चराको प्रभात कालीन चिरबिराहटले निद्रामुक्त भई, झ्याल उघारेर बाहिर हेरिन्, माथि डाँडाका टुप्पाहरू उषाको किरणले रङ्गित देखिएका थिए । मन हलुङ्गो भयो, उत्साह आएर बोल्यो, ‘सकेसम्म छोरीलाई मान्छे बनाएरै छोड्छु ।’
मन दगुर्ने गर्छ, दगुरिरहन्छ । यस्तैमा सिरानीको मोबाइल बज्यो । उठाइन् आमाले ।

‘मामु मैले केश काटेँ ।’ छोरीको खबर ।

‘के भन्छे यो ?’ गह्रुङ्गो घुस्सीले प्रहार भो आमाको मुटुमा ।

‘हजुरले सानैदेखि जोगाएर कोरीबाटी गरिदिने केशलाई काट्नै पर्‍यो । मामु शहरमा गाउँले सभ्यता हेला हुँदो रहेछ र अप्नाउनु पर्दो रहेछ बेसौटे संस्कृतिलाई । नङ काट्न छाडेँ । ओठलाई रातो बनाउन हल्का लिप्सिटिक लगाउँछु । हजुरको समयमा खरेटो, सिउँडी र माटोले केश धुनुहुन्थ्यो अरे । अचेल छोटो केशमा हेयरवास गर्छु । टेबलभरि शृङ्गारिक साधनहरू राख्छु । एकदिन पर्फ्युम स्प्रे गरिनँ भने साथीहरू भन्छन्, ‘यसको जीउमा कन्ठे भैँसीको गोबर गन्हाउँदै छ ।’

‘अचेलको रसायनखाँदले फल्ने अन्न खानेलाई के थाहा गोवर, गउँत, खरानी, पत्कर सोतरको महत्त्व । एक दिन सोधिहेर त मोबाइल, टैबलेट, लैपटप, कम्प्यूटर चलाउनेलाई, बरियो जोतारो, नेती बाट्न आउँछ ? भनेर ।’

‘मामु पनि ती सब किन सोध्ने म छँदै छु गाउँकी छोरी ।’

‘जे गर्छस् गर नाक चाहिँ बचा है छोरी ।’

‘पसिनाको दहमा चोबिएर ठिङ्गेको नाक हो, सत्य यो त्यति कमजोर छैन ।’

‘मलाई पनि विश्वास छ, राम्रो पढेस् ।’ भन्दै आमाले फोन काटिन् ।’

उमेरमै फुको सिउँदो लिएर रम्न परेको । जीवनका अप्ठ्यारो भोगाइ । छोरीलाई हुर्काई पढाउन गाउँबाट शहर पुर्‍याएकी छन् । आज फेरि छोरीको फोन आयो । रमाउँदै बोलिन् ‘छोरी सन्चै छस् ?’

‘हजुरको आशीर्वादले शारीरिक प्रक्रिया सकारात्मक छन् । पढाइ प्रगतिमय छ । कुर्ता, सुरुवाल र छाती छोप्ने पछेउरा फ्याँकेर जिन्स, मिनीभेष्ट र कालो चस्मा किनेँ । बोलीको शैली फेर्दै छु । त्यसको परिणाम निःशुल्क टिउशन हुँदैछ । मसँग नजिकिन नयाँ साथीहरू आतुर हुन्छन् । खाजा खाने आग्रहलाई त्याग्न पर्छ पेट खाली नहुँदा । वाक्कै भइसकेँ भेज र ननभेज खाने कुराले । पिज्जा, कट्लेट, चोको, लावाकेक, जीच एण्ड ब्रेबक्यू, लोकल कुखुराको फिस्टा, किमा, मिट्ना, चिकनचिल्ली, ग्रीनवैब के के हो खाने परिकारको फरक नाम र अलग स्वाद । तर गाउँको कुराउनी, फापरको ढुङ्गेरोटी, भुब्रे र कन्तीमा डामेको फाइटिङ् रोटी, माड्नतारेको भात, पुवा, सेल, बाबर र वटुकरोटी । त्यस्तै फर्सी, चुच्चेकरेला, सिलाम, फिलिङ्गेको दाना, बियाँ भुटेर ओखलीमा कुटेर बनाएको अचार, अनि नि हड्डी गालेरबना अचारलाई बिर्साउन सकेनन् ती आधुनिक खानाहरूले । दाँत चिलाउँछन् मकै भटमास सम्झेर ।’

‘धेरै खुसी भएँ गाउँकी निम्छरी छोरी शहरमा रमेको सुन्दा । खुसीसँगै दुःख पनि खप्टियो हाम्रा परम्परासँग मानो फोरिछेस्’ आमाको मिश्रित अभिव्यक्ति ।

‘मामु खोला उर्लेर समुद्र पुगे पनि शिर त्यही चिपचिपे खोल्सी नै हो । यहाँको परिवेशसँग खेल्न व्युटिपार्लर धाउँदै छु । पेन्सिलहिल सेन्डल, जालीदार भेष्ट, बुट्टे लेहँगा किन्दा पैसा तुरियो । फिस तिर्‍याछुइनँ । चटपटे र काँक्रा खाको बाँकी नै छ । पैसा पठाइदिनोस् है ।’

पैसाको कुराले झस्को पर्छ आमालाई, ‘लाहुरी भैँसी बेचेर पठाइदिउँला ।’ आमाले सुस्केरा तानिन् ।

‘बेचे हुन्छ, कसले घाँस काट्ने’ – छोरीको पनि सहमति ।

‘महीसँग एक गाँस रुच्थ्यो । तिहुन नहुँदा सोलर हुन्थ्यो । भुटुन किन्न परेको थिएन । तर तेरो पढाई भन्दा भैँसी ठूलो होइन । ’

‘पढिसकौँ मात्र तपाईंलाई गुजुराती भैँसी किन्दिउला’ – भन्दै हाँसी छोरी ।

‘ल ल पढाइमा ध्यान दे । अनि नाक चाहिँ बचा है छोरी ।’ आमाले फोन काटिन् ।

0 0 0

एक वर्ष पछि—

छोरी पास भई, राम्रो अङ्क ल्याएर । केही दिनको लागि छोरी रमाउँदै घर आई । आमा एकोहोरिन् छोरीको लवाई देख्दा परबाट ठम्याउनै नसकिने केटा हो या केटी । हातमा मोबाइल, कानमा इयरफोन । बोलाई अङ्ग्रेजी छास्मिस् । अभिनय गरेर बोल्ने । वैचारिक प्रस्ट्याई, गहकिलो तर्क र समयसापेक्ष निष्कर्षले अग्रजहरूले स्विकार्न बाध्य हुनुपर्‍यो, उसको आधुनिकतालाई । तर पटक्कै नपचेको विषय चाहिँ छोरीले सँगै ल्याएको  अचिनारु केटो थियो ।

आमाले एकान्त पारेर सोधिन् – ‘तँसँग आउने केटो को हुन् ?’

‘मेरो व्वाइफ्रेन्ड’  सहज उत्तर छोरीको ।

‘यसो भन्दैमा केटा साथी लिएर हिँड्न डर लाग्दैन ?’ आमाले कुरा घुमाइन् ।

‘बराबरको युग, केटा भन्दा केटी के कम र डराउनु ।’

‘यसो भन्दैमा केटासाथी लिएर हिँड्नै पर्छ ?’

‘तिम्रो गाउँ जाने, आमालाई हेर्ने रहर छ । दुर्गम ठाउँमा बसेर कसरी तिमीलाई शहरमा पढाउँदै छिन् भन्दै तयार भो, अनि नल्याई भो त । केटा झिलिमिली छैन । हाम्रो स्तरको प्रथम विद्यार्थी हो । उसको सोच अबल छ । कुनै विषयमा म भन्दा कमजोर पनि छ । मलाई म्याथको फर्मुला सिकाउँछ म उसलाई भावनाका हरफहरू सिकाउँछु ।’ आमाको कान निरै आएर भन्छे,  ‘यो मेरो तुरतुरे धारो पनि हो । हुनेखानेको एक्लो छोरो राँकुला खोला झैँ पैसा बगाउँछ मेरो लागि ।’

‘केटासँग उठबस राम्रो हुँदैन । त्यसरी अर्काको पसिना पनि खानु हुँदैन । पुनासलाई भार हुन्छ ।’

‘छोड्नोस् उहिलेको कुरा, संशोधित छोरी हुँ । अर्थ बेगर शिक्षा हुँदैन, अनि शिक्षाबिना अर्थ असम्भव छ । हामीसँग दुवै छैन । पढेर अगाडि बढ्नु छ, अनि केही उपाय त आर्जाप्नै पर्‍यो ।’

‘राम्रो नराम्रो बुझ्ने भइसकिस् । तर नाकचाहिँ बचा है छोरी ।’

‘भरोसा गर्नुस्, नाक फ्याँक्ने काम गर्दिनँ ।’ छोरीको हँसाइ ।

छोरीले आमाको सपनालाई साकार पारी, जिल्ला स्तरको पढाइ तुरेर, अब केन्द्रतिर जाने निधो गर्छे । सिमलबोटे खेतलाई बन्धकी राखेर केन्द्रतिर हाकिन्छे ।

मोबाइलमा कुरा भइरहेको थियो आमा छोरीको । छोरीलाई आँखाअगाडि देख्न नपाए पनि छोरीले मोबाइलमा पठाएको फोटो  एसएमएसले चित्त बुझाउँथिन् । र पनि आमाको मन सधैँ चकाचुली खेलिरहन्थ्यो । यस्तै नीरवपनाले धुम्मिएको बेला छ्याङछ्याङती भयो मन, छोरीको फोन आएर ।

केही कुराकानीपश्चात् आमाले सोधिन्, ‘गाउँमा आउने केटा पनि सँगै छ ?’

‘बाटोमा भेटेको परिचित, दोबाटोदेखि अनजान । त्यो केटासँग भेट्न’भा थुप्रै भयो । आखिरी जीवन मित्रताको मिलनकेन्द्र रहेछ । यति बेला त्यो जस्ता केटासाथी थुप्रै छन् । मलाई पुरानो मन पर्दैन, नयाँप्रति हुरुक्कै हुन्छु । नयाँले एक प्रकारको शरीरमा ऊर्जा प्रभाव गर्छ । मलाई केटी भन्दा केटा साथी अति मन पर्छ । केटाहरू हा हु गर्छन्, स्टाइल, प्रतिस्पर्धा, एक्सन, रियाक्सन, जुडो, कराँते, टाइगान्टु उस्सु देखाउँछन् । केटी साथी बुबाले कराउँछन्, दादाले मार्छन् भन्दै सुकसुक रुने गर्छन् । समान कार्य गर्छन् केटाहरूसँग र पनि अलिकति आँटका कमजोर हुन्छन् कहीँ केटीहरूको ? तर म आफैँलाई हेर्छु, केटाभन्दा के कम । अनि मामु मलाई किन धेरै मन पर्छन् केटासाथीहरू ?’

‘सानी छँदा बुबाको टोपी खोसेर ओढ्थिस् । मेलामा गोरु धपाउन पुग्थिस् । कम्मरमा खुकुरी भिराई दिनुपर्ने नत्र रुन्थिस् । मेरा जुत्तीलाई छोडेर बुबाको जुत्ता लाएर हिँड्थिस् यस्तै ब्यहोराले होला केटातिर झ्यामिन्छेस् । अब त केटाकेटी छैनस् । नाकचाहिँ बचा है छोरी ।’ आमालाई अर्कै पिर पर्याे छोरीको भनाइले ।

‘मामु हजुर र बुबालाई थ्याङ्स ।’

‘बाउआमा धन्यवादका हकदार हुँदैनन् सन्तानको र पनि किन थ्याङ्स भनिस् हामीलाई ?’

‘सुन्दरी छोरी हुन पाएर’ छोरी हाँस्छे ।

‘आफैँलाई राम्री छु भन्ने के मानेमा ठान्छेस् ।’

‘सरले वोर्डमा लेखेका नोट सार्न छोडेर केटाका तिर्खालु नयनहरू बिटोलिएर म तिरै एकोहोरोएका हुन्छन्, घामतिर लर्केका सूर्यमुखी झैँ । अनि ती केटाहरू कति लालायित हुन्छन् मसँग शेयर गर्न । म पनि झुट्टो सही सबै केटाका चित्त बुझाइदिन्छु मुसुक्कै हाँसेर ।

अनि खाजा खान जाऊँ भन्नेहरू तँछाडमछाड गर्छन् । नारी तान्छन्, चेन, छुरी निकाल्छन् हानाहान गर्छन् । म कसको लागि छु के को लागि के भाकी छु, उनीहरूलाई के थाहा । तर उनीहरू मेरो लागि, ओठ सुन्याउँछन्, टुटुल्को उठाउँछन्, दुस्मनी कमाउँछन् । मलाई एक प्रकारको आनन्द लाग्छ, महिलालाई शालभञ्जी ठान्नेहरूलाई चुली पारेर भत्काउँदै छु ।’

‘साँच्चै मेरी छोरी त्यति आकर्षक बनी त ?’

‘विपरीत लिङ्गी सम्मोहित हुनु प्राकृतिक नियमअन्तर्गत पर्छ । तर एकै लिङ्गीहरू मसँग समलिङ्गी व्यवहार गर्न खोज्छन् ।
चौरीमा घाम ताप्दै गफिँदा एउटी भन्छे, ‘केटा भए अपहरण गर्थे यसलाई ।’

अर्की मलाई एकोहोरो हेर्दै भन्छे,  ‘हेर यसको उत्तेजित  आँखा । दिक्तेली सुन्तलाको भरिलो केस्रा जस्तो चुस्न आग्रह गर्ने गुलाबी ओठ ।’

तुरुन्तै अर्कीले थप्छे,  ‘साँच्चै जाँठीलाई यत्नले रूप कुँदेकै हो कलाकार ईश्वरले । यसको उत्तेजित नयनको कामुक हेराइ । हँसाइमा उस्तै वासना छट्पटाउँछ ।’

गाला समात्दै,  ‘करप्प टोकाैँ जस्ता पोटिला गाला । चुम्न प्रेरित गर्ने भरिलो निधार । खेलाइरहौँ जस्ता रेशमी केशराशी ।

अनि के योप्रति सामूहिक रूपले समर्पित नहुन् केटाहरू । हैन त्यो अष्टावक्रसमेत यसलाई देखेपछि लुटुपुटु हुन्छ ।’

अर्की झनै उल्लिन्छे – ‘उफ् यसको उन्मत्त वक्षपृष्ठले मनलाई अनियन्त्रित बनाइदिन्छ । ए साथी हो म के गरौँ ? यस फुडीको बारुले कम्मर मुनिको उक्सेको नितम्बले, खँदिला छेपारी र सलक्क पर्‍या पाखुराले लिङ्ग परिवर्तन गर्न हौसाइरहेछ ।’

अर्की अझै उल्लिन्छे – ‘निलो जिन्स र रातो मिनिभेष्टको बीचबाट चियाउने बाटुली नाइटो ।’

‘यस्तै के के भन्दै हाँस्छन् साथीहरू । म रातो हुन्छु लाजले ।’

‘अलिक जोगिएर हिँड् । कटाउलान् डाँडापारि । सबैको मुटु कमलो हुँदैनन् ।’ सजग पार्छिन् आमा ।

‘सुर्ता गर्नुपर्दैन मप्रति, बरु आफ्नो शरीरको ख्याल राख्नोस् ।’

खेरो जाँदा जाँदै बाँचेको मेरो सहारा डर लाग्छ । तँ मेरो छेउमा छैनस्, दिनमा एकपल्ट यो टाक्सेको छातीभित्र हुरी चल्ने गर्छ – आशङ्काको पत्कर उडाउँदै ।’ यस्तै आमाको कुरा तुनाई । मोबाइल काटियो । हेलो हेलो हेलो भन्दै आमा कराइरहिन् । तर जवाफ आएन छोरीको ।

केन्द्रमा पनि छोरीले राम्रो अङ्क ल्याएर पास गरी । अब गाउँमा उच्चशिक्षा हासिल गर्ने एक्लो छोरी भई । त्यो खुसीलाई प्रथम पटक आमालाई सूचित गरी । आमा रोइन् छोरीको उन्नति सुन्दा । दुखेसो पोख्छिन् – ‘पैसा पठाउन सकिनँ तँलाई आपत् पर्‍यो होला ?’

‘अब पैसाको टेन्सन छाड्नुहोस् । तपाईंलाई  विश्वास लाग्दैन, यति बेला मेरो जीउमा छ हजारको जिन्स, तीन हजारको भेष्ट, पाँच हजारको सेन्डल, चार हजारको कालो चस्मा, बाह्र सयको पेन्टी र ब्रा छन् । हजुरको त्याग अब फल्न थाल्यो ढुक्क हुनुहोस् छिटै घर खर्च र खेत उकास्ने थैलो पठाउँदै छु ।’

‘यत्रो पैसा कहाँबाट ल्याउँछेस्, जागिर न व्यापार ?’ आमा तिनचित परिन्, छोरीको कुराले ।

‘मामु पैसा खस्ने हजार प्वाल हुँदा रहेछन् यो शहरमा । मान्छेहरू आआफ्ना मौलिक खुबी प्रयोग गरेर ल्याकतअनुरूप पैसा थुत्दा रहेछन् । मेरो लागि चाहिँ १० बजे रातीदेखि २ बजे बिहानसम्म आउँछन् विभिन्न आकार रूपडाल उमेरका पैसाहरू ।’

‘रात परेपछि आउने पैसा । कि यसो उसो गर्छेस् ? हेर छोरी नाकचाहिँ बचा है’ – आमा शङ्का उपशङ्कामा चुर्लुम्मै डुब्छिन् ।

‘यसोउसोले केको पैसा आउँछ । म क्याम्पसबाट आएर दुई घण्टा पढ्छु, टिउशन लिन्छु । एक घण्टा फीस तिर्न असमर्थ भाइबहिनीहरूलाई पढाउँछु । एक घण्टा नृत्य सिक्छु, त्यो सिकेको नृत्यलाई क्लब र बारहरूमा गएर पैसामा परिणत गर्छु । मामु पैसा त सारी ब्लाउजमा पो हुँदा रहेछन् । नाच्दा नाच्दै सारी फुकाल्दा २ हजार दिन्छ, ब्लाउज फुकाल्दा त्यति नै पाइन्छ अनि दर्शकको उत्तेजित होहल्ला र तालीका गडगडाहट ।’

‘छिः छिः त्यसपछि नाङ्गै नाच्छेस् ?’

‘सारी भित्र वरमुडा र ब्लाउज भित्र बाहुला काटेको अर्को ब्लाउज हुन्छ । अनि नि आमा वरमुडा फुकाल्दा तीन हजार दिन्छन् । वरमुडाभित्र विकनी हुन्छ । उत्साहित दर्शक कराउँछन् त्यो पनि फुकाल्देऊ भन्दै । दर्शकको इच्छापूर्ति गर्नु कलाकारको धर्म हो अरे । अनि ब्रा र पेन्टीमा चर्को धुनमा नाच्न थालेपछि दर्शकबाट पैसा खस्न थाल्छन् । अझै उत्ताउला बन्छन् दर्शकहरू- ‘ब्रा र पेन्टी फुकाल २० हजार दिन्छु ।’ त्यति नै बेला नियमित मेरो चर्चित दर्शक अधबैँसे कवि भन्नुहुन्छ –  ‘हाय ! मरे नि म  !’

नितम्ब छन् विकसित तिम्रा चिल्ला छेपारी
सप्रेका वक्ष पटिलो ओष्ठ संयम चिरा पारी
कोमल मुस्कान उस्तै अभिनय चल्छ जङ्गी आरी
फुर्छन भाव तिमीलाई देख्दा, ए मेरी कविता प्यारी

यसरी बीचमै कविताको प्रस्तुतिले अचारको काम गर्छ । फेरि नेपथ्यमा सङ्गीत बज्न थाल्छ । म झनै प्रत्येक अङ्गलाई आगो बनाएर नाच्छु । पुनः  पेन्टी र ब्रा  फुकाल्ने आग्रह हुन्छ दर्शकबाट ।’

‘अनि पैसाका लागि फुकाल्छेस् त, नाम मात्रैको लुगालाई ?’ आमा सशङ्कित भइन् ।

‘त्यस्तो दिन आएको छैन । आउन पनि दिन्नँ । यतिले नै हाम्रो आवश्यक पुरिन्छ ।’

‘हुन त पैसा सियो र नाकको टुप्पोमा हुन्छ । तर नाकचाहिँ बचा है छोरी । अनि पैसालाई फुर्मास नगर्नू ।’

‘विश्वास गर्नुस् नाकलाई अपहरणमा पर्न दिन्न । पैसाप्रति धेरै कन्जुस छु । मामु मैले बिर्सेको छुइन मशेउराको झोलसँग ढिँडोको डल्लो खेलाकी । वनको गीठा खाएर छाक टारेको । फ्रक टाल्दा सियोले घोचेको आजै जस्तो लाग्छ । बिहानै घाँस काट्न जाँदा लाउने चप्पल थिएन । तुसारोको ठिहीले असहे हुँदा, खस्रुको फेदमा बसेर हत्केलाले पैताला सेक्दै रुन्थेँ । अझै छ गालामा, बोक्सी लहराले कोरेको खत । आर्थिक स्थितिले सबल मान्छेका हप्काई, भोज भतेरमा असमान व्यवहार । कुम टालेको हजुरको चौबन्दी । खास्टोले कटाएको हिउँदे रात यस्तै तपाईंसँग भोगेका विगतले गोजीबाट पैसा झिक्दा हात समाएर झटारी पठाउँछ ।

अनि नि त्यो मेरो नृत्य हेरे कविता लेख्ने कवि अङ्कल, पत्नीको बिछोडको पीडा र छोराबुहारीको रुखो व्यवहारले विरक्त लाग्दा बारमा आएर केही समय इन्जोय गर्दा रहेछन् । अर्का धनाढ्य वयवृद्ध छन् मेरो नियमित दर्शक । मेरो कपाल मुसार्छन् दुई सय दिएर जान्छन् । म ती कविलाई काका र धनाढ्यलाई बुवा सरह मान्छु । मलाई उनीहरू कुन दृष्टि प्रयोग गर्छन् मलाई वास्ता छैन ।

घरपरिवारबाट निराश भएकाहरू मसँग केही बेर सैर गर्न चाहन्छन् । कहिले होटेलको क्याबिनमा, साइबर क्याफेमा, गाडीमा, कहिले एकान्त ठाउँमा । बदलामा समय र मान्छेअनुरूप फिस लिन्छु । त्यहाँ मेरो माया, सहानुभूति र सुझाव हुन्छन् । कसैले त काखमा राखेर आराम गराऊ भन्छन् म मान्छु । कसैले त मलाई तिम्रो न्यानो अँगालेमा कस भन्छन्, त्यसो पनि गर्छु । तर मेरो अस्मितामा दाग लाग्न दिन्नँ । फेरि त्यसो भन्दा कसैलाई निःशुल्क  माया पनि दिन्छु । कसैलाई माया सँगै पैसा पनि दिन्छु । एकजना उदयपुरको भाइलाई दिदी भई हौसला दिनु पर्छ ।

फोबियाग्रस्त मान्छे आज डिग्री पढ्दैछ । एक जना आठ वर्षे नानीको लागि आमा भइदिनुपर्छ । म जस्तै थिइन्’ रे उसकी मरेकी आमा । त्यो नानीको बुबाले राम्रै पैसा दिन्छ । एक जना दुइटै खुट्टा नभाकी अपाहिज सडकआमा छन् । भिक मागेर बाँचेकी थिइन् । आज एउटा राम्रै कोठामा सुव्यवस्थित छन् । त्यसको खर्च म उठाउँदै छु । बचेको अलिकति समय उहाँसँग बसेर बिताउँछु । त्यसैले अचेल तपाईंसँग फोन गर्ने समय छिमलिएका हुन् । मामु अब यतै मसँगै बस्नुपर्छ । एउटा फल्याट हेर्दैछु ।’

झसङ्ग भइन् छोरीको कुराले, ‘नानी ! भुल्न सकौँला के यहाँको माटोलाई । तेरो बुबाको आत्मा रोला, मैले छोडेर हिँडेँ भने । तर तेरो आफ्नो विचार गर । मेरा उठबस कति दिन नै छ र इहलोकमा । भोग्ने तैँले नै हो ।’  पुनः आमा त्यही शब्द दोहोर्याउँदै थिइन् ‘नाकचाहिँ बँचा है छोरी ।’

उता छोरीको मोबाइलको पैसा तुरेर बन्द भइसकेको थियो । आमा भने ‘हेलो हेलो’ भन्दै कराइरहेकी थिइन् ।