बिहीबारको दिन थियो । बिहानैदेखि रुचिको पेट दुखिरहेको थियो । तैपनि आफ्ना नियमित घरायसी कामहरू सकेर उनी अफिसका लागि तयार भइन् । छोरीलाई स्कुल पुर्‍याएर अफिस पुग्दा दुखाइ अझै बढ्दै थियो । सोही दिन उनको प्रेजेन्टेसन थियो अफिसमा । अघिल्लो दिन अबेर रातसम्म बसेर तयार गरेकी थिइन् उनको आफ्नो पावरपोइन्ट प्रेजेन्टेसन । त्यही कामको चापले पनि पेट दुखेको होला भन्ने उनको अनुमान गलत साबित हुँदै थियो ।

सकिनसक आफ्नो काम पूरा गरिन् उनले तर दुखाई कम हुने नाम नलिएपछि उनले बिदा लिएर घर फर्कने निर्णय गरिन् । दुखाई सहनै नसक्ने भएपछि आफैँ घर जाने स्थिति पनि भएन । उनका श्रीमान् रोहितलाई बोलाइयो । उनका श्रीमान् पनि अत्तालिँदै उनलाई लिन अफिसमै आइपुगे । उनको अवस्था देखेर रोहितले उनलाई घर होइन, अस्पताल नै पुर्‍याए । दुखाइ बढेर रुचि फत्र्याक नै परिसकेकी थिइन् । इमरजेन्सीमा राखेर नदुख्ने औषधि दिँदा पनि उनको पीडा कम भएको थिएन ।

अल्ट्रासाउन्डको रिपोट आएपछि थाहा भयो उनको दुवै मिर्गौलामा ससाना पत्थरहरू जम्मा भएका रहेछन् । त्यस्ता पत्थरहरू पिसाब थैलीबाट झर्ने क्रममा असाध्यै पीडादायी हुँदा रहेछन् । कति पत्थर पिसाबबाट आफै निस्किए पनि कति त नलीमै अड्किएर अप्रेसन गर्नै पर्ने स्थिति आउँदो रहेछ । रुचिको पनि त्यस्तै भएको रहेछ । पत्थर अड्केको हो कि होइन थाहा पाउन थुप्रै टेस्टहरू गरिए पनि पत्ता लाग्न सकिरहेको थिएन । उनलाई बान्ता आउन पनि सुरु भएको थियो । पिएको पानी पनि पेटमा अडिएको थिएन ।

उनको यो स्थिति देखेर उनका श्रीमान् पनि हताश भएका थिए । दौडधुप र तनावले उनी पनि विचलित देखिन्थे । दिनभरिको दुखाइ साँझको इन्जेक्सनले कम हुँदै गएको थियो । साँझ परेपछि अस्पतालमा कसले कुर्ने भन्ने समस्या पर्‍यो । छोरी घरमा एक्लै थिई । उसलाई अस्पतालमा राख्ने कुरा पनि भएन ।

रुचिका श्रीमान्ले आफ्नै अफिसमा सरसफाइ गर्ने दिदीलाई आग्रह गरेर अस्पतालमा कुर्न लगाए । यो एउटा राम्रो समाधान निकालिएको थियो । नत्र एकल परिवारमा बस्नेहरूलाई यो ठुलो समस्या हो । अरू बेला आनन्दले जीवनयापन गरे पनि यस्तो बेलामा चाहिँ अप्ठ्यारो नै पर्नु स्वाभाविक हो । परिपक्व तर दुःख पाएकी ती दिदीले अस्पतालमा रुचिको राम्रै सहयोग गरिन् । रुचिले श्रीमान्सँग कुनै गुनासो गर्नुपरेन । भोलिपल्ट उनलाई आफ्नो अफिसको ड्युटी पनि गर्नै पर्ने थियो । त्यसमाथि छोरीको जिम्मेवारी पनि थियो ।

अर्को दिन शुक्रवार थियो । रुचिको बिमारीको खबर धेरैले थाहा पाइसकेका थिए । उनको अप्ठ्यारो बुझेर उनकी मामाकी छोरी भेट्न आउनु भयो । काठमाडौँमा अरू कोही नभएकाले ज्वाइँलाई गाह्रो हुन्छ भन्ने ठानेर उहाँले भन्नु भयो, “छोरीलाई एक दुई दिन मसँगै राख्छु ।ु तिमीलाई सन्चो भएपछि लिन आउनु ।”

रुचिलाई पनि राहत मिल्यो । दिदीको छोरी र रुचिकी छोरी एकै उमेरका भएकाले साह्रै मिल्थे । त्यसैले छोरी खुसी हुँदै गएको देख्दा उनको मन हलुङ्गो भएको थियो । छोराछोरीलाई रुवाउँदै छोडेर हिँडेको बेला त मन पनि असाध्यै गह्रुँगो पो हुन्छ त । छोरीको खुसीमा रुचिलाई पनि सन्तोष मिलेको थियो ।

घरमा छोरीको तनाव नभएपछि त उनका श्रीमान् पनि त्यो दिनलाई स्वतन्त्र थिए । फेरि अर्को दिन शनिवार परेकाले अफिसको झमेला नै थिएन । त्यो दिन त अस्पतालमा कुर्न अरू मान्छे नचाहिने भयो । श्रीमान् साथै भएपछि त अरुबेला पनि रुचिलाई ढुक्क लाग्थ्यो । आफ्नो परिवारसँग समय बिताउन पाउँदा सबै तनाव भुल्थिन् । अझ बिरामी हुँदा त अपेक्षा नहुने कुरै भएन । अफिसबाट उनी सोझै अस्पताल आउँछन् भन्ने अपेक्षा थियो रुचिको । पीडा हिजोभन्दा आधा कम भइसकेको थियो । एक दुइटा टेस्टको रिपोट आइतबार मात्र आउने खबर आइसकेको थियो । त्यसमाथि बिरामी कुर्न आफ्नै श्रीमान् आउने भएपछि पीडा त कम हुने नै भयो उनलाई । कुर्न राखिएकी दिदी पनि निकै फरासिली रहिछिन् । बोलिरहने, राम्रो हेरविचार गर्ने उनको स्वभाव रहेछ । उनीसँग कुरा गर्दा समय बितेको पत्तै भएन रुचिलाई ।

साँझ पर्‍यो । बल्ल उनका श्रीमान् आइपुगे । रुचिको मुहारभरि खुसीका तरङ्गहरू दौडिए । एकै छिनमा उनको तनमन सबै उज्यालियो । आफ्नो ख्यालै नगरी रोहितकै बारेमा सोधिरहिन् । के खाने, दिन कस्तो भयो आदि इत्यादि । एकछिन अस्पताल बसेपछि उनी घर जाने तरखर गर्न थाले । रुचि छक्क परिन् । आफूलाई आज अस्पतालमै कुरिदिन्छन् होला भन्ने उनको आशामा तुसारापात भयो ।

“जान पो लागिसेको ? आज यहीँ अस्पतालमै मलाई कुर्ने होइन र ? मैले त आज हजुर यतै बसिसिन्छ होला भन्ठानेको ? दिदीलाई घर पठाउनेबारेमा सोच्दै थिएँ । हिजो पनि कुरेकोले उनको निद्रा पनि पुगेको छैन ।”

“हेर न, आज दिनभरि मिटिङको तनावले थाकेको छु । हिजो पनि छोरीलाई पकाउँदा, ख्वाउँदा, होमवर्क गराउँदा सुत्नै ढिलो भयो । आज म ढुक्कले सुत्छु ल । भोली त पक्कै कुर्छु तिमीलाई ।”

यति भनेर उनी दिदीलाई केही कुरा निर्देशन दिएर घर फर्के । जाने बेलामा उनको हात समातेर रुचिलाई भन्न मन थियो, “प्लिज, आज, यहीँ बस्दिस्यो न । हजुर साथ हुँदा मात्र पनि मलाई आफै निको भएझैँ हुन्छ ।”

उनका श्रीमान्लाई उनका यी गन्थन सुन्ने फुर्सद नै कहाँ थियो र ! जसरी हतारमा आएका थिए, उसैगरी हतारमै फर्किए उनी । उनी निस्किदा हल्लिएको ढोका धेरैबेरसम्म हल्लिरह्यो । रुचिको मन पनि त्यसैगरी हल्लिरह्यो । सुरुमा जोडले, अनि बिस्तारै । ढोका आफ्नो ठाउँमा छिटै आइपुगे पनि उनको मनलाई भने धेरै समय लाग्यो ठाउँमा आउन । एक त बिरामी, अर्को टुटेको मन । अलि मुस्किल भयो उनलाई सम्हालिन । छेवैमा सहयोगी दिदी थिइन्, उनको अगाडि आफ्ना संवेदना देखाएर कमजोर हुन मन थिएन उनलाई । सबै सामान्य भएको नाटक गरिन् एकछिनलाई ।

दिदी क्यान्टिनबाट सुप ल्याउँछु भनेर जानुभयो । यता रुचिको मन पनि तातो सुपझैँ उम्लिरह्यो । भतभती पोलेजस्तो भइरह्यो । बिरामी स्वास्नीलाई एक रात पनि अस्पतालमा कुर्नै नसक्ने गरी पो थाकेका रहेछन् उनी । पराईलाई कुरुवा राखेर पनि मनमा कसरी सन्तोष मिल्दो हो उनलाई ?अघिल्लो रात छोरीको कारणले थाकेको बहाना बनाए उनले । यस्ता काम त उनी दिनहुँ गर्छिन् । कहिल्यै थाकेँ भनेकी छैनन् । उनी पनि दिनभरि अफिसमा खटिन्छिन्, साँझ बिहान घरधन्दा उही हो, कसले आएर गरिदिन्छ र ? अस्पताल भर्ना हुने अघिल्लो दिन पनि उनी अबेर रातीसम्म घरायसी धन्दा सकाएर अफिसकै काममा व्यस्त थिइन् । कसले बुझ्छ आइमाईका यस्ता कथाव्यथा ?

जति नै व्यस्त भए पनि यदि उनका पति अस्पताल भर्ना भएका भए आफूलाई थकाइ लागेको छ भनेर घर गएर सुत्न उनको मन मान्थ्यो होला त ? थाकेकै भए पनि राती सुत्नलाई कसैले रोकेका थिएनन्, सुत्न पाइहाल्थे । श्रीमतीलाई गाह्रो साह्रो पर्दा भौतिक उपस्थितिले मात्र पनि औषधिकै काम गर्छ भनेर उनले बुझ्नु पर्ने हो, तर बुझेनन् । जीवनमा आइपर्ने यस्ता घटनाका बारेमा न कसैले सिकाउन सक्छन् न त पढाउन नै ।

त्यो रात उनी राम्ररी निदाउन सकिनन् । पेटको दुखाइले भन्दा मनको दुखाइले असह्य बनायो उनलाई । एक त औषधिको डोज, अर्को, उनी साँझ आउँछन् भन्ने आशा, त्यसैले पनि दिउँसै ढुक्कले निदाएकी थिइन् उनी । प्रतिफल अहिले भोग्दै छिन्, रातभरि नेत्रहरूले चिम्लिदिए मात्रै । मनभरि कुराहरू खेलेर उकुसमुकुस बनाए । अचम्मै त हो, उनी साथ भइदिएका भए, रुचि दिनभरि सुतेकै भए पनि ढुक्कले निदाउने थिइन् ।

भोलिपल्ट बिहान रोहित अस्पताल आए । रातभरिका पीडा छिट्टै भुलिहालिन् रुचिले पनि उनलाई आफ्ना सामु पाएपछि । मन एकैछिनमा फुरुङ्ग भइहाल्यो । रुचिलाई तातो पानी दिन उनी अगाडि के आएका थिए, मदिराको गन्ध ह्वास्स आयो । रुचिले थाहा पाइहालिन्, हिजो राती घर जानै पर्ने कारण । उनका आँखा पनि राता राता भएका थिए ।

त्यो देखेर रुचिले सोधिन्, “ हजुरलाई मभन्दा रक्सी प्यारो भयो होइन ? त्यसैका लागी एक्लै घर गइसेको हो हिजो ?”

प्रत्युत्तरमा उनले केही बोलेनन् । रुचिलाई झन् धेरै पीडा बोध भयो । स्वास्नी बिरामी भएर अस्पताल भर्ना हुँदा पनि पिउनै पर्ने कस्तो बानी हो ? भन्न त सजिलो छ, तनाव भएकाले पिएँ भनेर । तर रात बिरात केही आपत् विपत् पर्‍यो भने त्यस्ता मान्छेसँग के अपेक्षा गर्ने ?उनको लोग्ने कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने आभास भयो उनलाई । आफूले उनलाई सर्वस्व ठाने पनि उनले आफूलाई केही ठानेका रहेनछन् । माया भएको भए एक त उनी राती अस्पतालमै रोकिने थिए, अर्को, घर गए पनि मदिरा पिउन सक्ने थिएनन् । लोग्नेप्रतिको उनको माया एकोहोरो मात्र रहेछ । कता कता होस आएजस्तो भयो उनलाई ।

डिस्चार्ज भएर घर गएको केही दिनसम्म पनि रुचिको मनमा यही कुराले घर बनायो । अरू कुनै कुरामा मन लाग्न छोड्यो उनलाई । रोहितको व्यवहारले उनको चित्त अझै दुखेको थियो । उनी आफै पतिदेखि दुरी बनाइरहेकी थिइन् । मुटुमा चोट त परेकै थियो ।

एकदिन घरको टेलिफोनमा घण्टी बज्यो । रुचिले उठाइन् । “हेलो !”

“हेलो भाउजू, आज दाइलाई खुसीको खबर सुनाउँछु भनेको उहाँको फोन नै अफ रहेछ । त्यसैले घरकै नम्बरमा गरेको ।” रोहितका अफिसका पार्टनर थिए उनी ।

“के कुरा हो, मलाई पनि सुनाउनुहोस् न ।” आश्चर्य मिश्रित स्वरमा रुचिले भनिन् ।

“सुनिल पक्राउ परेको कुरा दाइलाई सुनाइदिनुस् है । सबै तनाव अब सकिने भयो । उसले आफ्नो अपराध स्विकारिसक्यो । सबै रकम फिर्ता आउने तय भएको छ ।”

रुचि एकछिन जिल्ल परिन् । फेरि सम्हालिएर सोधिहालिन् ।

“के अपराध गरेको थियो र सुनिलले ?”

“ल, हजुरलाई थाहा छैन ? बैङ्कमा जम्मा गर्न पठाएको सबै पैसा लिएर फरार थियो सुनिल नौ दिनदेखि । जताततै खबर गरेपछि आज बल्ल गिरफ्तार भएको छ । रोहित दाइ र हामी त सारै तनावमा पो थियौँ त । उसलाई नभेटेको भए हाम्रो व्यवसाय नै डामाडोल हुने स्थिति आइसकेको थियो भाउजू ।”

रुचिका कानमा यी शब्दहरू प्रतिध्वनित भइरहे । नौ दिन अगाडि नै हो उनी अस्पताल भर्ना भएकी । कस्तो संयोग ! त्यही दिन पो सुनिलले अफिसमा घात गरेको रहेछ । उनका श्रीमानलाई त्यो दिन दोब्बर तनाव खेप्नु परेको रहेछ । त्यसैले गत शुक्रवार उनले थाकेको छु, आराम गर्छु भनेका रहेछन् । तनावले नै होला एक्लै मदिरा सेवन गरेका । रुचिलाई केही नभएको भए त उनले अवश्य भन्ने थिए सबै यथार्थ । श्रीमती बिरामी परेकाले केही नसुनाएर आफू एक्लै पिल्सिएका रहेछन् रोहित ।

यथार्थ कुरा थाहा नहुनाले उनले रोहितमाथि कुविचार राख्न पुगिन् । हुनसम्मको आत्मग्लानि भयो उनलाई । आफूले धेरै दिनदेखि उनीसँग राम्रो बोलीचाली पनि गरेकी थिइनन् । दोहोरो कुराकानी गर्न पटक्कै मन थिएन उनको । आज उनलाई सर्प्राइज दिने योजना छ रुचिको ।

रोग लागेको आफ्नो शरीरको पनि हेरविचार गर्न छोडिसकेकी थिइन् । एकाएक बाँच्ने रहर पलाएर आयो उनको । त्यसैले भनिएको रहेछ – खुसी बाहिर खोजेर पाइँदैन, आफैँभित्र खोज्नुपर्छ । आज उनले आफैँभित्र खुसी भेटेकी छिन् । अब रोहितलाई भएभरको माया खन्याउने छिन् । आफ्नो गल्तीका लागि क्षमा पो कसरी माग्ने हो ? – सोच्दासोच्दै उनी आफैँसित लजाइन् ।