रेसम र सञ्जीवका बुबाले जीवनभरको मेहनतपछि फर्निचर कारखाना स्थापना गरेका थिए । उनको रेडिमेड फर्निचर कारखाना हेटौँडामा थियो, जहाँ पोखराबाट बसमा यात्रा गर्न धेरै समय लाग्थ्यो । हवाईजहाजमा जाने हो भने पनि पहिला काठमाडौँ गएर सिमरा ओर्ली बसबाट हेटौँडा जानुपर्थ्यो ।

रेसम प्रायः महिनामा एकपटक हेटौँडा जान्थ्यो । उसले फर्निचर व्यापारको लागि वर्षमा २–३ पटक देशको विभिन्न सहरमा जानुपर्दथ्यो । बुबाले पोखराको अफिस र व्यवस्थापनको सबै कामको रेखदेख गर्नुहुन्थ्यो, रेसमले कारखाना र चलाउने कामको हेरचाtह गर्थे । सञ्जीव आफ्नो जेठो दाइ रेसमभन्दा करिब १० वर्ष कान्छो थियो जो कलेजमा भर्ना भइसकेको थियो ।

रेसमले अञ्जलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरा र दुई छोरी गरी तीन सन्तान थिए । उनको तेस्रो सन्तान हुँदादेखि नै अञ्जलीले पूजा, व्रत र तीर्थयात्रामा बढी समय बिताउन थालिन् । सुरुदेखि नै उनको धार्मिक झुकाव थियो । पति-पत्नीको रुचिमा ठुलो भिन्नता भएका कारण उनीहरूबिच निकै तनाव हुने गरेको थियो । रेसमको व्यापारीहरूसँगको सम्पर्कका कारण हप्तामा कम्तीमा एक पटक बैठक र पार्टीहरूमा जानुपर्ने हुन्थ्यो । त्यस्ता पार्टीहरूमा पिउने र नाच्ने सिलसिला धुमधुमसँग चल्थ्यो । यस वातावरणमा धार्मिक झुकाव भएकी अञ्जली निस्सान्थिन् । पुरुषहरू महिलालाई छातीमा टाँसेर नाचिरहेको देख्थिन् । सहरी जीवनमा यी सबै सामान्य चलनका कुराहरू थिए, जुन उनलाई पटक्कै मन पर्दैनथ्यो ।

सुरुमा अञ्जली टेबुलमा एक्लै बस्ने गर्दथिन् र रेसम अन्य महिलाहरूसँग नाच्ने गर्थे । अञ्जली यस्तो अबेर रातीसम्म बस्न अभ्यस्त थिइनन्, न त उनी आफ्नो ससुरा र छोराछोरीलाई एक्लै छोड्न चाहन्थिन् । उनी यस्ता पार्टीमा जान छाडेपछि रेसम पहिलेभन्दा झनै खुलेर आएको थियो । केही महिलासँग सम्बन्ध पनि राख्न थालेको थियो, जसका लागि उसले होटेलको प्रयोग गर्ने गरेको थियो । घरमा व्यापारको नाममा यी सबै लुकाइयो ।

=

सञ्जीवले एमबिए सिद्ध्याइसकेको थियो । उनी बिहेपछि घरायसी काममा मात्रै सहयोग गर्न चाहन्थे । सुरुमा रेसमले व्यवस्थापनको काम गर्न भने तर पछि कारखाना व्यवस्थापन गर्न हेटौँडा पठाउन थाले ।

सञ्जीवको विवाह काठमाडौँको व्यापारीकी छोरी पुष्पासँग भएको थियो । पुष्पा अञ्जलीको बिल्कुल विपरीत स्वभावकी थिइन् । उनलाई हरेक दिन पार्टीहरूमा जान, नयाँ फेसन र गहना लगाउन मन लाग्थ्यो । सञ्जीव धेरैजसो कम्पनीको कामबाट टाढै बस्न थालेपछि उनको विशृङ्खलता बाहिर आउन थाल्यो । एक दुईपटक अञ्जली जान नमानेपछि महत्त्वपूर्ण पार्टीमा रेसमले पुष्पालाई लिएर गएको थियो  । दुवैले एक–दुईपटक सँगै डान्स गरे, जसका कारण पुष्पाको सङ्कोच पनि हट्न थालेको थियो ।

दुवै दाजुभाइ बुबासँगै एउटै घरमा बस्थे । बस्ने छुट्टै कोठाहरू थियो, तर सबै कोठाहरूको ढोका बैठक कोठामा खोलिन्थ्यो । सिंहले रगतको स्वाद लिएपछि त्यसको पछि लाग्न थाल्छ, त्यस्तै रेसम बाहिर हेर्दा शालीन देखिन्थ्यो तर एकान्तमा पुष्पासँग अलिकति ठट्टा गर्थ्यो । पुष्पालाई यस्तो ठट्यौली र जिस्किन मन पर्थ्यो, त्योभन्दा पनि उनीहरूले अगाडि पछाडिको नाता सम्बन्धको बारेमा दुवैले केही सोचेका थिएनन् ।

एक साँझ उनीहरू दुवै अचानक स्विमिङ पुलमा सँगै भेटिए । यद्यपि रेसम प्राय: बिहान जान्थ्यो र पुष्पा कहिलेकाहीँ बेलुका । अञ्जली बेलुका कतै भजन–कीर्तनमा जान्थिन् र खाना खाने बेलामा फर्किन्थिन् । उनलाई यस विषयमा कुनै जानकारी थिएन, आफ्नै दिनचर्यामा मग्न थिइन् ।

उनीहरू साँझ अबेरसम्म पौडी खेलिरहेका थिए । सुरुमा दुवै जना साधारण कुराकानी गरिरहे, त्यसपछि पौडी खेल्न थाले र उनीहरूबिच जिस्किने क्रम सुरु हुन थाल्यो । रेसमले पानीमा उनको स्तन अनजानमा छोइएको जस्तो गरेको थियो । यो देखेर पुष्पा मुस्कुराउँदै छिटो छिटो पौडिन थालिन् । यसरी दुवै जना पौडिँदै नजिकै रहेको तातो पानीको जाकुजीमा पुगे, जहाँ पौडी खेल्नेहरू पौडी खेलेपछि नुहाएर आराम गर्ने गर्थे । रेसमले पुष्पाको थकान कम गरिदिए झैँ खुट्टामा बिस्तारै मुसार्न थाल्यो । पछि उसले पुष्पाको हात समातेर आफ्नो शरीरमा चलाउन थाल्यो । धेरै बेरसम्म उत्तेजित भएपछि दुवै जना शान्त भएर आ–आफ्नो तौलिया बोकेर हिँडे । दुवै जना छुट्टाछुट्टै गाडीमा आएजस्तै गरी एकपछि अर्को गर्दै घर पुगेका थिए ।

=

अब त दुवैको साहस बढ्न थालेको थियो । राति अबेर सबै जना सुतिसकेपछि रेसम गाउन लगाएर आफ्नो कोठाबाट बाहिर निस्कन्थ्यो, मानौँ बैठक कोठामा गएको थियो । एक डेढ घण्टा रमाइलो र अँगालोमा बाँधिएर दुवै आफ्नो कोठामा फर्केर सुत्थे । सुरुमा, धेरै समयसम्म अञ्जलीलाई यस सम्बन्धमा केही थाहा भएन । यी दिनहरूमा रेसमको रक्तचाप पनि उच्च रहन थालेको थियो । वार्षिक परीक्षणका क्रममा मदिरा सेवन र जीवनशैलीका कारण डाक्टरले उनलाई अब सक्रिय र दौडधुपको तनावबाट जोगिनु पर्ने चेतावनी दिएका थिए । औषधि सेवन गरे पनि रेसमको रक्तचाप असामान्य रहन थाले पनि दिनचर्या नियन्त्रण गर्नु सजिलो थिएन । युटर्न हुनको लागि धेरै सुस्त गति र धेरै दूरी चाहिन्छ, तर यसको लागि मनमा दृढ भावना र दृढ सङ्कल्प हुनुपर्छ, जुन उसको नियन्त्रणमा थिएन ।

एक रात अचानक ओछ्यान खाली देखेर अञ्जली रेसमको स्वास्थ्य बिग्रिएको छ कि भनेर बुझ्न उठिन । रेसमलाई चन्दाको कोठाबाट बाहिर निस्केको देख्दा अञ्जलीलाई आफू उभिएको जमिन भासिएजस्तो भयो । चक्कर लागेर बेहोस भइन् । निधारमा चोट लागेकाले रगत बगिरहेको थियो । अस्पतालमा निकै मुस्किलले टाँका र ब्यान्डेज लगाएपछि रेसमले उनलाई हँसिलो अनुहारमा घर ल्याए । उनले अञ्जलीसँग यस्तो गल्ती फेरि कहिल्यै हुँदैन भनी वाचा पनि गरे । पुष्पाको कोठाबाट केही आवाज आएकाले के रहेछ बुझ्न मात्र गएको थिएँ भनी आश्वस्त पारे । अनि अञ्जलीले के भन्थी ? उनले कुरालाई बढाएर कुनै फाइदा हुने देखिनन् ।

=

अब रेसमले पुष्पालाई बेवास्ता गर्दै अफिसकी केटीलाई लिएर होटेलमा जान थालेको थियो । यसै क्रममा एकपटक उसलाई उच्च रक्तचाप भयो र अचेत अवस्थामा युवतीले उनलाई अस्पतालमा भर्ना गरिन् । अफिसमा रेसम अस्वस्थ भएकाले उनलाई डाक्टरकहाँ लैजाँदै गरेको बाटोमा अवस्था जटिल भएको भन्दै परिवारलाई फोन गरिन् ।

रेसमलाई उच्च रक्तचापका कारण उसको दाहिने भागमा पक्षाघात भएको थियो । ५२ वर्षको उमेरमा उनको जीवनमा उल्का पिण्ड खसेको जस्तो भएको थियो । करिब ६ महिनाको ध्यान र फिजियोथेरापीबाट स्वास्थ्यमा केही सुधार भए पनि हिँडडुल र यात्रा गर्न असमर्थ थिए । अब उनी घरमै बस्न बाध्य थियो, अञ्जलीले तनमनले उसको सेवा गर्थिन् । रेसमलाई २४ घण्टा हेरचाह गर्न सकियोस् भनेर रातीको लागि छुट्टै नर्स राखिएको थियो ।

बुबाले सञ्जीवलाई कम्पनीको जिम्मा दिनुभयो । अञ्जलीले कुनै दिन पनि आफ्नो लोग्नेलाई पुराना कुराहरू सुनाइनन्, रेसम र पुष्पाको सम्बन्धको बारेमा पनि आफैँभित्र कुराहरू दबाएर राखिन् । रेसम थलिएर होला अहिले वास्तविक उमेरभन्दा पनि बढी देखिन थालेको थियो । डाक्टरहरूले अब उसको पुरानो ऊर्जा र उत्साह कहिल्यै नफर्किने बताएका थिए । यो अवस्थामा गलत बाटोमा हिँडेकोमा रेसमलाई आफ्नो गल्ती महसुस भयो त ? मानिसले जीवनमा केही सामाजिक मर्यादा र नियमहरू पालना गर्नुपर्ने हुन्छ, तर रेसमले मर्यादाको रेखा पार गर्‍यो भने धेरै कुरा गुमायो ।