
आइतबार:
शहरको एक व्यस्त बसस्टपमा केटाले केटीलाई देख्यो, केटीले केटालाई देखी । दुवैका आँखा एक आपसमा जुधे । केटो केही मुस्कायो, केटी केही लजाई । दुवैका मुटुको धड्कन केही तीव्र भयो । केटोले देख्यो–केटी अप्सरा झैँ छे । केटीले मनमनै भनी – केटो हिरो झैँ छ । केही बेरपछि बस आयो । केटी बसमा चढी, सिटमा बसी, बस गुड्यो । केटीले झ्यालबाट टाउको निकाली । केटाले हात उठाएर बाइ ग¥यो । केटीले पनि प्रत्युत्तरमा हात हल्लाई । केटाले धेरै वरसम्म बस गएको दिशातर्फ हेरिरह्यो ।
सोमबार:
केटीलाई देखेपछि केटाको भोक प्यास, निद्रा, चैन सबै हरायो । केटीलाई पनि त्यस्तै भयो । केटाले ती केटी बिना जीवन निरास भएको महसुस गर्यो । केटाले त्यो केटीबिना जीवन निरस भएको महसुस गन्यो । केटाले एफ. एम रेडियोको प्रोग्राममा फोन गरेर भन्यो, “हिजो फलानो बस स्टपमा भेटिएकी, छुट्टिने बेलामा ’बाइबाइ’ भन्दै जाने लजालु अप्सरालाई उही ठाउँमा भेट्न अनुरोध गर्दै गीत सुनाउन चाहन्छु ।” रेडियोबाट आएको सन्देश केटीले बुझी । केटी निकै खुशी भई ।
मंगलबार:
दिउँसो बोलाएको भएपनि केटा र केटी बिहानै बस स्टपमा पुगे । दुवै जना महँगा कपडामा निकै आकर्षक देखिएका थिए । केहीबेर दुवैजनाले हेराहेर गरे । आँखाको भाकामा कुराकानी गरे । केहीबेर पछि दुवै जना परिचित भए । केटाले मोटरसाइकल ल्याएको थियो । त्यही मोटरसाइकलमा चढेर दुवैजना शहर नजिकैको एकान्त पार्कमा गए । एकान्त ठाउँमा बसेर केटा र केटीले मिठामिठा कुरा गरे, माया प्रेमका कुरा गरे । केटाले केटीको काखमा टाउको राख्यो । केटीले केटाको छातीमा टाउको टेकाई । पार्कपछि केटा र केटी शहरको महँगो रेस्टुरेन्टमा गए । मोबाइल नम्बर साटासाट गरे । फेसबुकमा एक अर्कालाई साथी बनाए । साँझपख उनीहरू त्यहाँबाट निस्के । केटाले केटीलाई मोटरसाइकलमा राखेर घर पुर्याएर फर्क्यो । घरमा पुग्ने बित्तिकै केटाले केटीलाई मेसेन्जरमा लभ इमोजी पठायो, केटीले किस गरेको इमोजी पठाई ।
बुधबार:
बिहानै केटा र केटीले लामो च्याटिङ गरे । केटा र केटी दुवै भित्र प्रेमको आगो दन्किँदै गयो । केटाले केटी बिना र केटीले केटा बिना बाँच्नै नसक्ने महसुस गरे । एक अर्काबिना केटा र केटीलाई आफ्नो जीवन ब्यर्थ लाग्यो । केटालाई छटपटी भयो । ऊ मोटरसाइकल लिएर केटीको घर अगाडि पुग्यो । केटीका आँखा बाटोतर्फ नै थिए । केटाले इशारा गर्यो । केटीले इशारा बुझी । घरकालाई छलेर केटी एकान्त ठाउँमा पुगी । भेट भए । माया साटासाट गरे । एकार्काबिना बाँच्न नसक्ने कुरा सुनाए । केटा र केटीले भागेर विहे गर्ने निधो गरे ।
बिहीबार
केटाले केटीलाई भगायो अर्थात् केटासँग भागी । मन्दिरमा गएर केटाले हात काटेर केटीलाई रगतको सिन्दूर लगा दियो । भगवानको मूर्तिको सामुन्ने दुवै जनाले जुनीभर सँगै बाँच्ने सँगै मर्ने बाचा बन्धन गरे । केटीलाई पत्नी बनाउन पाउँदा केटोले आफूलाई निकै भाग्यमानी र केटालाई पति बनाउन पाउँदा केटीले आफ्नो जीवनको लक्ष्य पुरा भएको सुनाए । त्यस दिन उनीहरु अर्को शरहमा पुगे र त्यहाँको होटेलमा उनीहरू हनिमुन मनाए । “तिमि भएपछि मलाई अरू के चाहियो“ भन्दै केटीले आफ्नो फेसबुक र टिकटक आइडी डिलिट गरी । केटो मख्ख पर्यो ।
शुक्रबार:
साँझपख केटोले आफ्नी नवदुलही अर्थात् केटीलाई आफ्नो घर लग्यो । केटाको घर देख्दा केटी झण्डै मुर्छित भई, किनकि उसको हेन्डसन लोग्नेको घर उसले साेचे जस्तै महल नभएर झुपडी थियो । गह्रौँ मन बनाएर केटीले घरभित्र पाइला टेकी । केटीले घरको कुरा निकाली । केटोले ’केही समयलाई मात्र हो’ भनेर कुरा बनायो । त्यो रात लोग्ने स्वास्नीबीच त्यति सारो गफगाफ र माया साटासाट भएन ।
शनिबार:
विहानपख केटाले केटीको गहना माग्यो, घरको लागि सरसामान किन्न । केटीले गहनाहरू नक्कली भएको कुरा बताई र घर चलाउन मोटरसाइकल बेच्न सल्लाह दिई । केटोले झर्किंदै मोटरसाइकल साथीको हो भन्ने कुरा बतायो । केटो धनी छ, मोज गर्न पाइन्छ भनेको त भिखारी पो रहेछ भन्ने आरोप केटीले लगाई । केटोले पनि धनी केटी फसाएर ससुरालीको सम्पत्ति खाने जुक्ति निकालेको त कङ्गाल केटीसँग पो फस्न पुगिएछ भन्ने व्यथा खोल्यो । केटाले केटीलाई गाली गर्यो केटीले केटालाई धम्की दिई । झगडा चल्यो ।
केहीबेर पछि एउटी महिला सानो छोरीलाई डोर्याउँदै आई । महिलाले केटालाई गाली गरी र केटीलाई मेरो सौता बन्न आएकी कुलच्छिनी भनेर भकुर्न थाली । त्यसैबेला अर्को लोग्ने मान्छे आयो । उसले केटीलाई थप्पड लगायो, गाली गर्यो । केटालाई मुखमा थुकिदियो । केटाले जबरजस्ती ल्याएको हो भन्ने कुरा केटीले लोग्ने मान्छेलाई सुनाई । अर्काको स्वास्नीमाथि आँखा लगाउने लोफर, गुण्डा भन्दै लोग्ने मान्छेले केटोलाई २०–३० मुक्का लगायो । नाक कुच्चाइदियो, एउटा दाँत झार्यो । लोग्ने मान्छेले केटीलाई लतार्दै बाटोतर्फ लग्यो र स्वास्नी मान्छेले केटोलाई गाली गर्दै घरभित्र पसी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

