दुर्गममा जागिर खाएर जानुपर्ने अवस्था आयो । सुगममा जति निवेदन दिए पनि प्रायः एनजिओकै आफन्त राख्दा रहेछन् ।

‘प्रयास’ नामक गैरसरकारी संस्थामा प्लानिङ अफिसरमा नाम निस्किएपछि अलिक ढुक्क भएको थियो मन । बाआमा र छोरी खुसी भएका थिए । श्रीमानसँग डिभोर्स भएको पनि करिब  ८ वर्ष भइसकेको थियो । यो बिचमा धेरै उतारचढाव भोगेँ । बाआमाको साथ पाएकी थिएँ । माइतीमै हुर्केकी थिई काखकी छोरी । ऊ अहिले गाउँमै पढ्छे। दुःख सुख गरेर एउटा सानो घर बनाएकी छु । ऋण छ । हरेक महिना किस्ता तिर्नुपर्छ । यो बैङ्कको लोन नभएको भए यति दुर्गममा गएर काम गर्ने हिम्मत पनि गर्दिनथेँ ।

नेपालमा एनजिओ र आइएनजिओ प्रायः नेता र तिनका आफन्तका नियन्त्रणमा छन् । राजनीतिक पार्टीका कार्यकर्ता भर्तीकेन्द्र र डलर कमाउने श्रोत बनाएका छन् तिनले । चुनावमा खर्च जोहो गरिदिन्छन् र पो सबै प्रोजेक्ट पास हुन्छ । प्रायः सबै एनजिओ, आइएनजिओ नेताहरूका आम्दानीका श्रोत हुन् । त्यतिमात्रै नभएर नेताका माइली-साहिँली-कान्छीहरूका लागि जागिरको श्रोत पनि हो एनजिओ/आइएनजिओ । यहाँ  एनजिओ ठुलाठालु व्यक्तिलाई रोमान्स गर्ने र डलर भित्र्याउने माध्यम बनेको छ । त्यसैले पनि यो कहिले बन्द हुँदैन । कसैले हटाउन पनि सक्तैन ।

योभन्दा अगाडि काम गरेको संस्थामा हाकिमले गिद्धे नजर लगायो । दिउँसै धाप मार्न र छुन आउँथ्यो । आफूलाई अलिक असहज भो । मन परेन । जागिर छोडेँ र घर बसिदिएँ । बस्दा पनि फोन गर्थ्यो, आऊ कि आऊ भनेर । झ्याउ लाग्यो । गइनँ ।

अनुभवी थिएँ । प्रायः सबै काम आउँछ । काम जानेको र ज्यान खाइलाग्दी छु । ३०-४० हजारको जागिरलाई आपत्ती छैन । योपाली चैँ लगभग एक लाखको जागिर छ । दुर्गममा भए पनि स्वीकार गरेँ । जानुपर्ने फाप्लु । हवाईजहाजको टिकट पाउन गाह्रो थियो । परल मूल्यभन्दा दुई हजार बढी दिएर टिकट किनेँ । भोलिपल्ट ११ बजेको फ्लाइट थियो । ९ बजे आन्तरिक टर्मिनल पुगेँ । काउन्टर खुलिसकेको थियो । चेकइन ब्याग अलिक धेरै थियो । काउन्टरमा बस्ने कर्मचारीले दुई हजार घुस मागे । चेकिङ कर्मचारीले  “पैसा नतिर्नी भए सामान यतै डस्टबिनमा फ्याँक्नु” भने । रिस उठेर आँखा देखिनँ । एक निजी एयरलाइन्सको कर्मचारीको यस्तो फुर्ती ? अचम्मित भएँ । रिसले आँखा पिरो भो । सबै सामान लिएर जानुपर्ने नै थियो । अलिक बढी भनेको ज्याकेट दुई जोर थ्यो ।

मभन्दा पछाडि एक जना भलाद्मी व्यक्ति थिए । तिनको चेक इन ब्यागेज थिएन । कर्मचारीले मप्रति झर्केर बोलेको देखेर उहाँलाई पनि असह्य भएछ, एकाएक मसँग बोल्नुभो, “मसँग ब्यागेज छैन । तपाईँको बढी भएको ब्याग मेरो नाउँमा चेक गर्नु न म्याम ! आखिर हामी एकै ठाउँमा पुग्नू त हो !”

मैले “हस्” भनेँ ।

ब्यागेज उहाँको नाउँमा चेक भयो । दुवैको बोर्डिङ पास र लगेज ट्याग उहाँले लिनुभयो । त्यसपछि सँगै सेक्युरिटी चेकमा लाइन लाग्यौँ । कति राम्रो स्वभाव उहाँको ! यस्तो लाग्यो, हामी धेरै पहिलेदेखिका परिचित हौँ । व्यवहार पनि शान्त लाग्यो । मलाई अघि लाउनु भो ।आफू पछि बस्नु भो । मभन्दा पछि बसेको मान्छे कतिबेला लाइन छोडेर हातमा कफी पो बोकेर आउनु भो ।  हामीलाई एकै रोमा सिट रहेछ, पछि बोर्डिङ भएसि थाहा पाएँ ।

सिट नम्बर ४ र ५ मा हामी बस्यौँ । उहाँले मलाई झ्यालमा बस्न अनुरोध गर्नुभो । म पनि झ्यालको सिटमै बस्न चाहन्थेँ । मेरो बोर्डिङ पास पनि उहाँकै हातमा थियो । ‘हजुरको नाम सम्झना थापा है !’ भनेर मुसुक्क हाँस्नु भो । म एकछिन अकमक्किएँ । उहाँलाई कसरी मेरो नाम थाहा  भो ? सोधेँ । उहाँ मुसुक्क हाँस्नु भो र मेरो हातमा बोर्डिङ पास थमाउँदै भन्नभो, “हजुरको बोर्डिङ पास हेरेर ।”

हामी दुवै हाँस्यौ।

मौसम खराब थियो । रामेछाप मन्थलीमाथि पुगेपछि जहाज बेस्सरी हल्लियो । म चिच्याएर ती पुरुषको हात समाउन पुगेछु । जहाज हल्लिन छोडेपछि आफ्नो हात उहाँको हातबाट छुटाएँ । अलिकति लाज लाग्यो । सरी भनेँ । सङ्कोचले गाला रातो भयो । झ्यालबाहिर हेरिरहेँ, भित्र हेर्नै अप्ठ्यारो लाग्यो । झन् उहाँको अनुहारमा कसरी हेर्नू ? अलिकति असहज महसुस भयो । सङ्कोच  लागेर टुइन अटरको सानो झ्यालबाट बाहिरै हेरिरहनुको विकल्प थिएन ।

अलि अलि बादलभित्र थियो जहाज । टर्बुलेन्स पुरै थामिएको थिएन । यतिकैमा जहाज ल्यान्ड भयो । धन्न ! ग्राउन्डचैँ क्लियर थियो । ब्यागेज एरियामा एकछिन कुर्‍यौँ । उहाँको ब्यागेज थिएन । मेरा लागि भए पनि एकछिन उभिइदिनु भयो, मसँगै ब्यागेज एरियामा । मलाइ भने अघि जहाज हल्लिँदा उहाँको हात समाउन पुग्नाले लाज लागिरहेकै थियो ।

सामान आइपुग्यो । उहाँले आफ्नो हातमा लिएको ब्यागेज ट्याग मलाई दिनुभयो । मैले ब्याग तानेँ । ब्याग गह्रुङ्गो थियो । गाह्रो गरेर तानेको देखेर उहाँले फेरि सहयोग गर्नु भो । झन्डै पच्चीस  किलोको वजन भएको ब्यागप्याक बल्लतल्ल भिरेँ । अझै हातमा ल्यापटप र एउटा सानो ब्याग थियो । म त्यो ठाउँमा बिल्कुलै नयाँ थिएँ । जिल्ला सर्वेक्षण कार्यालयमा हाम्रो “प्रयास”को पनि अफिस थियो । गुगल म्याप हेरिसकेको थिएँ । हिँडेर बिस मिनेटमा अफिस पुग्न सकिन्थ्यो । छ महिनाका लागि शेर्पा लजमा अफिसले नै खानबस्न प्रबन्ध मिलाएको थियो । छुट्टिनुअगाडि उहाँले सोध्नुभयो – “म्याम, हजुर कहाँ पुग्नुहुन्छ ?”

“जिल्ला सर्वेक्षण कार्यालय ।”

“कति दिनको बसाइ हो नि !”

“जागिर नै यतै हो सर अब ।”

“को को हुनुहुन्छ अफिसमा ?”

“हामीहरू सिङ्गो टिम नै छौँ ।”

“हस्, खुसी लाग्यो भेटेर ।”

“सहयोगका लागि धन्यवाद सर !”

“हस्, धन्यवाद म्याम ।”

===

एकजना लामा दाइ आइपुगे । ती दाइले उहाँको हातको सानो झोला लिए । अरू पनि केही स्थानीय आएका थिए उहाँलाई लिन ।

मेरो ब्याग गह्रुङ्गो थियो । धेरै बेर उभिन सकिनँ । अघि डरले हो कि ज्यान थरथर कपिरहेको थियो । प्यास लागेको थियो । ती मान्छेहरूको भिडमा असहज पनि लाग्यो । त्यसैले तलतिर लागेँ ।

बिहानको घाम झलमल लाग्यो । पर्वतबाट हावा बहन थाल्यो । मलाई पुग्नु छ “प्रयास” अफिस । अलिकति बाटो भुले जस्तो भो ।

एक जना स्थानीयलाई सोधपुछ गरेँ । उनले हाम्रो गैरसरकारी संस्था देखेका रहेछन् । बरा, आफैँ पुर्‍याउन तम्सिए । गह्रुङ्गो गरी झोला बोकेको देखेर मेरो ल्यापटपको ब्याग बोकिदिए । केहीबेरमा हामी अफिस पुग्यौँ । अफिसमा दुई महिला बहिनीहरू थिए । एक जना भाइ प्रशासन हेर्ने र अर्का एक जना का.स दाइ हुनुहुँदो रहेछ । एकाउन्टेन्ट नै कार्यालय प्रमुख  हुने उक्त अफिसमा एकाउन्टेन्ट भने काठमाडौँ काजमा जानु भएको रहेछ, त्यो पनि सुत्केरी बिदामा सात दिनका लागि । भोक, तिर्खा र थकान भएकाले म खाना खान र आराम गर्न शेर्पा लज निस्किएँ । मलाई अलिकति पैसाको आवश्यकता थियो । प्रशासक भाइसँग मागेँ र बुकिङ गरेको होटेलमा खाना खान र ब्यागेज राख्न निस्किएँ ।

कार्यालय पुगेको दिन रेस्ट गर्न पाइने नियम रहेछ । खाना खाएँ । चिसोले खाना छिटो सेलाउने भएकाले शेर्पा दिदीले खाना बेलैमा खान अनुरोध गरिन् । थुर्पीनी दिदी असाध्य मजाकी रहिछिन् । दुइटा बच्चा रहेछन् । श्रीमान् ट्रेकिङ जाँदा रहेछन् । होटेल देख्नलाई साधारण भए पनि सुत्नभन्दा खाना महँगो रहेछ ।

खाना खाएपछि आराम गर्न मलाई रुम पुर्‍याइदिइन् । कोठा न्यानो, सुन्दर र सफा थियो । अब ६ महिनाका लागि प्रोजेक्ट नसकुन्जेल मेरो घर भने पनि कोठा भने पनि यही त थियो ।

एकछिन आराम गरेँ । थुर्पी दिदीसँग वाइफाइको पासवर्ड मागेँ । वाइफाइ चल्यो । ओछ्यानमा लम्पसार भएँ । फेसबुक चलाएँ । उता घरमा पुगेँ भनेर खबर गरेँ ।

पहिला काम गरेको अफिसको हाकिमले के के भनेर म्यासेज गरेको रहेछ । लाजै नभाको मुर्दार । ब्लक गर्दिऊँ जस्तो नि लाग्छ कहिलेकाहीँ त । मन परेको भए पनि लौत च्याटच्याट गरूँ समय काटूँ भन्नू । गिद्धका जस्ता आँखा छन् कुइरा । श्रीमती भएको पुरुषले त कमसे कम नजिस्किनु नि हो ! अनलाइन थुप्रै साथीहरू थिए ।

केटीभन्दा केटा साथीहरूसँग च्याट गर्न रमाइलो लाग्छ । आज पहिलो दिन त हो, आ जे त होला …. रमाइलो गरेर बस्नी हो ।

एक्लै हुँदा कहिलेकाहीँ पिउन मन लाग्छ । यो बानीचैँ मलाई दोलखा बस्दा लागेको थियो । ग्रुपमा केटाहरूसँग बसेर पिऊँ भने फेरि बिग्रेकी केटी  भन्छन्, अनि सिधै बेलुकी ओछ्यानमा निमन्त्रणा गर्छन् । बरु एक्लै पियो । बस्यो । टिकटक बनायो । च्याट गर्‍यो ।

एउटा टिकटक बनाउने खाइलाग्दो केटासँग केही दिन गहिरो लभ पर्‍यो । पछि उसका थुप्रै फ्यान रहेछन्, एकाएक हरायो । केही दिन दुखी भएँ । दुई चार दिनको मेसेन्जर च्याटको लभले पनि मन दुखाउँदो रहेछ ।

भरतपुरको एक जना साथीसँग च्याट गर्दै थिएँ । मेरा हरेक फेसबुक स्ट्याटस सेयर गर्दिन्छ बरा । केटो ह्यान्डसम छ । आफूलाई केही लेख्न नआउने बुज्रुकहरू अर्काको स्ट्याटस सेयर गर्छन् । केटो खाइलाग्दो भए पनि अलि भुत्ते छ । भुत्ते कुरा गर्छ ।

मनमा लागेको कुरा सिधा भन्न सक्तैन । त्यस्तो केटा देखेर चैँ दिक्क लाग्छ । केटा त तेजिलो होस् । धारिलो होस्, छुरा जस्तो । गाली गरोस् । हप्काओस् । निहुँ खोजोस् । कहिलेकाहीँ बाझोस् । जुधोस् । थर्काओस् । गिजोलोस् । खप्पिस होस् हरेक कुरामा । लाटो पो जे गरे पनि सहिरहन्छ, बाठो त झगडा गरिहाल्छ नि ! अनि पो मजा । सधैँ ‘हजुर, तपाईँ सन्चै, आरामै, खाना खानु भो, तरकारी के खाको ? के गर्दै ?’ भन्ने लुत्याङग्रा के काम ?

म सिङ्गल मदर पनि हुँ । एक प्रकारको स्वतन्त्रता पनि छ । प्रेमको ढोका खुला पनि छ । म निर्धक्क कुनै पुरुषसँग कुरा गर्न सक्छु । लोग्ने हुने आइमाईहरूभन्दा म आफूलाई भाग्यमानी सम्झिन्छु किनकि कसैको दबाबमा खुम्चिनु परेको छैन । सोसल मिडिया छ र त नयाँ नयाँ मान्छेसँग नजिकिने मौका पाइन्छ । एकवारको जुनी हो, किन खुम्चिनी ? रमाइलो गर्नी, खानी, पिउनी, हाँस्नी, नाच्नी र बाँच्नी हो ।

खै के के सोच्दै थिएँ । चार बजे नै रात परेजस्तो भैसकेको थियो । थुर्पी दिदीलाई एक बोतल एप्पल वाइन ल्याउनु भनेको थिएँ, ल्याइछन् । घाम अस्तायो । बाहिर  चिसो थियो । वाइन, ग्लास, चिकन, मम र पानी राखेर उनी तल ओर्लिन् ।

एक्लै हुनु आफैँमा पनि कति रमाइलो छ । आफूलाई त बानी परिसकेको थियो । वाइन खोल्नै लाग्दा मैले जहाजमा सँगै यात्रा गरेका ती सहयोगी पुरुषलाई सम्झिएँ । तिनको हात समातेको याद आयो । पुरुष होस् त त्यस्तो । बलिष्ठ हात । डरले थर्थराएको मेरो हातलाई उनले एकछिन मजबुतले समाते । मलाई डराउन दिएनन् । समस्या परेका बेला आफैँ काँप्ने पुरुष के काम ? आफ्नै हात हेरेँ एकछिन । छामेँ । यसो वासना सुँघेँ । सत्य भनूँ – उहाँलाई समातेपछि मलाई त्यो हात धुन पनि माया लागेको थियो । अर्कै अत्तर थियो । एक पौरुष सुगन्ध । बलिष्ठ हात । कडा पनि  खस्रो पनि । एकछिन छुँदैमा पनि कस्तो आमोद अनुभूति ? लाजले झ्यालबाट बाहिर हेर्न बाध्य भएँ । त्यस्ता पुरुषहरू एकछिन देख्दा र भेट्दा पनि अर्कै न्यानो अनुभूति हुन्छ । अर्कै उत्साह हुन्छ ।अर्कै हुरी मडारिन्छ दिलको कुना कुनामा।

वाइन खोलेँ । गिलासमा राखेँ । चिसो बढ्दै गयो । झ्यालढोकाबाट छिर्दै आएको हावाले कान नै दुखायो । उठेँ । सबै झ्याल बन्द गरेँ । बत्ती बालेँ ।वाइनको गिलास सिरानीमै राखेँ । आधा गिलास पिएँ । मजा आउन थाल्यो । फेरि यसो टिकटक हेरेँ । ओछ्यानमा बसेर एउटा टिकटक पनि बनाएँ । हिउँ पर्लाजस्तो भो । भोलि हिउँ पर्‍यो भने टिकटक बनाउन हिउँमा साथीहरू लिएर जानुपर्छ ।

फेसबुक खोलेँ । थुप्रै केटाहरूको रिक्योस्ट आएको थियो । तीमध्ये एक जनाचैँ एसेप्ट गरूँ गरूँ लाग्यो । गरेँ ।  गर्नासाथ उताबाट ” हेल्लो” भन्ने शब्द लेखियो । च्याट लम्बिँदै गयो । आफूलाई वाइन पिउँदै केटासँग गफिनु अर्कै मजा लाग्छ । यो केटा अचम्मको लाग्यो । पहिलो एक दुई च्याटमै पुरै आक्रमण के ! प्रोफाइल पिक्चरमा बाघ थियो । अनि स्क्रिन चैँ सगरमाथा हिमाल ।

मैले सोधपुछ गरेँ –

के नाम हो हजुरको ?

सन्तोष आचार्य ।

कहाँबाट हजुर ?

जङ्गलबाट ।

बाघको प्रोफाइल पिक्चर राखेर जङ्गलबाट भन्नुभएको हो ?

ही ही ही ..!

किन ही ही नि ! बाघ हो भने गर्जिन पर्छ ।

बाघ हुँ, पशुको होइन मान्छेको सिकार गर्छु ।

साँच्चै हो ! डर लाग्यो ।

नडराउनु, दिउँसो जहाजमा जस्तो… ।

यति भन्नासाथ मैले चिनिहालेँ ती व्यक्तिलाई । कस्तो झन्झनायो दिमाग पनि । अर्कै रमाइलोले छुन थाल्यो । लामो च्याट भो । रातको १ बज्यो । निन्द्रा लागेन । एक बोतल सिङ्गै वाइन पिइसकेछु । कस्तो रमाइलो भएको छ, के के बोलेँ ती मन परेको मान्छेसँग ।

उनले पनि सम्भवतः पिएकै हुनुपर्छ, नत्र यति गतिछाडा पक्कै बोल्दैनथे । खै, मैले पनि केही बढी नै पो बोलेकी ? पुरुषहरू कि नसा लागेपछि बढी बोल्छन् कि दशा लागेपछि बढी  बोल्छन् । भिडियो च्याट गरौँ भन्नु भो । मैले हुन्न भनेँ । मलाई वाइन लागेको छ भनेँ । “मैले पनि एक्लै पिएको कस्तो बोर भाछ” भने ।  दुवै पिएका पर्‍यौँ हामी त्यो रात ।

कहाँ हुनुहुन्छ भनेर मैले सोधपुछ गर्दा “तपाईँको कोठा भन्दा सिधा दायाँतर्फको मेरो रुम” भन्नु भो । साह्रै जिद्दी गर्नु भो ।

“हजुर मेरो रुममा आको कसैलाई थाहा त हुन्न नि है !” मैले भनेँ ।

“सबै मस्त निन्द्रामा छन् । म सुटुक्क आउँछु क्या, प्लिज ! कसैलाई थाहा हुन्न । बरु एक घण्टा बसेर म आफ्नै रुममा फर्किउँला नि हुन्न ?”

खै किन हो ? मैले हारेँ । मेसेन्जेरबाटै ढोका खोल्नु भन्नु भो । म उठेँ । बत्ती पनि बालिनँ ।अँध्यारो नै छ कोठा । बत्ती बाल्दा कसैले थाहा पाउलान् भन्ने त्रास । पातलो काठले बारेको भित्ता थियो ।

अलिकति खाट हल्लियो भने पनि पल्लो रुमकाले थाहा पाउलान् भन्ने त्रास । कसैले खोक्ता पनि सुनिने । बिस्तारै चुकुल खोलेँ । उहाँभित्र पस्नु भो । श्वास नै रोकिए जस्तो भो । एक प्रकारको रमाइलो पनि छ । अर्को त्रास पनि छ । मोबाइल बालेर मुहार हेरेँ । उही पुरुष जो दिउँसो  मलाई जहाज हल्लँदा निडर बनाइदिने । त्यही हात फेरि समाते त्यही अँध्यारोमा । बल्ल परिचय भो, “म हजुरको एकाउन्टेन्ट सन्तोष ।”

वातावरण नै एकाएक तातो भएजस्तो लाग्यो । एक प्रकारको मादकताको काँडा उम्रियो शरीरभरि ।ढोका खुल्लै रैछ । चुकुल हालेँ । भैँमा ओछ्यान लगाएँ । रातभर झिमिक्कै निन्द्रा लागेन । अर्को बोतल पनि कोठामा गएर ल्याउनु भो । हामी दुवै उस्तै पियक्कड र रसिक रैछौँ । मन उस्तै, आचरण उस्तै, व्यवहार उस्तै, चरित्र उस्तै  भएसि कतै न कतैबाट सम्बन्ध जोडिँदो रहेछ ।

उज्यालो हुनुअघि बल्लबल्ल अनुरोध गरेर उहाँलाई आफ्नो रुममा पठाएँ ।

यसैगरी छ महिना बितेको पत्तै भएन । कहिले हिउँ खेल्न गयौँ कहिले पिङ खेल्न गयौँ । कहिले टिकटक बनायौँ । कहिले कार्यक्रम गर्न गयौँ ।

आज छ महिना पछि, पुनः त्यही जहाज त्यही क्याबिन क्रु । सँगै कार्यकाल सकेर फर्किँदा पो सँगसँगै बितेका ती अविस्मरणीय पल सम्झेर आँखा आँसुले भरिए ।

जहाज उही रामेछाप मन्थली पुग्दा फेरि हल्लियो । योपाली उहाँको हातले मेरो हात समात्यो । जहाज काठमाडौँ एयर्पोटमा अवतरण भो ।

बाहिर एक जना मेरो साथी गाडी लिएर हामीलाई लिन पर्खिरहेको थियो । मलाई हरेक कुरामा सहयोग गर्ने एउटा असल साथी थियो ऊ । उसको सोझोपन र सहयोगलाई मैले जिन्दगीमा धेरैचोटि मिस्युज गरेकी छु ।  सम्बन्धहरू गाँसिनु र सम्बन्धहरू छोडिनु मान्छेको वशमा छैन रहेछ …. यही सोचिरहेँ । वनस्थली चोकमा मलाई छोडेर उहाँ फर्किनु भो । मेरा खराब कुराहरू सबै सबै थाहा पाएर पनि होला, गाडीमा उहाँ मौन रहनु भो ।

.. सायद हाम्रो जिन्दगीमा त्यस्तो भेट  कहिले नहोला अब । खराब र सराब मान्छेसँग त बारम्बार भेट भइरहन्छ तर असल मान्छे मुस्किलले भेटिन्छ र गुमेपछि फेरि देख्ने अवसर नमिल्दो रहेछ ।