
यात्राका पात्रहरूः
गुरुजी — ५५/५६ वर्षका, आफनै सुमो गाडी, गाडी विस्तारी चलाउने र समयमा पनि नपुग्ने ।
मास्टर अङ्कल — ४५/४६ वर्षका, सरकारी शिक्षक, जीवनमा इज्जत र पैसा बचाउनु पर्ने धारणा ।
दुवईवाला — २८/२९ वर्षका, २ वर्ष दुवैको बसाई पछि घर फर्केको, रक्सी विना बाच्न नसक्ने ।
आन्टी — ४२/४३ वर्ष, सबैको कुरा सुन्ने अनि अन्तिममा आफ्नो मन्तव्य राख्ने ।
आमा-छोरा — २२/२३ वर्षकी आमा र ३ वर्षको छोरा, सबैको कुरामा हास्ने अनि सँगै बसेको दिदिलाई हेर्ने ।
राम्री दिदी — ३४/३५ वर्षकी, रूपको घमण्ड र अरूलाई कुरा नबुझी गाली गर्ने ।
युवा केटाहरू — २०/२१ वर्षका, पासपोर्ट बनाउन हिँडेका, रुचि विदेश जाने ।
अनि म — यात्राप्रेमी ।

सुनिता परियार
कोटेश्वरबाट सिन्धुली जाने अन्तिम सुमो गाडी एक बजे छुट्छ तर यात्रीहरू समयमा नआएकाले हामीहरू एक घण्टा ढिलो हिँड्यौँ । म १२ः३० मा पुग्दा कोही पनि यात्रीहरू आइपुगेका थिएनन् । एक जना आन्टी सुन्तला किन्न लाग्दा गुरुजीले ‘अब जाम ढिलो भयो’ भन्दै अर्को यात्रीलाई बोलाउँदै भन्नुभयो, ‘बिहानदेखि कति धोकेको ? अब त पुग्यो होला नि ! तँलाई घर पुग्नु पर्दैन मोरा आज ?’
मैले झ्यालबाट हेर्दा २८/२९ वर्ष लुरे केटा हातमा पुस्टकारी बोकेर आइरहेको देखेँ । उसका खुट्टा भुईँमा थिएनन्, लड्दै आइरहेको देखेपछि आजको यात्रा राम्रो छैन भनेर गुरुजीलाई सोधेँ, ‘यस्तो मातेको मान्छेलाई कसरी लिएर जानुहुन्छ ? सँगै बस्ने मान्छेहरूलाई समस्या हुनसक्छ नि ?’
गुरुजी – ‘मेरो गाँउकै केटो हो । हिजो राति दुवईबाट आको रे, बिहान सात बजेदेखि यहीँ छ । अब मेरो गाडीमा जाने भनेर बसेको छ, जसरी भए पनि लानु पर्यो नि !’
आन्टी – ‘मोरो, बिहानदेखि ६ पटक रक्सी खाइसक्यो रे ! यस्तो हालतमा कसरी घर पुग्छ कुन्नि ? भाइ, म त पछाडि सिटमा बस्छु । यो मातेको भाइसँग त बस्दिनँ है ।’
गुरुजी – ‘हुन्छ दिदी, टेन्सन नलिनु न, म मिलाइहाल्छु नि !’
दुवईवाला – ओ दाइ, बिहान सात बजेदेखि आको, जाने होइन् ? अहिले म गाडीसाडी हान्दिन्छु है बाहुन बाजे, जसरी पनि सिन्धुली पुग्नुछ मलाई सात बजे ।’
गुरुजी – नकरा मोरा ! तँलाई जसरी नि आठ बजे घर पुगे भएन ? अब जाने हो, ३ जना जति भए पुग्छ । अरु भक्तपुरबाट ३ जना जाने छन्, अब एकछिन नकराई बस् !’
एकछिनमा गुरुजीले तीन जना युवा केटाहरू लिएर आएपछि हामीहरू कोटेश्वरबाट हिँड्छौँ । कौशलटारबाट ३४/३५ वर्षको एक जना दिदी गाडीमा चढ्नुहुन्छ । ‘कस्तो ढिलो गरेको गुरुजी ? २ घण्टा भयो कुरेर बसेको !’ रिसाउँदै गाडीमा बस्नुभयो ।
दुवईवाला – हामी ७ बजेदेखि कुरेर बसेको, दुई घण्टाको के कुरा !
गुरुजी – नकराई बस् भनेको मान्दैनस् मोरा !
अर्को चोकमा पुगेपछि एक जना दिदी ३ वर्षजतिकाे छोरा लिएर चढ्नुभयो । दिदीले गुरुजीलाई रक्सी खाएको मान्छलाई गाडीमा राखेकोमा गाली गर्दै बस्नुभयो ।
दुवईवाला – ए बाजे, तिम्रो गाडी रोक् । म यहीँ झर्छु । मैले मेरो कमाइको रक्सी खाए नि, जे जे खाए नि, मैले मेरो खा’को हो; कसैको बाउको खा’को हैन् । बुझ्यौ बाजे !’
पछाडिको चारवटा सिटमा ३ जना युवाहरू अनि आन्टी त्यसअगाडिको सिटमा दुवईवाला, बच्चाको आमा, एक जना दिदी अनि म, बाँकी थियो अगाडिको सिट । अर्को चोकमा पुगेपछि ४४/४५ वर्षको अङ्कलअगाडिको सिटमा बसेपछि हाम्रो यात्रा सुरु भयो ।
एकछिन कोही पनि बोलेनन्, सबै जना चुपचाप बसे । भक्तपुर कटेपछि दिदीले ‘आजको बिचको सिट कस्तो नमिलेको हो !’ भन्दै गुरुजीलाई भनेपछि बच्चाको आमाले ‘सबै मोटो भएर होला’ भन्न नपाउँदै दुवईवाला जवाफ दिए, ‘मचाहिँ दुब्लो छु है, तपाईँहरू नै मोटो हो !’
छेउकै दिदीले जवाफ फर्काउनुभयो, ‘रहरले मोटो भको हो र ? जन्मजात नै यस्तो हो ! अब के गर्नु ? काट्न नमिल्ने !’
दुवईवाला – बुढाहरूले विदेशमा दुःख गरेर पैसा कमाइहाल्छन् । नेपालमा बस्यो, मेकअप गर्यो, पैसा उडायो । जे जे मन लाग्यो त्यही खायो । अनि के नमोटाउनु !’
दिदी – ओ भाइ, मुख समालेर बोल् है ! अहिले झ्यालबाट बाहिर फ्याल्दिन्छु, चुप लागेर बस् !’
पछाडिका केटाहरू हाँस्छन् र दुवईवालालाई चुप लाग्न आग्रह गर्छन् ।
गुरुजी – ए मोरा, त्यैँले आज कुटाइ खानी भइस, चुप लाग !
एकछिन सबै चुपचाप हुन्छन् । दिदीको म्यासेन्जरमा भिडियो कल आउँछ । ‘म गाडी चढेँ कोटेश्वरबाट, पुगेर कल गर्छु’ भन्दै दिदीले कल काट्नुभयो ।
एकछिनमा गुरुजीले ‘१६ वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’ गीत बजाए । त्यसपछि दुवईवालाको नाच सुरु भयो । दिदी र बच्चाको आमाले ‘ठाँउ सानो छ, किन नाचेको ? बच्चालाई ठोन्किछ ।’ भन्दै गाली गर्न थालेपछि गुरुजीले गीत बन्द गर्नुभयो ।
दुवईवालाले ‘ए बाजे, फेरि गीत बजाउ !’ भन्दै गनगन गरेपछि अगाडि बस्ने अङ्कल बोल्नुभयो, ‘ए भाइ, चुप लागेर बस न । बच्चा, चेलीबेटी छन् । बच्चालाई ठोन्किन्छ । अरूलाई बस्न गाहे हुन्छ ।’
अङ्कल बोल्दाबोल्दै दुवईवालाले ढोका खोल्न थालेपछि गुरुजीले फेरि गाली गर्नुभयो, ‘आफ्नै गाँउको भाइ हो, सँगै लैजाऔँ भनेको त ! अब एकछिन कराइस् भने यहीँ छोड्दिन्छु ।’
अब भने दुवईवाला चुपचाप भए । त्यतिकै निदाएछन् ।
रातमाटा पुगेपछि गुरुजीले गाडी रोक्नुभयो । सबै जना फ्रेस भएर चिया, चटपटे, पानीपुरी खान थाले । दुवईवाला भने ३ जना युवाहरूलाई वियर खाऔँ भन्दै आफू पिउन थालिसकेका थिए । उनी भन्दै खाँदै भन्दै थिए, ‘हेर केटा हो, म तिमीहरूलाई दुवई लान्छु । पासर्पोट बनाएर मलाई कल गर ।’
उनले ती युवा केटाहरूलाई मोबाइल नम्बर पनि दिँदै थिए । त्यतिकैमा गुरुजीले भने, ‘यो जड्याहाँकाे कुरा सुन्नु हुँदैन् केटा हो । फेरि कोरिया भनेर विराटनगर पुर्याउँछन् । यस्ता मान्छेहरूको विश्वास गर्नु हुँदैन् ।’
त्यहाँ एकछिन कुरा गर्दा गर्दै दुवईवालाले दुईवटा वियर खाइसकेछन् । केटाहरू पनि उनकै कुरामा मस्त थिए । गुरुजीले ‘जाने कि यतै बस्ने हो ?’ भनेपछि सबै गाडीभित्र आए । र, हामी त्यहाँबाट हिँड्यौँ । तर फेरि सुरू भइहाल्यो दुवईवालाको गनगन ।
दुवईवाला – ए बाहुन बाजे, तिम्रो स्पिकर फुटाऊँ कि बजाउछौँ ?
गुरुजीले फेरि गीत बजाउनुभयो । अगाडि बस्नुभएको अङ्कललाई गीत र दुवईवाला दुवै चित्त बुझेको थिएन तर पनि चुपचाप हुनुहुन्थ्याे ।
एक घण्टा सबै चुपचाप बसेपछि गुरुजी र अङ्कलको कुराकानी सुरू भयो । उहाँहरूकाे कुरा सुन्दा थाहा भयो, अङ्कल सरकारी शिक्षक हुनुहुँदाे रहेछ । उहाँ काठमाडौँ उपचारका लागि आउनुभएकाे रहेछ ।
केही समयपछि गुरुजीले गीत बन्द गर्नुभयो । पछाडिका एक जना युवा ‘दाइले त हामीहरूलाई दुवई लाने रे !’ भन्दै मस्त हाँस्यो । अनि अङ्कलले ‘दुवै भन्दै विराटनगर लैजाला’ भनेपछि माहोल हाँसोमय बन्यो ।
केटाहरूले ठट्टा गर्दै भने, ‘हामी त जाने हो दुवई दाइसँगै ।’
गुरुजी — लान्छ यो जडियाले तिमीहरूलाई दुवई ! बाउआमाले जाँड खाएर गाँउमा झगडा गर्यो भनेर ऋण गरेर दुवई पठाका थिए । दुई वर्ष भयो, न ऋण तिरेको छ, गाँउमा छोराछोरी र श्रीमतीको विजोग छ । दुवईबाट आउँदा कति पैसा लिएर आको थियो, सबै सकिसक्यो । यस्ताले के गर्लान् जीन्दगीमा ?
अङ्कल — गुरुजी, मैले यो उमेरमा आएर के सिक भनेँ – ए केटाकेटी हो तिमीहरू पनि सुन – जीवनमा इज्जत र पैसा बचाउन सक्यो भनेमात्र जीवन बाँच्नुको अर्थ हुने रै’छ । यो दुईवटा कुराहरू जीवनमा बचत गर्यो भने अरू केही चाहिँदैन । त्यसैले मान्छेहरूले पैसा र इज्जत बचाउनु पर्छ अनि मात्र जीवनको अर्थ छ । हैन भने जीवनको केही अर्थ छैन् ।
पछाडिका केटाहरूलाई अङ्कलका कुरा घत परेर होला, होमा हो मिलाउँदै थिए । दुवईवाला चाहिँ भन्दै थिए, ‘पैसा भएपछि इज्जत पनि हुन्छ पैसा छैन भने केका इज्जत ! होइन त बाहुन बाजे ? छिटो हाँक गाडी घर पुग्नु पर्यो नि ! कि यतै राख्छौ हाम्लाई ? यस्तो बिस्तारै जाने भए हामी हिँडेर जान्छौँ, रोक गाडी !’
गुरुजी — घरै त जाने हो, किन हतार गर्नु पर्यो ? तँ सुत् चुप लागेर ।’
दुवईवाला — बाजे, तिम्रो गाडी चलाउने यस्तै पारा हो भने भोलि पनि पुगिँदैन सिन्धुली । कि कसो के हो केटा हो ?’
छोराको आमा र दिदीले दुवईवालालाई गाली गर्नुभयो, ‘सम्हालेर बस्नु है ! बच्चा छन्, हाम्लाई बस्न गाहे हुन्छ ।’ दिदी गाडीभित्रै मेकअप गर्न लाग्नुभयो ।
सात जना पात्रहरुको आ–आफनै कथा र व्यथा छन् । म सबैको कुरा सुन्दै पात्रहरुको अवस्थालाई कागजमा कसरी उत्तार्ने भन्नेबारे सोच्दा सोच्दै सिन्धुली पुगे ।
गुरुजी, ५५/५६ वर्षको उमेरमा पनि स्वस्थ र हसिला थिए । २१ वर्ष गाडी चलाएको अनुभव आफुले किनेको सुमो गाडी अनि काठमाण्डौमा घर अरु के चाहियो । छोरा छोरी पढ्न विदेश गका, उनलाई हेर्दा र उनका कुरा सुन्दा जीवनमा आफुले चाहे अनुसार सबै भएको र अब विस्तारै गाडी चलाउन छोड्ने र घर परिवारलाई समय दिनु पर्छ भन्ने मान्यता राखेका र उनले मान्यतालाई प्रमाण दिनका लागि विस्तारी गए अवस्य पुगिन्छ भन्ने वाक्यलाई सार्थक बनाएका थिए । गुरुजीबाट मैले एउटा कुरा के सिके भने, यदि तिम्रो जीवनको लक्ष्य सही छ भने त्यसको लागि हतार गर्नु हुदैन्, धर्य गर्नुपर्छ एकदिन अवश्य पूरा हुन्छ ।
मास्टर अंकल, ४५/४६ वर्षका, शिक्षक पेशामा दुई दशक बिताएका, जीवनको भोगाइ र अनुभवले उँहाका कुराहरु सबै चाख लाग्दा थिए । गाडीमा बसेका सबै जनालाई इमान्दारीता नै मान्छेको पहिचान हो, अहिलेको समयमा इमान्दारी भएका मान्छेहरु भेट्टाउन गार्हे हुन्छ, त्यसैले आपूm इमान्दार हुनु पर्छ र जीवनमा इज्जत र पैसा बचाउन सक्नु पर्छ अनि मात्र हाम्रो जीवनको अर्थ हुन्छ । अर्थहीन जीवन हामीहरुले बाच्नु हुदैन् । इज्जत र पैसा बचाउनु भनेको जीवनको अर्थ बुझ्नु हो ।
दुवैवाला, छोरा छोरीको उज्वल भविष्य बनाउन, बाआमालाई ऋण मुक्त गराउन र श्रीमतीलाई सुख दिन दुई वर्ष अगाडी दुबै गएका उनी, बाआमाले ऋण गरेर पठाएको छोरा ऋण तिर्नु त परको कुरा कमाएको पैसाले खाना नपुगेर घर फर्किएको बाउबाट छोराछोरीले कस्तो आशा गर्ने होला, ऋण तिर्न नसकेका बाआमा र सुख दिन्छु भन्ने श्रीमतीले के आशा गर्ने होला ? एक असल व्यक्ति कुलतमा लाग्दा उसको छोराछोरी, परिवार र समाजमा कस्तो प्रभाव पर्छ होला, हामी अनुमान गर्न सक्छौ ।
सबैको कथा र व्यथा बुझ्ने कोसिस गरेको थिएँ तर आन्टी धेरै बोल्नु भएन अनि उँहाले सबैको कुरा सुन्ने र होमा हो मिलाउने तथा अन्तिममा आफ्नो मन्तव्य राख्ने गर्नुभयो । त्यसैले खासै नयाँ कुरा भेटिनँ मैले ।
आमा/छोरा र राम्री दिदी, उनीहरू के कामले काठमाडौँ आए ? त्यो कुरा मलाई थाहा भएन । तर उनीहरुको कुरा गरे अनुसार दुवै जना सिन्धुली घर फर्केका थिए । बच्चाले राम्ररी दिदिको लुगामा चप्पलको धुलो लगाए पछि उनीहरुको भनाभन भयो र तपाईको बच्चालाई समालेर राख्नु मेरो लुगामा धुलो लाग्यो भन्दै गाली गर्नु भयो, बच्चा हो, अलि अलि चलिहाल्छनी भन्दा भन्दै दुई जनाको झगडा भयो । त्यसैमा अंकलले सम्झाउनु भयो झगडा नगर्नु मिलेर जानु पर्छ, त्यसैमा गुरुजीले गाडी रोक्नु भयो । एकछिन अगाडी मैले दिदिको मोवाइलको वालपेपरमा ४/५ वर्षको बच्चाको फोटो थियो अनि मैले सोचे त्यो बच्चाले पनि यो बच्चा जस्तै व्यवहार गर्छ होला तर दिदि राम्री भए पनि मलाई उँहाको व्यवहार राम्रो लागेन । मान्छे त बाहिरी आवरणले भन्दा पनि व्यवहारले राम्रो हुनुपर्छ ।
युवा केटाहरु हेर्दा २०/२१ वर्षका देखिने तीन जना उस्तै उमेर समूहका हातमा एउटा रातो सानो ब्याग बोकेका, काठमाण्डौमा फलामको काम गर्ने, औपचारिक शिक्षा हासिल गरेका तर घर परिवारको आर्थिक अवस्था कमजोर र जिम्मेवारीले गर्दा पढाई बिचैमा छाडेको र ज्याला मजदुर गर्दै गरेका अहिले कमाएको पैसाले घर परिवार र पैसा बचत गर्न नसकेकाले अब खाडी मूलुक भने पनि विदेश जाने सोचले पासपोर्ट बनाउन हिडेका तर हाम्रा अर्का यात्री दुवैलावाको समस्या र व्यवहार देखेपछि केटाहरुको मनमा चिन्ता र आखाँमा आशाहिनता देखिन्थ्यो । तर उनीहरूमा विदेश जाने सोचचाहिँ परिवर्तन भइसकेको थिएन । पासपोर्ट बनाउने, विदेश जाने, धेरै पैसा कमाउने तथा आफ्नो र परिवारको भविष्य बनाउने आसालाई ढगमगाउन दिएका थिएनन् ।
उनीहरूमा छुट्टै किसिमको उर्जा थियो । त्यो उर्जा अर्काको देशमा गएर श्रम गर्दा गर्दै मलीन हुन्छ भन्ने कुरा मलाई थाहा थियो । तर उनीहरू धेरै खुसी देखिन्थे, छिन छिनमा दुवईवाला दाइलाई पनि जिस्काउथे ‘हामी पनि दुवईको पैसाले बियर खाने’ भन्दै ।
३/४ घण्टा गाडी गुडेपछि सबै जना कुराकानी गर्न थाले । एकअर्का कुरामा सहमत र असहमत हुँदै । यात्राको मुख्य पात्र दुवईवाला दाइ नै थिए । उनलाई कराउँदै, सम्झाउँदै, जिस्काउँदै हामीहरू सिन्धुली पुग्यौँ ।
म यात्राप्रेमी । मेरो दिमागमा सधैँ एउटै कुरा हुने, गाडीको अगाडिकै सिटमा बस्नु पर्ने । आफूलाई मन पर्ने गीत सुन्नु पर्ने । अगाडि बसेर भिडियो, फोटो खिच्नु पर्ने । अनि मिल्यो भने झ्यालबाट हात बाहिर निकालेर हावासँगै रमाउनु पर्ने तर त्यस्तो केही भएन, अलि फरक भयो यो यात्रा ।
यात्रा गर्दा भेटिएका सहयात्रीहरूबाट विदेसिनु पर्ने बाध्यता, बाहिरी आवरण र व्यवहार, सङ्घरर्ष, इज्जत र कुलतका कारण मान्छेहरूले भोग्ने समस्या आदि सबै कुराहरू सुन्ने र बुझ्ने मौका मिलेको यात्रा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

