
उहिले गाउँमा सन्ताउन्नवटा घरपरिवार थिए, सबै बाहुनका । तिसको दसकसँगै बिस्तारै बसाइँ जानेहरूको लर्को लाग्न थाल्यो । गाउँ–बेसी, उकालो–ओरालो; शारीरिक श्रम बढी पथ्र्यो । पाखापखेराको अन्नबाली, हुलका हुल बाँदर पसेर सताउँथे । घरकै धुरी उधिन्न पनि आइपुग्थे बाँदरहरू । तरकारी, फलफूल केही पनि बाँकी राख्दैनथे । जेनतेन गुजारा चल्थ्यो । कतिपयलाई परिवार पाल्नै पनि कठिन थियो । चाडबाडमा बाहेक अरु बेला मुखमा मिठोमसिनो पर्दैनथ्यो । खेत थोरै हुनेहरूलाई त धानको भात खान पनि रहर नै हुन्थ्यो अर्थात् दसैंतिहार लगायतका ठुला चाडपर्वहरू नै कुर्नुपथ्र्यो । प्रायः आँटो, ढिंडो, रोटो, मकैले नै सासलाई पासो लगाउने चलन थियो । कतिपयले गाउँ–बेसीको उकाली–ओरालीको हैरानबाट मुक्ति पाउनका लागि र कतिपयले धानको भात खाने रहर पूरा गर्नका लागि जन्मथलो छोडेर मधेसतिरको बाटो तताएका थिए ।
गाउँका दाजुभाइहरू कोही भैरहवा, कोही तौलिहवा, कोही बर्दिया, कोही नवलपुर र कोही चितवनतिर झरेका थिए । पछिल्लो समयमा अलि हुनेखाने पैसावालहरू काठमाडौं, बुटवल, वीरगन्ज र पोखरातिर पुगेर पनि गासबासको व्यवस्था गरेका थिए । माइला बा र कान्छा बाको परिवार पच्चिस–छब्बिस सालतिरै गाउँबाट तौलिहवा बसाइँ सरेको थियो । तौलिहवामा जग्गाजमिन अन्यत्रका तुलनामा केही सस्तोमा पाइने भएकाले उनीहरू त्यतातिर लागेका थिए ।
मधेस झर्नेहरूमध्ये कान्छा बाका छोरा सुधन सानैदेखि तीक्ष्ण बुद्धिका थिए । पढाइमा सिपालु, मेधावी थिए । हाम्रो कुलमा पहिलो स्नातकवाला थिए । सात–आठ कक्षासम्म गाउँमै पढेपछि बसाइँ सरेर गएको ठाउँ तौलिहवाबाट उनले एसएलसी पास गरेका थिए । एकतिस–बत्तिस सालतिर हो सायद् उनले काठमाडौंमा बसेर स्नातक उत्तीर्ण गरेको ।
सुधन अर्थात् ‘सुधन दाइ’ । मैले उनलाई सुधन दाइ भन्ने गर्थें, सानैदेखि क्रान्तिकारी स्वभावका थिए । बाहुन गाउँभन्दा केही तल दक्षिण–पश्चिमको पखेरामा दमै गाउँ थियो । त्यहाँ दमैहरूका दस–बाह्र घर थिए । अहिले पनि दमैका आठ–दसवटा घर त त्यहाँ खडै छन् । एकपटक सुधन दाइले त्यही दमै गाउँमा गएर जुठे दमैकी दुलही जुठिनी भाउजूले पकाएको आँटो खाएछन् । जुठे दाइको छोरो भक्के र सुधन दाइ दामली थिए । भक्केको साथ लागेर उसकै घरभित्र बसी उनले आँटो खाएको कुरा थाहा पाएपछि गाउँका बाहुनहरूले उनलाई दमैले पकाएको आँटो खायो भनेर त्यस समयमा छिःछिः र दुरदुर पनि गरेका थिए रे ।
उनीसँगै पढेलेखेकाहरू धेरैले जागिर खाए तर उनले जीवनमा कहिल्यै जागिर खाएनन् । काठमाडौंमा पढ्ने क्रममै विद्यार्थी राजनीतिमा लागेका उनले जागिरको सट्टा भूमिगत रूपमा राजनीतिलाई निरन्तरता दिए । पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्ने क्रममा जेलनेल बेहोरे । दाङको जेलमा रहँदा पानी दर्केको समय, अन्धकार रातमा जेल तोडेर पनि भागे । आन्दोलनमा होमिएको उनको जीवन तत्कालीन अवस्थामा निकै कष्टकर थियो ।
उनी पञ्चायती व्यवस्थाका विरुद्धमा अर्थात् निरङ्कुश राजतन्त्रका विरुद्धमा ज्यान हत्केलामा राखेर लडाइँको मैदानमा उत्रेका थिए । पार्टीको निर्देशनलाई अक्षरशः पालना गर्दै आन्दोलनमा होमिएका थिए । छयालिस सालमा संयुक्त वाम मोर्चाको जिल्ला अध्यक्ष भएर आन्दोलन चर्काएका थिए । उक्त आन्दोलनले केही सफलता प्राप्त गरेपछि अठचालिस सालको आम निर्वाचनमा पार्टीले उनलाई सांसद लड्नका लागि टिकट दियो तर पहाडको मान्छे मधेशीहरूका बिचमा बसेर मधेशी अनुहारकै प्रतिद्वन्द्वीहरूसँग चुनाव लड्नु फलामको चिउरा चपाउनुसरह थियो । उनले टिकट पाएको क्षेत्रमा उनको पार्टीको साङ्गठिनक अवस्था पनि त्यति बलियो थिएन । अन्ततोगत्वा उनले चुनाव हारे । त्यसपछि भने उनले पार्टीमा कुनै अवसर पाएनन् ।
आफूभन्दा तलका कार्यकर्ताहरूले विभिन्न अवसर पाउन थाले । उनी पार्टीमा क्रमशः पछाडि परे । चुनाव लड्दा भएमध्ये आधाजति खेत बेच्नुपरेको थियो । आर्थिक अवस्था केही खस्केको हुँदा त्यसलाई सुदृढ पार्नका लागि उनी कोरिया पुगे । त्यति बेला भर्खर भर्खर कोरिया खुलेको थियो । उनी त्यहाँ पाँच–छ वर्षजति बसे । कोरियाबाट फर्केपछि पनि उनी पार्टीमै जोडिएका थिए तर पछि आएको युवा पुस्ताले उनलाई अगाडि बढ्ने मौका नै दिएनन् । पार्टीबाट क्रमशः फ्रस्टेसन हुँदै गएपछि उनी डिप्रेसनको शिकार बन्न पुगे ।
बुढेसकाल लागेपछि उनलाई सुगर र प्रेसरले सताएको थियो । जीवनको अन्तिम क्षणमा उनी आफ्नै घर तौलिहवामा थिए । तिनै सुधन दाइको निधनको खबर पाएपछि म भोलिपल्टै पोखराबाट तौलिहवा पुगेँ । दुई दिन तौलिहवामै बसेँ । निकापर्सिपल्ट बिहान पोखरा फर्कनका लागि म सवा छ बजेतिर बसपार्कमा आइपुगेँ । तौलिहवा–पोखराको बस छुटेछ । तौलिहवाबाट पोखराका लागि दिनमा एउटा मात्रै बस छुट्दो रहेछ, त्यो पनि बिहान छ बजेको समयमा । तौलिहवाको बसपार्कबाट डाइरेक्ट पोखरा पुग्ने बस भेटाउन नसकेपछि म बुटवल गएर पोखराका लागि बस चढ्ने हिसाबले तौलिहवा–बुटवलवाला छोटो दुरीको बसमा चढेँ । बुटवल आइपुग्दा ‘भैरहवा टु पोखरा’ लेखेको टाटा कम्पनीको बस पोखराका लागि छुट्नै लागेको रहेछ । त्यसैमा चढेँ ।
बसमा यात्रीहरू त्यति धेरै थिएनन् । अन्तिमका सिटहरू खालि थिए । ढोकापट्टिको चौथो सिट पनि खालि रहेछ । दुई जना बस्न मिल्ने सिटमा झ्याल भएपट्टि एउटी बुढी आमै थिइन् । गल्लीपट्टिको सिटमा बस्ने विचारले मैले आफ्नो झोला सिटमाथिको सामान राख्ने ठाउँमा राख्ने क्रममा एउटा डायरी भेटेँ । डायरी मोटै खालको थियो र कभर चाहिँ रातो रङको । कुनै यात्रीले केही दिनपहिले यही बसद्वारा यात्रा गर्ने क्रममा बिर्सेर गएको हुन सक्छ भन्ने अनुमान गरेँ । कभरमा केही धुलो टाँस्सिएको रहेछ, टकटक्याएँ र हातमा लिएँ । फर्र पल्टाएँ, घिउ कलरका पानाहरू; सुन्दर रहेछन् । सिटमा बस्दै गर्दा मैले बुढी आमैलाई लक्ष्यित गरी सोधेँ, ‘तपाईँ कहाँ पुग्ने नि आमा ?’
‘वालिङ हो बाबु !’ आमैले जबाफ फर्काइन् ।
‘अनि तपाईँ कहाँ पुग्ने हो नि बाबु ?’ भन्ने बुढी आमैको प्रश्नमा मैले ‘पोखरा’ भनेँ र फेरि फेरि ती आमैलाई सोधेँ, ‘तपाईँको घरै वालिङ कि कहाँ ? अनि यता कताबाट आउनुभएको त ?’
बुढी आमै खुलेरै बोल्न थालिन्, ‘मेरो घर त वालिङबाट पनि अझै भित्र दुई घन्टाको बाटो पूर्वतिरको गाउँमा पर्छ । अहिले त यहीँ पारि तामनगरबाट आएकी । यहाँ जेठो छोराको परिवार छ । कान्छा छोराबुहारी र उसको परिवार उतै गाउँमा छ । म जेठाकोमा बस्ने गरेकी । अहिले वृद्धभत्ताको कागत रिनु हो कि कुन्नि के जाति गर्न भनेर गाउँतिर हिँडेकी हुँ बाबु !’
‘कागतपत्र मिलाएर भत्ता त यहीँबाट लिने व्यवस्था गर्दा सजिलो हुन्थ्यो नि आमा ! यो बर्खा मासमा तपाईँजस्तो बुढी मान्छेले दुःख पाउनु पर्दैनथ्यो ।’ मैले बुढी आमैप्रति सहानुभूति देखाएँ ।
‘बसाइँसराइँको कागत बनाउनुपर्छ भन्थे, त्यो नबनाएको हुँदा यहाँबाट नपाइने रै’छ । पोहोर त अझ वडाको अध्यक्षलाई फोनबाट रिनु हो कि के जाति हो गर्देऊ है बाबु भनेकी थिएँ । आफ्नै गाउँको नाति पर्ने केटो अध्यक्ष भएको गर्देलान् नि भनेको; गर्दिएनछन् कि कुन्नि ! सुरुको तिन महिनाको भत्तै राखिदिएनछन् । पछि पनि एक–दुईपालि त फोन पनि गरेकी थिएँ तर दिएनन् । नौ महिनाको मात्रै दिए । अरुले गरिदिएर नहुने, आफैँ जान पर्ने अरे ! हामीजस्ता बुढाबुढीलाई त टेर्दारहेनछन् बाबु !’ बुढीआमैले गुनासो पोखिन् ।
‘प्रत्येक वर्ष मरेज्युँदो थाहा पाउनका लागि होला नि आमा रिनु गर्न आफैँ जानुपर्ने !’ मैले हाँस्दै बुढीआमैको गुनासाको प्रत्युत्तर फर्काएँ ।
यसपछि आमै केही बोलिनन् । बसले क्रमशः गति लिन थाल्यो । सिद्धबाबाको मन्दिरनेर पहिराका कारण बाटो जाम रहेछ । दुवैतर्फ बस, ट्रक तथा ससाना गाडीहरूको लस्कर थियो । बसबाट ओर्लें । सिमसिम पानी परेको थियो । पानीको कुनै पर्वाह नगरी म सडकको छेउतिर गएँ । अरु केही यात्रीहरू पनि बसबाट ओर्लेर सडकमै छिरलिएका थिए । सडकको केही तलतिर तिनाउ उर्लिरहेको थियो । पारिपट्टिको घना जङ्गलयुक्त पहाडमा पहराबाट छहराहरू हाम फालिरहेका थिए । लगभग बिस मिनेटको जामपछि बसले पहिरो पार गर्यो ।
सिद्धबाबा कटेपछि बाटामा खासै त्यस्तो समस्या आएन । मैले अघि भेटिएको डायरी हेर्ने मनसायले त्यसका पानाहरू पल्टाउन थालेँ । कभरभित्र सुरुको पेजमा एउटा क्लवको छाप लगाइएको रहेछ । छापमा क्लवको नाम प्रस्ट थियो तर ठेगाना स्पष्ट बुझिँदो थिएन । छापभन्दा मुनिपट्टि ‘लालुपाते युवा क्लवद्वारा आयोजित खुल्ला कविता प्रतियोगितामा निर्णायकज्यूलाई उपहरस्वरूप’ भन्ने उल्लेख थियो । त्यसपछिको पेजमा डायरीवालाको नाम र ठेगाना रहेछ । यसै पेजमा उनले आफ्नो मोबाइल नं. ९८४६०२३२१ भनेर उल्लेख गरेका थिए । डायरीवाला क्याम्पसमा प्राध्यापन गर्दारहेछन् । ठेगाना भनेर आफू त्रिभुवन विश्वविद्यालयअन्तर्गत सहप्राध्यापक भएको कुरा उनले त्यसै पेजमा सङ्केत गरेका थिए । यद्यपि कुन क्याम्पसमा कार्यरत भन्ने उल्लेख चाहिँ थिएन ।
यसपछि मैले क्रमशः पानाहरू पल्टाउन थालेँ । उनको व्यावहारिक हिसाबकिताब लेखिएको पाना रहेछ । हेरेँ । उनले बेलाबखत घरजग्गाको कारोबार पनि गर्दारहेछन् भन्ने कुराको सङ्केत हनुमान टोलको पाँच आनाको जग्गाको मूल्य पचहत्तर लाख, सिद्धपाटनको चार आनाको मूल्य पचपन्न लाख, मालाखेती टोलको चार कोठे पक्की घरको मूल्य एकानब्बे लाख … … आदिबाट बुझिन्थ्यो । उनी पेसाले प्राध्यापनका क्षेत्रमा रहे पनि साइड जबका रूपमा घरजग्गाको खेलो गर्दारहेछन् भन्ने यहाँ उनले उल्लेख गरेको हरहिसाबबाट बुझ्न सकिन्थ्यो ।
त्यसपछिका पानाहरू पनि क्रमशः पल्टाउँदै गएँ । उनले स्नातक तहको नेपाली विषयको अध्यापन गर्दारहेछन् भन्ने थाहा लाग्यो । स्नातक तहको कक्षामा पढाउनका लागि ‘पारिजातको कथा लेखनगत प्रवृत्ति तथा विशेषताहरू’ शीर्षकमा उनले केही बुँदाहरू तयार पारेका रहेछन् । ती बुँदाहरूमा उनले पारिजातलाई विसङ्गतिवादी–अस्तित्ववादी कथाकारका रूपमा चिनाएका थिए, प्रगतिवादी लेखनसँग सम्बन्धित एउटा पनि बुँदा थिएन । ती बुँदाहरूको तलपट्टि कथा तत्वका आधारमा पाठ्य कथाको सामान्य विश्लेषण थियो ।
उनी साहित्यतर्फ पनि रुचि भएका व्यक्ति रहेछन् । डायरीको बिच भागतिर उनी आफैँले सिर्जना गरेका केही मुक्तकहरू थिए । ती मुक्तकहरू ‘रसरङ्ग साप्ताहिक’मा छापिएका रहेछन् । यस कुराको सङ्केत उनले मुक्तकको अन्तिममा उक्त साप्ताहिकको प्रकाशन वर्ष, अङ्क र पूर्णाङ्कसहित उल्लेख गरेका थिए । मान्छे रसिक नै रहेछन् कि कुन्नि ! मुक्तकहरूमा मायाप्रेमका कुरा थिए । डायरीमा सारिएका सबै मुक्तक दैहिक प्रेमसँग सम्बन्धित । त्यहाँ भएमध्ये उनको एउटा मुक्तक यस्तो थियोः
तिम्रै घरअगाडि फलेको लौसी मन पर्छ,
नजरसामु तिमी बसेको कौसी मन पर्छ ।
तिमीले छड्के नजरले पनि नहेर्दा भने,
बेला न कुबेला मलाई रौसी मन पर्छ ।।
मुक्तकहरू सकिएपछि अर्को पानामा उनले एउटा अनुष्टुप छन्दको जस्तो कविता लेखेका रहेछन् । ठाउँ ठाउँमा छन्द भङ्ग भएको हो कि जस्तो, अझ कुनै कुनै पङ्क्तिमा त अक्षरसङ्ख्या पनि नमिलेको जस्तो लाग्यो । कविता आठ श्लोकमा थियो । कविताको भाव सामान्य भए पनि सबै श्लोक पढिदिएँ ।
म डायरीमै अलमलिएको थिएँ । बस पाल्पा, तानसेन बजारको तल बर्तुन आइपुगेछ । सहचालक ‘चियानास्ताका लागि झर्नुस् है’ भन्दै थिए । ‘पाल्पाली ताजा बारा खानुस् है हजुर, बारा ! पचास रुपियाँ मात्र !’ केही मान्छेहरू बसको झ्याल र ढोकाबाट मासको पिठोबाट बनाइएका बिचमा प्वाल भएका ससाना रोटीहरू बेच्नका लागि प्लास्टिकका पोका बोकेर चिच्याइरहेका थिए ।
झरेर एउटा होटलमा पसी चिया पिएँ । अघिसम्म सिमसिम परेको पानी अहिले बढ्न थाल्यो । बस धेरै बेर रोकिएन, स्टाफहरूले खाजा खाएर सक्नासाथ हिँडिहाल्यो । बर्तुनबाट आर्यभन्ज्याङसम्म पाखो बारीमा घोँगा हालिसकेका मकैका बोटहरू थिए । त्यसभन्दा तलपट्टि देखिएको सुन्दर माडी फाँट हेरेर समय कटाउन थालेँ । यद्यपि पानी परेकाले माडीको दृश्य छर्लङ्ग चाहिँ थिएन ।
आर्यभन्ज्याङ काटेपछि अँगाहा खोलाको घुम्तीनजिकै भर्खरै माथिबाट पहिरो झरेको रहेछ । बाटो थुनिएको थियो । बाहिर निस्केर केही खानेकुरा खानका लागि त्यहाँ नजिकै होटलहरू थिएनन् । पानी परिरहेकाले यात्रुहरू पनि बसबाट बाहिर निस्केका थिएनन् । छाता हुनेहरू दुईचार जना मात्रै बाटातिर थिए, अन्यथा सबैजसो बसमै बसिरह्यौं । सँगै बसेकी बुढीआमै चिन्तित थिइन् । उनलाई यो बसबाट ओर्लेपछि आफ्नो गाउँ जानका लागि अर्को जीप समाउनु थियो ।
‘अब त मलाई वालिङबाट गाउँ जाने जीप भेटाउन पनि मस्किल पर्ने भयो । कस्तो साइत पारेर हिँडिएछ कुन्नि !’ बुढीआमैले मैतिर फर्केर चिन्ता जाहेर गरिन् । मैले सहानुभूतिस्वरूप भनेँ, ‘पीर नमान्नुस् आमा ! बर्खाको बेला हो, केही समय त यताका गाडीहरू आउँछन् भनेर पनि जीपले कुर्ला नि !’ मेरो कुराले आमै त्यत्ति निश्चिन्त भएजस्तो लागेन । उनको अनुहारमा चिन्ता मडारिएको मडारियै रह्यो । डोजर आएर पहिरो पन्छाउँदा लगभग डेढ घन्टाको समय लाग्यो । यसपछि भने बस अँगाहाखोलाको घुम्ती पार गरी राम्दीतिर ओरालो झर्यो ।
राम्दी पुल तरेर काली गण्डकीको किनारैकिनार स्याङ्जाको पाखामा गुड्दै गर्दा मैले पुनः डायरीतिरै आँखा लगाएँ । लगभग बिच भागसम्मका पानाहरू हेरिसकेको थिएँ । त्यसपछिका पानाहरू हेर्न थालेँ । त्यहाँ कक्षा एघारको अनिवार्य नेपालीको सहयोगी पुस्तक अर्थात् गाइड लेखेबापत् प्रकाशक संस्थाबाट रु. दस हजार लिएको र अब लिन बाँकी रकमको उल्लेख थियो । यसै गरी स्नातक तहको नेपाली विषयको गेसपेपर लेखेबापत लिएको र अब पाउनुपर्ने बाँकी हरहिसाब पनि त्यसै पानामा थियो । उनी विभिन्न थरीका पुस्तकहरू लेख्ने लेखक रहेछन् । गाइड, गेसपेपर लेखेर पनि कमाइ गर्दारहेछन् भन्ने कुरा यसबाट बुझ्न सकिन्थ्यो ।
बस मालुङ्गा हुँदै गल्याङ बजार आइपुगेछ । बुटवल, भैरहवातिरबाट आउने गाडीका स्टाफहरूले खाना खाने स्टेशन रहेछ यो । कन्डक्टर र सहचालक दुवैले खाना खानका लागि ओर्लन आग्रह गरिरहेका थिए । अहिले पानी बसेर घाम लागेको थियो । दिउँसो दुई बजेको समय, भोक बेस्सरी लागे पनि खाना खाने समय भने टरिसकेको थियो । यात्रीहरू आधाजसोले झरेर होटलमा पसी खाना खाए । कोही बसभित्रै बसिरहे भने कोहीकसैले सामान्य खाजाका माध्यमबाट भोक टार्न थाले ।
लगभग पच्चिस मिनेटजति खानाका लागि यहाँ रोकिएपछि बस पुनः बाटो लाग्यो । बस आँधीखोलाको किनारैकिनार अगाडि बढ्न थाल्यो । चिउरी पहाडतिर आइपुगेपछि मैले फेरि डायरीका पाना पल्टाउन सुरु गरेँ । डायरीमा दैनिकी पनि रहेछ । तीन दिनको दैनिकी थियो । असार पन्ध्र गतेका दिनको दैनिकी उनले सोह्र गते लेखेका रहेछन् । उक्त दैनिकीमा उनले लेखेको भाषा पढेँ मैले–
सामसुम गल्ली
२०७८/०३/१६
‘हिजो पन्ध्र वर्षको अन्तरालमा साथी झम्कनाथसँग भेट भयो । सँगै क्याम्पस पढेको साथी । अहिले परिवारसहित अमेरिकामा बस्ने गरेको छ । ऊ नेपाल आएको एक हप्ता भएछ । जम्मा एक महिनाको छुट्टी मिलाएर आएको रहेछ । उसका बाबुआमा गाउँमै बस्ने गरेका । गाउँमा जान भ्याएको रहेनछ । गाउँमा एक हप्ता र ससुरालीमा एक–दुई दिन बस्ने योजना बनाएको रहेछ । मलाई भेट्न पाउँदा ऊ निकै खुसी देखिन्थ्यो । एउटा होटलमा गएर खाजा खाँदै गफगाफ गरौं भन्न थाल्यो । हामी राम्रै खालको होटलमा पस्यौं ।
थोरै थोरै हार्ड ड्रिङ्क्स नै लिने कुरा गर्यो । मैले सहमति जनाएपछि सितनका लागि पनि विभिन्न थरीका चिकेन आइटमहरू मगायो उसले । अमेरिकामा आफूले गर्ने काम, श्रीमतीको जागिर, छोराछोरीहरूको स्कुलको वर्णनदेखि आफ्नो र श्रीमतीको गरी दुईवटा गाडी किस्तामा किनेको कुरा पनि उसले सुनायो । रक्सी लाग्दै जाँदा उसले अमेरिकामा कमाइ राम्रै भएको, भौतिक सुविधा पर्याप्त मिलेको यद्यपि मानसिक रूपमा भने बढी नै तनाव झेल्नुपर्ने कुरासमेत गर्यो । श्रीमतीको ड्युटी दिनमा र आफ्नो ड्युटी रातको समयमा भएको कुरा गर्यो । छुट्टीका दिनमा बाहेक अरु समय श्रीमती र आफू सँगै बस्न नपाएको गुनासो पनि गर्यो । मैले बिच बिचमा उसका कुरामा सहमति जनाइरहेँ ।
दुई जना मिलेर एक फुल बोत्तल नै रित्याएछौं । ऊ त्यही होटलमै बस्यो । म सकिनसकी घर आएर सुतेँ । आज बिहान टाउको निकै दुःख्यो । ‘सित्तैंमा पाएपछि मान्छेले अलकत्रा पनि तिन पाथी खान्छ’ भन्ने नेपाली उखान सम्झेर केही बेरसम्म त मनमनै हाँसिरहेँ म ।’
दैनिकी पढेपछि उनी रक्सी पिउन पनि पछाडि पर्दारहेनछन् भन्ने बुझेँ । मेरो अनुमानमा कडा खालको रक्सी पनि लगभग आधा बोतल जति पिउन सक्दारहेछन् । पियक्कड नै रहेछन् नि !
बस वालिङ आइपुग्यो । बुढीआमै झर्ने तरखरमा लागिन् । उनको गाउँतिर जाने जीप छुट्नै लागेको रहेछ । हतारहतार गरेर बुढीआमै बसबाट ओर्लेर जीपमा चढिन् । बसले पनि केही नयाँ यात्रीहरू त्यहाँबाट आफ्नो पेटमा हुल्यो र पुनः पोखरातिरकै बाटो समायो ।
मैले डायरीमा भएका कुराहरू सबैजसो पढेर सकेको थिएँ । एकपटक डायरीवालालाई फोन गर्न मन लाग्यो । डायरीमा उल्लेख भएको नम्बर थिचेर सम्पर्कको प्रयास गरेँ । मोबाइलबाट एउटी युवतीको मिठो स्वर आयो, ‘तपाईँले डायल गरेको नम्बर मिलेन । कृपया नम्बर चेक गरी पुनः डायल गर्नुहोला ।’ के भन्छे यो भन्दै मैले डायरीमा भएको मोबाइल नम्बर पुनः पढेँ । ठिकै जस्तो लाग्यो र फेरि डायल गरेँ । पहिले बोलेकै युवतीको उही स्वर आयो । अनि त्यहाँ लेखिएका अङ्कहरू गनेँ । जम्मा नौवटा रहेछन् । डायरीवालाले आफ्नो मोबाइल नम्बर उल्लेख गर्ने क्रममा एउटा अङ्क छुटाएका रहेछन् । अनि कसरी सम्पर्क होस् !
एउटा व्यक्ति, अनेक व्यक्तित्व ! मलाई ती सहप्राध्यापक बहुप्रतिभाशाली नै रहेछन् जस्तो लाग्यो । समयलाई सम्बोधन गर्न सक्ने उनको क्षमता अद्भूत नै लाग्यो । समयअनुसार चल्न सिपालु । घरजग्गाको कारोबारदेखि गाइड, गेसपेपरजस्ता पुस्तकहरूको लेखनसम्म उनले अनेक विधामा हात हालेका छन् । मुक्तक लेखेका छन्, कविता लेखेका छन् । दैनिकी लेखेका छन् । विभिन्न रचनाहरूका माध्यमबाट आफूलाई साहित्यकारका रूपमा चिनाउने प्रयत्न गरेका छन् । साथीभाइले अनुरोध गर्दा अथवा आइपरेमा मदिरापानका लागि पनि पछि परेका छैनन् । यस्तो बहुआयामिक व्यक्तित्वलाई सरकारले सहप्राध्यापक र त्यसमाथिको प्राध्यापक मात्रै होइन; अझ महाप्राध्यापककै दर्जा दिनु उपयुक्त हुन्छ भन्ने मलाई लाग्यो । यदि सरकारले महाप्राध्यापकको पद दिन सक्दैन भने पनि उनी मेरा लागि महाप्राध्यापक नै हुन् । म त उनलाई महाप्राध्यापक नै भन्छु र महाप्राध्यापककै रूपमा सम्मान गर्न चाहन्छु ।
ए महाप्राध्यापकज्यू ! तपाईँले आफ्नो डायरी बसमै छोड्नुभएछ । सायद् बिर्सनुभयो होला ! तपाईँलाई सम्पर्कका लागि जति नै प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । हुलाक वा कुरियरमार्फत् पठाउन चाहेको थिएँ तर तपाईँले लेखेको ठेगाना पनि स्पष्ट बुझिने खालको रहेनछ । लु ३ ख, २०२९ नम्बरको भैरहवा टु पोखरा बसमा छुटेको तपाईँको रातो कभर भएको डायरी ढोकापट्टिको चौथो सिटमाथि जस्ताको त्यस्तै रूपमा राखिदिएको छु है ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

