विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिका शिखर व्यक्तित्व हुन् । राजनीतिसँगै साहित्यिक क्षेत्रमा पनि उनको स्थान उच्च छ । उनी आफूलाई राजनीतिमा प्रजातन्त्रवादी र साहित्यमा अराजकतावादी हुँ भन्दथे । नेपाली साहित्य आकाशमा यौनमनोविज्ञानमा कलम चलाउने कथाकारहरूमध्ये उनी अग्रणी हुन् ।

यिनै विश्वेश्वरप्रसाद कोइरालाको प्रसिद्ध यौनमनोवैज्ञानिक कथा हो, ‘कर्नेलको घोडा’ । त्यसमा उन्नाइस वर्षकी कर्नेल्नी आफ्नो पैँतालिस वर्षका कर्णेलले माया प्रदर्शन गरेर महङ्गा उपहार दिए पनि खुसी नभएको बरू कर्नेलले तबेलामा बाँधेर राखेको घोडाको सेवामा खुसी भएको कथा छ । यसै सिलसिलामा एक दिन दुवै जना तबेलामा पुग्छन् । घोडाले कर्नेललाई रुखो व्यवहार गर्छ भने कर्नेल्नीप्रति सरल व्यवहारसहित अपनत्व प्रदर्शन गर्छ । कर्नेल्नी पनि मायाले घोडालाई मुसार्छिन्, सुमसुमाउँछिन् । धेरै अघिदेखि घोडाप्रति आफ्नी दुलहीको माया देखेर इर्ष्याले मुर्मुरिएका कर्णेलले रिस थाम्न सक्दैनन् । उनी आफूले भिरेको पेस्तोल झिकेर घोडाको हत्या गरिदिन्छन् । यो देखेर कर्नेल्नी पनि बेहोस भएर ढल्छिन् । प्रस्तुत छ त्यसपछिको कथा ।

===

कर्नेलले आफ्नी दुलही र घोडालाई त्यतिकै छाडेर पेस्तोलको धुवाँ मुखले फुक्दै तबेलाबाहिर लागे ।

त्यहाँबाट हिँड्नुअघि उनले एकपटक बडो घृणाले त्यो सेतो घोडालाई हेरे । घोडाको पेटबाट अझै पनि रातो रक्त बगी नै रहेको थियो । निष्प्राण भइसकेको, कुनै बखत उनलाई प्यारो लाग्ने त्यो घोडाको आँखा विस्मयले ट्वाँ परेर उनलाई नै हेरेर गिज्याइरहेका थिए । मानौँ, भनिरहेछ – तिम्रो पुरुष तत्त्वले कर्नेल्नीलाई खुसी राख्न सकेनौ तर मलाई भने पुरुषार्थ देखायौ । पहिले मलाई निर्घात पिट्यौ, त्यसपछि गोली हानेर मार्यौ । तिमी नामर्द हौ, म अबोध जनावरप्रति तिमीमा अथाह ईर्ष्या छ ।

उता कर्नेलले नै मायाले ल्याइदिएका शृङ्गारका सामाग्रीहरूले धपक्क बलेकी नवयौवना अर्थात् कर्नेल्नी अचेत भएर त्यही बलिष्ठ घोडाको समानान्तर लडिरहेकी थिइन् । घोडाको पेटबाट बगेको रगतले तबेलाको भुइँमा आहाल बनिसकेको थियो । बाहिरबाट छिरेको घामको किरण त्यो रगतमा परावर्तन भएर हो या किन हो ? कर्नेल्नीको मुहार पनि अत्यधिक रातो देखिएको थियो । अचेतन भए पनि उनको श्वासप्रश्वास तीव्र गतिमा चलिरहेको थियो । वक्षहरू सास फेरेको रफ्तारसँगै क्रमशः तल-माथि गरिरहेका थिए । शरीरमा अरू कुनै चाल थिएन ।

मृत र अचेत दुवै प्राणीहरूलाई त्यतिकै छाडेर कर्णेल अघि नै तबेलाबाट बाहिर निस्किसकेका थिए ।

अचेत रहेकी कर्नेल्नी सुषुप्त अवस्थामा नै भूतकालको त्यो खण्डमा पुगिन् जब भर्खरै मात्र उनको रजस्वला सुरु भएको थियो । पुट्ठा बढ्न थालेको थियो भने छाती लजाएर उठ्ने कोसिस गर्न थालेको थियो । गोरी, चिट्ट परेकी चौध वर्षमात्र टेकेकी उनी आफ्नो उमेरभन्दा निकै ठुली देखिन थालेकी थिइन् । उनकी हजुरआमाले ‘तँ जतिको सुन्दरी केटी वरपरको तीनगाउँमा पनि कोही छैनन्’ भन्दा उनी सर्माएर भाग्थिन् । ऐना हेरेर आफैँ मग्न हुन्थिन् । आफैँलाई सुम्सुमाउँथिन् ।

गाँउमा उनी कतै आउ जाउ गर्दा उमेर पुगेका सबै पुरुषका नयनहरूले उनैलाई पछ्याएका हुन्थे, जसको आभासले उनलाई कताकता काउकुती लाग्न थालेको थियो । विपरीत लिङ्गीप्रतिको आकर्षणसँग बिस्तारै उनको परिचय हुँदैथ्यो ।

त्यही बेला पल्लो गाउँमा पनि भर्खरै अठार वर्ष लागेको एउटा कालो कालो वर्णको युवक थियो । किशोरी अर्थात् भविष्यकी कर्णेल्नीप्रति उसको माया बसेको कुरा उसकै क्रियाकलापहरूमा स्पष्ट झल्किन्थ्यो । उनी जता जता जान्थिन् ती युवा त्यतै पुगेका हुन्थे । पानी पँधेरो होस् या गाउँमा कसैले लगाएको सत्यनारायणको पूजा, अर्कै गाउँको भए पनि ती युवा यतै रात बिताइदिन्थे । उसको मनमा  किशोरी मात्र बसेकी थिइन् । उसको रात-दिनको भोक, प्यास र निद्रा किशोरीले उडाइदिएकी थिइन् । उसको दिन किशोरीलाई एक नजर हेर्ने र रात किशोरीको मायालु सपना देख्ने गरेर बितिरहेको थियो ।

समय यसरी नै बितिरहेको थियो । बिस्तारै किशोरीलाई पनि युवाको आफूप्रतिको आकर्षणको आभास हुन थालेको थियो । सायद, उमेर नै त्यस्तै हो कि, उनलाई पनि आफ्नो मनमा ती युवक पसेको पत्तै भएन । युवाप्रति मनमा बिजारोपण भएको मायाको बिज अङ्कुरित भए पनि त्योबेलाको समय र समाजका कारण झाँगिन पाएको थिएन । उनलाई पनि ती युवक मन पर्न थालेको थियो । अठार वर्षे लक्काजवानको त्यो सुगठित शरीर, चिटिक्क पारेर कोरिएको जुल्फी कपाल, मिलाएर लगाएको सफा लबेदा सुरुवाल, समग्रमा भन्नु पर्दा युवाको त्यो रूपले किशोरी लट्ठ भइसकेकी थिइन् । युवाको मोहनीमा मग्न भएकी तिनी सधैँ त्यही आकर्षणको मदले मस्त रहन थालेकी थिइन् ।

एक दिनको कुरा हो । उनी घरमाथिको रायोबारी काटेर साहिँला काकाको घर जाँदै थिइन् । उनको हातमा काकीलाई लगिदिएको केराको बुङ्गोको अचारको बटुको थियो । काकीलाई असाध्यै मन पर्ने त्यो अचार दिएर उता के मिठो पाकेको छ त्यो ल्याउँछु भन्ने कल्पनामा हिँडिरहेकी किशोरीले काकाको घरको बाहिर तगारोको छेउमा ती युवालाई देखिन् । उनको मन झसङ्ग भयो । सास एक तमासले बढेर आयो । आँख चिम्म गरेर तगारो पार गरेर आँगनमा पुगिन् ।

काकी भान्छामा नै थिइन् । उनले लगेको अचारको बटुका काकीलाई दिएर आँगनतिर फर्केर हेरिन् । तगारोको छेउछाउ अहिले कोही थिएन । काकीले ‘एकछिन बस्, खसीको मासु पाक्न लागेको छ’ भन्दाभन्दै उनी फर्कन लागिन् । काकीले पकाएको केही मिठो तरकारी आफ्नो घर ल्याउने अघिको चाहना त्यागेर सकेसम्म चाँडो उनी घर फर्कन चाहन्थिन् । ‘होस् काकी, म घर गइहाल्छु । तरकारी चुलामाथि छ । फेरि ढिलो  गरे डढ्छ ।’, भनेर उनी आँगनमा ओर्लिन् ।

वरिपरि कोही थिएन । घाँटी तन्काएर उनले तगारो बाहिर नजर दौडाइन् । छेउछाउ, अगाडि-पछाडि कोही थिएन । उनी एकैपटक दौडेर रायोबारी पुगिन् । बाटो बारीको बिचबाट गएको थियो । मल, पानी र स्याहारले सप्रेर आधा मान्छे उचाइ भएको रायोको सागबारीमा पोहोर दशैँमा पिताजीले किनिदिएको हरियो जामा लगाएकी उनलाई परबाट हेर्दा कसैले साग हो कि मान्छे ठम्याउन सक्दैन थियो । बारीको बिचमा पुगेपछि कसैले उनलाई अचानक हात समाती झड्काएर तान्यो । आत्तिएकी उनलाई आफू जोडसँग पछारिएको जस्तो लाग्यो । उनले निमेषभर होसहवास गुमाइन् ।

सम्हालिँदा उनले आफूलाई तिनै युवकको बलिष्ठ भुजामा पाइन् । दुवै जनाको मनमा सुषुप्त अवस्थामा रहेको बेग एक्कासि विस्फोटको रूपमा फुस्कियो । किशोरीले मनलाई नियन्त्रण गर्न सकिनन् । उनी तरुलको लताजस्तो भएर युवामा बेरिइन् । उनको मनमा अङ्कुरित भएको प्रीतले अठार वर्षे बलिष्ठ युवाको देहलाई थाङ्ग्राको रूपमा पाएको थियो । यो क्षण केवल सानो समयको अंशमा मात्र सीमित भयो । उनले अत्तालिएर असिनपसिन भएको शरिर युवाको अँगालोबाट छुटाउन खोजिन् । ठिक यसै बखत ती  युवाले अप्रत्याशित रूपमा उनको रक्तिम गालामा आफ्नो तातो ओठ जोडेर मायाको निम्तो दिएको थियो ।

त्यो रात ठुलो वर्षा भएको थियो । पानी परेको भयानक आवाजले चौध वर्षकी किशोरीलाई खुब डर लागेको थियो । प्रकृति भने खुसी भएकी थिइन् । उनी वर्षामा निथ्रुक्क भिजेकी थिइन् । त्यही चिसोसँगै उनी ब्युँझिएकी थिइन् । र, त्यही रात उनी किशोरीबाट युवती बनिन् ।

आज त्यो घटना भएको झण्डै पाँच वर्ष भइसकेको थियो । गाउँकी ती युवती सहरकी कर्णेल्नी भइसकेकी थिइन् ।

अघि चेतना गुमाएकी कर्णेल्नी आफ्नो गालामा चिसो अनुभूति भएकाले ब्युँझिइन् । हातले चिसो पदार्थ छाम्दा च्याप च्याप लागेको हुनाले उनले आँखा उघारेर हेरिन् । रातो रगत देखेपछि उनी त्रसित भएर उठिन् । आफूले माया गरेर सेवा गर्दै आएको घोडालाई मृत देखेर उनी अधैर्य भइन् । टोलाएर धेरै बेर मृत घोडालाई एकोहोरो हेरिरहिन् । मनमा अनेक कुरा खेले । पुनः एक्लो महसुस भएपछि उनको धीरताको बाँध फेरि फुट्यो । एक्कासि त्यो घोडाको मृत शरीरलाई गम्लङ्ग अँगालो मारेर कुनै लहराजस्तो बेरिइन् । उनको मनले गाँउका ती बलिष्ठ युवकलाई सम्झिरह्यो ।

आज पनि ठूलो वर्षा भयो । तर आज प्रकृतिले आफ्नो भयनकता देखाएन, मात्र कर्णेल्नीको नयन बर्सिरह्यो ।

===

घोडा मरेको दिनदेखि कर्णेल्नीलाई कर्णेलप्रति घृणा जागेको थियो । माया त उनलाई पतिको कहिल्यै लाग्दै लागेन । अझ आफ्नो प्रिय घोडाको हत्यारा सम्झेर उनी कर्णेलदेखि टाढा रहन थालिन् । प्रत्यक्ष तिरष्कार गर्न थालिन् ।

दिन यसरी बित्दै गयो । कर्णेलले पत्नी फकाउन र माया दर्शाउन अनेक उपाय गरे । धेरै लुगाफाटा, श्रृङ्गारका सामाग्री र किमती उपहार ल्याइदिए । कर्णेल्नीले हेर्दै हेरिनन् । दुलाहा दुलही एकआपसबाट टाढा हुँदै गए ।

आजित भएका कर्णेल आखिर मदिराको शरणमा पुगे । बिस्तारै उनले मदिरा हैन मदिराले चैँ उनलाई पिउन थाल्यो । रक्सीसँगको मात्र सामिप्यताले कालान्तरमा उनी ओच्छ्यान परे । क्षयले उनको शरीर छियाछिया हुन थाल्यो । जान्ने वैद्य र कविराज मात्र हैन, कलकत्तादेखि झिकाएको बङ्गाली डाक्टरले पनि हार खाए । कर्णेलको यस्तो अन्तिम अवस्था हुँदा पनि कर्णेल्नीको मन भने फर्केन । कर्णेलप्रति दयाभाव जाग्रित भएन् ।

रातको अन्तिम प्रहर भएको हुँदो हो । कर्णेल्नी आफ्नो शयनकक्षमा निदाएकी थिइन् । कर्णेलको हिजो बिहानदेखि वाक्य बन्द भएको थियो । नाडीको चाल पनि धेरै धिमा थियो  । अब तिनी केही दिनको पाहुनामात्र हुन भन्ने उनले निर्क्यौल गरेकी थिइन् । बाँच्ने कुनै उपाय बाँकी थिएन । रातको यही निशब्दतालाई तोड्दै कसैले जोडजोडले श्रीरामको नाम लिएको आवाजले उनको निद्रा भङ्ग भयो । राम नाम जपेको निरन्तर आवाजले उनलाई कर्णेलले संसारबाट बिदा लिएको बुझ्न कठिन थिएन । त्यतिखेरै कसैले उनको कोठाको ढोका ढकढकायो । उनको मुहारमा एउटा कुटिल मुस्कान आएर क्षणमै विलुप्त भयो ।

कर्णेलको काजकिरिया वैदिक सनातनी विधिअनुसार सम्पन्न गरियो ।

यसको केही दिनमै कर्णेल्नी हराइन् । पूरा सहर र माइती गाँउ कहीँ पनि उनी भेटिइनन् । कहीँ कतै उनको  अत्तोपत्तो लागेन ।

कर्णेल मरेको दुई वर्षपछि उनका कान्छा भाइ कलकत्ता पुगेका थिए । नेपाली टोलामा बेलुका घुम्दै गर्दा उनले कर्णेल्नी भाउजूलाई एउटा युवकसँग नारिएर हिँडेको देखे । कान्छाले भाउजूलाई प्रष्टसँग चिने पनि उनीसँग हिँड्ने कालो कालो वर्णको, बलिष्ठ शरीरवाला युवकलाई चिन्न सकेनन् । हाँस्दै बोल्दै हिँडेको त्यो जोडी देब्रेतिरको एउटा गल्ली प्रवेश गरेसँगै भिडमा विलुप्त भयो ।

===

प्रिय पाठकवृन्द, विश्वश्वेरप्रसाद कोइरालाको ‘कर्नेलको घोडा’पछिको कथा कस्तो लाग्यो ? कोइरालाको मूल कथा पनि पढेर निर्क्यौल गर्नुहाेला – 

कथा : कर्नेलको घोडा

कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न केही न केही कुरो कर्नेल किनेर ल्याउँथे— साडी, पाउडर, लाली, चुरा, इयरिङ इत्यादि । तर, तिनकी दुलहीको मन कहिले पनि दुलहातिर फर्केन । दुलहाले खुसी पार्न मायाले किनी ल्याएको मालमत्ताले भरिएको कोठामा एक्लै बसी कर्नेल्नी आँसु खसाल्थिन् । कत्रो आशा र उमङ्ग लिएर तिनीले दुलहाको घरमा पहिलो दिन पाइलो हालिथिन् । कत्रो सुख पाइएला भनेर तिनले आशा गरेकी थिइन् । कर्नेल्नी यी सबै पहिलेका कुरा विचार गर्थिन् र बिस्तारबिस्तार रून्थिन्।

बिहा हुनुभन्दा पहिले छिमेकको एउटा युवकले तिनलाई प्रेमको निम्ता दिएको थियो । राम्रो थियो त्यो युवकले हृष्टपुष्ट, त्यसको बाहु बलियो थियो । रहरलाग्दो थियो त्यसको शरीर । यो कुरा सम्झँदा तिनलाई अहिले पनि सिरिङ्ग हुन्छ । तर, त्यसबखतमा आफ्नो भविष्यमा पाउने दुलहाको मीठो कल्पना गरेर त्यो युवकको निम्तालाई तिनले स्वीकार गरिनन्।

अब छिनछिनमा त्यो युवकको सम्झना हुन्छ । त्यसको बलिष्ठ भुजाको ध्यान मनमा आउँछ । त्यसको बाहुको शक्तिको अनुभव गर्न पाउने अब तिनलाई रहर मात्र रह्यो । तिनले आत्तिएर कोठाका चारैतिर हेरिन् । कोठाका मालमत्ताहरु तिनको खिसी गरिरहेजस्ता थिए । आफूलाई खुसी पार्न ल्याएको मालले घेरिएकी तिनी बन्दिनीजस्ती थिइन्।

त्यहीबेलामा किनेका माललाई कुनै काखी च्यापी, कुनै हातैमा झुन्ड्याई कर्नेल कोठाभित्र पसे।

“हेर, मेरो प्राण, के–के किनेर ल्याएको छु !” कर्नेलले मालको थुप्रो तिनको अगाडि राखेर भने।

कर्नेल्नीले उत्साहहीन दृष्टिले एकचोटि कर्नेललाई र एकचोटि मालमत्तालाई हेरिन्।

“मैले कतिचोटि हजुरलाई भनें, मलाई यी सब मालमत्ता चाहिँदैनन् । व्यर्थ हजुर किन पैसा फ्याँक्नुहुन्छ ?” कर्नेल्नीले आँसु पुछ्दै भनिन्।

कर्नेलले मायाले सोधे— “तिमी किन सधैं चिन्तित बस्छ्यौ ? तिम्रो त अहिले लाउने-खाने उमेर छ । तिमीलाई केको तकलिफ छ ? मलाई भन न।”

कर्नेल्नीले उत्तर दिनु व्यर्थ ठानिन् । तिनको कष्ट कर्नेल बुझ्दैनन् । १९ वर्षकी युवतीका मनको भाव ४५ वर्षको दुलहाले बुझ्दैन । कर्नेलले चुप लागेर बसिरहेकी दुलहीलाई मायाले उचाले । तिनले भर्खरै विचार गरेको दुःखद भावनाहरुलाई बिर्सिन् । दुलहाको उमेरलाई बिर्सेर उनले आफ्नो शरीरलाई दुलहामाथि फ्याँकिन् । कर्नेलले तिनको भार थाम्न सकेनन् र तिनी पछारिए।

दुलहीको सारा स्वप्नको तार एक्कासि चुँडियो । दुलहीलाई उठाउने प्रयत्नमा बल पर्दा स्वाँस्वाँ गरिरहेको र पछारिएका दुलहालाई कर्नेल्नीले एकचोटि घृणाका दृष्टिले हेरिन् । त्यसै दिनदेखि कर्नेल्नीका मनमा आफ्ना दुलहाप्रति महान तिरस्कारको भाव उदय भयो।

एकदिन कर्नेल र कर्नेल्नी आफ्नो हाताको निरीक्षण गरिरहेका थिए । कर्नेलले विदेशबाट झिकाई पाँचवटा गाई पालेका थिए । गोठघरमा धेरैबेरसम्म तिनीहरु गाईबस्तुको निरीक्षण गरिरहे । गोठसँगै जोरिएको तबेला थियो । घोडाले हिनहिनाएको स्वर कर्नेल्नीले सुनिन् र सोधिन्— “हजुरले घोडा पनि पालेको छ ? मलाई थाहा थिएन।”

कर्नेलले रहरसँग यो सेतो घोडा किनेको थियो । सधैं आफैं बसी दाना खुवाउँथे, आफैं उभिएर दिनहुँ त्यसलाई मल्न लाउँथे र एकचोटि नित्य बिहान त्यसमा चढी हावा खान निस्कन्थे । तर यता यिनले घोडापट्टि उति ध्यान दिएका थिएनन् । त्यसमा नचढेको पनि निकै भएको थियो।

“हिँड न, जाउँ त्यसलाई हेर्न !” तिनले दुलहीलाई भने।

मालिक आएको देख्ता घोडा अगाडिका दुवै टाप भुइँमा थचारीथचारी झन् हिनहिनाउन थाल्यो । अँध्यारोमा बाँधिएको त्यो घोडाको आँखा टलक्क टल्किरहेको थियो । हिनहिनाउँदा त्यसको नाकका दुवै पोरा फुलेर ठूला हुन्थे । त्यसका नसाहरु त्यसका गोडामा साँप बेरिएझैं लाग्थे । कर्नेल्नीलाई त्यो घोडा एउटा रहरलाग्दो कुरा जस्तो लाग्यो । जब तिनले त्यसलाई छुन खोजिन्, त्यसले तिनलाई छुन दिएन, गर्दन यताउति फ्याँकी टोकुँला जस्तो गर्‍यो । घोडाको त्यस्तो स्वभावदेखि कर्नेल्नी डराइनन्, झन् आकर्षित भइन्।

“यस्तो बलियो घोडा रहेछ । यसको हेरविचार राम्ररी पुग्दैन क्यार ।” तिनले भनिन्।

“पहिले किनेर ल्याएको ताक त म निकै यसको हेरविचार गर्थें, तर यता सइसमाथि यसको जिम्मा छाडिदिएको छु, त्यसैले यसको स्याहार गर्छ । कति सबतिर आँखा पुर्‍याउनु!”

कर्नेल्नीले भनिन्— “म यसको जिम्मा लिन्छु । सइसको के भर ? दाना टाइममा दिन्छ कि दिँदैन । सइसहरु दाना चोरेर बेच्छन् पनि । आफूले पालेको बस्तुको आफैंले स्याहार गर्नुपर्छ।”

कर्नेल मुसुक्क हाँसे, केही उत्तर दिएनन् । भोलिपल्टदेखि कर्नेल्नी आफैं बसी त्यसलाई दाना दिन थालिन् । पहिलेपहिले त घोडा तिनलाई आफूनजिक आउनै दिँदैनथ्यो । तर पछि आफ्नो मायाले तिनले घोडाको स्वभावमाथि विजय पाइन् । दाना खाइरहेको बेलामा कर्नेल्नी घोडाको नजिकै उभिएर त्यसको पिठ्युँमा हात राख्थिन् । घोडाको शरीर तिनका हातको स्पर्श हुनासाथ सिरिङ्ग हुन्थ्यो । घोडा दानामा गाडेको मुखलाई माथि उठाएर एकछिन हिनहिनाउँथ्यो र फेरि मुख गाडी दाना खानमा व्यस्त हुन्थ्यो । एकदुई चोटि त्यो गोडा ठटाउँथ्यो । तल ठोकेको पटाइमा टापको प्रहार पर्दा त्यो अस्तबलको निस्तब्धता भङ्ग हुन्थ्यो । झिँगाहरुले घोडालाई पिरेछन् भन्ने कर्नेल्नीलाई थाहा हुन्थ्यो । घोडाको राम्ररी स्याहार पुर्‍याएको हुँदा तिनलाई सन्तोष थियो।

कर्नेललाई यो कुरा मन पर्दैनथ्यो— दुलहीले यसरी घोडाको स्याहार गरेको । दिनमा एकदुई चोटि हेर्नु एउटा कुरा हो । दिनदिनभरि अस्तबलमै बसिरहनु सरासर मुनासिब होइन । सइस छँदाछँदै आफैं दाना खुवाउन किन जानु, आफैं घोडा मल्न किन थाल्नु।

एकदिन कर्नेलले कर्नेल्नीलाई भने— “कर्नेल्नी, तिमी कति घोडाको फिक्री गछ्र्यौ ? घरमा भान्सा के भो, कसो भो त्यसको तिमीलाई वास्ता छैन, घोडाको चाहिने त्यत्रो सुश्रूषा!”
“म बाहुनी होइन, भान्सामा ढुकिरहने । मलाई जे मन लाग्छ, त्यही गर्छु । घोडाको हेरविचार गर्दा शान्ति पाउँछु । त्यति पनि तिमीलाई असह्य भयो ?” एक्कासि क्रुद्ध भएर कर्नेल्नीले भनिन्।

“तिमीलाई केको दुःख छ र, यो सबै कुरा मलाई सुनाउँछ्यौ ? तिम्रो मनमा केको अशान्ति छ र घोडाको सुश्रूषा गरेर तिमीलाई शान्ति ? तिम्रो मेरा प्रति पनि त कर्तव्य छ नि, घोडालाई गरेको जति पनि कहिले एकछिनका लागि मेरो विचार गर्‍यौ ? साँचो भनूँ, मलाई त घोडादेखि ईर्ष्या छ तिम्रो चालाले कर्नेल्नी !” कर्नेलले रूँलारूँला जस्तो गरेर भने।

कर्नेल्नीले केही उत्तर दिइनन्, घृणाले ओठलाई वक्र पारी दुलहामाथि दृष्टिपात गरिन् । बूढो उमेरमा पनि गहभरि आँसु पारेको देख्ता तिनलाई त्यो दृश्य अत्यन्त नसुहाउँदो र घृणित लाग्यो । तिनलाई कर्नेललाई लत्याएर आफ्नो घृणाको परिचय दिने इच्छा भयो, तर आफूलाई काबुमा राखी तिनी त्यहाँबाट जुरूक्क उठेर हिँडिन्।

एकदिन कर्नेल र कर्नेल्नी दुवै तबेलामा गए । कर्नेलले घोडामा चढ्ने इच्छा जाहेर गरे तर जबजब कर्नेल त्यसको नजिक जान्थे, त्यो टोकुँला जस्तो गर्थ्यो । कर्नेल्नी जाँदा हिनहिनाउन थाल्यो । कर्नेल्नी गएर त्यसलाई सुमसुम्याउन थालिन् । घोडाले हिनहिनाएर गोडा भुइँमा हानेर आफ्नो कृतज्ञताको परिचय दियो।

बडो कठिनाइसँग कर्नेल घोडामा चढ्न सके, तर घोडा तिनको वशमा हुन मानेन । अगाडिका दुवै टाप उठाएर आफू अगाडि नबढ्ने ढिपी गर्न थाल्यो । कर्नेल घोडा चढ्न निपुण थिए, तिनी लोट्न त लोटेनन् तर तिनलाई एक्कासि रिस उठ्यो र हातमा लिएको कोर्राले निर्दयतापूर्वक घोडालाई पिट्न थाले।

घोडाको पिठ्युँमा कोर्राको एक चोट पर्नासाथ कर्नेल्नी ‘निर्दयी’ भनेर कराउन थालिन् । घोडा कोर्राको चोट पाउँदा पनि नचेतेर अगाडि बढेन । कर्नेल सटासट आँखा चिम्लेर त्यसमाथि कोर्रा बर्साइरहेका थिए । घोडाले पछिल्तिरका दुवै गोडा फ्याँक्यो । घोडालाई पिट्नमा व्यस्त हुँदा लगाम तिनको काबुमा थिएन र तिनी उँधो मुन्टो भुइँमा खसे । तबसम्म कर्नेल्नी घोडासम्म पुगिसकेकी थिइन्।

धूलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई केही शंका थिएन । घोडा तिनको लागि एउटा घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला घोडाको अयालले छोपिएको गर्दनमा राखिन् । तिनलाई पनि घोडा चढ्ने इच्छा भयो र रिकाबमा गोडा राखी सुरूक्क घोडाको पिठ्युँमा पुगिन्।

दुलहा भुइँमा पछारिएकै थिए । आफू घोडामाथि चढी उनी महान सुखको अनुभव गर्न थालिन् । आज तिनले दुलहासित साटो फेर्ने मौका पाइन् । घोडाको प्रति तिनको माया झन् बढ्यो । यसो गर्दन टेढो पारेर उनले धुलो चाटिरहेका दुलहालाई महान घृणाका नजरले हेरेर घोडालाई यसो एडी लाइन् । घोडा फूलको भारी लिएझैं नाच्तै हिँड्यो।

जब तिनी फर्केर आइन्, कर्नेल उभिरहेका थिए । तिनका कोटमा एकदुई ठाउँमा अझ धूलो लागेको थियो । कपाल खजमजिएको थियो । खसेको टोपी धुलैमा थियो । कर्नेलको नजिकै घोडा उभ्याएर कर्नेल्नी बुर्लुक्क ओर्लिन् । तिनले आफ्नो कृतज्ञताको परिचय दिन घोडालाई धाप दिइन् । घोडा बडा तिखो स्वरले हिनहिनायो।

कर्नेल्नीलाई यस्तो महान सुखको कहिले पनि अनुभव भएको थिएन । त्यै बखतमा ढ्वाङ्गढ्वाङ्ग पिस्तोलका दुई शब्द भए । घोडा एकछिन लरबरियो र भुइँमा पछारियो । कर्नेलको हातमा पिस्तोल थियो र त्यसको प्वालबाट अझै धुवाँ आइरहेको थियो । घोडाको पेटबाट रगतको भल बगिरहेको थियो ।

कर्नेल्नीले एकचोटि घोडातिर हेरिन्, फेरि एकचोटि आफ्ना दुलहातिर । हेर्दाहेर्दै तिनको अनुहार चाउरी परेर विकृत भयो, दुवै हातले मुख छोपेर तिनी पनि भुइँमा पछारिइन्।

(यो कथा बिपीको ‘दोषी चश्मा’ कथासङ्ग्रहमा सङ्ग्रहित छ ।)