न्वारनको नाम मिनाकुमारी भए पनि कसले मिनाकुमारी भनेर कसले चिन्थ्यो र उनलाई ? घरकी सानीकान्छी छोरी, टिपोटको नाम उमा भए पनि साह्रै राम्री तर चञ्चले स्वभाव, जो कसैलाई लट्ठाउन सक्ने भएकीले उसलाई माया गरेर मोहिनी नै भन्थे सबैले । रमेश बालककालको एकै उमेरका साथी त्यसैले उसले उमाको सट्टा मोहिनी नै भन्थ्यो ।

गाउँ छोडेर आएपछि दश वर्षपछि मोहिनी र रमेशको भेट ओपियम क्याफे दरबारमार्गमा भएको हो । दुवै उमेर चढेका, रूपैले त हो कि वासनाले फेरि घनिष्ठता बढेको हो । मस्त यौवनका दुई विपरीत लिङ्गी एकापसमा नजिकिनु खासै अनौठो पनि होइन त्यसमाथि आजकल प्रेमको परिभाषा निकै कमजोर भएको बेला हृष्टपुष्ट शरीरप्रतिको मोह त भई नै हाल्छ । शहरमा प्रेम फेरिएको छ फेशनजस्तै, केटाकेटी एउटै कोठामा बस्छन् लिभिङ टुगेदरमा, एउटै ओछ्यानमा सुत्छन् तर सम्बन्ध…। कसैले सोध्दैनन् । कसैले वास्ता गर्दैनन् किनकि सबै व्यस्त छन्, अस्तव्यस्त छ शहर र संस्कृति पनि ।

आजकल नवधनाढ्यहरूको आफ्नै रहनसहन छ, भनौं कि आधुनिक कल्चर छ, प्रेमका नाममा जो कसैसँग सम्बन्ध बनाउनु, डान्सबार जानु, वाइन पिउनु सबै आधुनिक बन्नु र धनी हुनुको गर्वबोध हुन्छ । ओपियममा आउँदा बुट्टे टिसर्ट, कालो पेन्ट र कालो गगल्स लगाएर आएकी थिई, मोहिनीले । त्यतिबेला रमेशले उसलाई माई लभ नै भनेर सम्बोधन गरेको थियो भने उसले चाहिँ माई ह्यान्डसम ब्वाई भनेकी थिई  ।

समय बित्दै जाँदा उनीहरूका बिच मनको भन्दा शरीरको सामीप्य निकै बढ्दै गयो । रमेशको जिस्क्याउने बानीका कारण मोहिनीलाई कहिले डल्ली, कहिले ड्रिम गल, कहिले डियर जिन्दगी भन्न थाल्यो । त्यो भन्दा अगाडिका कुरा गर्नु पर्दा दुवैले एक अर्कालाई मेसेजमा माई हर्ट भनेर पनि सम्बोधन गर्थे । छोटै समयमा मोहिनीले रमेशलाई निकै मन पराउन थाली र उनीहरूको प्रेम ओठ हुँदै शरीरका विभिन्न अङ्गअङ्गसम्म पुग्न थाल्यो ।

दुवैले भर्खर व्याचलर सकाएका थिए । मास्टर ज्वाइन नगर्दै आफूलाई परिपक्व ठानेका यसपछिका दिनमा उनीहरूले  बेलाबेलामा विभिन्न पार्क हुँदै बबरमहल, बागबजार, पुतलीसडक, नयाँ सडकतिरका क्याफेमा घन्टौँ बिताइसकेका थिए ।  सुरु सुरुमा त भेट गर्ने  कफी पिउने गर्न थाले । पछि यो क्रम एकान्त कोठासम्म पुग्यो ।  सुरु सुरुमा त मोहिनीले रमेशलाई आफ्नो कोठामा लैजान्न थी । तर सबै गोप्यता खुलिसकेपछि केही सङ्कोच भएन । प्रेम झ्याङ्गिएर मन, मुटुमै पुगिसकेको थियो  । हुन त दुवैको यो पहिलो प्रेम थिएन । प्रेमको मामलामा उनीहरू निकै अनुभवी नै थिए ।

सोच्न त मान्छेले सुखद पलको प्रेम जिन्दगीभरको लागि सोच्छ । विवाहको लागि पनि तयार हुन्छन् । तर आकाङ्क्षा पूरा नहुँदा प्रेम प्रेम रहन्न । आकर्षणमा सामाजिक सञ्जालले जुराएको प्रेम भनी आरोप लाउँछन् । प्रेमलाई व्यवसाय बनाएर आफ्नो इच्छा पुर्‍याएका कहानी बनाउँछन् । मानिसको बानी नै हो शङ्का गर्ने वा सशङ्कित हुने ।

त्यस्तै मोहिनीले कुनै बेला आफैँले विश्वास गरेका मान्छेबाट धोका खाएकी रहिछ । कुनै बेला अन्यायमा परेर न्याय माग्न जाँदा न्यायकर्मीका आँखाले नै वासनाका दृष्टिले हेरेको स्पष्ट आभास पाएकी रहिछ । विद्यार्थी सङ्गठनमा लाग्दा आफ्नै पार्टीका साथी र समूहद्वारा नै सम्बन्ध राखेका रहेछन् । त्यसैले ऊ अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेझैँ डराएकी रहिछ । पढ्नका लागि शहर पसेपछि सुरुसुरुमा त होस्टेल खोजेर बसेकी उसले पछि होस्टेलको अनुशासन ठिक ठिक समयको पालना, कुनै साथीलाई कोठामा लान नपाउने भएपछि कोठा खोजेरै बसेकी हो । प्लस टु पढ्दादेखि नै केटासाथी बनाएकी मोहिनीले आधुनिक भाषामा निकै ब्वाइफ्रेन्ड बनाइसकेकी छ तर उसको चाहना अब मन मिल्ने अलि हुने खाने वर्गको जीवनसाथी खोज्ने नै हो । तर आजकलको प्रेमले गम्भीर विषयलाई साथ दिँदैन । घरबेटीको दृष्टिबाट बच्न सुरुसुरुमा उसले कसैलाई आफ्नो कोठा देखाइन र कसैलाई नलाने निर्णय पनि गरेकी थिई ।

तर पूर्वपरिचित बालसङ्गी लक्का जवान रमेशसँगको अनिष्टताले उसको पूर्वनिर्णयलाई उल्टाइदियो । प्रथम पटक रमेश मोहिनीको कोठामा जाँदा उसले सेण्डो गन्जी र हाफ पाइन्ट मात्रै लगाएर बसेकी थिई । गन्जी बाहिरबाटै उसका बैँसले बाहिर चियाइरहेका थिए । त्यो दिनको उसका पोसाक देख्दा मोहिनीलाई भन्दा रमेशलाई असजिलो लागेर कपडा बदल्न लगाएको थियो । त्यस पछिका दिनमा उनीहरू मोहिनीको डेरामा बस्ने खाने मात्र हैन काठमाडौँ बाहिर पनि घुम्न निस्कन्थे । घुम्ने सिलसिलामा उनीहरू पहिलो पटक टौदह गए । टौदह घुम्न जाने प्रस्ताव पनि रमेशले नै राखेको थियो । उनीहरू त्यहाँ रात बस्दै गए । मोहिनील रमेशको प्रस्तावलाई कति पनि नहिचकिचाई सहज रूपमा स्वीकार गरेकी थिई, लाग्छ चाहना दुवैमा थियो ।

यसभन्दा पहिले रमेश र मोहिनीले पालुङको मनोरमा रिसोर्टमा दुई रात बिताएका थिए तर त्यतिबेला कोठा फरक फरक लिएका थिए । रमेश र मोहिनी दुवैका लागि पालुङ नयाँ ठाउँ थियो । निर्धारित दिन र समयमा उनीहरू बसमा गए । बसबाट ओर्लेर बस्ने चौतारो खोजेपछि मोहिनीले आफ्नो हात देखाउँदै भनी, ‘छाम्नुस् त मेरा हात कति नरम छन् ।’

‘हात मात्रै’ उसले जिस्किएर भन्यो ।

रमेशले हात छाम्यो । अर्को हात दिई त्यो पनि छाम्यो, मुलायम हात छामेपछि पूर्वप्रेमी ललितालाई सम्झियो । आफ्नी प्यारी ललितालाई मनमनै कल्पना गर्‍यो ।

‘अनि बस्ने कोठाको कुरा गर्नु भाछ ?’  मोहिनीले सोधी ।

‘साथीलाई एउटा कोठा बुक गर्न भनेको छु । गरे होला एउटा कोठा भए त पुग्ला नि हैन र ?’

मोहिनीले कत्ति पनि अप्ठ्यारो नमानी जवाफ दिई, ‘भइहाल्छ नि । किन नहुनु ?’

अलिकति हिँडेर रिसोर्ट पुगेपछि एउटा केटोले बुक भएको होटेलको कोठा देखाइदियो । साथीले अटैच बाथरुमसहितको डबल बेडवाला कोठा बुक गरिदिएको रहेछ । मोहिनी र रमेश दुवैले कोठा मन

पराए । त्यहाँ पनि मोहिनीले बेड अलगअलग हुनुपर्छ भनिनँ । एउटा बेडमा सुत्न सहजै स्वीकार

गरी । रमेशको मन मोहिनीप्रति झनै पग्लियो । मोहिनीको अनुहार देखेर उसलाई दया लाग्यो । बाटाभरि मनमनै यौनका कुरा खेलाउँदै गए पनि त्यहाँ पुगेपछि भने उसले मोहिनीलाई नितान्त एक महिला साथी, असल साथीका रूपमा देख्न थाल्यो ।

दुवैले कोठामा झोला राखे । बाथरुममा पसेर पालैपाला फ्रेस भए र एकछिनका लागि बाहिर घुम्न निस्के । बजारबाट फर्किंदा  खाना तयार भइसकेका थियो । रमेशलाई हल्काफुल्का ड्रिङ्क्स गर्ने इच्छा जाग्यो र होटेलवालालाई भन्यो, ‘एकाध घण्टा पर्खिनुस् । पहिले ड्रिङ्क्स गरौँ अनि मात्र डिनर ।’

मोहिनीले ड्रिङ्क्स नगरौँ भनी तर रमेश भने ड्रिङ्क्सकै मुडमा थियो । कति गर्दा पनि मोहिनी ड्रिङ्क्सप्रति आकर्षित हुन सकिन । त्यसैले रमेशले एउटा बियर मात्रै भए पनि पिउन त भन्यो । मोहिनी त्यसमा पनि सहमत भइन् । अन्तमा रमेशले भन्यो – ‘म एउटा बियर मात्रै पिउँछु । डोन्ट माइन्ड डियर ।’

मोहिनीले त्यसमा पनि असहमति जनाई । रमेश भने पिउने नै निष्कर्षमा पुग्यो र एउटा बियर मगाएर पिउन थाल्यो । त्यो भन्दा बढी पिएन । तरपनि बाहुनको छोराको पेटमा अल्कोहल पुगेपछि बहकिन थालिहाल्यो ।

खाना खान जानुअघि मोहिनी फ्रेस हुन्छु है  भन्दै बाथरुम छिर्छे । एकएक गर्दै आफ्ना वस्त्र उतार्दै जान्छे, उर्फ छोडाउँदै जान्छे र आफैँलाई नियाल्न थाल्छे । एक्कासि उसका आँखा आफ्ना दुई स्तनमा पर्छन् । ऊ स्तनका मुन्टा चलाउँछे । त्यसपछि नाङ्गो भागतर्फ हात लगेर जताततै मसार्छे । उसलाई शरीरका नरमपनको अनुभव हुन्छ र रङ्गिन रातको मनमनै कल्पना गर्छे । पूर्व प्रेमीलाई सम्झिन्छे, उसको नामर्दपन, उसको उत्तेजनालाई मत्थर गर्न नसकेको अवस्थाको स्मृति दिमागमा आउँछ । आँखाबाट बरर आँसु झार्छे । अनि फेरि रमेशको बलिष्ठ शरीर  सम्झिन्छे तर कसरी सुरु गर्ने ? आफैँसँग प्रश्न गर्छे, आफैँ जवाफ दिन्छे र खुसी हुन्छे – ऊ त मर्द हो । उसैले काम गरिहाल्छ नि । त्यसकै लागि त मलाई यहाँ ल्याएका हो । ऊ मनमनै खुसी हुन्छे, र फेरि शङ्का गर्छे  – यदि गरेन भने ? गरेन भने खल्लो होला भन्दै जवाफ फर्काउँछे । पुनः कपडा लगाउँछे तर मनभित्रको आँधीबेरी चाहिँ चली नै रहन्छ ।

मान्छेको मनभित्र वासना अपार छ जो एक रबर समान छ । ताने बढछ् । छोडे आफ्नै स्थानमा खुम्चिएर बस्छ । मोहिनीले वासनालाई तन्काउँदै लगी । उसको मनले हरदम रमेशको स्पर्शको माग गर्न थाल्यो तर मुखबाट ओकल्न भने सकिनँ ।

यत्तिकैमा ढोका कसैले ढकढकायो । रमेश उठेर ढोका खोल्न गयो । होटेल मालिक रहेछ  ।

खाना तयार भइसकेकै थियो, त्यसैले बोलाउन आयो । खाना खाईवरी उनीहरू कोठामा फर्के ।

त्यसपछि रमेशले मोहिनीसँग सोध्यो, ‘अब के गर्ने त मैयाँ ? कुनै प्लान छ कि ? यसो रोमान्स पनि गर्ने कि ?’

मोहिनीको अनुहार रक्तिम थियो । उसको श्वासप्रश्वास बढेको थियो । केही भन्न खोजेकी जस्ती, लजाएकी जस्ती थिई । रमेशले उसको आँखामा माया देख्यो । थाहा छैन उसले देखेको माया, माया मात्र  थियो  वा यौनवासना ?

मोहिनीले भनी, ‘अरू के गर्नु नि । केही गफगाफ गर्नु छ भने गरौँ नत्र सुतौँ ।’ अघि चाहेको कुरा गर्न सकिन उसले । लोग्नेमान्छे हो, एउटै ओछ्यानमा सुतेपछि… उसले सोच्न पुगी ।शरीरको कामोत्तेजनालाई ओछ्यानमै राखिदिई ।

बिहान ब्युँझँदा दुवै निर्वस्त्र थिए, तर अनुहार दुवैको मलिन थियो । भित्री वस्त्र पूरै भिजेको थियो तर शरीरबाट निकालिएको भने थिएन ।

आखिर एउटै ओछ्यानमा सुतेका उनीहरूको सम्बन्ध के थियो… होटेलवाला सोच्दै थियो । यो समयमा कसैको पनि परिचय स्पष्ट छैन ।  आगन्तुक पुस्तिकामा नाम रमेश पौडेल र मोहिनी के.सी लेखिएको थियो,  ठेगाना भने चाबहिल र चुच्चेपाटी ।