
गुरु लेप्मुहाङ र जगरे दुवैजना घोरिएर बसेका थिए । उनीहरू एकआपसमा टुक्रुक्कै बसेर टाउको जुधाउँदै भुइँमा हेरिरहेका कारण अनुहार जुधेको थिएन । दुवै जनाले सिन्काले आआफ्नै पारामा भुइँ कोरिरहेका थिए । जुन कुरो नजिकैबाट कागले नियालिरहेको थियो ।
(कागले ढुँड तल जोतेर मनमनै भन्यो – हुन त यो कथा हो । सिद्धान्त सञ्जालको या सँगसँगै जाने नीतिको । गुरु लेप्मुहाङ र चेला जगरेबिचको यो अध्याय तपाईँहरूले नपढनु भए पनि हुन्छ । तपाईँहरूलाई विचारधारा, सिद्धान्तका सम्बन्धमा केही जिज्ञासा भए अवश्य पढनु होला । नभए कथाको लागि त सिधै अर्को हाँगामा उफ्रिन पनि छुट छ अथवा काग काकाग ।)
कागहरूले यति सोचेर जगरेलाई घेरेर ठुङ्न खोजिरहेको थियो । यस जोडीलाई छुट्याउने चाहना बुझिन्थ्यो । जगरेलाई यस कथामा सामेल नगराउने, लेप्मुहाङलाई एक्का बनाउने कल्लौरीको धार थियो । तर जगरे गुरुमा अझै लीन हुन चाहन्थ्यो । त्यस कारण उसले कागलाई भन्यो, ‘म पनि केही बुझ्न केही सिक्न चाहान्छु । यो निरस सांसारिक जीवनबाट छुट्टी चाहन्छु ।’
कागहरू जगरेसँग जङ्गिएर कुरा काटदै भन्न थाल्यो, ‘यो जगरे महाचण्डाल भइटोपल्छ । कुन भीरमा गएर खस्छ ? पर्खौँ न ।’
जगरे भने गुरु लेप्मुहाङतिर ढल्केर प्रश्न गर्छ, ‘तपाईँ हजुर सन्याँसी, जोगी, साधु क्या हो ?’
गुरु – ‘म अलिली साधु हुँ, साधकजस्तो । मनमा गेरुवावस्त्र धारण गरेको खासमा अभियन्ता हुँ । अभियन्ता, इन्द्रेणी गाउँ निर्माणको ।’
जगरे – ‘अभियान्ता भनेको क्या हो ?’
गुरु – ‘अभियानकर्ता, बहुलरङ्गवाद अपनाएको । मनको रङ्ग पहेलो हुनुपर्छ भनेको । हामीले व्यवहारिक व्यापारिक काम गर्दागर्दै पनि संसारिक जीवनमै पनि सन्यासी, जोगी, साधु भएर काम गर्नु भन्ने कुरो । जस्तैः खेति गर्दागर्दै, जागिर खाँदाखाँदै, आवश्यक व्यवसाय गर्दागदै पनि मनमा साधुपन उमार्न सकिन्छ भनेको ।’
जगरे – ‘तपाईँ बुद्धको लाइनभन्दा फरक भन्नुहुन्छ ?’
गुरु – ‘त्यो भनेको बुद्धले शासन सत्ताको त्याग गरे र शासनमा फर्केनन् । मेरो चाहिँ शासन सत्तामार्फत् नै बुद्धको मूल्यलाई लागु गर्ने प्रक्रिया हो । तेसो गर्दा यो साधनवर्ग नवसन्यासी त हुन्छ । बैरागी, वितरागी त हुन्छ तर राज्यसत्ता निर्माण प्रक्रियामा भागेर जानेसम्मको सन्यासी, बैरागी, वितरागी हुँदैन । तेस कारण साधनवर्गको राग, वितराग र वैराग या बुद्धत्व या छुट्टी लोकतान्त्रिक प्रक्रियाबाट समस्याको समाधान खोज्ने सम्मत हुन्छ । त्यो बुद्धको दान पारमिता अथवा पहेँलो रङको बिसौनी हो । त्यहाँबाट अलि भागे बुद्धत्वमा पुगिन्छ । त्यहाँसम्म आइ नपुगे भोगी भइन्छ । यो भोगी र बुद्धत्वको बिच भाग जसलाई साधनवर्ग भनेको । जीवनलाई साधन बनाएको । अरूका जीवनको साध्यताका लागि, बुद्धत्व पनि साधनवर्ग नै हो तर यो साधनवर्गले राज्यसत्ता सञ्चालन गरेर अरूलाई लाभान्वित गराउँदछ । बुद्धले राज्यसत्ता सञ्चालन छोडेर मानवहितका लागि अरु बाटो अपनाए । जस्तैः व्यक्ति रुपान्तरणको बाटो । यो सत्तामार्फत् रूपान्तरको पाटो हो । फरक लाइन भनेको यही हो । साधनवर्गले राज्यसत्ता सञ्चालन गर्ने, साधनवर्गवालामा मनको रङ पहेँलो हुन्छ अथवा लोभ, लालच, मोह, राग, द्वेष, ईर्ष्या, झगडा, आरिस, कुण्ठा, झगडा आदिबाट छुट्टी भएको हुन्छ ।’
जगरे – गुरु, साधनवर्गलाई अलि बुझाइदिनु हुन्छ कि ?’
गुरु – ‘साधनवर्ग भनेको राज्यसत्ता सञ्चालन गर्ने वर्ग । यो वर्गले आफूले जतिसुकै कष्ट सहेर पनि अरूलाई उज्यालोको प्रतिफल दिन्छ । उदाहरणका लागि, भात पकाउँदा प्रेसर कुकरले जतिसुकै तापक्रमको कष्ट सहेर पनि चामल पकाइदिन्छ । तर आफैँ पग्लिँदैन । यो प्रेसर, राइस कुकर, ओदान, स्टोभजस्तै साधन हो । जो साधन हुन तयार छ, अरुलाई साध्य बनाउनको निमित्त । अथवा यो बुद्धको दानपारमिता भनेको अरुको भलाईका लागि आफ्नो स्वत्वको बलिदान गर्नु तर सट्टामा कुनै चाहना नगर्नु हो ।’
जगरे – ‘यो सम्भव छ त ?’
गुरु – ‘यो सम्भव छ । अहिले केही तिरिक्क उज्यालोहरू छन्, तिनीहरुलाई निभ्न दिनुभएन । अनि अलि बढाउँदै लानु पर्यो । अन्त्यमा त्यसैलाई स्थायी बनाउनु पर्यो ।’
जगरे – ‘तपाईँ समाजवाद परको यात्रा भन्नुहुन्छ ?’
गुरु – ‘हो, यो समाजवादभन्दा परको यात्रा हो । यसले सकारात्मक तरङ्गको संसार इन्द्रेणी गाउँ निर्माणसँग सम्बन्ध राख्छ । यसले चालक प्रतिशतको सिद्धान्तसँग सम्बन्ध राख्छ । यसले सर्वअङ्ग संस्कृतिक क्रान्तिसँग सम्बद्ध राख्छ । युवा विचारसँग सम्बन्ध राख्छ । यसले हरियो समाजवादी अर्थनीतिसँग सम्बद्धता राख्छ । महानतम आदर्श व्यक्तिहरूको जन्मसँग सम्बन्ध राख्छ ।’
जगरे – ‘गुरु, सर्वअङ्ग साँस्कृतिक क्रान्ति र साधनवर्गमा कतिको फरक छ ?’
गुरु – चालक प्रतिशतको सिद्धान्तका हिसाबहरू छन् । त्यो हिसाबअनुसार जो आत्म-अनुशासनमा रहेको सर्वअङ्ग साँस्कृतिक क्रान्तिमा रहन्छ । यो क्रान्ति आफैँभित्र र आफूबाहिरको क्रान्ति हो । चालक प्रतिशतको सिद्धान्तअनुसार चालक प्रतिशतको पाँच प्रतिशत राजनीतिमा राख्नेहरू चाहिँ साधनवर्ग हुन् । उनीहरूको चाहिँ जीवनको साध्य नै साधन हुन्छ ।’
जगरे – चालक प्रतिशतको सिद्धान्त भनेको चाहिँ के हो नि ?
गुरु – ‘चालक प्रतिशतको सिद्धान्त भनेको व्यक्तित्व निर्माणको हिसाब हो । यसका लागि जम्मा सतप्रतिशतमा तीस प्रतिशत अध्ययन, तीस प्रतिशत आयआर्जन, तीस प्रतिशत समाजसेवामा छुटयाइएको हुन्छ । यसो गर्दा नब्बे प्रतिशत भयो । अब पाँच प्रतिशत कुन भागमा लगाउने व्यक्तिले निर्णय गर्छ । उही क्षेत्रले सो व्यक्तिको जीवनको नेतृत्व गर्छ । बाँकी पाँच प्रतिशतलाई चाहिँ छोडिदिनु पर्छ । सम्पूर्ण प्रतिशत उपयोग गर्न त सकिन्नँ । नेतृत्वको पाँच प्रतिशत भनेको त्यही तीसमा थपेर पैँतीस बनाउने हो । अरु तीस हुन्छन्, तेसरी नेतृत्व थपिएको पाँच प्रतिशतले गर्दछ । तेसैलाई चालक प्रतिशत भनिएको हो ।’
जगरे – जस्तै ?
गुरु – ‘एउटा मान्छेले चालक प्रतिशतको पाँच प्रतिशत अध्ययन, लेखन, सिर्जना राख्यो भने सो व्यक्ति साहित्यकार, कवि, शिक्षक, प्राध्यापन वा यस्तै केही हुन्छ । कोहीले सो पाँच प्रतिशत आयआर्जनमा राख्यो भने सो व्यक्ति उद्योगपति, व्यापारी, जागिरे, कर्मचारी, किसान यस्तै यस्तै हुन्छ । कोहीले सो पाँच प्रतिशत समाजसेवामा राख्यो भने सो व्यक्ति नेता, समाजसेवी हुन्छ ।’
जगरे – त्यसो भए, युवा विचार भनेको चाहिँ के हो त गुरू ?
गुरु – ‘युवा विचार भनेको विचार सधैँ युवा भइरहनु पर्छ भन्ने कुरो हो । युवा विचार भनेको विचारले पुरानो विचार भत्काउन सक्ने तागत हो । विचारमा यो बल हुनुपर्छ । अनि विचार सधैँ युवा भइरहने । यदि सो विचारले पुरानो विचारलाई विस्थापित गर्न सकेन भने त्यो विचार नै बुढो हुन्छ अथवा युवा विचार हुँदैन । तसर्थ युवा विचारले क्रमभङ्ग गर्न सक्नुपर्छ । विघटन गर्न सक्नुपर्दछ । यो सधैँ गतिशील हुनुपर्छ ।’
जगरे – अगि हरियो समाजवादी अर्थनीति भन्दै हुनुहुन्थ्यो । यो भनेको चाहिँ नि ?
गुरु – ‘हरियो समतावादी अर्थनीति भनेको चपाल देश बनाउने आर्थिक नीति हो । यसको लागि सर्वप्रथम आत्मअनुशासन जरुरी हुन्छ । हरियो भनेको जीवनवादको सङ्केत हो । यो वास्तवमा हरियोपरियो हो भनेपछि वनजङ्गल, नदीनाला, प्रकृति, वनस्पति, पर्यावरण, जैविक विविधताको संरक्षण र उपयोग मान्नुस् । समाजवादी भनेको समानतामा विश्वास गर्ने भनेको समाजमा देखिने सबै प्रकारका असमान्ताको उन्मुलन गर्ने प्रावधान हो । अर्थनीति भनेको मुख्यतः यो आर्थिक कारोबारको विनियम भन्ने बुझनुपर्छ । यसलाई मुन्धुमको मानवतावादी, प्रकृतिप्रेमी, पशुपंक्षीप्रेमी दर्शन भनेर भन्नुस् ।’
जगरे – ‘गुरु, यो तपाईँ हरेक कुरामा आत्मअनुशासन भन्नुहुन्छ !’
गुरु – ‘हो, आत्मअनुशासन मात्रै मान्छेलाई बाँधेर राख्तछ । मान्छेलाई हिँस्रक हुनबाट जोगाउँछ । अलोकतान्त्रिक हुनबाट जोगाउँछ । अति भोगी हुनबाट जोगाउँछ । यिनीहरूमा बेइमानी, षड्यन्त्रकारी हुनबाट जोगाउँछ । अनि समाजलाई स्वस्थ र सुन्दर बनाउँछ । यो ज्यादै जरुरी महल हो । आत्मअनुशासन भनेको आत्मसंयमता या आत्मसंहिता हो ।’
जगरे – ‘महान्तम आदर्श व्यक्तिहरूको जन्म भनेको ?’
गुरु – ‘आदर्श व्यक्तिहरूको जन्म भनेको आदर्श राज्यप्राप्तिका लागि आफूलाई तयार बनाएकाहरूको जमात हो । यो दानपारमिता र सकारात्मक सोच भएकाहरूको जमात हो । समाज बाँध्ने र जोड्ने योजकहरू । यो साधनवर्गको मानिसहरूको उपस्थिति हो । छुट्टी भएका मानवहरूको भेटघाट हो । यो ठुला वैज्ञानिकहरूको जन्म पनि हो । यो मुन्धुमको चुक्निवा र लादिप्पाको संस्करण हो ।’
जगरे – सकारात्मक तरङ्गको गन्तव्यस्थल ‘इन्द्रेणी गाउँ’ भनेको नि ?
गुरु – ‘माथिका पथहरूबाट हिँडेर हामी जुन ठाउँमा पुग्छौँ त्यही सकारात्मक तरङ्गहरूको गन्तव्यस्थल, इन्द्रेणी गाउँ हो । जुन बुद्धहरूको राज्य, महात्माहरूको बस्ती, आदर्श मानवहरूको गाउँ । अन्याय, अत्याचार, शोषण, विभेद, भ्रष्टचार, होचोअर्घेलोरहित समाज । जसरी एउटा रङको तहले अर्को रङलाई निषेध, निमिटयान्न गर्न सक्दैन । खेल्न, खेलाउन मात्रै सक्छ । रङको गुणप्रधान इन्द्रेणी गाउँ । छुट्टी भएका मान्छेहरूको ठाउँ ।’
जगरे – बहुलरङवाद के हो त ?
गुरु – वादहरूको बहुलता, रङहरूको बहुलता । बहुलताहरूको जीवन । जीवनको साध्यता ।
गुरु चेलाले एउटा सानो अभ्यास सिध्याए । दुबै जनाको शरीरमा अस्थिपञ्जर, मांसपेशी र स्वासप्रश्वासको ठाउँ शब्दहरूले लिए । अहिले आवाज भने शून्य भइरहेको थियो ।
जगरे – गुरू, आमुल परिवर्तन भनेको नि ?
गुरु – ‘आमुल परिवर्तन भनेको मूलमै परिवर्तन भनेको हो । सो भनेको पात्र र चरित्रमा खोजिने परिवर्तन हैन कि मुहानमा खोजिने परिवर्तन । जस्तो कि दर्शन, विचारधारा, सिद्धान्त, नीति तथा कार्यक्रममा खोजिने परिवर्तन ।’
जगरे – ‘तेस्रो दर्शन भनेको नि ?’
गुरु – ‘आत्मगत र बस्तुगत आए दर्शन आजसम्म तेसको ठाउँमा रङगत दर्शनलाई तेस्रो दर्शन मानेको ।’
जगरे – गुरु, तपाईँ बहुलरङवादका आठ बुँदा भनिदिनुहुन्छ ?
गुरु – ‘मानव जातिलाई छुट्टी दिने आठ बुँदाहरू हुन् । जुन माथि सारंसमा आएको छ ।
१. गतिशीलताको नियम आकस्मिकता निरन्तर ।
२) व्यक्तित्व निर्माणमा चालक प्रतिशतको सिद्धान्त ।
३) राज्यसत्ता सन्चालनमा साधनवर्ग ।
४) यथास्थितिको विपक्षमा सधैँ युवा विचार ।
५) स्वस्थ समाजका लागि सर्वअङ्ग साँस्कृतिक क्रान्ति ।
६) आर्थिक दृष्टिकोणमा हरियो समतावादी अर्थनीति ।
७) गाउँपक्षमा महनतम आदर्श व्यक्तिहरूको जन्म ।
८) सकारात्मक तरङ्गको गन्तव्य स्थल इन्द्रेणी गाउँ ।’
गुरुले आठ बुँदाको सबिस्तार व्याख्या भइसकेको बताए । जगरेले बोले, ‘सजिलो छ मलाई’ । गुरुले भाषा बुझे कि उसलाई निकै गाह्रो परेको । त्यसैकारण उसको थेगो ‘मलाई गाह्रो छ’लाई उल्ट्याएर सजिलो भनेको थियो ।
सधैँ जोक्स नगरी नसक्ने जगरेको व्याकरण कठिन भएको बुझेर गुरूले टाउको हल्लाए ।
पर हेर्यो जगरेले, काला कागहरू बाँस नुहिएको टुप्पामा कराइरहेका थिए – काक् काक् । हावा चलेर बाँसलाई हल्लाइरहेकाे थियो, त्यसैले ती कागहरू उडेर जानेवाला थिए कतै । त्यहाँ बस्न नसक्ने भएका थिए हावाको चापले ।
हावाहुरीकाबिच एउटा काग आएर जिस्कायो, ‘हालखोबर कास्तो त ? केही सहयोग चाहिया कि ?’ यति भनिसक्ता नसक्तै दुवै जना थाकेको भावमा चौरमा निदाए । उनीहरूको बिचमा थियो उनीहरूद्वारा रचित सिन्काले खेलिएको रेखाहरू । कागले उक्त चित्र नजिकैबाट नियालेर पढे ।
जताततै मनपरी कोरेको रेखाहरूमा जगरेको कहीँ न कहीँ बगरे, चिमे खोला, ओखरबोटे खोल्सी, जहाज, प्रेमिका, काग, सरी, सुङ्गुर, रक्सी भट्टी, गिलास जस्तो लाग्थ्यो ।
लेप्मुहाङले घुमाइफिराई राइट गरेर राइटको माथिपट्टि पनि दाहिने मोडेको थियो अनि यसैलाई क्रस गरेर फेरि उकत डाँडीमा उल्टोपाल्टो राइट देखिने कारेको थियो । यसै पृष्ठभूमिमा अरू थिए – डाँडाकाँडा, पहाडपर्वत, समतल, नदीनाला, लेप्मुहाङ्, बुद्ध, इप्नासरेङधङना, केशामी, नाम्सामी, थेवा, युमा, काग आदि ।
कागले सम्झ्यो अघि जगरेलाई गुरुले भनेको, ‘हेर त जगरे यहाँ के छ ?’
जगरे, ‘राइटलाई उल्ट्याए जस्तो छ गुरु ।’
गुरु, ‘हैन, अझै राम्ररी घुमीफिरी हेर ।’
जगरेले चक्कर मारेर घुमिफिरी हेरेर भन्यो, ‘चारैतिरबाट राइट रहेछ गुरु ।’
गुरुले भने, ‘अँ, आफ्नो दृष्टिकोण सही भए यो संसारै सही छ । यो पृथ्वी गाउँ नै उज्यालो छ । यसका लागि आफू पनि कति ठाउँमा भत्किनुपर्छ अथवा घाटामा जानुपर्छ । जस्तो कि हिजोको राइट सङ्केतले मात्रै आज काम गर्न सक्तैन । त्यस कारण राइट सङ्केत पनि आज अलि भत्केको छ । हिजोको रङ (गलत, बेठिक) सङ्केतमा आज टुप्पी र फेदलाई अलि विपरीत मोड्दा उही चारैतिर राइटको सङ्केत बनेको छ । मान्नुस्, यो चारैतिर ठिकको शूत्रपात हो । यहीबाट बुझ्नु ।’
यति बुझेर काग पनि नजिकै निदायो ।
मानौँ, काग पनि दिमागमा नयाँ फर्म्याट, नयाँ एप्स लगाएकाले रिस्टार्ट गर्न निदाएका हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

