सधैं त्यो रुखको छायामा केहीबेर बसेपछि मात्रै मलाई एक प्रकारको आनन्द महसुस हुन्थ्यो । म शुक्रबारका दिन भने करिब एक डेढ घण्टासम्म बस्छु त्यहाँ । साँच्चै भन्नु पर्दा, मैले त्यो रुखको छायामा बसेर धेरै कविताहरू, धेरै कहानीहरू र धेरै लेखहरू लेखेको छु । एक प्रकारले आनन्द लाग्छ मलाई त्यो रुखको छायामा बस्न । जीवनका धेरै तिता-मिठा पलहरूलाई स्मरण गर्ने ठाउँ बनेको थियो त्यो रुख । अफिस जाँदा अलिक हतारमा हुन्थेँ, बस्न पाउँदिन थिएँ । केवल ठिङ्ग उभिएर गतिशील श्वास-प्रश्वास सामान्य गतिमा आएपछि उकालो लाग्थेँ ।
डेराबाट अफिससम्मको बाटोको दूरी डेढ किलोमिटरको छ । म त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा कार्यरत छु । म सधैँ हिँडेरै जान्छु, हिँडेरै आउँछु । अफिस जाँदा जङ्गलको छेउको बाटो भएर जान्छु, त्यो बाटोको एकातिर जङ्गल छ, अर्कातिर खेत । जाँदा अलिअलि उकालो पर्छ, आउँदा ओरालो । जङ्गलमा विभिन्न प्रजातिका रुखहरू छन् । विभिन्न चराचुरुङ्गीको चिर्बिर आइरहेको हुन्छ । मैले हिँड्ने बाटोमै एउटा ठुलो रुख छ, जहाँ सधैँ केही क्षण बसेर आराम गर्छु । त्यो रूखबाट करिब साै फिटको दूरीमा जङ्गल छ । जङ्गल सुरु हुनुभन्दा चार-पाँच मिटर पहिला एउटा अर्को रुख छ ।
म जब घरबाट अफिसका लागि त्यो रुखनेर पुग्छु, एउटी चरी परको रुखबाट कराउँदै त्यही रुखमा आएर बस्छे । अनि जब म अफिसबाट घर फर्किन्छु त्यतिबेला पनि त्यो चरी भुर्र… उडेर त्यही रुखमा आएर बस्छे । जबसम्म म त्यो रुखको सयलमा बस्छु तबसम्म ऊ कराउँदिन, तर जब म आराम गरिसकेपछि घरतिर लाग्छु ऊ कराउन थाल्छे । सायद यस्तो धेरै पहिलेदेखि भएको हुनुपर्छ । मैले याद गरेको थिइनँ होला । तर आजभोलि मैले याद गर्न थालेको छु ।
दिउँसो करिब एक बजेतिर अफिसमा एउटी दिदी चिया लिएर आउँछिन् । उनीसँगै एउटा फुच्चे पनि हुन्थ्यो । उनी यस्तै बाइस-पच्चीस कि होलिन् तर सबैले उनलाई ‘दिदी’ भन्थे, म पनि ।
‘नमस्ते सर’ भन्दै प्राय: मेरो अगाडि चिया राखिदिन्थिन् । उनी राम्री थिइन् । मिलेको जिउडाल, ठुलो निधार, लामो कपाल, मिलेका दन्तलहर तर अलिक पातली थिइन् । उनले सम्मानपूर्वक ‘नमस्ते सर’ भन्दै चिया दिएको राम्रो लाग्थ्यो मलाई । म पनि उनलाई सम्मानपूर्वक नै बोलाउँथेँ । एकदिन मैले उनलाई सोधेँ, “यो बाबु कति वर्षको भयो ?”
“भर्खर दुई वर्षको” उनको छोटो जवाफ हुन्छ ।
“अनि उसका बा ?”, उनी केही बोलिनन् । चिया खाएका कपहरू उठाएर उनी अर्को कोठातिर लागिन् ।
===
आजभोलि अफिस जाँदा-आउँदा मलाई चरीलाई हेर्ने र उसको आवाज सुन्ने बानी परेछ । परको रुखबाट यो रुखमा आउँदाको उसको आवाज र म त्यो रुखबाट छुट्दाको आवाजमा परिवर्तन पाउँछु ।
सायद मेरा भावनाहरूलाई ती चरीले धेरै पहिलादेखि सुनेकी होली । मैले मेरी प्रियतमालाई सम्झेर लेखेको कविता त्यहीँ बसेर वाचन गरेको थिएँ । मैले मेरो पीडालाई सम्झेर लेखेका कहानी त्यही रूखको फेदमा बसेर वाचन गरेको थिएँ । मैले मेरा एकाकी जीवनका धेरै तिता-मिठा घट्नाहरूलाई त्यही रूखको फेदमा बसेर लेख्दै च्यात्दै गरेको थिएँ ।
सुरु-सुरुमा मैले चरीको आवाजलाई ध्यानपूर्वक सुनेको थिइनँ होला तर अहिले यस्तो लाग्छ, म उसको आवाजलाई राम्ररी बुझ्छु । खुशी हुँदाको आवाज, पीडामा हुँदाको आवाज र मसँग बिलौनाको आवाज बेग्लै हुन्थ्यो उसको । बिस्तारै बिस्तारै हाम्रो सम्बन्ध प्रगाढ हुन थाल्यो । मलाई पनि चरीसँग भेट्ने इच्छा हुन्छ र उसलाई पनि । कहिले कहिले कारणवश म अफिस गइनँ भने केही बिर्से झैँ लाग्छ । के गर्न पाइनँ ? असहज अनुभूति हुन्छ । सायद त्यो चरीलाई पनि त्यस्तै पीडा भएको हुनुपर्छ । भोलिपल्टको भेटघाटमा उसको आवाजमा गुनासो हुन्थ्यो मप्रति ।
त्यो चरी सधैँ एक्लै उड्दै आउँछे । उसका परिवारका सदस्यलाई मैले कहिल्यै देखिनँ । त्यो जङ्गलमा बिचरी एक्लै बस्छे । मेरोभन्दा कहालीलाग्दो जीवन होला उसको । मलाई मेरी श्रीमतीले छोडेको भए पनि कमसे कम मसँग जागिर त छ, अफिसमा मेरो मित्रहरूसँग कुराकानी हुन्छ । तर उसको कोसँग हुन्छ होला र ? सधैं एक्लै देखिरहन्छु उसलाई । उसले कसैसँग वार्तालाप गर्छे भने सायद त्यो म मात्रै हुँला ।
हुन त, म पनि एक्लै छु । श्रीमतीले छोडेर गइसकेकी छिन् । मेरो अगाध प्रेमलाई लत्याएर उनी टाढा भइसकेकी छिन् । उनको र मेरो सोच बेग्लै थियो । म ‘दुख-सुख स्वदेशमै गरेर खाउँ’ भन्थेँ, उनी ‘यस्तो अभावग्रस्त जीवन म बाँच्न सक्दिनँ’ भन्थिन् ।
म उनलाई भन्थेँ, “ठीकै छ त ! मेरो सरकारी जागिर छँदै छ । हामीलाई हातमुख जोड्न धौधौ पर्ने छैन । तिमी पनि त केही न केही गरिहाल्छौ ।”
“तपाईंको जाबो तीस हजार तलबले के गर्न सकिन्छ भन्नु त ? भोलि छोराछोरी हुन्छन् । उनीहरूलाई पढाउनु बढाउनुपर्छ । यो सब सोचेका छौ तिमीले ? ”, उनी भन्थिन् ।
“विस्तारै सबै कुरा मिल्दै जान्छ । तिमी पनि त केही न केही गरिहाल्छौ नि । दुवैजना मिलेर गरौँला नि हुन्न ?”
“भो म यहाँ बस्न सक्दिनँ । अस्ट्रेलिया जान्छु । तिमी बस यतै ।” उनको रुखो उत्तर थियो ।
उनी महत्वाकांक्षी स्वभावकी थिइन् । विवाहको दुई वर्षसम्म त सबै ठिकै थियो तर दुई वर्षपछि उनमा बिस्तारै बिस्तारै परिवर्तन आएको पाएँ मैले ।
एकदिन अचानक उनी मेरो छेउमा आएर भन्छिन्, “सुन्नु त !”
“के भो र ?”
“म अष्ट्रेलिया जाँदैछु, हाम्रै गाउँका दाइसँग ।”
“अनि कसरी जान्छौ नि ?”
“कोट म्यारिज को कागज बनाएर, हामीले कोर्ट म्यारिज पनि गरिसक्यौं ।”, भन्दै उनले कोर्टमा विवाह गरेको कागज मेरो अगाडि सार्दै “मलाई पाँच लाख रुपैयाँको व्यवस्था मिलाइदिनू” भनिन् ।
म अक्क न बक्क भएँ । केही बोल्नै सकिनँ । “किन चुप लागेको ? नदिने भए ठिकै छ, म माइतबाटै मिलाएर जान्छु ।” उनको कर्कस जवाफ थियो ।
उनी भोलिपल्टै माइत लागिन् । म हेरेको हेरै भएँ । ‘नजाऊ’ पनि भन्न सकिनँ, ‘जाउ’ पनि भन्न सकिनँ ।
हाम्रा बच्चा थिएनन् । उनमा बच्चाको इच्छा पनि थिएन । उनी भन्थिन्, ‘पहिले लाइफ सेटल गर्ने अनि बच्चा पाउने’ । मेरो केही चलेन । साँच्चै भन्नुपर्दा हामी केवल यौन प्यास मेटाउने साधन मात्रै थियौँ । हामीमा लोग्ने स्वास्नीको जस्तो प्रेममय, विश्वासिलो र सौहार्दको वातावरण कहिल्यै सिर्जना भएन ।
उनी माइत गइन् । केही दिनपछि मैले फोन गरें । उनले फोन काटिन् । फेरि दुइ-चार दिनपछि गरेँ । “मेरो बारेमा नसोच्ने मान्छेले मलाई किन फोन गरेको ? बस अब एक्लै । म अष्ट्रेलिया जाँदैछु ।” यस्तो कर्कश जवाफ दिइन् उनले र फोन राखिन् । मैले केही भन्न पाइनँ । उनको लगभग एक वर्षदेखिको रुखो व्यवहारबाट म पनि दिक्क हुन थालिसकेको थिएँ । तर जे भए पनि मैले विवाह गरेर ल्याएकी श्रीमती थिइन् उनी । मनमा पिर त पर्ने नै भयो नि । जीवनमा धेरै कुराहरु साटासाट नगरे पनि उनको शरीरका प्रत्येक अंग-प्रत्यंगलाई चुमेर यौनक्रीडा त गरेकै थिएँ । सुरु सुरुमा त मिठा-मिठा कुरा नभएका पनि होइनन् ।
आज भोलि भन्दै एक वर्ष बित्यो । म एक्लै बसेँ । घरकाले सोद्धा ‘ठीकै छ’ भन्ने जवाफ दिन्थेँ तर उनीले वहाँ अर्कैसँग विवाह गरेको थाहा पाएँ । त्यो पीडालाई म कविता, कथामा पोख्थेँ, त्यही रुखको फेदमा बसेर ।
===
बिचरी, त्यो चरीको जीवनलाई म आफ्नो पाराले सोच्न थालेँ । एक्लै थिई ऊ । उसको चित्कारमा वेदना, पीडा, कष्ट मिश्रित हुन्थ्यो । उसले पनि मेरो बारेमा सबै थाहा पाइसकेकी थिई । मैले त्यो रुखको फेदमा बसेर धेरैपटक आँसु झारी आफ्ना बहलाई व्यक्त गरेको थिएँ ।
ऊ किन एक्लै छे, त्यो मलाई थाहा भएन । तर ऊ एक्लै भएको पीडालाई म अनुभूति गर्न सक्थें । ठेस लागेका मान्छेलाई थाहा हुन्छ त्यसको पीडा ।
म उसलाई हेरेर प्रश्न गर्थें, “किन एक्लै ? खोइ तिम्रो साथी ? खोइ तिम्रा बालबच्चा ?”
ऊ बुझ्थी वा बुझ्दिन थिई ? थाहा भएन । तर उसको चित्कारबाट म महसुस गर्थेँ कि ऊ पीडित छे, व्यथित छे । मेरा मनमा धेरै प्रश्न उठ्थेँ, ऊ एक्लै भएको बारे । तर एउटा कुराचाहिँ पक्कै हो, उसलाई छोडेर उसको साथी अन्तै गएको भने कदापि होइन । मनुष्यको जस्तो धोका पक्षीले दिँदैनन् ।
एकदिन ऊ मलाई हेरेर धेरैबेरसम्म कराइरही । के भएछ कुन्नि ? के भन्न चाहिरहेकी थिई ऊ ? सायद भन्न चाहिरहेकी थिई, “तेरो जिन्दगी लामो छ, भर्खर तीस वर्षको हुँदैछस् अर्को जीवनसाथी खोज् ।”
म उसलाई भन्थेँ, “म अब अर्कीसँग बिहे गरेर फेरि पीडित हुन चाहन्नँ ।”
ऊ जवाफ दिन्थी, “सबै एकै खालका कहाँ हुन्छन् र ? असाध्यै माया गर्ने पनि त हुन सक्छन नि ?”
“म फेरि विरही भए भने त बाँच्न सक्दिनँ ।” मेरो उत्तर हुन्थ्यो ।
“के था ? बा असाध्यै माया पाएर यहाँ बस्न नै भुल्ने होस् कि ?”
यस्तै यस्तै संवादको अनुभव गर्थेँ म ऊसँग ।
एकपल्ट म घरायसी कामले गाउँ जानु पर्ने भो । एक सप्ताहको छुट्टी लिएर म घर गएँ । घरबाट फर्किएर आएकै भोलिपल्ट अफिस जाने क्रममा रुखको छेउमा के पुगेको थिएँ कि ऊ परबाट भुर्र उडेर आई र मलाई हेर्दै धेरैबेरसम्म मसँग गुनासो गरी, “किन आइनस् यत्रो दिनसम्म ? किन मलाई भनिनस् ? म कति न्यास्रेँ हुला ? कस्तो निर्दयी रैछस् तँ ?” आदिइत्यादि । मैले क्षमा मागेँ र अफिसतिर लागेँ ।
श्रीमतीले मलाई छोडेर अर्कैसँग विवाह गरेको बिस्तारै बिस्तारै मेरा गाउँ घरकाले पनि थाहा पाइसकेका थिए । मेरा बाआमा चाहन्थे कि कानुनी कागजी काम गरेर छोराले अर्को विवाह गरोस् । म हृदयदेखि सहमत थिइनँ । तर आमाबुबाको करकापबाट मुक्त हुन मलाई त्यति सहज पनि थिएन । म ‘हुन्छ, म सोचौँला’ भन्ने उत्तर नै प्राय: दिने गर्थेँ ।
===
चरीलाई खुसीको खबर सुनाउँछु भन्दै लागेँ अफिसतिर । मैले हिजोमात्रै रोहन कि आमासँग बिहे गरेको थिएँ । आज चरीलाई भन्ने छु – “तँ सधैँ मलाई बिहे गर, बिहे गर भन्थिन्स् नि ? गरेँ मैले विवाह । अब त खुसी भइस् होला नि ?”
ऊ अवश्य सोध्ने छे मलाई, “कोसँग गरिस् त बिहे ?”
तिनै महिलासँग जसलाई उसका लोग्नेले सानै उमेरमा बिहे गरेर बच्चा भएपछि छाडिदिए र गाउँकै अर्की केटीलाई लिएर भारततिर लागे । रोहनकी आमा । रोहनकी आमाले दुःख सुख गरेर रोहनलाई हुर्काउँदै थिइन् । बुढाले उसलाई छाडेर अर्की लिएर भारततिर लागेपछि उनी पनि गाउँमा बस्न सकिनन् । काठमाडौं छिरिन् र यसै अफिसमा चिया बाँड्न लागिन् । उनी बीस-बाइसकी होलिन् । यसो हेर्दा, अठ्ठाइस-तीसकी जस्ती देखिन्थिन् । सायद धेरै दुःखकष्ट झेलेर होला । कहिले भोकै बसेर होला । कहिले खानेकुरा नभएर होला । त्योभन्दा पनि ज्यादा आफूले माया गर्ने लोग्नेबाट धोका पाएर होला । म उनलाई करिब तीन-चार वर्षदेखि चिन्छु । मिहिनेती, अरूलाई सम्मान गर्न जान्ने । कता कता मलाई उनीप्रति सहानुभूति लाग्थ्यो । मान्छेको मन न हो ।
उनी कहिले कहिले मलाई रुँदै भन्थिन्, “सर ! सुहान सरले मलाई एक हजारको नोट दिए, र आज उनकैमा बस्न जाउँ भने, तर मैले मानिनँ । मैले नमानेपछि ‘के भो त ! तिमीलाई काम लाग्छ, हेर त छोराका कपडा ? फाटिसकेका छन् किनिदिनु राम्रा’ यस्तै खाले धेरै कुरा सुनाउँथिन् उनी मलाई । मलाई भित्रभित्रै माया लाग्न थालिसकेछ । खै किन हो, उनी पनि सब कुरा मलाई नै सुनाउँथिन् ।
मैले बिस्तारै बिस्तारै श्रीमतीलाई बिर्सिन थालेँ । आफ्नो मनलाई दह्रो पार्न थालिसकेको थिएँ । उनी अर्कैको भइसकेकी थिइन् । उनी मलाई सहजै छाड्न सक्छिन भने म उनका लागि किन तड्पिने ?
मेरा आमा-बुबा र आफन्तको पनि चाहना थियो कि म विवाह गरौं । सबैभन्दा धेरै चाहना त्यो चरीको थियो । त्यही भएर म उसलाई त्यो खबर सुनाउन उत्सुक थिएँ । म उसलाई सुनाउन चाहन्थेँ, ‘हेर त, मैले विवाह गरेँ । यिनै हुन् मेरी श्रीमती ।’
म उनीलाई लिएर रुख भएको ठाउँमा पुगेँ । तर त्यहाँ ऊ कराउँदै आइन् आज । म परको रुखतिर हेर्न लागेँ, जहाँबाट ऊ सधैँ उड्दै उड्दै आउथिई । मैले सोचेँ, सायद चारो खान कतै गएकी होली । एकछिन बस्यौँ रूखको फेदमा, तर ऊ आइन । केहीबेर बसेर हामी फर्कियौं । मन भारी भयो ।
बेलुकीपख फेरि म आएँ । तर अहिले पनि सुनसान थियो । ऊ आइन । म अनेक सवाल लिएर घर फर्केँ । केही दिनसम्म मैले उसलाई रुखमा पर्खें, कहीँ आउँछे कि भनेर । तर ऊ कहिल्यै आइन । अनि मैले उसलाई खुसीको कुरा कहिल्यै सुनाउन पाइनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।