श्वेरकल्पनामा मैले पनि धेरैपटक अपसराहरू आकाशमा नाचेको देखेको छु । देवगणहरू उन्मत्त भएर रमाई रमाई हाँसेको देखेको छु । रसरागमा बेहोस भई उच्छृङ्खल भएका उर्वशीहरूले चाल पाई खुसुक्क पटुकी कसेको देखेको छु । अब तिमी यसलाई अश्लीलता भन या मनोरोग ! म त यसलाई सिर्जनात्मक कल्पनाशक्ति भन्न रुचाउँछु ।

‘तिम्रो म कुरै बुझ्दिनँ, के बोल्छौँ के ?’, शवनम अक्सर भन्ने गर्थी ।

उसलाई सजिलो गरी बुझाउन फेरि पनि मैले भूमिका बाँध्नु पर्थ्यो । अहो, मेरो काव्यात्मक शैली ! म नर्मल किन हुन सक्दिनँ ?

‘तिमी नर्मल किन हुन सक्दैनौ ?’, शवनमले बारम्बार सोध्ने प्रश्नमध्ये एक थियो यो ।

शवनमलाई मैले ठुलो युद्धपश्चात् जितेको थिएँ । पहिलो, आफ्नै मानसिक द्वन्द्वबाट । दोस्रो, साथीहरूको अस्वाभाविक चासोबाट । अनि तेस्रो, अनावश्यक हस्तक्षेपहरूबाट ।

कुनै जमानामा शवनम मेरा लागि लुपिता न्योङ्ओको ठाउँ लिन योग्य थिई । म उसलाई वियोन्सेभन्दा सुन्दर देख्थेँ । प्रेमले आकाश चुमेको समय थियो त्यो । ऊ थिई पनि त्यस्तै; रहरलाग्दी, भर्भराउँदी । एउटा सुन्दर गुलाबको फूलले यौवनको आकार लिएजस्तै; सुगन्धयुक्त, मधुले भरिपूर्ण ।

कुनै सिनेमाको हिरोइनको जस्तै उसको सुन्दरता मेरो स्मृतिमा आज पनि कैद छ, इतिहासका प्रत्येक सुन्दरीहरूका जवानी कैद भएजस्तै । कुनै रङ्गिन चलचित्रमा नभएर मेरो यादहरूको संसारमा ती ताजै छन् । सायद, हरेक मान्छे आफ्नै समयमा कैद हुन चाहन्छ । त्यही भएर होला, मान्छे वर्तमानलाई भविष्यका निम्ति एउटा मिठो यादका रूपमा सुरक्षित राख्न चाहन्छ । शवनमले मलाई त्यस्तै रङ्गिन स्मृतिहरू उपहार दिएर गएकी छे । मैले उसलाई सम्झँदा मेरो मस्तिष्कमा कुनै कामकाजी महिलाको स्मरण हुँदैन । त्यस्तो महिला जो दुई चारवटा सन्तान जन्माएर फतक्कै गलेकी छे ।  जसले परिवारको भविष्य तिखार्दा तिखार्दै आफ्नो सुन्दरता निखार्न भ्याएकी छैन । मैले शवनमलाई कुनै अनाकर्षक महिला जसरी कल्पनामा उतार्नु पर्दैन । मेरा स्मृतिका पानाहरूमा ऊ यो सबबाट मुक्त छे ।

बर्षौँअघि म र मेरा साथीहरू उसको बाटो ढुकेर बस्थ्यौँ । ती दिनहरूका सुरुवात लगभग यसरी नै हुन्थ्यो । भय र अपरिपक्वता मिसिएको नवयौवनको जोस नै यस्तो थियो कि त्यसलाई जितेर अघि नबढेसम्म केही पनि प्राप्त हुँदैन थियो । प्रारम्भमा बाहेक त्यति धेरै गाह्रो भने थिएन । बिस्तारै पछि अनुकूल हुँदै जान्थ्यो । जे होस ! कसैको मन जित्नु त्यति धेरै जटिल विषय थिएन ।

हाम्रो ती सचेत वार्तालापदेखिको अचेत निर्लज्जतातिरको यात्रालाई म बराबर स्मरण गर्छु ।

‘छि:  तिमी त कस्तो छाडा हो ।’, ऊ मलाई भन्ने गर्थी ।

मेरा लागि त ती अश्लील से अश्लील हरकत पनि सिर्जनात्मक कल्पना शैली नै थिए । सलील शिल्पका रूपमा मेरा अभ्यास थिए ती ।

शवनम आत्तिएर मलाई भन्थी, “छि: मान्छेले सुने भने के भन्छन् ?”

‘तिमीले सुनेर जे भनिरहेकी छौ, भने त्यस्तै भन्दा हुन । तर कसलाई मतलब छ र ?’, मेरो उही जवाफ रहन्थ्यो ।

कति मजालाग्दो थियो हाम्रो बात मराइ । ती दैनिक रातहरूको मिठा बातहरू कहिल्यै झर्को लाग्दा भएनन् । दैनिक उही, कस्तो निरसलाग्दो नभएको ? एकअर्कालाई एकछिन नदेख्दा कति न्यास्रो लाग्थ्यो ।

आधा रातमा मोबाइलको घण्टी बज्थ्यो । उताबाट शवनम उसै उत्तेजित बनाउन खोज्थी । उसले पनि त सिकी सकेकी थिई ।

ऊ उताबाट भन्थी, “तिमी कल्पनामा अपसराहरूलाई किन नाङ्गै नचाउँदैनौ ? कमसेकम उनीहरू घरि घरि पटुकी कसिरहनु पर्ने झन्झटबाट त मुक्त हुने थिए ।”

शवनम खित्का छोड्दै हाँस्थी ।

कस्तो बालसुलभ कुराकानी ? अहिले सम्झिँदा लाजले अनुहार रातो हुन्छ ।

“अँ, गुड आइडिया पागल ! यो यसबेला गर्ने कुरा हो । रातको दुई बजेको छ । मान्छेले सुने भने के भन्छन् ?”

म झर्किएर भन्थेँ, ‘तिमीले सुनेर जे भनिरहेको छौँ । त्यस्तै त भन्छन् होला ! हैन ?’

शवनम खित्का छोडेर हाँस्थी ।

म पनि गलल हाँस्थेँ ।

यस्ता जुगलबन्दी त प्रत्येक रात-प्रत्येक दिन कति चल्थे चल्थे !

हाम्रा फोन संवादले उसको घरका मान्छेको निद्रा डिस्टर्व भएको जस्तो लाग्थ्यो उसलाई । चकमन्न रातमा केही सर्याकसुरूक सुनिन्थ्यो।

‘गुड नाइट’ भन्दै शवनमले फोन राख्थी । ती गुड नाइटहरू पनि कति लामा र पीडादायी थिए ।

त्यो हाम्रो युग थियो । शवनम र मेरो । हिजो पनि म ती गल्लीहरूमा गुज्रिँदै थिएँ । त्यहाँ मैले उही बाटो ढुकिरहेको सागरलाई देखेँ । उसै गरी चन्द्रमाजस्तै मुस्कुराइरहेकी शवनमलाई देखेँ । अनि हाम्रा सहपाठीहरूका अतिरिक्त चासोहरू पनि निर्बाध रूपमा हाम्रो अघि तर्सिरहेको देखेँ ।तिनीहरूले विश्वास र ढाडस दिइरहेको पनि देखेँ । म एक्कासि रोमाञ्चित हुन पुगेँ ।

नयाँ युगिन जोडीहरूले हामीलाई विस्थापित गरेका रहेछन् । तिनीहरू दुरुस्तै हामी जस्तै छन् । उनीहरूका भावना र निश्चल प्रेम हाम्रै स्तरको रहेछ । यो कस्तो संयोग हो ?

ती युगिन जोडीहरू साह्रै जब्बर रहेछन् । चिहानको चिसो खरानी र धर्तीको मृत गर्भबाट उत्खनन गरेरै भए पनि ती अमृतमयी प्रेमलाई निकालेरै छोड्दा रहेछन् । प्रेमको विरासत जोगाउँदै प्रत्येक युगिन जोडीहरू आ-आफ्नो युग बाँच्दा रहेछन् । नयाँ रहस्योद्घाटन भएको दिन थियो त्यो !

सायद कसैले मृत समाधिमा पनि प्रेम हुर्काएर बचाएको हुनुपर्दछ । त्यही भएर त यो सदा ताजा र सुवासयुक्त छ । त्यति नै निश्चल, निर्विकल्प र निराकार छ । प्रत्येक युगमा त्यही सुरुवात, त्यही मिलन र त्यही अनुभूति छ । प्रेमलाई  त्यस्तो गर्व, त्यस्तो हठ र त्यस्तो साहस कहाँबाट आउँछ ?

त्यस्तै;

सुकुमार यौवन,  दिनहरूजस्तै दिन प्रतिदिन ढल्दै जान्छ ।

अनि एकदम कान्तिरहित हुन्छ ।

घामजस्तै त्यो नयाँ स्वरूपमा प्रतिपादन हुन्छ ।

फरक परिवेश, फरक पात्र र फरक परिस्थितिमा,

सायद प्रेमले विरासत यसरी नै जोगाउँछ ।

शवनमलाई म कविता लेखेर सुनाउँथेँ । ऊ मसक्क पर्थी । कलमका टुप्पा हुन् कि आँखाका भाका, तिनले हाम्रो हृदयको स्पन्दन गाउँथ्यो । उसका र मेरा गुनासा पनि अचम्मका हुन्थे । म घरसम्मको छोटो पैदल यात्राको गुनासो गर्थेँ । ऊ लामा बिछोडका रातको असन्तुष्टि पोख्थी । हामी कहिले लड्थ्यौँ । कहिले मिल्थ्यौँ । जे होस्, शवनम मेरो युगको सारथि थिई । एउटा प्रेमिल जोडीका रूपमा नै उसको अस्तित्व छ । आज पनि  म मसी सुकेको पुरानो डायरीको पाना पल्टाउँछु । ती कलिला अक्षरहरूले अभिव्यक्त गरेका भावहरूको कति सान्दर्भिकता आज छ, थाहा छैन ! ती सस्ता र हलुका लाग्ने शब्दहरूको आज कति मूल्य छ ? त्यो पनि यकिन थाहा छैन । तर शवनम मेरो भावनाहरूबाट ओझेल छैन । शरीरले रासायनिक परिवर्तन गरिरहेको बेला र आकर्षणको शक्तिले बेजोड प्रदर्शन गरिरहेको बेलाको सम्बन्ध थियो त्यो । लुकिछिपी अनि सचेत भएर गाँसेको सम्बन्ध थियो त्यो ।

म तिम्रो विषयमा साथीभाइसँग घमन्डका साथ फुर्ती लगाउँथेँ । तिमी यस्तो र तिमी उस्तो भन्ने मेरा तारिफहरू कहिल्यै सकिँदैन थिए । कति सुन्न नसकेर जल्थे । कति ईर्ष्या गरिरहन्थे ।

“के त्यो राजकुमारी हो र ?”- उनीहरू मुरमुरिन्थे।

“जसलाई सागरले मन पराउँछ, त्यो कुनै राजकुमारीभन्दा कम हुन्छे र ?”, म गर्व साथ जवाफ फर्काउँथेँ ।

कुनै दिन शवनम साबिकभन्दा राम्री भएर देखा पर्थी । त्यो दिन उसको लागि विशेष दिन हुन्थ्यो । हामी कहीँ कतै घुम्न जान्थ्यौँ अनि घण्टौँ एकर्कामा हराइरहन्थ्यौँ । साँझ अबेर घर फर्किन्थ्यौँ । अनि रातभर दिनभरिको चर्चा गरेर बस्थ्यौँ ।

पछिल्ला केही समय शवनम र मैले एकअर्कालाई केही आरोप लगाइराख्यौँ । ऊ मलाई भन्थी, “सागर, तिमी बदलिँदै छौँ ।“

“बदलाव प्रकृतिको नियम हो । होइन र ? तिमीलाई पनि त म अर्कै देख्दै छु ।”, म उसलाई भन्थेँ ।

ऊ भन्थी, “म बदलिएकी छैन । तिमी बरु पहिलाभन्दा परिवर्तन भएको छौ । फरक तरिकाले प्रस्तुत हुन्छौ तिमी ।”

“परिवर्तन पनि प्रकृतिकै नियम नै हो ।”, म ठट्टा गर्दै भन्थेँ ।

त्यसपछि ऊ केही बोल्दिन थिई । ऊ दुई चार दिन फोनसमेत गर्दिन थिई । पहिला यस्ता घटना नगण्य मात्र हुन्थे । बिस्तारै यसका मात्र बढ्दै गयो । मलाई यो समस्या जस्तो अनुभूत हुने गरी कहिल्यै लागेन । सायद उसलाई पनि नलागेको होस् । प्रेम जस्तै ती साधारण खटपटहरू पनि कम्ता रमाइला थिएनन् । ती ठुस्काठुस्कीहरु पनि कम प्रेमिल थिएनन् ! ती चित्त दुखाइहरूका पनि आफ्नै अर्थहरू थिए । हामी सम्बन्धका अन्तिम दिनको घोषणा गर्थ्यौँ । तर त्यो दिनका लागि तयारी कहिल्यै गरेनौँ । शवनमलाई सताउनुको मज्जा पनि छुट्टै थियो । प्रेमजस्तै पीडा पनि त आनन्द प्राप्तिको माध्यम हो । मलाई त यस्तै लाग्थ्यो ।

समयसँगै एकदिन कुनै सुगन्धित अत्तर जस्तै शवनम फुङ्ग हुँदै हावामा कतै हराइ।मेरो क्षमताको परिधि भन्दा पर र मेरो नियन्त्रण भन्दा बाहिर उडेकी थिई ऊ। त्यही रासायनिक परिवर्तनको विकृत रूपले हाम्रो प्रेमको कोपिला मारेको थियो। भावनाहरू बिस्तारै ठोस हुँदै थिए। चाहनाहरूले लतार्दै थिए। हामीहरू उही रूपमा टिक्न सकिरहेका थिएनौँ । मानौँ हाम्रो युगको अन्त्य हुन गइरहेको थियो। हामीलाई छिटो भन्दा छिटो विस्थापित गर्न अन्य कोही भर मधुर प्रयासरत थियो।

हामी सल्लाहले नै छुट्टियौँ। वेदना सहितको बिदाइका बाबजुद आज म त्यो पललाई कुनै वियोगान्त नाटक जस्तो स्मरण गर्न सक्दिन। त्यो स्वर्णिम पलको छुट्टै महत्त्व रहेको छ। त्यो समय त्यही अन्त्य गर्नुको आफ्नै मार्मिक फाइदाहरू छन्। हामीले समयलाई जहाँ उचित ठानेर छोड्नु पर्थ्यो त्यहीँ कैद गर्न सफल भयौँ। हाम्रो कथा कुनै सफल चलचित्रको फ्लप पार्ट-२ का रूपमा अघि बढेन। हाम्रो प्रेमले अनाकर्षकता र असमझदारीको सीमा नाघेन। न मैले उसलाई अनाकर्षक आइमाईका रूपमा झेल्नु पर्‍यो।न उसले मलाई कुरूप लोग्ने मान्छेको रूपमा स्विकार्नु पर्‍यो।

हाम्रो प्रेम अमर मात्र छ। यसले हरेक युगमा जस्तै समकालीन समय बाँचेको छ। यसको चिसो समाधिको खरानी घसेर आजकाल प्रेमिल जोडीहरू सगौरव प्रेममा व्यस्त छन्। युग त्यसको द्रष्टा छ। वर्तमान समय त्यसको साक्षी छ। शवनम र सागर प्रत्येक युगमा बाँचिरहनेछन्। मेरो स्मृति लोकमा शवनम सधैँ सजीव भएर विचरण गरिरहने छे।