एक दम्पतीको धेरै वर्षसम्म सन्तान भएनन् । सन्तान नभएकै कारण गाउँमा उच्चोसिर थिएन उनीहरूको । गाउँघरमा सानोतिनो कर्मकाण्डको जम्काभेटमा सन्तान हुनेहरू यिनीहरूको चर्चा गर्थे ।

सबैले भन्थे —‘पार्वतीकै कैफियतले बच्चा नभएको हो ।’

माधवले अर्को बिहे किन नगरेको होला ?

गाउँमा बिधुवी र बुढी कन्याहरू प्रशस्त छन् ! तिनीहरूमध्ये कसैलाई सकारे हुन्न र !

गाउँका कुरौटे आइमाईहरू यसै गरी पधेरो र मेलापातमा सुझाव दिन तँछाडमछाड गर्थे । यही चर्चाले पत्नी पार्वतीको मुटुमा झिर रोपिन्थ्यो ।

‘आफन्तले अर्को बिहे गर भनेर माधवलाई कान फुकेको पार्वती मन पराउँदिनथी । गाउँका बुज्रुकहरूको मनसाय थियो ‘माधवले कमलालाई बिहे गरे हुन्थ्यो ।’ राधिका पनि राम्री थिई । शारदालाई त बिहे नगरीकनै भित्राए पनि हुन्छ ! इत्यादि…..!

हुँदा हुँदा त गाउँका महिलाहरूले पार्वतीको पतिलाई जोइटिङ्ग्रे, नामर्द भन्न सुरु गरे ।

बच्चा नहुनुमा माधवको कारणले पो हो कि भनेर गाउँका पाकाहरू माधवलाई भेट्ने बित्तिकै भन्थे — छोरा माधव ‘डक्टरलाई एकपटक देखाउँछस् कि !’

तीन जना उसैका दिदी बहिनीहरूसँग भेटघाट गर्न छाडेको बर्षौ भएको थियो माधवले ।  सुनिनक्सनु भएर गाउँघरको जमघटमा माधव र पार्वतीले जान चटक्कै छोडिदिए ।

बर्षौ भयो । माधवले कसैको कुरा सुनेन । पार्वतीमाथि सौता हालेन उसले । पार्वती बाझै थिई र माधव नपुंसकै रह्यो ।

यिनीहरूकै उमेरका गाउँका दम्पतीहरूको तीन तीनवटा सन्तान भैसकेका थिए । हेर्दाहेर्दै ती बच्चाहरू स्कुल जाने आउने गर्थे । अब त गाउँ बच्चामय भई हराभरा भयो तर माधव र पार्वतीको संसार सन्तान बिनाको उजाड भइरह्यो । सन्तान नै नभएको कारणले समाजमा यिनीहरू आगोमा पिल्सिएर शिर निहुराएर हिँड्थे ।

माधव पचास नाघ्यो । पार्वती अट्चालीस । घरमा वर्ष दिनको एउटा नन्नेमुन्ने छोरा मझेरीमा ताते गरेर हिँड्दा माधव र पार्वती मतिर आऊ कृष्ण ! हैन मतिर आऊ काले कृष्ण भनेर तँछाडमछाड गरेर हात थाप्थे । अबोध बालक कृष्ण आखिरीमा पार्वतीको अँगालोमा हाम फाल्थ्यो । यस्ता थुप्रै कृष्ण चरित्रले दुवै जना गद्गगद् हुन्थे । माधव र पार्वती बुढेसकालको सन्तान कृष्णको सारै ख्याल राख्थे । राति सुताउन बिछौनामा कस्कोपट्टि सुताउने भनेर हरेक रात हानथाप हुन्थ्यो दम्पतीको । फोहरमैला सफा गर्दिन, नुहाइदिन र ख्वाउन म गर्छु, हैन म गर्छु भन्दै दम्पतीको बिचमा झगडा नै हुन्थ्यो ।

राम्रो स्कुलमा पढ्न पायो कृष्णले । मीठो खायो । राम्रो लगायो । तब बालक सारै लायक हुँदै सुखले माधवको घरमा हुर्कियो । पढाइमा अब्बल कृष्ण खुब मेहनत गर्थ्यो ऊ ।

स्कुलबाट घर नआउन्जेल दुवै जना कृष्णको बाटो हेरिरहन्थे खाजा पानी खाँदैनथे । ढिलो घर आउँदा मुखामुख गरेर चिन्तित हुन्थे । कृष्ण पर आएको जब देख्थे यिनीहरूको अनुहारको रङ फेरिन्थ्यो । हुन पनि कसैका आमाबाबुले नदिएको माया र हेरविचार उसले यसरी पायो कि गाउँमा चर्चा हुन्थ्यो । कृष्णले बाबुआमाको चित्त कहिल्यै दुखाएन ।

एकदिन घरमा दिउसै दियो जल्यो । पार्वतीले ढोकाको दुईपट्टि पानीले भरेका कलश हर्कले राखी । रङ्गीबिरङ्गी फूलले कलशको मुख रङ्गिन बनाई । माधवले साइत जुराए झैँ गर्‍यो । कृष्णले उच्च अङ्क ल्याएर ‘इयसयस’ पास गरेछ । वृद्ध दम्पती कुरा बुझेरै सारै खुसी भए आज । हातमा उच्च अङ्क पाएको प्रमाणपत्र लिएर स्कुलबाट आएको कृष्णको स्वागत बाबुआमाले संस्कार सम्झेर एक धर्को अबिर उसको निधारमा लगाइदिएर हर्कले छोराको स्वागत गरे । कृष्णले घरमा छिर्ने बित्तिकै आमाबाबुको चरण छोएर टाउकोले खुट्टामा पालैपालो ढोग्यो । प्रमाणपत्र बाबु माधवलाई सुम्पियो ।

थुप्रै आशीर्वाद दिँदै भने माधवले— ‘छोरा बाबु कृष्ण…तिम्रो खुट्टामा कहिल्यै ठेससम्म नलागोस् । तिमी संसारकै विद्वान र सुखी हुनु !’

पार्वतीले पनि दुई थोपा आँसु टप्काउँदै आशीर्वाद दिई— ‘तिमीलाई कसैले कुनियतले नजर नलगाउन । स्वस्थ र दीर्घजीवी हुनु । तिम्रो भाग्य उदय हुँदै जाओस् । हाम्रो मृत्यु तिम्रै काखमा होस् ।’

यसपछिका दिनहरूमा बुढेसकालका वृद्ध मातापितालाई पढेलेखेको छोरा कृष्णको धेरै उपेक्षा र भरोसा हुन थाल्यो । हुन पनि ऊ यस्तै लायकको र योग्य हुँदै थियो ।

कृष्णले आफ्नो कलेजको पढाइसँगसँगै बिहान बेलुका सहरमा काम गरेर घरमा आर्थिक सहयोग गर्दै माधव र पार्वतीको खुबै सेवा गर्‍यो । उसको लायकपन देखेर छिमेकी भन्थे— ‘छोरो हुनु त माधव र पार्वतीको जस्तो पो !’

माधव र पार्वती वृद्ध हुँदै गए । घरमा टेलिभिजन सेटिङ बिग्रियो भने कृष्ण कतिखेर घर आउँछ र बनाइदिन्छ भनेर बुढाबुढी पर्खेर बस्थे । मोबाइल चलेन भने भन्थे — ‘कृष्ण…ए बाबु.. हेरिदेन मेरो मोबाइल कता थिचेँ छु’ । फेसबुक चलाउन कृष्णले नै सिकाइदियो । कम्प्युटर चलाउन माधवले कृष्णबाट सिकेको हो । घरमा बत्ती बलेन भने— ‘कृष्ण ‘बत्ती गयो त बाबु’ भन्थे ।’ घरका धारा बिजुली, टेलिफोन, इन्टरनेट, अनलाइन बुकिङ, भ्रमण सबै कृष्णको प्रतीक्षामा रहन्थे । घरको किनमेल आमाबाबुको आवश्यकता अनुसार उसैले गर्थ्यो । बाबुआमाको मूलभूत आवश्यक ‘खानपिन, स्वास्थ्य जाँच, डक्टर, औषधी’ उसैले हेर्थ्यो ।

घरको परिश्रमिक र प्रविधिको काम गराउन माधव पार्वती यो गरिदे ! त्यो गरिदे ! भनेर प्रत्यक्ष भन्दैनथे उसलाई । आमाबाबुको अनुहार हेरेर र बुझेर कृष्णले सबै सेवा गर्दिरहन्थ्यो । एउटै काम दोहोर्‍याएर उसको बाटो हेर्दा झर्को मान्दैनथ्यो ऊ । कति ज्ञानी, प्रिय र आवश्यकताको थियो वृद्ध मातापिताको कृष्ण ! घर घर नभएर स्वर्गजस्तो बनाइदिएको थियो कृष्णले ।

===     

पल्लो गाउँ (चार घण्टा टाढा) की एकजना महिला, दुई वर्षदेखि माधव र पार्वतीको घरमा आइरहन्थी । यिनी को हुन ? किन हाम्रो घरमा आइरहन्छे ? भनेर नत माधव वा पार्वतीले नै कहिल्यै सोधे न एक आपसमा कुरा काटे उसको । कारण, पार्वतीले समय बिताउने साथी पाएकी थिई । चालीस आसपासकी ती महिला माधव नभएको समय घरमा आएर पार्वतीसँग एकोहोरिएर मनग्गे कुरा गर्थी । कसै कसैको त खेदो खनेर कुरा काट्थी । के कारणले होला, कृष्णको चासो र निगरानी गर्थी आगन्तुकले । आफू मात्र बोल्ने उसको बानीले पार्वती कहिलेकाहीँ ऊदेखि टकटकिन्थी । दिक्क हुन्थी ।

पार्वती प्रशंसा गर्थी छोराको — ‘बहिनी ! मेरो छोरा कृष्ण.. सारै ज्ञानी छ । समयमै सोचविचार गरेर काम गर्छ । उसले गरेका र थालेका कामहरू अधुरा र असफल भएका मलाई जानकारी छैन । कसैको कुभलो र नराम्रा कुरा गर्न जानेको छैन उसले । हाम्रो स्वास्थ्यको र खानपिनको बारम्बार सोधिखोजी गर्छ । बुढेसकालका हामी आमाबाबुको भगवान् भई हाम्रो भरोसाको सन्तान भयो ऊ ।’ हामी भाग्यमानी रहेछौ ! ‘छोरा कृष्णलाई कसैको नजर नलागोस् ।’

उसको घरमा जो जो आउँछन् कृष्णको मात्र गुणगान गर्ने पार्वतीको आदत बसेको थियो।

कुराकुरैमा एकदिन पार्वतीले आफूले भोगेको र करुणाले चुलिएको एउटा पुरानो कहानी आगन्तुक महिलालाई सुनाई ।

पार्वती – ‘धेरै वर्ष पहिले मानसिक रोगले ग्रसित एउटी सत्र–अठार वर्षको उमेरकी तुलसा नाम गरेकी महिला पल्लो गाउँमा डुलिडुली हिँड्थी । बाबुआमाको माया नपाएपछि मानसिक सन्तुलन सानै उमेरदेखि बिग्रिएको थियो उसको । रोगी बाबुको मृत्युपछि तुलसाकी आमा सहरमा मागेर पेट भर्थी । यस्तै कारणले मानसिक रोगले झन्झन् तुलसालाई च्याप्यो । मानसिक रोग छिप्पिँदै गयो उसको । कलिलो उमेरमै गरिब आमाको झुपडी छोडेर तुलसा सडक, मठ, मन्दिरमा बस्थी । कहिले गाउँको सिरानको चौतारामा उसको बास हुन्थ्यो । ऊ तरुनी हुँदै गई ! ‘उसको पछाडि रगतको टाटै टाटा हुन्थे ।’ यस्तो अवस्थामा फाटेको लुगा लगाएर गाउँमा मागेर पेट भर्थी तुलसाले पनि । पागल तुलसाको त्यस्तो दुर्गन्धित शरीरसँग घरघरमा डुल्दा दिक्क भएर दयामाया नभएका गाउँका मानिसले उसलाई गाउँबाट लखेट्थे । उ पछाडि हेर्दै भाग्थी । केटाकेटीले ढुङ्गाले हानेर धपाउँदा उसको शरीरमा अनगिन्ती आला चोट र नीलडामहरू थिए । पाँसुला र तिघ्राहरू हातले ढाकेर छोप्थी । नितम्बहरू बाहिर निस्किरहन्थे र बारम्बार तिनलाई भित्र लुकाएर छोप्न कोसिस गर्थी । फाटेका लुगाले र लुगा आफैले च्यात्ने कारणले यसरी अर्धनग्न हुन्थी तुलसा । लट्टा परेर चिरा परेको कालो कपाल तलसम्म घिस्रिन्थ्यो उसको । गुजुल्टा परेको कपालमा औँला छिराइछिराइ जुम्रा टिप्थी । चौताराको कुनामा थाङ्ना र भाडाकुटी खेलेर दिन बित्थ्यो उसको । कसैले खान दिइहाले भने सित्तो नछोडी खाना सिद्ध्याउँथी । रातमा बास बस्ने ठाउँ तुलसाको तिनै मठ–मन्दिर र पाटीको कुनाहरू थिए । बेवारिसे र मानसिक रोग लागेकालाई हेरचाह गर्ने च्यारेटी संस्था गाउँमा थिएनन् । संरक्षण दिने सरकारको नीति पनि थिएन ।

यस्तो हालतमा गाउँ डुलेको देख्न नसकेर कोही दयालु महिलाहरूले पार्वतीलाई पेटभरि खान दिन्थे । कुनै दिन नुहाई धुवाइ गराइदिन्थे । नयाँ लुगा लगाइदिँदा गाउँका युवकहरू आफ्ना आँखा पागल तुलसाको आँखामा जुधाउँथे । भोलिपल्ट तुलसा फेरी उस्तै बिटुली हुन्थी ।

तुलसाको चुहिएको लाजको मुद्दा बनाएर टोलाका केटाकेटीले नमज्जाले गिज्याउँथे पागल तुलसालाई । तब स्कुल छुट्टी भएको दिन तुलसा गाउँ पस्दिनथी । कारण स्कुले बच्चाहरूले उसलाई कुट्ने, पिट्ने र लखेट्ने गर्थे । ढुङ्गा टिपेर हान्दै प्रतिकार गर्थी ऊ । तर, आफैले हार्नु पर्थ्यो उसले । यसरी आफू दुर्व्यवहार भएपछि कहिलेकाहीँ मात्र तुलसा गाउँमा देखा पर्थी ।

===

आकलझुकल देखा पर्ने पागल तुलसा हेर्दाहेर्दै हिजोआज निकै हृष्टपुष्ट देखिन थाली । चार महिनामा अर्धनग्न अवस्थाको तुलसाको पेट बढ्न थाल्यो । अलिअलि गरेर बढ्दै गरेको पेट दुनियाँको नजरबाट बचाउन छोपछाप गरेझैँ गर्थी ।

दिनदिनै गाउँमा उसको चर्चा भयो ।

गाउँका चतुर महिलाले कान फुक्न थाले — ‘तुलसा त गर्भवती भैकी क्या हो ! थुथुथु ….कसको पाप बोकी नि पागल्निले….?

कसैले भन्थे — ‘कुन पापीले हो यस्तो अवस्थाकी आइमाइलाई कुकर्म गरेको होला ? मरिजाओस् ! असती ! पापी ! अधर्मी यी लोग्ने मानिसहरू !’

महिलाहरू तुलसाको नचिनेको कुकर्मी महापुरुषलाई ठाडो हात पारेर सराप्थे । यता तुलसाको अवस्था झनझन अस्तव्यस्त हुँदै जाँदा दयामायाले कसैको हात ऊमाथि नियतवश पर्दैनथ्यो । खानदानी परिवारकी बुहारी भएको भए कति उसको इज्जत हुन्थ्यो त्यो समय ? घरमा उसको मूल्य, मर्यादा चुलिएर हिमाल झैँ हुन्थ्यो । स्वादिष्ट खान र पिउन पाउँथी उसले । ऊ एक बंस जन्माउने आमा हुने भएकोले उसले अँगालोभरिको माया र संरक्षण ऊमाथि बर्सिन्थे । तर, हेर्दा ख्याउटे देखिने पागल तुलासा पाकेको कागतीजस्तै खस्न लागेको उसको पेटमा नाभि  पिर्लिक्क पारेर सकी नसकी पेट भर्न गाउँ चाहर्थी । अजङको नाङ्गो पेट झुन्ड्याएर दयाको पात्र भई मागेरै नौ महिना बिताई । उसलाई सकार्ने व्यक्तिको कल्पना सम्म गर्न सकिँदैनथ्यो यो जगतमा । कसले जिम्मा लिने उसको यो हविगत ?

पार्वतीले भावुक भएर महिलालाई कहानी सुनाई रही । महिला टोलाए झैँ भई । तैपनि पार्वतीको कुरा दत्तचित्तले सुन्थी उसले !

पार्वती — ‘… स्कुलेले लखेटेपछि अहँ तुलसा गाउँमा हतपत देखा परिन !’ एकदिन गाउँको पल्लो छेउको एकलासको पाटी घरमा अचानक बिहानै भर्खरै जन्मेको बच्चा रोएको सुनियो रे । रातभरि कसैले ख्याल गरेन छन् । रातभरि बच्चा रोएको थियो कि ?

गाउँको एउटा प्रतिष्ठित मन्दिरको ब्रह्मचारी पुरोहित हरिचरण ढकाल पुरेत्याइँ गर्न गाउँ चाहर्थे । उनले घरघरमा गएर सुनाए ‘ए थाहा पायौ ?’ ए थाहा पायौ? ‘पाटी घरको अँध्यारो कुनामा बच्चा रोइरहेको मैले सुने । पागल्नीले बच्चा जन्माई की क्या हो?’

यसरी पुरोहितले गाउँभरि हल्ला फिँजाएपछि बल्ल गाउँका केही महिला र पुरुष पाटी घर छेउमा जम्मा भए । पार्वतीले भनी  ‘संयोगले म पनि घुम्दै त्यही ठाउँमा पुगेथेँ ।’

सुत्केरी तुलसाले आफू अगाडि एक थुप्रो साना ढुङ्गा थुपारेकी रहिछ । उसको अगाडि जो पर्थ्यो सद्दे महिलाले झैँ नानाभाँति गाली फलाकेर त्यही साना डुङ्गाले रमितेहरूलाई हान्दै आँखा तर्थी ।

भन्थी — ‘मलाई त्यसैले यस्तो पारेको हो, तँ मरिजा, तँ मरिजा’ । उसको मुखको थेगो थियो यो । कसैलाई गाली गरेको त्यो वाक्य मात्र प्रस्ट सुनिन्थ्यो । महिलालाई भन्दा पुरुषलाई तुलसा देख्न चाहन्नथी ।

रगतका फाल्साले बनेको उसको छेउमै जमेको आहाल अनगिन्ती झिँगाहरूले ढाकेको थियो । लगाएका लुगा रगताम्मे थिए । उसले हात चलाउँदा सय पचास झिँगा उसको शरीरबाट भुर्र उड्थे । लट्टा परेको कपालले अनुहार छोपिँदा रगरग जुम्रा हिँडेको बाहिरै देखिन्थे । खुट्टाको कुर्कुच्चासम्म रगत बगेको आला धर्का थिए । अनुहारमा काला बगेका लेघ्रा देख्दा बच्चा पैदा गर्दैगर्दाको पिडाले सूर्यको झुल्का पृथ्वीमा खसेकै बेला धेरै रोइछ तुलसा ! उसको हातहरू रगतमा डुबाए झैँ देखिन्थ्यो । हातका निग्रामा रगतका फाल्सा अड्किएका थिए । त्यस्तो अवस्थामा एउटा थाङ्नामा बच्चा सकारेर बिहानदेखि कुनामा बसेकी थिई तुलसाले ।

हेर्न आउनेलाई ठुला आँखा फुकालेर हेर्थी । धारे हात पारेर सराप्थी र भन्थी — ‘तैइँ त होस नि ..!  थुई्या थुई्या….!’

पार्वतीले भनी — ‘बिचरा तुलसाले त्यो भन्दा ज्यादा गर्न सक्ने औकात नै के थियो र ! के गर्न सक्थी र उसले हाम्रो पतन भैसकेको समाजलाई !’

पार्वती ‘कसरी बच्चा पैदा गरी होली बिचरीले ?’ कति कष्ट पर्‍यो होला उसलाई ? कति भोक लागेको थियो त्यो समय पागल सुत्केरीलाई ।’

हेर्दाहेर्दै पाटी बाहिर मानिसको घुइँचो लाग्यो । बाह्र घण्टापछि गाउँलेले भेट्टाएर उद्धार गर्न खोज्दा ढुङ्गा फ्याँकेर गाली गर्दै प्रतिकार गरी उसले । रुँदा रुँदा बच्चाको आवाज धोत्रिएर बच्चो रुन सकेन । मरेछ कि क्या हो भने कसैले ? छुन दिन्न थी त ! आफै तेल सकिएको दियो जस्तै निभ्न लागेकी आलो सुत्केरी तुलसाले नत आफै बाच्ने कोसिस गरी न बच्चालाई बचाउने प्रयत्न गर्थी । तैपनि घरीघरी बच्चालाई छातीमा टाँसिरहन्थी । कसैलाई छेउ पर्न पटक्कै दिइन ।

मर्छे यो..! कसरी हेर्नु ..? तातो खाना बनाएर ल्याइदिन्छु । न्यानो कपडा ल्याइदिन्छु भन्दै गाउँका बुढीआमैहरू त्यहाँबाट हिँडे । मैले पनि ज्वानोको तातो झोल बनाएँ । चार घण्टाको बाटे हिँडेर गएँ साँझमा म । मलाई हेर्दै हेर्दै पिई उसले । मलाई हेरेर मुसुक्क हाँसेर बच्चा कुम्ल्याएर भित्तातिर फर्किई ऊ त । मेरा आँखाबाट पानी बगे । ‘घर लगेर सुत्केरी स्याहार गर्न कसैले आँट गरेनन् ।’

यसरी महिलासँग पार्वतीले पागल तुलसाको कथा त्यहाँसम्म सुनाएपछि त्यो दिन त्यतिकै बित्यो । महिला त्यहाँबाट हिँडी ।

===

धेरै वर्षपछि एकदिन माधवको घरमा उजुरी आयो । माधव र उसकी पत्नीले नजिकैको अदालतमा उपस्थित हुनुपर्ने भएछ । यो बुढेसकालमा केको अभियोग लाग्यो यी वृद्ध दम्पतीलाई ? घरमा आइरहने त्यही महिलाले — ‘कृष्ण मेरो सन्तान हो ! ‘डिएनए’ परीक्षण गरेर बाइलोजिकल छोराको नाता सम्बन्ध मसँग कायम गराई पाउँ ! मेरो छोराको हक मलाई दिलाइदेऊ’ । ‘यही माम्लो ब्युँताएर माधव र पार्वतीको विरुद्धमा उसैले मुद्दा हालेकी हो ।’

नचिताएको उजुरी सुनेर माधव र पार्वती मुर्छा परे । यी वृद्ध दम्पतीले कृष्णलाई हुर्काए, जवान बनाए र विद्वान भयो कृष्ण । ऊ गाउँको एउटा प्राइभेट बैङ्कको व्यवस्थापक थियो । माधव र पार्वती मेरा जन्मदिने मातापिता हुन भन्ने थियो उसलाई । म उनीहरूले पालेको पराइको सन्तान हुँ भन्ने कुनै सङ्केत कृष्णले पाएको थिएन ।

कृष्णको आँखा छलेर अदालतको तारिख खेप्दै आफ्नो अधिकारको सन्तान बनाइराख्न वृद्ध मातापिताले बुढो हड्डी घोटिरहेको कृष्णले चाल पायो । तर, उसले यो विषयको चासो राखेर कहिल्यै उनीहरूको चित्त दुखाउन चाहेन । यो विषयमा उसले कसैको कुरा सुनेन पनि । मनमा डर राखिराखी माधव र पार्वती कृष्णलाई सन्तान बनाइराख्न हरतरह गरिरहे । एउटा सन्तानसँग उनीहरूको घर स्वर्ग जस्तै थियो तर यो अदालतको काण्डले यिनीहरूको जीवनमा ठुलो बज्रपात  हुने पक्का थियो ।

अब के होला ? गाउँले सबैको चासो यही थियो । नाबालक बच्चा चोरेको अभियोग अदालतमा विचाराधीन मुद्दा फैसला नहुन्जेल माधव र पार्वती आधा मासु भए । आफ्नै हातले हुर्काएको बढाएको सन्तान आफ्नै साथमा हुँदाहुँदै सधैँ आँसुमा डुबिरहे उनीहरू । पार्वती डिप्रेसनले ग्रसित भई । माधव एकोहोरिएर घरको काममा घोटिइरहने भयो । धेरै कम बोल्छ ऊ । यिनीहरूको घरमा दिउसै सन्नाटा छाएको थियो दिनदिनै । कृष्ण फाटेको जुता र घेरा फाटेको टोपी लगाएर हिँड्न थालेझैँ भयो बाबुआमाको चिन्ताले । ऊ भावुक भयो । कसैसँग बोल्दैन । सहरमा ऊ कहिलेकाहीँ भिडमा हराउँछ । अबेर गरेर घर आउँछ । उसको कोठाको बत्ती रात निकै ढलेपछि निभ्छ । कुजात समाजमा उसलाई मानिसहरू ढुङ्गा र मुढाले बनेका झैँ लाग्छन् । सबै जना स्वार्थी र विवेक नभएका स्वाँठ झैँ लाग्छन् ।

आमाबाबुको लागि सन्तान नै एउटा बाच्ने आधार हो भन्ने ठानी माधव पार्वतीले कृष्णलाई आफ्ना आँखाभित्र राख्थे । यही समीकरणले कृष्ण आमाबाबु र महिलाबिचको झमेला मैले थाहा पाएको छु भनेर कहिल्यै माधव र पार्वतीलाई महसुस हुन दिएन । आफूले जन्माएको सन्तान पाउँ भनेर अधिकार मागेकी महिलाले मुद्दा खेपेको सबै कहानी कृष्णलाई प्रस्ट थियो । कति सङ्कट छ उसलाई हिजोआज । ग्रहण लागेको सूर्यलाई सकस परे झैँ । सधैँ आफैलाई सोध्छ  ‘म कसको सन्तान हुँ ? के सबै सन्तानहरू म जस्तै अनिश्चित र अनभिज्ञ छन् ? समाजबाट  तिरस्कृत भएर हुर्किन्छन् ? अदालतको निर्णयपछि वयस्क उमेरमा बल्ल आमाबाबु चिन्दछन् ? कस्लाई देखेर म अब उत्साहित हुनु ? सभ्यता र समृद्धिको बाटोमा मेरो भविष्य निश्चित हुन्छ कि हुन्न होला अब ?

दिनदिनैको यस्तो परिस्थितिले सौर्य शक्ति खस्कँदै गएको सूर्य झैँ मलिन हुँदै गयो कृष्ण । लक्का जवान कठै ऊ निरीह, निराश्रय र निराधार जीवनको चरम अवस्थामा बेहिसाब दौडिरह्यो ।

माधव र पार्वती भने छोरो कृष्णले यो काण्ड थाहा पाएको छैन भनेर ढुक्क थिए । माधव पार्वतीलाई भन्थ्यो । चिन्ता नलेऊ पार्वती ‘ऊ हाम्रै हो ! हाम्रै हुन्छ !

आकाश नियाल्दै सबै अदालतका कारबाहीहरू पर्दाभित्र खेपेर निर्णय पर्खिरहेका थिए वृद्धाहरू । उनीहरूलाई दिनदिनै सन्तानको सहारा चाहिने अवस्थामा बिना कसुर अदालत धाउनु परेको थियो । गाउँका मानिसहरू तृष्णा भरिएको उत्तर पाउन अदालतको फैसलाको चासो राखेर कान ठाडा पारिराखेका थिए । भन्थे —‘कृष्ण कसको छोरा हो ? भनेर फैसला होला ?’

अदालतलाई यो मुद्दा फैसला गर्न तीन वर्ष लाग्यो । त्यो अवधिभरि कृष्णले आमाबाबुकै साथमा बसेर शैक्षिक उन्नति गर्‍यो । आर्थिक प्रगति गरेर ठुलो फट्को मार्‍यो । ऊ समृद्ध बन्यो ।

आज फैसला हुने दिन वृद्धाहरू अदालतको इजलासमा थिए । महिला उसका केही महिला मित्रहरूसँग विपक्षको ब्रेन्चमा आशावादी भएर बसेकी थिई । कृष्ण अदालतमा आएन ।

कृष्णको ‘डिएनए’ परीक्षणबाट पत्ता लाग्यो । न्यायाधीश फैसला सुनाए । कृष्ण माधव र पार्वतीको सन्तान होइन । आजको फैसला सुनेर एकोहोरिँदै टोलाएका वृद्धा दम्पती शरीरको कलेजाको टुक्रा चुँडिएर खसे झैँ भई आघात परेर भुइँमा एकैचोटि ढले । अचेत भए उनीहरू । महिला प्रसन्नताको अभिव्यक्तिले कृष्ण आफ्नै सन्तान हो भनी कल्पनामा पहिलो अनुरागपूर्ण स्पर्शमा स्वाभिमान भई ऊ । विधिवत् प्रकृतिका पागलहरूको पनि एकदिन दिन फर्कँदा रहेछन् ।

यथार्थ कतै लुकेन । बच्चा जन्मिएकै रात घाटी सुकेर मर्न लागेको शिशु पागल आमा तुलसा निधाएको अवस्थामा पल्लो ओख्रे गाउँका निसन्तान माधव र पार्वतीले उठाएर उद्धार गरेका थिए कृष्णको । उनीहरूले धर्मपुत्र पाल्ने निर्णय गरेर यो कदम उठाएका सत्य तथ्य थियो । पागल तुलसालाई सन्तान हराएको कुनै खातिर थिएन । बल्ल भोलिपल्टदेखि बच्चा हराएको थाहा पाई छ । उसको पागलपन झन् उर्लिएको थियो । गाउँमा ढुंगामुढा गरी रोइकराई गर्दा गाउँ त्रसित भएको त्यो बखत तुलसालाई के पत्तो ।

गाउँले भन्थे — ‘पागल्नीले बच्चा फ्याँकी छ ।’

कोही भन्थे — ‘कठै…त्यही राति स्यालले बच्चा लगेछ क्यार !’

माधव र पार्वती यो प्रोजेक्टमा सफल थिए । विभिन्न कारणले बिग्रिएका गाउँका चेलीबेटीको भरणपोषण गर्ने च्यारेटी संस्था ‘माइती नेपाल’को आँखा एक दशकपछि गाउँमा बल्ल परेको थियो । तुलसाको उद्धार निकै ढिलो भए पनि केन्द्रमा रहेको ‘माइती नेपाल’ संस्थाले पुनर्वास गराएको थियो । ‘माइती नेपाल’ को संरक्षण पाएपछि केही वर्षमै तुलसाको स्वास्थ्यमा सुधार भई संस्थामै बसेर सानोतिनो धन्दा गर्न थालेकी हो उसले ।

ऊ पूर्ण स्वास्थ्य भएपछि ऊसँगै ‘माइती नेपाल’ केन्द्रमा पुनर्वास पाएका उसका धूर्त सहपाठीले तुलसाको कान फुकेका थिए ।

उनीहरूले भने — ‘ओख्रे गाउँका वृद्ध दम्पती माधव र पार्वतीले पालेको आज्ञाकारी युवक कृष्ण तिम्रो सन्तान हो । तिमीले आफ्नो सन्तानको हक पाउँछौ । जाऊ अदालतको ढोका घचघच्याउ ! आफ्नो रगतले बनेको लायक सन्तान पायौ भने तिम्रो भाग्य चम्किन्छ ! तिमी हामीजस्तो लर्तरी हैनौ ! बुझ्यौ के ? सधैँ तिमीले यहाँ हामीसँग बस्नु पर्दैन !’ ऊ उचालिई ।

यसरी उसको कान फुकेपछि आफ्नो सन्तान हेर्न ऊ माधव र पार्वतीको घरमा धाउन थालेकी हो तुलसा । त्यस्तो हुनिहार वैधानिक सन्तान जिउँदो हुँदाहुँदै कत्ति दिनसम्म तुलसाले सहँदै चुप लागेर बस्ने र ? उकेरा लागिएकी तुलसा चुप लागेर बसिन । यसरी उजुरी अदालतमा दर्ता गरेकी हो ।

हिजो आज एकान दुई कान हुँदै गाउँमा अचम्मले यो हल्ला फैलियो — ‘वृद्ध दम्पतीको सन्तान कृष्ण होइन रे ! तर, पागल आमाबाट मर्ने अवस्थाको नवजात शिशुको उद्धार गरेर ज्यान बचाएको । भरण, पोषण, शिक्षादीक्षा दिएको आधारले माधव र पार्वतीको नै सन्तान सरहको कृष्ण भएको निर्णय भयो । आज्ञाकारी कृष्ण दम्पतीलाई नै जिम्मा लगाइयो रे !

आफ्नो वैधानिक छोरो कृष्ण नपाएपछि तुलसा फेरि पागलजस्तै भई । उसको अन्तिम अवस्था सकार्ने पुनर्वास संस्थाबाहेक कोही थिएन । तर ज्ञानी कृष्णले यो कुरा बुझेको थियो । वृद्धावस्थाका बाबुआमाको अनुमति लिएर कृष्णले जन्मदिने आमा तुलसालाई माधव र पार्वतीको घरमा संरक्षण दिएर निरन्तर माधव र पार्वतीलाई दिएकै सम्मान दिएर बराबर भरण पोषण गरिरह्यो । कृष्णको यो कृष्णचरित्र देखेर गाउँका मानिसले कृष्णलाई अनगिन्ती स्याबास दिए ।

कृष्णको घरमा अब चार जनाको परिवार भयो । वृद्ध मातापिताले गाउँको प्रतिष्ठित परिवारमा कृष्णको विवाह गरिदिए । केही सालपछि दुई वर्षको फरक पारेर कृष्णका वृद्ध मातापिता स्वर्गवास भए । यिनीहरूको मृत्यु हुँदा कृष्ण टाउको भित्तामा बजारी बजारी खुबै रोयो । धेरै समयसम्म तिनीहरूको खातिर गरिरह्यो । निकै दिन दुःख मान्यो । हुन पनि भगवान् जस्ता ती आमाबाबुले उसको जीवनदान दिएको कठोर अवस्था बारम्बार सम्झेर यसो गथ्र्याे । धेरै दान दक्षिणा गरेर श्रवणकुमार कृष्णले दुवै पटक बाबुआमाको क्रिया काण्ड सिद्ध्यायो । गाउँलेले कृष्णको सारै प्रशंसा गरे । हुन पनि कृष्णले बाचुन्जेल वृद्ध आमाबाबुको हेरविचार गर्न र स्याहार सुसार गर्न कुनै कसर बाँकी राखेको थिएन । मरेपछि पनि कर्तव्य भन्दा माथि उठेर उसले अत्यष्ठि गरेको थियो । गाउँमा जजमान गर्न बिहान बेलुका उकालो ओह्रालो धाइरहने गाउँकै मान्ने गन्ने ब्रह्मचारी पुरोहित उही हरिचरण ढकालले पटक पटक गरेर उसको बाबुआमाको अत्यष्ठि सम्पन्न गरिदिए । कृष्णले पुरोहितलाई दुवै पटक दान दक्षिणा मनग्गे दिएर स्व. पिता माधवकै सम्मान दियो ।

‘उनै ब्रह्मचारी पुरोहितले पाटीमा पागल्नीले बच्चा जन्माइछ’ भनेर थाहा पाई पाई गाउँमा हल्लाखल्ला गरेका थिए । बागल तुलसालाई बलात्कार गरेर सन्तान दिलाउने यिनै चरित्रहीन पुरोहित हुन भनेर गाउँमा पहिलेदेखि नै गाइँगुइँ हल्ला चल्न चैँ चलेको थियो ।