डाँडामाथि उक्लिएको घामको एक झुल्का झ्यालबाट छिरेर मेरो बिछ्यौनामाथि छरिन्छ । अघि नै आँखा उघ्रिसकेका छन् मेरा । केही छिनपहिले जन्मिएर पनि मरिसकेको देवलमा बजाइएको घण्टाको आवाजलाई सुनिसकेको छु । भंगेराका चिरबिराइ, सारौंका जाँगर र हौसला पनि अहिले शिथिल भइसकेको छ । हरे कठै ! लहरहरूमा अस्तित्व कसरी बज्न थाल्छन् । कसरी शुरू हुन आँटेका कथा कसरी बीचमै भाँचिन्छन् । भित्र गहिराइमा हरे, कस्तो उराठ !

साँच्ची भित्रभित्रै सर्किरहेको यो व्यथा कस्तो हो ? किन पो होला कुन्नि रूप र आकार लिँदा लिँदा त्यो त्यसरी भत्किएको ?

म बिछ्यौनामा लम्पसार पर्छु, तर तटस्थताको अभ्यर्थना सम्भव हुँदैन । बिछयौनाअगाडिको झ्यालकै ग्रीलमा टाउको टाँसेर बाहिरतिर हेर्न थाल्छु म । बाहिर छन् उही सधैँ देखिने खेतका फाँट, डाँडाकाँडा, सल्ला र खरीका रूखहरू, खेतबारीका फाँटमा छरिएका काँचा र पाका इँटका घरहरू । ती घरहरू आजभोलि पनि उस्तै छन्, जस्तो मेरा बाबुबाजेका पालामा थिए । ती सब दृश्यसँग परिचित हुँदै आइरहेको छु बाल्यकालदेखिकै । ती दृश्यमा आजसम्म मैले किञ्चित् पनि परिवर्तन भएको अनुभव गर्न सकेको छैन । जहिले हेर, एउटै किसिमको आभास, एउटै किसिमको छनक ।

बिहान उठेदेखि मैले अहिलेसम्म चुरोट खाएको छैन । डाक्टरसाहेबले चुरोट नखानु भनेका छन् । जसरी हुन्छ चुरोट छाडिदिनुपर्छ, तर मैले तारासँग त्यो कुरा लुकाएको छु । बीस वर्षदेखि मेरो सहवासमा बसिसकेकीले मलाई चिनेकी छु भन्ने कुरोमा दावा गर्न सक्छे ऊ । राम्रो कुरो हो, आज आकाश सफा छ । हिजोको जस्तो झरीको झम…झम झ्याइँ–झ्याइँ आवाज छैन । आज झलमल घाम लागेको छ । हिजो त यति बेलासम्ममा मैले तीन खिली चुरोटलाई ठुटो पारेर मिल्काइसकेको थिएँ ।

म एउटा चुरोटको खिली सल्काएर धूवाँको छाला बनाउन थाल्छु । भित्तामा झुन्डिएको क्यालेन्डरमा पनि सस्तो खाले चुरोटको धूवाँले लाछा बनाइरहने मान्छेको तस्वीर छ । त्यसै–त्यसै हाँसिदिन मन लाग्छ । साँच्ची कस्तो विरोधाभास, रेडियोले भने हिजोआज चुरोट नखानु भन्ने प्रचार गर्न थालेको छ, अर्कोतिर भने चुरोटको आयात र उत्पादन भने दुई गुना । थोत्रो कनस्टर ठटाएझैँ आभास मात्रै, छिः !

कति गहिरो छ, कति नमीठो छ त्यो बाध्यताभित्र मोटाइरहेका हातका पञ्जा । लाग्दछ कराइदिऊँ कि भनेरेँ, कराई–कराई आफूभित्र अटेसमटेस भइरहेको विषमतालाई ओकलिदिऊँ कि भनेरेँ । मेरो कोठामा खेलिरहेका दाजु राजन र भाइ केशव कुस्ताकुस्ती गर्न थाल्छन् । म हप्काउँछु पनि कस्ता नालायक ठिटाहरू भनेर । तर, के असर पार्थ्योे र मेरो हप्काइले । दुवै रुन थाल्छन् ।

म झन्झन् चुरोटको सर्को तान्न थाल्छु । यस्तै हो भने त कहिल्यै पनि निरोगी हुन सक्नेछैन म । लाग्न थाल्छ बाँचुन्ज्याल नै रोगी भइरहन्छु कि भनेझैँ ! बिछयौनाबाट जुरुक्क उठेर दुवै केटाहरूलाई भुकुरिदिन मन लाग्छ । कस्ता केटाकेटीहरू आजभोलिका । बाका पालामा हामी त चुँक्क पनि गर्न सक्तैनथ्यौँ बाको अगाडि । खालि स्कूलका पाठ घोकिरहन्थ्यौँ । मैले त जेनतेन एम्. ए. गरेको छु । यिनीहरूको भाग्यमा एम्. ए. त के प्रवेशिका पास गर्न पनि लेखेको छैन कि क्या !

अहिलेसम्म तारा मेरो कोठामा तातो चियाको गिलास लिएर दुईचोटि पसिसक्नुपर्ने हो । ऊ कुन बेला उठेर भान्छा तरखर गर्न गएकी हो मलाई पत्तो छैन । उठ्ने मामलामा उसको अगाडि हार मानेको छु मैले । सबेरै उठ्न र कामकाज गर्न अल्छी मान्दिन ऊ । ऊ भँगेराहरू चिरबिराउनुभन्दा पनि पहिले नै उठ्ने गर्छे । ऊ उठ्ने बेलामा म मस्त निद्रामा परेको हुन्छु ।

तर, अहिलेसम्म तारा किन नआएकी होली ! एक हप्ता पनि बितेको छैन मैले एक धार्नी चिनी किनेर ल्याएको । त्यति चिनी पन्ध्र दिनलाई नभ्याए पनि दश दिनसम्मलाई त अवश्य भ्याउनुपर्ने हो । लौ, दश दिनलाई पनि पुगेन रे ! नपुगेको भए त्यसको सुइँको हिजै राति मलाई दिइसक्नुपर्ने हो ताराले । तारा आए चिया खान पाइने थियो । तर, तारा आउँदिन ।

बरु, ताराको सट्टा गिलास लिएकी मीनु देखा पर्छे । मेरा हाडहरू मानौँ बज्न थाल्छन् । मैले मानौँ यो मीनालाई पहिले देख्न सकेको थिइनँ । देखे पनि मानौँ चिन्न सकेको थिइनँ । साँच्चै मैले चिनेकी मीना त कति सानी थिई– बामे सर्दै, मेरो घुँडामा घुगुती खेल्दाखेल्दै हुर्किएकी । शंका र उपशंकाका दोभानबाट मुक्त थिई ऊ ।

तर, अहिलेकी यो मीना त मेरो रोगी अनुहारमा टाँसिएकी राक्षसी छायाजस्ती छे । के बेर उसमाथि तन्नेरी केटाहरूका आँखा तँछाडमछाड गर्दै चिप्लन ! त्यस्तो भयो भने लौ परेन फसाद ! उसका हातपाखुरा काँढा बनेर मानौँ मेरो छातीलाई घोच्न थाल्छन् । उसको सम्पूर्ण यौवन नै हुरहुरी बलेर मानौँ मलाई पोल्नझैँ थाल्छ । म आँखा चिम्लन्छु स्वयम्लाई छकाउन । छोरीको बाबु हुनु पनि कति चिन्ताको विषय हुँदो रहेछ, त्यो कुरोलाई आज पो बल्ल अनुभव गर्न थाल्छु म ।

“बालाई अड्डा जान बेर हुँदैन ?” – मीना मानौँ पिरोलिन्छे । हरे ! कस्तो बाध्यता छ उठ्नुमा पनि ।

रामचन्द्रजीको अस्थायीको म्याद सिद्धियो, म्याद थपका लागि ने. लो. से. आ. मा लेख्नु छ । दशदश जवानको म्याद थपको निम्ति लेखिगएको स्वीकृति अझै प्राप्त भइसकेको छैन । गोपीलाई लन्डन पठाउन फाराम मगाइदिनु छ । फेरि निर्देशकज्यूले ल्याउनुभएका दुईजनालाई अस्थायी भर्ना गर्न टिप्पणी उठाउन त बाँकी नै छ । यस सम्बन्धमा निर्देशकका आँखा अँगार हुन केही बेर छैन ।

सबभन्दा ठूलो कुरो त के भने हरेक पाँच–पाँच मिनेटपछि निर्देशक बोलाइरहनुहुन्छ । यी सब प्रशासनिक त्रुटिभित्र पर्ने कुरा हुन् । तर, त्यस सम्बन्धको गुनासो सुनाउने नै कसलाई । सुनायो भने आफ्नो नोकरीकै काल !

तर…तर… त्रुटि कस्तो ? यो त रीत हो । त्रुटि त घुमाउने मेचमाथिका बुद्धिहरूबाट हुँदै हुँदैन । उनीहरूबाट एउटा चिठी लेख्न पाँच सय ताउ कागज खर्च गराए पनि राइट, एक ताउ कागज खर्च गराए पनि राइट । उनीहरूलाई त्रुटि देखाउन थाल्नु नै नालायकी । सुनेको छु– परार साल एउटाले त्रुटि देखाउन के चेष्टा गरेको थियो रे, त्यस्तैमा चट भएको थियो रे उसको तानामाना नै ।

सारा मध्याह्नी मानौँ ममाथि अट्किन्छ । फाइलभरिका सारा अक्षरहरू लाख–लाख झिँगाको चोला लिएर मानौँ भुनभुनाउन थाल्छन् ममाथि ।

“फलानाजी ! मेरो काम भएन । फलानाजी । किन ढिलासुस्ती ।” सेक्सन अफिसरसाहेब घरबिदा लिएर गएका, आजसम्म पनि आएका छैनन् । उनले घरबिदा लिँदा लुगा धुने साबुनको भाउ पाउको एक रुपियाँ थियो, अहिले दुई रुपियाँ भइसकेको छ । सेक्सन अफिसरसाहेबको बिदा भुक्तान भएको पनि ठ्याम्मै एक हप्ता भइसकेको छ । उनी अगाडि भइदिएका भए पनि काम केही छिटोछरितो किसिमले हुने थियो । टिप्पणीसिप्पणी लेख्न अल्छी माने पनि दस्तखत गरी हाकिमसाहेबकहाँ फाइल त पेश गर्ने गर्थे । उफ् ! जागिर खानु त हाकिमी दर्जाकै राम्रो, हाकिम पाइएन भने एकाउन्टेन्ट वा किनमेल र ठेक्कापट्टाको काम गर्नु पनि केही मज्जाकै कुरो हो ।

हरे ! कुन प्रकृतिको मान्छे म, कठै ! बाध्यताले गर्दा कुन प्रकृतिको काम समाउन पुगेँछु । स्वभावअनुकूलको काम भेट्टाएको भए सम्भवतः यति साह्रो भाँचिने थिइनँ होला म । तर, भाँचिनु कस्तो ! के भाँचिनु भन्ने स्वयम् मभित्रको भौतिक मोहबाट उत्पन्न हुने विडम्बनायुक्त शब्द होइन र !

कति जाती हुने थियो म जन्मिँदै नजन्मिएको भए । लौ, जन्मिहालेँ रे । कति जाती हुने थियो जन्मनेबित्तिकै मेरी आमाले मलाई घाँटी निचोरिदिएकी भए । त्यसो भएको भए डर त हुने थिएन नपुंसकताको पर्दा खस्ने !

समय घस्रँदै जान्छ मेरा लुला खुट्टाहरूबाट । शान्तिका लागि स्वयम्लाई नै निल्ने प्रयत्न गर्न थाल्छु म । फेरि पछि हरे ! कस्तो गनाउने किसिमको बोध ! निरर्थकतामा पुच्छर हल्लाउँदै भुक्ने, आफ्ना ख्वामितको पैतालालाई चाट्ने, बटुवामाथि भुकेर इमानदारी देखाउने कुकुरको जस्तै जीवनको बोध पो त भइरहेको छ ।

म क्यान्टिनको टेबिलवरिपरि छरिएका आँखा र अन्तरकथाहरूका हूलमा हराउने प्रयत्न गर्न थाल्छु । पिउनले समाचार ओसारिरहन्छ कहिले के कहिले के । कहिले हाकिमको समाचार, कहिले भेट्न आउनेहरूको समाचार । फेरि टेलिफोनको घण्टी टिनिन टिनिन… बजिरहन्छ । रिसिभरलाई भुईंमा पछारिदिऊँ झैँ झोक चल्छ । तर, झोक चलेर पनि के ! रिसिभरलाई पछार्ने के पो तागत मेरो !

उफ् ! कस्तो विवशता ! कस्तो बन्धन । सम्भवतः यसबाट मुक्ति छैन । मुक्ति भए तापनि खै कहाँ छ जिब्रो मभित्र ? म त लाटो भइसकेको छु । चकमन्न भइसकेको छु । भाँचिएका पखेटा फरफराउने पिँजडाभित्र थुनिएको चरो भइसकेको छु । मेरो बोध मानौँ रट्न थाल्छ—
“बालक बबुरो द्विज शुकनामा
हूँ म परेको छू पिँजडामा ।”

झ्यालहरू धमाधम खोलिँदै जान्छन् । कुनै बारमा बसेर साथीको खल्ती झारझुर पारी ककटेलका दुई–चार पेगले रगत तातो पार्ने चेष्टा गर्न थाल्छु म । दिनभित्रको चकमन्नताले आत्मसमालोचनाको रूप लिन्छ— अलकत्रे सडकमाथि–माथि । तर कठै ! खानु र डुल्नुभित्र पनि कति चिसोपन छ । लाग्न थाल्छ साथीको स्वरूप रित्तो कनस्टर भएझैँ । हरेक मोडमा उही कनस्टर ठटाइरहेझैँ स्थितिको बोध ।

मेरो साथीभित्र नशा छ । मभित्र पनि नशा छ । नशाभित्रभित्रै पनि पिलपिलाइरहन सक्ने चेतनाको उज्यालो मानौँ काम्न थाल्छ । म बुझिरहेको छ— ऊ त्यसलाई स्वीकार गरेको छ भन्ने कुरा देखाउन चाहँदैन । उसको अहंमा धक्का लाग्छ । त्यसैले ऊ नशाले लट्ठिएको जिब्रोभित्र पनि पिपलमिन्ट बन्ने कोशिश गरिरहेछ ।

तर, म ऊसँग हुन्नँ । ऊसँग भए पनि घरतिर फर्किन्छु । सम्भवतः साथी पनि मेरो नजीक हुँदाहुँदै पनि घरैतिर फर्किन्छ । घर अर्थात् हाम्रो अहंका सम्भावनाहरूको तगारो फुकाउने स्थल । मेरो विकृत स्वर र विकृत हेराइले त्यहाँ कोमलताको रूप धारण गर्छ । साथीले सम्भवतः मलाई बुझेको छैन । सम्भवतः बुझेर पनि बुझ पचाइरहेको छ ।

ऊ मेरो पाखुरा समातेर एकाएक दौडन थाल्छ । सभ्यताले हामीलाई दगुर–दगुर भनेर लखेटिरहेछ । तर, म उसमा रमाउन सकेको छैन निश्चय पनि । म आफैँमा दगुर्दादगुर्दै लतारिन थाल्छु । ऊ मेरो पाखुरालाई चिमोटेर दगुर्न थाल्छ । जान्दछु उसको उपध्राइँभित्र त्यै प्रक्रिया चञ्चल भइरहेको छ, जसलाई छल्न म स्वयम् आफूलाई आफैँ चपाउने गर्छु । तर, सबथोक खुला छ । मिस्टिसिज्मले भने अझै प्रश्रय पाएको छैन । मिस्टिसिज्म त्यसै–त्यसै पग्लँदै छ । ऊ रित्तो टिन, म रित्तो टिन, हामी दुवैको हरेक प्रक्रियामा उही रित्तो टिन ठटाएको आवाजको आभास ठ्याङ–ठ्याङ…। धूलो मुछिएको बबन्डर… ट्युबलाइटको उज्यालोमा झल्किरहेको कोलटारे सडकमा पनि उही रित्तोपनको छनक । अब फेरि मेरो स्मृतिमा घर खेल्न थाल्छ । तर, रक्सीको मातले छोइएको साथी भने एउटा रूखको हाँगा समातेर मच्चिन थाल्छ बाँदरझैँ ।

घरमा राजन र केशव अम्बाको बोटको हाँगामा मच्चिन थाल्छन् । म पनि उनीहरूझैँ आफूलाई केटाकेटीपनमा अनुवाद गर्न सक्छु । उनीहरूझैँ म पनि अम्बाको बोटमा मच्चिन सक्छु । तर, कसोकसो मनभित्र एउटा पर्खाल छ, जसले मलाई बाल्यकालतिर फर्किन दिँदैन । मेरो चेतना मानौँ चिच्च्याउँछ— ‘अब म जे गरे पनि बाल्यकालको रूपमा अनुवाद हुन सक्तिनँ… सक्तिनँ ।’

आश्चर्य ! तारा पनि त मैजस्तो हाड, मासु, रगत र थेग्राहरूले तयार भएकी यौटा आकृति हो । उसले कसरी पो सम्झौता गरेकी होली परिस्थितिसँग । तारा मेरो स्मृतिमा झुल्किन्छे । ऊ राम्री थिई । तर, जुनताका ऊ राम्री थिई तिनताका उसले पकाएको दालभातमा स्वाद थिएन । उसको सहनशीलता पनि स्वादिलो लाग्दैनथ्यो । तर, आजभोलि ऊ राम्री देखिन्न । तर आश्चर्य ! यस्ती उसले पकाउने गरेको दालभात र उसको जाँगर भने साह्रैसाह्रै स्वादिलो हुँदै गइरहेछ ।

हो, ऊ झन्झन् उदाउँदै जान्छे । उसका हातखुट्टाको बनोट, उसको अनुहारको बनोट, उसको सम्पूर्ण अस्तित्वले नै तीव्र किसिमले मेरो मानसमा रूप र आकार लिन थाल्छ । यही कुरालाई लिएर मेरो साथी मलाई ‘रोमान्टिक’ भन्छ । ठीक हो, म उसको कुरालाई स्वीकार गर्छु । उसलाई स्वीकार गरेर म घरतिर बाटो बनाउँदै जान्छु । नगए त म झन् अतालिनेछु ।

घरमा पुगेपछि साराका सारा अपमानित अनि जलिल तीरले उकासेका घाउहरूलाई तारासँगको रोमान्सको पछ्यौरीले छोपेर निश्चय पनि सहन सक्छु । निश्चय पनि म फलामे कवच धारण गर्दै आइरहेको छु तारालाई अँगालेर ।

‘आँसु त्यसै त्यसै छचल्किन्छ’बाट ।