सहरको मध्यमागमा अग्ला भवनहरूका बिचमा, पिच सडकमा छु । सडक आफैँ नदीझैँ बगिरहेका छन् । बग्दो सडकमाथि गाडी कुदिरहेका । अहो, बग्दै गरेको सडकमा टेक्छुु । सडक मेरा लागि रोकिँदैन । ऊ बिजुली सिँढी जस्तो निरन्तर बगिरहन्छ । फुत्त उफ्रन्छु । सडकले मलाई लिएर अनजान यात्रातिर जान्छ । म पुरानै स्थानमा फर्कन चाहन्छुु, तर बगेको सडकलाई रोक्न सक्तिनँ । आत्तिन्छु ।
अचानक भीडले मलाई पक्रिन्छ । म उम्कन जोडबल गर्छु । गोडा कसो कसो सिधा टेकिँदैनन् । उभिन नसकेर भर्लङ्ग लड्छु । दुई हात टेकी उठ्ने प्रयास गर्छु तर टेकिँदैनन् । सडक निरन्तर बगिरहन्छ र मेरो गन्तव्यभन्दा टाढा टाढा कतै गएजस्तो लाग्छ । यसैबिच ध्यानमा कम्मर दुखिरहेको महसुस हुन्छ । तल्लो पेट पनि दुखिरहेको छ । सडक अचानक हराउँछ । आँखा देख्न छाड्छु । कान सुन्न छाड्छु । ‘बाबा बाबा’ चिच्याउन खोज्छु, आवाजहीन बनिदिन्छ ।
अचानक आँखा खुल्छ । मोबाइलको घन्टीले निद्रा खुलेको रहेछ । अहो, कस्तो सपना देखिएछ ! बिस्तारै मोबाइल तान्छु र स्क्रिन हेर्छु । आमाको कल रहेछ । ‘ढोग गरेँ आमा । म त भर्खरै उठेको । सपना पो देख्दै रहेछु । अहो, कस्तो डरलाग्दो थियो सपना !’
“सपनाले मानिसको भविष्यको सङ्केत गर्छ ।” आमा भन्ने गर्नुहुन्थ्यो । म आमाको विश्वासलाई अस्वीकार गरिरहन्थेँ । तर आज सपनाको कुरा गर्दा उहाँले भन्नुुभयो, “राति खाना नखाइ सुतेकी थिइस् कि ? कमजोर भएपछि डरलाग्दो सपना देखिन्छ । २५ वर्षकी भैस’की तैपनि खाना खा भनिरहनु पर्छ ।’
कम्मर र पेट दुखेपछि मलाई खाना खानै मन लाग्दैन । महिनाबारी हुनु मेरा लागि यातनाजस्तो हुन्छ । सायद, यही कारण आमा मिन्स हुने बेलामा तारन्तार फोन गरिरहनुहुन्छ ।
आमाको प्रेमले म पिलपिल हुन्छु ।
“पत्रकारको बिहानीको सुरुवात आँसुबाट । यो दु:खले तँलाई कहाँ सितिमिति छाड्छ र ?” आमाको भनाइमा केही जिस्किए जस्तो, केही हेला गरे जस्तो भाव पाउँछु । तर मैले लगाएको गलत अर्थको रिस बाहिर आउनुअघि नै सान्त्वना दिँदै भन्नुहुन्छ, “महिनाबारी भनेको सानो आयामको सुत्केरी त हो । यस्तो बेला म छेउमा भएको भए ज्वाँनोको झोल बनाइदिन्थेँ । मोगोकमै काम गर भन्दा मान्दिनस् । जे होस्, तातोपानीमा बेसार गोलेर पिउनू ।”
सायद आमाहरू यस्तै हुन्छन् । केही गुनासो, केही माया र धेरै आदेशका थैलो हुन् आमाहरू ।
फोन राखिसकेपछि पनि म ओछ्यानमै पल्टिरहेँ । आँखा गाउँको यादले चिसो भइरहे । म परिवारमा सधैँ आफैँलाई कमजोर पाउँछु । सायद प्रेम खोज्छु । बाहिर जति निडर र आत्मविश्वासी देखिए पनि प्रेमले मेरो मनको नौनी पगाल्छ र आँखाबाट झरिहन्छ ।
मोगोकमा हाम्रो पारिवारिक पत्थरको व्यवसाय छ । भाग्यले साथ दिँदा थोरै मिहिनेतमा पनि राम्रो आम्दानी हुने काम छ । तर यी सबै छाडेर पत्रकार हुने धूनमा रंगुन आएकी छु । डिभिबी (डेमोक्रेटिक भ्वाइस अफ बर्मा) का सफल महिला पत्रकारका रूपमा अगाडि बढाउन मलाई व्यवस्थापन विभागले महत्त्व दिँदै आएको छ । मैले लेख्ने समाचारले कति प्रभाव छाड्न सक्छ भनेर सम्पादक बेला बेला हौसला दिइरहन्छन् । सायद, मैले त्यस किसिमको छवि पनि बनाए हुँला । तर बाहिर अब्बल देखिएकी केटी पारिवारिक प्रेमका अघि अचानक किन निरीह ? प्रश्नमै उत्तर हराइदिन्छ ।
एक दशक पुगिसकेछ मेरो महिनाबारीको अवधि । हरेक महिनाको एक दिन रुने गर्छु । पहिलोपटकको महिनाबारीमा पनि रोएरै दिन बिताएको थिएँ । परिवारले जति फकाइफुल्याइ गर्दा पनि असारको झरीझैँ रोइरहेँ । सुरु सुरुमा लाजले रोएँ । पछि दुखाइले सीमा नाघ्दै गयो र रोएँ । अहिले एक्लो महसुस हुन्छ र रुन्छु ।
हिजो ‘फुर्तीका साथ बिहानै उठ्छु, यो गर्छु, त्यो गर्छु’ भनी योजना बनाएर सुतेको मान्छे । अहिले उठ्नै सकिरहेकी छैन । कस्तो जादू जस्तो महिनबारीको दुखाइ ! उज्यालोलाई अँध्यारोले कपक्क निलिदिएजस्तो ।
भारी शरीर लिई अफिसको तयारी गर्छु । मलाई अफिसको युनिफर्मप्रति रिस उठ्छ । रगतको टाटा स्पष्ट देखिने कस्तो रङ छान्यो अफिसले ? आफ्ना पत्रकारलाई परैबाट चिनून् भनेर जुन पहिरन डिभिबीले छानेको छ, उनीहरूलाई थाहा छैन – कहिलेकाहीँ महिलालाई असर पर्नसक्छ भन्ने ?
खालि पेटका लागि कफी, चिया बट्टातिर नजर पुर्याउँछु । अहँ, केही खाने मन हुँदैन । तताएर दुई गिलास तातोपानी पिउँछु ।
निस्कनुअघि ब्यागमा दुई तीनपल्ट सेनेटरी प्याड हाल्न बिर्सेँ कि भनेर चेक गर्छु । अनलाइनको एउटा विज्ञापनमा मेन्स्ट्रेसन कप देखेकी थिएँ । अडर गर्छु भन्दाभन्दै जरुरी कल आयो र त्यतिकै रह्यो । बल्ल याद आयो । महिनैपिच्छे प्याड किन्नुभन्दा त्यो सस्तो हुन्छ होला ? मनमा गुन्छु ।
ताल्चा लगाई बाहिर निस्किन लाग्दा ढोकाभित्र फोन बज्न थाल्छ । कस्तो हुस्सु म ! प्याड चेक गरी फोनचाहिँ बिर्सेछु ।
“आएँ । त्यै पसल अगाडि पर्खिरहनू ।”, रिङटोन निख्रनुअघि नै हतार हतार फोन उठाएर बोल्छु ।
तिहा ! मेरो प्यारो मान्छे । दुई हातले नमस्कार मुद्रामा फोन च्यापेर उसलाई सम्झन्छु । फोन सुम्सुम्याउँदै सम्झन्छुु, ‘मेरो ख्याल राख्छ ।’ मानौँ, उसैलाई सुुम्सुम्याएकी हुँ ।
तीन वर्ष भयो ऊसँगको मेरो प्रेम यात्रा । मेरो एक चुम्बनमा ऊ संसार बिर्सन्थ्यो र भन्थ्यो, “तँ जस्ती केटी म कहाँ गएर खोज्नू !” म पुलकित हुन्थेँ र फुर्किन्थेँ पनि ।
आजभोलि ऊ विवाहका लागि जोडबल गर्न थालेको छ । मध्यम वर्गकी बुहारी हुनु बर्मेली महिलाका लागि कठिन काम हो । कामकाज, घर परिवार, आफन्त ! त्यसमाथि जागिर पत्रकारिता । कहाँ सजिलो छ र अगाडिको जीवन ! यही कारण म अनकनाइरहेकी छु । बरु भन्ने गर्छु, ‘तिमी विवाह किन गर्न चाहन्छौ ? तिमीले खोजेको जति पाएकै छौ, अरु के चाहियो ? ऊ गम्भीर मुद्रामा मलाई हेर्दथ्यो र स्वीकृतिको टाउको हल्लाउँदथ्यो ।
पोकाकु चोकको एक कुनामा गाडी पार्किङ् गरेर ऊ मलाई कुरिरहेको छ । मध्य कदको ऊ प्राय: सफा पहिरनमा हिँड्ने गर्छ । प्राइवेट कम्पनीको म्यानेजर भएका कारण उसको पहिरन सफाचट हुनु स्वभाविक पनि हो । मलाई देख्नेबित्तिकै मुस्कानसहित गाडीको अगाडिको ढोका खोल्दै निहुरिएर स्वागत गर्छ । एक हप्तापछिको भेटको फल हो सायद ।
“उदास देखिरहेकी छौ । सन्चो भएन ? ड्राइभिङ् सिटमा बसेर मायालु नजरले हेर्दै सोध्छ । म मुन्टो हल्लाउँछु र भन्छुु, ‘मिन्स भएको छ ।’
‘क्या बोर भयो ।’ गालामा हात पुर्याउँदै भन्छ, ‘माया गर्न छेकबार लगाइदियो ।’ त्यसपछि मज्जाले हाँस्छ । सायद प्रेमी भएको अधिकार जमाउँदैछ ।
म सजिलो गरी सिटमा अडेस लाग्छु । ऊ गाडीलाई सडकमा निकाल्छ ।
‘तिमी यो ड्रेसमा एयर होस्टेस जस्तै देखिन्छौ, आकर्षक । पत्रकारलाई कसरी ग्लामर बनाउनुपर्छ भनेर तिम्रो बोसलाई थाहा छ । म पनि सोच्दैछु, आफ्ना स्टाफका लागि केही नयाँ शैलीको पहिरन विकास गरौँ ।’
‘राम्रो ।’ म यतिमात्रै भन्छु ।
गाडी ट्राफिक लाइट क्रस गर्दै मेरो अफिसतिर बढ्छ । तर उसको गाडी चलाइ निकै धिमा छ, भन्ने महसुस गर्छु ।
‘थाहा छ, यो ड्रेसमा तिमीलाई देख्दा मलाई कताकति सेक्सअल फिलिङ् आइहाल्छ । रोक्नै सक्तिनँ । के छ विचार ?’
उसले साँच्चै भनेको हो कि जिस्किएको हो, बुझ्न उसको अनुहार हेर्छु । कुनै गाडीको पछाडि भएकाले उसको ध्यान सडकतिर हुन्छ । उसको मनोभाव बुझ्न सक्तिनँ ।
‘यो पहिरनमा देख्नेबित्तिकै मलाई काउकुती लगाउँछ । संसारलाई लठ्ठ पार्ने कुनै जादुमय लाग्छ । यो शरीरलाई हेरिरहन पाऊँ जिन्दगी भर ।’ उसले मेरो स्तनमा आँखा लगाउँदै भन्छ, ‘यसले पनि मलाई बोलाइरहेको छ । के छ विचार ?’
उसको हेराइ कामुक हुन्छ । साँच्चै भनेको रहेछ । केटा मान्छेको आतुरी देखेर म छक्क पर्छु ।
अब उसले के भन्छ भन्ने कुरा मलाई थाहा भैसक्यो । म रिसाउँदै भन्छु, “मलाई मिन्स भएको छ । कपाल पनि दुखिरहेको छ ।”
ऊ मलाई फकाउन फ्लाइङ किस गर्छ र भन्छ, ‘तिमीलाई दु:ख दिन्नँ । मलाई दु:ख दिए भैहाल्छ ।”
“हो तर योपटक अलि धेरै मुड बिग्रेको छ । थाहा छैन, किन ।”
“होटेल जाऔँ । त्यहाँ कफी खाऔँ । फ्रेस भएपछि गरौँला । के छ र ?
“त्यसमा पनि थाकिन्छ नि !”
‘लौ, मलाई माया नगर्ने रे ? लौ तिमीहरूले नै मेरा पक्षमा बोलिदेऊ ।’, ऊ रोमान्टिक मुडमा मेरा स्तनसँग गफ गर्दै भन्छ, ‘मेरी केटीलाई लौ फकाइदेओ त !’ यसो भन्दै उसले आफ्नो दायाँ हातलाई मेरो बायाँ स्तनमा पुर्याउँछ र भन्छ, ‘तिमी सधैँ मेरो पक्षमा छौ । लौ न फकाइदेऊ !’
मिन्स हुँदा मेरा स्तन समाउनै नमिल्ने गरी दुख्छन् । उसले रमाइलो पाराले माया गर्न खोजेको होला, तर मलाई काँडा बिझ्दा हुने दुखाइ जस्तै गाह्रो हुन्छ ।
म अत्तालिँदै हात छुटाउँछु र भिँजिलो स्वरमा बोल्छु, “धेरै दुखेको छ । प्लीज नछुनू न !”
मेरो परिस्थितिलाई वास्तै नगरी बोल्छ, “एक चम्चा रगत त हो । किन त्यति कमजोरी ठान्नु आफैँलाई ?”
झनन्न रिस उठ्छ । मेरो पीडा कसरी बुझाऊँ ? मसँग अचानक बोल्ने शब्द हराउँछ । वाक्य हराउँछ । उसलाई एक टक हेरिरहन्छु । ऊ कताकति मुख मैथुनको कल्पनामा मस्त हुँदैछ ।
ठुलो होर्डिङ बोर्डमा आङ साङ सुकीको मुुस्कुराइरहेको तस्बिर देखिन्छ । उसको मुस्कानले केही भने जस्तै लाग्छ ।
‘गाडी रोक ।’ म चिच्याउँछु ।
ऊ झस्केर मलाई हेर्छ । म रिसाएको थाहा पाउँछ ।
‘यहीँ गाडी रोक । म यहीँबाट अफिस जान्छु ।’
ऊ मलाई फकाउन हात बढाउँछ । म हात झड्कार्दै उसलाई आदेश दिन्छु, ‘गाडी रोक् ।’
ऊ अलि खुकुलो ठाउँमा गाडी रोक्छ ।
“आजदेखि तेरो र मेरो ब्रेकअप । मेरो माया देखिस्, अब निठुरीपन अनुभव गर् ।’
म पछाडि नफर्की अफिस जाने गल्ली समात्छु । सायद केहीबेर परैबाट उसले मेरो शरीर पछ्यायो होला । ओझेल भएपछि त्यहाँबाट हिँड्यो होला ।
००००
दुखेको शरीर र बिग्रिएको मुड लिएर अफिस छिर्छु । अफिसमा मेरो छवि भव्य छ । मुस्कानसहित मिङ्ग्लाबा अभिवादन सबैभन्दा पहिले गेट पालेलाई टक्राउँछु । त्यसपछि लिफ्ट चढेर चौथो तल्ला पुग्छु । मार्केटिङ् विभागका एक जना हाकिम हतारिँदै लिफ्टतिर हानिन्छन् । हतारमै उनलाई पनि भन्छु, ‘मिङ्ग्लाबा ।’
तर उनको अभिवादन नपर्खी आफ्नो कार्यकक्षमा पुग्छु । थाकेको शरीर थाकेको मन लिई काममा व्यस्त हुन आफैँलाई आज्ञा दिन्छु । इच्छाको यो जागिर मलाई मेरो ज्यानभन्दा प्यारो छ । सकेसम्म बिदा लिन्नँ । अरुभन्दा अघि अफिस आउन पाउँदा, विषय सम्पादकले दिएको गाह्रो विषयको रिर्पोटिङ् गर्न पाउँदा मलाई औधी खुसी लाग्छ । हाकिमले महत्त्व नदिएका कतिपय विषयमा रिपोटिङ् गरेर उनकै प्रशंसा पाउने लालसा पनि जाग्छ र त्यस्ता काम पनि गरेकै हुन्छु । कहिले आफूलाई रुचि नभएको विषयमा अनुसन्धान गर्न लगाउँदा पनि मैले समय दिएकै हुन्छु । समाचारमा एउटा बाइट लिन पब्लिक गाडी चढेर गाउँमा पनि पुगेको छु । रात रातभर जागेर अर्टिकल लेखेर पत्रिकामा पठाउनेबित्तिकै त्यसको फलोअप पनि गरेकै छु । मसँग व्यवस्थापन विभाग प्रसन्न हुनुको कारण सायद यिनै होलान् । समकालीन साथीहरू मलाई भोलिको विभागीय प्रमुख भनेर जिस्काउने गर्छन् । यो जिस्क्याइले पनि सायद जाँगर बढिरहन्छ ।
तर सधैँ काम गर्ने मुड कहाँ हुन्छ र ? आज मन पनि त असाध्यै दुखेको छ ।
केही नसोची समाचार सम्पादकको कोठा ढकढकाउन पुग्छु ।
अचानक ढोका खुल्दा समाचार प्रमुख नराम्रो खबर पाएझैँ तर्से ।
“म बिदा माग्न आएको ।”
“लौ के भयो त्यस्तो ? आउनेबित्तिकै फर्किने कुरा पो गर्यौ ?”
“मलाई गाह्रो भयो ।”
“कस्तो ?”
“…” म चाहन्छु, मेरो अनुहारको भावले बताओस् ।
“केही सहयोग चाहिन्छ भने भन ।”
“कसैको सहयोगले केही हुँदैन । मलाई आरामको आवश्यक छ ।”
“ए ! सिटामलले काम गरिहाल्छ नि ।”
हाकिमले बुझेर भने कि नबुुझी भने छुट्याउन सक्दिनँ । केही नबोली ठिङ्ग उभिरहन्छु । मौनतालाई तोड्दै भन्छु, “नसक्ने भएरै बिदा लिन खोजेको… ।”
एकदम हल्का भावमा हाकिमले भने, “एक चम्चा रगत त हो । यत्तिमा बिदा किन लिनु ?”
झनन्न रिस उठ्छ । टेबलमा छरिएका अघिल्ला दिनका एफोर कागजहरू टिपेर अनुहारमा फालिदिने मन नभएको त कहाँ हो र ? मेरो प्यारो जागिर – मनमनमा दोहोर्याउँछु । प्यारो मेरो जागिर – फुसफुसाउँदै त्यहाँबाट निस्कन्छु ।
अघि खालि रहेको छेउको कुर्सीमा भस्मे बसिसकेको रहेछ । यो मान्छे खै किन हो, मलाई मन पर्दैन । मैले लेखेको रिपोर्टमा कुनै न कुनै खोट निकाल्न अभ्यस्त हुन्छ ।
अझ यसो भनौँ, उसको बोलिरहने बानीमा अरूको आलोचना प्रमुख परिकारको रूपमा समावेश छ । मेरो मधुरो अनुहार हेरेर भन्छ, “के भयो ? हाकिमले गाली गरे ? तपाईँ पनि गाली खाने रिपोटिङ् गर्नुहुन्छ । संविधानले नै सेनालाई उद्योग खोल्ने अधिकार दिएको छ । तपाईँ किन जान्ने हुनु पर्यो ?
‘मैले गर्न सकिनँ भनेर डाह लाग्यो ?’
ऊ केही बोलेन । सायद उसको अहंमा चोट लाग्यो ।
ब्यागबाट प्याड निकाल्छु । त्यतिञ्जेलसम्म पनि उसको नजर मबाट हटेको रहेनछ । मलाई अलिकति अप्ठ्यारो महसुस हुन्छ ।
सुरु सुरुमा प्याड किन्दा मेडिकल पसलले कालो झोलामा दिन्थे । प्याड एकप्रकारले समाजका लागि बर्जित जस्तै थियो । मानौँ, यो अरुले देख्न नहुने कुरा हो । तर प्याडको महत्त्व बुझ्न थालेदेखि कालो झोला इन्कार गर्दै आएकी छु ।
म उसलाई हेर्छु । मेरो हातको नयाँ प्याड हेरेर नाक खुम्चाउँछ । तिमी पुरुषलाई यसको महत्त्व के थाहा भन्ने भावले उसलाई हेय दृष्टिले हेर्छु । उसको घिनाउने स्वभावका कारण अघिको अप्ठ्यारो हराइसकेको हुन्छ ।
बाथरुम पुग्दा नपुग्दै असाध्यै पेट दुख्छ । जसो तसो प्याड चेन्ज गर्छु ।
फर्कँदा ऊ कुर्सीलाई पर कुनामा सारेर अलग्गै बसिरहेको हुन्छ । मलाई पुन: ऊदेखि रिस उठ्छ ।
“जति बुझ्छन् त्यति अबुझ, जति शिक्षित त्यति अशिक्षित, जति ठूलो लेखक त्यति अव्यावहारिक है मान्छे ।”
“…।”
एकदम अचानक रूपमा उसलाई व्यङ्ग्य हान्छु । सोचेर बोलेको थिइनँ । अचानक आइदिन्छ, यी शब्दहरू । ऊ अलमलमा पर्छ ।
“घिन लाग्छ त लाग्छ ! यस्ता कुरामा भाषण दिइरहनु पर्छ ? तिमी आङ साङ सुकी हो, दादागिरी देखाउनलाई ?”
अचानक मेरो दाहिने हात उसको देब्रे गलामा चोटिलोसँग पर्छ । निकै जोडले लागेछ क्यारे ! चड्याङ् आवाजले अफिसका सहकर्मीहरू हामीतिर फर्केर हेर्छन् ।
ऊ जुरुक्क त्यहाँबाट निस्कन्छ । सायद समाचार सम्पादक कहाँ पुग्यो । सिसाको सानो कक्षमा दुई प्राणी गफ गरिरहेको मेरो कुर्सीबाट प्रस्ट देखिन्छ ।
००००
एकछिन पछि हाकिमकक्षबाट मलाई पनि बाेलाइयो ।
अहिंसा पढेर हुर्किएकी म । तर हिंसा हुन पुग्यो । सजाय त भोग्नै पर्छ । तर जसरी उसले महिनावारीलाई लिएर कटाक्ष गरेको थियो, सहने कुरा थिएन । यसअघि पनि धेरैपटक यसले महिलाप्रति यस्ता छुद्र टिप्पणी नगरेको होइन । तैपनि उसको बोल्ने बानी छ भनेर सहेकै हो । आज सायद म अलि बढी नै एग्रेसिभ भएँ कि ?
हाकिमको अगाडि उभिरहेका छौँ । ऊ पनि म पनि ।
मैले कसरी बिना कारण चड्कन हानेँ, ऊ बढाइचढाइ हाकिमलाई सुनाउँछ । नारीहरू नारीवादको नाममा कसरी पुरुषमाथि हात हाल्ने अवस्थासम्म पुुगिसके, ऊ प्रमाणित गर्ने प्रयास गर्छ । यो थप्पड केवल थप्पड होइन, पुरुषवर्गप्रतिको बेइज्जत, अफिसकै मानमर्दन भएको उसले खुलाउँछ । कुनै महिलालाई मत्याउँदै जाँदा कसरी उसले सहकर्मीमाथि नै हातपात गर्छे भनेर लामो भाषण दिन्छ । उसको आरोप र महिलाप्रतिको कटाक्ष बढ्दै जाँदा मभित्रको अपराधबोध हराएर, पुन: आक्रोश बढ्न थाल्छ ।
मेरो मुटुमा हानिएको चड्कन म कसरी देखाऊँ ? म र मेरो महिनावारीप्रतिको उसको घृणित दृष्टि कसरी बुझऊँ ? म एक्लोको लागि हैन । यो चड्कन त सम्पूर्ण नारी इज्जतको लागि हो भनी कसरी स्पष्ट्याऊँ म । यस्ता पुरुषका लागि त एक चड्कन पनि कम हुन्छ भनी कसरी बुझाऊँ ? हाकिमको महिनावारीको दृष्टिकोण के हो, अघि नै थाहा पाइसकेको छु । यहाँ सजाय पाउने पक्का छ । तर सजाय कुन स्तरको हुन्छ, त्यो कुरेर बस्नुबाहेक अर्को उपाय पनि त छैन ।
सहकर्मीले भन्छ, “आजदेखि कि म हुन्छु कि ऊ ! यो अफिसमा दुई जना एकसाथ काम गर्न सम्भव छैन । रह्यो, सजायको कुरा, तपाईँले दिने निर्णयमा सहमत छु ।”
उसको कुरामा चाकडीको गन्ध पाउँछु । मुख बङ्ग्याउँदै हाँस्छु । मेरो हँसाइ बुझेर दुवैले अविश्वसनीय रूपमा हेर्छन् । कोठा पूर्णरूपमा शान्त हुन्छ । पर सहकर्मीहरू कानेखुसी गरेको आवाज आइरहन्छ ।
म आफूलाई घना जङ्गलमा उभिएको पाउँछु । मलाई दुईवटा बाघले घेरिरहेका छन् भन्ने महसुस हुन्छ । बाघहरू नै किन नहोस्, म आँखा जुधाउँछु ।
“मैले तपाइँसँग बिदा मागेकै हो, तर तपाईंलाई मेरो बिदामा हैन, दुुखाइमा पनि होइन, महिनाबारीमा चैँ समस्या भयो । तपाईँ अरूका न्यायका लागि यो कुर्सीमा बस्नुभएको छ । तपाईँ देशदेखि विदेशसम्म सबैको चिन्ता गर्नुहुन्छ । तर एउटी सहकर्मीले कस्तो अनुभव गरिरहेकी छे ? बुझ्न सक्नुहुन्न ।”
‘अझ् हातपात गरेर आफैँ ठुलो कुरा गर्नुुहुन्छ ?’, हाकिम कड्किन्छन् ।
“तपाईँले ‘एक चम्चा रगत त हो नि’ भनेर मेरो अपमान गर्नुभएको होइन ? महिलाको समस्या तपाईँले कसरी मूल्याङ्कन गर्न सक्नुहुन्छ ? तपाईँलाई एक चम्चा रगतले दिने पीडा म कसरी बुझाऊँ ? तल्लो पेट, माथिल्लो पेट, डाढ, कम्मर, मलद्वार, भएभरका अङ्गप्रत्यङ्ग; बाहिरी देखिने भित्री नदेखिने सबै जिउ दुखिरहेको हुन्छ । औँलाका टुप्पाले समेत छुन नहुने गरी दुख्छ । शरीरमात्र हैन, यो बेला मन पनि दुख्छ ।”
“अनि आफ्नो सहकर्मीलाई थप्पड नै हान्ने ? मेरो रिस उसलाई पोख्ने ? हरेक महिना, हरेक महिलाले तलबाट रगत बान्ता गर्छन् । यसमा केको तमासा ? तिमी आफूलाई ठूलो लेखक भएँ भन्ने ठानेकी छौ ? आज जे छौ हाम्रो सहयोगले छौ । आफूलाई ठुलै लेखक ठान्छौ भने मलाई हान न थप्पड । किन कमजोरलाई हान्छौ ?”
हाकिम उग्र हुुँदै गए । अब स्पष्टीकरण दिनुको अर्थ थिएन । चुप लागेँ ।
“तिमी के चाहन्छौ ?”, हाकिमले मेरा सहकर्मीलाई मैले पाउनु पर्ने सजाय सोधे ।
“मेरो एउटै माग छ – यो अफिसमा या त ऊ हुन्छे या म !”
“तिमी के चाहन्छौ ?”, हाकिमले मतिर रिसाएर हेरे । उनका आँखमा अहिलेसम्म मैले अफिसका लागि गरेका कामको कुनै मूल्य थिएन ।
“तपाईंको प्यारो मान्छे तपाईंसँग बसोस् भन्ने चाहन्छुु । तर त्यतिकै होइन । एक चम्मा रगतको शक्ति पनि देखाउन चाहन्छु ।”
मैले हात दह्रो बनाएँ र हाकिमको गाला बजाएँ, “आखिर अफिस नै छाड्नु छ भने तपाईंले पनि एक चम्चा रगतको अर्थ बुझ्नुपर्छ । गुड बाई ।”
दौडेर केही सहकर्मी हामिकको कक्षमा पसे । म सरासर बाहिर निस्केँ ।
रङ्गुनको दायाँ चाेकमा उभिएको अग्लो बुद्धको सालिक मलाई हेरेर मुस्कुराइरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।