स्वाभाविक हो यो स्थिति हुनु … किनभने देशका धेरै नागरिकलाई देश कस्तो हुनुपर्छ भन्ने कुरा सोध्यो भने तिनलाई उत्तर थाहा छैन । थाहा भए पनि ती अरूले सिकाएका उत्तर हुनेछन् । हरेक मानिसका आफ्ना जरुरत हुन्छन्, स्वार्थ हुन्छन् र त्यो पूरा गर्न देशले सहयोग गरिदिए हुन्थ्यो भन्ने सोच्दछन् तर देशसँग केवल जरुरत पूरा गर्ने तागत हुन्छ, स्वार्थ हैन । देशको पनि आफ्नै जरुरत हुन्छ ।

यो केवल एउटा काल्पनिक कथा हो । कसैको जीवन अथवा देशसँग मेल खान गएमा म अर्थात् लेखक र जनता दुवै जिम्मेवार हुनेछन् ।

यो विशाल संसारको कुनै एक भूभागमा मानव सभ्यताले कोरेको तेरो र मेरोको भावनाको रेखाभित्र एउटा देश छ । सबैको जस्तै  जसको आफ्नै इतिहास छ, कला छ, संस्कृति छ तर वर्तमान छैन । एक समयको कुरा हो यहाँ खुसी थियो, सद्भाव थियो अनि देश थियो । मेरै देश मैरै माटो मैले यतै फूल फुलाउनु पर्छ भन्ने जीवन थिए । आज पनि छन् तर गुमनाम छन् । तिनले फुलाएको फूल बगैँचाबाट रित्तिँदो छ ।

कुनै एक समयको कुरा हो त्यस देशका प्राय मानिसहरू गाई पालन गर्दथे । बिहान बेलुका गाईले राम्रो दूध दियो भने उनको जीवनले खुसीको सुस्केरा हाल्दथ्यो । जीवन थौरैले  पूर्ण थियो । थोरैमा मानिस खुसी थिए तर यस खुसीको बीच एउटा सानो समस्या जीवित थियो । घाँसको समस्या । त्यसैले देशलाई पिरोलिइरहेको थियो । गाई पाल्ने मानिसहरू बेला बखत चौतारोमा बसेर गाईका लागि घाँस कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिरहन्थे । हिउँदमा गाईलाई खुवाउने घाँस नभएर गाईले दूध दिन छाडेका थिए । कतिका गाई दुब्लाउँदै पनि गए र कतिले त आफ्नो गाईबस्तु समेत गुमाउनु पर्‍यो ।

देशलाई यो खड्कोले लामै समयदेखि सताइरहेको थियो । चौतारीका बीच हुने छलफल सधैँ चलिनै रहन्थ्यो । तर केही समाधान निस्किएको थिएन ।  यस्तै छलफलका बीच एक दिन एउटा युवकले समाज सामु आफ्ना मनका कुरा खुलेर राख्यो ।

उसले भन्यो, “सरकारले अब हाम्रा गाईका लागि खाद्य उपलब्ध गराउनु पर्दछ । सरकारले गरेर हाम्रा गाईबस्तु दुब्लाएका हुन्, मरेका हुन् त्यसैले हामी सबैको दुखको मुख्य कारण नै सरकार हो । अब हामीले सरकारलाई हाम्रो हक माग्नु पर्छ । सरकारलाई चुनौती दिनुपर्छ। त्यसैले अब उठौँ आमाबुवा, दाजुभाइ, दिदीबहिनी, यदि सरकारले हामीलाई चाहिएको कुरा दिलाउन सक्दैन भने हामीलाई पनि सरकार चाँहिदैन ।”

मानिसहरूले केहीबेर अचम्म मानेर त्यो केटोलाई हेरे र उसको कुरमा हो मा हो मिलाए । एउटा नयाँ युगको थालनी हुने आशामा मनहरू पुलकित भए । उनीहरूलाई थाहा थियो कि हाम्रा गाईका लागि खाद्यान्न जसरी भए पनि चाहिएको छ तर थाहा थिएन कि सरकार नचाहिने हो वा होइन । यो युवा जो बोलिरहेछ यसले हामीलाई चाहिएको कुराका बारेमा बोल्न सक्छ भने सबै ठिकै त भन्छ होला भनेर उसका साथ लड्ने प्रतिबद्धता जनाए ।

बिस्तारै देशभरबाट मानिसहरू गाई आन्दोलनमा जोडिन थाले । सरकारलाई चुनौती दिन थाले । गाईलाई खाद्यान्न नपुगेको विरोधमा सडकमा दूध पोखिन थाल्यो । रातारात सहरमा जुलुस निस्कियो । गोली चल्यो, दङ्गा भयो । कैयौँ किसान सरकारसँगको झडपमा परेर मरे । जीवित हुनेले “बन्दैन देश दुईचार सपुत मरेर नगए”  भनेर चित्त बुझाए ।

धेरै लामो आन्दोलनपछि अन्त्यमा सरकार ढल्यो । अब सरकार बन्यो त्यही चौतारोमा सरकार चाँहिँदैन भन्ने केटोको । हर्षका साथ ऊ देश हाँक्ने कुर्सी चढ्यो । नयाँ सरकार आएको खुसीमा देशभर उत्सव मनाइयो, बाजा बजाइयो । तर आफ्नै गाउँको केटोले जितेको दशौँ वर्ष बित्दा पनि गाईले खाद्यान्न पाएनन् । जनता बिरक्तिए  र गाईपालनलाई त्यागेर केही पैसा आम्दानी होस् भनी परदेश भासिए । कहिले ननिस्कने गरी ।

आज पनि त्यो देश जीवित नै छ । बाँचेकै छन् मानिस । तर जे खोजेका हुन् मानिसले त्यो कहिल्यै पाएनन् । जे चाहिँदैन थियो त्यही पाएर मस्त छन् । यो हैन कि जनतालाई देशको माया छैन, छ । नपत्याउनेले सामाजिक सञ्जाल खोलेर हेरे हुन्छ, वाल वालमा देशभक्ति भेटिन्छ । सामाजिक सञ्जालका वालमा हरेक पल हरेक दिन देशभक्ति स्खलित भइरहन्छ । छिमेकी मुलुकलाई गाली गर्नलाई मात्र सीमित भएता पनि देशभक्ति जीवितै छ ।

देशको कथा यतिमै समाप्त हुन्छ । देश जीवित नै छ । रहिरहला सायद ….

लेखक जो छ, कहिलेकाँही सोच्दछ । गाईले खाद्यान्न नपाएको निहुँमा सरकार ढाल्ने त्यो काल्पनिक देशका जनता देशनै ढल्न लाग्दा किन मौन छन् । क्रोध, असन्तुष्टि र उदासी यी सबै कुरा सञ्चय भइदिएको भए सायद अहिले सडकमा परिवर्तनको राँको बल्ने थियो । देशले त्यो चौतारीको केटोलाई “लौ बाबु तिमीलाई गर्न दिएकै हो केही नापेनौ अब कुर्सीबाट उत्रिदेऊ” भनेर झारिदिने थिए । तर सामाजिक सञ्जालमा सरकारलाई दुई चार छाडा शब्द लेख्दैमा सन्तुष्ट छन् मानिसहरू । तेरो र मेरो कसको मान्छे माथि पुग्छ भन्नेमा चेतना अडिएको छ ।

कहिलेकाहीँ लाग्छ, यदि सामाजिक सञ्जालका वालमा स्खलित हुने परिवर्तन र शक्तिको बीज यदि देशको गर्भमा रोपिए फेरि यहाँ फूल फुल्ने थियो । देशले रङ्ग फेर्ने थियो । हरेक साल दशैँमा घर पुरानो देखियो भन्दै भित्ता रङ्गाउने जनताले देश मकाएको देख्छन् कि देख्दैनन् । लेखक सोचिरहन्छ । आफैलाई सोधिरहन्छ । देशलाई आखिर मबाट के चाहिएको हो त ?