रक्षाबन्धनको दिनमा हातमा डोरो बाँध्न कान्छो छोरा निकै उत्साहित थियो । चलनअनुसार ज्वाइँ, भिनाजु, भान्जा र पुसाजु आएर सबैको हातमा रक्षाबन्धन बाँधिदिनुभएको थियो । हातमा डोरो बाँध्नेबित्तिकै ऊ दगुर्दै गेटमा पुग्थ्यो र पल्लो घरको साथीलाई सुनाउँथ्यो, ‘सन्दिपा हेर त मेरो कतिवटा भए ?’

पाहुनाहरू गएका थिएनन् । कान्छो मेरा भिनाजुहरूसँग गफमा रमाएको थियो ।

‘भिनाजु, यो डोरो फाल्न हुन् है ?’ कान्छोले सोध्यो ।

भिनाजुले तिहारसम्म राखेर गाई तिहारको दिनमा गाईको पुच्छरमा बाँधिदिनुपर्ने कुरा सुनाउनुभयो ।

कान्छो फेरि बाहिर दगुर्यो । सायद सन्दिपालाई आफूले पाएको जानकारी सुनाउन गएको होला ।

केही बेरमा रिसाउँदै कान्छो कोठामा फक्रियो । के भयो भनेर सोध्न नभ्याउदै उसैले भन्यो , ‘मैले तिहारसम्म डोरो राख्ने हो भनेको त सम्दिपाले ‘ईस् राख्छौ, भोलि फाल्ने होला’ भनिन् । मैले फाल्दै फाल्दिनँ, नपत्याए बाजी राखौँ भनेको बल्ल चुप लागिन् । मैले तिहारसम्म राखेर त्यसलाई नदेखाई छोड्दिनँ ।’

कान्छोले डोरोको कुरा गर्दा म झस्किएँ । कान्छो एकोहोरो बोलिरहेको थियो । मैले उसले बोलेको सुन्न छोडेको थिएँ । म हातको रक्षाबन्धन हेरिरहेको थिएँ अनि ३ दशकअघि बुटवल क्याम्पसमा आईएस्सी अध्ययन गर्दाका दिनहरूमा पुगेको थिएँ । कान्छोले तिहारसम्म हातको रक्षाबन्धन राखेर देखाउने कुराले वर्षौँपछि मलाई जितेर पनि हारेको दिनको याद दिलाएको थियो अनि अनायासै मैले बिर्सिसकेकी प्यारी छुच्चीलाई सम्झिएको थिएँ ।

उसको नाम त सुची थियो तर मैले छुच्ची नाम दिएको थिएँ उसलाई ।

फर्स्ट इअरमा भर्ना भएको दिनदेखि नै ऊ मेरो मन मिल्दो साथी बनेकी थिई । हरेक दिन ऊसँग भेट हुन्थ्यो । केही न केही नयाँ कुरा हुन्थ्यो । प्रायः जसो कसैको बारेमा टिप्पणी गरिन्थ्यो । उन्मुक्त भएर हाँसिन्थ्यो । कहिलेकाहीँ विवाद पनि हुन्थ्यो र हप्तौँसम्म छुच्ची र म त्यही विवादमा रमाउँथ्यौँ ।

जनैपूर्णिमाको केही दिनपछि भेट भएको बेलामा छुच्चीको आँखा मेरो हातमा पुगेछ । मेरो नाडीमा भिनाजुले बाँधिदिएको डोरो थियो । हातको डोरो देखेर छुच्चीले भनी, ‘ओहो देव ! तिम्रो हातमा त अझैसम्म पनि डोरो रहेछ ।’

‘तिमी जस्तो हो र बाँधेको दुई घण्टामै चुँडाल्ने ।’ मैले छुच्चीलाई गिज्याउने सुरले भनेँ, ‘मैले त यो डोरो तिहारसम्म जस्ताको तस्तै राख्ने हो ।’

तर छुच्चीको नाडीमा पनि डोरो रहेछ, उसले देखाई ।

‘मलाई देखाउनको लागि राखेको होला ! अब भोलिपर्सिमा चुँडेर कहाँ पुग्छ कुन्नि ?’ मैले भनेँ ।

‘मैले त तिहारसम्म राख्ने हो, बरु तिमीहरूलाई बढी नक्कल गर्नुपर्छ । तिमीले नै चाँडो फ्याक्छौ होला ।’, छुच्चीले भनी ।

कसले चाँडो फ्याँक्छ भन्ने कुरामा धेरै बेर वादविवाद भयो । अन्त्यमा छुच्ची र म बाजी राख्ने कुरामा सहमत भयौँ । बाजीको नियम यस्तो राखियो – तिहारभन्दा अघि जसको नाडीबाट डोरो हराउँछ उसले बाजी हार्नेछ र हार्नेले जित्नेको कुनै एक माग पूरा गर्नु पर्नेछ । यसरी छुच्ची र मबीच डोरोको दीगोपनको होडबाजी सुरु भयो ।

छुच्ची मेरा लागि साथीमात्र थिई, माया मोह केही थिएन । त्यसैले उसलाई नदेख्दा उसको सम्झना आउँदैनथ्यो । म हार्न नचाहने मान्छे, हातबाट डोरो चुड़ालेर फ्याँक्न सकिनँ । छुच्चीले झन फ्याँक्ने कुरै भएन । दिनमा धेरैपटक नाडीमा बाँधेको डोरोमा आँखा पुग्थ्यो । डोरी देख्नेबित्तिकै मैले छुच्चीलाई सम्झिहाल्थेँ । भेट नभएको समयमा पनि डोरोले उसको सम्झना गराउँथ्यो ।

‘देव, अचेल मैले तिमीलाई सम्झिरहन्छु ।’, एकदिन छुच्चीले भनी ।

‘मैले पनि अचेल छुच्चीलाई बढी सम्झन थालेको छु ।’, मैले भनेँ ।

‘हो र ?’ छुच्चीले भनी, ‘किन सम्झन्छौ?

‘के गर्नु, मैले सम्झन भन्दाभन्दै पनि डोरोले तिम्रो सम्झना तानेर ल्याइहाल्छ ।’, मैले कुरा नलुकाई भनेँ ।

‘मलाई पनि त्यस्तै हुन्छ ।’ छुच्ची हाँसी, ‘जेहोस् डोरोले राम्रै काम गरेको छ ।’

===

समय बित्दै गयो । डोरोले सम्झना ल्याइरहन्थ्यो । सम्झना धेरै आएपछि माया बढ्छ भनेको साँचो रहेछ । बिस्तारै मेरो मनमा छुच्चीप्रतिको माया बढिरहेको थियो अनि छुच्ची र मबीचको सम्बन्ध घनिष्ट बन्दै गइरहेको थियो ।

एकदिन मैले डोरो फ्याँक्ने कुरा छुच्चीलाई सुनाएँ । उसले कारण सोधी । मैले हाँस्दै भने – ‘डोरोले तिम्रो सम्झना धेरै गरायो । सम्झना धेरै भयो भने माया बढ्छ रे । माया धेरै भयो भने आफैँलाई सम्हाल्नै सकिन्न । त्यसैले न रहे बाँस नबजे बाँसुरी ।’

‘तिमीलाई मायादेखि डर लाग्छ ?’ छुच्चीले शुष्क स्वरमा सोधी । मैले उसको अनुहारमा हेरेँ, ऊ निकै गम्भीर भएजस्तो लाग्यो । मैले उसलाई त्यो रूपमा कहिल्यै देखेको थिइनँ । उसले केही कुरा मागेझैँ गरी मलाई हेरिरहेकी थिई । मैले उसको मुहारमा हेरिरहन सकिनँ । दृष्टि र कुराको सिलसिला अन्तै पुर्‍याएँ ।

त्यस दिनदेखि डोरो हार-जितको कुराभन्दा बढी मायाको चिनो हुन पुग्यो । छुच्चीले भन्दा पनि मैले छुच्चीलाई बढी माया गर्छु भन्ने देखाउनका लागि पनि मैले लामो समयसम्म डोरो सुरक्षित राख्नै पर्ने भयो । हाम्रो भेट्ने क्रम टुटेको थिएन । मित्रताले नयाँ रूप लिएको थियो, सम्बन्ध घनिष्ट बनेको थियो । मुखले दुवैले केही भनेका थिएनौँ तर दुवैजना पहिले जस्तो उन्मुक्त थिएनौँ ।

दशैँको बिदा हुनुभन्दा केही दिनअघि नै म पहाड घर जानुपर्ने भयो । म उसलाई ‘सरप्राइज’ दिन चाहन्थेँ । त्यसैले मेरो यात्राको बारेमा छुच्चीलाई केही बताइनँ । म टाढा गएँ । छुच्चीसँगको भेटघाट छुट्यो । तर सम्झना छुटेको थिएन । जहाँ गए पनि, जुनसुकै बेलामा पनि डोरोको रूपमा छुच्ची मसँगै भए लाग्थ्यो । मलाई ऊसँगको न्यानोपनको आभास डोरीले गराइरहन्थ्यो । मैले डोरोको निकै हिफाजत गर्थे । डोरो नचुडोस् भन्ने कुरामा म सधैँ ध्यान दिन्थेँ । एक दिन मेरो मिल्ने साथीले मेरो नाडीको डोरो चुँडाल्न खोज्यो, त्यसबेला मैले उसलाई निकै नराम्रो गाली गरेँ । करिब एक सातासम्म त बोलचाल नै बन्द भयो ।

एक महिनासम्म मैले छुच्चीसँग कुनै सम्पर्क नै गरिनँ । म चाहन्थेँ– छुच्चीले हारोस् र मेरो जित होओस् । मलाई लागेको थियो– मैले ऊसँग कुनै सम्पर्क नगरेपछि उसले बाजीको कुरा बिर्सनेछे या मसँग रिसाएर डोरो फाल्नेछे । त्यसो भएपछि जित मेरै हुनेछ ।

छुच्ची र मबीच जतिसुकै आत्मीयता भए पनि, जतिसुकै मायाका कुरा भए पनि मुखै फोरेर एकअर्कालाई माया गर्ने कुरा भनेका थिएनौँ । त्यसैले मैले मनमनै योजना बनाएको थिए– बाजी जितेको मौकामा उसलाई माया व्यक्त गर्नेछु र बाजी जितेवापत जीवनभरका लागि उसको साथ पाउनको निम्ति प्रस्ताव गर्नेछु ।

सम्पर्कविना महिना बित्यो । छुच्चीसँग भेट भएन तैपनि मलाई टाढा भए जस्तो लागेकै थिएन । मैले सम्पर्क नगरेपछि छुच्चीले सम्पर्क गर्ने कुरै भएन । बिचरीलाई म कहाँ गएको छु भन्ने त कुरा छोडौँ मेरो घर कहाँ हो भन्नेसम्म पनि राम्ररी थाहा थिएन । त्यसैले उसले चाहेर पनि मलाई भेट्न सक्दिनथी ।

तिहारलगत्तै म बुटवल फर्केँ । डेरामा पुग्नेबित्तिकै म छुच्चीको घर गएँ । मलाई हतार थियो छुच्चीलाई भेट्ने र मनको कुरा खोल्ने ।

छुच्चीको घर पुग्दा ढोकाभित्रबाट बन्द थियो ।

मैले कलबेल थिचेँ । भित्रबाट ‘को हो ?’ भन्ने आवाज आयो । मैले छुच्चीको आवाज सजिलै चिनेँ ।

‘म हो छुच्ची ।’ मैले स्वभाविक जवाफ दिए ।

‘ओ हो देव…’ छुच्ची खुसीले चिच्याएको मैले अनुमान गरेँ । छुच्ची ढोकातर्फ बढ्दै गरेको पदचाप सुनियो ।

‘मैले बाजी जिते होला नि ?’ मलाई छुच्चीलाई भेट्न भन्दा कुरा सुनाउन हतार भएको थियो । मेरो सोधाइको कुनै जवाफ आएन । बरु ढोकाको छिट्कनी खुलेको आवाज आयो ।

‘पहिले हात देखाउ त डोरो छ कि छैन ?’ ढोका खुल्न लाग्दा मैले भनेँ ।

ढोका खुल्यो । केही नबोली छुच्चीले पर्दाको एकछेउबाट आफ्ना दुबै हात मतर्फ बढाई । मैले धोका खाने कुरै भएन – हात छुच्चीकै थिए । म अचम्भित भएँ – उसको हातको नयाँ सजावट देखेर । उसका दुवै हत्केला मेहन्दीले रङ्गिएका थिए । औँलामा सुनको औँठी थिए, नाडीमा सुनका चुरा अनि केही राता चुरा थिए । म नराम्ररी मर्माहित भए ।

‘तिमीले जित्यौ देव । तिमीले साँच्चै जित्यौ, म हारेँ ।’ रोदन मिश्रित स्वरमा छुच्चीले भनी । मैले पर्दा हटाएँ । छुच्ची मेरो सामु थिई । उसको सिउँदो सिन्दूरले रङ्गिएको थियो । घाँटीमा मङ्गलसूत्र झुण्डिएको थियो । छुच्चीले मलाई एकटकले हेरिरहेकी थिई । उसको आँखाबाट झरेका आँसु गालामा बग्दै थियो ।

‘तिमीले जित्यौ देव ! धेरैपछि जित्यौँ । खै म अब के दिन सक्छु र ?’, छुच्चीले मेरो हात समात्दै भनी । मैले त्यस्ता क्षण पनि आउला भन्ने कल्पनासम्म पनि गरेको थिइनँ । त्यसैले सबै कुरा मलाई सपना जस्तै लाग्दै थियो । म चेतनाशून्य बन्दै गैरहेको थिएँ । मैले निधो गर्न सकिनँ, मैले हारेँ कि जितेँ ? हार-जितको खेलमा मैले के पाएँ ?