‘ऊ..!’

पश्चात् …!

मन फत्किरहेछ मनकै तातो भुब्रोमा । धस्कन्छ घरी चस्कन्छ, अनि टटाउँछ । ताछेर, चिथोरेर, खुर्केर फ्याँक्न मिल्ने भए मनलाई, मुक्त हुन्थी होली त्यो रोगबाट ।

‘थुइया, पिरोल्ने मन’ –थुक्छे अर्को मनले ।

बसाइसकेको छ घरबार उसँग, पेसुवा वायुले झैँ आएर पराय मन । एक्लिन्छे जब ऊभित्र ऊ लुछ्छ गिद्ध भई । घिच्छ चोक्टाचोक्टा चिथोरेर ब्वाँसो भई । घरी लामकिरोले झैँ बेरेर कस्छ तन हुँदै मनसम्मै । घरीघरी ह्वास्सै गन्हाउँछ, ऊबाट सङ्क्रमित पर्फ्युमकाे दुर्गन्ध । परिणाम: छाद आउँला झैँ लाग्छ डुलुवाले भेटे जस्तो । र त पर्फ्युमकाे पीडाबाट बच्न र सुग्घर क्षण भित्र्याउन बिहेको अत्तर छर्छे जीउभरि   श्रृङ्गारपेटीबाट झिकेर ।

पश्चात् ..!

–मोबाइलमा रिङ्टोन बच्छ । झस्कँदै हेरी, त्यही सधैँ जिस्काइरहने नकच्चरोको नम्बर । ‘यस कुकुरले नम्बर कताबाट पाएछ ?’ –भन्दै काटी फोन । लगतै दोहोरियो त्यही नम्बरको फोन । फोन उठाएर कराई –‘तेरो घरमा चेलीबेटी छैनन् ?’

‘…’ के भन्यो उताबाट थाहा भएन ।

‘थुइया ! फुँडो !! नजिक भए बर्ताउँथेँ, कानुनको चेपुवामा ।’
‘…’ फेरि फोन गर्नेले छाडा बोल्यो क्यार मुखमा आइन्जेल सरापी – ‘मसाने, बजिया, चिम्पान्जी’ –के–के भन्दै । अनि फोन काटेर सिमलाई झिकेर फ्याँकी किच्चाएर । त्यस्ता  मज्नुहरूबाट बच्न ।

भोलिपल्ट अर्को नयाँ सिम कार्ड हालेर फोन गरी लोग्नेलाई –‘हेलो ! सन्चै छौ होइन विवश ?’

‘अँ सन्चै छु र अलिक चटारो छ पार्टीको कामले’ –उताबाट लोग्नेले भन्यो । होटलको गोप्य कक्षभित्र तरुनीसँग अल्कोहल तान्दै –‘राम्रो ख्याल राख्नु नि आमाबुवालाई ।’

‘ल ल तिम्रा बुवाआमालाई राम्ररी राखेकी छु । साँच्ची खानेपानीको योजना के हुँदै छ ? यहाँ गाउँलेहरूले सोधिरहन्छन् ।’

‘धेरै बाठी नहुनु नि । भन्ने बित्तिकै कहाँ हुन्छ । आफू भने धाको धाकै छु संसदका घर हुँदै मन्त्रालयसम्म’ भन्दै झर्केर फोन काट्यो लोग्नेले ।

‘लोग्नेमान्छेको जात, मलाई भित्र्याएर हिँडेको चार वर्ष तीन दिन हुन्छ भोलि । कति निष्ठुरी …। सँगै बिहे भाकी समीराकी छोरी भइसकी ठुमुरठुमुर हिँड्ने । आफ्नो त कर्मै रुखो’ – यस्तै हरफ लेखियो उसको मनको गुभोमा ।

लोग्नेचाहिँ राजनैतिक पार्टीको स्थानीय झोले नेता । गाउँका बबुरोलाई ठूल्ठूला योजना पारिदिने दिवासपना बोकाएर थैल्याउँदै छ पैसा, खर्चको नाममा फूल, र दक्षिणाको बहनामा । छानक्छुनुक् सुनिन्छ –ऊ एकजना नेताको छत्रछायाको दोचा टेकेर चढ्दै छ रे अपराधको चुचुरो । मोजमस्तिका जिन्दगी जिउन जे पनि गर्न तयार हुन्छ ।

टुसुक्क बसेर मनसँग गफिन्छे यसरी –‘यी मान्छेले ठान्या होलान् पोइलो जाली भन्ने । अर्की राम्री र भर्खरकी बिहे गर्ने मनसायमा होलान् । तर मलाई चिनेकै छैनन् । हड्डी घोटेर चन्दन लाउँछु । कसरी भन्न सकेका, पर्खे क्या बात, छोडे धन्यवाद पो’ रे मलाई ।’ यस्तै अन्तरमनको गन्थन चटक्क छिन्छ सासूकी खुई गराइले ।

सासूकी गोडामा तेल मल्दै भनी –‘कति भनेँ घरमै बस्नु, मान्नु हुन्न तपाईं सकसक गरी हिँड्नु हुन्छ ।’

‘मन मान्दैन, बसिरहे जीउमा खियो लाग्ने डर । बुढेसकालको शरीर लुला भए, हात गोडा मट्याङ्ग्रो जत्रो कुरिन ढुङ्गो टेकेथेँ ख्यस्ल्यक्कै भइगो, मर्क्यो क्यार । तँलाई दुःख दिने भएँ ।’

‘के भन्नु भा आमाले । यो त मेरो कर्तव्य हो ।’

‘लौ साइँली दुःख पाइस् । तेरो लोग्ने हिँडेपछि फर्कन जानेन । तर नसुर्ता सबै जायजात तेरै नाउँमा नामसारी गरिदिउँला ।’

‘म राँडी सरहकीलाई के अर्थ जायजेथाको’–खुट्टो मर्दन गर्दै फ्याँकी सुस्केरा ।

‘हरेस नखा, देख्याछौँ विल्टुवा लोग्नेलाई तह लाएर पनि घर व्यवहार सोझ्याएका छन् कति आइमाईले’ सान्त्वना पोक्याई दिइन् सासूले बुहारीकी च्याङ्लो मनको पछ्यौरीमा ।

‘त्यस्तै आशा छ सुध्रेलान् कि भन्ने’ –ऊ भित्रको स्वर्णमय कल्पनालाई दर्साई।

‘कि जान्छेस् त पोइभाँठ ?’

‘के भन्नु भा’ स्वास्नीले लोग्ने खोजी हिँडी भने गिज्याउँछन् मान्छेले ।’

‘तेरो हृदयको समुद्रमा छल्किरहने ज्वारभाटालाई बुझेकी छु । आमा बन्ने रहर हतारिरहेको हुन्छ एउटी विवाहित आइमाईको मनमा । हाम्रो धोको तेरो आत्मा भन्दा दोब्बर व्याकुल छ उत्तराधिकारी खेलाउन ।’

अनि बिस्तारै ढप्कियो ऊसँग सैर गर्ने क्षण प्रतिक्षणहरू ।

० ० ० ०

पश्चात् ..!

दुई प्रहर रात फेरि उसको हुन सकेन । मन एकोहोरिने बित्तिकै ऊभित्र ‘ऊ’ आएर रमायो । निचोर्न थाल्यो सुस्तरी । छटपटाई ओछ्यान मै । क्रमसँगै बहु अश्वहरूलाई दगुराउँछन् ‘ऊ’ले हृदयमा टङ्कण गरेको अक्षरहरू उक्किएर । थिलथिलियो वक्ष, त्यही आलो घाउमा मसार्छ ऊ । त्यो क्रिया मायाको हो या तिरस्कारको अझै निर्क्यैलहीन छे ऊ । अझै ‘ऊ’लाई बिर्सन चाहन्छे या सम्झन ? ऊसँग छैनन् उसका गणितीय हल । यसरी उसलाई खेलाउँदा खेलाउँदै तीखा दाह्रा गाडेर चुस्छ जुका भई । ऊ मुर्दा  जस्तै चिसिँदै छ ‘ऊ’को तृषित कात्रोभित्र । आफ्नै लोग्नेलाई बैँसको द्वारपाले राखे पनि थाहै नपाई कमजोर मनको फरिको उघारेर सुटुक्क पस्छ ऊ ।

‘विमोचन हुन नसक्ने समस्या होइन, मोक्ष हुन सक्छु यो पेसुवा अन्तरमुर्कुटोबाट । लोग्ने आए पछि यथार्थको शिर पुच्छर सुनाउने हिम्मत गठ्यायो मूल मनले । अर्की लुम्री मनलाई सटीक नलाग्दा पोख्छे मनसाय –‘विश्वास नगर, लोग्ने मान्छे जति नै सोझो र बुझकी भए पनि सुन्न चाहँदैनन् त्यस्ता कुराहरू ।’

‘गर्ने के त ?’ चेपिन्छे अनिर्णयको धरापमा ।

निकै बेर बासको भाटालाई टुक्र्याएर छापेको टाँडलाई हेरिरही । अनि मनलाई लगार्छे अतीतभित्र । र मन अँध्यारोमा भिमलियो –‘मेरो शिक्षालाई गर्भ अवस्थामै फ्याँकिदिए अप्रेसन गरेर बाउआमाले नै, भाइ जन्मे पछि । भाइलाई हुर्काउने अभिभारा म फुच्ची माथि आयो । आज सम्झन्छु मेरो शिक्षाको भ्रूण नफ्याँकिएकी भए साहित्यकार, वैज्ञानिक, इन्जिनियर, डाक्टर, नृत्यगणा, अभिनेत्री या नेतृ हुन सक्थी । तर …। अनि मभन्दा नजान्ने श्रुतिले प्रवेशिका पास गरेकी खुसीमा चकलेट बाँडी हिँड्दा रोएर फ्याकेकी थिएँ अन्तर दुःखलाई । त्या ताका की गोज्याङ्ग्री समर्या ‘नेपाली लेखनको एकरूपता’ भन्ने विषय लिएर विद्यावारिधि गर्दै छे । यो बेलासम्म आफू भने देब्रे छु न दाहिनो ।’ यस्तै आगत र विगतका ज्वालामुखी कोठारमा फुट्दा पातुलो लावा बग्यो आँखा भिजाउँदै ।

० ० ० ०

पश्चात् .‍‍.!

सफल भो उसको प्रतीक्षा । आइपुगेको छ उसको लोग्ने । खुट्टो भुइँमा छैनन् हर्षले । सिमलको भुवा भई उड्दै छे वास्तविक दिनचर्या भन्दा अलिक माथि । अनि खतोखात पोक्याएकी छे निर्णय –सबै सुनाउने ‘ऊ’ले उसलाई दलेका कुराहरू । ऊसँगको उठान र अन्तलाई फुकाउन ।

मन्द सुसेल्दै या गुनगुनाउँदै पकाएको खानामा नसोचेको स्वाद पाइन्छ भन्छन् । आज ऊसँग पनि त्यो सूत्र प्रयोग भो । साँच्चीकै स्वादमा परिमार्जन आएछ –हेप्ने लोग्नेले समेत प्रशंसा दोहोर्याई रह्यो । र त ऊ भित्रभित्रै रमाउँदै लजाउँदै थिई, केटाकेटीले आँगनबाट बटुकोमा टिपेर राख्या असिनाका दाना जस्तै ।

शयन कक्षको प्रकृति । धेरै माया अलिअलि दुखेसो केही गुनासो त्यसपछिको स्वतः मिनाहा र सुखद भविष्यको शुभारम्भ ।
भावी तानाबाना मिलाउने कुरो । लोग्ने निदाउँछ उसको कुरोलाई सही थप्दा थप्दै । लामो यात्राले गलेको जीउ ‘सुतुन्’ भन्दै टिसाउँछे लोग्नेलाई । सुत्ने प्रयास लोग्नेको मीठो समीपतासँग । अनुभूति आनन्दको ।

तर आज पनि ‘ऊ’ आयो र चाट्न थाल्यो –बाख्राले गोठालोलाई चाटे जस्तै । टोक्छ, लुच्छ, मसार्छ, लछार्छ, त्यो हरिप; लोग्नेको उपस्थितिमै । धेरै छोटिई, लम्की, उर्ली असह्य भएर छटपटाउँदै लोग्नेलाई बिउँझाउँछे ।

‘के भो ?’ भन्दै अल्छ्याउँछ लोग्ने चाहिँ ।

जम्ले हात पारी अनुनय गर्छे –‘विवश ! आज तिमी जाग्न पर्छ । धेरै भो सुतेको अनि म जागै बसेकी ।’

‘के भन्न आटेकी ?’

‘पुर्पुरोमा हात नराख विवश सुन्नै पर्छ तिमीले । दह हुँ म तिमी झरना । श्रीमान् श्रीमतीको बीच अथाह र अदृश्यको साँध हुनु हुँदैन । साँध नगाडेको मेलोमा चापाचाप गर्न कति मजा आउँछ हगि ?’

‘भूमिका नबाटी भन’ –हाइ काड्यो लोग्नेले, सायद निन्द्राले फकाउँदै छ ।

‘बाचा छ, मेरो अतीतलाई सुनेर आवेशमा नआउनु । मेरो शरीरबाट मेरो विगत फुकिरहँदा मौन रहनु तिमी । साक्षीमा छन् तिमीले सामाजिक रोहबरमा दिएको सिँदुर र पोते । अनि मेरो अतीतको अध्याय सिद्धे पछि जे पनि गर्न सक्छौ, स्विकार्छु, जस्तै परिणाम पनि । सानलगा खुकुरी, चुप्पी, सुइरो, तलवार र मुङ्ग्रो पलङमुनि राखिदिएकी छु । जुनै हतियार पनि प्रयोग गर्न सक्छौ म माथि । मेरो लासलाई तह लाउन टेबलनिरै छन् प्लास्टिक, बोरा, फरुवा र डोरी । मान्छौ भने मलाई कोठेबारीमै गाडेर बाह्रमासे फूललाई रोपिदिनु ।’

बीचमै कुरा काट्यो लोग्नेले –‘मगज त खुस्केन ?’

ऊ निर्निमेष हेरिरही लोग्नेलाई । ‘के हेरेकी बौलाही झैँ’ छक्क पर्यो लोग्ने ।

‘मलाई धित मरूञ्जेल हेर्न देऊ । के थाहा यी आँखाहरू केही बेरमै निभ्ला संसारबाट ।’ यस्तो कुरोले लोग्नेचाहिँ झनै टोलिन्छ ।

० ० ० ०

‘अब मेरो कुरो सुन’ –‘ऊ’ ले उसलाई दे’का कुरा खोसेल्न थाल्छे –‘सम्बत २०६४ साल माघ महिनाको २२ गतेको रात्री यात्रा । जेठाजुकोमा देवाली मान्न, कुलायनको भाकल बोकेर हिँडेकी । बसमा झ्यालतिर सिट पाएकी थिएँ । २×२ को अर्काे सिट खाली थियो । हुस्सु लाग्या अँध्यारो निशि । केहीबेरको यात्रापछि म छेउको खाली सिटमा बोर्काे ओढेको पुरुष आएर बस्यो । झ्यालतिर ढल्केर निदाउने प्रयासमा थिएँ । बसमा दोहोरी गीत बजिरहेको थियो, प्रेम रसको । अनि निदाएछु मस्त । निकै बेरपछि तरङ्ग तर्सेर बिउँझँदा छेउको पुरुषले मलाई अँगालेको पाएँ । मेरो टाउको उसको काँधमाथि थियो । सायद निद्रा ऊतिर ढल्केर उसको काँधमा सिरानी पार्न पुगेछु । र त म एउटी अचिनारु महिला माथि हात हाल्ने आँट गरेछ त्यो मान्छेले । अनि त्यसलाई हुत्त्याई, झ्यालतिरै ढेस्सिएर फेरि निदाउने प्रयास गरेँ । मलाई गाडीमा चढ्ने बित्तिकै निद्राले गाँज्थ्यो ।

पुनः ऊतिरै ढल्के छु निद्रामा । त्यही निकृष्ट कार्यलाई दोहोर्यायो त्यसले । सम्हालिएर झ्याल तिरै टाँसिएँ । तर त्यसका घिन लाग्दा औँलाहरू चकचक गर्न छाडेनन् । हात समातेर झटारेँ –त्यो मानेन । त्यसको कान समातेर बेस्मारी बटार्दै रिसाएर सुस्तरी भनेँ ‘सभ्य बन्, नत्र हल्ला गर्छु ।’

‘हल्ला गर, इज्जत तिम्रै जान्छ । म बारको घोचो । लोग्ने मान्छेका इज्जत छिटै फर्कन्छ समाजमा । फेरि पहल त तिमीले नै गरेकी हौ । इन्जोए गर बाटो पनि कट्ने, जाडो पनि भाग्ने’ –त्यसले निडरतापूर्वक मेरो काननिरै फुस्फुसायो ।

‘थुक्क नकच्चरो !’ –गाली गर्दै तिरस्कार गरेँ । फरक परेन गाली गर्दा पनि त्यो डुब्दै थियो अशोभनीय चरित्रमा । गीत बजिरहेकै थियो, मस्त निदाएका थिए यात्रुहरू । झनै निस्पट्ट अँध्यारो । फेरि त्यसको फोहरी हात मतिर आयो । विरोध गरेँ, के मान्थ्यो बजिया । यस्तो लाग्यो मान्छे होइन त्यो, मलाई हराउन सैतान बन्दै छ । वास्तवमा म चाहँदिनँ चर्चाको विषय बन्न । त्यसको सिनु कार्यलाई सहनु सिवाय अन्य विकल्प लागेन । अनि मेरो कमजोरीलाई बुझ्यो त्यसले र झनै फैलियो त्यसको घिनलाग्दो । कुकर्म ।

गीत बजिरहेकै थियो । विविध आवाजमा घुर्दै थिए यात्रीहरू ।

त्यसको नराम्रो व्यवहारसँग झ्याम्मिँदै छु म पनि नचाहँदा नचाहँदै ।  सकारात्मक अनुभूतिमा प्रतिलिपि हुँदै थिए फोहरी कार्य । कज्याइरह्यो त्यसले । बेस्सरी नङ्ग्यायो मलाई, सुके लुतोले गाँजेछ, आनन्द पाएँ । हस्तबन्धनमा कस्यो, गिर्खो परेन मेरो सासनलीमा । खेलिरह्यो, म खेलौना भएछु । त्यो बेला कता मरेछन् मेरा लाजहरू । आँखाले समेत दैलो थुनेर एक्लै पारेछन् मलाई । निःशब्द शिथिल जीउ, मुर्दा हुँदै छु । सुन्छु कर्णद्वारा  युगल स्वास प्रश्वास मात्र । गीत सुन्न छोड्यो न घुराइ सुनिन्छ । कसैले देखे जस्तो लाग्दैन आफैँले नदेखेपछि । ढुक्क छु डुबेको छु ऊसँग । अन ‘त्यो’ सम्बोधनमा ‘ऊ’लाई स्थापित गर्न प्रेरित भएँ । रातभरि छामिरह्यो, खेलाइरह्यो, मलाई र मेरो कोमल मनलाई ।

बस रोकियो, ऊ रोकियो, म रोकिएँ । कति छिटै टुङ्गियो यात्रा । अन्य दिन पट्याइ लाग्ने यात्रा यसपालि भने मीठो र छोटो लाग्यो । बसबाट ओर्लनेमा सबैभन्दा पछि ऊ, ऊ पछि म थिएँ । मैले उसलाई हेर्ने आँट गर्न सकिनँ । ऊ अग्लो छ या होचो, गोरो छ कि कालो, मतवाली हुन् या तागाधारी, तराईबासी हुन् कि पहाडबासी म चिनिनँ । केवल थाहा छ उसको मधुरो स्वर, स्पर्श अनि पर्फ्युमको गन्ध । बसबाट ओर्लेपछि हात समाएर भन्यो –‘जाऊँ मेरो डेरा ।’

अनि बेसुरमै पछ्याएँ ‘ऊ’लाई मोहनी लायो क्यार । डेरामा पुगेपछि महिला रोबोट भएछु । ‘उज्याले भा’ छैन’ भन्यो, हो भनेँ । ‘दैवले जुराको हाम्रो मिलनलाई यसमा हाम्रो गल्ती छैन’ भन्यो । उसको चतुराइपूर्ण कथनलाई मानेँ । जसो भन्यो त्यसै मानेँ ।

पश्चात् ..!

‘ऊ’ आइलाग्यो म जाइलागिनँ । लुछ्यो भोको कुकुरले झैँ, मेरो अङ्गपत्यङ्गलाई । ठुँग्यो गिद्ध भएर, चुस्यो जुकाले झैँ सहिरहेँ, मेरी पत्नीत्व छटपटी रहँदा पनि । पतिव्रताको हत्या गर्यो, अलिकति सहयोग गरेँ मैले । मेरो अस्मिता रुयो, गुनासो गरिनँ । लामो घमसान पछि छिः ‘ऊ’ फुँडो नैतिकताको फुर्कोबाट धरातलमा पछारियो सँगै खसेछु मपनि । जब पतितको तुवाँलोले पोल्यो अनि झस्किए छु –‘पाप गरेँ आज ।’ थुकेँ आफैलाई । र बाहिरिएँ, घाम लागेको रहेछ –मेरो दुःचरित्रलाई देखाउन । ‘फेरि आवश्यक परे यस ठेगानामा सम्पर्क गर्नु’ –भन्दै परिचय कार्ड दियो ।

अलिक ओर आइपुग्दा सुनेँ एउटी आइमाईले सोध्दै छे ‘ऊ’सँग –‘बुहारी ल्यायौ क्या हो ?’ भन्दै । ‘ऊ’ ले दिएको कार्डलाई च्यातेर नालीमा फ्याँकेँ र बसअड्डा पुगेर लागेँ गन्तव्यतिर । त्यो घटनालाई सपनामा दुर्घटना पारेर बिर्सने प्रयास गरेँ तर ‘ऊ’ सत्यनाशकको शरीरबाट सल्केको पर्फ्युमको दुर्गन्धले भने स्मृति गराइरह्यो नमिठो पछि मीठो, मीठो पछि नमिठो घटनाले । त्यसपछि ‘ऊ’को प्रवृत्ति, स्वर र पर्फ्युमले आजसम्म लछारिरहेछ । लगातार झुन्डिरहेँ कुकर्मको सूलीमा मर्न न बाँच्न भई । यस कुघटनालाई तिमी सामु राखेँ –त्यो मेरो दाम्पत्य धर्म ठानेँ । त्यसैले आजसम्म पर्खेकी नत्र त्यति बेलै मर्थे हुँला कुनै मुण्डाघरको कौसीबाट हाम्फालेर ।’

अनि हतारिँदै लोग्नेको गोडा समाउँदै भन्छे –‘चपरीमुनि हालेँ तिमीलाई, बाँच्न चाहन्नँ । निःसन्देह मुक्ति दिनुपर्छ मलाई त्यो रोगबाट । भुइँचालो लिएर आयो कहिल्यै भुल्न नसक्ने व्यथा दिएर गयो पापीले ।’

स्वास्नीले पर ओछ्यान भएको कुरोलाई नडराई भनिरहँदा, लोग्नेचाहिँ चुपचाप पछुतोको पृष्ठमा लेख्तै थियो – ढुङ्गा …ढुङ्गा … ढुङ्गा..!

पश्चात् ..!