मापन गर्न नसकिने कुराहरूको मूल्याकङ्न कसरी गर्न सकिन्छ होला ? अदृश्य कुराहरूलाई दोष दिँदा सही साबित हुन के गर्नुपर्छ होला ?
आफ्ना पाइलाहरूको आवाज मात्र सुनिइरहेको सुनसान ठाउँमा म आफैँलाई सुन्न खोजिरहेकी छैन । सुकेर झरेका पातहरूमा भर्खर झरेको शीतले चिप्लँदै म अगाडि बढिरहेकी छु । घाम आफ्नो बाटोमा छ, लाग्दैछ त्यो म मात्रै हुँ जो एकाबिहानै एउटा जङ्गलमा बाटो खोजिरहेकी छु । यहाँ कसरी आएँ भन्ने कुराले त्यति अर्थ राख्दैन जति आउनुको कारणले मलाई असर पारिरहेको छ ।
एउटा सम्बन्ध जहाँ म एक्लो हुन्जेल पनि बाँधिइरहेँ । एउटा प्रेम जसले मसँग प्रमाणहरू मागिरह्यो । आफ्नो त्यही छनोटलाई छाड्न नसक्दाको पश्चातापबाट निस्कन म यहाँ पसेकी हुँ । छुट्टिनुअघिका सपनाहरूलाई बिर्सन म यहाँ पसेकी हुँ ।
ऊसँग मेरो भेट दुई वर्षअगाडि यतिबेलै एउटा पदयात्रामा भएको थियो । सात जनाको समूह भए पनि म राम्रोसँग घुलमिल हुन सकिरहेकी थिइनँ । सायद एक्लै हिँड्ने बानी नमज्जासँग परिसकेको थियो । मैले टिपिरहेका जंगली फूलहरूमाथि उसले परबाटै चासो देखाइरहेको मैले थाहा पाइरहेकी थिएँ । हाम्रो औपचारिक संवाद उसले लिएर आएको चियाबाट भएको थियो । परिचयबिनाको छलफलले होला, हामीले लामो समयसम्म पनि एकाअर्कालाई चिन्न सकेनौँ । फर्कँदा फरक मान्छेका कानमा गुन्जिएको एउटै प्रेमिल संगीतले हामीलाई सँगै राख्न सुरु गरेको थियो । खैर, छुट्टिएपछी सम्झना झन् तेज भएर आउँदो रहेछ, जता गए पनि सँगसँगै जाने ।
अलिपर चौर देखिएको छ, घामको रङ जमिनमा फैलिसकेको छ । म फोन निकाल्छु, प्लेलिस्टमा औँला घुमाउँछु । र गीत बज्न सुरु गर्छ – तुझे भी चांद जरा सा दिखता है क्या… । ऊसँगै भएको रातको चन्द्रमालाई म ऊ गएपछिको रातको चन्द्रमासँग तुलना गर्न सक्दिनँ । डायरी निकाल्छु र हेर्छु, पछिल्लो तीन महिना अठार दिनदेखि केही पनि लेखिएको छैन । यसरी रोकिनु त आफैँलाई नकार्नु हो । मलाई यो राम्ररी थाहा छ । तैपनि म आफूलाई मौका दिइरहेकी छैन – यी यादहरुबाट निस्कन ।
दूरी जहिल्यै भावनात्मक हुन्छ । भौतिक दूरीले कसैलाई सजिलै भत्काउन सक्दैन । ऊ टाढा जाँदैमा म आफूलाई स्वतन्त्र पार्न सक्दिनँ । उकालो चढिरहेका घाउहरू बढ्न जानेका हुन्छन् – बाँडिन सक्दैनन् । बानी परिसकेको बेलामा बिन्ती बोकेर कोही फर्केर आउँछ भने त्यसलाई सामान्य तरिकाले लिन कसरी सकिन्छ ? मनपर्ने मान्छेको हातमा मनपर्ने फूलहरू मनपर्ने समयमा देखिन्छ भने कोही अधर फैलाएर नमुस्कुराउन कहाँ सक्छ र ?
सन्ध्या – मेरो सबैभन्दा प्रिय समय । अलिकति उज्यालो र अलिकति अँध्यारो उधारो लिएरै बाँचिरहेको समय । जस्तो कि म अलिकति सम्भावना र अलिकति प्रभाव बटुलेर आशा सँगालिरहेकी छु । तर केही आशाहरु चाहनाबाट धेरै टाढा हुन्छन् । मेरो आशा केवल एउटा आधार थियो । जुन पूरा हुने अवस्थाका लागि म कहिल्यै तयार थिइनँ । जसोतसो चलिरहेको जीवनमा हलचल मच्चाउन आएको उसलाई रित्तै फर्काउने आँट ममा भएन । दिनका लागि पनि त केही थिएन । ढोकामा आएको ढकढक आवाज र खोल्ना साथ देखिएको ऊ । मैले छेउमा उभिएर भित्र आउन दिएँ । ऊ धक नमानी बेडमा बस्यो । म उभिइरहेँ । उसले ढोकातिर हेरेपछि गएर बन्द गरेँ र आएर नजिकै बसेँ । त्यो सन्नाटाले मलाई मुटुमा टाँसिएको ऊ अहिले आफैँसँग भएको कुरा स्वीकार्न दबाब दिइरहेको थियो । यत्तिकैमा मैले आफ्नो हत्केला उसको अनुहारमा पाएँ । हामी एकाअर्कातिर फर्कियौँ । आधार बनेको आशा अगाडि देख्दा मैले आँसु रोक्न सकिनँ । सायद आफूलाई अहिलेसम्म दुखेको पनि थियो भन्ने पनि बिर्सिएँ । अँगाल्नुअघि मैले यो सोचिनँ कि यतिन्जेल म शून्य थिएँ । मैले यो पनि सोधिनँ कि ऊ कहाँ गएको थियो र किन गएको थियो । ऊ आएकोमा चुपचाप चित्त बुझाउनु नै उचित लाग्यो । रातभर हामी बोलेनौँ । हेरिरह्यौँ, एउटै हावामा श्वास फेरिरह्यौँ ।
बिहान बिउँझदा ऊ छेउमा थिएन । राती सँगै थियो/थियौँ भन्ने कुरा स्विकार्न पनि मलाई समय लाग्यो । बाहिर निस्किएको होला सोचेँ र उठेँ । हिजोको फूल टेबलमा यत्तिकै थियो । हातमा लिन मन लाग्यो र नजिक पुगेँ । त्यहाँ सँगै एउटा कागज पनि थियो । सम्झिएँ – हिजो त यो थिएन । डर र उत्साह मिश्रित अनुहारका साथ त्यो कागज खोलेँ । लेखिएको थियो –
बाँकी रहेको अन्तिम अँगालोको नाउँमा यो बिहान बिताउनु । सिँगार्ने सिङ्गो सपना यत्तिकै हुनेभयो ।
अचानक चिटचिट पसिना आउन थाल्यो । ऊ आउनु/जानु/फर्कनु/निस्कनुमध्ये केही पनि मेरो इच्छा र योजनाअनुरूप थिएन । हुन्थ्यो त म अहिले नजाऊ भन्ने थिएँ । उजाडिनुसम्म त ठिकै थियो तर कहिल्यै निको नहुनेगरी उक्किएर जानु असह्य भयो । हामी सँगै सुहाउँथ्यौँ – ऊ भनिरहन्थ्यो । यो उष्णताको कारण बताएको भए सायद सहिष्णुता कायम रहन्थ्यो ।
आकार बदलिएपछि हटेको उपकारका प्रकारहरू बढ्न लागे ।
×××
म फेरि हिँड्न थाल्छु । लाग्छ – म रुख बनिसकेकी छु जो हरेक वियोगपछि हावासँग नजिक हुन्छ तर नाजुक हुनुअघि हिजोका फूलहरू सम्झेर हरेक बिहान साँझ सम्हालिन्छ । मासिनुअघि उसैलाई समाउन चाहन्छु जसले हाँस्न सिकाएको थियो । तर अब म पुग्ने ठाउँमा नपुगोस् । आजको दिन म यत्तिकै बिताउन चाहन्छु । अर्थहीन तर हिनताविहीन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।