लोग्नेको नजर जतिबेलै मोबाइलमा मात्र एकोहोरिएको देख्दा हिजोआज मलाई औधी औडाह लाग्न थालेको छ । उनको र मेरो लगनगाँठो बाँधिएको पनि पच्चीस वर्ष बितिसकेको हुँदो हो । यद्यपि दुई पुत्ररत्नका बाबुआमाको भूमिका निर्वाह गर्दैआएका हामी दुईबिच यतिका वर्षसम्म यदाकदा ठाकठुक परेको बाहेक सम्बन्ध चिसिएको महसुस कहिल्यै भएन ।

हाम्रो पहिलो भेटघाट झापाको दमक चोकदेखि करिब चार किलोमिटर उत्तरमा अवस्थित बेलडाँगी शरणार्थी शिविरमा भएको थियो । उनी नेपाली, मचाहिँ शरणार्थीका रूपमा शिविरमा बसोबास गर्ने नेपाली मूलकी आप्रवासी, भुटानी ।

भुटानमा नेपालीभाषी भुटानीहरूलाई नेपाली भाषा, संस्कृति, रीतिरिवाज, परम्परा निर्बाध रूपमा अपनाउने छुट थिएन । राष्ट्रिय भाषा जोङ्खा सरकारी कामकाजी भाषा मात्र नभई अनिवार्य जान्नै पर्ने, बोल्नै पर्ने राष्ट्रिय भाषा थियो । बक्खु र किरा अनिवार्य लगाउनुपर्ने राष्ट्रिय पोसाकका रूपमा लादिएको  थियो । राजतन्त्रात्मक निरङ्कुश शासन प्रणालीअन्तर्गत जिग्मे सिग्मे वाङ्चुक, तिनका परिवार र भाइ–भारदारहरूको एकछत्र जहानियाँ शासन चल्थ्यो । प्रजातन्त्र, मानवअधिकार थिएन; जनता रैती थिए । तर पनि शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तथा महत्त्वपूर्ण विषयमा सरकार जनउत्तरदायी थियो । अर्थात् नि:शुल्क सेवासुविधा प्रदान गरिएको थियो । तर न्याय र स्वतन्त्रता थिएन ।

जनतालाई स्वतन्त्रता चाहिएको थियो । त्यसैले शान्ति र न्यायपूर्ण आन्दोलनको शङ्खघाेष गरे । आन्दोलनको अगुवाइ नेपालीभाषीले गरे । सरकारले दमन, धरपकडलाई तीव्र पार्याे । आन्दोलन निस्तेज पार्न सेना/प्रहरी/सुराकी प्रयोग गरिए । केही नेता निर्वासित हुन बाध्य बनाइए, केही गिरफ्तार गरिए । हत्या, हिंसा, बलात्कार र लुटपाटजस्ता जघन्य आपराधिक गतिविधिहरू मौलाए । अन्ततोगत्वा आन्दोलनमा लामबद्ध नेपाली मूलका भुटानी रैतीहरू लखेटिए । लखेटिनेहरूमध्ये हामी पनि पर्याैं जुन विषयबारे थोरबहुत उसै बेला, बढीचाहिँ शिविरको बाक्लो बस्तीमा हुर्कँदै गएपछि थाहा पाएँ ।

नेपाल सरकारले हामीलाई ओत लाग्ने ठाउँ दियो । नेपालीले अगाध माया दिए । नेपाल सरकारको समन्वयकारी तथा नेतृत्वकारी भूमिका, युएनएचसीआरकाे मुख्य सहयोगी भूमिका, साथै विभिन्न स्वदेशी तथा विदेशी दातृ निकाय, सङ्घसंस्थाहरूको भौतिक/मानवीय सहयोगले झापाको बेलडाँगी, खुदुनाबारी, टिमाई, सैनिक गाेलधाप र मोरङको पथरी-शनिश्चरे गरी पाँच ठाउँमा  शिविरहरू खडा गरी हामीलाई बस्ने, खाने, लत्ताकपडा, शिक्षा, स्वास्थ्यको न्यूनतम व्यवस्था गरी राखिएको थियो । हामी शरणार्थी आफ्नो मातृभूमि, घरसंसार, जायजेथा सबै त्याग्नुपर्दाको पीडा सहेर बाँसका छाप्राहरूमा ओत लाग्दै अरूले खटाएर दिएको खाँदै बस्दै र बाँच्दै आएका थियौँ ।

उनी, छिमेकी भाइको दिदी कहाँ आएका रहेछन् । जो शिविरमा बसोबास गर्थिन् । केही दिनअघि उनीमाथि निर्घात कुटपिटको भएको थियो । सोही विषयमा तिनका आफन्तले न्यायका निम्ति सहयोग गरिदिन आग्रह गरेकाले, निर्दोषलाई न्याय र दोषीलाई सजाय दिलाउन भनेर उनी आएका रहेछन् ।

ती दिदीका माइती परिवार  (आमाबुबा र एक भाइको परिवार शिविरबाहिरका बस्तीमा, बाँकी चार दाजुभाइलगायत परिवार शिविरभित्र) हाम्रो छाप्रो नजिकै बस्दथे । दिदी र कसुरदारबिचको मामिला झमेला सामसुम पार्ने उद्देश्यले दुई दिन त्यहीँ बस्ने क्रममा उनको र मेरो चिनाजानी भएको थियो ।

त्यसपछि उनको बेलडाँगी आउने–जाने क्रम बाक्लिँदै गयो । आकस्मिक चिनाजानी भेटघाटमा बदलियो । भेटघाटमा अन्तरङ्गका कुराकानी हुन थाल्यो, एकर्कामा प्रेम र विश्वास गहिरो हुँदै जीवनरूपी रथका दुई पाङ्ग्रा, दुई सन्तानका आमा रूपमा बदलियो । सहयात्रा, अनगिन्ती घुम्ती, आरोह–अवरोह छिचोल्दै अगाडि बढिरहेको थियो । हामीले एकअर्कालाई राम्रोसँग बुझेका थियौँ । त्यसैले होला, विश्वासको खडेरी कहिले परेन हामी दुईबिच ।

प्रेमिल थियो जिन्दगी । यतिका समझदार पति पाएकोमा पुलकित थिएँ म । र, आफूलाई भाग्यमानी नै ठान्थेँ । तर हिजोआज आश्चर्यचकित भएकी छु । काम छाड्नु भएको तीन महिना बितिसक्यो, न अर्को कम्पनीमा काम खोज्ने सुरसार देख्छु न त नोकरीको निश्चित भई प्रतीक्षारत बसेको नै । या त काम सुरु नगरी भन्न जरुरी नठानेर नभनेका हुन्, कुरोको चुरो  ठम्याउन सकेकी होइन ।

आफूलाई सत्र कामको चटारो पर्छ । खाना पकाउनु, ख्वाउनुदेखि गाईबाछा र बाख्रालाई घाँसपानी गर्दा गर्दै कतिबेर दिन जान्छ, पत्तै हुँदैन । घरको एक लग काम सघाउन बाहेक हिजोआज जतिखेरै मोबाइलमा मात्र झुत्तिएको देख्दा आश्चर्य नमान्ने कुरै भएन । आजचाहिँ दिउँसो फुर्सदको बेला चियो गर्ने सुर कसेँ । कोहीसँग फेसबुक मेसेन्जरमा बात मारिरहेको अवस्थामा भेट्टाएँ । एकछिन लुकेर सुनेँ । बातचित सामान्य र पाच्य थिए । म एक्कासि ढोकाभित्र छिरेँ । मेरो आकस्मिक उपस्थितिले  उनी झस्किए । हताश भावभङ्गीमा मेरो शिरदेखि पाइतालासम्म एकतमासले नजर डुलाए ।

निसङ्काेच मैले प्याट्टै सोधिहालेँ, ‘हन, कोसँग कुरा हो यति लम्बेतान ?’

‘सरितासँग ! तिम्रो सहपाठी क्या ?’, उनले असजिलो नमानीकन जवाफ फर्काए ।

फेसबुक र मेसेन्जर लगइन, लगआउट, मेसेज हेर्न, पठाउन,  अडियो-भिडियो कल गर्न भर्खर–भर्खरै जानेकी हुँ मैले । त्यो पनि उनकै इच्छाअनुसार, उनैले मेरो फेसबुक अकाउन्ट खोलिदिएका थिए । बेलामौका मात्र चलाइन्थ्यो । त्यो पनि उनकै मोबाइलबाट । अमेरिकामा रहनुहुने बुबा, आमा-दिदी, दाजु र भाइसँग कुराकानी गरिन्थ्यो । ठुल्दिदी–भिनाजु सपरिवार क्यानडा हुनुहुन्छ ।  दाजुभाउजू सहितको एक परिवार अस्ट्रेलियामा । उहाँहरू अलावा आफन्त र साथीसङ्गीहरू प्रायः जसो अमेरिका नै छन् । फुर्सदको सदुपयोग उहाँहरूसँग अन्तरङ्गका कुरा गरेर बितेको भेउ नै पाउँदिनँ । मेरा माइती, मावली, आफन्त र नातागोता सबै उतै छन् । ससुरालीतिरको साइनो–सम्बन्धको लर्कोले उहाँको पनि त्यताकासँग चिनाजानी नहुने कुरै भएन । त्यसैले मेसेन्जर कल गर्दा शङ्का गरिनँ कहिल्यै पनि ।

तर सरितासँगको लुकीछिपी वार्तालापले मनभित्र शङ्काको ज्वारभाटा चल्यो । भयले शरीर शिथिल बन्यो । सरिता मसँगै स्कुल पढ्ने र मिल्ने साथी थिइन् । सुडुलो शरीर, पाेक्तारे गाला, काली–काली बान्की परेकी । जब म नेपाली केटासँग लगनगाँठो कँसिएर झापाको खुदुनाबारी आएँ । त्यसपछि हाम्रो भेटघाट पातलियो । पछि उनको बिहे भएपछि त झन् आक्कलझुक्कल मात्र भेट हुन थाल्यो । त्यतिबेला अहिलेकोजस्तो मोबाइल, इन्टरनेटको पहुँच विरलैसँग मात्र थियो । यदि त्यो सुविधा हुन्थ्यो त भेटघाट, सम्बन्ध कति रसिलो/कसिलो हुन्थ्यो होला ? कल्पना गरेर दङ्ग पर्छु । उनको बडाबाकाे घरपरिवार र मेरो कर्म घर नजिकै थियो । हामी असल छिमेकी थियौँ । यद्यपि उनका आफन्त कहाँ आउँदा अनि म माइतीघर जाँदा त्यहाँ पनि चाडबाडमा मात्र सीमित रहन गयो हाम्रो भेटघाट, अन्तरङका बातचित औ भलाकुसारी ।

आठ वर्षअघि मात्र नेपालमा रहेका शरणार्थी समुदायको तेस्रो मुलुक व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनसँगै उनी अमेरिका छिरेकी थिइन् । फेसबुकमा चाहिँ मसँग भर्खरै मात्र जोडिएकी हुन् । हामी जोडिएदेखि उनी र मबिच कुराकानी तुलनात्मक रूपमा अरूभन्दा फरक औ बाक्लिँदै गइरहेका छन् । तर यतिका दिनसम्म मेरो लोग्नेसँग पनि उनको बातचित हुने गरेको कहिल्यै सुनाइनन् । त्यसैले उनीप्रति सशङ्कित हुनु/रिसको पारो चढ्नु अस्वाभाविक थिएन । एक मनले उसलाई कल गरेर सोधूँ झैँ  नलागेको पनि होइन । तथापि शङ्काको डढेलोले मनको लङ्का जलाए पनि लोग्नेप्रतिकाे अगाध प्रेम र आदर भावले संयमित बन्न बाध्य तुल्यायो ।

‘सरितासँगको चक्कर कहिलेदेखि हो आराध्यदेव ?’, कटाक्षपूर्ण भावमा मैले उनलाई सोधेँ ।

कोठामा एकछिन सन्नाटा छायो । सियो खसे आवाज आउने खालको । झ्यालबाट छिरेको घामका रोशनीले उनको अनुहारमा भय र ग्लानि प्रतियोगीझैँ दौडिरहेका देखिन्थे । मानौँ, भीषण प्रतियोगिता भइरहेछ । निमेषभरिको चकमन्नतालाई चिर्दै उनले जवाफ फर्काए, ‘अहँ, हैन र थिएन पनि ।’

‘कहिले थिएन ? हैन भनेर म अब कसरी विश्वास गरूँ प्राणेश्वर ?’, संशयको पर्दा उघार्ने ध्येयले प्रश्नको डोरी बेस्सरी तानेँ मैले ।

‘मेरो कुरामा विश्वास लाग्दैन ?’, प्रतिप्रश्नको सिर्कनो उज्याए उनले ।

‘किन लाग्दैन ? लाग्छ । तर मेरो जिज्ञासा नामेट पार्ने सटिक जवाफ हुनुपर्छ ।’, टिठलाग्दो हाउभाउमा मैले भनेँ ।

‘उनीसँग त्यस्तो केही होइन र छैन । केही दिनअघि मात्र उनले फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । फ्रेण्डसिप हुनासाथ मेसेज र कल गरिरहेकी छिन् ।’, उनले इतिवृत्त सुनाउँदै गए । उनकै मुखारवृन्दबाट सुनेअनुसार यस्तो रहेछ उनीहरू दुई बिचको सम्बन्ध:

सरोज मानविकी सङ्कायमा प्राेफिसिएन्सी सर्टिफिकेट लेबलको परीक्षा सकेर गाउँघरमै बसेको थियो । सुगम जिल्ला  झापाको एक विकासोन्मुख गाउँ खुदुनाबारीमा थियो उसको घर । बाबुआमा परम्परागत कृषि पेसाको माध्यमबाट आफ्नो परिवारको लालनपालन गर्दै आएका थिए । सानै उमेरदेखि सबै क्षेत्रमा उत्तिकै रुचि राखे तापनि साहित्य, राजनीति र समाज सेवाप्रति विशेष रुचि राख्थे । घरको काममा सामान्य सघाउपघाउ गरेपछि, गाउँघरमा एकपटक गाेलचक्कर लगाउने बाँकी समय उपन्यास, कथा र निबन्ध पढेर रमाउने लत बसिसकेको थियो, फुर्सदको उनको  त्यो समय । सरितासँगको भेटघाटपछि उनको दिनचर्यामा बदलाव आयो । एकअर्काप्रति दुवै जना सम्मोहित भए, प्रेमिल भए । जुनी–जुनीसम्म सँगै जिउने सँगै मर्ने बाचा गरे । तर दुर्भाग्य ! त्यो दिन उप्रान्त कहिल्यै सन्निकट नहुने गरी अलग भए । मानौँ, फुटेको काँचजस्तै । कसरी टुट्यो उनीहरू दुईबिचको त्यो सघन सम्बन्ध ? विश्वास अनि माया । रहस्यमय थियो उनीहरू बिचको प्रेम–दुर्घटना । कारण खोजी गर्न दुवैले दिलचस्बी लगाएनन् या अवस्थाले अवसर दिएन ।

करिब अढाई दशक समयान्तरपश्चात् फेसबुकमार्फत् सरोजलाई सरिताको फ्रेन्ड रिक्वेस्ट आउँछ । सम्बन्ध नयाँ आयामसहित नवीकरण हुन्छ । मेसेन्जरमा घण्टौँ कुरा गर्छन्, दुवै जनाले विगतका ती सुनौला क्षणहरूको स्मरणसँगै गल्तीको प्रायश्चित गर्छन् । सम्बन्धमा दरार पैदा गराउने व्यक्तिको पहिचान गर्छन् र सत्ताे सराप्छन् । अन्ततोगत्वा आ-आफ्नो घरसंसार सिँगार्ने उपाय खोज्छन् ।  बिलकुलै नौलो आयामयुक्त मित्रताप्रति पुलकित हुन्छन् ।

उनीहरूबिच रहेको सम्बन्धबारे नालीबेली सुनेर तीन छक्क परेँ ।

हैट ! बिनाबित्थामा लोग्ने र दौँतरी साथीबिचको जायज सम्बन्धप्रति आशङ्का गरेछु । नाफा-नोक्सानको हिसाबकिताब गरेर साइनो जोड्ने आजको जमानामा भोटाङे भनी हेयको दृष्टिले हेर्ने समाजको पर्बाह नगरी मलाई आत्मसम्मान र माया दिने मेरो लोग्नेप्रति आशङ्का गरेकामा आफैँप्रति दया लाग्यो । उनकै आदर्शको पछि लागेर सुखसुविधाको निम्ति मरिहत्ते गर्ने भइनँ । भौतिक सुखको निम्ति  माइतीसँगै तेस्रो मुलुक जाने धृष्टता गरिनँ । आत्मीक सुखभन्दा ठुलो अरू केही ठानिनँ । विदेशमा रहेका आफन्त, इष्टमित्रले भोग गरेका ऐय्यासीप्रति कति पनि औडाह लागेन । बरु अझै शिविरमा अलपत्र परेका भुटान फर्कन चाहने करिब तीन हजार सङ्ख्यामा रहेका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूका भविष्यप्रति, नेपाली केटासँग बिहे गरेका परित्यक्त जीवन जिउन बाध्य नारीहरूप्रति असीम प्रेमभाव जागेर आयो । राष्ट्र, राष्ट्रियता, मौलिक संस्कृति र पहिचान तेस्रो मुलुकमै लोप होला भनेर चाहिँ असाध्यै पीर लाग्यो ।

यत्तिसम्मको अनुभव, ज्ञान र मानवीयता भएकी मभित्र यति सानो विषय र घटनाप्रति यति विघ्न नकारात्मक सोच कसरी उत्पन्न भयो होला ? अनुत्तरित भएँ । निष्कपट मेरो लोग्ने र सहृदयी सरिताबिचको जायज सम्बन्धलाई नाजायज देख्ने मेरो दृष्टिदोषप्रति मनमनै प्रायश्चित गरेँ । ठिक त्यतिबेला उनीचाहिँ मेरो मनभित्र हठात् सल्केको डढेलो निभेपछि मुर्झाएकाे मौनतालाई निर्निमेष  नियालिरहेका झैँ देखिन्थे ।