काठमाडौँ सहरमा हुर्किएका मेरा छोराछोरी यहाँको वातावरणमा दिनभरि राम्ररी भुल्छन् । नभुलून् पनि कसरी ? बिहान झिसमिसेदेखि साँझ झमक्क पर्दासम्म हामी बुढाबुढी रोजीरोटीका लागि खट्नु परेकै छ । साँझपख दिदीभाइ एकछिन खेल्छन् । केही समय  विद्यालयमा भए गरेका कुरा एकअर्कालाई सुनाउँदै निकै रमाइलो गर्छन् । रातिको खाना खाइसकेपछि केहीबेर गृहकार्यमा लाग्छन् । उनीहरू प्राय:  साढे नौ बजेभित्र सुतिसकेका हुन्छन् । मलाई मेरा छोेराछोरीको दैनिकी देखेर रमाइलो लाग्छ ।

छोराछोरी दुबै जना सधैँ निधाउनु अगाडि मलाई एउटा कथा भन्न लगाउँछन् । बाबुकै कथाको आनन्द लिएपछि मात्र उनीहरू निधाउने बानी परेका छन् । छोराछोरीका लागि कथा भन्न म पनि तयारी अवस्थामा नै हुन्छु । आज छोराछोरीले सधैैँ झैँ मलाई नयाँ कथा भन्न अनुरोध गरे ।

छोराछोरी ओल्लोपल्लो खाटमा सुतेका थिए । मैले पनि भुईँको गलैँचामा बसेर भित्तामा ढाड राखेँ र दिनभरिको थकान मेट्दै कथा भन्न थालेँ । मेरा कथामा हरिप्रसाद पात्र निकै सङघर्षशील थिए । छोराछोरी एकअर्काका आँखा जुधाउँदै मेरो कथा सुन्दै थिए । म भन्दै गएँ, “हरिप्रसाद गरिबको छोरो थियो । उसलाई पढ्न र लेख्न सानैदेखि निकै रुचि थियो । विद्यालय पनि त्यति नजिक थिएन । करिब एकोहोरो विद्यालय जान मात्र डेढ घण्टा लाग्थ्यो । ऊ दैनिक तीन घण्टाको बाटो ओहोरदोहोर गरेर पढ्ने गथ्र्यो ।”

मैले हरिप्रसादको कथा भन्दै गर्दा छोरीले सोधी, “अनि बाबा, त्यति लामो बाटो ऊ बस चढेर गएको भए हुन्थ्यो नि त ।”

“हैन, उसको घर दुर्गम गाउँमा थियो । त्यहाँ बस चढ्नका लागि बाटाघाटा थिएन । उसले त साँच्चै भन्नु पर्दा बस नै देखेको थिएन ।” मैले भनेँ ।

छोरोले फेरि प्रश्न सोध्यो, “बाबा, ऊ मामाघर जाँदा त पक्कै बस चढ्थ्यो होला नि !”

म छोराको जिज्ञासा सुनेर मुसुक्क मुस्कुराएँ । उनीहरुलाई लाग्यो, बाबाले त्यतिकै कथा बनाउँदै हुनुहुन्छ । तर यी सबै यथार्थ थिए । मैले भनेँ, “हेर बाबु, उसको मामाघर पनि अर्को त्यस्तै दुर्गम गाउँमा थियो । दिनभरि हिँडेपछि बल्ल बल्ल राती मात्र मामाघर पुगिन्थ्यो । उनीहरूले हिँड्ने बाटामा कतै गाडी चल्दैन थियो ।” बाबाका कथा सुनेर दुबै जनाले कान ठाडा पारे । आँखा तन्काएर हेराहेर गरे । उनीहरूमा एकप्रकारको आश्यर्चको भाव प्रटक भइरहेको थियो ।

छोरीले फेरि सोधिन्, “अनि के भो बाबा ?”

“हरिप्रसाद यसरी नै वर्षौँवर्ष स्कुल गइरह्यो । ऊ पढाइमा निकै अब्बल थियो । राम्ररी सबै कक्षामा उत्तीर्ण हुँदै गयो । त्यसपछि ऊ एसईई परीक्षामा पनि राम्ररी सफल भयो । उसको घरमा अरू दाइदिदीहरू पढेलेखेका थिएनन् । तर घरको कान्छो हरिप्रसादले एसईई पास गर्दा सबै खुसी भए ।”

“त्यसपछि के भयो बाबा ?” छोरीले हतारहतार प्रश्न सोधी । मैले भन्दै गएँ, “त्यसपछि हरिप्रसादलाई माथिल्लो कक्षामा पढ्नका लागि सहर जानुपर्ने भयो । उसलाई पढ्न पठाउन बाबाआमासँग पैसा थिएन । गरिब परिवार, दिनहुँ बनिबुतो गरेर दुईछाक टार्थे । हरिप्रसादका लागि सहरको पढाइ आकाशकै फल हुने स्थिति भयो । उसलाई निकै छटपट्टी भयो । केही दिन निदाउन सकेन ।

एकदिन उसकै विद्यालयका हेडमास्टर उसको घरमा आइपुगे । हरिप्रसादको अबको पढाइका बारे सोधे । हरिप्रसादका बाबाले सहरमा पठाउने हैसियत नभएको गुनासो गरे । अरू कोही केही बोलेनन् । हेडमास्टरले आफ्नै सालो सहरमा भएको हुँदा त्यहाँ बिहान-बेलुका काम सघाएर पढ्ने व्यवस्था मिलाइदिने कुरा गरे । उनको कुराले सबैलाई राहतको अनुभव भयो । हरिप्रसादको अनुहारमा खुसीको प्रकाश छायो ।

त्यसको हप्ता दिनपछि हरिप्रसाद काठमाडौँमा पढ्ने उद्देश्यले आयो । उसले काठमाडौँको पुरानो बसपार्कमा आइपुग्न आँटेपछि हेडसरको सालो हेमन्तराजलाई मोबाइलमा फोन गर्यो । हेमन्तराज बसपार्कमा उसलाई लिन गए ।

रातभरिको यात्राले निकै थाकेर बिहानीपख मात्र हरिप्रसाद काठमाडौँ पुगेको थियो । उसले घरबाट लगेको कालो दाल, बेसार र अलिकति खोसार्नी हेमन्तराजकी श्रीमती हेमकलालाई दियो । एकछिन पछि खाना खाएर आराम गर्यो । त्यस दिन त्यतिकै बित्यो ।

भेलिपल्ट उसको नाम लेख्नका लागि हेमन्तराज र ऊ जयबागेश्वरी माविमा गए । उसको भर्ना गरियो । बिहान १० बजेसम्ममा उसको पढाइ सकिने रहेछ । केही समयपछि उनीहरू त्यहाँबाट निस्किए र पोसाक सिलाउन दिन पसलतिर गए । त्यसपछि पुस्तक पसलमा गएर किताब किनेर कोठामा गए ।  उसले बाटामा सोच्यो, “ए, बिहानको पढाइ रहेछ, दिनभरि घरमा भएपछि त म मौका मिलाएर राम्ररी पढ्छु । कति फुर्सद हुन्छ, हुन्छ ।” हेमन्तराजको डेरा स्कुलदेखि त्यति टाढा पनि रहेनछ । उसलाई त्यो पनि रमाइलो लाग्यो ।

घरमा आएपछि हेमन्तराजले हरिप्रसादलाई भयो, “अब विद्यालयको पोसाक बनेपछि मात्र तिमी विद्यालय जानू । आज चाहिँ खाना खाएर हामी एकछिन मेरो फ्याक्ट्रीमा जानुपर्छ ।”

हरिप्रसादलाई लाग्यो, “अङ्कलले आज मलाई कहाँ लान भनेको होला ?”

खाना खाएपछि उनीहरू बाहिर गए । दस मिनेट पर अङ्कलहरूको चप्पल फ्याक्ट्री थियो । त्यहाँ हरिप्रसादलाई पुर्‍याए । त्यहाँ अरु पनि धेरै काम गर्ने कामदार थिए । हरिप्रसादलाई पनि अङ्कलले फ्याक्ट्रीको काम सिकाए । दिनभरि त्यहीको के के काम गरेर साँझ मात्र घर फर्किए ।

भोलिपल्टदेखि अङ्कल र हरिप्रसाद दिनहुँ फ्याक्ट्री जान थाले । दुई हप्तासम्म काम गरिसकेपछि बल्ल बल्ल विद्यालयको पोसाक अङ्कलले ल्याइदिए । त्यसपछि ऊ बिहानको पढाइका लागि विद्यालय जान थाल्यो । बिहान साढे दस बजेतिर घरमा आएर खाना खाइसकेपछि फेरि चप्पल फ्याक्ट्रीमा काम गर्नुपथ्र्यो । बिचरा ! हरिप्रसादका हातभरि घाउ नै घाउ भएका थिए । उसलाई विद्यालयमा उसका साथीहरूले जिस्काउँथे । ऊ भने आफ्नो दु:ख सम्झिएर निकै दु:खी बन्थ्यो ।”

त्यति नै बेला छोरीले भनी, “उसका साथीहरू कस्ता फटाहा रहेछन् नि बाबा !”

फेरि छोराले थप्यो, “उनीहरूलाई के थाहा र हरिप्रसादको घरको दु:ख ? त्यही भएर जिस्काएका होलान् नि हैन बाबा !”

दुवैको जिज्ञासा मनासिफ थियो । म भन्दै गएँ, “राती आठ बजेसम्म ऊ फ्याक्ट्रीकै काममा व्यस्त हुन थाल्यो । उसलाई कसैले पनि पढ्ने कुरा गर्दैन थिए । उसलाई त्यस बिरानो ठाउँमा लाग्थ्यो, हेर, मान्छे कति स्वार्थी हुँदा रहेछन् । पक्कै पनि यी अङ्कल आन्टी पढेलेखेका होलान् । यिनीहरूका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन् । जतिखेर पढ्ने र खेल्ने मात्र गर्छन् । तर मलाई कतिखेरै पढ् भन्दैनन् । बरु मेरा बुबाआमा, बिचरा कालो अक्षर भैँसी बराबर थियो, उहाँहरूलाई एक अक्षर पढ्न नआए पनि मलाई पढ्न कत्ति प्रेरित गर्थे । दाजुदिदीहरू पनि पढेको देखेर खुसी हुन्थे । यहाँ त मेरो पढाइ बर्बाद हुने भयो ।”

हरिप्रसाद केही दिन त निकै चिन्तामा पर्यो । धेरै दिन ऊ दु:खी भयो । तर एकदिन उसले सोच्यो, “म काठमाडौँ आउनु नै मेरा लागि अवसर हो । काम नगरी त कसलाई पो पुग्छ र ! अब म विद्यालयमा नै निकै ध्यान दिएर पढ्छु । रातीको समय अलिक बढी नै मिहिनेछ गर्छु । दिउँसोे जे जे काम गर्नु परे पनि खुसी भएर गर्छु । मेरा बाआमाको हैसियत अलिक राम्रो थियो भने यस्तो दु:ख हुने थिएन । मैले चाहिँ पढेर केही बन्नै पर्छ ।”

हरिप्रसादले राम्रो अङ्क ल्याउने अठोट गरेर पढ्न थाल्यो । मिहिनेतको फल मिठो हुन्छ भनेको साँच्चै रहेछ । उसले दिनभरि फ्याक्ट्रीमा काम गरेर राती राती निकै मिहिनेत गरेर पढ्यो । नभन्दै कक्षा ११ को पढाइमा ऊ प्रथम भयो । उसलाई अति हौसला भयो । उसले अझै मिहिनेत गर्न थाल्यो । बिस्तारै कक्षा बाह्रको पनि परीक्षा दियो ।

दुई वर्षपछि ऊ घरमा गयो । घरमा गएर बसेको तीन महिनापछि उसको कक्षा बाह्रको पनि नजिता आएको कुरा उसले रेडियोबाट सुन्यो ।

हरिप्रसादले भोलिपल्ट बिहानै उसको काठमाडौँको स्कुलमा फोन गर्यो । फोन हेडसरले उठाएका थिए । उनले भने, “बधाई छ हरिप्रसाद, तिमी नै  व्यवस्थापन सङ्कायका प्रथम विद्यार्थी भएका छौ । साह्रै राम्रो अङ्क ल्याएका छौ ।” हेडमास्टरले बधाईसहित नजिता सुनाउँदा हरिप्रसादको हर्षको सीमा रहेन । उसले घरमा सबैलाई सुनायो । सबै जना खुसी भए । हरिप्रसादलाई अझै उच्च शिक्षातिरको पढाइलाई निरन्तरता दिने इच्छा छँदै थियो ।

केही समयपछि हरिप्रसाद फेरि काठमाडौँ फर्कियो । ऊ त्यही अङ्कल आन्टीको डेरामा पुग्यो । उसले पढाइमा राम्रो गरेको हुँदा अङ्कलले पनि बधाइ दिए । उसले स्नातक तहका लागि शङ्खरदेव क्याम्पसमा भर्ना गर्यो । त्यहाँ पनि बिहानी नै पढाइ हुन्थ्यो । दिउँसो उसले पहिला जसरी नै अङ्कलको फ्याक्ट्रीमा सहयोग गर्दै प्रथम वर्षको परीक्षा दियो । दोस्रो वर्षको पढाइ सुरु भए पछि उसले कामको खोजी गर्यो । ऊ पढाइमा निकै अब्बल र बोलीचाली पनि राम्रोे भएको केटो थियो । उसले एउटा निजी बैँकमा काम पायो । हेमन्त अङकलकै घरमा बसेर उसले केही समय जागिर खायो । उसले जागिर खान थालेपछि अङ्कलको फ्याक्ट्रीमा चाहिँ काम सघाउन भ्याएन । तर उसले तलब आउन थालेपछि तरकारी र मासु आफ्नै पैसाले किनेर ल्याउँथ्यो । साँझको समय अङ्कलका छोराछोरीलाई पढाउथ्यो । शनिवारको दिन प्राय: अङ्कलको फ्याक्ट्रीमा काम गथ्र्यो । सकेसम्मको सहयोग गरिरहेकै थियो ।

हरिप्रसादले जेजस्तो सहयोग गरे पनि आन्टी त्यति खुसी देखिन्न थिइन् । सित्तैमा खान दिनु परेजस्तो गरी उनले नराम्रो व्यवहार गर्न थालेकी थिइन् । करिब तिन महिनापछि चाहिँ अङकलले नै उसलाई डेरा खोजेर छुट्टै बस्न भने । हरिप्रसादलाई त्यहाँबाट निस्किहाल्न मन थिएन । एक्लै बस्ने अनुभव पनि थिएन । तर अङ्कलले भनेपछि उसले केही दिनमै एउटा कोठा खोजिहाल्यो । कलेजकै नजिक ऊ डेरा गरी बस्न थाल्यो । बिहान कलेजमा पढ्ने दिउँसो जागिर खाने र राती निकै मिहिनेत गरेर पढ्ने उसको दैनिकी थियो । उसले घरमा बाआमा र दाइदिदीको दु:ख सम्झिएर यता मिहिनेत गथ्र्यो ।

हरिप्रसादको मिहिनेतको फल राम्रो हुँदै गयो । उसले स्नातकमा पनि कलेज टप्न सफल भयो ।

हरिप्रसादलाई पढ्ने रहर अझै पूरा भएको थिएन । उसले स्नातकोत्तर तहमा पनि भर्ना गर्यो । निजी बैङ्कमा जागिर खाँदा ऊ सन्तुष्ट थिएन । कतै सरकारी बैङ्कमा कर्मचारी माग गरिन्छ कि भनेर ऊ दिनहुँ जस्तो पत्रिकामा विज्ञापन पनि हेथ्र्यो । एकदिन उसले नेपाल राष्ट्रिय बैङ्कमा अधिकृतको आवश्यकता परेको कुरा समाचार पत्रबाट थाहा पायो । त्यसमा परीक्षा लेख्न उसले सुर कस्यो । ऊ जागिर खाँदै त्यस परीक्षाको  निकै राम्ररी तयारी गर्न थाल्यो । परीक्षा लेखेको केही महिनापछि उसको नजिता आयो । उसले शाखा अधिकृत पदमा लिखित परीक्षामा एक नम्बरमा नाम निकाल्यो । त्यसपछि अन्तर्वार्तामा पनि ऊ सफल भयो । त्यसपछि ऊ स्नातकोत्तर पढ्दै सरकारी जागिर खान थाल्यो । आजकाल त ऊ बैङ्कको प्रमुख भएर काम गरिरहेको छ ।

बाबाको कथा सुनेर छोराले भन्यो, “बाबा हजुर पनि बैङ्क प्रमुख हुनुहुन्छ । उहाँसँग तपाईँको पनि भेट हुन्छ होला है !”

छोरोको कुरा सुनेर मेरो गला अवरुद्ध भयो । फेरि छोरीले पनि उसै गरी प्रश्न सोधी, “भन्नुस् न बाबा, हजुरको त्यो अङ्कलसँग भेट हुन्छ कि हुँदैन ?”

छोराछोरीको कुराले म भावुक बनेँ । मेरा आँखामा आँसुले छपक्क छोप्यो । छोरीले भनी, “बाबा, हजुरले किन यसरी आँसु निकाल्नु भएको ? कतै त्यो अङ्कल तपाईँको साथी नै त होइन ?”

छोरीका कुरा सुनेर भनेँ, “तिमेरु दुबै जना मेरो छेउमा आओ त अनि म भन्छु ।”

दुबै जना बाबाको अगाडि उभिए र ‘ल भन्नु’ भनेर बाबाको मुखैमा उनीहरूले कान लगेर उत्तरको प्रतीक्षा गरे । दुबैलाई अङ्गालो मार्दै मैले भनेँ, “अहिले तिमेरु त्यही हरिप्रसादको काखमा बसेका छौ । त्यो हरिप्रसाद मैँ हुँ, मैँ ।”

छोराछोरीले बाबाको कुरा सुनेर हत्त न पत्त बाबालाई हेरे, बाबाका आँखामा आँसु भरिएका थिए । दुबै छोराछोरीले बाबालाई गम्लङ्ग अँगालो हाले र बाबाको आँसु पुच्छै भने, “हजुर हाम्रो महान् बाबा । हजुर हाम्रो हिरो बाबा ।”