किरिङ्ग‍‍‍‍…. किरिङ्ग….. फोनमा बजेको आर्लामको कर्कश ध्वनिले सायराको निन्द्रा भङ्ग गर्‍यो । सिरानी छेउमै एकोहोरो बजेको फोनको बटन दबाई, बल्ल शान्त भयो ठाँडो । यसो समय नियाली, मोबाइलको स्क्रिनमा देखियो ५ः०० ए.एम. ।

फोनमा आर्लाम किन लगाएको थिएँ भन्ने सोच्दा सोच्दै रमेश अङ्कलको फोन आयो । अङ्कलले एकै श्वासमा भन्नुभयो,  “छिट्टो तयार होऊ, हामी लामडाँडा आइसक्यौँ ।”

अब हिजो रातिका सबै झझल्काहरू एकपछि अर्को गर्दै दिमागमा छरिन थाले ।

आमा, कान्छी दिदी र दाइ एकातिर हुन्न भन्ने, बुवा र ठुली दिदी उनीहरूको विरोध गर्ने । फुपू दिदी भने मेराअघि नकराओ भन्दै झिजो मान्ने । एउटी भाउजू मात्र थिइन् जो शान्त भई सबैका कुराहरू सुनिरहेकी ।

आमाले भन्नुभएको थ्यो, “धेरै हतार नगराैँ । उमेर छ, अझै केही समय कुरौँ । पहिले पनि घर बिग्रिएकी छोरी । त्यो समयमा उसलाई नर्कजस्तो जिन्दगीबाट निकाल्न कति सास्ती खेप्नु पर्‍यो, सोचेका छौँ ? अब त केटो राजकुमार नै किन नआओस्, केरकार नगरी र साक्षी नराखी छोरी दिने नै होइन !”

बुवा र जेठी दिदी एकमुख लागेका थिएँ , “केटो पढेलेखेको र ज्ञानी पनि छ । सम्पत्तिमा सम्पत्ति छ । अझ कुमार केटो भइकन सायराको जीवन सर्पानकै लागि, ऊसँगै भए मात्रै बिहे गर्छु भन्दै छ । यो त पुण्य हो, सायरामाथि ठुलो कल्याण हो । किन बुझ्दैनौ तिमीहरू ?”

होसियारी गराउँदै ठुलो बुवाले भने, “अलिक दिनपछि म पनि काठमाडौँ जान्छु, दाइ जागिरमा । घरमा तिमीहरू महिलाहरूमात्र, फेरि डिभोर्स भएर के भयो र ! गाउँभरि त्यही घरबाटै गुन्डा लाएर अपहरण गर्छु भन्ने किसिमका हल्ला गर्दै हिँड्छ रे ! घर र सबैको सुरक्षाबारे पनि त सोच्नु पर्‍यो । ”

“फेरि जति नै बुझे नि कुरा केटाकेटीको हो । उनीहरू राजीखुसी छन् भने हामीले हस्तक्षेप गरेर हुन्न । यही केटो नभए अर्को आए नि अधबैँसे, छोराछोरीको बाउ त आउला नि यसलाई ।”

ठुलो बुवाले यति भनिसक्दा ढोकाछेउमै उभिएकी सायराको बत्तीको टकमा टिलपिल टल्किएका आँखाहरू देखिए । दुई मत हुँदाहुँदै आमा र कान्छी दिदी एकातिर लागे  । आमा त ढोकाबाट निक्लिँदा पनि मेरी छोरीलाई कसैले कान नभरिइदेओ भन्दै निस्किथिइन् ।

ठुलो बुवाले भनेका थिए, “कोही नभए हाम्रो साथ छ । तँ जा, आफ्नो सुरक्षाका लागि जा । अब जिन्दगी बनाउने जिम्मा आफ्नै हो ।”

ठुली दिदीले थपेकी थिइन्, “हो, तेरो एउटा गल्तीलाई हामीले मौका दिइसक्यौँ । अब अर्को गल्तीका लागि हामी जिम्मेवार रहन्नौँ । सजग रहनू ।”

यति भनेर बुवा र दिदी पनि हिँडेका थिए ।

सायरा त्यहीँ अगेनामा बलिरहेको कोइला हेर्दै कतिखेर निदाई, पत्तै पाइन ।

हिजो रातिका स्मृति सँगेल्दै गरेकी सायरालाई फेरि फोनको दोस्रो घण्टीले झकझकायो । फोनमा रमेश अङ्कलले हामीमाथि रोडमा गाडी रोकेर बसेका छौँ, छिटो गर भन्दै फोन काटे ।

धारामा सुकाउन राखेको एक जोडी कुर्ता सुरुवाल थ्यो । त्यो लगाई धारामा हात मुख धोई, सायरा निस्की । आमा माथि गोठमा थिइन् र भाउजू खोले पकाउँदै । अरू सबै मस्त निन्द्रामा थिए । हातमा केही लत्ताकपडा नबोकी, कसैलाई नउठाई सायरा अघि बढी, त्यही ठाउँमा जहाँ रमेश अङ्कलले आउन भनेका थिए ।

उसका हातपाउ डरले अघि सर्न हडबडाइ रहेका थिए । मनले भने आफैँलाई दोषी मानिरहेको थियो । आफ्नै घरमा केही बिराएर हिँडेजस्तो, कसैलाई गलत गरेर अपराधीजस्तै मुख लुकाएर हिँडेजस्तो ।

केही वर्षअघि पनि ऊ यसरी नै त्यस घरबाट हिँडेकी थिई तर त्यो समय यसरी हिँड्दा के के नै होला भन्ने थियो । मनमा एक किसिमको उत्तेजना थियो । तर यस समय उसको मनमा डरले नराम्ररी डेरा जमाएको थियो । तीन वर्षपछि उसले फेरि त्यसरी नै हिँड्ने निर्णय गरेकी थिई जसमा थोरैको मौनसहमति थियो र धेरैको असहमति । तर यसपटक उसलाई असहमतिले धेरै फरक परेको थियो । सायद पहिलेकी सायरा भएकी भए, यही असहमतिले पनि उसलाई कुनै असर गर्दैनथ्यो होला ।

उसको मनमा द्विविधा थियो कि त्यसरी हिँड्दा पहिल्यै जस्तो घरपरिवारले कङ्कलै गर्दै हिँड्लान् कि राति कुरो चलेकै थियो, हिँडिछ भन्दा हुन् ।

सायद आज ऊ यसरी हिँड्दा कसैलाई ठुलो धोका नहुँदो हो जुन त्यो समय भएको थियो । स्कुल जानुअघि दाउरा लिन जङ्गल गएकी छोरी घण्टौँ नफर्किँदा र जङ्गलमा लडिरहेको डोको देख्दा सायद जङ्गली जनवारले टिपेर खायो होला भन्ने लख काटे सबैले । ऊ भाग्न पनि सक्थी, त्यो त पछि मात्र सोच्न सके जब घरमा लत्ताकपडा र जम्मा परेको खुत्रुकेको पैसा भेटिएन ।

माथि आरुबोटे गाउँको नाता पर्ने अल्लारे ठिटोसँग भाग्या’थी, ऊ । बाँधिनु नै नहुने नाता थियो त्यो । यत्तिका समय बाउआमा काठमाडौँ छन् भन्दै माया गर्दै भुवनलाई खानलाउन दिएर पुलपुल्याएर राखेकोमा काकीहरूलाई दरिलो झापड पर्याथ्यो । सारा गाउँलेले एक अल्लारे केटोलाई त्यसरी घरको भतुवा नबनाउन भन्दा नि बेवास्ता गर्दै दूधभात खुवाएको माथि दह्रो बेइमानी थियो त्यो ।

छोरी फकाएर, जालझेल गरी लग्यो भनेर बाउखालमा त ठुलै चर्काचर्की पर्यो । तर जब सायराले नै आफूखुसीको विवाह हो भनेर अदालतमा स्विकारी तब न माइती बोल्न सके न आफन्त वा गाउँले नै ।

आफ्ना पाइलाअघि सार्दै जाँदा आफ्नो १८ वर्षको उमेरको नमिठो गल्तीमा दुई थोपा आँसु झारी उसले ।

घर र माइती नजिकै, पानी पँधेरो जाँदा नि भेटिने, बाख्रा चराउन जाँदा नि, आखिर माइतीले उसले गरेको गल्ती भुल्न थाले र स्विकार्ने इच्छा जगाए । घरका पुरुषसिवाय सबै उसलाई भेट्ने र खाजा खर्च दिन थालिसकेका थिए । यिसै बिचमा उसलाई त्यो सम्बन्धबाट छुटाउन हरेक किसिमका प्रयास माइतीतर्फबाट भइरहे । त्यो साल उसले एस.एल.सी. पनि दिई ।

गाउँमा हरेक किसिमका लुटपाट, कुटपिटजस्ता उद्दण्ड क्रियाकलापमा भुवनेकै नाम आउँथ्यो एक नम्बरमै । सायराले खान पाएकी थिई, एस.एल.सी.पछिको पढाइ केटाकै बाउआमाको खर्चमा पढ्न पनि पाएकी थिई तर गैरजिम्मेवार सम्बन्धले उसलाई पक्कै भित्रभित्रै प्रताडित गरिरहेको थियो । उसको यसै सोचलाई बढवा दिँदै, आमाले केटाका हजारौँ अवगुण दर्साउँदै समय हुँदा नै छुटिन उसलाई उत्तेजित गरिरहिन् । अन्ततः दुई वर्षको द्विविदाधात्मक सम्बन्धबाट उसले पनि छुटिने निर्णय लिई ।

यस निर्णयपश्चात् ऊ माइत नै आई तर पारपाचुकेको निर्णय एकतर्फी रह्यो । केटा पक्षले हरतरहका भाँडभैलो गर्न कुनै कसर छोडेनन् । महिला मात्रै भएका घरका माथिल्लो रोडमा ठुल्ठुलो स्वरमा धम्की दिने, जाड खाएर ग्याङ लिएर चिच्याउँदै गीत गाउँदै हिँड्ने, गाउँभरि तथानाम बोल्दै हिँड्ने जस्ता हरकिसिमका दुर्व्यवहार देखाइरहे ।

सायराको सुरक्षाकै लागि घरका कोही न कोही खटिरहनुपर्ने अवस्था थियो । यसबिचमा सायराको पढाइ पनि पूरा हुन लागेको थियो । राम्रो खान र लाउन पाएर ऊ खुसी त थिई तर उसको आत्मबल नराम्ररी डगमगाएको थियो ।

ठिक्क एक वर्ष पूरै लाग्यो डिर्भोसको तारतम्य मिलाउन । यसबिचमा पनि हुनसम्म भयो । कति खर्च भयो । बुढीआमा, दिदी कतिपटक सदरमुकामको ओहोरदोहोरमा परे, कत्तिपटक भुवनेको उद्दण्डताका कारण त्यो जेल पर्यो र यसै मुद्दामा खटिन हिँड्दा भान्दाइ जिप दुर्घटनामा परेर आज पनि सहारा नभई हिँडडुल गर्न नसक्ने अवस्थाको भएका छन् । आफन्तसँग नै कति भनावैरी भयो र कति सम्बन्धहरू उथलपुथल भए ।

सायरा सोच्दथी, सब ठिकठाक हुँदै छ । सोच्दथी, उसले फेरि पनि आफूले गुमाएको स्थान र माया पाउनेछ । सायद यो सब सोचेजस्तो सजिलो थिएन । दिन व्यथित हुँदै गए । घरपरिवारबाट अपेक्षित माया र स्थान त मिल्यो तर त्यो सब आफ्नै छिमेक र आफन्तजनबाट हुन सकेन ।

तल्लो घरकी काकीकोमा ठुलो सप्ताह पुराण लाग्या थियो । सारा गाउँबाट मान्छे आए । सायरा पनि दिदी र आमासँग त्यहाँ पुगेकी थिई । सेल हाल्दाहाल्दै आगोले रापिए भनेर ठुली कान्छीले एकछिन आराम खोजिन् ।

सायराले ठुली कान्छीलाई पालो दिन पीठोमा हातमात्रै के हाल्न खोजेकी थिई, काकीले च्याप्पै हात समाइ मिल्क्याइदिइन् । अनि थर्काउँदै बोलिन्, “तँलाई यहाँ कसले बोलायो ? अर्काको कुलमा पसिसकेकी तँ मेरो कार्ज्यमा पस्न मिल्छ ?”

ठुली कान्छीले साम्य पर्ने कोसिसमा भनिन्, “आमासँग आ’की हो । बिस्तारै बोल्नु, सुन्लान् ।”

रिसले गर्जिँदै काकी कराइन्, “यो जन्मिनेबित्तिकै बाउ मरे । भिनाजुले त्यति माया गर्थे यसैलाई, ती पनि मरे । फेरि यसैको निम्ति हिँड्दा भान्दाइ कुँजो भए । के सुन्लान् ? किन बिस्तारै बोल्नु ? भएकै कुरा गर्दा, यसको त जन्म नै दोष रहेछ । यस्ता दोषीलाई खबरदारी गराएँ, के गलत गरेँ ? तँ आफैँ भन त ठुली कान्छी !”

यो गाली सायरा र ठुली कान्छीका कानमा मात्रै नभएर मतान, घर, गोठ र पल्लो छिमेकसम्म चारै दिशामा गुञ्जायमान भयो । यति दुःख खपी छोरीलाई घर ल्याउन पाएको खुसी मनाउन नपाउँदै सायराकी आमामाथि गालीगलौजको ठुलो बज्र प्रहार थियो ।

पूजाघरमा घमासान भनाभन भयो । वर्तमानको गल्तीमाथिको प्रहारलाई प्रतिकार गर्दै सायराकी आमा तल्लाघरे काकीका पुराना गल्ती पर्दाफास गर्न थालिन् । झगडा साम्य पार्ने कोसिसमा सायरा र परिवारलाई गाउँलेले पूजामा नरहनसमेत भने ।

परिवारले उसको गल्तीलाई माफी दिएर जीवन टेकाऊ गर्न ठुलो सहारा दिए पनि त्यो दिन काकीको त्यस्तो छुद्र व्यवहारले आफूले पहिलेजस्तो अस्तित्व र स्थान पाउन नसक्ने पक्का उसको मनमा गढ्यो । हुन त, अरूबेलै पनि खुलेर कोही पनि बोल्न खोज्दैनथे । त्यसैबाट नै समग्रमा अरूको सोचको पनि मूल्याङ्कन गर्न सक्नुपर्थ्यो उसले ।

नरे काकाले डिभोर्सलाई धाउँदाखेरी नै भन्थे, “डिभोर्सपछि माइत बसेर हुन्न । यतैबाट केटा मिलाउनु । हुन्छ मात्रै भन त !”

नभन्दैमा अदालतमै ल्याएर केटाको बाउसँग आमाहरूको भेट गराए । आमा त भड्किँदै नै थिइन्, त्यहाँ केही नबोले पनि । मुद्दाको फैसला हुँदै जाँदा केटो पनि आयो । जिउडाल मिलेको ब्याच्लर पढ्दै गरेको लायकको केटो थियो । केटोले एक दुईपटक सायरासँग भेट्यो, बाउलाई हुन्छ भन्यो र काठमाडौँ गयो पढाइका लागि ।

त्यस यता रमेश अङ्कलले नै सायराका परिवारसँग सम्पर्क बढाउन खोजे, कुरा राख्ने प्रयत्नमा जुटे । कोही छोरीको दोस्रो विवाह गराउने पक्षमा थिएनन्, ठुली दिदी र बुवा सिवाय । जवान केटो, कन्ने केटी नै पाउँदो हो,  किन सायरा नै भन्दै केटामा त्रुटि पहिल्याउने जमर्कोमा रहिरहे कान्छी दिदी र आमा । यदि उनीहरूले सोचेजस्तै केटामा त्रुटि भएको भए, सायरा आफैँलाई फेरि पनि अर्को  खतरा हुन सक्थ्यो र यदि राम्रो भएमा जिन्दगीलाई एक अवसर पनि त हुन सक्थ्यो ।

अरूले जे जस्तो भने पनि सायरा यी दुवै अवस्थालाई तयार देखिन्थी ।

सायरा साह्रै रूपवान् थिई । सायद यही दरिलो पाटो थियो कि केटाहरूसमक्ष ऊ स्वीकार्य भई ।

अन्ततः केही सीप नलागेस् रमेश अङ्कलले सायरालाई यो मिति र यो समय यसरी हामी तिमीलाई लिन आउने छौ भन्न मात्रै सके ।

सोच्दै हिँड्दा ऊ धेरैमाथि आइसकेकी थिई । पछि फर्केर हेर्दा मुस्किलले माइती घरको धुरी देखिन थाल्यो । रोडमाथि आइपुग्दा साइडमा उभिएका रमेश अङ्कल, रेसम र केही आफन्त गाडीसहित देखिए ।

आमा र दिदीले एक आत्मनिर्भर छोरी बनाउने ध्येयले घर फर्काएको तर आफैँले त्यो ध्येयमा पानी फेरे भन्ने सोचेर उसले मन अमिलो पारी ।

फेरि आफैँलाई सान्त्वना पनि दिँदै अर्को सोच गरी ‘जीवनभर उनीहरूलाई आफ्नो सुरक्षाका लागि कहिलेसम्म पहरेदार बनाउनु ? फेरि समाज र नातागोतामा आफ्ना लागि लडेर किन बुढेसकालमा दुस्मनी बढाउनु आफ्नै  निम्ति । आखिर बस्नु समाजमै हो र मर्दापर्दा चाहिने त्यहीका मानिसहरू हुन् ।”

रोडपारि आफ्नै लागि कुरेर बसिरहेको उसको भविष्य थियो त उसका वारि आत्मग्लानि, अपसोच र कमजोर आत्मबलमा रुमलिइरहेको उसको आज र विगत थियो ।

आफ्ना पाइला आफूअघिको भविष्यतर्फ बढ्दै गर्दा, उसले निर्धो आत्मबल सँगेल्दै अन्तिमपटक सोची, “मेरो कच्चा उमेरको गल्तीले मेरो वर्तमानलाई यति निर्धो बनाइदियो कि न घर, समाजबाट टाढा रही आफ्नो पहिचान बनाउन आँट गर्न सके न त विगतको  कुनै अफसोस नमानी, समाजका कुरालाई बेवास्ता गरी माइत नै रहन सके । एक गल्तीको सायाबाट पार पाउने कोसिसमा फेरि एक पुरुषमै भर पर्न बाध्य छु, सहारा लिन बाध्य छु । थाहा छैन, आउँदा दिनहरूले के कस्ता मोड दिने हुन जीवनलाई तर हाललाई एक मुठ्ठी भए पनि शान्तिको खोजीमा छु ।”

आफूलाई साम्य पार्दै ऊ गाडीमा पसी ।  केटा पक्षसामु आफू अटल र दृढ प्रस्तुत हुने कोसिस गर्दै ‘अब जाऔँ होला’ भनी ।

धुलो छोड्दै गाडी अघि बढ्यो । लाग्छ – उड्दै पछि छुटिरहेको धूलो सायराको विगत हो, जुन बिस्तारै बिलाएर जानेछ । अघि बढिरहेको गाडी उसको नयाँ यात्रा हो । जिन्दगी हो ।