
हिजोआज इन्दिराप्रति बबिताको ईर्ष्या बढिरहेको थियो । बबिताको श्रीमान् हरिशले मौका पायो कि प्रायः इन्दिरालाई हेरिरहन्थ्यो, जसका कारण उनी मनमनै इन्दिरासँग ईर्ष्या गर्न थालेकी थिइन् र बोल्न पनि छाडेकी थिइन् । हरेक दिन यही समयमा कामबाट फर्कने गर्दथिन् । उनको छोराछोरी त्यही खेलिरहेको भेटिन्थे । लोग्ने पुष्करले आज छोराछोरीलाई आमाको घरमा छाडेर काममा गएको होला जस्तो लाग्यो । उनी उठिन् र घरबाट एक फर्लाङ टाढा रहेको आफ्नी आमाको घरतिर लागिन् । त्यहाँ पुग्दा आमा पनि अझै कामबाट फर्केको थिइनन् । उनको घरमा पनि ताल्चा झुन्डिएको थियो । निराश भएर फर्केर घरको अगाडि भुइँमा थचक्क बसेर श्रीमान् र छोराछोरीलाई पर्खिरहेकी थिइन् ।
उनी सधैँ सखारै उठ्छिन् । घरायसी काम सकेर श्रीमान् र छोराछोरीका लागि पकाएर काममा जान्थिन् । श्रीमान् र छोराछोरी ढिलो उठ्ने गर्थे । बच्चाहरूलाई खुवाएपछि पुष्करले उनीहरूलाई खेल्न छोडेर काममा लाग्थ्यो । दिउँसो फर्कँदा घरमा छोराछोरी टोलका केटाकेटीसँग खेलिरहेको भेटिन्थ्यो । आज पहिलोपटक इन्दिराले घरको ढोका बन्द भेटिन् र छोराछोरीहरू पनि भेटिएनन् । छिमेकीलाई सोधपुछ गर्दा कसैले पनि पुष्कर र बच्चाहरूलाई आज दिनभर नदेखेको कुरा बताए । पुष्कर बच्चाहरू लिएर बिहानै कतै गएको जस्तो लाग्यो । इन्दिरा दुई घण्टादेखि बाहिर बसिरहेकी थिइन् । उनी रुन थालिन् । वरिपरि महिला र बालबालिकाहरूको भिड जम्मा हुन थाल्यो ।
उनको छिमेकी बबिता ईर्ष्याले कुरा गर्दैन थिइन्, तैपनि इन्दिराको दयनीय अवस्था देखेर बबितालाई पनि दया लाग्यो । उसले घरभित्र आएर केही खाएर आराम गर्न भन्यो तर इन्दिरा मानिन् । रुँदै पुष्कर र छोराछोरीलाई नदेखेसम्म कतै पनि नजाने र केही पनि नखाने भनिन् ।
बबिताको श्रीमान् हरिशले प्रायः इन्दिरालाई हेरिरहन्थ्यो । त्यसैले बबिता उनीसँग ईर्ष्या गर्थिन् र बोल्दैन थिइन् । हरिशमात्र होइन, इन्दिरा टोलका सबै पुरुषको आकर्षणको केन्द्र थिइन् । उनी धनी परिवारमा काम गर्थिन् । काम गर्न जाने ठाउँका धनी महिलाहरूले खुसी भएर इन्दिरालाई आफ्ना पुराना सारीहरू दिन्थे । इन्दिरा जर्जेट, सिल्क, शिफन, टसर र नायलनका सारी लगाएर बाहिर निस्कँदा टोलका महिलाहरूले ईर्ष्या गर्थे र पुरुषहरू सुस्केरा हाल्न थाल्थे । सबै पुरुषले उसलाई पाउन चाहन्थे, उनीसँग कुरा गर्न लालायित हुन्थे ।
साँझ पर्न थालेको थियो । काममा गएका टोलका पुरुषहरू बिस्तारै कामबाट फर्कन थालेका थिए । उनीहरू सबैले पुष्कर र बच्चाहरूलाई खोज्न थाले । वास्तवमा उनीहरूमा पुष्कर र बच्चाहरूलाई खोज्नुभन्दा पनि इन्दिराको कृपादृष्टि पाउने चाहना थियो । पुष्कर र छोराछोरी कतै भेटिएनन् । सबैले सोचे – उनीहरू नजिकैको गाउँमा आफ्ना आमाबुबाकहाँ गएका हुन सक्छन् । यो सोच्नेबित्तिकै भट्टी पसले रामलाल इन्दिरालाई सहयोग गर्न अगाडि सर्यो । त्यस टोलमा सबै पुरुषसँग सवारीसाधनको नाममा पुरानो जिर्ण साइकल मात्रै थियो । रामलाल पैसावाल व्यक्ति थिए जससँग पुरानो एउटा भटभटे थियो । रामलाल अर्का युवकलाई पछाडि बसाएर पुष्करलाई खोज्न नजिकैको गाउँतर्फ लाग्यो ।
===
इन्दिराको घरमा रामलाल मात्रै आउने जाने गर्थ्यो । पुष्कर मदिरा पिएर जब उसको पसलमा लठ्ठिएर बस्थ्यो मोटरसाइकलमा बोकेर घरमा पुर्याउन आउने गर्थ्यो । हरेक रात यस्तै हुन्थ्यो । पुष्करसँग उसको कुनै आत्मीयता थिएन । पुष्करलाई पुर्याउने बहानामा इन्दिराको छेउमा बसेर राति अबेरसम्म कुरा गर्ने मौका मिलाउन उसले यस्तो गर्थ्यो । रक्सीको नशा हटेपछि पुष्कर मध्यरातमा इन्दिरालाई उठाएर खाना माग्थ्यो । एकछिन ढिलो भएमा इन्दिरालाई पिट्ने गर्थ्यो । रातको समयमा इन्दिराको पीडादायी चित्कार सुनेर पनि छिमेकका मान्छेले के गर्थे ! याे उनीहरूका लागि लोग्ने–स्वास्नीबिचको कुरा थियो ।
गोधूलि गहिरिन थालेको थियो । रामलाल फर्किसकेको थियो तर पुष्कर र छोराछोरी फर्किएका थिएनन् । ढोकामा ताला लगाएर कहाँ गएको होला ? – सबै जना यो रहस्य सुल्झाउन व्यस्त थिए । कसैले घरभित्रबाट बच्चाहरूको मसिनो रुवाइ सुने । सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । दुईजना बलिया युवाहरूले ढोका खोलिदिए । भित्रको दृश्य हृदयविदारक थियो । पुष्करको शरीर काठको बलोमा झुण्डिएको अवस्थामा थियो । घाँटीमा इन्दिराको नायलनको साडी बाँधिएको थियो । हाे, उसको मृत्यू भइसकेको थियो । छोराछोरीहरू डरले रोइरहेका थिए । यो दृष्य देखेर इन्दिरा भुइँमा लडेर बेहोस भइन् । महिलाहरूले उनीमाथि पानी खन्याए । होसमा आएपछि बच्चाहरूलाई अँगालो हालेर चर्को स्वरले रुन थालिन् ।
भीडबाट कसैले प्रहरीलाई खबर गर्यो । प्रहरीहरू आएलगत्तै अनुसन्धान थालेका थिए । पुष्करले मदिरा सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्थ्यो । कोठामा भएको एउटै झ्याल पनि भित्रबाट बन्द थियो । पुष्करको नराम्रो बानीले टोलवासी हैरान थिए । सबैले उसैको विरुद्धमा बयान दिए । कसैमाथि पनि शङ्का थिएन । पुष्करले बाहिरबाट ताला लगाएको र झ्यालबाट भित्र प्रवेश गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । उसले भित्रबाट झ्याल बन्द गरेर आत्महत्या गरेको हो । उसले बालबालिकालाई मार्ने प्रयाससमेत गरेको थियो । भाँडामा बाँकी रहेको दालभातको जाँच गर्दा त्यसमा अफिम मिसाइएको पाइएको थियो । मात्रा थोरै भएकाले बालबालिकाको ज्यान जोगिएको थियो ।
आत्महत्याको कारण कसैले बुझ्न सकेको थिएन । मदिरा दुर्व्यसनीले यस्तो सुनियोजित काम गर्छ भन्ने कुरा प्रहरीले पनि स्वीकार गर्न सकेको थिएन । छोराछोरीले पनि केही भन्न सकेनन् । धेरै दिनको गहन सोधपुछ र अनुसन्धानपछि पनि प्रहरीले कुनै सुराक फेला पार्न सकेको थिएन । सबैको भनाइ उस्तै थियो र मृत्यूको कारण पुष्करतर्फ मात्रै औंल्याइएको थियो । यो गरिब बस्तीमा मदिरा दुर्व्यसनीको मृत्यु भएपछि प्रहरीले पनि त्यति चिन्ता लिनु पर्ने आवश्यकता ठानेन र आत्महत्याको मुद्दा दर्ता गरी फाइल बन्द गरिदियो ।
===
इन्दिरा सुलोचना म्याडमको घरमा काम गर्थिन् । पुष्करको मृत्युको बारेमा घरका अन्य नोकरहरूबाट थाहा पाएपछि, इन्दिराको घरमा एक्लै बढी आउने गरेको भट्टी पसलका मालिक रामलालमाथि शङ्का गरिन् । तर उनले यस विषयमा बढी चासो दिनु उचित ठानिनन् । पुष्करको मृत्यु भएको एक महिनापछि रामलालले इन्दिरालाई श्रीमती बनायो । एक दिन इन्दिरा सजिएर नयाँ चुराहरू हातमा बजाउँदै काममा आइन् र सुलोचना म्याडमलाई आफ्नो विवाहको बारेमा जानकारी दिइन् । यो सुनेर सुलोचना म्याडम क्रोधित भइन् र भनिन्, “हे मुर्ख ! तिमी त दैनिक झगडाबाट मुक्त भएकी थियौ । आफ्नो श्रीमान्को हत्या गर्ने मान्छेसँगै फेरि किन नर्क जानु परेको ?”
अनयासै उनले आफ्नो मनमा लुकेको शङ्का प्रकट गरिन् । तर शान्त हुँदै इन्दिराले भनिन्, “हामी आफ्नै पुरुषबाट पिटिनु पनि पिटाइ हो र ? जहाँसम्म विवाहको विषय छ, टोलमा सबैको कुदृष्टिहरूबाट बँच्न मैले एउटाको सहारा लिनु जरुरी थियो । तपाईँलाई के थाहा ? एउटी महिलालाई एक्लै बस्न कति सकस हुन्छ । घरमा लोग्ने नभएपछि टोलका बदमासहरूले राति रक्सी पिएर मेरो ढोका ढकढक्याउँथे । राति राम्ररी सुत्न पनि पाइन्नथ्यो ।”
रामलालमाथि लगाएको हत्याको आरोप सुनेर पनि इन्दिराले कुनै प्रतिक्रिया नदिएकोमा सुलोचना म्याडमलाई अलि अनौठो लाग्यो ।
एक वर्ष बितिसकेको थियो । इन्दिरा गर्भवती भएकी थिइन् । सुत्केरीका लागि अस्पताल जानुअघि उनले घर र बच्चाको हेरचाह गर्न कान्छी बहिनी जमुनालाई बोलाएकी थिइन् । नवजात छोरालाई लिएर अस्पतालबाट घर फर्किदा रामलालले उनको अनुपस्थितिमा बहिनीलाई श्रीमती बनाएको देखेर उनी छक्क परिन् ।
आक्रोशित इन्दिराले जमुनाको कपाल समातेर बाहिर निकालिन् । रामलाललाई त मात्र जमुनाको जवानीको नशाले लठ्ठाएको थियो । उसले आफ्नी नयाँ पत्नीको अपमान सहन सकेन । उसले कुनामा भएको लठ्ठी उठायो र इन्दिरालाई कुट्न थाल्यो । लठ्ठीको प्रहारले हड्डीभित्रसम्म गहिरो चोट पुर्यायो । इन्दिरा बेहोस भइन् र लडिन् । खुट्टाबाट बगिरहेको रगतको धारा र रोइरहेको नवजात शिशुलाई देखेर रामलाललाई पश्चाताप भयो ।
हल्ला सुनेर सबै छिमेकीहरू जम्मा भए । इन्दिरा केही समयअघि जुन अस्पतालबाट फर्किएकी थिइन्, फेरि त्यहीँ भर्ना भइन् । रामलालले पूर्ण रूपमा स्वस्थ नहोइञ्जेल इन्दिराको सेवा गरिरह्यो । रामलालले जमुनालाई घरबाट ननिकालेकाले इन्दिरा आफ्नो सेवामा खुसी कम र दुःखी बढी थिइन् । बेसहारा इन्दिराले के गर्थी ? उनले आफ्नो सबै आशा आफ्नो भर्खर जन्मेको छोरामा राखेकी थिइन् । उनले छोरालाई भारतिय सेनामा लाहुरे बनाउने सोचेकी थिइन् । लडाइँमा मारिएपछि पनि भारत सरकारले उनलाई लाखौँ रुपैयाँ दिनेछ र त्यो पैसाले उनी आफ्नी माल्किनीहरू जस्तै आरामको जीवन बाँच्नेछिन् । इन्दिराको अनौठो र क्रूर इच्छा सुनेर सुलोचना म्याडमको आङ सिरिङ् भयो र शरीरका रौं ठाडो भए । नवजात शिशु ठुलो बनाएर उसको मृत्युको कल्पना गर्नु र यसलाई आफ्नै विलासिताको लागि मृत्युमा धकेल्नु उनलाई धेरै क्रूर लाग्यो ।
केही वर्ष मात्रै बितेको थियो एक दिन रामलालले आफ्नी नयाँ श्रीमती जमुना र हुर्कँदो छोरालाई लिएर कतै गयो । इन्दिराको धनी बन्ने सपना अधुरो भयो । दुईपटक विवाह गरेपछि पनि इन्दिरा फेरि एक्लै भइन् । इन्दिराको खुट्टामा लागेको चोट निको भइसकेको थियो तर मनभित्रको पीडा अझै कायमै थियो । लोग्ने र बहिनीले ऊसँग गरेको छलले उनलाई भित्रबाट पनि घाइते बनाएको थियो ।
एकदिन पानीमा भिजेर इन्दिरा सुलोचना म्याडमको घरमा पुग्दा उनलाई उच्च ज्वरो आएको थियो । बाहिर उभिरहेको चालकलाई आफ्नो साइकल दिएर बडो मुस्किलले बरण्डामा पुग्नेबित्तिकै बेहोस भइन् । होस आएपछि सुलोचना म्याडमले ड्राइभरलाई कारमा लगेर डक्टरलाई देखाएर औषधी लिएर घर छोड्न भनिन् ।
अगाडिको सिटमा बसेकी इन्दिराको टाउको ड्राइभर रमेशको काँधमा परेको भए पनि उसले हटाएन । इन्दिराको स्पर्शले उसलाई पनि रोमाञ्चित बनाइरहेको थियो । डाक्टरबाट औषधी पाएपछि रमेशले इन्दिरालाई घर पुर्याइदियो । आफ्नो भर दिएर उसले घरभित्रसम्म लगिदियो । यसपछि पनि उसको मन मानेन । इन्दिरालाई भेट्न र सक्दो मद्दत गर्न नियमित रूपमा घरमा जान थाल्यो । तीन दिनसम्मको ज्वरोमा रमेश र इन्दिरा निकै नजिक भइसकेका थिए । चौथो दिनमा नै रमेशले इन्दिरालाई विवाहको प्रस्ताव राख्यो । इन्दिराले खुसीसाथ सहमति जनाइन् ।
इन्दिराको पुनर्विवाह सुलोचना म्याडमलाई पटक्कै मन परको थिएन । उनी आक्रोशित हुँदै कराएर भनिन्, “समयले तिमीलाई बारम्बार खराब मानिसबाट मुक्त राख्यो, तैपनि तिमी किन एक्लै शान्तिसँग बस्न सक्दैनौ ? आफ्नी आमासँग बस्दा तिमीलाई के अफ्ठ्यारो हुन्थ्यो ?”
इन्दिराले सहजै भनी, “एउटा नारी जातिलाई एक्लै हुँदा कोही साहारा चाहिँदो रहेछ ।”
सुलोचना म्याडमले आफूलाई इन्दिराको समस्याबाट टाढा राख्ने निर्णय गरिन् । एकदिन सुलोचना म्याडमले इन्दिरालाई धोएको कपडाको पोकोलाई साइकलमा राखेर धोबिकोमा आइरन लगाउन लैजान भनिन् । ठुलो पोको भएको कारण साइकलको क्यारियरमा राम्ररी बस्न सकेको थिएन । यो देखेर सुलोचना म्याडमले भनिन्, “इन्दिरा, तिमीलाई पोको कसरी गाँठो पार्ने पनि थाहा छैन । लुगा बाहिर निस्केको छ ।”
“म्याडम, चिन्ता नगर्नुहोस् । मलाई गाँठो बाँध्न राम्ररी आउँछ । मैले पुष्करका लागि कस्तो बलियो गाँठो बनाएको थिएँ ।”, अचानक इन्दिराको मुखबाट निस्कियो । इन्दिराको आँखामा चमक देखेर सुलोचना डराइन् । भित्रभित्रै दबिएको आशङ्का प्रकट भएर आयो । उनले सोचिन ‘त्यसोभए मेरो शङ्का ठिकै थियो । पुष्करले आत्महत्या गरेको थिएन । इन्दिराले नै उसको हत्या गरेकी थिइन् ।’
स्तब्ध भएर सुलोचना म्याडम दुबै हातले टाउको समातेर सोफामा थचक्क बसिन् । ‘इन्दिरा, हत्यारा हो मलाई थाहा नै भएन ।’ यो सोचेर उनी स्तब्ध र निराश भइन् । उनको शरीरमा एक प्रकारको डर दौडियो । अब यति लामो समयपछि कसलाई भन्ने र कसलाई गुनासो गर्ने । अपराधीलाई उसको गल्तीको सजाय हुनुपर्छ । तर उनीसँग कुनै प्रमाण पनि थिएन । शङ्का मात्रै थियो । उनको गुनासो कसले सुन्ने ? इन्दिरालाई सजाय भए पनि छोराछोरीलाई के होला ? सोच्दा सोच्दै उनको टाउको दुख्न थाल्यो । इन्दिराले अनजानमा आफ्नो अपराध खुलासा गरिन् । सुलोचना म्याडमको मानसपटलमा भएको हलचलबाट अनभिज्ञ इन्दिरा आफ्नो गन्तव्यतिर लागिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

