दसैँ नजिकिँदै छ यसपालि पनि ।

एउटा इतिहासको अकल्पनीय पाना पल्टिएर आउँछ हरेक दसैँ ।

चाहेर पनि त्यो पानो च्यात्न सकेको छैन ।

यो पानाले त त्यो इतिहासलाई दर्ज नै पो गर्न पुग्यो !

०००

आज दसैँको टीकाको दिन । एक वर्षमा आउने यो विजय दशमीको दिनमा पनि आज रमाको घरमा सन्नाटा छ । बाँसघारीको पुछारमा उनको घर निकै एकान्तमा छ । घरको सानो तर नबढारिएको सिकुवा चकमन्न आँगन हेरेर टोलाएको छ । माथि बाँसघारीका बाँस घरका धुरीसम्म नुहिएर छिंड पारिसकेको छ । घरको आँगनको डिल भत्किएर थोते मान्छे जस्तै भएको छ । थलामा बाँधेको एउटा भएको बाछी पनि भोकै छ । सुँगुर पनि अघिदेखि घुकघुक गरिरहेको छ । कुखुराले विष्ट्याएको सूलीको लामो पङ्ति छ । जुठा भाँडाबोटुकाहरूको ठुलै जुलुस छ । झिँगाको राजमा रमाइरहेको रमाको घरले तिनका निधारका रङ्गीन टीकाहरूलाई गिज्याइरहेका छ, व्यंग्य गरिरहेको छ उनको संसारले । उनलाई कुनै काम पनि हातमा आएको छैन । केही गर्न पनि मन लागेको छैन । उनलाई आफैँमा रित्तिँदै, र सिद्धिदै छु भन्ने लागेको छ । यी कुनै पनि कुराप्रति उनको लगाव घट्दै गएको छ । यी बस्तु र घर पनि उनका पराइ जत्तिकै भएका छन्, कुनै उत्तेजना छैन, ममता छैन । यी उनलाई दलिरहेछन् जसरी उनको नियतीले उनलाई आजसम्म दलिरहेको छ ।

आज टीकाको दिन गाउँमा सबै मान्छे रमेका छन् । घरघरमा टीकाको साइत अनुसार टीका उठाएर मान्छे उत्सवमा उत्रिएका छन् । तिनले दैत्यमाथि भगवानको जितको प्रतीकको रूपमा टीका लगाए । विजय दशमी जीवनको विजयको अस्त्र बनेर आएको माने तिनले । लाग्यो, अब मान्छेले पराजय कहिल्यै भोग्नु पर्दैन ।

‘मेरो त भाग्यले सधैँ पराजित बनाएको हुनाले होला, मेरो टीका आएको छैन । हार्न मात्रै जन्मिएका मान्छेका लागि यो पर्व होइन जस्तो लाग्छ । असत्यमाथि सत्यको विजय बनेर आएको त्यो टीका मेरो पराजय बनेर आएपछि मैले नै किन मान्नु ? तर पनि पर्व हो रहेछ, मान्छेका निधार राता अक्षताका टीकाले रङ्गिएका छन् । गाउँका प्रत्येक घरमा हल्लीखल्ली छ । कोलाहल छ । मेरो एकान्तता नै मेरो चहलपहल हो । मेरो पर्व हो’, उनी आफैँसँग सम्वाद गर्न थालिन् ।

गाउँको बिचमा पिङमा कुर्लिएका आवाजहरू पारिसम्म गुञ्जिन्छन् । त्यहाँ पिङ खेल्न टाढाटाढाबाट तरुनी र तन्नेरीहरू भेला भएका छन् । ती लिङ्गेपिङमा दोहोरी पिङ खेल्छन् । आफ्नालाई खेलाउन र पर्खिन तल्लीन जमातले जीवनका रङ्गलाई भरेर जीवन्त बनाएको छ । त्यो उत्तेजनामा वनेको जीवनको कोलाजले हरेक वर्ष हर्ष र उन्मादका दृष्यलाई प्रेषित गरिरहन्छन् । को कसलाई ह्दयमा राख्छ भन्ने कुराको बहीखाता हुनेगर्छ यो टीकाको दिनको पिङ । तर चारवटा दसैँ बिते, रमा त्यो पिङमा गएकी छैनन् । त्यो उनको परदेश भएको छ । गाउँको पिङ परदेश भएर पनि मान्छे बाँच्दो रहेछ । आज आफ्नै घर परदेश भएको छ । आफ्नै आँगन बिरानो भएको छ । आफ्नै गाउँ पराइ भएछ, पत्तै भएन ।
तिनीहरूको चहलपहल, त्यो सन्नाटाको विपरीत ध्रुवमा छ रमाको घर ।

‘बलौटेनी भाउजू’ सबैका लागि उनको सामूहिक र सजिलो नाम हो । उनलाई ‘रमा’ भनेर बोलाउने र चिन्ने भन्दा बलौटेनी भनेर चिन्नेहरू घनीभूत छन् ।
त्यो बलौटे माटो एउटा प्रतीक हो ।

त्यो खुकुलो माटो हो, जसको कुनै भर हुँदैन । त्यो सामान्य बर्सातमा समेत बगेर जान्छ । पहिरोको खानी हो बलौटे माटो । मान्छेले बलौटे बारीमा सामान्यत घर बनाएर बस्दैनन् । त्यो रुखो, सुख्खा, र खस्किलो हुन्छ । मकै पनि नफल्ने त्यो बलौटे माटोमा कोदो र सगरखण्ड बाहेक केही फल्दैन । तर रमाको घर त्यहीं छ । त्यो घर एक्लै छ त्यहाँ ।

०००

रमाका ससुराले यहीँको एक रोपनी जग्गा उनको श्रीमानलाई दिएका थिए अंशस्वरूप । ससुरा रातो दिन लुगा सिएर परिवारको बोझ थाम्दा थाम्दा दिक्क भएर रक्स्याहा पनि भए । तर उनका लोग्नेले बाबुलाई कहिल्यै सघाएनन् । धामी बनेर हिँड्थे । लुगा सिउनुपर्छ भन्ने थाहा पाएभने बाहना बनाएर टाप ठोक्थे । धामी उनको पेशा थियो । बिरामी मान्छेलाई झारफुक गर्न उनी पहिलो थिए । डाक्टरको भन्दा उनको लोकप्रियता थियो । अनि एक बटुको चिया खाएपछि उनको निमेक उठथ्यो । अर्थात उनको ज्याला एक बटुको चिया वा एक बटुको रक्सी । कसै कसैले उनलाई केही पैसा दिन्थे, त्यो भोलिपल्ट हुँदैनथ्यो ।

महिला बिरामी छन् भने त नबोलाइकनै त्यो बाटो भएर हिँड्थे र उनलाई देख्नेबित्तिकै बोलाउँथे हेनेमेने गर्न । उनी खुसी भएर अक्षता फ्याँक्न थाल्थे । अक्षताले हान्ने निहुँमा पुछोरेकी छोरीको पुटुक्क परेको छाती कयौंपटक छोए । एक दिन आफ्नै घरमा के के गर्न आउँदा त्यो हर्कत गरेको रमाले पनि देखेकी थिइन् । तर बोल्ने हिम्मत थिएन ।
उनले यसलाई पेशो भन्थे !

उनी रातभरी गरुपूजा र चिन्ता बस्ने काम गर्थे मान्छेका घरघरमा । वारिपारि सबैको साझा मान्छे थिए रमाको लोग्ने मान्छे । उनले कहिल्यै पनि स्वास्नीको समस्या केछ भनेर सोधेनन् । दिनभरी डुलेर खाने र गफ चुट्ने उनको बानी उनका बाबुले पनि फेर्न सकेनन् । साँझमा आउँथे । कहिले कसैले झारफुक गरिदिएबापत भात खान पनि दिन्थे । बेलुका आएर आछ्यानमा पल्टिन्थे ।

रमा बिहानै उठेर एक घण्टा लाएर पानी बटुल्न जान्थिन् । अनि घरमा आगो फुकेर सुँगुरलाई चारो पाकाउँथिन् । अनि छोराछोरीलाई बासीभात भुटिदिन्थिन् ।

चिया पकाएर ल्याउँथिन् ।

‘चिनी छैन त ? खान्न म यस्तो खल्लरे चिया !’ त्यसपछि उनी गाउँतिर लाग्थे ।

‘कहाँबाट ल्याउनु चिनी अर्काको मेला गएर ल्याएको पैसाले मकैको चामल र पिठो पनि किन्न पुग्दैन’, उनी एक्लै आक्रोश पोख्थिन् ।

ढिंडो पकाउँदै उनी घरको काम गर्थिन् । छोराछेरीलाई खान दिएर स्कुल जान भन्थिन् तर ती कहिल्यै पनि स्कुल गएनन् । तिनसँग कापी थिएन । पेन्सील थिएन । लुगा थिएन । किताब थिएन । बरु ती उनीसँगै काममा जान्थे । उनलाई खान दिएको खाजा तिनलाई बाँडिदिन्थिन् ।

‘खाजा नखाइ काम गर्न सकिँदैन । तँलाई पो काम गर्ने भनेर दिएको त ! यी सबै सन्तानलाई दिन सकिँदैन । भोलिदेखि यी स्यानव्यान नल्याउनू’, माइली साहुनीले रातो अनुहार लगाएर गाली गरिन् ।

‘हवस्, तर मैले बिहानै टम्म खाएर आएकी छु । भरेलाई पनि राखेकी छु । मलाई खाजा बडै चाहिँदैन साहुनी ।’

बेलुका मकै भुटेर केटाकेटीलाई ख्वाएपछि उनी पनि केही लिएर सुत्न जान्थिन् । बेलुका भुँडी भरिएको दिन मस्त निद्रा लाग्थ्यो ।

भुँडी नभरिएको दिन निद्रै लाग्दैनथ्यो ।

‘आमा, किन नसुतेकी ?’ छोराछोरी सोध्थे राति ।

‘सुतिराखेकी छु । भुँडी दुखेर उठेकी । मकै धेरै खाएँछु बेलुका ।’

‘अलिकति मात्रै खाकीथियौ त !’

रमाको उत्तर हुँदैनथ्यो ।

रमाको लोग्ने दिनभरि अर्कालाई ‘उपचार’ गरेर आउँथे । रमाको दुःखको उपचार त यिनले कहिल्यै गरेनन्, अर्काको दीर्घायुको कामना गरेर दिन बिताउने लोग्नेले कसरी आफ्नै स्वास्नीको दीर्घायुको कामना गर्न नसकेको होला ! लाग्थ्यो, उनी रमाका लागि होइन, अर्काकै लागि रहेछन् । अर्काका लागि रमाले उनलाई खुवाउनु पर्ने । बलियो पार्नु पर्ने । ‘घस्याउनु’ पर्ने । बचाउनु पर्ने ।

रमा हरपल आफ्नै लोग्नेबाट विकर्षणमा पर्दै गइन् । प्रेमको आयाम साँघुरिँदै गयो । उनी यतिसम्म सोच्न थालिन्, ‘अब त यो लोग्ने त्यो जाबो बेलुका पनि नआए हुने ! किन आउनु ? म मुढो जसरी ढल्थेँ हरेक बेलुका अचेत भएर । अनि लोग्ने घुस्रिँदै आउँथ्यो धुसाको पातलो सिरकमा । उसको दिनभरिको उकुसमुकुस मनलाई मेरो मुढो शरीरमाथि घोप्ट्याउन चाहन्थ्यो । तृप्त हुन चाहन्थ्यो । उसको खुट्टो दुखेको थिएन । जिउ दुखेको थिएन । हात दुखेको थिएन । शरीर दुखेको थिएन । त्योभन्दा बढी मन दुखेको थिएन । तर म ती सबै दुखेर थला परेकी थिएँ । उसको सिरकमाथिको घुसपैठ मेरा लागि कुनै आकर्षक विषय रहेन । उत्तेजनाको विषय रहेन । बरु ऊ आज बेलुका घर नआइदिए हुन्थ्यो भनेर प्रार्थना गर्थेँ । तर अपसोस ! त्यही दिनचाहिँ ऊ झन् उत्साहका साथ आउँछ ।’

रमालाई लाग्थ्यो – आजसम्म मेरो प्रार्थना कसैले सुनेको छैन, यत्तिसम्म कि भगवानले पनि । म निरास हुन्थेँ, उनी रोमान्चित हुन्थे । मेरो निरासापन उनको रोमान्चकता रहेछ भन्ने लाग्थ्यो । उनको रोमान्चकता मेरो उत्पीडन रहेछ भन्ने लाग्थ्यो ।

अनि उनीहरू एउटाको पीडा अर्काको खुसी भएर बाँच्न थाले । अर्थात् एउटाको पीडा अर्काको खुसी भएर बाँच्न थाले ।

एक दिनको कुरा हो, रमाले आँट गरेर लोग्नेलाई भनिन्, ‘तिमी दिनभरि बिरामी खोज्दै अर्काको काम गर्दै हिँड्छौ । यो घर तिम्रो होइन ? यी छोराछोरी तिमीले पनि हेर्नु पर्दैन ?’

‘तँ बाठी न हो । लाग्नेमान्छेको वन र आइमाईको घर हो ।’
‘हे भगवान् ! थुक्क ! किन मलाई छोरी मान्छे बनायौ ? मैले कहाँबाट खर्च ल्याएर घर चलाउनु ? लोग्नेमान्छेले चाहिँ केही गर्नु नपर्ने !’
‘तँ मभन्दा जान्ने जान्ने न हो !’
‘काम गर्ने नजान्ने हुन्छ । दिनभरि घरघर सुँग्दै हिँड्ने सबैभन्दा जान्ने हुन्छन् । मलाई मेरा बाबुआमाले पाँच कक्षासम्म पढाएका थिए । तिम्रा बाबुको इज्जत हेरेर मलाई दिएका थिए तिमीलाई । तिमीलाई हेरेर त कुकुरले पनि छोरी दिँदैन थिए ।’
‘तँलाई पनि कुनै गतिलो मान्छेले लाने थिएन । भिनाजूको घरमा धाएको धाएकै गरी भनेर तेरा बाबुले हतारहतार मसँग बिहे गरिदिएको हो कि होइन ? बोल्छेस् ?’
‘मेरो पवित्र मनलाई मेरो बाबुले पनि पाप सम्झे । बाबु पनि तिमी जस्तै लोग्नेमान्छे त थिए ! पाप चिताउन सक्ने ! अनि तिमीले पनि पाप चिताउने मौका पायौ । मेरो पवित्रतामा धावा बोलेर बाबु पनि मर्ने बेलामा पानी खान नपाई गए । तिम्रो त्यही हाल हुन्छ, हेरिराख न !’
त्यतिबेला रातको नौ बजिसकेको थियो । नानीहरू चकमन्न निदाइसकेका थिए । रमासँग झगडा गरेर रमाको लोग्ने बलौटे जेठो घरबाट बाहिर फुत्त निक्सियो ।
‘जावोस् । भोलि त मुन्टिहाल्छ नि !’, रमाले लोग्नेलाई कुनै भाउ दिइनन् । रोक्ने प्रयास पनि गरिनन् । उनलाइै थाहा थियो, लोग्ने जता गए पनि आइहाल्छ ।
तर त्यसो भएन । रमाको निष्कर्ष गलत सावित भयो ।
रमाको लोग्ने आएन । उनका आँखाहरू आँगन र सिकुवातिर तेर्सिए, लोग्नेको छाया पनि आएन ।
‘बुबा खोई आमा ? किन नआएका घरमा ? बोलाउ न !’, छोराछोरी जिद्धि गर्थे ।
‘आउँछन् । तिमीहरूलाई के के किनेर पनि ल्याइदिन्छन् । नकराई बस ।’
समयको वेग किन रोकन्थ्यिो र ? बाँसका तामा बुढा बाँस भए । चिलाउने र कुटमेराका रुख अग्गा अग्ला भए । महिना बित्यो । वर्ष बित्यो । अर्को नयाँ वर्ष आयो । तर बलौटे जेठो आएन ।
रमाले आफ्ना माइतीलाई गुहारिन्, लोग्नेको खोजी गर्न ।
घरतिरका सबै देवरहरूलाई गुहारिन् ।
बलौटे जेठाले मान्ने प्रधानपञ्चलाई गुहारिन् ।
सबैको चासो भयो । कता गयो होला ?
‘मान्छे अलिक हावा हो । कतै उड्दै होला ।’ यस्तो हुन्थ्यो गाउँका मानिसको प्रतिक्रिया ।
सञ्चार भनेको रेडियो र हुलाक मात्रै थिए ।
‘मैले केटाहरू पठाएको छु, तिनले जहाँ भए पनि मुण्ट्याएर ल्याउँछन् डुम्रालाई !’, गाउँ पञ्चायतका प्रधानपञ्च रातो न पिरो भए ।
प्रधानपञ्चले पनि खबर गर्नु पर्दा चिठी वा मान्छे नै प्रयोग गर्नुपथ्र्यो ।
रमाका दिनहरू झन् कठिन हुँदै गए । उनी पनि शारीरिक रूपले कमजोर बन्दै गइन् ।
छोराछोरीले बनी गरेर ल्याएकाले घर धान्न मुस्किल हुन थाल्यो ।
एक दिन बिहानै प्रधानपञ्च दुई जना युवाको साथमा रमाको आँगनमा आएर टक्क उभिए ।
‘ए बलौटे जेठी, बलौटे जेठो पत्ता लाग्यो,’ परै उभिएर बोले प्रधानपञ्च ।
रमाको मुटु फुलेर आयो । मजेत्रोले मुख आधा छोपेर रमा बाहिर निस्किन् । प्रधानपञ्चका मुखमा नहेरी बोलिन्, ‘कहाँ रछन् ?’
‘याङरूपमा थियो अरे । हेनेमेने गर्दा रक्सी पनि खान दिएछन् । खाएको सुरमा पार्टीको कुरा गरेछ । त्यसलाई मैले कति खेप भनें भनें, ए जेठा यो बेला पार्टीको कुरा खुलेर गर्नु हुँदैन, गोप्य पो गर्नुपर्छ त भनेको भनेकै थिएँ । सुने पो !’
पुलिसभन्दा रमाको छातीमा पहिरो गए जस्तो भयो ।
‘अनि उसलाई पक्रिएर लगेछन् । उसले म धामी हुँ, गरिब हुँ, मेरो परिवार छ, म राजनीति जान्दिनँ, राजनीति सुनेको मात्रै हुँ भन्दा पनि तिनले पत्याएनछन् । हिरासतमा राखेछन् । उसलाई खानदिने, भेट्ने, सान्त्वना दिने कोही भएनछन् । राजकाज मुद्धा लाग्छ भनेछन् ।…….’
०००००
‘बलौटेनी भाउजू, के सोचेर टोल्हाइरहनु भएको एक्लै ?’, पारि डाँडातिर एकोहोर टोल्हाएर उभिएकी भाउजूलाई महेशले अचानक प्रश्न गर्दा झस्किइन् । चार वर्षपछि टीका लगाउन महेश गाउँ जाँदा बलौटे ठूल्दाइसँग पनि भेटेर गफ गर्न मन भएकाले ऊ त्यता हानिएको थियो, बिहान साइतको टीका लगाउनसाथ ।
‘खै, दाइ खोई ? छोराछोरी खै ? किन टीकाको चहलपहल छैन ? सबै लथालिङ्ग देख्छु ।’
‘नानी, एक्लै छु यतिबेला । छोराछोरी रमाइलो छुन्छ भनेर मावल गएका छन् । दाइ….।’
‘के भयो दाइलाई ? म त उहाँलाई भेटन् काठमाडौँदेखि आएको भन्दा पनि हुन्छ ।’
‘छैनन्, नानी । घरमा आएनन्, मानें । पैसा कमाएर परिवारको जिम्मा लिएनन्, मानें । मलाई माया गरेनन्, मानें । छोराछोरीलाई हेरेनन्, त्यो पनि मानें । पर्धानका कुरा किन सुन्नु परेको थियो गरिबले ? पार्टीको कुरा किन गर्नु परेको थियो ? पर्धान आफूचाहिँ पार्टीका कुरा कसैसँग गर्दैनन् । जो होँचो, निमुखा उसलाई चाहिँ गर भनेर सिकाउँछन् । तिम्रो त आफ्नो मान्छे, मन दुख्छ होला, तर म बाँचुञ्जेल मेरो मनले भनिरहने छ, यिनीहरूले नै मार्‍या हो तिम्रो दाइलाई ।’
‘कसरी ? प्रधानपञ्च बढीबाले त सबैको हित गर्नुभएको छैन र ?’
‘तिम्रा दाइलाई यस्ता पार्टीको कुरा सिकाए । खाएको सुरमा कहाँ बोले, पुलिसले समातेर लगे । आफैँ मरेको कागज बनाए । तर मारे नानी तिनले दाजुलाई । हामीले पछि मात्रै थाहा पायौं ………………।’
‘भाउजू, समाल्नुहोस् आफूलाई । समयले ओरालो लगाएका, धन र बलले ओरालो लगाएका, जात र पेसाले ओरालो लगाएका तपाईं हामी यसरी हरसमयको सिकार भइरहनु पर्छ । हेरौं, समय सधैँ एकै ठाउँमा बस्दैन भन्छन् । हाम्रा पनि दिन आउलान् भोलि । म आउँदै गरौंला है रमा भाउजू ! म प्रधानपञ्च बढीबासँग पनि कुरा गर्छु । अहिले म लागें ।’
महेश हिँडेपछि रमाले दुला परेको सेतो मजेत्रोले आँसु पुछिन् । उनी जिङ्गरिङ्ग कपाल पारेर ठिङ्ग उभिएकी थिइन् आँगनमा । उनको बलौटे माटामाथिको बास क्रमशः खस्किँदै थियो । भत्किँदै थियो । त्यहीँमाथि घर बनाएर आजसम्म बाँचिरहिन् उनी । थाहा छैन, यो कुनबेला बगेर जान्छ, कुनबेला खुस्केर जान्छ र उनी पनि त्यहीं सलल बगिरहेकी हुनेछिन् । त्यसबेला उनी फेरि एक्लै हुनेछिन् । यो कमजोर अस्ताचलमा उनी उभिएकी छन् । घाम डुब्न लागेका छन् टीकाको दिनका, र उनको रङ्गीन जिन्दगीका । त्यसबेला टीकाको दिन पनि यो सन्नाटा छाएको घर महेशजस्ता कोमल हृदय भएकाहरूले कहिल्यै देख्ने छैनन् ।
तल पिङमा युवा जोडी दोहोरी गाउँदै छन्, खेल्दैछन् । तर पनि उनको ओठमा मुस्कानको आभाष देखिन सकेको छैन ।
‘कठैबरा, रमा भाउजूको दसैँ !’, डिल उक्लिँदै गर्दा महेशको मन बेस्सरी हुँडलियो ।