ऊ त्यहाँ बस्न लागेको धेरै भएको थिएन । चुनाव हुनुभन्दा केही अघि मात्र ऊ गाउँ फर्किएको थियो । उसको विगत बारेका कमैलाई थाहा छ । एक दशक हराएपछि ऊ घर फर्किएको थियो । उसले आफूलाई चार्टर्ड एकाउन्टेसी पढ्न मुम्बईमा गएको भनेर सुनाउँछ । तर मान्छेहरू दिल्लीतिर कुनै कम्पनीको मेनेजरको घरमा नोकर बसेको बेलामा चोरी गरेकोले जेल परेको थियो भनेर खासखुस गर्छन् ।

आएपछि उसले एउटा संस्था खोलेर बसेको छ । त्यहाँ खासै केही काम छैन । दिनमा एक दुईजना अल्लारे केटा आउँछन्, गफ गर्छन् । कोही क्यारम खेल्छन्, धेरैजसो केटाहरू फ्री वाइफाइको सदुपयोग गर्दै गेम खेल्न र सामाजिक सञ्जाल चलाउन आउँछन् ।

कहिलेकाहीँ नयाँ मान्छेहरू पनि आउँछन् र संस्थाको सदस्य बनेर जान्छन् । कसैले शुल्क दिएर अनि  कसैले उधारोमा सदस्यता लिन्छन् ।

राजनैतिक पार्टीका स्थानीय नेता पनि कहिलेकाहीँ आउँछन् । पार्टीमा आफ्नो योगदान र पहुँचको कुरा निकै बढाइचढाइ गरेर चर्को आवाजमा गफ गर्छ । ध्यान दिएर सुनिदिने केटाहरू भए उसले केटाहरूलाई मुफ्तमा गुटका खान समेत दिन्छ । नभए एक्लै गफ गर्छ, सुर्तीको धुलो उडाउँछ अनि जान्छ ।

कोही आउँछन् पुस्तक पत्रीका लिन्छन्, बसेर पढ्छन् अनि कोही लिएर जान्छन् । यसरी नै हरेक दिन बित्छ अर्थात् उसले यसरी नै हरेक दिन बिताउँछ ।

ऊ संस्थाको प्रमुख थियो अर्थात् कुलपति अध्यक्ष, प्रधान, हाकिम भने पनि वा कोषाध्यक्ष, कर्मचारी जो भनेपनि ऊ नै थियो ।

ऊ फर्केर आएपछि गाउँमा परिवर्तन ल्याउने सूत्र आफूसँग छ भन्दै केटाहरूलाई मोहित पारेपछि पोहोरको चुनावमा गाउँका केटाहरू मिलेर खोलेका थिए त्यो संस्था ’ग्रामीण युवा प्रतिष्ठान’ । उसको अध्यक्षतामा समिति बनेको थियो । गाउँको भोट पाउने आशामा सबै उम्मेदवारले त्यस संस्थालाई चन्दा सहयोग दिए । नेताहरूले दिएको ४०/५० हजार, स्थानीयले दिएको चन्दा, सदस्यता शुल्क गरेर सानोसानो कोष पनि तयार भयो. कसैले कुर्सी दिए, कसैले टेबल दिए । अनि एउटा उसको आफ्नो घरको एउटा कोठामा त्यस संस्थाको कार्यालय, पुस्तकालय, खेलकुद कक्ष बन्यो ।

चुनाव भयो । एउटाले जित्यो अर्को हार्‍यो । जित्नेले बधाई पाए । उसले विजेतालाई बोलाएर संस्थाको तर्फबाट भव्य बधाई कार्यक्रम गर्‍यो । आफ्नो सहयोगले नेताले जित्न सकेको भन्न छुटाएन । नेताले उसको संस्थालाई सहयोग गर्ने वचन दिएर गए ।

सरकार बन्यो । मन्त्रीहरू उद्घाटनमै व्यस्त ।

कहिले मन्दिर त कहिले मस्जिद ।

कहिले सेमिनार त कहिले तालिम ।

कहिले विमोचन कहिले गोष्ठी त कहिले बैठक ।

नेताका आसेपासेका फेसबुक र उसका चाकडीबाजीले चलाएको मिडियामा त यस्ता समाचार आउने नै भए, राष्ट्रका मूलधारका मिडियामा समेत यस्तै कार्यक्रमका समाचारले धेरै स्थान पाउने गरेका हुन्थे ।

गोष्ठीका समाचार अलि बढी नै आउँथे । फलानो  मन्त्रीले गोष्ठी उद्घाटन गर्नुभयो ।

– अस्ति खानेपानी गोष्ठी ।

– हिजो फोहरमैला गोष्ठी ।

-आज गरिबिनिवारण गोष्ठी ।

बुहारी र सासूको झगडाको गोष्ठी । कहिले स्थिरताको गोष्ठी त कहिले अस्थिरताको गोष्ठी ।

सुन्दासुन्दा मान्छेहरू वाक्क थिए । आखिर यतिका गोष्ठी किन गरिन्छ भनेर उसको अफिसमा आएका मध्ये कसैले जिज्ञासा राख्यो । उसले जवाफ दिन सकेन ।

एकदिन मिटिङमा सदस्यहरूमा उसले यही कुरा राख्यो ।

“यो कुरा जान्नको लागि त संस्थाले गोष्ठी आयोजना गर्नुपर्यो अध्यक्षज्यू । त्यसै पनि संस्थाले देखिने गरी अहिलेसम्म केही गर्न सकेको छैन ।” कुनै सदस्यले प्रस्ताव राख्यो ।

निष्कर्ष त गोष्ठीमा निकाल्न सकिन्छ । यसको लागि गोष्ठी गर्नु पर्छ ।’ अर्कोले थप्यो ।

सबैले संस्थाले एउटा गोष्ठी आयोजना गर्ने आवाज उठाए र बैठकमा निर्णय पनि गरियो ।

पालिकामा चिनेका अङ्कल अध्यक्ष थिए । त्यहाँ अलिकता बजेट मागियो । नेता बन्न पाइन्छ कि भनेर आस गरेका स्थानीय टोले ठेकेदारहरूसँग चन्दा मागियो । सुशासन सम्बन्धी राष्ट्रिय स्तरको गोष्ठी गर्ने र त्यो वृहत् कार्यक्रममा तपाईंलाई नै प्रमुख अतिथि बनाउने हो भनेपछि मन्त्रीले पनि ठाडो आदेश दिएर मन्त्रालयबाट रकम दिलाए ।

नजिकैको बजारमा प्रायजसो सुनसान रहने पार्टी प्यालेसलाई  सिँगारियो । गोष्ठीको दिन सबै आए । नेता, ठेकेदार र समाजका अगुवा भनाउँदाको लागि मञ्चको अघिल्लो भागमा स्थान थियो भने सहभागीको रूपमा संस्थाका पदाधिकारीहरूका घर, मावल र ससुरालि तर्फका मान्छेहरू जम्मा भएकाले हल खचाखच भरिएको थियो ।  गोष्ठी चल्यो, मन्त्री र अन्यले भाषण गरे । अध्यक्षको हैसियतले उसले आफूले विदेशमा सुशासनको नमुना देखेको र त्यसैको बारेमा अध्ययन समेत गरेर आएकोले अब नेपालमा सुशासन ल्याउन उसको फर्मुलाअनुसार चल्नुपर्ने कुरा बतायो । अरू विद्वानहरूले पनि आफ्नो विचार बिसाए । खाजानास्ता र भत्ता पाएपछि अधिकांश सहभागीहरू घर फर्किए । साँझपख विशेष आमन्त्रित, मन्त्री र संस्थाका खास मान्छेको लागि विशेष खानपिन समारोह राखियो । ह्विस्की र बियरका बोतल खुले, मासुका थरिथरिका आइटमहरूले सहभागीका मुख भरिए । ९ बजेतिर गोष्ठी समापन भयो ।

भोज सकिनुअघि नै उसले २ कार्टुन बियर आफ्नो सालोमार्फत घर पठाइसकेको थियो । ऊ पार्टी प्यालेसको एकाउन्टेन्टलाई भेटेर हिसाब मिलायो । दुई गुणा बढी खर्च देखिने बिल बनाउने सहमति पहिले नै भएकोले बिल बनाउन झन्झट भएन ।

दिनभरको धपेडीले ऊ थाकेको थियो । घर पुग्नासाथ उसले टेलिभिजन खोल्यो । स्थानीय च्यानलमा गोष्ठीको समाचार आइरहेको रहेछ । उसले ध्यान दिएर हेर्‍यो । समाचारमा मन्त्री र ऊ बोलेको देखायो । अर्को राष्ट्रिय च्यानलले पनि कार्यक्रमको सानो झलक देखायो । आफूलाई निकै ठुलो ठान्यो उसले ।

समाचार सकिएपछि मोबाइल खोल्यो । उसलाई ट्याग गरिएका समाचारका लिङ्कहरू ह्वार्र आए । नछुटाई सबै पढ्यो, धन्यवाद दियो र समाचार तथा तस्बिरहरू शेयर गर्‍यो । यसो गर्दा मध्यरात भैसकेको थियो ।

बिहान अरू दिनमा भन्दा छिटो मर्निङ वाकमा निस्कियो र सकेसम्म धेरै टोल चहार्‍यो । २/४ जना गाउँलेहरूले उसलाई टिभीमा देखेको, समाचारमा सुनेको कुरा सुनाउँदा उसको भुइँमा खुट्टा रहेन ।

दिउँसो नै मिटिङ राखेको थियो त्यसैले घरमा गएर कार्यक्रमको आम्दानी र खर्चको हिसाब निकाल्यो । पहिले नै खाली बिलहरु ल्याएको थियो । संस्थालाई १०/२० हजार जोगिएको देखिने गरी बिल तयार गर्‍यो । अघिल्लो रातिको पार्टीमा मिलाएको बिल र बाँकी बिल मिलनबाट उसको भागमा राम्रै रकम जम्मा भएको थियो ।

दिउँसो संस्थाको मिटिङ बस्यो । गोष्ठीको लागि खटिएका साथीहरूको लागि राम्रै भत्ताको व्यवस्था गरेको कुरा सुनायो । बैठकमा उपस्थित भएकाहरू खुसी भए अनि सहजै आम्दानी खर्च अनुमोदन गरिदिए ।

अनि बैठकको अन्त्यमा सुशासन सम्बन्धी गोष्ठी निकै फलदायी भएकोले यस्ता कार्यक्रमहरू प्रदेशका अन्य स्थानमा पनि गर्नुपर्ने प्रस्ताव राख्यो । बैठकका सहभागीले तालीको गडगडाहटबाट उसको प्रस्ताव स्वीकृत गरे ।