धनसरा र नन्दूलाई लिएर पदयात्रामा निस्क्यौँ । दुई छोराछोरी मेरो जिन्दगीको सर्वस्व थिए । ओनसरा मेरो मुटुको धड्कन थिइन् ।

जलजलाको हरियो डाँडालाई ओढेर फैलिएको निलो सराक । अनि निलै ओनसराको गुन्यू । एउटा गुराँस टिपेर उनको चुल्ठोमा सिउरिदिएँ । धनसरा र नन्दू बुकी फूल टिप्न दौडे । नानीहरू एकैछिन थुम्कोबाट ओझेल परेपछि त्यहाँ म र ओनसरा मात्रै छौँ जस्तो लाग्यो । धौलागिरिबाट बगेको बतासले एकचोटि हाम्रो विवाह वर्षको मधुर सम्झना उडाएर ल्यायो । विवाहको गाँठो बानेपश्चात् ओनसरालाई यहीँ लिएर आएको थिएँ । जेठमास फुलेको चिमालीको पाटनमा पल्टिँदै अँगालोमा बाँधिएका थियौँ ।

समयले नेटो काटिसकेछ हामी कति चाँडै दुईबाट चार भैसकेछौँ । जिस्काउँदै ओनसरालाई भनेँ, ‘धनसरा र नन्दू हुर्किसके । अब अर्को जन्माउने हैन ?’

उनले, ‘धत्.. !’ भनेर सर्माउँदै मेरो कुममा प्याट्ट हानिन् । हातको चुरा छ्याइँया… गरेर मेरो कानमा बज्दा मेरो शरीर तरङ्गित बन्यो । कुममा कुम टस्साउँदै म नजिक गएँ र गालामा प्रेमपूर्वक न्यानो चुप्पा दिएँ ।

जिन्दगीको एउटा आनन्दमय क्षणबाट गुज्रिँदै थिएँ । आफ्नै आँखाको अगाडि नानीहरू हुर्कंदै गरेको देख्न पाउँदा मजस्तो भाग्यमानी बाउ अरु को हुन सक्थ्यो र भनी एकचोटि सोचेँ ।

जनयुद्धमा होमिँदै गर्दा घरपरिवारसँग पुनर्मिलन होला भन्ने आशाको त्यान्द्रो चुँडिन थालेको थियो । जसै खलङ्गाको हमला सुरु भयो, त्यो अभिलाषाको चङ्गा चटक्कै चुँडिसकेको थियो । कि मार्छु कि मर्छु भन्ने चिन्ताले मात्रै सताइरह्न्थ्यो । एक चिम्टी समय पायो कि थकाईले पुक्लुक्क निदाइहाल्थेँ । घरकालाई एकैछिन पनि सम्झने फुर्सद हुन्थेन ।

*****

त्यो भयावह परिस्थितिबाट गुज्रिएका दिनहरू अहिले सम्झिँदै गर्दा जीवन एक नाटक हो वा सपना भन्ने लाग्छ ।

जनसेनाबाट एक साधारण नागरिकमा रुपान्तरित हुँदै थिएँ । बन्दुक र बर्गनको गह्रुङ्गो भारी शान्ति सम्झौताको बिसौनीमा बिसाइसकेका थियौँ । कमाण्डरका यहाँ एम्बुस, त्यहाँ आक्रमणजस्ता हुकुम यी कानले सुन्न परेको थिएन । सट्टामा श्रीमती र छोराछोरीका प्रिय आवाज गुन्जिन्थे । ग्रिनेडका कर्णछेदन ध्वनिलाई गोठका बाख्राका म्याम्याले प्रतिस्थापन गर्दै थिए । एम्बुसमा ‘आयो लालसेना !’ भन्दै पुलिसमाथि जाइलागेको दृश्यबाट ओझेल पर्दै थिए सम्झनाहरू । यी हत्केलाले एसएलआरको साटो बञ्चरो र कोदालो खेलाउन सुरु गरेका थिए । घायल कामरेडलाई उचालेर सुरक्षित स्थानतिर लगेका मेरा यी बाहुपासमा ओनसरा पो बेरिएर आउँथिन् ।

सेना समायोजनमा कुनै अवसर नपाएपछि व्यर्थैमा माओवादीमा लागेछु भन्ने पश्चत्तापले पोल्न सुरु गर्‍यो । गाउँमै कृषिकर्म गर्दै आनन्दसँग जीवन बिताउने, अब छोराछोरी नपाउने योजना बुनेर बसेँ ।

मान्छेको जात, लोग्नेस्वास्नी सँगै भएपछि केही न केही काम बिगारिहालिँदो रहेछ । चाहँदा न चाहँदै ओनसरा गुर्ब्यानी भइछन् । म फेरि तेस्रोपल्ट मुर्‍या भएँ । ओनसरा गुर्ब्या भएको थाहा पाएर मेरी मई खुसी भइन् । बुहारी सुत्केरी भएपछि खुवाउनलाई कुख्रा हुर्काउन थालिन् । रक्सी पार्नलाई घैँटाभरि जाँड राखिन् । गुर्ब्यानी र नवजात शिशुलाई चाहिने पोषिलो खाना र न्यानो लुगाफाटोको जोहो गर्न सुरु गरिन् । घरमुली भएकी नाताले सुत्केरी हुने सहज जडकालको लागि कुलदेवतालाई प्रार्थना गर्दै बसिन् ।

’मानबहादुर, तँ मुर्‍या भएको हुनाले कुनै प्राणी हत्या नगर् है । ‘मईले मलाई सचेत बनाउँदै भन्थिन्, ‘कुख्राको मासु खान मन पर्‍यो भनेर कुख्रा काट्न पनि हुन्न नि । नत्र त भारी पातक पर्छ ।’

जहान दुई ज्यान भएकी बेला लोग्नेले प्राणी हत्या गरे सन्तानलाई पिर्छ रे भन्ने जानेपछि म अलिक सजक भएँ ।

यसअघि यस्ता संस्कारबारे बईले भन्ने गर्थे । तर यी घरयासी कुरा दश वर्षे जनयुद्धको आगोले मेरो मानसपटलदेखि जलाएर खरानी पार्दिसकेको रहेछ । बईको निधनपछि मईले यी कुरामा चाँसो राखेर हामीलाई पालना गराउँथिन् ।

मईले सुनाउँथिन्, ‘तेरो बईले मलाई बाराहा थान लगे र देवतासँग छोरा जन्माइदिने वर मागेका हुन् । त्यसपछि मात्रै तँ जन्मेको होस् ।‘

म मेरा चार दिदीहरूपछि जन्मेछु । आफ्नो मनकामना पूरा भयो भनेर बईले एउटा भेडा बाराहालाई बलि चढाएछन् ।

*****

नौ महिना पुग्दानपुग्दै ओनसरालाई जडकाल लाग्यो । मई र पल्तिरकी छेमा मिलेर उनलाई अगेना पिछाडिको कुनामा लगे । ती छेमा लिवाङ गाउँकी सबैभन्दा जेठी महिला साथै सुँडेनीको सिप भएकी बडौरी थिइन् । बडौरी छेमाले नवजात शिशुको रक्षा होस् भनेर माछा मार्ने जालो च्यातेर सुत्केरी सुत्ने ओछ्यानमाथि झुन्ड्याइन् ।

’अब त बच्चा जन्मिसक्यो । तँ मुर्‍याबाट मुक्त भइस् ।’ मईले भनिन् । भगवान्को कृपाले हाम्रो घरमा अर्की लक्ष्मीले जन्म लिइन् ।

निक्कै समय बितेपनि सुत्केरीको सालनाल झरेन । अनि म झाँक्री बोलाउन घरबाट निस्केँ । ती झाँक्रीले गुनीको काम पनि गर्दारहेछन् । हामी कति भाग्यमानी ! गाउँमा सबै खाले मानिस भेटिन्थे, आयुर्वेदिक ओखतीमुलो गरिदिने गुनी, झारफुक गरिदिने झाँक्री, सालनाल काटिदिने बडौरी, कुनै कार्यक्रम आरम्भ गर्नका लागि शुभदिन हेरिदिने जैसी ।

घरमा ल्याइएका ती झाँक्री दाइले–

एक माना तोरीको दुई माना तेल

भित्रको साललाई बाहिरतिर पेल…..     

भनेर सातपटक मन्त्र उत्तचारण गर्दै तेल फुकिदिए । त्यही तेल ओनसरालाई खान दिइयो र शरीरमा दल्न भनियो । त्यसो गरेको एकैछिनमा साल झर्‍यो । यति गरेर नझरेको भए जङ्गलमा गएर रुखको कापमा अड्केर बसेको ढुङ्गालाई ‘मेरो छोरीको मई ओनसराको साल झर्’ भनेर फलाक्दै ढुङ्गालाई खसाल्नुपथ्र्यो रे ।

साललाई लगेर घर पिछाडिको करेसाबारीमा गाडिदिएँ । अनि गुर्ब्यानीलाई खुवाउने भनेर पालेको भाले काटेँ । नवारनीको दिन चोक्खिन चाहिन्छ भनेर भालेको दाइने खुट्टालाई दुनामा हालेर राखेँ ।

एकजना काका पर्ने हाम्रो गोत्रका ज्येष्ठ व्यक्ति थिए । सिरतुको रुपमा भालेको टाउको उनकै घरमा पुर्‍याइदिएँ । मेरो काम अरु पनि थुप्रै निस्के । बारीबाट बेसार खनेर ल्याएँ । मरमसला मिसाएर त्यही काँचो बेसार सिलौटोमा मज्जाले पिसेँ । त्यसैलाई हालेर मईले मासु पकाइन् । कमलो आङलाई बेसारले सञ्चो पार्छ रे । ओनसराले कुख्राको मासुसित खुब मिठो मानेर भात खाइन् । शरीरको दुखाइ कम हुन्छ भनेर रक्सी पनि पिउन दिइयो ।

माइती, इस्ट र आफन्तहरू सुत्केरी भेट्न आए, कुखुरा, चामल, तेल, घिउ, मह, रक्सी बोकेर । छोरीको नवारनी नगर्दासम्म हामी सबैले सुत्केरी बार्‍यौँ । आमाछोरीलाई अछट्ट न्यानो कुनामा राखेर कसैले छोएनौँ । नवारनी नहुँदासम्म लेनदेनको कारोबार गर्न हुँदैन भन्ने मान्यताले कसैलाई पैसा सापट दिने न कसैबाट लिने भयो । बालिनाली लगाउने र बीउ छर्ने पनि गर्न नहुँदो रहेछ । आँगनवरिपरि झ्याम्मै झार उम्रेका थिए गोडमेल केही गरिनँ ।

गुर्ब्यानी स्याहार्नुपर्दाको व्यस्तताले युद्धका सम्झना विस्मृतिमा परे ।

*****

छोरीको नाइटो नौ दिनमा झर्‍यो । जन्मेको एघार दिनमा जैसीले नवारनी उतारिदिए । छोरी जन्मिँदाको दिन काटेको भालेको दायाँ खुट्टा काँचै राखेको थिएँ । चिउरीको पातले छोरीको आँखा छोपेर त्यसै खुट्टाको नङ्ग्राले सातपटक चिथोरेजस्तै गरियो । यो विधि जैसीले ओनसरामा पनि दोहोर्‍याए । र, तिनै पातले खुट्टालाई बेरेर फालियो । यस कार्यलाई दोष फालेको हो भने जैसीले ।

मईले पूजा गर्ने भुइँ बिहानै गोबरले लिपिदिएकी थिइन् । त्यसैको बीचौबीचमा चोखो ढुङ्गा राखियो । धार दिने खोपिल्टा बनाइए । अनि बज्यूपरङ्गी देवता अथवा नवजात शिशुलाई खेल्न सिकाउने बोल्न सिकाउने देवीको विधिवत पूजा गरियो । मैले कुख्राको अर्को भाले काटेँ । त्यसैको मासु, भात, रोटीको एक परङ तयार पारेर टपरीमा राखियो । त्यसै परङको बीचमा खुखुराको खुट्टालाई ठड्याएर राखियो । अनि पकाएको भालेको मुटु, कलेजा र सपेटालाई एउटा डोकोभित्र हालेर भुइँमा राखियो । त्यसैको छेवैमा धुप बालेर सुत्केरी, छोरी र मलाई सातफेरा नाघ्न लगाइयो ।

त्यसपछि जैसीले छोरीको नाम ‘कला’ राखिदिए । छोरी कृष्णजस्तै कालीकाली थिई । पछि सबैले प्यार गरेर ‘काला’ भनी बोलाउलान् । मलाई ‘काला’ नाम मन पर्‍यो ।

भित्र नवारनीको विधि सिध्याई ओनसरा छोरीलाई उचालेर आँगनमा निस्किन् । अघिअघि बडौरी छेमा थिइन्, जल्दै गरेको किन बोकेर । भाङ्ग्रा कपडालाई बटारेर बनाइएको त्यस झुम्रोलाई आफैँ निभ्न दिनुपर्दो रहेछ, नत्र अशुभ हुनेरहेछ । ‘मजस्तो पाको उमेरकीले यसो गर्दा यो बच्चा मजस्तै दीर्घ आयुकी हुन्छे ।’ भन्दै बडौरी सँघार नाघिन् । आँगनमा पुगेपछि कालालाई जाँड छिट्याउँदै आशीर्वाद दिइन् । भाङ

यतिका दिनपछि बल्ल आमाछोरीले सराकमा घाम देख्न पाए । यो जगत्ले मेरी कालालाई न्यानो स्वागत गर्‍यो ।

एक अर्को सन्तानको पिता हुन पाएर गर्वले छाती फुलाउँदै यी सबै संस्कारलाई म छेवैमा उभिएर नियाँल्दै थिएँ ।

ओनसराको नजिक गएर छोरीलाई समातेँ । यो नै मेरो पहिलो स्पर्श थियो । उसका निश्छल आँखामा हेरेँ । सुख, शान्ति र समृद्धि बोकेर स्वर्गबाट झरेकी परीजस्ती लागी ।

काला जन्मेपछि युद्धले विक्षिप्त बनाएको मेरो मानसिकतामा स्थीरता आउन थाल्यो । बईको मृत्युको पीडा र युद्धको वेदना स्मृतिका क्षितिजमा धुमिल भई जाँदै थिए । पारिवारिक सुखानुभूतिसितै पहिलाको जस्तो दूस्वप्न देख्न छोडिसकेको थिएँ ।

ओनसरा भने कालालाई जन्माउनेवित्तिकै त्यति प्रशन्न देखिन्नथिन् । ‘फेरि छोरी पाइस् !’ भनेर मैले दोष लगाउँछु भन्ने सम्झेर वा समाजले हेय दृष्टिले हेर्छ भनेर हो । आमाको मन न हो, छोरी ठूली भैभने कस्तो घरानमा पर्ली, दुःख पाउली कि भन्ने सुर्ता लाग्दो हो । मलाई भने छोरी जन्मेकीमा अत्यन्त गर्व छ भन्ने कुरा व्यवहारमा देखाएर उनलाई विश्वास्त पार्नु थियो । त्यसैले कालाको स्याहारसुसारमा म प्राय अघि सर्थें । नुहाइदिने, खुवाइदिने, सुताउने मै गर्थें । राति उठी भने ओनसराले दूध चुसाउँथिन्, त्यसपछि मैले लिएर सुताउँथेँ । दूध चुस्न पर्‍यो भनेमात्रै काला उसकी मईलाई खोज्थी । नत्र त ऊ बइको छोरी भइसकेकी थिई । मेरो बाहेक अरु कसैको काखमा मान्दिनथी ।

मैले यसरी माया दर्शाएर होला, ओनसराले छोरीको आमा हुनुमा विस्तारै गर्व गर्न थालेको महसुस गर्न थालेँ ।

*****

दिन बिते रात बिते । काला तीन महिनाकी पुगी । मेरी मईले ‘माइती देखाउन’ लैजानू भनेर सम्झाइन् । पाहुरको रुपमा रक्सी, मासुको ओलासी, घुमाई रोटी, बटुक र एउटा जिउँदो भालेचल्ला हालिदिइन् । ओनसराले कालालाई च्यापिन् । धनसरा र नन्दू मावल जाने भनेपछि खुसीले बुरुक बुरुक उफ्रे । एक जिली धजा झोलामा हालेँ र भाङ्ग्राको किन सल्काएर ससुरालीतिर लाग्यौँ । धवाङ पुग्नसाथ जल्दै गरेको किन मामामाइजूलाई बुझाएँ । माइतीका कुलकुलानी र पित्रलाई धजा अर्पण गरेँ । नयाँ इस्ट देखाउन ल्याएको भन्दै ओनसराले आफ्ना बईमईको सामुन्ने कालालाई देखाउँदै बिन्ती चढाइन् । त्यसपछि माईजूले कालाको हातखुट्टामा चाँदीको बालाले धन बाँधिदिइन् ।

यसोउसो गर्दैगर्दा काला एक वर्षकी पुगी । फेरि मईले कालाको गर्भ्याचेम गर्नुपर्छ भनेर सम्झाइन् । ‘पहिलो वर्षमा छोराछोरीको कपाल काटिएन भने ग्रहगौँडा भाग्दैनन् ।’ मईले कालाको बाल मसार्दै भनिन् ‘रोग व्याधले सताइरहन सक्छ ।’ कपाल काट्न काला जन्मेको बार शुभ दिन पर्ने जैसीको सल्लाह थियो । त्यही दिन पारेर ओनसराले भाइलाई माइतबाट डाकिन् । अनि आफ्ना मामाले कालाको कपाल काटेर जुरेली पारिदिए । छोराको भए सबै खौरेर टुप्पी मात्रै राखिन्थ्यो । काटिएको रौँलाई बोक्सीको आँखा नपरोस् भनेर सिस्नेझ्याङमा लगेर फ्याँकिदिएँ । मैले कालालाई नुहाइदिएँ । सालाले एउटा कुखुरा काटिदिए । कुखुराको रगत, कर्ची, मुटु, कलेजो मिलाएर कालाको भविष्य बुझ्न ची हेरियो । थालमा पिठोले पाथी, बन्दुक, हलो र कलमको प्रतीक बनाएर कालाको सामुन्ने राखियो । उसले कलमको प्रतीकलाई छोई । छोरी त भविष्यमा मास्टर्नी बन्ने रहिछ भन्ने लाग्यो मलाई ।

*****

कालालाई बडो ममताका साथ स्याहारसुसार गर्दै टुकुरटुकुर हिँड्ने गराएँ । देवताको आशीर्वाद, ओनसराले फेरि गर्भधारण गरिन् । यो पनि पहिलाकै सरह अञ्जानमा बसेको थियो । महिनावारी रोकियो । नाक लागेर केही खानै नहुने, वाकिहाल्ने । शरीर शिथिल हुने नै भयो । यस्तो व्यथा जडकालसम्मै चलिरह्यो । गुर्ब्यानी बनिसकेको भन्ने लागेपछि झनै चिन्तित देखिन थालिन् । फेरि छोरी नै जन्मी भने त… भन्ने सोचेर होला ।

त्यस्ता नकारात्मक सोचबाट मुक्त पार्न कालाको पालामा झैँ अनेक उपाय रचेँ । राति विस्तारामा राधा, सीता, पार्वतीका कथा वाचन गरेर सुनाउन थालेँ । कसैको मनमा कुनै विषय काँडासरी गडेर बसेको छ भने उत्ति नै खेर उखेलेर फाल्न गाह्रो हुन्छ । म पनि त पहिला, युद्धले विक्षिप्त भएर कति अशान्त भएको थिएँ । लामो समय लागेको थियो त्यो अशान्तिको खिल झिकेर फाल्न । हाम्रो चौथो सन्तानको गर्भाधानभरि ओनसराको अनुहारभरि बेचैनीका तरङ्ग उर्लेका देखिन्थे । कहिले सेलाउलान् उनका ती वेचैनीका छाल भनेर म पिरोलिबस्थेँ । पहिले देखिने गरेका कान्ति उनको मुहारबाट लोप भैसकेका थिए । अनुहारभरि कालो पोतो, पातला केश अनि दुब्लो शरीर । तैपनि, सन्तान जन्मेपछि फेरिने छिन् र देखिने छिन् पहिलाकी जस्तै सुन्दरी भनेर म विश्वस्त थिएँ ।

यति गर्दागर्दै उनी सुत्केरी हुने दिन पनि आयो । सबेरैदेखि व्यथा लाग्न सुरु गरेको अपराह्नमा बल्ल यस धर्तीमा कसैको आवाज गुञ्जियो । छेवैमा प्रशवपीडाबाट ग्रसित ओनसरालाई त्यो क्रन्दनले थप पीडा दियो होला भन्ने लाग्यो रातभर जाग्राम बसेर स्याहार गरेको मलाई ।

घरमा फेरि अर्की लक्ष्मीको जन्म भयो । मेरो मन प्रफुल्लित नहुने कुरै भएन । सुँडेनीले कहिले नुहाइधुवाइ गरिदिन्छन् र पुत्रीलाई काखमा राखूँ भनेर हतारिएँ । तर ओनसरा आफ्नो नवजात शिशुलाई हेर्न पनि चाहन्निन् जस्तो लाग्थ्यो ।

उनलाई कानेखुसी गरेँ, ‘फिक्कर नगर, बईमईलाई छोरीले जस्तो माया छोराले गर्दैनन् । छोराहरू त भौतिक सुख दिनेमात्रै हुन् । हृदयदेखि प्रेम गर्ने त छोरी हुन्छन् ।’

थाहा भएन मेरो यो अर्ती उनले कसरी ग्रहण गरिन् !

यो छोरी कालाजति हिस्टपुस्ट जन्मेकी थिइन । शरीरमा प्रोटिनको कमी हुँदो हो इत्रुकी मुसाजत्री थिई । तर, मेरो स्याहारसुसारले हर्लक्क बढ्छे भन्नेमा विश्वस्त थिएँ । आमा छोरी दुवैलाई स्वस्थकर आहारा खुवाएर तङ्ग्र्याउँछु भन्ने लागेको थियो ।

कालाको पालामा जस्तै विधि अपनाएर यसको पनि जन्म संस्कार सम्पन्न गरियो । न्वारनसम्म सुतुक बारियो । जैसी बोलाइयो र राखियो नाम ‘मिठु’ । तीन महिनाकी पुगेपछि ओनसराको माइत देखाउन लग्यौँ ।

*****

वर्ष दिनपछि मिठुको कपाल काट्ने गर्भ्यचेमको दिन आयो । मावल लगेर उसको मामाद्वारा गर्भ्यचेम सम्पन्न गरिदियौँ ।

दुर्भाग्य ! मिठूको गर्भ्यचेमपश्चातको समय सोचेजस्तो भएन । वर्षभरि नै अशुभ होला जस्तो देखिन्थ्यो । यो संसारै प्रलयतिर लाग्दै छ भन्ने लागिरहेको थियो । खै किन ? मनमा यस्ता नकारात्मक कुराहरू बढी नै खेल्दै आइरहेका थिए । ओनसराको बिग्रँदो स्वास्थ्यले गर्दा पनि होला । अर्धाङ्गिनीको स्वास्थ्यमा खराबी आएपछि घरै अँध्यारो लाग्न थाल्यो ।

गर्भ्यचेम गराइँदा मिठूको भविष्य राम्रो देखिएन । यो छोरी अभागी छे, पिर्छे कि भन्ने आशङ्का जाग्न सुरु गर्‍यो । छोरीको त्यस्तो दृष्टान्तले बेखुसी हुन थालेँ म । मलाई सान्त्वना प्रदान गर्न होला ओनसराको व्यवहारमा भने केही सकारात्मक परिवर्तन देख्न थालेँ । उनको आँखामा चमक र ओठमा मुस्कान देखिए । सायद ती सबै कृत्रिम हुँदा हुन् । यद्यपि उनका नक्कलीजस्ता लाग्ने मुस्कानहरूले मेरो मनमा प्रशन्नताको आभास पैदा गरायो ।

यी दुई सन्तान प्राप्तिपश्चातका ती मेरा खुसी दिगो रहन भने सकेनन् । ओनसराले ती मुस्कानका रङहरू आफैँसँग लगेर गइन् । मलाई भने बेखुसीका बाछिटाहरू छर्केर छोडिन् । ओनसराले मात्रै होइन, बल्की मेरा सबैले मलाई छोडेर गए ।

एक्लै भएपछि म किन जनयुद्धबाट बचेर आएछु भन्ने पश्चात्तापले सताउन थाल्यो । उतै मृत्युवरण गरेको भए बरु यो विषम वेदना भोग्नुपर्ने थिएन । मेरा अङ्गहरू क्षतविक्षत पार्ने गरी शाहीसेनाको मसिनगन ममाथि किन बर्सेनन् ? घोराही ब्यारेक आक्रमणमा शख्त घाइते भएपछि मलाई डोकोमा बोकेर फिल्ड मेडिकल पुर्-याइएको थियो । किन मलाई त्यहीँ मर्न दिइएन ? उपचारको क्रममा दर्जनौ सहयोद्धाले परान छाडेका थिए । मलाई त्यतिखेर डाक्टरले किन बचाए होलान् ?

विगतका ती दिनहरू स्मृतिका पानामा पल्टाउँदै यस्तै प्रश्नहरू मात्रै तेर्सिए ।

हो, यही विभत्स घटना भोग्नुरहेछ र त म युद्धबाट बाँचेर आएको रहेछु । हे भगवान् ! मैले कुन जुनीमा पाप गरेको रहेछु नि ?

*****

गाउँभरि एकाएक मान्छेलाई कोरोना महामारीले सताउन सुरु गर्‍यो । मेरी मई, ओनसरा र चारै सन्तान अछुतो रहन सकेनन् । त्यसै त ओनसरा मिठूलाई जन्माउँदैदेखि कमजोर थिइन्, कोरोनाले थलै परिन् ।

मलाई पनि लाग्यो कोरोना । कैयौँ उपाय गरेर म त निको भएँ । दुर्भाग्य ! केटाकेटी, श्रीमती र मई कसैलाई पनि जोगाउन सकिनँ । छेवैजना एकैचोटि थल्लिन जाँदा मैले स्याहार पुर्‍याउन सकिनछु । उपलव्ध दबाईपानी सबैलाई पुगेन । गुनीलाई बोलाएर ओखतीमुलो त गरेको हुँ । झाँक्रीलाई बोलाएर झारफुक गराएको त हुँ । अहँ, बीसको उन्नाइस हुन सकेन । अन्ततः कसैलाई बचाउन सक्नेजस्तो देखिनँ । महामारीसँगको युद्धमा मैले हार ब्यहोरेँ ।

मृत्यु एक अवश्यम्भावी घटना हो । जन्मेपछि एकदिन मर्नैपर्ने । मृत्युलाई सहज रुपले जसले लिन सिकेको हुन्छ उसलाई त्यति पीडाबोध हुँदैन । यही कुरालाई आत्मसात् गर्दै ओनसरारहित मेरा समय-पाइलालाई धकेल्दै अगाडि बढ्नुपर्ने थियो । ओनसराको भौतिक शरीर मात्र अन्त्य भयो । तर उनी नयाँ चोला फेरेर हाम्रै कुलमा पुनर्जन्म लिनेवाला थिइन् । यसै मान्यतालाई विश्वास गर्नु नै जीवन जिउने कला थियो ।