(बालखिल्यहरूको यो कथा सबैभन्दा पहिले ऋषि कश्यपले यज्ञबाट उत्पन्न आफ्ना छोरा गरुडलाई सुनाएका थिए । यो कथामा ऋषिले आफ्नो पुत्रेष्टि यज्ञ र यससँग जोडिएको गरुडकै उत्पत्तिको कथा पनि वर्णन गरेका थिए । कथाको पृष्ठभूमि के थियो भने गरुडले नागहरूको सल्लाहअनुसार स्वर्गबाट अमृत ल्याएर आमा विनतालाई दासत्वबाट मुक्त गराएका थिए । स्वर्गबाट अमृत लिएर आउने कार्य सहज थिएन । यो कठिन कार्यपश्चात् गरुड अत्यन्तै भोकाएका थिए । यही भोकको निदानका सन्दर्भमा कश्यपले गरुडलाई यो कुरा बताएका हुन् ।)
कथाअनुसार- ऋषि कश्यपले दक्ष प्रजापतिका दुई छोरीहरू विनता र कद्रुसँग विवाह गरेका थिए । एकपटक ऋषिले दुवै पत्नीहरूलाई वर माग भने । दोस्री पत्नी कद्रुले अत्यन्तै पराक्रमी नागपुत्र मागिन् । प्रथम पत्नी विनताले कद्रुका भन्दा शक्तिशाली दुई पुत्र मागिन् । उनीहरूको मागअनुसार दुवैलाई दुई-दुईवटा अण्डाहरू प्राप्त भए । ५०० वर्षपछि दोस्री पत्नी कद्रुका अण्डाबाट पुत्रका रूपमा नाग प्रकट भए ।
यता विनताको भने त्यति नै समयमा पनि बच्चा जन्मिरहेको थिएन । कद्रुको पुत्र जन्मिसक्दा आफ्नो पुत्र नजन्मिएकोले विनतालाई ईर्ष्या भयो । उनले आफैँले आफ्नो एक अण्डा बलजफती फुटाइन् । त्यस अण्डाबाट शरीरको माथिल्लो भाग बनिसकेको तर तल्लो भाग विकसित नभएको अर्ध शरीरको अपाङ्ग बालक निस्कियो । त्यस बालकले आफ्नी आमा विनतालाई समयभन्दा अगाडि अण्डा फुटाएर आफूलाई अर्ध शरीरको बनाएको आक्रोशमा श्राप दिँदै भन्यो, “तपाईंले ५०० वर्षसम्म कद्रुकी दासी बनेर रहनुपरोस् । यदि तपाईंले दोस्रो अण्डा पूर्णकालसम्म फोर्नुभएन भने एउटा पूर्ण विकसित बालक जन्मनेछ । त्यसैले तपाईंलाई दासत्वबाट पनि मुक्त गर्नेछ ।”
दुई पुत्रको कामना गरेकी विनताको आफ्नै कुबुद्धिले पहिलो तर अपाङ्ग बालक जन्म्यो । त्यस अपाङ्ग बालकको नाम अरुण रहन गयो । अरुण पछि सूर्य भगवानकाे सारथी बने । अरुणले दिएको श्रापको कारण विनता कद्रुकी दासी भइन् । साथसाथै उनी दोस्रो पुत्र जन्मने प्रतीक्षामा बसिन् ।
विनताले दोस्रो अण्डालाई अरुणले भने जस्तै पूर्णकाल राखिन् । दोस्रो पुत्र जन्मने समय पुगे पनि ढिला भएकोले कश्यपले पुत्रेष्टि यज्ञ गरे । यही यज्ञमा भाग लिन आएका बालखिल्य र इन्द्रका बीचमा विवाद उत्पन्न भयो । विवादको समाधान कसरी भयो ? भन्ने कुरा तल आउनेछ । त्यसपछि बालखिल्यको वरदान र कश्यप ऋषिको पुत्रेष्टी यज्ञबाट गुरुडको जन्म भयो जो पंक्षीका राजा इन्द्र बनेर आकाशमा उडे ।
विनताका पुत्र गरुड ठूला भए, अधिक शक्तिशाली र अत्यन्तै तेज गतिमा उड्न सक्ने पंक्षीराज थिए । उनलाई आफ्नी माता विनता कान्छी आमा कद्रुकी दासी बनेर बस्नुपरेको तथ्य र कारण अवगत थियो । एक दिन गरुड र कान्छीआमा कद्रुका पुत्र नागसँग आफ्नी आमा विनताको दासत्व मुक्तिको कुरा गर्दै थिए । गरुडले नाग दाजुलाई सोधे, “हे भ्राता ! के गर्दा आफ्नी माता विनता दासत्वबाट मुक्त हुनेछिन् ?” भाइ नागले भने, “गरुड भाइ ! स्वर्गबाट अमृत ल्याएर माता विनतालाई दिइयो भने उनी दासत्वबाट मुक्ति हुनेछिन् ।”
त्यसपछि गरुड तत्काल अमृतको खोजमा स्वर्गतिर लागे । स्वर्गमा त्यो अमृत पाउन सजिलो थिएन । उनले त्यहाँ सबै देवताहरूलाई युद्धमा पराजित गरेर अमृत राखेको ठाउँसम्म पुगे । अमृत कस्तो ठाउँमा थियो भने अमृतघडाको वरिपरि धारिलो चक्र रात-दिन घुमेर सुरक्षा दिइरहेको थियो । अत्यन्तै सूक्ष्म रूप धारण गरी गरुडले चक्रघेरा पार गरे । त्यसपछि अर्को भित्री घेरामा दुई विषालु सर्पहरूले पहरा दिइरहेका थिए । गरुडले ती दुवै सर्पलाई मारे । अब उनी घडा भएको स्थानमा पुगे । घडा उठाएर गरुड त्यहाँबाट आकाशमार्ग हुँदै वेगसँग उडे ।
गरुडले अमृत लिएर उडेको दृश्य विष्णुले देखे । उनी आश्चर्यमा परे किनभने गरुड स्वयम् त्यो अमृत पिएर अमर हुन सक्थे तर उनले त्यसो गरेनन् । गरुडको त्यस्तो निष्काम चरित्र देखेर विष्णुले उनलाई रोकेर वरदान दिए, “हे गरुड, तिमी अमृत नपिए पनि अमर हुनेछौ । तिमीलाई मेरो रथको ध्वजामा स्थान प्रदान गरेको छु ।” विष्णुको त्यस्तो वरदान सुनेर गरुडले विष्णुको वाहन बन्न सहर्ष स्वीकार गरे । त्यही बेलादेखि गरुड विष्णुका वाहनको रूपमा परिचित छन् ।
गरुड अमृत लिएर अगाडि बढे । बाटोमा इन्द्रसँग भेट भयो । इन्द्रले त्यो अमृतघडाको बारेमा सोधेपछि गरुडले आफ्ना दाइ नागको सल्लाहले आफ्नी मातालाई दासत्वबाट मुक्तिका लागि लगिरहेको बताए । इन्द्रले भने, “यदि यो अमृत नागहरूले पिए भने उनीहरू अमर हुनेछन् र तीनै लोकमा सर्पहरूको राज्य हुनेछ । त्यसले सबैको अहित हुनेछ । तसर्थ, यो अमृत यहीँ छोडेर जाऊ ।” इन्द्रको यस्तो कुरा सुनेर गरुडले भने, “म यो अमृतघडा मेरी मातालाई खान दिई कुशको आसनमा राख्नेछु । त्यसपछि तपाईंले त्यहीँबाट उठाएर लैजानू ।”
त्यसपछि गरुड अमृत लिएर पृथ्वीलोकमा आइपुगे । गरुडले दाजु नागराजलाई अमृत ल्याएको जानकारी दिए र भने, “नाग दाइ, अब माता विनतालाई दासत्वबाट मुक्ति गरिदिनुहोस् ।” गरुडको कुरा सुनी नागले भने, “आफ्नी मातालाई अमृत पिलाउनू, म स्नान गरी आउँछु ।” गरुडले मातालाई अमृत पिलाए । अमृतको प्रभावले विनता दासत्वबाट मुक्त भइन् । गरुडले अमृतघडा कुशको आसनमा राखे । नाग स्नान गरी फर्कँदा इन्द्रले अमृतको घडा उठाई अलप भइसकेका थिए ।
नागले अमृत राखिएको कुशको आसन जिब्रोले चाटे । कुशको धागोले नागको जिब्रो दुई चिरामा विभाजन गरिदियो । त्यसै बेलादेखि, सर्पका दुई जिब्रा हुन थालेका हुन् ।
स्वर्गबाट देवताहरूसँग युद्ध गरी अमृत ल्याउँदा गरुड अत्यन्तै भोकाएका थिए । उनको भोजनको लागि पिता कश्यपले उपाय दिए, “आफ्नो निवासको अगाडि पहाडको फेदीमा एउटा हात्ती र कछुवा बस्दछन् । तिनीहरूलाई नै भोजन बनाउनू ।” पिताको आज्ञापछि पंक्षीराज गरुडले त्यो हात्ती र कछुवालाई दुई खुट्टामा च्यापी उडाए तर ती जनावरलाई कहाँ राखेर खाने भन्ने समस्या थियो । कश्यपले त्यसको पनि उपाय बताए, “त्यो पहाडको उत्तरतर्फ एउटा विशाल वृक्ष छ । त्यसको हाँगामा राखेर भोजन गर्नू, तर हेक्का रहोस् ! त्यस वृक्षको हाँगामा बालखिल्य ऋषिहरू तप गरी बस्दछन् । उनीहरूलाई कुनै किसिमको आघात पुग्नुहुँदैन ।”
गरुडले त्यसै गरे तर त्यस वृक्षको हाँगामा त्यति ठूला जनावर राखी भोजन गर्न लाग्दा रुखको हाँगा नै लच्किएर भाँचिएला जस्तो भयो । कश्यप ऋषिले भनेअनुसार त्यहीँ हाँगामा बसेर तप गरिरहेका ६० हजार बालखिल्यहरू आक्रोशित भए र गरुडलाई दण्डस्वरूप श्राप दिन तयार भए । गरुडले उनीहरूसँग तत्कालै माफी मागी श्राप नदिन अनुरोध गर्दै त्यहाँबाट स्थानान्तर भई पहाडको टुप्पोमा गई भोजन गरे ।
भोजनपश्चात् गरुड फर्केर आए र पिता कश्यपसँग रुखका हाँगामा तपस्यारत बालखिल्य ऋषिका बारे सोधे । पुत्र गरुडको त्यही प्रश्नको उत्तर दिने क्रममा पिता ऋषि कश्यपले आफ्ना काका क्रतुका छोरा बालखिल्य, उनीहरूको इन्द्रसँगको विवाद, विवादपछिको सम्झौता, पुत्रेष्टि यज्ञ र गरुडको जन्मकथा सुनाए ।
******
कश्यप ऋषिले भने, “हे पुत्र गरुड ! बालखिल्यहरू मेरा पिता मरीचिका भाइ क्रतुका छोरा हुन् । मैले तिम्रो जन्मको लागि पुत्रेष्टि यज्ञ गर्दा बालखिल्यले उनको आधा तपस्या दान गरी आशीर्वाद प्रदान गरेकै कारणले यज्ञबाट तिम्रो जन्म भएको हो ।
“हे गरुड ! बालखिल्यका पिताको नाम ऋषि क्रतु हो भने माताको नाम सन्नाति हो । सन्नाति दक्ष प्रजापतिकी र उनकी पत्नी क्रियाकी छोरी हुन् । ऋषि क्रतु र सन्नातिका सन्तानका रूपमा ६० हजार छोराहरूले जन्म लिए । क्रतु ऋषिका यी ६० हजार छोराहरूलाई नै बालखिल्य भनिन्छ । तसर्थ, बालखिल्यहरू दक्षप्रजापतिका छोरीपट्टिका नातिहरू एवम् क्रतु र सन्नातिका छोराहरू हुन् । ऋषि क्रतु मेरा पिताका भाइ अर्थात् काका भएकाले यिनीहरू मेरा पनि भाइ हुन् । तसर्थ, नाताले बालखिल्य तिम्रा काका पर्दछन् । बालखिल्यहरू ६० हजारको सङ्ख्यामा भएका र आकारमा मानिसका औँला जत्रा भएकाले सङ्ख्या र आकारका आधारमा यिनीहरूको विशेष चर्चा हुन्छ ।”
ऋषि कश्यपले अगाडि भने, “बालखिल्यहरू साना आकारका भए पनि यिनीहरू ठूला तपस्वी हुन् । यिनीहरूको तपस्याको राप र तापको प्रभाव ठूलो महत्व छ । यिनीहरू सूर्य भगवान्का रथमा विवस्वानसँगै बस्दछन् । विवस्वान सूर्यको रथका सारथी हुन् । बालखिल्यहरू सूर्यतर्फ मुख फर्काएर सूर्यको उपासना गर्दछन् । सूर्यको महिमा र प्रशंसा गर्दै सूर्यको भजन गाउँछन् । यिनीहरू सदैव तपस्यारत हुन्छन् र तपस्याबाट प्राप्त फल सूर्य भगवान्मा अर्पण गर्दछन् । बालखिल्यहरूबाट सूर्यले पनि रात, ताप र प्रकाश प्राप्त गर्दछन् ।”
अब म तिम्रो जन्मको कथा भन्छु सुन । एकपटकको कुरा हो, तिम्री आमाको ५०० वर्षको गर्भ-समय पूणर् भए पनि समय अधिक लम्बिएपछि मैले तिम्रो जन्मको लागि एउटा ठूलो पुत्रेष्टि यज्ञ गरिरहेको थिएँ । यज्ञमा काका ऋषि क्रतुलाई ब्रह्माको स्थानमा राखेको थिएँ । यज्ञमा मैले अदितिपट्टिका पुत्र इन्द्रलगायत सबै देवता र क्रतुका पुत्र बालखिल्यहरूलाई सहयोगीका रूपमा निम्ता गरेको थिएँ । यज्ञ चालु भइरहेको बेला देवराज इन्द्र र बालखिल्यहरूलाई यज्ञमा अग्नि उत्पन्न गर्नका लागि समिधा ल्याउने काम सुम्पिएँ ।
देवराज इन्द्र आफैँ शक्तिशाली र बलवान राजा थिए । उनका लागि समिधाको जोहो गर्नु कुनै ठूलो कुरा थिएन । उनले यज्ञमा समिधाको ठूलो थाक नै लगाइदिए । तर उता बालखिल्यहरूलाई त्यहीँ समिधा जम्मा गर्नु निकै चुनौतीपूर्ण काम भयो । उनीहरू आफैँ औँला जत्रा आकारका भएकाले उनीहरूले पलाशको फूलको एउटा हाँगो पनि अत्यन्तै कठिन साथ ल्याइरहेका थिए ।
बालखिल्यहरूले ल्याउँदै गरेको पलाँसको हाँगाको टुक्रा समिधा भन्न पनि नमिल्ने खालको थियो । यो देखेर इन्द्र खिसीट्यरी गरी हाँस्न थाले । यसले बालखिल्यहरूलाई अपमानबोध भयो । उनीहरू इन्द्रसँग नराम्रोसँग चिढिए । बालखिल्य र इन्द्रकाबीचमा यसै विषयलाई लिएर ठूलो विवाद पनि भयो ।
बालखिल्यहरूले इन्द्रको सेखी झार्न तुरुन्तै उसै यज्ञस्थल छेउमा झन् शक्तिशाली इन्द्रको उत्पन्न गर्ने उद्देश्यले दिनहुँ यज्ञ गर्न थाले । बालखिल्यहरूले विधिपूर्वक गरेको यस्तो यज्ञ-कर्म देखी इन्द्रले रिसाएर मलाई लिएर बालखिल्यहरूको यज्ञस्थलमा पुगे र भन्न थाले, “हे पिता ऋषि कश्यप ! यी बालखिल्यहरूले गलत उद्देश्यका लागि यज्ञ गरिरहेका छन् । यो यज्ञ तत्काल स्थगित गर्नका लागि दबाब दिनुहोस् ।” मैले इन्द्रको कुरा सुनी कडाइका साथ इन्द्रलाई नै भनेँ, “हे देवेन्द्र, गल्ती तिमीबाट सुरु भएको छ । अब उप्रान्त यस्तो घमण्ड कहिल्यै नगर्नू र अरूलाई अपमान हुने काम पनि नगर्नू । यो तिमीलाई चेतावनी हो । तिमीले आफ्नो मर्यादा कायम नराखे अरूले मात्र राखिदिनेछैनन् ।”
मैले यति भनेपछि इन्द्रलाई आफ्नो गल्तीको महसुस भयो । मैले त्यसपछि बालखिल्यलाई भनेँ, “हे भ्राता बालखिल्य मुनिहरू हो ! अब आइन्दा इन्द्रले तिमीहरूको यस्तो अपमान गर्ने कार्य गर्ने छैनन् । इन्द्रको गल्तीलाई माफ गरिदिनू । मेरो छोरोबाट अपराध भएको छ । उनलाई अज्ञानी ठानी माफ गर । उनले पनि आफ्नो गल्ती मानिसकेका छन् । इन्द्र तिमीहरूको पनि पुत्र हो । फेरि मैले गरेको यज्ञबाट उत्पन्न हुने मेरो छोरो तिमीहरूसँग क्रोधित भयो भने यसले ठूलो दुष्परिणाम निम्त्याउनेछ । तसर्थ, इन्द्रलाई माफ गर ।” भनी सम्झाइ-बुझाइ गरेँ । मेरो अनुरोधपछि काका क्रतुले पनि आफ्ना पुत्र बालखिल्यलाई इन्द्रको अपराध माफी गरिदिनू भनी सम्झाए । इन्द्रले पनि बालखिल्यसँग माफी मागे । इन्द्रले मागेको माफी, पिता क्रतु र मेरो अनुरोधपछि बालखिल्यले इन्द्रलाई माफ गरिदिए । यसरी मैले इन्द्र र बालखिल्यहरूका बीचमा हुन लागेको द्वन्द्वलाई सन्धि गराएँ ।
इन्द्र र बालखिल्यको सन्धि त भयो तर बालखिल्यहरूको तपस्या निष्फल भएन । बालखिल्यले मलाई भने, “हे भ्राता ऋषि कश्यप ! हामीले इन्द्रको अपराधलाई माफी गरिदियौँ । तथापि हामी ऋषिहरूको यो तपस्या निष्फल हुनेछैन । तिमी पनि पुत्रलाभको यज्ञ गरिरहेका छौ । हाम्रो कामनाबाट तिम्रो एउटा यस्तो शक्तिशाली पुत्र जन्मनेछ जो पंक्षीहरूको राजा इन्द्र हुनेछ । सारा संसारमा उसको पूजा हुनेछ ।” बालखिल्यले दिएको यही वरदानले यज्ञबाट अत्यन्तै पराक्रमी गरुडको रूपमा तिम्रो जन्म भयो । त्यसपछि तिमी पंक्षीहरूका राजा इन्द्र गरुडका रूपमा संसारभर प्रसिद्ध भयौ ।”
आफ्ना पिताबाट आफ्नो उत्पत्तिको बयान सुनेर गरुडले पिता कश्यप एवम् बालखिल्यलाई प्रणाम गरे ।
अहिले पनि यी बालखिल्यहरू आफ्नो राप, ताप र तपस्याको फल सूर्यलाई प्रदान गर्दछन् । त्यहीँ ऊर्जा सूर्यबाट पृथ्वीमा ऋषिलगायत मनुष्य जातिलाई प्राप्त हुन्छ । साथै, बालखिल्यले सूर्यबाट निस्कने पराबैजनी रङका किरणहरूलाई पृथ्वीमा आउनबाट रोकेर हामी सम्पूर्ण धरावासीको रक्षा गर्दछन् ।”
(द्रष्टव्य: आधुनिक वैज्ञानिक भाषामा भनिएको पृथ्वीको वायुमण्डलको बाहिरी वरिपरिको सतहमा रहेको ओजोन तह नै बालखिल्य ऋषिहरूको रूप हो जसले सूर्यका “अल्ट्रा भायोलेट रे”हरूलाई पृथ्वीमा आउनबाट रोकेर प्राणी तथा वनस्पतिहरूको रक्षा गरिरहेका छन् ।)
रिचमण्ड, भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










