आखिर जंगलमा पनि जम्बु मन्त्रीको सल्लाहमा केही जनावरहरूको सहमतिमा विद्यालय खोल्ने योजना भयो । सुगा र मैनालाई मान्छेको बोली सिक्न तालिममा पठाइयो ।
जम्बु मन्त्री निकै चम्बु थियो । मृगेन्द्रलाई अक्षरको महत्त्व बुझायो । यतिखेरको मृगेन्द्र अघिल्लो जुनीमा, द्वापर युगमा, जरासन्ध थियो । यो कुरा जाम्बवान भालुले उसलाई खुसुक्क सुनायो । भालु आफैँ द्वापर युगमा बाणासुर थियो । उसले महादेव आशुतोषबाट विशेष वरदान पाएको थियो । उसलाई तीन कालकै कहानी कण्ठ । मृगेन्द्रले ऐरावतलाई आफ्नो सरकारमा सामेल गरेको थियो ।
एकदिन काननमा बैठक बस्यो । सबै वनवासीहरू आए, गैँडा आएन । “किन आएन गैंडा ?” सबैले चासो देखाए । हात्तीले जरायोको कानमा खुसुक्क भन्यो, “मृगेन्द्रको कारणले गैँडा र हात्तीको मित्रतामा दरार आयो ।”
यो कुरा गैँडालाई बनेलले बतायो । यही भएर गैँडाले मृगेन्द्रको हरेक राजसभा बहिष्कार गर्यो । यता शेर पनि सत्ताच्यूत भएको झोँकमा मृगेन्द्रबाट दूर भयो । विद्यालय खोलेपछि बलिया बलिया जनावरहरू पढ्न थाले । हेदाहेर्दै कानन विवश्वविद्यालय बन्यो । कूलपति हँडार भयो । रेक्टरमा चितुवा । जनावरहरू शिक्षित भए । कैलाशबाट शिव, पार्वती र गणेश भेष बदलेर जनावरका रूपमा आए । उनीहरू पनि सन्तुष्ट भएर गए । मृगेन्द्रले महादेवलाई जंगली सुकुटी र सोमरस, अन्य लागुपदार्थ सेवन गराएर मन जित्यो । वरदान माग्न खोजेको थियो, महादेव बोले, “ए रातो बाघ, वरदान दिने भनेपछि मेरो सातो जान्छ । भस्मासुर प्रकरणपछि मैले वरदान दिन छोडेँ । यो जंगलमा कनकको खेती हुन्छ । यही कनकको आडमा तिमी दुनियाँलाई दनक दिन सक्छौ । तर झुक्किएर पनि पशुपतिनाथका पुजारीका खलकहरूलाई दुःख नदिनू, तिमी नरकमा पुग्नेछौ ।”
यति भनेर भोलेनाथको परिवार अलप भए । मृगेन्द्रले केही पनि मेसो पाएन । “महाराज, हजुरले किताबहरू पढ्नुपर्यो, शिक्षित हुनुपर्यो । यहाँ पर्यटकहरू आउने पक्का, यो कानन पछि कुञ्ज, निकुञ्ज बन्छ । अंग्रेजी भाषा नजाने पछि परिन्छ । हजुरलाई अंग्रेजी भाषा सुहाउँछ ।”
“तर पढाउने कसले ?” महाराजको चिन्ता ।
“गिद्ध र चिलले महाराज । उनीहरू अमेरिका र लण्डनमा बसेर, पढेर आएका हुन्, मृगेन्द्रको गुरु हुन लायक छन् ।” जम्बु मन्त्रीले उकास्यो ।
‘उमाकान्त सोती र पियाकान्त सोती’ नाम गरेका गिद्ध र चिलहरूले वनराजालाई अंग्रेजी सिकाए । अभिनय सिकाए । झूट बोल्न सिकाए । वञ्चकलाल हुन सिकाए । शकुनि विद्या सिकाए । ठूलालाई बोक्न र सानालाई ठोक्न सिकाए । अनेक सिकाए । महाराज प्रशन्न भएर गिद्ध र चिललाई जंगली विश्वविद्यालयमा जागिर दिए, उपदान पाउनेगरी । उनीहरू प्रशन्न भए ।
यता ‘कवितामा निकुञ्ज र निकुञ्जमा कविता’ भन्ने कार्यक्रम गरे, मान्छेहरूले । यो कुरा चाल पायो स्याल, अर्थात् जम्बु मन्त्रीले । उसलाई पनि कवितामा स्वाद बस्यो । कुखुरा र हाँस चोर्न छोडेर जम्बु मन्त्रीले किताबहरू चोर्न थाल्यो, पुस्तकालयबाट । मिस्टर इन्डिया सिनेमाको अनिल कपुरजस्तै अदृश्य हुने विद्या पनि जानेको थियो स्यालले, त्यही सदुपयोग गर्यो । कविता, कथा, आख्यान, नाटक जे पनि पढ्न थाल्यो मन्त्री । महाराजलाई पनि उकास्यो । झ्याउ मानी मानी, केही नबुझे पनि, मन्त्रीको मन राख्न महाराज पनि पढैया बनिदिए ।
त्यसपछि त महाराजलाई पनि रस बस्यो । कविता कोर्न थाले । यताउताबाट चोर्न थाले । साना साना जनावरहरू, मांशाहारीले ‘वाह, वाह !” भनिदिए ।
“महाराज, अब हजुर जंगली कवि, महाराज कवि, कवि महाराज, नयाँ इतिहास हुन्छ धरतीमा । हजुरले लेख्नुपर्छ ।”, उही उमाकान्त सोती र पियाकान्त सोती, सबैले उकासे ।
‘उकासो र पिकासो’ परबाट मजुरले भन्यो । मजुर निकै विद्वान् थियो । अघिल्लो जुनीमा विदुर । यो जुनीमा पनि अघिल्लो जुनीको सम्पूर्ण ज्ञान लिएर जन्मिएको थियो । सरस्वती माताको वरदान पाएको थियो । वैकुण्ठ र कैलाश, इन्द्रलोक पनि जान्थ्यो मजुर, उसले शेरलाई पनि रिझाएको थियो ।
एकदिन जंगलको चालीस हजार तालमा जलबिहार गर्न भनेर तीन महात्माहरू आए, तीन नारायणकै अवतार थिए, ईश्वर नै, पन्छीलाई अति माया गर्ने । मजुरले उनीहरूको नजिक गएर वार्ता सुन्यो । उनीहरूको गफमा साहित्य नै साहित्य पायो । ‘दुर्लभ गैँडा’का बारेमा चिन्ता व्यक्त गरे । निकुञ्जमा भएका ऐरावतका अवतारहरूको लेखा राखेका रहेछन् । १००० ऐरावतका अवतारहरूमा २७५ मात्र बाँकी, अरु कता गए ? थाहा भएन ।
यो कथा भने मजुरलाई नौलो लाग्यो । अचम्म मानेर आफ्नो वासस्थानमा फर्कियो । यता मृगेन्द्रलाई फकाएर मन्त्रीले कानन प्रज्ञा प्रतिष्ठान गठन गर्न लगायो । बजेटको पिर थिएन । सपनामा एउटा योगी महाराज आएर सवा सात टन हाटक छोडेर गए, महाराजको दरबारमा, त्यसपछि त महाराज मालामाल । द्रव्य फालाफाल ।
महाभारतको कथा सुनेपछि महाराजले अंगराज कर्णको उत्तर आधुनिक अवतार लिने अभीप्सा प्रकट गरे, “महाराज, यस्तो सत्कर्म गरेर त हजुर भाइरल हुनुहुन्छ । यो प्रविधिको जमाना छ । अब हामी जनावरहरू पनि सामाजिक सञ्जालमा आउन र छाउन थालेका छौँ । यो शुभकार्य आजैबाट सुरु गरौँ ।”
प्रस्ताव पारित भयो । सारेउ, मैना, सुगा, हरिण, चितवा, बनेलहरू पुरस्कृत भए । टाढा टाढाका जनावरहरूलाई पनि सम्मान गरियो । सबै मख्ख भए । ‘महाराज की जय !’ जंगलमा महाराजको जय जयकार भयो । संसारका सबै जंगलहरूमा यो खबर पुग्यो । कङ्गारुहरू पनि कविता सुन्न आए । जनावरहरूमा पनि जाँगरण आयो । बााँदरहरूले विज्ञापनको काम गरे । आखिर त्रेता युगमा पनि त हनुमान थिए । कलियुगका हनुमानहरू भने अलि चतुर, धूर्त । महाराजको चौरासी व्यन्जन खाएर महाराजकै कुरा काट्थे ।
‘जंगलमा कवि सम्मेलन’ कार्यक्रमको घोषण भयो । समाचार भाइरल भयो । कागहरूले रोजगारी पाए । कायाकैरन सुनाउने काम सम्पूर्ण कागहरूको भयो । यसरी जंगली साहित्य विश्वमा प्रशिद्ध भयो । कानन साहित्य ।
यो कथा सकियो । जङ्गलमा सम्पूर्ण मङ्गल हुने कुरा इन्द्रलोकमा पनि पुग्यो । इन्द्रले वास्ता गरेनन् !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।