‘रूपक ! रूपक उठ् त नानी । दिन भइसक्यो । के भएको छ कोनि आजकल यसलाई । कुम्भकर्ण जस्तो दिनभरि सुत्छ । उठ है ! भात सेलाएर हिउँ भइसक्यो ।’
कोरोना महामारीका कारण एक महिनाका लागि राष्ट्रव्यापी लकडाउन घोषित भएपछि सुनिताको व्यस्तता झन् बढेको छ ।
दैनिक कामकाज बाहेक एक वर्षअघि ब्याङ्कको नोकरीबाट सेवानिवृत्त भएका लोग्ने हरिश, कलेज पढ्ने छोरो रूपक र स्कुल जाने छोरी लीनाका भिन्दाभिन्दै मागहरू पुरा गर्नुपरेको छ उनले ।
‘रेडियो’ सुनिताको सर्वप्रिय साथी ।
रेडियो सुन्दै भान्साको काम गर्दा उनले यसबाट मनोरञ्जन सँगसँगै विविध जानकारी र विश्वभरिकै घटनाहरूबारे अपडेट हुन पाउँछिन् ।
‘सिलगढीबाट आवश्यक सामग्रीहरू लिएर सिक्किम आइरहेको मालवाहक ट्रकमा धेरै मात्रामा नशालु पदार्थ भेट्टाइयो । चालक र परिचालक गिरफ्तार ।’
विशेष समाचार बुलेटिनका प्रमुख समाचारहरूमध्ये यो अन्तिम खबर कानमा परेपछि सुनिता केही गम्भीर भइन् ।
‘कति पापीहरू ! यसमा कति जनाको साँठगाँठ थियो होला । यस्तो विकट स्थितिमा पनि पैसा कमाउने र अरूलाई बिगार्ने ध्येय ।’ मनमनै सोचिन् ।
‘भात पाकेन ?’
एकोहोरिएर के के सोचिरहेकी सुनिता, हरिशको यस्तो प्रश्नले झस्किन् ।
‘भइहाल्यो अब ठिक पार्छु । आइहाल्नु है । रूपक र लीनालाई पनि बोलाइदिनू नि ।’
डाइनिङ टेबलमा खानेकुरा ठिक्क पारेर राखिसकेपछि तीनै जना आए । हजुर आमालाई लीनाले कोठामै खाना लगिदिई ।
‘मासुबिना त भातै रुच्दैन हौ, कति सब्जीसित मात्रै खानु ।’
‘अँ हौ घाँसपात खाँदा खाँदा वाक्क भइसक्यो । मराउ परेका घरमा जस्तो ।’
बाबु र छोराछोरीको गन्थन सुन्दै सुनिताले आफ्ना लागि पनि भात पस्किएर टेबलमा ल्याइन् ।
‘आमा आजको खाजा के हो ? स्पेसल हुन्छ होला नि, रोटी त म खान्न है ।’
लीनाको प्रश्नको उत्तरै दिन नपाई रूपकले भनिहाल्यो…‘म पनि खान्न । रमेशसित माछा मार्न रानीखोला जाने प्लान छ ।’
‘भरे हेर्छु । समय पाएँ भने बन्दाकोपीको मोमो बनाइदिन्छु नि ।’
‘सब्जीको मोमो ! हुन्छ हुन्छ ।’
‘बिहानको भान्सा सकिएको छैन, खाजाको सुर्ता । सिन्को भाँच्ने जाँगर भने कसैको होस् न फेरि ।’
दबेको स्वरमा सुनिताको मुखबाट गुनासो निस्कियो ।
कसैले सुनेन ! सुन्ने गरी वा सुनुन् भनेर पनि सुनिताले भनेकी थिइनन् ।
धन्दा गर्न थालेकी मात्रै थिइन् चार्जमा राखेको सुनिताको मोबाइल बज्यो ।
‘आमा ! तपाईंको फोन आयो ।’
‘छोरी ! ल्याइदेऊ न, अफिसबाट कृष्ण सरको होला ।’
‘आफ्नो फोन आफैसँग राख्नुपर्छ नि ।’
रिसले फन्किँदै गएर लीनाले फोन ल्याइदिई । कृष्ण सरकै रहेछ । सुनिता अफिस जानुपर्ने भयो ।
अफिसको काम त छिटै सकियो । तर बडाबाबु पासाङ शेर्पा भाइ र एमटिएस सुरेशसित एकछिन गफ गर्न मज्जा लाग्यो उनलाई ।
विषय उही ‘कोरोना’ ।
गान्तोक न हो, पानी छिट्याउन थालिहालेछ । अलिअलि जाडो पनि ।
सुनिता घरतिर लागिन् । सिउसिउ गर्दै लाचुङपा आग्याको छ तले भवनको तेस्रो तलामा अवस्थित आफ्नो घर भनिएको ठाउँमा पुगिन् । टिभी हेर्दै गरेका हरिशले ढोका खोलिदिए ।
‘बल्ल आइपुग्यौ हौ । मिठो चिया खाऔँ ल । आमाको पनि मुख सुकिसक्यो होला ।’
थाकेकी पत्नीको अनुहार नहेरी हरिशले चिया पकाउने आदेश छाँटिहाले ।
‘आमा मलाई पनि कफी है ।’
छोरीले पनि हुकुम गरी ।
‘आफूहरू दिनभरि घर बस्ने । मुख भिजाउन चैँ मेरो बाटो हेर्ने ?’
सुनिताले सम्झिइन् मात्र, मुख खोलिनन् ।
माइतबाट पाएको संस्कार लत्त्याउन पनि सकिनन् । एक किसिमले सम्झौता नै भन्दा पनि भयो ।
आफ्नो कर्तव्य पुरा गरेर दिनले रातलाई अँगाल्ने क्रममा साँझको पालो आएको थियो । तर रूपक घर आइपुगेको थिएन ।
‘हन यो केटो कहाँ गयो हँ ? माछा त दिनमा पो मार्नुपर्छ ।’
‘रमेशसित गएको थियो, आउँदै होला नि । फोन गरेको पनि आउट् अव् रिच देखाउँदैछ ।’
हरिशले सान्त्वना दिए ।
रातको दस बजी दैलोको घण्टी बज्यो, सुनिताले तुरुन्तै दैलो खोलिन् ।
‘आमा आज भात खान्न है । रमेशकै घरमा खाएँ ।’
ऊ हान्निएर कोठाभित्र पसिहाल्यो । सुनिताका वाक्यहरू भान्सा कोठाभित्रै रुमल्लिएर त्यतै हरायो ।
राति राति सधैँ अलिकति चिरिप लगाउने हरिश घुर्न थालिसकेका थिए । रूपकका बारेमा लागेको शङ्का व्यक्त गर्नै पाइनन् सुनिताले ।
शान्त, सुन्दर, हिमाली राज्य सिक्किमको राजधानी सहर गान्तोक छेउमा रहेको आरिथाङ गाउँमा बस्छन् उनीहरू । वरिपरि भवनहरूको खचाखच भए पनि भाडाको घरलाई चिटिक्क राख्ने बानी छ सुनिताको ।
पच्चिस वर्षअघि दार्जिलिङबाट आएर ब्याङ्कमा सेवारत हरिश र महालेखाकार कार्यालयकी साधारण कर्मचारी सुनिता दुवैलाई यही घर-गृहस्थी चलाएर बिताएका पच्चिस वसन्त औधी नै प्यारो लाग्छ ।
घरको सानो बरन्डामा रङ्गीबिरङ्गी आकर्षक फूलहरू फुलेका छन् । आकाश खुल्ला हुँदा बिहान पारी सेतो हिउँले सिँगारिएको कञ्चनजङ्घा मुसुक्क हाँसेको देखिन्छ । रक्षकदेव मानिने विश्वकै तेस्रो सर्वोच्च शिखरमा सूर्यको सुनौलो किरण छरिँदै जाँदा स्वर्णमय प्राकृतिक परिदृश्यले अलौकिक आनन्दानुभूति हुन्छ सुनितालाई । पवित्र हिमशिखरको दर्शन गरेपछि दस पन्ध्र मिनट भए पनि फुलहरूलाई सुमसुम्याएर दिनचर्यामा व्यस्त हुन्छिन् उनी ।
‘खर्याक खर्याक…खरक… ।’
कलमा पानी आएछ । सङ्केत पाउने बित्तिकै खाने पानी थापेर चिया बसाइन् ।
हरिश रमिता हेर्दै चिया पिउन थाले ।
सधैँझैँ सुनिता पनि आफ्नो चिया लिएर त्यतै गइन् ।’
‘रूपकका व्यवहार हिजोआज निकै बद्लिएको छ, याद गर्नुभएको छ तपाईँले ? हाम्रो सामु पर्दैन, त्यत्ति गफ पनि गर्दैन, साथीहरूसँग बरालिन्छ, कताको सामाजिक दुरी ?’
‘अँ म पनि देख्दै छु । एकजना कालो चस्मा लगाउने अलिक ठुलै केटाले सरकारी गाडीमा आएर हर्न बजाएपछि ऊ हतार हतार बाहिर निस्किन्छ ।’
‘अन्त बेला बेला यहाँ पनि आउँछ त त्यो, तल छगन भैय्याको छोरो श्यामसित ।’
‘घरमै अलिक अलमल्याएर, राख्नुपर्छ । यसलाई मन पर्ने मिठा मिठा खाना खुवाएर यतै भुल्याउनुपर्छ । यसरी केटाहरूसँग बाहिर जान दिनुहुँदैन हौ ।’-सुनिता बोल्दा बोल्दै बाबु नै भएर भने हरिशले ।
कुकरको सिटीले प्रसङ्ग टुङ्ग्याउने सङ्केत दियो । तर रूपकका व्यवहारमा आएको परिवर्तन दुवैका लागि ठुलो चिन्ताको विषय थियो ।
‘आमा भात खाने बेला भयो ?’
घाम छिप्पिएपछि मात्र उठ्ने रूपक त्यस दिन छिटै उठेछ । अनुहार उज्यालो पनि थियो ।
उमेरले खुम्चिँदै गरेको हरिश र सुनिताको गाला तनक्क तन्किए ।
दुवै ढुक्क भए ।
‘अरे आज घाम पश्चिमबाट झुल्किएछ है ।’
लीना पनि छक्क परी ।
‘आजको खाजा न्युट्रिला र पनिरको मोमो है ।’
सुनिताले खाजाको पूर्व घोषणा गरी मात्र सकेकी थिइन्, हरिशले लीनालाई मैदा बेल्नु सघाउने आदेश दिइहाले ।
‘आमा ! बजारबाट सौदा ल्याउनुछ ? मेरो प्रोजेक्टको एक दुईवटा सामान किन्नु छ, म जान्छु ।’
‘छ त । बाबा र हजुरआमाको दवाई पनि ल्याउनु छ । जाँगर चल्यो भने लालबजार पनि जाऊ, सब्जी लिन ।’
अरू बेला लालबजारको नाम सुन्नै नमान्ने रूपकले आज नाइँनास्ती नगरी मान्यो ।
मौका पारेर हरिशले अनलाइन क्लासको होमवर्क गर्नमा बहिनीलाई सघाउनु पनि भने ।
उसले टाउको हल्लायो ।
आइतबार हुनाले अफिस छुट्टी थियो ।
दिउँसो समाचार पत्र पढ्ने र फेसबुक हेरेर अनलाइन काव्यगोष्ठी र विभिन्न प्रतियोगिताहरूको आनन्द लिने समय पाइन् सुनिताले । एक दुईवटा फेसबुकका कविता र खबर पढिसकेको मात्रै थिइन्-हरिशको चियाको तलतल मेटाउनु पर्ने भयो ।
‘चियाको टाइम भएन ? एक बजिसकेछ ।’
हेर्दै गरेको फेसबुक बन्द गरी ‘ल्याउँदै छु’ भनेर सुनिता किचनतिर गइन् ।
चियाको झन्झट सकिए पनि मोमोको झन्झटले पर्खिरहेको थियो ।
अभ्यस्त र निपुण सुनिताले सबैका लागि मोमो बनाइन् ।
लीना घरमै आइसकेकी थिई । बजारबाट रूपक पनि आइसकेको थियो ।
सबैले तात्तातै मोमो खाए ।
उब्रिएको पैसाबाट रूपकले कलेजको सिनियर विवेकबाट सापटी लिएको पैसा तिर्छु भनेर रूपकले पाँच सय रुपियाँ माग्यो ।
अब उसो अरूबाट बाँकी नलिने वाचा गराएर गाली र मायासँगै सुनिताले रूपकले भने जति नै दिइन् ।
‘एकछिन दीपकको घरमा पुगेर आउँछु ल । पटनामा बस्ने उसको बडा खसेछन् नि, एक्सिडेन्टभएर ।’- भएकै जस्तो तर कसैले नसुनेको कुरा गरेर रूपकले अनुमतिको औपचारिकता देखायो ।
‘जानु त जानु तर छिटै घर आइहाल्नु नि ।’ सुनिताले उसलाई रोकिनन् ।
समयको गतिलाई कसले रोक्ने? भोलिपल्ट नयाँ दिन जन्मियो कसैका घरमा हाँसो खुसी र कसैकामा दुख पीडा लिएर… ।’ तरै पनि दिन नयाँ थियो ।
‘स्ट्रोक भएर रमेशका काकाको अचानक देहान्त भएछ, म सिङ्गताम जान्छु ल’- भन्यो रूपकले ।
साथीकै काका भएकाले रूपकलाई नजा भनेनन् कसैले पनि ।
खाना खाईवरी एक हजार रुपियाँ र ब्याग प्याक भिरेर ऊ घरबाट निस्कियो ।
कालो चस्मा लगाउने त्यही केटो विवेकको रहेछ गाडी ।
***
साँझ परेपछि सब्जी काट्ने, अचार बनाउने, …मसला पिस्ने…यस्तै के के गर्दा गर्दै ठुलो रात पर्यो ।
‘समाचारको समय पनि कति छिटो भएको हौ ।’
रेडियो खोलिन् सुनिताले ।
प्रमुख समाचार थिए…
केन्द्र सरकारले गऱ्यो तेस्रो चरणको लकडाउनको घोषणा ।
रम्फू नजिकै टिस्टा नदीमा डुबेर चार जना युवकहरू बेपत्ता ।
सिक्किम र बङ्गालको सीमा बन्द भएको हुनाले नदीमा पौडिएर नशालु पदार्थ ओसारपसार गर्न सक्रिय ठुलो तस्कर समूह घटनामा संलग्न रहेको आशङ्का, यसमा निर्दोषहरू फसेको रिपोर्ट ।
धैर्यसँग दस मिनटसम्मै समाचार सुने उनीहरूले ।
छगन भैय्याले त्यतिखेर मात्र रूपकहरू त्यस दिन फर्किन नपाउने सूचना दिए । रूपकले दिउँसो मेसेज पनि पठाएको रहेछ ।
मङ्गलवार दुई तीन घण्टाका लागि अफिस गइन् सुनिता । फर्कँदा, बाटामा च्याउ बेच्न राखिएको देखेर किनिहालिन् चार प्याकेट । रूपक र लीनालाई मन पर्ने ।
बेलुकीको खाना रूपकलाई पर्खिएर नै खाने सल्लाह भयो ।
लीना पढ्दै थिई । धेरै मेहनत गर्दिन तर पढ्नमा राम्रो छे ऊ ।
रूपकको पनि दसौँ र बाह्रौँ श्रेणीको बोर्ड परीक्षाको परिणाम सन्तोषजनक नै थियो । विज्ञान विषय लिएर पढ्दै छ ऊ ।
विश्वविद्यालयको प्राध्यापक हुन्छु भन्छ तर त्यो हुन सक्नु नसक्नु बेग्लै कुरो हो ।
रूपकको एकै दिनको अनुपस्थितिमा पनि घरमा शून्यता छरिएको थियो । नानीहरूको अनुपस्थितिमा साँझको वातावरण त झन् उराठलाग्दो । अझै बिजुली पनि जाँदा त…कहालीलाग्दो हुन्छ ।
हरिशको मोबाइल बज्यो ।
‘पक्कै रूपकको हुनुपर्छ ।’
उताको स्वरै नसुनी सम्बोधन गरिहाले ‘अँ रूपक…हल्लो…’
‘हल्लो ! हरिशज्यू बोल्नुभएको ?’
‘हरिश कुमार कार्कीज्यू होइन ?’
‘हो बोल्दैछु, के थियो होला ?’
‘रूपक कार्की तपाईँको छोरो हो ?’
‘हो त’,
मोबाइलको स्पिकर अन् थियो । सुनिता दौडिँदै आइन् ।
‘म, रम्फू थानाबाट बोलेको । एउटा खबर थियो रम्फू नदी दुर्घटनाको । …तपाईँ थानामा आउनुपर्छ ।’
हरिशले रहल कुरा सुन्न सकेनन्…
सुनिताको होस उड्यो । लल्याकलुलुक भइन् । अर्धचेतमै टेबलमाथि राखिएको जगको पानी टाउकामा खनियो ख ल ल ल… ।
कोभिडले प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित लाखौँ मानिसहरूको दुख-कष्ट, पिर-व्यथा साम्य होस् भन्ने कामना लिएर सधैँ ईश्वरसित प्रार्थना गर्ने सुनिताको स्वच्छ र कोमल हृदयमा कोरोनाको घात कहिल्यै निको नहुने गाढे घाउ भएर ट्याप्प टाँसियो ।
***
पल्लो घरमा आकाशवाणी गान्तोक रेडियो बोल्दै थियो…
‘हिजो, पूर्व सिक्किमको रम्फू नजिकै टिस्टा नदीमा डुबेर मर्ने चार जना युवकहरूको शव भेट्टाइयो… ।
‘यस घटनाबाट नशालु पदार्थसँगै मानव तस्करी गर्ने ठूलो समूहको भन्डाफोर गर्नमा सहयोग हुने पुलिसको दाबी’… ।
गान्तोक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।