कथाकारः बिबेक निशानी

बिनिशा अहिले कक्षा १२ मा पढ्छिन् । उनी साह्रै मिहेनती र सहयोगी छिन् । उनी ठूलालाई आदर र सानालाई माया गर्छिन् । एकदिन कक्षामा शिक्षकले ‘आफ्नो जीवनको बिर्सन नसक्ने घटना’ सुनाउने कुरा भयो । एकएक गर्दै सबैले भन्दै गए । बिनिशाको पालो आयो अगाडि गएर भन्न थालिन, ‘सबैको जीवनमा केही न केही त घटना हुन्छ नै तर मेरो घटना म बिर्सन खोज्दा पनि बिर्सन सक्दिनँ । त्यतिबेला म गाउँको विद्यालयमा कक्षा ८ मा पढ्थँे । कक्षाका सबै साथी साथी सबै रमाइला थिए कसैसँग झगडा नगर्ने, सबै साथी मिलेर बस्ने, एकअर्कालाई दुःख परेका बेला सहयोग गर्ने हाम्रो बानी थियो । म कक्षाको प्रथम छात्रा थिएँ । कक्षा ८ को अन्तिम परीक्षा जिल्ला स्तरीय भएकाले अझ धेरै मिहेनत गर्नुपर्ने भएको थियो । बाबा ममिको एक्लि छोरी मैले परिवारको इज्जत राख्नु थियो ।
परीक्षा पनि आयो । मेरो तयारी भइसकेको थियो । परीक्षा पनि एकदम राम्रो भयो । छुट्टीमा घुम्न गएँ । चैतमा परिक्षाफल आयो । म ढुक्क थिएँ राम्रो हुन्छ भन्ने, किनकि आफुले जस्तो रोप्यो त्यस्तै फल्ने हो । मैले पनि राम्रा अक्षर अनि पूर्णरुपमा उत्तर दिएकी थिएँ । म हतार गर्दै परिक्षाफल हेर्न विद्यालय पुगेकी थिएँ ।

 

सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ ।

स्कुलमा सबै शान्त थिए । प्रिन्सिपलको कोठामा गएँ । सर चुप लागेर हातमा एउटा पेपर लिएर बस्नु भएको थियो । पक्कै त्यो रिजल्ट हुनुपर्छ भन्ने मनमा लाग्यो तर सर किन मौन ? मलाई डर लाग्यो के भएछ त ? मैले सरलाई सोधँे ‘सर’ मेरो रिजल्ट ? सरले आँखाभरि आसुँ पार्दै मलाई रिजल्ट थमाउनु भयो । सबै विषयमा ८५ कटेको थियो तर गणितमा ९ मात्र आएको देखेर म छक्क परेँ । म छाँगाबाट खसेको जस्तै भएँ । अरु केही सोच्न सकिनँ । मेरो जिन्दगी अब सकिए झैँ लाग्यो ।

देखिएको ठूल–ठूला सपनाहरू एकै पल्टमा बिलाए झैँ आभास भयो । अरू शिक्षकहरू रिचेक गराऊ ‘हुनै नसक्ने रिजल्ट आयो’ भन्नु हुँदै थियो । कोही मलाई सम्झाउन आउनु हुँदै थियो तर मलाई केहीको वास्ता भएन । म जिन्दगीबाट नै फेल भएँ जस्तो लाग्यो । संसार अन्धकार देख्न थालेँ । अब बाबा ममिको मुख कसरी देखाउनू ? झन् गाउँमा कसैले सोधे भने के भन्नू ? भन्ने कुरा मनमा आयो ।

कतै पनि नहेरी, केहीको वास्ता पनि नगरी कुदेर घर आएँ । घरमा कोही हुनुहुन्न थियो । बाबा, ममि खेतबाट आउने बेला भएको थिएन । घरमा म एक्लै, मनमा डर झन् झन बढ्दै थियो । मैले केही सोच्न सकिनँ । अब मेरो जिन्दगी सक्किए झैँ लाग्न थाल्यो बारबार । अब यो संसारबाट बिदा लिन बाहेक केही छैन भन्ने लाग्यो । मेरो यो संसारमा बसेर अब केही काम छैन जस्तो लाग्यो । अघिल्लो दिन बाबाले गाईलाई बाँध्नको लागि भनेर ल्याउनुभएको डोरी अलिपर थियो । डोरी लिएर आएँ र फेनमुनि बाँधेँ । आँखाबाट आँसु झर्दै थिए । हातले डोरी गाँठो पार्दै थिए । अब डोरी घाँटीमा लगााएर सुर्कने बनाएँ । कुर्सी लडाउन बाँकी थियो । आँखा बन्द गरेँ, तर ढोका खुल्ला थियो, बुबा आइपुग्नु भयो ।

यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो ।

 

कुदेर भित्र पस्नु भयो र डोरीबाट मलाई ओराल्नु भयो । म रुँदै थिए । बाबा पनि रुन थाल्नु भयो । आमा आइपुग्ुभएको थिएन । बुबाले मलाई खाटमा बसाउनु भयो । पानी पिउन दिनुभयो । एकछिन दुवै मौन भयौँ अनि बाबा बोल्नु भयो – ‘छोरी, किन यस्तो गर्न खोज्यौ ? तँ त हाम्रो घरकि एक्ली छोरी, तैँले नै यस्तो गरिस् भने हामी कसको मुख हेरेर बाँच्नु भन त ? यस्तो गर्नु हुँदैन भन्ने थाहा छैन ? आत्महत्या कुनैपनि कुनैपनि समस्याको समाधान होइन । तँलाई म के भनौँ म ? तँ आफ्नो आँखा बन्द गर अनि आफ्नो स्मरणशक्ति लगाएर आफ्नो घरमा आफू मरिरहेको सम्झी । सेतो कपडा ओडेर जमिनमा लडेको आफ्नो लासको छेउमा बेहोस भएको तेरो बाबा, चिच्याउँदै कराउँदै राइरहेकी तेरी आमा, यदी नजर आयो भने उनीहरूको मतलब हाम्रो ओठको मुस्कान नखोसी, हाँसिरहेको हेर्न चहाने बहाना बना । तेरो जीवन आफ्नो लागि होइन्, तँ अरूको लागि बाँचेको छु भन्ने बहाना बनाएर बाँच । जिउनुको बहाना धेरै छन् । केही बहाना सोच्न यदि सकिएन भने, सरको कुटाइ खाइन्छ कि भनेर बाँच्न जुन बहाना बनाउने गर्थिस् नि ? हो यस्तै बहाना बनाउनू तर कहिल्यै नमर्नू । तेरो आत्महत्याले यहाँ केही नयाँ रङ्ग ल्याउने छैन । केही दिन पछि भुल्छन् सबैले यहाँ ।’

फेरि अर्को कुरा, सरले मलाई तँ रुँदै घर गएकि छ भनेर भन्नु भएको थियो त्यसैले आएको थिए । रिजल्ट परिवर्तन भएर आएछ ९ होइन् ९५ चाहिँ आएको रहेछ । अब ढुक्क भएर पढ्न थाल्नू ।

यति भनि सक्दा मेरो होस खुल्यो । अब सबैलाई सम्झन थालेँ । अनायसै फेरि रुन थालेछु । बाबाबाट मैले धेरै कुरा सिकेँ । मुख्य कुरा त हिम्मत नहार्नु रहेछ । त्यतिबेला मलाई बाबाले नसम्झाउनु भएको भए आज म यहाँ हुन्न थिएँ होला । त्यसैले, आफ्नो अभिभावकको कुरा सुन्नु अनि आफूलाई शान्त पार्न एकदम जरुरी छ । यति भन्दा घण्टी बजिसकेको थियो । कक्षामा ताली र बिनिशाको ओठमा मुस्कान फैलियो ।