त्यस रात एउटा मान्छे चैनका साथ सुतेको थियो । अरू दिन उसलाई निदाउन कष्टकर हुन्थ्यो । रातभर ऊ छटपटाउँथ्यो । बिहानी पखसम्म उसका आँखा खुल्लैको खुल्लै रहन्थे । ऊ मनमा नानाभाँती कुरा खेलाइरहन्थ्यो । उसले मनमा बोकेको बोझ यति गह्रुँगो थियो कि जो कसैले त्यसलाई हल्का गरिदिन सक्दैन थियो । यही बोझिलो मन लिएर ऊ प्रत्येक रात सुत्थ्यो । रात चकमन्न थियो र त्यस रातमा सियो खसेको आवाज पनि सुन्न सकिन्थ्यो ।
वर्षौं पहिले कुनै बेला ऊ आमाको काखमा निदाएको थियो । स्मृतिका पानाहरूका धुमिल अध्यायहरूमा यही यस्तो पल थियो जो ऊ चैनकासाथ स्मरण गर्न सक्थ्यो । अनि त्यसपछि आउँथे उसका सन्तानसँगका रमाइला पलहरू । तर आजकाल उसलाई आफ्नै सन्तान झर्कोलाग्दो लाग्ने गर्थे । उसका लागि ती बालसुलभ हेराइहरू याचना भरिएका नजरहरूमा परिवर्तन भइसकेका थिए । कस्ता घृणा गर्न लाग्दा केटाकेटीहरू ! तिनीहरूका आमाजस्तै ! ऊ मनमनै सोच्थ्यो।
आज ऊ मृत सपनाको सजीव पात्र भएर बाँचिरहेको छ । हिजो ऊ त्यस्तो थिएन । उसका आफ्नै आदर्शहरू थिए । सिद्धान्तहरू थिए । मूल्य थिए, मान्यताहरू थिए । बाउ-बाजेको पैतृक सम्पत्ति बेचेर पनि खाने हो ! भोकै बसिन्छ तर एक आना बेचेर पेट पालिन्नँ ! यी उसकै आदर्श भनाइहरू हुन् । ती पछिसम्मै चर्चित नै भए । उधारो जाँड खानु हुँदैन । उधारो जाँड खायो भने जँड्याहा भइन्छ । – उसकै आदर्शवादी सिद्धान्त हुन् । आजकाल पनि सिकारु जँड्याहाहरू नियमित जप्छन् । कसैलाई विश्वास गरेपछि इमानदारीपूर्वक गर्नुपर्छ । कुनै इन्तु-परन्तु भन्ने नै हुँदैन भन्ने उसकै मान्यताहरू हुन् । सामान्य असफलताले उसलाई ढलाउन सक्दैन । ऊ आफ्नै मूल्यमा अडिग थियो ।
सम्झौताको जीवनमा उसले आफ्ना सपनाहरूलाई तिलाञ्जली दिइसकेको थियो । “आज कमायो -आजै खायो र आज कमाएन- भोलि खाएन” – यही थियो उसको आर्थिक-पारिवारिक परिवेश । धमाधम पैतृक सम्पत्ति बेचबिखन र बन्धकी ! तैपनि सस्तो सामाजिक आडम्बर उसले जोगाएकै थियो । तर आवश्यकता र अभावहरूले कलिलो भित्ताहरू भत्काइहाल्यो । जोई-पोइका झगडा जब रछ्यानजस्तै आँगन र डगरहरूमा सुक्न थाल्छन् अनि कहाँ बाँकी रहँदो रैछ र सस्तो आडम्बरको टेको ? सुरुमा त ऊ लोकलाजले डरायो तर बिस्तारै बानी पर्दै गयो ।
त्यो मान्छे कहिले आफू श्रीमतीलाई कुट्छ। कहिले ऊ कुटाई खान्छ । कहिले ऊ छोराछोरीलाई कुट्छ । कहिले उसकी स्वास्नी छोराछोरी कुट्छे । आज कमाएको दिन उनीहरू जोई-पोइ टम्म मिल्छन् । आज नकमाएको दिन उनीहरू भोलिसम्म झगडा गर्छन् । यस्तै छ उनीहरूको दैनिकी ।
दिनभर ऊ भौँतारिन्छ र रातभर दिनभरिको घटना सम्झँदै निदाउन खोज्छ । प्रायः उनीहरू खाना खाने बेला पारेर लडाइँ गर्छन्। उसकी स्वास्नी खानुभन्दा धेरै ओकल्छे । र, ऊ जे पनि खान्छ । नशालु पदार्थ कुनै पनि नाइँ भन्दैन उसले आजकाल । यो नशालु पदार्थ नभएको भए ऊ उहिल्यै मरिसक्थ्यो । ऊ सोच्छ । ऊ जब्बर पनि छ । ऊ खप्न नसक्ने पीडा नभएसम्म अस्पताल पनि त जाँदैन !
आज दिउँसो पनि लेनदारहरूले उसलाई र्याखर्याख्ती पारे । ऊ लाचार भएर ‘हुन्छ, हुन्छ’ भन्न सक्ने मात्र थियो । कुनै दिन ऊ पनि लेनदार नै थियो । आज पनि ऊ ती खातापाता हुबहु सम्झन्छ । तर ऊ असुलउपर गर्न सक्दैन । आजको लाचारीले उसलाई थप पीडा त दिएको थिएन तर ऊ बिर्सिन सकिरहेको थिएन । आधा रातसम्म ऊ सोचिरहेकै थियो । यस्तै चकमन्न रातहरूमा ऊ बिना प्रसङ्ग फिस्स फिस्स हाँस्थ्यो पनि । कस्तो दुर्भाग्य ! बिहान घामभन्दा छिटो मेरा यथार्थहरू उदाउँछन् । ऊ सोच्थ्यो। अनि ! यी दुर्भाग्यहरू चाहिँ कहिल्यै अस्ताउँदैनन् ? ऊ दाँत किटकिटाउँथ्यो । प्रत्येक रात यो नै उसको दैनिकी थियो ।
त्यस रात पनि सदाझैँ ऊ पुरानो झुत्रो कम्मल तानेर कालो यथार्थमा गोता लाउँदै सुतेको थियो । उसले अन्नका एउटा अंश पनि निलेन । कोखा समाउँदै ऊ वेदनामा छटपटाइरहेको थियो । उसले आफ्नी श्रीमतीलाई पनि आफ्नो पीडा बताएन । घोप्टो पर्दै ऊ पीडालाई दबाब दिन्थ्यो । तर ती पीडाहरू यति अटल थिए कि तिनले जुनसुकै दबाब पनि झेल्न सक्थे । ती उसलाई छोडेर जान तयार थिएनन् । ऊ अझ दबाब बढाउँथ्यो । ऊ कुक्रुक्क पर्थ्यो । पीडाहरू त्यसै गरी डल्ला पर्थे र आतङ्क सिर्जना गर्थे ।
मध्यरात केही ढल्केपछि पीडाहरू आफ्सेआफ शान्त भए । त्यो मान्छेले बल्ल चैनको सास फेर्यो ।
झिसमिसेमा काखकी छोरी रुन थाली । खस्र्याइ-खस्र्याक कुचोको आवाजसँगै भाँडाकुँडाहरू बज्न थाले । पानी भर्नेहरूको इनारमा चहलपहल देखियो । ग्रामीण मन्दिरका साना घण्टीहरू बज्न थाले । कल्याङमल्याङ मान्छेका हिँडाइहरू डगरहरूमा देखिन थाल्यो । टिरिङटिरिङ साइकलको घण्टी बजाउँदै दूधवालाहरू घरघर आउन थाले । बिहानीको प्राकृतिक कोलाहल त सदाझैँ छँदै छ । तर त्यो आवाजले पनि उसको निद्रा बिथोलेन । काखकी छोरीको रोनाधोनालाई पनि उसले पर्बाह गरेन ।
मेरो पनि नित्य कर्म छ उसको जस्तै । आज म उठिसकेँ । तर ऊ उठेको छैन । गर्मी महिनाका मेरा दिनहरू निकै नै लामा हुन्छन् । एकदम पट्यारलाग्दो । म हतारिएर उठ्छु र दिनभर हाई काढ्दै बस्छु । हिजो राति हामी दुवै जना ढिलो नै सुतेका हौँ । उज्यालो हुँदासम्म आज त्यो मान्छे उठेको छैन ।
मधेसमा चैत-वैशाखका बिहानीपखको आनन्द नै बेग्लै छ । दिउँसो बिस्तारै गर्मी चढ्ने भएकाले शीतल बिहानीको महत्त्व बेग्लै हुनु स्वभाविक पनि हो । वसन्त ऋतु अनि सर्र… हावा लाग्ने मौसम । त्यो बिहानीमा को उठ्दैन ? सारा कौवादेखि कुकुरसम्म त्यसबेला तरोताजा हुन्छन् । पानी भर्न गएकाहरू पानी भरेर फर्किँदै छन् । मौसमी तरकारी बारी भएकाहरू खेतमा घटट… पानीको मोटर लगाउँदै छन् । बाँस र नीमका डाँठ निमोठेर रोजै दाँत माझ्ने आदत् भएकाहरू दाँत घोट्दै छन् । खुट्टा तन्काउने र गाउँ डुल्ने बहानामा दूधको चिया ढुक्नेहरू मिजासिलो भएर गफिइरहेकै छन् । बासी रोटीमा चिनी हालेर या नुन खोर्सानी पिसेर चवाउनेहरू पनि चवाइरहेकै छन् । यस्तै परिदृश्य छ मेरा अगाडि । यस्तै दृश्यहरू छन् बिहानीपख उठेर आङ तान्दै चारैतिर दुईवटा गेडा आँखाले धितमरून्जेल हेर्न सक्नेका लागि त्यहाँ । घरायसी कल्याङमल्याङ र सामाजिक गन्थनमन्थन प्रशस्त छन् । त्योभन्दा बाहेक अरू केही अस्तित्वमा छैन त्यहाँ । कमसे कम त्यो भ्याई नभ्याई गरिरहेका मानिसहरूका दैनिकीमा अरू थप दृष्टिगोचर छैन त्यहाँ । त्यो एउटा क्षणिक पल मात्र हो, मेरा लागि ।
त्यस घरकी स्वास्नी एउटी आमा छे अनि उसकी दूधे बालक छोरी छे काखमा । अरू केटाकेटीहरू के खाऊँ र के खेलौँ गर्दै आँगन र डगरहरूमा भौँतारिँदै छन् । उसको लोग्ने मैलो ओछ्यानमा मुढोजस्तो लडेको छ । घाम झुल्किनासाथ उसकी स्वास्नीले सारा रामायण र महाभारत वाचन गरेर सिद्ध्याइसकी तर उसको लोग्नेले अहिलेसम्म एउटा मन्त्र पनि उच्चारण गरेको छैन । लोग्ने बेतमासले पसारिएको देखेर उसलाई लागेको छ, गएर एक बाल्टी पानी खनाई दिऊँ । या तातो अगुल्टो झोसिदिऊँ । या सिर्कनोले सुम्ला उठ्ने गरी हानौँ । तर ऊ आँगनमा बसेर फतफताएकी मात्र छे । हिजोभन्दा ऊ आज कम सरापी राखेकी छे । थाहा छैन, किन हो ? म उसलाई उठाउन प्रयासरत छु । तर ऊ बेप्रवाह सुतेको छ । बालबच्चाहरूलाई उसकी स्वास्नीले कचौरामा दूध तुर्काइ दिई। अनि ताप्केमा चिया बसाली । लोग्नेलाई गालीगलौज गर्दै आवाज दिई । तर लोग्ने स्वाङ पारेर सुतेकै छ।
“पसारी राख मुर्दा ।” – उसकी स्वास्नी फेरि फतफताउँछे ।
अघिल्लो रात साह्रै आनन्दको रात रह्यो । ती रातमा पछिल्लो समयकै सबैभन्दा कम कोल्टे फेरियो । एकोहोरो खोकीले सधैँ जस्तो आज सताएन । अरू बेला त्यही खोकीको आवाजले उसकी सानी छोरी रातभरि रुने/कराउने गर्थी । आज काखकी छोरीले पनि गुनासो गरिन । हिजो साँझबाट सुरु भएको खप्न नसकिने पीडाहरू त थिए नै, तर ती एकैछिनमा शान्त भए । मान्छेको शरीर पनि कस्तो अचम्मकै छ । ओल्टो-कोल्टो धेरै बेर फर्किराख्नु परेन। मुटुको ढुकढुकी रातभर नै ढ्वाङ ढ्वाङ गरेर बजिराखेन। त्यस दिन बिहान ऊ निकै नै शान्त देखियो। कचमच कचमच सपनाहरू फेरिएनन्। आँखाहरू बेचैनीमा पल्याकपुलुक भएनन् । मुखबाट चुहिएका र्यालहरूले सिरानी छपक्कै थिए तर तिनले उसको गालामा सिकसिकाएनन्। पाइतालाहरू रातभर चिसै थिए तर तिनले निन्द्रामा कुनै बिघ्न ल्याएनन् । मानौँ ती खोक्दा खोक्दा थाकिसकेका थिए। तिनीहरू पनि चैनमा थिए।
म नित्यजसो ऊ उठेको र आफ्नो बिस्तरा मिलाएको हेर्न आतुर छु । प्रायः ऊ आफ्नो ओछ्यान मिलाउँछ । यो नियमितजस्तै छ । कहिलेकाहीँ म उसलाई झकझकाउँछु । मैले उसलाई आफ्नो जीवनकालमा यति बेमतलबी र बेप्रवाह कहिले देखेको थिइनँ । यति दृढ र हठी ऊ कहिले थिएन । आज ऊ मृतसपनाको सजीव पात्र जस्तो छैन । ऊ युद्धमा विजयी भएको अजयजस्तो देखिन्छ । उसको मुस्कान गालाभन्दा च्यातिएर कानसम्मै छ । उसको कान्ति अनुहारमा मात्र छैन । तालु र टुप्पीसम्मै छ । उसका अरू बेलाको जिङ्ग्रिङ्ग कपाल रेसमका धागाहरू जस्ता छन्।उसका सेता दाँतले ओठ टोकेका छन्। जसरी हिमालले पृथ्वीको गर्भ टेकेको छ ।
घाम रन्केर आउँदै छ । फत्फताउँदै भए पनि स्वास्नी कालो चिया लिएर उसको काननजिकै गएर कराउँछे । उसले सुनेन क्यारे । उसकी आइमाईले नानाभाँती फलाकी अनि लागि आफ्नै गुह्य धन्दामा । केटाकेटीहरूले आफ्ना बाउ नउठेकोमा उति सारो मतलब गरेनन् । उनीहरूका लागि यो नौलो त थियो तर खेल्नमा उनीहरू यति धेरै भुलेँ कि उनीहरूका लागि ऊ प्राथमिकतामा परेन । काखकी सानी छोरी उसैगरी कोक्रामा हल्लिरहेकी छे। उसलाई झन् के प्रवाह छ र ?
उसकी स्वास्नी उसैगरी फेरि फर्केर आई । कालो चिया सेलाइसकेको छ । ऊ अझै उठेको छैन । स्वास्नी आफ्नै सुरमा पड्किन थाली । भुईँमा छरिएका कपडाहरू समेटी । सात पुस्ता लाएर सराप्न थाली । उसले नसुनेको नसुनै गर्यो । गम्लग्ग ओढेको झुत्रो कम्बलले केवल आधा शरीर ढाक्दा पनि उसकी स्वास्नीले उसको अजयी उन्माद थाहा पाइन् । हिजो सुतेको श्रीमान् उसका लागि आज पनि श्रीमान् नै हो । यो हक उसले जताउन छोडेकी छैन । कान फुट्ने गरी कराउँदा पनि उसको लोग्ने भनौँदो उठ्दैन । त्यो छोटो समयमा पनि उसले आफ्नो दुर्भाग्य सम्झी । आफ्नो माइतीको कुरा नसुनेर नामर्दको पछि लागेर आएकोमा आफ्नो भाग्यलाई धिक्कारी । अरू बेला शब्द शब्दमा मुड्की उजाउने उसको लोग्ने आज भयानक से भयानक शब्द पनि पचाउने भएको छ ।
घाँटी सुकुन्जेल दुत्कारेपछि पनि लोग्नेले कुनै प्रतिक्रिया नजनाएको देखेर उसले एकपटक फेरि लोग्नेको कान फुट्ने गरी चिच्याई । अति भएपछि आएर उसलाई घचेँडी । ऊ बोलेन । फेरि घचेँडी । ऊ फेरि पनि बोलेन । स्वास्नीले ओढिरहेको पातलो मैलो कम्बल फ्याँकी । ऊ इन्तु न चिन्तु भएर सुतेकै थियो । ऊ कक्रक्क एकै डल्लो परेर एउटा चीरनिन्द्रामा सुतेको थियो ।
त्यो चैनको रातमा सुतेको ऊ भोलिपल्ट बिहान उठेन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।