
कुन कार्यविशेषलाई धर्म भन्ने ? फेरि कुनलाई अधर्म ? एउटाले धर्म भन्ने सम्झेको कुरा अर्काले अधर्म सम्झन्छ, फेरि आर्काले अधर्म भनेको विषयलाई अर्काले धर्म ठान्दछ । सृष्टिको आरम्भदेखि लिएर अन्त्यसम्म एउटै धर्मवृक्ष उही रूपमा रहिरहन सर्वथा सक्दैन । युगयुगमा त्यसले आफ्ना पुराना पात झारेर नवपल्लव ग्रहण गर्नैपर्छ यदि ऊ आफ्नो सत्ता कायम राख्न चाहन्छ भने । प्राचीन कालमा गोमेध गर्नु धर्म थियो, मध्यकालमा बाल- विधवालाई अग्निकुण्डमा होमिदिनु धर्म थियो, आधुनिक कालमा ती दुवै कुरा अधर्म हुन आइसके। “धर्म” “धर्म” भनेर धर्मको पछाडि अन्धो भएर दगुर्नु हुँदैन । आफ्नो युगको कसीमा धर्मलाई घोटेर हेर्नुपर्छ, दाग कस्तो बस्छ त्यहीअनुसार त्यसलाई ग्रहण वा त्याग गर्नुपर्छ ।
बूढीबज्यैले आफूलाई खूबै धर्मात्मा छु भन्ने ठानेकीले कुनै धार्मिक काममा पनि उनी मौन रहन सक्दिनथिन् । एक पटक उनले धूमधामसित त व्रतप्रतिष्ठा गरेर आफ्नै छोरीजुवाइँलाई दिइन् । आर्को पटक उनले एक जोर गहना बनाउन लगाएर दक्षिणकालीकालाई चढाइन् । कैयौँ पटक उनले गाईलाई लगेर बाग्मतीको पानीमा दुहाइन् । त्यो ताक उनी बुढानीलकण्ठमा लाखबत्ती बाल्ने धुनमा थिइन् ।
उनको कोठामा थियो एक राश रुवा औ एक टिन चौँरी गाईको घिउ । आउने कार्तिक पूर्णिमाको दिन बाल्ने भएको हुनाले सब (दुइटी बुहारी, विधवा छोरी, आफू) बत्ती कात्ने काममा अस्तव्यस्त थिए । महिना असोजको, आखिरी हप्ता भइसकेको थियो ।
कुनै मनुष्य पनि कुनै काम लगातार गरिरहन सक्तैन । यदि कोही गर्छ भने ऊ बिरामी हुन्छ या विक्षिप्त बन्छ । तर बूढी बज्यै कसैलाई पनि बिहान उठेदेखि बेलुका सुतुन्ज्याल हात खाली गरेर बस्न दिँदैनथिन्- कन्जुस मिलमालिक झैँ ।
सायङ्कालको समय थियो, दिनभरि बत्ती कात्दाकात्दा आँखा पोलेको, कपाल फुट्ला जस्तो भएर दुखेको हुनाले कान्छी बुहारी जो जीउकी पनि केही कमजोर नै थिइन्, आफ्नो कोठामा गएर पल्टिन् । उनी त्यसरी कात्दाकात्दैको बत्ती छोडेर कोठामा गएर लडेको थाहा पाएर बूढीबज्यै उतर्सिंदै उहाँ पुगिन् र फतफताउन थालिन्- “देउताको काममा जहिले पनि तँलाई यस्तै छ होइन ? धर्म गर्नु भन्ने कर्ममा नलेखेको, माइतीमा देखेको सुनेको भए पो थाहा हुन्थ्यो । बाबु, दाजुहरू अङ्ग्रेजी पढेका नास्तिक, त्यस्ताको घरमा जन्मेको तँलाई पापको डर नभएको, धर्ममा श्रद्धा नभएको ।”
“धर्म नगरूँ भनेर पनि कोही भन्दो हो ?’ उनले भनिन्- “कपाल दुखेर टाउको उठाउनै सकिनँ र एक्कै छिन भो आएर पल्टेको ।”
“मैले यति गर्न नसकेर तेरो कपाल दुखेको हो ? अब निको हुन्छ।” उनले बुहारीलाई भुत्लाउँदै भनिन्, “अस्ति पनि यसै गरेर छली।”
धर्मात्मा सासूसँग पापिनी बुहारीको के जोड चल्थ्यो । “यतो धर्मः ततो जयः” अन्त्यमा धर्मको नै विजय भयो । सासूले नै जितिन् । बुहारी विवश भएर बत्ती कात्न फेरि लागिन् । जेठानी र नन्द उनलाई भुत्लाएर ल्याएको, बाध्य भएर बत्ती कात्न थालेको देखेर हाँसे । काम ठगेकोमा त्यो दिन उनलाई अरू पाँच सय बत्ती थप पनि कात्न पर्यो । राति तोप पड्किउन्ज्यालसम्ममा पनि उनले सकी नसकी कपालमा सोला हानेको सहीसही बत्ती कातिन् । आधा रातमा त बेफूँकको ज्वरो पनि आयो ।
० ० ० ०
एकदिन घरभित्र आउन लाग्दा (उनीहरूको घर आउने बाटोमा बस्तुको रोकावटको निम्ति पर्खालको सिँढी बनाउको थियो) जेठा छोरा सिँढीमा चिप्लेर लडे । फलतः गोडा मर्कियो ।
आइडिनको सिसी र सिन्का हातमा लिएर उनी खोच्याउँदै आमाको कोठाभित्र पसे- सीख बनाउन एक टुक्रा रुवा लिन ।
“मेरो यो लाखबत्ती बाल्ने रुवा अरू काममा लगाउन दिन्नँ, जा ।” उनले भनिन्।
जेठा छोरालाई पनि रनक्क रन्का छुट्यो । उनले पनि भने- “म पनि यही रुवाको सीख बनाएर नलाइछोइदिनँ ।’
हुन पनि हो, जाबो एक टुक्रा रुवा, त्यो पनि आफ्नै छोरालाई, उसमाथि गोडा मर्केको हालतमा, नदिनु कहाँसम्मको दुष्ट्याइँ !
यत्तिकैमा आमा दिन्नँ भन्ने, छोरो नलिइछोड्दिनँ भन्ने, हुँदाहुँदै कुरा चर्किंदै गयो । आमाछोराको यति सानो कुरामा चटारो पर्ने छाँट जस्तो देखेर जेठी बुहारीले भनिन्- “उता छ अर्को रुवा म ल्याइदिन्छु ।”
“म यही रुवाको सीख बनाएर लाउँछु।” उनले बालहठ गरेर जबरजस्ती एक टुक्रा रुवा लिए । आमाछोराको खोसाखोस पर्यो ।
बूढीबज्यैले सधैँ बुहारीमाथि विजय प्राप्त गरेकी भए तापनि छोरासितको सङ्घर्षमा त पराजित नै भइन् ।
उनले रिसले रातोरातो मुख लाएर सीख बनाउँदै मर्केको ठाउँमा आइडिन दल्दै भने- “औषधि लाउनको निम्ति जाबो एक टुक्रा रुवा दिनलाई पनि यत्रो छोटो चित्त, होइन ?”
“लाख बत्ती बाल्न ल्याएको रुवा तँलाई के भनेर दिन्छु त ? तेरो जूठोपुरा रुवाको बत्ती बाल्ने मैले ?” उनले थोता, नीला दाँत देखाउँदै आँखीभौं खुम्च्याउँदै भनिन् ।
“लाखबत्ती ! बडो लाखबत्ती ! दुनियाँ आङ ढाक्न नपाएर, नाङ्गो करङ देखाएर गल्लीगल्ली कामेर हिँडिरहेका छन्, लाखबत्ती ! होइन के ? बडो लाखबत्ती !” उनी पनि गर्जेर भन्दै कोठाबाहिर निस्के ।
त्यत्ति सानो कुरामा आमाछोराको सातदिनसम्म बोलचाल भएन ।
० ० ० ०
पूर्णे आउनलाई केवल चार दिन बाँकी, बत्ती पनि कातिसकिएको थियो । कुनै काम अपूरो थिएन । बूढीबज्यै प्रसन्न थिइन् ।
दादुराले भर्खर उठेको, दुब्लो, लौरीपिञ्जर, छ वर्षको नातिले हातमा चुरोटको गोलटिनको बट्टा लिएर आएर भन्यो- “मुआँ हेर्नोस् म कस्तो दुब्लाएँ । दिउँसो भातमा हालेर खानलाई यो बट्टाभरि घिउ दिनोस् न- त्यत्रो टिनभरि छ ।”
“त्यो खाने घिउ होइन ।”
“के गर्ने त मुआँ ?”
“लाखबत्ती बाल्ने ।”
“लाखबत्ती बालेर के हुन्छ ?”
“धर्म हुन्छ ।”
“बत्ती बालेर पनि धर्म हुन्छ ? उज्यालो पो हुन्छ ।”
“तँलाई यस्तो कुरा थाहा छैन ।”
“दिनोस् न मुआँ !”
“हुँदैन ।”
“बिन्ती मुआँ !”
“हुँदैन भन्या । किन कराइरहन्छस् !”
“उसो भए आधा मात्र दिनोस् न त ।”
“नकरा है ! – हुन्न भनेपछि । म गाला चड्काइदिउँला ।”
बिचरो नाति सुँक्क सुँक्क रुँदै रित्तै बट्टा रित्तै मन लिएर फर्क्यो ।
बूढी बज्यै देवता भनेपछि त के कुरा कुनै ढुङ्गामा अबीर या सिन्दूर पोखिएको रहेछ भने पनि त्यसलाई तीन पटक घुमेर ढोगिहाल्थिन्- चिन्नुजान्नु केही पर्दैनथ्यो- गणेश, भास्कर, देवी, शिव, विष्णु जेसुकै होउन् । अलि छुच्चो मिजासकी, हमेसा जेठीमधुको टुक्रा मुखमा हालिरहने बानी, बद्रीमा जाँदा मेवा आफूलाई ज्यादै मीठो लाग्ने भएको हुनाले उनले वहाँ त्यही चढाएकी, त्यसैले उनी त्यो फल खाँदैनथिन् । एकादशीका दिन दूध र केरा भने नभई हुँदैनथ्यो- मुछेर खान । भानुभक्तीय रामायण कनीकुथी भन्थिन् तापनि लेख्न पटक्कै थियो । कपाल मुडुलै पारेर काटेकी, बराबर बाथले एक डल्लो पारेर राख्ने र दन्तशूल पनि हुने भएकोले अब त मरे पनि मरूँ मुखले भन्थिन्, तर साँच्ची नै रोगले च्याप्यो भने मर्छु कि भनेर डराउँथिन् पनि ।
उमेर उनको एकसट्ठी वर्षको, जीउ डम्म परेको थियो । गोरी, पुड्की, बाटुलो मुखाकृतिकी, सानो निधार, फिँजिएका लामालामा आँखीभौँ तथा मोटो ओठ, गालाभरि चाउरी परेकी थिइन् । हातमा पाता पिटेका सुनका चुरा, औँलामा बद्रीनाथको मूर्ति देखिने औँठीबाहेक अरू गहना केही थिएन । निधारमा हमेसा गोपीचन्दन र भ्रूमध्यमा तिलक हुन्थ्यो । रामगीता कण्ठै पाठ गर्थिन् । सूर्यको दर्शन नगरी केही खाँदैनथिन् । तब त वर्षा ऋतुमा यदाकदा, लगातार पाँचसात निराहारसम्म पनि गर्नुपर्ने हुन आउँथ्यो । वेदान्तीहरूले ब्राह्मणहरूलाई चिनेको जस्तो शायद बूढीबज्यैले पनि धर्मलाई चिनेकी थिइन्, बुझेकी थिइन्, जानेकी थिइन, थाहा पाएकी थिइन् । त्यस कारण उनको विचारमा उनले गरेका काम जति सब धर्मानुकूल नै हुन्थे ।
० ० ० ०
समय रातको, कार्तिकको महिना, शीत पर्न थालिसकेकोले जाडो भएर आएको, बूढानीलकण्ठको मन्दिरभित्रको स्थान, टहटह जून लागेकोले दृश्य मनोरम थियो ।
बूढीबज्यै आफ्ना छोराहरू, विधवा छोरी, नातिनातिनीहरू, पुरोहित र दुईचारओटी धर्मपरायणा बूढीहरूलाई साथमा लिएर लाखबत्ती बाल्न लागिरहेकी थिइन् । तर दुइटै बुहारीहरूले भने घरकुरुवा भएर बस्नुपरेको थियो । गोडा निदाउने घरीघरी पाखुरा बाउँडिने घरीघरी बत्ती कातेको, मुख्य समयमा जान नपाएकोले उनीहरूलाई केही रमाइलो भएन । जेठी बुहारीलाई लगे कान्छी बुहारी रिसाउने, कान्छीलाई लगे जेठी रिसाउने भएकोले दुइटै घरकुरुवामा रहेका रे ।
बुढानीलकण्ठको पाटीमा लाखबत्ती बलिरहेको थियो : निक्कै उज्यालो भएको थियो। बूढीबज्यैको हृदयमा चाहिँ अँध्यारो उज्यालो के पो थियो उनी नै जानुन् ।
आधा रातको समय, कोही त्यहीँ राडीमा एक डल्लो परेर निदाइरहेका थिए, कोही छिनछिनमा झप्पझप्प उँघेर भए पनि जागरण नै बसेका । बूढीहरूचाहिँ थपडीले ताल दिएर बहुमुखी स्वरमा भजन गाइरहेका थिए- “भजु मन नारायण रघुवीर गोविन्दम्” ।
बिहान-
नुहाईधुवाई आफ्नो नित्यकर्म पाठपूजा व्रतसाङ्गेको गोदान गरिसकेपछि बूढीबज्यैले भनिन्- “मैले पशुपतिमा पनि लाखबत्ती बालें, चाँगुनारानमा पनि बालें, यहाँ पनि बाल्नाको साह्रै धोको थियो, बाल्न नपाईकन मर्छु कि भन्ने डर थियो बल्ल सकियो । अब मरे पनि मरूँ ।”
त्यस दिन उनको हृदय फूलको थुङ्गो जस्तो हलुका भएको थियो ।
अब कुनै कामनाको भावना बाँकी थिएन ।
सत्ताइस ब्राह्मण भोजन गराइने भएकाले सब जना आफ्नाआफ्ना नियत काममा लागेका थिए । बूढीबज्यै चाहिँ सबैतिरको कामको दृष्टि पुऱ्याउनलाई कहिले यता कहिले उता हिँडिरहन्थिन् । आठदशओटा माग्ने कोही ठिटा, कोही बूढा, कोही दूधे बालकसहितकी स्त्री- जताजता उनी गइन्, उतैउतै कराउँदै पछि लाग्थे- “मालिख्नी बज्यै ! हजुरले यस्तो धर्म गरिबक्स्यो, हामी पनि एक पेट खाना पाऔँ ।”
बूढीबज्यै च्याँठिएर भन्थिन्- “यी पूर्वजन्मका पापी माग्नेहरूले किन मलाई यस्तो दुःख दिएका ? जताजता जान्छु, उताउता पछि । छोलान् भन्ने पनि डर भइसक्यो ।”
माग्नेहरू चाहिँ केही पाइएला कि भन्ने आशाले उनको पुच्छर छोड्दैनथे- दीनहीन भावले अनेकअनेक प्रार्थना गर्दथे ।
केही बेरपछि हातगोडा धोएर, धोती फेरेर सत्ताइस जना ब्राह्मणहरूलाई बूढीबज्यैले पालैसित टीका लगाएर एकएक मोहर दक्षिणा दिइन् । उनीहरू गए ।
एकछिनपछि उनी पनि त्यहाँबाट उठेर जान लाग्दा फेरि तिनै गरीब माग्नेहरूले उनलाई बाटै छेक्लान् कि जस्तो गरेर घेरे- केही पाइन्छ कि भनेर छोइएला कि भनेर उनी पछिपछि हटेर रिसाउँदै च्याँठिन थालिन्- “लौ न भन्या मलाई त यी माग्नेहरूले दिनु दुःख दिए । कस्ता ! आइज न जाखे, लघार् यिनीहरूलाई । सक्दैनस् ?”
जोखे हाइलम्फू, महामूर्ख थियो । उसले बूढीबज्यैको वचनलाई हुकुम झैँ मानेर हातमा एउटा दाउरो लिएर चुरिँदै आयो । तैपनि ती माग्नेहरूमध्ये कोहीकोही जहाँका तहीँ थिए । उसले तिनीहरूलाई जता पायो उतै बजायो । अनि कुनै गोडा खोच्याउँदै गए, कुनै ढाड सुमसुम्याउँदै, कुनै टाउकोमा टुटिलो उठाएर हिँडे । एउटी माग्नि चाहिँ अझ पनि दबेर बसी नै रहेकी थिई । जोखेले त्यसलाई पनि एक दाउरो बजायो । तर त्यो प्रहार उसलाई नलागेर बुईमा बसेको सानो बालकको निधारमा पर्यो, नतिजा- पट्ट फुटेर रगतको धारो लाग्यो । बाहिर बालक चिरिएर रुन थालेको थियो, भित्र ब्राह्मणभोजन ‘सुप्रुक सुप्रुक’ तस्मै खाएको आवाज !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
