया गौडेल्नी आमोईलाई बर्मादेखि दार्जिलिङको बाटो हुँदै २९ दिनमा मोरङको आइतबारे ल्याइपुराएका थिए ।

त्यही समयदेखि सुरु भएको गौडेल्नी आमोईको दु:खको पन्तुरो  अहिलेसम्म पनि उत्तिकै टन-टन दुखिरहन्छ ।  त्यो समयमा झापा मोरङमा झोडा फाँडेर जति जिमिन  बनाउन सक्यो उति नै झोडा फाँड्नेको हुन्थ्यो । धर्मानन्दले पनि बचेखुचेको पैसोले कारिन्दा खटाएर २ ठाँउ गरेर छ विगाह जति जिमिन बनाए । उनीभन्दा ढिलो तेह्रथुमबाट झरेका उनका आफन्तहरूले पनि धेर-थोर जिमिन बनाए ।

मोरङ आइतबारेको १५ बर्से बसाइँमा गौडेल्नी आमोई १३ वटा सन्तानकी आमा भएकी थिइन् ।  दुई भाइ छोरा र ११ बहिनी छोरी । तेह्रथुमको अभावमा बाँचेका धेरै मानिसहरू गाउँ नै शून्य बनाएर झापा/ मोरङ लगायतका विभिन्न ठाउँमा झोडा फाँड्दै  जिमिनका मालिक बने । धर्मानन्द पाध्यायका सबैजसो आफन्तहरू पनि तेह्रथुमको थातथलो छोडेर झापा र मोरङका विभिन्न ठाउँमा  बसाइँ सरिसकेका थिए ।

चाडपर्वहरूमा आफन्तहरूको लावालस्कर, आफ्नै लालाबालाको झ्याउँ-झ्याउँ र धर्मानन्दको आफ्नो ढिपीले उनले गौडेल्नी आमोईसँग  एक वचन सल्लाह पनि नगरी आइतबारेमा नबस्ने हठात् निर्णय गरी रातारात आफ्नो जायजेथो सस्तोमै मिल्क्याएर २०४१ सालमा,  विराटनगरमा आइए पढ्दै गरेको जेठो छोरो निधिरत्नलाई समेत सुईको नदिई बर्दियाको बाँसगढी बसाइँ सरे । पछि दशैँमा आफ्नै घरको ठेगाना सोधीखोजी गर्दै निधिरत्न आइपुगेको थियो । र घरमा बाउसँग ठुलै झगडा गरेर त्यै बेला नै आफ्नो अंश लियो र घर-परिवारदेखि एक्लियो ।

बाँसगढी बसेको चार पुग्नुभन्दा केही दिनअघि एकाएक धर्मानन्द पाध्याय हराए ।  कहाँ गए, कता गए निकै खोजबिन गरियो तेह्रथुमदेखि बर्मासम्म सबै आफन्तका घरघरमा । तर, उनी भेटिएनन् हराएको १२ वर्ष सम्म पनि मान्छे भेटिएन भने गरिनुपर्ने काजक्रिया गौडेल्नी आमोईले हराएको तीन वर्षपछि नै गरिन् । उनी आफ्ना बाउन धर्मानन्दको  मानसिक तनावबाट मुक्त हुन चाहन्थिन् । र, त्यसै अनुरूप आफ्ना बाहुन भेटिँदैनन् भन्ने अड्कल गरेर तीन वर्षपछि काजक्रिया सम्पन्न गरिन् ।

आफ्नै सनक र घमण्डले घर छोडेर हिँडेका धर्मानन्द पाध्याय नौ वर्षपछि घर फर्किए । हराएका ९ वर्षमा उनले हिन्दुस्थानका भए जति सप्पै हिन्दुका तिर्थस्थल हरिद्वार, यमुनोत्री, गंगोत्री, द्वारका लगायतका सबै ठाउँ चहारे । के को खोजीमा भौँतारिए के भेट्टाए त्यसको उत्तर उनीसँग नै छैन अहिले । मात्रै आफ्नो घमण्डीपनलाई मलजल गरे । यता गौडेल बुढा  हराएपछि गौडेल्नी आमोईका दुःखहरू दोब्बरबाट तेब्बर भए । खेतीबाली सँगसँगै आफ्ना ११ वटा सन्तानहरूको लालनपालन थोरबहुत शिक्षा-दीक्षा गर्न उनले आफ्नो भागका सप्पै सुखहरू सन्तानका निम्ति समर्पित गरिन् ।

ठुलीकान्छी र कान्छी छोरीले बाहेक अरू छोरीहरूलाई खासै पढाउन सकिनन् र पनि नौ वटी छोरीहरूको आफ्नो सामर्थ्यले भ्याए अनुरूप लायक मान्छे बनाइन् । गौडेल बा घर फर्कँदा घरमा कान्छो छोरो प्रताप र ठुलीकान्छी उर्मिला र कान्छी मिरा मात्रै घरका सदस्य थिए । अरू छोरीहरू आफ्नो घरमा र जेठो निधिरत्न नेपालगन्जमा आफ्नै व्यवसायमा जमिसकेको थियो ।  जब घरमा आमोई विधुई पहिरनमा देखे तब धर्मानन्दले आगो ओकले ! कान्छो प्रताप र छिमेकीहरूले नरोकेको भए ज्यानमारा मुद्दामा जेलमा हुने थिए ।

धार्मिक विधिअनुरूप पुनः गौडेल बासँग बाध्यात्मक बिहे गर्नु पर्यो सीतादेवीले । सीतादेवी एक्लैले बिहे गराएका कुनै ज्वाइँ गौडेल बालाई मन नै पर्दैन । स-सानो कुरामा पितुर्के कुरा गरेरै दोस्रो पटकको विहेपश्चात गौडेल बा र आमोईको बोलचाल छैन । गोडेल बा आमोईलाई घरमा आफन्तहरूको जमघटमा ‘हाम्री मारानी !’ भनी सम्बोधन गर्छन् । आमोईको कुनै किसिमको प्रतिक्रिया नै हुँदैन ।

उनी घर फिरेको बर्षदिन पछि ठुलीकान्छी उर्मिलाको बिहे भयो, त्यसको अर्को वर्षमा कान्छो प्रतापको पनि, जेठो निधिरत्नले धर्मानन्द हराएकै बखतमा आफै बिहे गर्यो ।  ऊ नेपागन्जमै जमिसकेको छ । तर धर्मानन्द न एकपटक निधिको घर पुगेका छन्, न नातिहरूसँग नै बोल्छन् । दशैँमा समेत टिका थाप्न आउँदा उनी जेठाको परिवारलाई टिको समेत लगाउँदैनन् । आफ्नै छोरासँग के को वैरभाव कसैलाई थाहा छैन ।

गौडेल्नी आमोईपछि कान्छी बुहारी पार्वतालाई कचकच गर्दा आमोईले बाँसको लाठोले बजाइन्, अस्पताल नै भर्ना गर्नु पर्यो निको त भए तर अचेल खोच्याएर हिँड्छन् । निको हुने बित्तिकै इलाका प्रहरी कार्यालय बाँसगढीमा आफ्नै बाहुनी गौडेल्नी आमोई, बुहारी पार्वता र छोरो प्रतापका विरुद्धमा उजुरी दिए । मुद्दा जिल्ला अदालत सम्मै पुग्यो ।

ज्यान मार्ने अभियोगमा छोरा बुहारी र आफ्नी बाउनीलाई  जेलमा राखेर भएको जायजेथा बेचेर फेरि पनि कतै भाग्ने दाउमा थिए उनी तर त्यसको सुइँको पाएपछि  मुद्दालाई कमजोर बनाएर अरू छोरी-ज्वाइँहरूले मिलापत्र गर्ने वातावरण सिर्जना गरे । त्यो घटनापश्चात् उनी घरमा त छन्/हुन्छन् तर कसैको मनमा छैनन् ।

पाखो-बारीभरी डाले घाँस टन्न छ तर उनी आएदेखि घरमा बाख्रो-पाठो पाल्न मनाई छ । बाख्रो कसैले काटेर खान्छ अनि ऊ बिटुलिन्छ । अरूलाई बिटुलाउने कर्म किन गर्नु उनको तर्क ! हाँस, कुखुरा पनि पाल्न दिँदैनन् तर्क त्यै, किन अरूलाई बिटुलाउने ? भान्साको रहल-पहल जुठो र अन्न छरिँदा छिमेकका कुखुराले दिक्क पार्छन् तर आफूले  पाल्न हुँदैन । भैँसी ज्यामराजको साँढे किन पाल्नु । एउटा चोक्रे गाई थियो घरकाले समयमा घाँस-पराल गरेनन् भनेर तुर्कालाई बेचेछन् त्यो नि घरमा कसैलाई थाह नदिई ।

धर्मानन्दसँग घरमा कोही बोल्छ भने कान्छो छोरोपट्टिको नाति रोनिज मात्रै हो । किनभने ऊ कसै सँग प्रतिवाद नै गर्दैन ।  सात वर्षे नातिनी प्रनितासँग समेत धर्मानन्दको बोलचाल छैन । बिहानको न्यास-ध्यान पश्चात उनको अड्डा कि त  राजमार्ग छेउको  प्रतीक्षालय कि माछागढ शिव मन्दिरको धर्मशाला हुन् । उनी घरमा छन् भने सुरुमा उनले खाएपछि मात्र अरूले खान  पाउँछन् चाहे कोही बिरामी हुन् वा बच्चा खानाको पहिलो गाँस उनैले खानु पर्छ । उनलाई कसैले खाना पस्कनु नि पर्दैन पाकेपछि आफै पस्केर खान्छन् । कसैले पस्केर दिएको नि खाँदैनन् । तर्क बिटुलिएका मान्छेले पस्केको कसैले खान्छ त !
बाँसगढीको उखरमाउलो गर्मीका महिनामा समेत उनी पञ्चस्नान भन्दै एकजोर हात, एकजोर खुट्टा र मुखको चुच्चो पखाली टोपल्छन्, झन् हिउँदका महिनामा त अवस्था टिठलाग्दो हुन्छ ! कठालो, कमिजको बाउलाको फेरमा टाढैबाट टल्कने कालो मैलो देखिन्छ।
उनलाई कसैले भनेछन्, “हजुरबुवा लुगा खोलेर धोइदेओ भन्नु  न कि पार्वता भाउजू कि हजुरआमालाई, धोइदिनुहुन्छ त !”

“तँ धेरै थुतुनो नचला है” भन्दै झम्टन पुग्छन् !

बरु छेउमै पर्दैनन् । बोल्यो कि पोल्यो हुन्छ धर्मानन्दसँग बोल्ने जो कोहीलाई ।

छेउ न टुप्पोका धर्मका, संस्कारका उपदेश दियो कसैले सुन्छ, मनन गर्छ गर्दैन त्यसको कुनै प्रवाह छैन । कसैले इन्कार गर्यो भने सानो उमेरका लाई हकार्यो अलिक ठुलो उमेरका मानिसको गिल्ला गर्यो बस यति छ धर्मानन्द पाध्यायको दिनचर्या । अरूले त उनका उपदेश कतिको सुन्छन्, लिन्छन् थाह छैन सात बर्षे नातिनी समेत हजुरबुबाका कुरामा खिसी-टिउरी गर्छिन् ।  बिहेबारी उनी कट्टर छन्, जात, धर्म र गोत्र सबै मिल्नुपर्छ नत्र त्यो विवाह, विवाह नै होइन भन्ने धर्मानन्द पाध्याय कि कान्छी मिरा पढ्दा-पढ्दै माछागढको चौधरी केटोसँग पोइल गईन् । एक महिनासम्म उनी के-के जाति पाठ गरेर घरबाट बाहिरै निस्केनन् ।

हुन त उनले स्वीकार नगरेको चौधरी ज्वाइँ पेसाले नगरपालिकाको इन्जिनियर हुन् तर उनले यो जीवनमा कहिल्यै स्वीकार नगर्ने घोषणा नै गरे राजमार्ग छेउको प्रतीक्षालयमा धेरै मानिसका सामु । उनले घोषणासँगै परिवारका सबैलाई सराप्ने काम पनि गरे ।

३/४ महिनापछि परिवारका अन्य सदस्यहरूको सल्लाहले मीराको टिकोटालो गरियो, त्यो दिनबाट धर्मानन्द घरको पिँढीमा नि चढेका छैनन् । दुईचार दिन कता हराए ।  घरमा नपसी आफ्ना सबै सामान नाति रोनिजलाई बाहिर निकाल्न अह्राए । दुईजना लाठे खोजेर बारीको पुछारमा सानो कुटी बनाउन लगाए ।

बारीको पुछारमा सानो कुटीमा बस्न थालेपछि कान्छो छोरो प्रतापले जे भए नि बाउ हुन् भन्ने मानेर कुटिमै गएर बिन्ती बिसाउँदै भने, “तमासा नगर्नु न बुवा ! मैले के गरे भने तपाईं घर फर्कने?”

धर्मानन्द बम्किँदै, ”तैँले तेरी जहान छोड्दे ! म मेरी छोड्छु ! अनि मात्र घर फर्कन्छु ।“

उनी आफ्नो अडानबाट टस-मस भएनन् । खासमा उनले गौडेल्नी आमोईलाई छोड्ने कुरा गर्दा उनी आफै सबै परिवारका सदस्यबाट छुटिसकेका थिए । र पनि उनको   घमण्डको पहाड झन्- झन् चुलिँदै नै थियो मर्ने बेलामा कमिलाको पखेटा पलाए झैँ !

बाँस र परालको कटेरोले गर्मीका महिना त सहजै काटे धर्मानन्दले एक्लै कुटीमा,जाडो सुरु हुनु अगावै प्रतापले बाको कुटी छेउमा एउटा पक्की कटेरो जसले हिउँदको चिसो  छलोस् भनी अर्को कुटी बनाउँछन्, तर बस्नु/नबस्नु केही भन्दैनन् !

पछि बेस्मारी जाडो हुँदा “हजुरबुवा त आफै राम्रो कटेरोमा सर्नु भएको छ ।” भनेर रोनिज बाबालाई सुनाउँछ ।  घरमा मिठो मसिनो पाके गौडेल्नी आमोई नाति रोनिजलाई एउटा पोको सुम्पन्छिन् केटो कुरा बुझ्छ ! धर्मानन्द त्यो दिन पेटभरि खान्छन् ।

घरमा कहिलेकाहीँ चाडपर्व विशेषमा धर्म परम्पराका विषयमा छलफल हुँदा हजुरबुवा कुरा पनि निस्कन्छन् सानी नानी प्रनिता समेत रुन्छे !  गौडेल्नी आमोईका त आँसुका तलाउ धेरै अघि नै सुकिसके । कुरामा कुरा चल्दा सुँक्सुक्याउँछिन्, घोसेमुण्टो लगाउँछिन् एकोहोरो टोलाउँछिन् र आँसु विहीन सुक्का डाँको छोडेर रुन्छिन् ! बुहारी पार्वता र छोरीहरू भक्कानिन्छन्, सितादेवीको अनुहारमा हाँसो र खुसीको एक केस्रो उनीहरूले देख्न पाएनन् !  आमोईको रुवाइको खस्रोपनले  छोराबुहारी, नातिनातिना, छोरीज्वाइँ सप्पैको मन बैचन बनाउँछ । विक्रमको २२/२३ मा माइती बर्मा छोडेदेखि अहिलेसम्म उनले न माइती जाने मौका पाइन् न माइतीको एकाकार खबर ।  आफ्नो भनेको मान्छेले जीवनभर सताउँदा कसरी पो बाँचेकी होलिन् आङ नै सिरिङ्ग हुन्छ !

तिहार सकिसकेपछि मङ्सिरको पहिलो हप्ता बिहानै बारीको पुच्छरको कटेरोबाट गौडेलबा हस्याङफस्याङ गर्दै घरको दैलो ढक-ढक गर्न आइपुगे । कोही पनि उठेका थिएनन् ।  नाति रोनिज  स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गतको हाजिरी जवाफ प्रतियोगितामा भाग लिएकाले त्यसकै निम्ति तयारीका लागि बिहानै पढ्दै थ्यो ।  कसैले ढोका ढकढक गरेको सुनेर ढोका खोल्न बाहिर आउँछ । ढोकाको चुकुल खुल्नेबित्तिकै गौडेलबा  नाति केटोलाई ठेलठाल पार्दै भित्र पस्छन् । आमोईको कोठाको ढोका हतारमै उघार्छन् । अनि  सास मिसिएको स्वरमा एकोहोरो “सिते… सिते..!” भन्दै कराउँछन् ।

धर्मानन्दको  एकोहोरो साउतीको स्वरले प्रताप, पार्वता, र प्रनिता   पनि बिउँझिन्छन् ।  आमाको कोठातिर ढोकाको छेउमा टुक्रुक्क बसेका गौडेल बाको मलिन अनुहार देखेर सबै असमञ्जसमा पर्छन् ।  प्रताप भित्र पस्छ र आमालाई बोलाउँछ;

“आमा…आमा…आमा..!!

सितादेवीको शरीर कक्रक्क परिसकेको हुन्छ ।

धर्मानन्द नबोली गुन-गुन गर्दै आँसु झार्दै सीतादेवीका पैताला सुमसुम्याउँदै आफैले आफैलाई धिक्कार्दै बेलाबेलामा सुँकसुँक्याउँछन् । बिसौँ वर्ष नबोलेकी ७३ वर्षीय सीतादेवीले  संसार छोडेको कुराको आभास २ सय मिटर पर रहेका गौडेल बाको कटेरोमा कसरी थाह हुन्छ ? यो कुराले प्रताप र पार्वाताको मन बिझाउँछ । जीवनभर एकपछि अर्को सन्तापले आफ्नै मान्छेद्वारा सताइएकी गौडेल्नी आमोईप्रति के धर्मानान्दको मनमा कुनै स्थान थियो त ?

हुने हार दैव नटार  भनेझैँ सितादेवीको मृत्युको सत्यतालाई सबैले स्वीकार गरे पनि धर्मानन्दलाई स्वीकार गर्न कठिन पर्यो । आफ्नी बाउनिको मृत्युको आभासले उनी आफ्नो कटेरोबाट हान्निएर पुगे पनि जीवित साक्षात्कार गर्न वञ्चित भए । जुन कुराले उनलाई पश्चात्तापको दलदलमा धकेलिदियो । उनले आफ्नी बाउनीको  क्रिया कर्म विधिअनुसार नै गरे, र गर्न लगाए दुवै छोरालाई । सीतादेवी एउटा कुलीन सम्पन्न ब्राह्मण परिवारकी छोरी थिइन् ।  हठात् सितादेवीका माता पिताले ज्वाइँ स्वीकार गर्दा नै धर्मानन्दलाई ऐँठन परेको थियो । एउटा असल कारिन्दा/नोकरलाई मालिककी छोरीले पति स्विकार्लिन् र भन्ने द्विविधामै धर्मानन्दले जीवन बिताए । जसले गौडेल्नी आमोईलाई निरन्तर चिमोटिरह्यो । संस्कारी बन्ने गलत प्रयोजनले घमण्डी बनाउँदै उनलाई निरन्तर अन्त्यहीन कुदाइरह्यो । आमोईले संसार छोडेको ४४औ दिनमा सखारैको नित्य ध्यान मुद्रामै उनले पनि आफ्नो प्राण त्याग गरे ।

गौडेलबाले आफ्नो मृत्युपश्चात मात्रै आफू धार्मिक रहेछु भन्ने छाप परिवारका सदस्यलाई दिन सके र साँच्चिकै धर्मानन्द बने ।