आफू हुर्केको त्यो प्यारो घर !, सँगै खेलेका ती गाउँले दम्तरी !, कलेजाको टुक्रा त्यो नयाँ जहान !, सधैँ गाई चराएर सुसेलेको त्यो गाउँबेंसी ! सम्झँदासम्झँदै तिलेको आँखा टलपल हुन्थ्यो । पढेलेखेको नभए पनि सकभर ऊ आफूलाई समाल्थ्यो ।

तर, अलिकति कामको फुर्सद भयो कि उसलाई पेटभित्र आगो दन्किरहेको भान हुन्थ्यो । उसलाई शान्ति थिएन । दिउँसो हाँसेको बेला पनि त उसको छातीभित्र कहाँ–कहाँ डाह भइरहन्थ्यो । झन् राति सुतेर ननिदाउन्जेल एकान्तमा त सबैको मनमा कुरा खेल्ने नै गर्छ, उसलाई किन असह्य नहोस् !

मटानको गुन्द्रीमा बोरा ओढेर सुतेको छ, सुस्केरा हालिरहेछ, ‘सुई… सुई ।’ फेरि उसैलाई थाहा छैन, ‘म सुस्केरा हालिरहेछु ।’ आज मात्र हैन, त्यो बेला उसलाई सधैँ मनको बहले बेसुर बनाएको हुन्छ ।

दिउँसोभरिको पसीनाको तर लगाएर गरेको त्यो परिश्रमको त्यो पुरस्कार ! धन्य भगवान् ! कप्तानसाहेबलाई बिहान तोप नचल्दै उठेर तमाखु टक्य्राउनुपर्छ । त्यो बेलासम्म ऊ निदाएको छैन । घण्टाघरले अढाई हानिसक्यो, ‘टङ् टङ् ।’

सानैमा बाबुआमा मरिहाले । घरको झिटीमिटीमा पनि कुनचाहिँ गाउँले बाठोले सुरसाको मुख बाएर निल्यो, पत्तै भएन । बाँकी थियो अचल एक सुर्को घरबारी र दुई गरा खेत ।

त्यो पनि बिहे गर्दा सय रुपियाँ लिएर दुई सयको कागतमा धितो राखेर साहू मनाउँदा गइहाल्यो । अब त्यसले कहिले दुई सय कमाउनु र जेथा निखन्नु ! पर्न पनि कस्तो परेको, रिन नगरोस् बिहे नहुने, बिहे भयो गाँस–बास छैन ।

बिचरी उसकी स्वास्नी उसको कमाइ पर्खिरहेकी होली । बिचरा तिलेले बिहेमै एकपटक स्वास्नीको मुख देख्यो, फेरि देखेको छैन । अहिले ऊ गुरुङ कप्तानकहाँ चाकरी लागेको छ ।
०००
तिले लाहुरे मोजा लाएर, एउटा हातमा सुटकेस, अर्को हातमा चुरोट लिएर सात वर्षपछि घर पुग्यो । उसकी स्वास्नी करीब बीस एक्काईसकी ढिकीमा गएर रोइरहेकी रहिछ । उसलाई देख्नेबित्तिकै हाँसी ।

“अब त जेथा निखनेर बसूँ है” भन्दै तिलेले सुटकेस खोलेर के–के देखाउन लागेको थियो । उसको तिघ्रामा ‘स्वाँट्ठ’ केले हान्यो । ऊ झसंग भएर बिउँझ्यो । हेर्छ त, हातमा छडी लिएका कप्तानसाहेब !

“कुन बेला तमाखु ल्याउनुपर्ने गधा !”

“तीन माना खाएर भुसुभुसु निदाएछ । म त तमाखु नै ल्या’छैन, बेला भा’ रहिनछ भन्दाभन्दै उज्यालो भैसकेछ । त्यो टनिक अघि नै खानुपर्ने, लौ तिलेलाई खान घटाइदिनू, सुतेर कामै दिएन बुझ्यौ ?”

स्वास्नीसँग कुरा गर्दै कप्तानसाहेब बंगलातिर लागेका थिए । भाजुचाले चोकबाट “हजूर !” भन्दै हातले निधार छोएर भन्यो, “मर्जी भएको…”

“ए । तँ आइस्, ल्याइस् त ?”

“हजूर, ऊ…”

“अँ, कति रे यसको ?”

“डेढ सय, प्रभु !”

“ए तिले ! लौ त्यो बैठकमा लेर आइज, सन्तेलाई पनि बोला !”

‘छँदै थिए नि यस्ता त अरू पनि’ — विचार गर्दै तिले गयो । अल्माडी छोएपछि उसले झस्केर सासले भन्यो, “पचास कम दुई सयमा !”

सन्तेले अल्माडी समातेर भन्यो, “बलियरी समात् नि मोरा ! बजारिस् भने मालिकका हज्जार–हज्जारका दुई औंठीका छाप गालामा पर्लान् ।”

तिलेले अलि आश्चर्यपूर्ण मन्द स्वरमा सोध्यो, “कप्तानसाहेबको औंठीलाई हजार–हजार दुई हजार परेको हो र ?”

“हीरामान बाँडाले दुई हजारको नोटको बिटो लगेको हेर्ने यिनै आँखा हुन् मोरा ! गठेमंगलको औंठी भनिठान्याथिस्, उचाल् बिस्तारै, तैं अगाडि जा, हो…”
०००
जूवाको बेला थियो । कप्तानसाहेब घोडाबाट ओर्लेर गफ गर्न लागेका थिए : पटाङ्गिनीमा तिले घोडाको लगाम समातेर गफ सुन्दै थियो, बीचमा घोरिन्थ्यो पनि ।

कप्तानसाहेब, “गम्भीरेले हिजोको पचाइहाल्छ कि भन्या त आज तियामा तेब्बर जाकियो ।”

अरू, “हजुरले के गरिबक्स्यो नि ?”

“खै मेरो हिसाबै भएन । एक कलम दुई हजार, फेरि पन्ध्र सय, चार–चार सय दुईपटक । त्यही अरू समेत चार हजारजति गयो होला । कस्तो बिच्छुक लाग्या नि यसपाला त ! एकताल लागेको हैन !”

“हजूर !”

“तर, मलाई खेल राम्रो भएकोले कत्ति नि गएजस्तो लाग्या छैन, कोजाग्रतमा जस्तो खिचीखिची भएन । त्यो बेला त तिमी पनि थियौ नि !”

“हजूर !”

तिले एक हातले लगाम समातेर अर्को हातले औंला गन्दै थियो । ओठले मात्र भन्थ्यो, “सात पुगी आठ वर्ष ।”

कप्तानसाहेबले ऊतिर हेरेर भने, “के गन्छस् ए । मैले हारेको हिसाब पो गर्छस् कि ! घोडा लाँदैनस् ?”

अरू मुखामुख गरेर हाँस्न लागे । तिले शर्माउँदै घोडा लिएर तबेलातिर लाग्यो । उहाँ पुगेर उसले नभनूँ भन्दा पनि भन्यो, “आफ्नो घर छोडेको गन्दा पनि अर्कालाई…।”
०००
पहाडको मान्छे नेपालको बेस्याहारमा फाप्तैन भन्थे । नभन्दै तिलेलाई बाथ त भइरहन्थ्यो, अहिले त झन् दाहिने गोडो नै फुलेर आयो । तिले अस्पताल गयो । डाक्टरले भन्यो, “फाइलेरिया भएछ ।”

उसले त्यो नाउँ सम्झेन । उसले सोध्यो, “कतिमा बिसेक हुन्छ हजूर ?”

“यहाँको औषधिले हुन्न । बाह्र इन्जेक्सन लिनुपर्छ । बाह्र रुपियाँ लाग्छ, बिसेक हुन्छ ।”

तिले मनमनै ‘बा… ह्र’ भन्दै फर्कियो । बाटामा पनि निकै गुन्यो । उता चार बजे घोडा पुर्‍याउनुपर्छ भन्ने मनमा छ । तिले एकान्तमा बसेर आफ्नो कम्मरको दाम गन्न थाल्यो । चौरासी रुपियाँ पुर्‍यायो ।

महीनाको एक रुपियाँको दरले त्यति उसको सात वर्षको कमाइ थियो । उसको कम्मर नै ढुकुटी थियो, त्यही सेफ, त्यही ट्रङ्क । पहिले आवेगमा ‘जीउ नभए…’ भन्दै बाह्र रुपियाँ पर सार्यो । त्यो बेला पनि उसको अगाडि शीर्णविशीर्ण त्यो घर, त्यो… नाच्न लाग्यो ।

एक्कासि उसको आँखा रसायो । औषधिको बारे आफैंसँग ऊ धेरैबेर लड्यो, आखिर छुट्टयाएको रुपियाँ पनि फेरि मिसायो । अघिकै जस्तो पटुकामा सात गाँठा बनाएर कम्मरमा बाँध्यो । लामो सुस्केरामा उसले भनेको थियो, “अब सात वर्षमा फेरि यति होला, त्यो थप्दा पनि । यति लाउन–खान मालिकको भएर…।”

अन्दाजी दश दिनपछि नोकर, भान्से गैह्रले तिलेलाई, “थुइक्क मोरा, तेरो बुद्धि ! जीउ भए फेरि कमाउन्नस् ? गोडा थामजत्रो भैसक्यो । जति लाग्छ खर्च नगरे तँ किरन्टोकी कन्जूसलाई कसैले मान्छे भन्छ ? यस्तै हो भने हात्तीपाइलेलाई यहाँ राख्छन् ? बरु बिसेक हो । ठूलो रूखको आड, दया त हो नि !”

थुकाइ खानु, ‘किरन्टोकी कन्जूस’ को नाम पाउन त आफ्नो खोटो कर्ममा तिलेले केही ठानेको थिएन, ‘हात्तीपाइलेलाई राख्तैनन्’ भन्दा त निकै चोट पर्यो । आखिर उसले छातीमा मुड्कीले हानेर बाह्र रुपियाँ त झिक्नै पर्यो ।

दशाको फेर, तैपनि उसको सूज सुकेन । डाक्टरले रगत जाँच्नलाई फेरि एघार रुपियाँको कुरा उठायो । तिलेको होशहवास हरायो । त्यो बाह्र रुपियाँ पनि उसले आफ्नो निम्ति खर्च गरेको थिएन, अर्काको निम्ति बिसेक भइदिन । नत्र उसको त्यत्रो कर्म कहाँ र जीउको निम्ति बाह्र बाह्र रुपियाँ खर्च गरोस् ।

झन् त्यो एघार रुपियाँको कुराले त उसको छाती नै चिरा–चिरा भयो, तर के गरोस् ! महीनाको त्यही एक रुपियाँ पनि जान्छ, समस्या त्यो त छँदैछ ! फेरि खर्च गर्यो । त्यो बेला कम्मरबाट एघार रुपियाँ झिक्ता त साँच्चै घुँक्का नै छोड्यो । तर, त्यो आकाशका देवताले मात्र थाहा पाए ।

तिलेको रोग निमनै भयो । तर, त्यत्रो कराल व्यथाबाट बचेकोमा तिलेलाई त्यति हर्ष भएन जति एक पैसा पाएर अघि आफ्नो पोकोमा थप्दा हुन्थ्यो । तेइस रुपियाँ खर्च भएदेखि त उसको चेहरा नै बदलियो, मानौँ ऊ कुनै विक्षिप्त लोकमा पुगेर अतासिएको थियो । ऊ निद्रामा पनि यही बरबराउँथ्यो, “दुई सय नपुग्ने भो, मरेँ !”

लक्ष्यभंगको परिणाम निराशाको करतूत । मानिसको प्रकृति बदलिन बेर लाउँदो रहेनछ । नजाने आजकाल किन हो तिले अर्कै भइरहेछ ! चेहरा दिन–दिन मलिन हुँदो छ । यतिसम्म कि हेर्दा मानौँ उसको चेहरामा जीवित भावना नै छैन ।

घर–जहान अघि कति सम्झन्थ्यो, मनमा दुःख भइकन पनि सम्झन्थ्यो, आँसु झारीकन पनि सम्झन्थ्यो । त्यो बेला सम्झना पिरो थियो, तर मीठो पनि । अहिले त ऊ त्यो केही सम्झन सक्तैन, वास्तवमा चाहँदैन ।

बरु, सम्झनालाई बिर्सन चाहन्छ । मानौँ ऊ हरप्रयत्नले आफूलाई आत्मशून्य, चेतनाशून्य साबित गर्न खोजिरहेछ । त्यो पनि कोसँग ? आफैँसँग । सम्झनाका तार टुटाएर, चेतनाका बिन्दु सुकाएर, शोकशून्य निराशाको छायामा ऊ सुत्न खोजिरहेछ ।

इन्द्रियहरू सजग भएको पनि उसलाई मन पर्दैन । त्यस्तो संग्र्रहवादी, नाफावादी मान्छे आजकल एक दिन पनि चुरोट नतानी बस्तैन । शहर उत्रेदेखि आङमा नयाँ लुगा परेको थिएन, अँ… आजकाल त नयाँ लुगा । जुत्ता पनि खीपवाल किनेछ । निकै चुरुम्–चुरुम् पारेर हिँड्छ ।

दिनपरदिन तिले त्यो घरका मानिसहरूको खिलौना भएको थियो । कसैले नाच भने नाच्थ्यो, हाँस भने हाँसिदिन्थ्यो नीरस, आत्मशून्य । कुरा गर्थ्यो मुखमा आएको, हिँड्थ्यो बिनालक्ष्य ।

अब उसको लगाम कसैको हातमा थिएन, अरू त के ! केही बोल्दा, गर्दा आफ्नै आत्मासँग पनि ऊ सोध्दैनथ्यो । मानौँ उसको चैतन्य निराशा र अशान्तिको अनन्त आकाशमा उडिरहेको थियो ।

त्यसको उड्दो चाल देखेर साथी सन्तेले सोध्यो, “किन सिल्लीजस्तो भइस् ए आजकाल ?”

उसको जिज्ञासापूर्ण प्रश्नलाई ऊ हाँसोले पखालेर जवाफ दिन्थ्यो, “मरिसकेपछि पनि फेरि सिल्ली हुन्छ मोरा ? म त मुर्दा पो, थाहा छैन ? जागेर खाइदिउँला ।”

“कस्तो मोरो !” भन्दै सन्ते कामतिर लाग्यो ।

तिलेको त त्यो ताक लरबरिनुसिवाय के काम थियो र ! कप्तानका जहानहरू जसलाई पूर्वजन्मको साहू भन्थे, दिक पारेको थियो ।

डोको बोकेको एउटा पहाडिया ढोकानेर आएर उभियो, वर–पर हेर्यो । त्यसले ढोकाभित्र पाइलो बढाउन के लागेको थियो, आवाज आयो, “ए ! को हँ ?”

पहाडियाले सोध्नेनेर पुगेर भन्यो, “हाम्रा गाउँले भेटूँ भनेर, यहीँ बस्या’ छन् भन्थे ।”

“घर कहाँ हो ?”

“झ्यामा, तिले भन्ने यहाँ चाकरी गरेर बस्या’ छन् भन्थे ।”

“तिमी चिन्दैनौ र ?”

“चिन्दिनँ, म त उही गाउँ हैन, वल्लोपल्लो । अघि झुलुक्क देख्या भा’ पनि खातापाता बढे होलान्; चिन्न सकोइन ।”

“तिले त मरिसक्यो नि, थाहा छैन ? कसले भेट्न पठाएको ?”

“उसैकी जहानले, साँच्चै मर्यो ?”

“मर्यो पनि झूटो हुन्छ ? आस गर्नै पर्दैन भनिद्यौ जहानलाई । म त उसको साथी, कुरा गर्थ्यो नि खोलेर, ‘स्वास्नी छ, दुई सयको घर–खेत निखन्ने भएर जानु छ’ भनेर । के गर्छे त उसकी जहान ?”

“के गर्थी, साहूकहाँ चाकरी गरेर बसेकी थिई, अब यो सम्चारले पो कति रोली ! बिहेदेखि भेट नभाको नभै यस्तो सम्चार लानुपर्यो । झन् यसपालि त ‘बरु जसरी भा’ पनि खाउँला, नली नआऊ है’ भनेकी थिई । उसैको जिद्दीले म यहाँ पसिदिएको । के काम लाग्यो र, थुइक्क ! च्चः च्चः !! उसो भए घरमा पक्कै गरिदे हुन्छ ?”

“हुन्छ !”

“कसले भन्या भन्लान् ?”

“उहीँको ढोकेले भन्या भन्नू, अब बेर नगर, यहाँ सवारी हुन्छ ।”

पहाडिया बिलखबन्द भएर फर्क्यो । के सम्चार लिएर आएको थियो के लिएर फर्क्यो । हुन पनि हो, निराशाले पिइसकेकोलाई जिउँदै भए पनि त के जिउँदै भन्नु । त्यसको के आशा ।

बिचरी तिलेकी स्वास्नीले पो कति देवता भाकेकी होली, कति औताइहोली, कति बाटोतिर आँखा गाडिहोली । अब त्यो मान्छे एक्लै पुग्दा, फेरि आशा गरेर के–के सोध्ली । ऊ पनि कत्रो मुटु गरेर त्यस्तो कुरा बिसाउला ! ढोकेले भन्या भनेर विस्तारै–विस्तारै बताउला । ढोके भन्नु पो को थियो र, उही तिले त हो !

तिलेले त्योसँग त्यतिको कुरा गर्दा कसरी आँसु थामेको रहेछ । ऊ गएपछि त सकेन । बिचराले के–के सम्झेर ल्यायो । पटाङ्गनीको कुनामा डाँकै छोडेर रोयो, “धिक्कार ! आफैँले यस्तो सम्चार पठाउनुपर्यो । के के न गरुँला… म !”

त्यही ताक तिलेले कप्तानको ढोका पनि छोड्यो । छोडेर पनि झुत्रेमुत्रे, चेहरा उडेको, टाक्सिएको, कस्तो–कस्तो कहिलेकाहीँ बाहिर देखा पर्छ भन्थे । पछि त यो कुरा पनि हरायो । कता गयो, कता गयो । भन्न सकिन्न– तिले यो संसारमा छ–छैन !

ब्राह्मणको ‘एघार कथा’बाट