हात हल्लाए सबैले ‘बिस्तारै आउनोस् है’ भन्दै । म भने विवश छु ह्विलचियरमै । पानी परिरहेकै छ, मेघ गर्जदै । पानीका फोकाहरू उठ्छन् र फुट्छन् कार्यालयको प्राङ्गणमा । बिनाउद्देश्य पर्खाइ, त्यस्तै एकोहोरो दृश्य, निरन्तर दर्किरहेको पानी । आफ्नै अपाहिज जीवनको अतीतका यादहरूले तोरण बाँड्न थाल्छ —
बाल्यावस्था — काकाको छोरा, भाइभन्दा पहिल्यै माटोलाई स्पर्श गरेको मैले । सिक्यो मसँगै बामे सर्नु । क्रमशः मभन्दा छिटो बामे सर्नु थाल्यो । हेर्दाहेर्दै उभियो, हिँड्न थाल्यो मलाई छोेडेर । म भने घस्रिरहेकै छु । सिकुवा र आँगन मेरो संसार । बन्देजजस्तै छ बाटोतिर निस्कनु । बाउआमालाई डर छ वस्तुले कुल्चेर मार्देला भन्ने । म बुझ्थेँ बाउआमाको मुहारमा मेरै कारण फलेका पीर र दुःख । त्यसैले हरेक शब्दलाई शिरोधार्य गर्थें । धेरै साथी छैनन् भाइको जस्तो । पल्लो घरकी रमा पनि तल्लो घरतिर गा’की छे टालाटुली खेल्न । डम्म भुइँकुहिरोले गाँवै छोपेको परिवेश । परिवार सबै मेलोतिर थिए । शून्य घर, सिकुवाको कुनामा जाँतोको हातो समातेर ‘लहैलहै, च्योच्यो, खाइदे खाइदे’ भन्दै कराइबस्थेँ । त्यसरी कराउँँदा स्यालले कुखुरा बोक्दैन भनाइ थियो बाउआमाको ।
गाउँमा मेरो नाम बुद्धेबाट साँपे भइसकेको थियो । भेट्ने जतिलाई सोध्नुहुन्थ्यो बाउआमा, म नहिँड्नुको कारण । एउटै भनाइ हुन्थे सबैका, ‘हावा लागे छ बाबुलाई ।’
त्यसपछि हावा झार्ने धामीहरू थुप्रै आए । धामीपिच्छेको फरक नाम थिए, मलाई अपाहिज बनाउने हावाको । लट्टे हावा, सेती हावा, लुले हावा, बज्र हावा, कुँजे हावा, लाटी हावा आदिआदि । तर मेरो शारीरिक परिवर्तन हुनु सकेन जति झारफुक गरे पनि ।
कहिलेकाहीँ गाउँमा हुने भोजभतेरमा बुबाले बोकेर लानुहुन्थ्यो । कति खुसी हुन्थेँ गाउँले आफन्त देखेर । ‘बिचरा !’ भन्ने उपहार पाउँथेँ सबैबाट । यदि उहाँहरूबाट साध्य हुने भए एकधुरा लागेर धपाइदिन्थे होला मेरो अगति रोगलाई ।
तर, शारीरिक रोग एक्लै रोगीले बोक्नुपर्दो रहेछ ।
काम विशेषले थपेनी फुपू हाम्रो घर आउनु हुँदा धेरै सुर्ता गर्नुहुन्थ्यो मप्रति — ‘कुन जुनीको पाप हो या कुन पुस्ताको अभिशाप ? बाउआमाको सेखपछि कसले स्याहार्ला कान्छा तँलाई ?’ भन्दै ।
फुपूको कुरा नटुङ्गिनै आमाका नयन सिमसार हुन्थे ।
दाहिने कोखामा राखेर दोस्न मन लाग्छ यो बिमारलाई अस्पताल लगेर सुई लाउन हुँदैन भन्ने सोचलाई । देब्रे कोखालाई सुम्सुम्याउँछु मेरो भाग्य नै यस्तो, के फतुर अरूलाई । आफ्नो छायालाई हेरेर धेरै थुकेँ, अभिभावक, समाज र राष्ट्रकै घन्टेसो भन्दै । घरी बेसरी रुँदै बरबराउँथेँ — ‘मेरो के गल्ती थियो र अपाङ्ग बनाएर सजाय दियौ भगवान् ? किन पछुतो लागिरहेको छैन, मैले कुनै जुनीमा पाप गरेको थिएँ ? थपेनी फुपूले भनेजस्तै हो भने कसैले गरेको कुकर्मको सजाय किन मलाई ? तिम्रो न्यायालयमा यस्तै फैसला हुने गर्छन् ?’ यस्तै सोच्दा ईश्वरीय फैसलाको विरुद्ध शुष्क आँखा चुहुन्थे ।
दिनहुँझैँ धामीझाँक्री, चिन्ता, पूजाआजा, बाधा उठाउँदै, कुखुरा, परेवा तर्पने भइनै रहन्थे, मलाई अपाङ्ग बनाउने कुशक्तिबाट मुक्त गर्न । शून्य आयस्रोत । बेसाएर बचाको मान्छे हुनुको परिभाषा । आमाले आफ्नो गाँस काटेर पाल्नुभएको लर्कने खसी बेच्न बुधबारे हाट झर्नुभयो बुबा । कति बुझ्नेहरू मलाई काठमाडौँ लान सल्लाह दिनुहुन्थ्यो । ठमठम हिँडेर भविष्यको लौरो बन्न सकौँ भन्ने अपत्यारो सपना थियो बाउआमाको तर सम्भव भएन खसीको पैसाले काठमाडौंको यात्रा ।
अर्को बज्र खस्यो बुबाको असमायिक निधनले । तत्पश्चातको जीवन एक्ली संघर्षशील नेपाली आमाको छत्रमा घस्रिरह्यो, त्यो अभावयुक्त सुदूर पहाडको अविकसित गाउँमा ।
आमाले बटिया पाल्या दुइटा बाछीलाई फरिको बाँध्दै खै गर्नुहुन्छ — ‘बुद्ध !’
‘हजुर आमा !’ आकाशमा उड्दै कतै हिँडेका चराका लस्करतिर हेर्दै बोल्छु ।
‘भोलिदेखि स्कूल जाऊ है छोरो ।’
आमाको यो शब्दले मलाई अप्ठ्यारो पार्यो र ट्वाल्ल परेर हेरिरहेँ । के भन्ने ? बोली नै फुटेन ।
‘के हेरेको ?’ आमा अझै स्पष्ट पार्नुहुन्छ, ‘बाउबिनाको अपाङ्ग छोरो, आमाचाहिँले के पढाउन सक्थी ! जोत्ने गोरुको दाहिने हल नभएजस्तै हो घरमा लोग्ने मान्छे नहुनु — भन्दै खिसी गर्छन् गाउँलेले । खुट्टो नभए पनि अन्य अङ्ग सपाङ्ग छन् । गरिखानु पर्छ बाबु ।’
घस्रिनुभन्दा कठिन लागिरहेको छ पढाइको आराने घनौटो बन्न । आमाको कुनै पनि कुरालाई नकाट्ने आज काट्ने आँट गर्दै भनेँ— ‘म नपढ्ने आमा । पढे पनि म जस्तालाई कस्ले जागिर दिन्छन् र ?’
‘पढ्नु जागिरै खानुपर्छ भन्ने छैन । पढ्ने नपढ्ने भन्दा तीन पाइला अगाडि हुन्छन् । छिटो दगुर्छन्, उड्छन्, फल्छन्, तारा छुन्छन् ।’
‘उँः आमाको गफ । पढेपछि पखेँटा लाग्छन् र उड्छन् ? अध्यक्ष बाजेले धेरै पढेका अरे कहिले उडे ? देख्नुपर्ने नि जूनतारा छोएका ।’
‘उहाँले पढेका हुनाले सत्कर्म गर्नु भा’छ र गाउँलेले अध्यक्ष बनाए । सुनेको छस् रेल, गाडी कति छिटो दगुर्छन् ? हवाईजहाज उडेको त देखेको होला ! ती साधनहरू पढ्नेले बनाए र आफू पनि उडे समाजलाई पनि उडाए ।’
आमाका कुरा सही थिए र पनि भनेँ — ‘उकालो ओरालो, गग्रेनी बाटो । कसरी हिँड्नु ? फेरि बाटाघरेको टोक्ने कुकुरले मलाई बाँकी राख्ला ? बाटोमा वस्तुले कुल्चेर मरेँ भने नि पढ्नुको साटो !’
तर आमा मान्न तयार हुनुहुन्न । अझै कठोर भएर भन्नुहुन्छ — ‘म केही जान्दिनँ, स्कूल जानै पर्छ । एक्लै हुँदैनस्, अरू विद्यार्थी पनि हुन्छन् ।’
‘अँ, म घस्रनेलाई पर्खिराख्लान् नि अरूले ! एकदिन हो र……..!’ मलाई भने अर्को ठूलो पिर टोक्ने कुकुरकै छ ।
‘त्यो सबै समस्या तेरो हो । कसरी साथी बनाएर तँलाई नछोड्ने बनाउँछस्, तँई जान् । मेरा लागि पढ्नै पर्छ ।’
मैले निकैबेर सोचेँ, सम्झेँ, उफ्रिएँ, कराएँ । अन्ततः भनेँ— ‘ठीकै छ म स्कूल जान्छु । तर मलाई खाजामा रोटी दिनुपर्छ ।’
‘खाजा त स्कूलमै दिन्छन् नि !’
‘मलाई घरकै रोटी मीठो लाग्छ क्या !’
म भोलिपल्ट— किताब, कापी, पेन्सिल, इरेजर र कन्तीमा कोदोको रोटीलाई डल्लो बनाएर, रुमालमा बाँधेर सर्टले छोपेर, पछाडिको ढाँडको कम्मरमाथि राखेर सर्टकै फेरले अगाडिको कम्मरमा बेस्सरी बाँधेँ । घुँडालाई पनि बाकुलो थाङ्ना बनाएर कसेँ, ढुङ्गाले नघोचोस् भनेर । हातमा टेकेँ बुबाको पुरानो हात्ती छाप चप्पललाई, कचियाँको टुप्पो तताई छिनेको फित्तालाई गाँसेर ।
चौतारोमा भेला भएका गाउँले विद्यार्थीले मलाई सँगै लिएर हिँडे । धेरैले किताबकपी बोकिदिने सहानुभूति देखाउनु भयो । म मानिनँ, मेरो समस्यासँग आफैँले हल गर्ने बानी बसाल्नु थियो ।
कुकुरले छोप्यो मलाई देख्नेबित्तिकै । हाफ्पेन्टको गोजीबाट अलग्गै ल्याएको रोटीको टुक्रो फ्याँकिदिएँ । पुच्छर हल्लाउँदै खायो र फेरि हेर्दै भुक्यो ।
स्कूलमा फुरुक्क थिएँ म । सर र अन्य साथीहरूले अनुहारभरि अबिर लगाइदिए फागु खेलेजस्तै । घाँटीभरि फूलमाला, तिहार आएजस्तै । थुप्रै थिए अहिलेका र पहिलेका विद्यार्थीहरू तर म सबैको आकर्षण थिएँ, छुट्टै थिएँ । सैकडौं नयनहरू मैतिर तेर्सिएका थिए । त्यहाँ विशेष भएछु म ।
त्यो दिनको लामो परिचयपश्चात एकक्षण पढाइ भयो । घर फर्कियौँ, तर मैले एक टुकडो रोटी उबार्न बिर्सेको थिइनँ, मलाई टोक्न खोज्ने कुकुरलाई दिनँ ।
स्कूल गएको रात ज्वरो नै फुट्लाजस्तो भयो घुँडो र हत्केला दुखेर । बाटाका चुच्चे ढुङ्गाहरू घुँडोमा गाडिन्दा मुटुमै झुवालो पुग्थ्यो । असह्य दुख्थे हातका पञ्जाहरू पनि । आमाले तेल दलेर हत्केलो आगामा रपाउँदै कति बेलासम्म सेकताप गर्नुभयो, भुसुक्कै निदाएछु ।
भोलिपल्ट परास्त छ हिम्मत । तर मैले अब आमाको सपना र स्कूलले दिएको सम्मानको अपमान गर्न किमार्थ हुन्न । हिजोजस्तै किताब र रोटी कसेँ कम्मरमा, सायद मेरो आवश्यक सामग्री बोक्ने शैली जीवनान्तसम्म यस्तै होला ।
स्कूल पुगेँ, हजारौँ पीडालाई दाँतले कम्टँदै । कक्षामा सबैले नमस्ते गरे । म उनन्चालीस जना मेरा कक्षाका विद्यार्थीको दाइ रहेछु । बालमैत्री के हो त्यहाँ अनुभव गरेँ । घरमै बुबासँग बाह्रखरी उतारेकाले, सजिलै लागे पाठ्यपुस्तकहरू ।
बिस्तारै हारे बाटाका चुच्चे ढुङ्गाहरू, मेरा जिराहा घुँडाका पाङ्ग्रा र हत्केलाहरूसँग । रोटीको प्रेमले मित्र बन्यो मलाई टोक्न खोज्ने कुकुर । जाँदा र फर्कँदा केही क्षणको सहयात्री भइदिन्छ ऊ । परैबाट देख्छु सद्भावको पुच्छर हल्लाइरहेको मलाई देखेर । अनि दगुर्दै आएर अलेख माया देखाउँछ ल्याबल्याब चाट्दै । मैले शिक्षा पाएँ मलाई झम्टने कुकुरबाट, कसैको नुन खाएपछि कस्तो हुनुपर्छ ।
यदाकदा एक्लै घिस्रिरहेको म उक्लो यात्रीलाई बगुन्द्रो भयले करप्प टोक्थ्यो कलेजो । स्याल, कुकुर, सर्प, दिमाग खुस्केको मान्छे आदिका के भर ? कसरी प्रस्तुत हुन्छन् । अर्को साथी, गोजीमा रिट्ठाका दाना हुन्थे । रिट्ठाको दाना फिरफिर बजाउँदै हिँड्दा गाई, भैंसीबाट जोगिने मौका पाउँथेँ । हली या गोठालाले थाहा पाउँथे, बुद्धे बाटामा रहेछ भन्ने ।
===
एसइई परीक्षाको राम्रो नतिजापछि उच्च शिक्षाको यात्रा निकै कठिङग्य्राउने थियो र पनि मेरी आमाले जोरी खोज्ने समस्यासँग पौँठी खेल्दै शहर झार्नुभयो मलाई ।
भित्री मधेसको भावर क्षेत्र, उखुमको ताण्डव रहे पनि , मेरो सुस्त सरिसृप यात्रा सहज बनेको थियो पहाडमा भन्दा । मैले बसपार्क छेउको स्पानर बोक्ने मिस्त्री दाइसँग अनुनय गरेँ, दुइटा घुँडामा ठीक्क हुने टायरका टुक्रा र थोत्रा सिटको फोम । त्यो लगाएर घस्रन्दै तेर्सो हिँड्दा सहज भएर जीवन परिवर्तन भएजस्तै लाग्यो ।
प्राथमिक तहबाटै गहिरो मित्रता गाँसिएको यायावर, मेरा अँध्यारो यात्राहरूमा राँको देखाउने, यहाँसम्म सँगै छौँ । उसको बुबाले उसलाई साइकल किनिदिएपछि मेरो पनि जीवनको परिभाषा फेरियो । अरू साथीले उचालेर यायावरको साइकलको पछाडिको सिटमा बसाइदिन्थे, म यायावरको कम्मर समातेर बस्थेँ । आहा, त्यो घिस्रन नपर्ने यात्रा । अब बाँच्न पनि मजै हुने रहेछ भन्ने अनुभूतिले च्वाप्प म्वाइँ खायो हृदयमा ।
भोगाइ पो परिभाषा रहेछ जीवन ।
अपाङ्ग छोरालाई आँखाभन्दा पर, धेरै दिन राख्ने हिम्मत भएन र गाउँ छोडेर शहर झर्नुभयो आमा, फर्कने सहमतिमा । पराई घरको जुठाभाडोसँग स्वच्छ पसीना छरेर जीवन बिसाउने आमाको उपाय पनि साफल्य नै रह्यो । घरपटीको उब्रेको भाततिहुनको मायाले हाम्रा दयनीय गोरेटोलाई फराकिलो पार्दै थियो ।
उच्च चेतनाको प्रतिफल र संघसंस्थाको मायाले हामी दैवद्वारा ठगिएका मान्छेलाई सहारा भएर ह्विलचियर वितरण भयो । त्यो प्राप्तिले ताछिए, मेरा केही परनिर्भरता । साथीहरूसँग गफसफ गर्दै हिँड्ने भएँ । यसरी क्रमशः जीवन सकारात्मक भइरहेको घुम्तीमै जिल्ला अपाङ्ग संघको सचिव भएर मभन्दा अझै शारीरिक पीडितका हकहितका बारेमा सेवा गर्र्ने मौका पाएँ ।
थुप्रै पत्रकार साथीले मेरा परिस्थितिलाई भिडियो बनाएर धेरै परपर पुर्याइसक्नु भएका थिए । त्यही भिडियो हेरेर एउटी समाजसेवी सुन्दर नारी हस्ताक्षरबाट प्रस्ताव आयो — ‘मलाई सहयात्री भएर तपाईंको सेवा गर्ने प्रबल इच्छा छ ।’
म सहारा खोजिरहेको अधुरो मान्छे, ‘हुन्छ’ लेखेर पठाइदिएँ मेसेन्जरमा ।
हाम्रा आन्तरिक सतभावको आदानप्रदान प्रक्रियाको समापन लगतै दाम्पत्य दाम्लोमा बाँधियाँै । उहाँकै आँट र भरोसाले यस्तो सम्बन्ध स्वीकारें । नत्र कसैको पति बनौँला भन्न,े सपना पनि थिएन मेरो ।
पश्चात — दिन परिवर्तनसँगै स्कुटी किनेर सिकेँ । अनि आमालाई घुमाएँ मठ, मन्दिर, चैते, गुम्बा, मस्जिद, गिर्जाघर । चोकचोकमा उभिएका महान् व्याक्तिहरूका प्रतिमा देखेर आमाले जीवन पार भएको अनुभूत ठ¥याउनुभयो मनको पटुकीमा ।
केही दिनपश्चात धुलाम्मे बाटो हुँदै गाउँ पुग्यौँ, मामाली गयौँ । पहिले म जन्मदा आमालाई कर्म खोटी भन्ने कामनाकारीहरू आज भाग्यमानी भन्दै ढाप मार्दै थिए । त्यो दिन देखेँ, आमाको अनुहार झुसी हाँसेका नेपाली हिमालहरू, भीर, छाँगा, अक्करहरू ।
तर ती बाँझिएको भस्मेभरि खोजेँ, एक्लै कोदालो खन्दै गरेको बुबालाई, जो म डाँडामा बसेर पर्खिरहन्थेँ । दुख त बुबाले रोप्नु भएको अग्लो पटमेरोमा बसेर एक्ले ढुकुर मात्रै कराइरहेको थियो ।
आमाको अनुहारमा जस्तै बुबाको हर्ष पनि देख्न पाए कति सार्थक हुन्थ्यो यतिबेला मेरो जीवन ।
जागिर पनि भयो । अब भत्ताको मात्रै आस गर्नु परेन । श्रीमतीको मात्रै घर धान्ने धपेडी अलिकति लाछिएको थियो ।
श्रापित सोचेको जीवन, उमङ्गको घोडा बनेर टाप बजाउदै दौडिरहेको छ ।
अझै खुसी थपियो श्रीमतीले काटीकुटी मेरो प्रतिलिपि छोरी जन्माएपछि । त्यो दिनदेखि मेटियो ‘घस्रिरहेको म एक्लो यात्री’ को शीर्षक । गुनगुनाउन थालेँ खुसी नै खुसीे भरिएको लोकभाका ।
जीवनमा अभिशून्य समय पनि आउँदोे रहेछ ।
तर यो खुशीको हाम्रा पलमा आमाको सहभागिता समावेश हुन सकेन । कारण दुखै दुखको यात्रामा आमाको देहावसानले नमेटिने शोक थपेको थियो । यदि यतिबेला आमालाई तपाईंकी नातिनी तपाईंजस्तै भन्दै देखाउन पाए…।
‘सर पानी रह्यो ।’ कार्यालय बन्द गरेर ओर्लेको सुरक्षा कर्मी बोल्दा पो झसङ्ग भएँ । ‘कति गहिरो अतीतमा डुबेछु’ मन बर्बरायो ।
‘ओके भाइ !’ भन्दै बाटो लागेँ ।
कोरोना महामारीको भयावह परिस्थितिले गर्दा जोर-बिजोर चलाउने आदेश भएको छ सरकारबाट । आज बिजोर चलाउने दिन हुनाले त्यति घुइँचो छैन सडकमा । दौडिरहेकैछ मेरो थ्रिह्विलर । र पनि अरू यात्रीभन्दा निकैपछि छु, घस्रिरहेको मेरो अतीतझैँ ।
कोठामा पुगेर हेरेँ श्रीमती आइपुग्नु भएको छैन । आज नानीको स्कूलबाट अलिक ढिलो बिदा भएकाले होला ।
ह्विलचियरमा बसेर बिहान चिया खाका कपहरू मस्काउन थालेँ । श्रीमती र मैले कार्य विभाजन गरेका छौँ, शारीरिक सहजताअनुरूप । बाहिरको सबै र भित्रको कोठा पुच्छने, लुगा धुने हामी बाउछोरीलाई, नुहाइदिने काम उहाँको जिम्मामा छ । मेरो खाना बनाउने, सब्जी काट्ने, छोरीलाई होमवर्क गराउने र स्कूल पुर्याउने अभिभारा छ ।
आज यहाँ आइपुगेर भोगाइलाई सर्वेक्षण गर्छु मेरो अतीतको शीर्षक पूर्णतः मेटिएको छ , आमा र श्रीमतीको उच्च सहाराले ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।