अत्यन्तै हँसिलो मिजाजका उप्रेती’बा । हमेशा प्रफुल्ल रहने । साँच्चै भन्नुपर्दा आफू पनि खुसी रहने र अरूलाई पनि खुसी राख्न सक्ने । उनी वरी-परी सबैका प्रिय र सम्मानका पात्र थिए । उनी घरबाट निक्लेको सबैलाई थाहा हुन्थ्यो किनभने उनी खोक्दै निक्लिन्थे । ठुलो आवाजमा बोल्थे र सबैसँग केही न केही बात मार्दै निक्लिन्थे । आमै भने पाँच-सात वर्षअघि नै हार्टफेल भएर मरेकी रहिछन् ।

उप्रेती’बालाई देख्दा मलाई यस्तो लाग्थ्यो कि संसारमा भाग्यमानी मान्छेहरूमध्ये यी बा पनि होलान् । सधैँ प्रफुल्लित मुद्रामा हुन्थे । मलाई उनीसँग गफ गर्न सारै मन पर्थ्यो किनभने खुल्ला हृदयका मान्छे थिए उनी जे देख्यो फ्याट्टै भन्दिने । अरूको कुभलो कहिल्यै न चिताउने ।

मलाई पनि बुढाबुढीसँग गफ गर्न सारै मन लाग्थ्यो र फुर्सदको समयमा म पनि गफ गर्न रुचाउने मान्छे । बेलुकीपख उप्रेती’बाको र मेरो एकछिन-एकछिन गफ हुन्थ्यो । बिस्तारै-बिस्तारै मेरो र उनको मित्रता गहिरिँदै गयो र कहिले-कहिले उनी मेरा डेरामा आउन पनि थालिन् । म केही जिज्ञासा राख्थेँ र उनी बढो चाखलाग्दो तरिकाले सुनाउँथे । कुरै-कुरामा मलाई थाहा भयो कि उप्रेती’बाको जवानी भारतको मणिपुर र नागाल्याण्डमा बितेको रहेछ ।

गरिबीका कारण उनी किशोर अवस्थामा भारतको मणिपुर राज्यमा पुगेका रहेछन् । मणिपुर राज्यमा विश्वयुद्ध ताकादेखि बसोबासो गर्दै आएका नेपालीहरू थिए र बा पनि उनीहरूकै बिचमा केही जङ्गल फाँडेर बस्न पुगेछन् । उप्रेती’बाको त्यहीँ घरजम भएछ र धेरै परिश्रमी मान्छे भएकाले उनलाई बिहान-बेलुका छाक टार्न गाह्रो भएन । करिब ३० वर्षसम्म उप्रेती’बाको जीवन त्यहीँ बितेछ । उनका छ भाइ छोरा र दुई बहिनी छोरी जन्मिएछन् । खान-लाउन अभाव भएनछ तर पैसा पनि सङ्कलन गर्न सकेनछन् । नजिकैको स्कुलबाट उनका छोराछोरीले कक्षा पाँचसम्म पढ्न पाएछन् र त्यहाँभन्दा माथि चाहीँ स्कुल टाढा भएकाले पढ्न पाएनछन् र सबैले कक्षा पाँच पढ्दै छाड्दै गरेछन् ।

छोराछोरी अली ठुला भएपछि उप्रेती’बाले जेठा छोराको विवाह गरेछन् । र त्यहाँदेखि लगभग पचास-साठी किलोमिटर टाढा नागाल्याण्डको एउटा उब्जाऊ ठाउँमा बसेर जीवनयापन गर्न थालेछन् । त्यहाँ उप्रेती’बाको राम्रै उन्नति भएछ । भकारीभरि धान र ग्वाली भरी भेडा-बाख्रा भएछन् ।

एकदिन अचानक उप्रेती’बाका घरमा डाका लागेछन् । उनको भएजति सबै जेथो डाकाले लगेछन् ।

“जेथो मात्रै लगेका भए त ठिकै थ्यो बाबु ! मलाई काटेर मरो भनेर फ्याँकी देका’रछन् । तर यो सास अड्केर बसेछ । म मरिनछु ।”, यति दु:खका कुरा गर्दा पनि उप्रेती’बाका अनुहारमा कुनै उदासीपन देखिएको थिएन । म सोच्दै थिएँ, सायद अब उनका आँखा रसाउने छन् । तर उप्रेती’बामा उदासीपन रति्तभर देखिँदैनथ्यो । म उनीलाई एक टक हेरिरहेको थिएँ । त्यसपछिको घटनाको बारेमा ममा स्वत: जिज्ञासा उठ्यो । मैले सोध्नुभन्दा अगाडि नै उनले टोपी खोलेर मेरो अगाडि आफ्नो रौँ नभाको टाउको निहुर्याउँदै भने, “हेर त बाबु मेरो टाउको !”

उनको टाउको देख्दा मेरो मन चसक्क दुख्यो । टाउकोमा काटेको यति लामो आठ-दसवटा टाँका लगाको दाग रहेछ ।

“निकै ठुलो दाग छ त बा !  मारेकै रछन् नि तपाईँलाई त अपराधीले ।”

“ए, उनेरूका लागि त मारेकै नि मलाई । तर दिन नआएपछि मरिँदो रैन’छ बाबु ।”, हाँस्दै बाले टोपी टाउकोमा लगाउँदै भने ।

“अरूलाई चाहिँ डाकाले केही गरेनन् ?”, मेरो अर्को प्रश्न थियो ।

“केको नगर्नु बाबु ? बुढीलाई भाँटैभाँटाले हानेछ । कपाल समातेर लछार-पछार पारेछ । ठुलो छोरो र माइलो छोरो भाग्न पाएछन् भागेछन्  । अरु सानै थिए, केही गरेनछन् । धन्न छोरी चैँ मावलमा थिई ।”

“अनि बुहारी चाहिँ ?”, मेरो प्रश्न थियो ।

“बुहारीलाई पनि हातपात गरेछन् नि ।”

“अनि वरतिर-परतिर अरू कोई मान्छे थिएनन् त्यहाँ ?”

“कहाँ हुनु नि, एकान्त ठाउँ थियो । दुई घर थियौँ हामी । अलिक पर छिमेकी थियो रामबहादुर । पछि बुझ्दा त त्यो सबै तेसैको करतुत र’छ । पछि तेसलाई पनि डाकाले मारेछन् भन्ने सुनेँ ।”

“अरूको अपराध चिताउनेको कहाँ भलो हुन्छ र बा ?”

“त्यो त सही हो बाबु । अर्कालाई खाने बाघले आफूलाई पनि खान्छ ।” उनले अगाडी थपे, “यो सबै घटना रातिको थ्यो । भोलिपल्ट अलिक पर गाउँबाट केही नागाहरू आए र मलाई अस्पताल पुर्याए । चार-पाँच दिन अस्पताल बसेपछि म अलिक ठिक भएँ र अलि-अलि भा’को सामान लिएर सबै कुरा त्यहीँ छाडी झापा आयौँ ।”

“अनि गाईबस्तु चाहिँ ?”

“सबै तीँ छाडेर राति भागेका नि बाबु ! तेई पनि लुकीलुकी । राती गाईबस्तुका दाम्ला खोलिदेर हिँडेका । के गर्नु र बाबु ! छोराछोरीको माया लाग्दो र’छ । इनेरलाई ज्युँदै नेपाल आफ्नो जन्मभूमि पुर्याएँ भनेँ त काम गरेर खाइहाल्छन् जस्तो लाग्यो । आफूमा पनि अजै केई गर्न सक्ने आँट थियो । तेही भएर राति भागेर आयौँ ।”

उप्रेती’बाका कुरा सुन्दा मलाई कहाली लागिरहेको थियो । डाका, तीमाथि राति आएर लुट्ने, कुट्ने, हातपात गर्ने, उस्तै परे मारी पनि दिने । आजको जस्तो मोबाइल, टेलिफोन पनि थिएनन् त्योबेला ।

उप्रेती’बाका साहिँला छोराको घरनजिकै म डेरा गरेर बसेको थिएँ । उनका अरू छोराहरू झापामै थिए । सबै जना ड्राइभर थिए । सबैको राम्रै व्यवस्था थियो । म बसेको ठाउँ काठमाडौँ सहरभित्रै परे पनि अलिक गाउँले  पाराको थियो । एक प्रकारले भन्ने हो भने राम्रै गाउँ थियो । उप्रेती’बाका साहिँला छोरा दलालको काम गर्थे । निकै राम्रै कमाएका थिए उनले । बोल्न-हाँस्न फर्सिला थिए उनी । गोरा, राम्रा पनि थिए । हेर्दा जति राम्रा थिए तर व्यवहारमा भने त्यति राम्रा थिएनन् । जति बेलै पनि पैसाकै मात्रै कुरा गर्ने र पैसाभन्दा ठुलो अरु केही होइन जस्तो गर्थे । छिमेकीहरू उनलाई यो साह्रै स्वार्थी र मतलबी मान्छे छ भन्थे ।

उप्रेती’बासँग कुरा गर्न मलाई आनन्द आउँथ्यो र उनी पनि मसँग कुरा गर्न रुचाउँथे । उनी बिस-पच्चीस दिन काठमाडौँ बस्थे र फेरि झापा जान्थे ।

एकदिन मैले सोधेँ उनलाई- “तपाईं किन लामो बस्नु हुन्न यहाँ ?  बीस-पच्चीस दिनमै गइहाल्नुहुन्छ, अनि फेरि दुई तीन महिनापछि आउनुहुन्छ ?”

“म बीस-पच्चीस दिनभन्दा धेरै कुनै छोराको घरमा पनि बस्दिनँ ।”, उनले भने ।

“अनि मूलघर चाहिँ ? तपाईंसँग कुन छोरो बस्छ ?”

उप्रेती’बाको अनुहारको रौनक अचानक हरायो । साँच्चै भन्ने हो भने उप्रेती’बालाई यति उदास देखेको रहेनछु मैले । मलाई यस्तो लाग्यो कि सायद मैले गलत प्रश्न गरेँ । तर मैले गलत प्रश्न गरेको थिइनँ । वार्तालापका क्रममा यो त स्वाभाविकै थियो ।

उदासीलो मुख लाएर उप्रेती’बाले भने, “हुन त बाबु जाँ आमा-बुवा बस्छन्, जाँ बुढा-बुढी बस्छन्, तेसै घरलाई मूलघर भन्छन् । बुढा-बुढी बस्ने एउटा निश्चित घर हुन्छ । छोरा-छोरी आमा-बाबुकोमा बस्न आउनुपर्ने हो, तर मचाहिँ छोरा-छोरीकामा बस्न जान्छु ।”

बुढाका आँखाका कुनामा पानी रसाएको प्रस्ट देखेँ । हुन त, मेरो र बुढाको कुनै नाता छैन । केवल छिमेकी मात्रै हौँ । त्यही पनि काठमाडौँमा डेरा गरी बस्ने क्रममा चिनजान भएको । तर खै किन हो ? बुढाले मलाई सबै कुरा भन्थे ।

उप्रेती’बा फेरि अगाडि भन्नथाले –  “नागाल्याण्डबाट आएर हामी दाजुको घरमा बस्यौँ । म र बुढी खेती गर्थ्यौं । कान्छो छोरो सानै भएकाले हामीसँगै थियो । अरु सबै १३, १४, १५, १६ र १८ वर्षका भैसकेका थिए, कमाउनतिर लागे । सबै जना गाडीमा काम गर्छौं भन्थे । दुई-चार वर्षमै राम्रै कमाइ भयो । हामी दुई बुढा-बुढीले पनि दसनङ्ग्रा ख्याएर भकारीभरि धान राख्थ्यौँ । कहिले-कहिले छोराहरू आउँथे, कमाको पैसा दिएर जान्थे । सबैले कमाको पैसाले मैले एक बिघा खेत किनेँ । हामी बुढा-बुढी त्यहीँ खेतमा काम गरेर बस्यौँ । उनीहरू भने कताकता बस्थे, था’छैन । बिस्तारै-बिस्तारै सबै ड्राइभर भए । कैले-कैले घरमै गाडी लेर आउँथे, खुसी लाग्थ्यो । ड्राइभर भएपछि सबै जना अरब देशमा अझै धेरै पैसा कमाउनलाई गए ।”

धेरै कुरा भने मलाई उप्रेती’बाले । सबै कुराहरूलाई भन्न म त्यति आवश्यक ठानिन्दिनँ । तर केही कुराचाहिँ मैले सुनाउनै पर्छ ।

“राम्रै चल्दै थ्यो । तर जब छोराहरू ठूला भएर कमाउने भए तब छोराहरूमा तेरो र मेरो, तैँले कमाको र मैले कमाको जस्ता कुराले आपसमा किचलो हुन थाल्यो । मैले पनि सबैलाई स्पष्ट भन्दे कि यो जमिन हामी बुढा-बुढीको भो । अब उप्रान्त तिमीहरू आफैँ कमाओ । आफ्नै गर । सबै जना राजी भए । आ-आफ्नो काम गर्न थाले ।”

“हजुरका छोराहरू पौरखी र’छन्, राम्रै प्रगति गरेछन् ।”

“ए मनक्कै बाबु । सबैको राम्रै भएपछि हामीलाई पनि अब खेतमा दुःख नगर्नु बा-आमाले भनेर सुझाव दिए । खेती बेचेर बरु त्यो पैसा बैङ्कमा राख्नु त्यसैको ब्याजले खान पुगिहाल्छ नि भने र मलाई पनि उनीहरूले भनेको ठिकै लाग्यो । मैले पनि खेत बिक्री गरिदेँ । जेठा छोराको घरछेउमै एक कट्ठा जमिन किनेँ र बचेका पैसा साहिँला छोराले बैंकमा राखिदिन्छु भनेर लगो । हामी जेठा छोरा-बुहारीसँग बस्ने भयौँ । जेठा छोराको अरूको भन्दा अलिक राम्रो व्यवस्था पनि थ्यो । हामीलाई माया पनि गर्थ्यो। हामीलाई अलि माया गर्ने भएकाले मैले सोचेँ कि हामी जेठासँगै बस्नु पर्छ भनेर । तर…”

“तर के भयो र बा ?”

“आफूले सोचे जस्तो भएन । अन्तरे र साहिँला छोराको  झगडा पर्यो र त्यो झगडा मिलाउन मैले आफ्नो नामको ‘जिउनी’ दाजु-भाइमा फाटो न आओस् भनेर अन्तरे छोरालाई दिएँ ।”

“किन ? के भयो र त्यस्तो ?”

“अन्तरे छोराले अरबमा कमाएको सबै पैसा काठमाडौँमा ‘मलाई घडेरी किनिदिनु परो’ भनेर दाजुलाई देछ । र पछि पाँच-छ वर्ष अरबबाट आएपछि मेरो जमिन कहाँ छ भनेर सोध्दा दाजुचाहिँले एउटा जङ्गलको फेदमा लगेर ‘यो जमिन हो तेरो’ भनेर देखाइदेछ ।

‘म यस्ता ठाउँमा कसरी बस्नु दाजु ? म याँ बस्दिनँ, झापामै बस्छु । मेरा पैसा मलाई दिनु’ भनेछ ।

‘अब म काँबाट दिनु पैसा ? जईले यो जमिन बिक्री हुन्छ तईले दिउँला ।’ भनेर दाजुले भनेछ ।

अन्तेर रूँदै म भाका ठाउँमा आयो र धेरै बिलौना गर्न थाल्यो । मैले सोचेँ, दाजु-भाइको यसरी मनमुटाव भएको राम्रो होइन । मैले आफ्नो नामको जमिन उसको नाममा पास गरिदिएँ र उसको त्यो जङ्गलको फेदको जमिन मेरो भयो भन्दिएँ ।”

“अनि त्यो जङ्गलको फेदको जमिन आफ्नो नाममा नामसारी गर्नु भो त ?” मैले सोधेँ ।

“छैन, त्यो साहिँलाकै नाममा छ । तेही भएर त सबै छोराहरू मसँग रिसाएका छन् त बाबु । साहिँलो भन्छ, ‘तपाईँलाई यो बुढेसकालमा किन चाइयो जमिन र पैसा ? चुप्प लागेर बस्नु, दिएको खानु, भैहाल्यो नि ।’ अरू भन्छन्, ‘त्यो तपाईंको जिउनी आफ्नो नाममा नाम्सारी गर्नु बा ।’

बस्नु पर्ने मैले साहिँलोकोमा हो तर मलाई याँ बस्न पटक्कै मन लाग्दैन । मलाई याँ बस्ने बानी छैन । मेरो धेरै जीवन त तराईमै बित्यो नि त बाबु । अनि अरु छोराकोमा बसौँ भने आत्मग्लानि हुन्छ । ‘भएको जेथो एउटालाई दिएको छ र याँ आएर बस्छ’ भन्छन् कि जस्तो लाग्छ । आखिर मन न हो बाबु । तेही भएर बाबु, म बीस-पच्चीस दिन एउटाकोमा, बीस-पच्चीस दिन अर्कोकोमा बस्छु । छोराहरू त केही भन्दैनन् तर कैले-कैले बुहारीहरू व्यङ्ग्य गर्छन् । मन कटक्क दुख्छ । एक्लो छु, बुढी पनि छैन । मनका कुरा साँटासाँट गर्ने साथी पनि छैन । मनमा पनि शान्ति छैन । म त यो संसारको सबैभन्दा अभागी मान्छे हुँ जस्तो लाग्छ बाबु मलाई । म त ‘जिउनी’ नभाको मान्छे हुँ बाबु ।”

यसो उनका अनुहार हेरेको, उनी हाँस्ने प्रयास गर्दै थिए तर आँखाबाट आँसु पनि बग्दै थिए ।