मनमा अदम्य साहस र उत्साह बोकेर म कर्मक्षेत्रतर्फ लम्कँदै थिए । ट्याङ्ट्याङ् टिङ्टिङ् अविरल बहने कर्कश ध्वनिले बसपार्क निथ्रुक्क भिज्दा पनि मलाई त्यसको रत्ती प्रभाव परेको थिएन । साढे नौ बजे छुट्ने बसको टिकट लिएर पनि मैले नौ बजे नै आफ्नो सिटमा आसन जमाइसकेको थिएँ ।

विद्युत् प्राधिकरणको सहायक स्तरको जागिरेबाट लोकसेवा आयोगको परीक्षा पास गरी म शाखा अधिकृत भएको थिएँ । सीमा प्रशासन कार्यालय, गोर्खाको प्रमुखको दरबन्दीमा पदस्थापन भई पहिलोपल्ट हाजिर हुन जाँदै थिएँ । यस घटनाले मलाई एउटा अनौठो र रोमाञ्चकता प्रदान गरिरहेको थियो ।

हल्लैहल्लाका बिच बिना विलम्ब बसले गति लियो तर बसको गतिको तुलनामा मेरो मनको सोचाइको गति अझ बढी बेगबत्ती हुँदै कुदिरहेको थियो । गोर्खाको सीमा प्रशासन कार्यालय । कति तिब्बती मूलका चाइनिजसँग साक्षात्कार हुने होला ? सीमा प्रशासकको हैसियतले मैले त्यस क्षेत्रको व्यापक कायापलट गर्न सकुँला कि नसकुँला ? यिनै सोचाइका क्रममा ममा चिन्ताका भावहरू पनि अटेसमटेस गरी आउँदै थिए । कहिल्यै दुर्गममा जागिर नखाएकाले, त्यहाँका मान्छे कस्ता हुने हुन् ? सहयोगी होलान् कि न होलान् ? खानाको अनुकूलता मिल्ने हो होइन ? फेरि कस्तो पाइएला ? कल्पनामा रङ्गमङ्गिए तापनि वास्तविकताले भने घरी घरी चिमोटिरहन्थ्यो । घरमा श्रीमती, छोराछोरी छाडेर जानु परेकोमा तिनको सम्झनाले पनि सताएकै थियो ।

बसमा झ्यालतर्फको सिट थियो । झ्याल बाहिरका दृश्य हेर्न कुनै अवरोध थिएन । आँखा खुला थिए । दृश्य आफ्नो भरपुर सौन्दर्य लुटाउन आतुर, बेपर्दा थिए तर हेर्ने आँखा खुला भए पनि मन अर्कै उमङ्गसँग जिस्किरहेको थियो आफैँलाई बिर्सेर ।

समयमा नै गोर्खा सदरमुकाम पुगेँ । एउटा स्तरीय होटेलमा कोठा लिई गोरखा बजारको पूरै चक्कर लगाएँ । दक्षिणतर्फ फर्केको पहारिलो पाखो । सामान्य घर बनाउन पनि अन्यत्रभन्दा थप लगानी गर्नु पर्ने भिरालो भूबनोटका कारणले नौलो अनुभूति दिलाउने खालका अविस्मरणीय सौन्दर्यले भरपुर रहेछ सरदमुकाम पृथ्वीनारायण नगरपालिका । उमङ्गले गोर्खासम्बन्धी नकारात्मक सोचलाई थिचेको थिच्यै गर्यो मरे बाहिर आउन दिएन । गोर्खा बजार मेरो दृष्टिमा भू-स्वर्गभन्दा कम भएन ।

साँझ प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएँ । उहाँ ज्यादै परिपक्व र सकारात्मक सोच भएको व्यक्ति हुनुहुँदो रहेछ । उहाँले मलाई ज्यादै इज्जत गर्नु भयो । त्यस साँझको खाना मात्र होइन म त्यहीँ जिल्ला प्रशासन कार्यालयमा हाजिर भई काम गर्ने र मेरो अन्यत्र खाने र बस्ने व्यवस्था नहुँदासम्म उहाँकैमा खाना खाने अनुरोध समेत गर्नु भयो । त्यस सदाशयतालाई आदेशको रूपमा स्वीकार गर्नुको विकल्प मसँग थिएन ।

गोर्खा आएको दोस्रो दिनदेखिको वासस्थान खोजीको कार्य तेस्रो दिनको हरि कट्टेलको सकारात्मक जवाफले थान्को लाग्यो । हरि कट्टेल गोर्खाका पुराना बासिन्दा र हुँदा खाने औसत नेपालीहरूभन्दा केही हुनेखाने रहेछन्। आधुनिक कङ्क्रिटको विशाल अट्टालिका भन्दा बेग्लै, परम्परागत ढाँचाको तर शौचालय, स्नानगृह, पर्याप्त पानीको व्यवस्था भएको, सफासुग्घर आधुनिक सुखसुविधा युक्त व्यवस्थित घर र यही घरको दुई कोठा उपलब्ध भएको थियो मलाई मेरो डेराको रूपमा ।

हरि कट्टेलको उमेर करिब सत्सट्ठी/अठसट्ठी वर्ष पुगिसकेको हुँदो हो तापनि वास्तविक उमेरभन्दा निकै कमका देखिन्थे । उनको श्रीमतीले सम्झना स्वरूप दुई छोरी र एक छोरा उपहार चढाएर दुई वर्षअगाडि नै उनीसँगको सहयात्रा टुङ्ग्याई अनन्त यात्राको बाटो लिइसकेकी रहिछन् । जेठी छोरीको विवाह दान भइसकेको र छोरो काठमाडाैँमा पढिरहेकोले घरमा बाबु र कान्छी छोरी सुलोचना कट्टेल मात्र थिए । सुलोचना भर्खर एस.एल.सी. उतीर्ण गरी स्थानीय उच्च मा.वि.मा भर्ना भई प्लस २ मा आफ्नो भविष्यको महत्त्वाकाङ्क्षी खाका कोर्दै थिइन् । यसरी कट्टेल बाजेले बच्चा हुर्काउनु पर्ने दायित्वबाट भने आफूलाई फुर्सदिलो बनाइसकेका थिए । यस उमेरमा पनि कट्टेल बाजे स्वास्थ्य, निरोगी र फुर्तिला देखिन्थे ।

****

केही दिनलाई मैले आउँदाको सुरुको दिनमा बसेको होटेलमा नै  खाना खाने निर्णय गरेँ । खाना सफा र सुस्वादिष्ट लाग्यो । अझ योभन्दा पनि होटलधनीको व्यवहार र मप्रति देखाएको सद्भावले गर्दा होटेलमा खाना खानु सामान्यतया उचित नहुँदा नहुँदै पनि मैले यो निर्णय लिएको थिएँ ।

‘थापा सर ! चिया ।’ झसङ्ग भएँ, अनपेक्षित स्वर र व्यवहारले । आज यस घरमा डेरावालको हैसियतले रात बिताए पछिको पहिलो बिहानी थियो । हिजो डेरा सर्ने क्रममा उनीसँग सामान्य कुराकानी भएको थियो । हिजोका कुराकानी सम्झनाको रूपमा आउन थाल्यो ।

‘सर आजबाट यहाँ बस्ने हो ?’आफ्नो घरको म बस्ने कोठा तर्फ औँलाले देखाउँदै सोधेकी थिइन् ।

‘हो ।’ मैले सटिक उत्तर दिए ।

‘सर कहाँ काम गर्नु हुन्छ नि ?’

मैले जवाफ दिनु उचित ठानेँ र भनेँ ‘सीमा प्रशासनमा काम गर्ने हो तर केही महिना यही जिल्ला कार्यालयमा नै बस्छु होला’ ।

‘सर सुब्बासाप हो ?’

‘होइन ।’

‘खर्दार हो ?’

‘किन ?’

‘त्यसै’

‘म खर्दार पनि होइन सुब्बा पनि होइन ।’

‘के सिड्यो साप हो त ?’ स्वरमा पहलेको चहक र ओज थिएन । ठिक पद ठम्याउन नसकेकोमा हीनताबोध भएको हो वा ठूलो मान्छे ठानेर असहजताले गाँजेको हो स्वर र अनुहारमा  चहक नभएको स्पष्ट देखिन्थ्यो ।

‘होइन बहिनी । म सिडियो भएको भए तिमीकोमा बस्न आउँथेँ त ? सिडियोको त क्वाटर छ नि तिमीलाई थाहा छैन र ?’

युवती अकमक्क परिरही । के बोलूँ के बोलूँ भएर लाजले रातोपिरो हुँदै आई । मानौँ कुनै ठूलो गल्ती नै गरेकी होस ।

मैले प्रसङ्ग बदल्नु उचित ठानेर सोधेँ, ‘बहिनीको घर हो यो ?’

‘हो ।’ हो भन्ने सङ्केतमा टाउको समेत हल्लाउँदै भनिन् ।

‘तिम्रो नाम के हो नि ?’

‘सुलोचना कट्टेल ।’ उनले कुनै विलम्ब नगरी तुरुन्त जवाफ फर्काइन् ।

‘अहा कति राम्रो । कति सुहाउँदो नाम ।’ मैले शिष्टतावश आफ्नो धारणा पस्केँ ।

‘किन नाम पनि सुहाउँदो, नसुहाउँदो हुन्छ र ?’ तुरुन्त खण्डन गरिहाली ।

‘हुन्छ नि किन नहुनु । ‘सुलोचना’को अर्थ राम्रो आँखा भन्ने बुझिन्छ । तिम्रा आँखा मृगका जस्ता लाम्चिला, ठूला र सुन्दर छन् । तिमी मृगनयनी छौ । तिम्रा आँखा मृगको जस्तो सुन्दर र तिम्रो नाम ‘सुलोचना’ भएपछि नाम सुहाउँदो भएन त ?’

सुलोचना वास्तवमा निसङ्कोची, निडर र हाजिर जबाफीमा अब्बल रहिछन् । यो उनको बोली र व्यवहारबाटै भल्कन्थ्यो ।

‘तिमी कहाँ, कतिमा पढछयौ नि ?’

‘उ त्यो उच्च मा.वि.मा प्लस टुमा पढ्दै छु ।’ घरको आँगनबाट पूर्वतर्फ देखिने लामो सेतो भवनतर्फ इशारा गर्दै भनिन् ।

मैले पनि आफ्नो सामान्य परिचय दिनु उचित सम्झँदै भने ’मेरो नाम मुकुन्द थापा हो । म हिजो मात्र गोर्खा  आइपुगेको हुँ । मेरो दरबन्दी सीमा प्रशासन कार्यालयमा हो र म त्यहाँको हाकिम हुँ । तर केही महिना म यहीँ जिल्ला कार्यालयमा बस्छु होला । यहाँ अफिसको क्वाटर रैनछ तसर्थ खोज्दै जाँदा तिम्रो यो घर फेला पर्यो । म यहाँ बस्दा तिमीलाई कुनै अप्ठ्यारो त पर्दैन होला नि ?’

‘किन पर्थ्यो यसलाई अप्ठ्यारो, पर्या छैन । सर यसरी हाम्रोमा बस्न आउँदा हामीले त झन् राम्रो पो मानेका छौँ त ।’ हरि कट्टेलले घर तिर आउँदाआउँदै पछाडिबाट भने ।

‘हो नि ?’ उसले पनि बिना सङ्कोच जवाफ फर्काई ।

बरु म अलि लजालु स्वभावको थिएँ के भन्ने के भन्ने सङ्कोचमा नै चुप लागेछु ।

‘सरलाई मैले के भन्ने ? थापा सर भन्छु ल ?’

‘हुन्छ नि ।’

यिनै संवाद थिए हिजो साँझ घर भित्रिने बेलामा । आज बिहानै त्यही कोकील स्वरले ‘थापा सर चिया’ भन्दा हिजोका दृश्य चलचित्र समान मेरो मानसपटलमा नाच्न थाल्यो ।

****

‘थापा सर !’ किन आज अबेर भयो त ?’ म साढे पाँच पौने छ बजे कोठामा आउँदा पनि प्रायः सोधिने प्रश्न थिए यी । म अफिसबाट आउने बेलामा जहिले पनि उनी कुनै न कुनै बहानामा घरको  आँगन वरपर नै हुने गर्थिन् । पहिला पहिला त म यसलाई सामान्य रूपमा नै लिने गर्थे जब मलाई आभास हुन लाग्यो उनी मेरो प्रतीक्षामा जहिले पनि घरबाहिर रहने गरेको मैले थाहा पाए ।

घरभित्रै पनि उनी कुनै न कुनै बहानामा मेरो नजिक आउने, लाडिने, जिस्कने टाँसिएर बस्ने गर्थिन् । यसले पनि उनी मप्रति आकर्षित भएको बुझ्न कठिन भएन मलाई । म अलि लजालु स्वभावको थिएँ, इच्छा हुँदाहुँदै पनि उनका हर क्रियाकलापको प्रतिक्रिया दिन सकिराखेको थिइन ।

मेरो गोर्खा बसाइ करिब डेढ वर्ष रह्यो । यसबिचमा सिडिओ फेरिए । म पनि करिब दुई महिनाको लागि सीमा प्रशासन कार्यालय जानु पर्यो । यद्यपि हामी बीचमा झ्याङ्गिएको न्यानो सम्बन्ध सुमधुर नै रह्यो ।

यस्तैमा मेरो अर्को जिल्लामा सरुवा भयो । कर्मचारीको जीवन सरुवालाई आत्मसाथ गर्दै हिँड्नु पर्ने, यही नियतिबाट म पनि गुज्रन गएँ ।

****

म जोमसोम एयरपोर्टको भर्याङ्ग चढ्दै गर्दा उनी ओर्लंदै रहिछन् जम्काभेट भयो झण्डै ठोकिएको ।

‘ओ हो तिमी ?’

‘थापा सर ! हजुर ? कहाँबाट हो त यहाँ ?’

‘म एउटा फ्रेन्च टोलीको लायजन अफिसर भएर आएको हुँ ।  माथिल्लो मुस्ताङबाट फर्केर हिजो मात्र यहाँ आइपुगियो । आजको फ्लाइट थियो क्यान्सिल भयो दुःख पाइने भयो ।’ मैले सबै जवाफ एकै सासमा सिद्ध्याएँ ।

‘सुलोचना ! अनि तिमी कताबाट नि यहाँ ?’ मैले उनी जोमसोममा देखिने कल्पना नगरेकोले अनायासै सोध्न पुगेँ ।

‘करिब दुई वर्ष जति भै सक्यो ।’

‘ए !’ मैले किन, कसरी भनेर सोध्न नपाउँदै उनले भनिन् ‘थापा सर मेरो कोठा यहीँ नजिकै छ जाऊँ तेहीं गएर चिया खाएर कुरा गरौँला ।’

आजको फ्लाइट क्यान्सिल भै सकेको थियो तापनि थप जानकारीको लागि टावर चढ्दै थिएँ । यिनको चिया प्रस्ताव र जीवनमा अति मन पराएको र माया गरेको व्यक्तिसँग यसरी जम्काभेट हुँदा मलाई संसार जिते जस्तो आनन्द लागेको थियो । सायद उनी पनि यस्तै आनन्दित थिइन होला भन्ने मेरो अनुमान उनको अनुहारमा छाएको उमङ्गले दिइरहेको थियो । जहाज बारे थप जानकारी दिनभरमा पनि लिन सकिन्थ्यो तर अहिले म चिया निम्तोमा गइन भने कतै यो अवसर फुत्किएर वर्षौं नआउने पो हो कि ? चिया निम्तो मान्नु मेरो पहिलो प्राथमिकतामा पर्यो र मसँग स्वीकृतिमा टाउको हल्लाउनुको विकल्प रहेन ।

‘थापा सर !’ यही हो मेरो कोठा’ उनले घरको मूलढोका खोली सकेर कोठाको ढोका खोल्दै भनिन् ।

सरसरती हेरेँ, सम्पूर्ण सामान व्यवस्थित तवरले राखिएको थियो । कोठाको आन्तरिक सजावट सफा र तारिफयोग्य थियो ।

‘सुलोचना !’ प्लस टु पछि इण्टेरियर गर्यौ कि कसो ?अति सुन्दर सजावट छ त, आफू जस्तै।’ केही वर्षयता म अलि छुचो, जिस्किएर चल्ने, चाँडै खुल्ने, नकच्चरो स्वभावको भैसकेको थिएँ । यसैले प्याच्च बोलेँ ।

‘थापा सरको नजर नै राम्रो, तेसैले राम्रो देख्नु भएको होला ।’ उस्तै हाजिर जबाफी स्वभाव रहेछ, बडो मोहक र आत्मीय तवरबाट तत्काल जवाफ फर्काइन । तुरुन्तै ‘थापा सर ! बस्नोस् न’ म उठिरहेकोले देखेर बस्न आग्रह गर्दै भनिन् ।

विगतमा उनीसँग हाँसेको, चलेबोलेको, जिस्किएको यावत घटनाहरू चलचित्रसरि मेरो स्मृतिपटलमा तरङ्गित हुन थाल्यो ।

‘थापा सर ! कता हराउनु भयो’ लामो समय नबलेको देखेर उनले सोधिन् ।

म वर्तमानमा फर्किएर मेरो जिज्ञासा उनी सामु तेर्स्याएँ ‘अनि तिमी कसरी जोमसोममा त ?’

‘मेरो श्रीमान् यहीँ मुस्ताङ जिल्ला विकास समितिमा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ । करिब दुई वर्ष अगाडि, हाम्रो विवाह भए देखि म पनि यहीँ नै छु । निर्माण सामाग्री ढुवानीको व्यवस्था मिलाउन अस्ति सोमवार काजमा पोखरा जानु भएको हो अझै एक साता जति लाग्ला फर्कन । आज केही चामल, कुखुराको मासु, गोलभेँडा पठाइदिन्छु भन्नु भएको थियो तेसैले टावरमा गएकी थिए प्लेन नै क्यान्सिल भयो फर्कंदा हजुरको अपूर्व दर्शन पाइयो । साइत बिग्रिएछ भन्दै झरेकी थिएँ केको बिग्रनु झन् साइत पो परेको रहेछ ।’

करिब पाँच वर्ष जति भयो हामी छुट्टिएको तर पनि कत्ति परिवर्तन भएको रहेनछ उनको स्वभावमा मनमा लागेको कुरा एकै सासमा भनी सिद्ध्याउने, त्यसको कुनै प्रतिक्रिया नखोज्ने तथा अरूलाई अति महत्त्व दिने । आज धेरै वर्षपछि भेट हुँदा भिन्नै उमङ्ग छाएको थियो । कता कता मलाई उनी एक्लै भएकोमा अझ थप आनन्द भएको थियो होला जस्तो लाग्छ आज सम्झँदा ।

‘ए ! तिम्रो त विवाह पनि भै सकेछ । खै त हामीलाई निम्ता गरेको ? कहिले हो नि बिहे भएको ?’ कुरा अगाडि बढाउँदै मैले जिस्कने हिसाबले सोधेँ ।

‘यस्ता स्वार्थी मान्छे । छोडेर हिँडेपछि कहिल्यै सम्झिएको होइन ? मैले मात्र खोज्ने त हो नि । मैले हजुरलाई कति खोजेँ ल भन्नोस् त ? बल्ल बल्ल फोनमा भेट हुँदा पनि खुलेर कुरा नगर्ने ? हो कि होइन ल सम्झनुस् त ? तै पनि मेरो विवाहमा हजुरलाई धेरै खोजेँ, तर लाख कोसिस गर्दा पनि हजुर कहाँ हुनुहुन्छ भन्ने मेसै पाउन सकिन । मेरो आदर्श र भरोसाको धरोहरलाई मैले खोजिन होला त ?’ झ्यालको पर्दा मिलाउँदै, हँसिलो अनुहार र कर्के आँखाले मतिर हेरेर प्रतिप्रश्न गर्दै अर्को कोठातर्फ लागिन् ।

वास्तवमा म ती दिनमा अति लजालु, अन्तर्मुखी स्वभावको थिएँ । मैले चाहेर पनि उनलाई मेरा मनमा रहेका अतृप्त चाहनाहरू व्यक्त गर्न सकेको थिइन यद्यपि ममा उनलाई भोग्ने चाहना रुपी शारीरिक आशक्ति चरम अवस्थामा थियो । उनमा पनि त्यो आशक्ति कम थिएन, अझ बढी थियो मेरो एक इशारामा सर्वस्व: लुटाउन तयार थिइन् । मैले सबै कुरा बुझेर पनि सङ्कोची स्वभावले गर्दा मर्यादाको हद पार गर्न सकेको थिइन । आजसम्म आइपुग्दा ममा धेरै परिवर्तन आइसकेको थियो । उनको शालीन, सौम्य र शिष्ट व्यवहार, अनुहारमा दौडिएको प्रसन्नता, मायालु हेराइ, मृदु मुस्कान, आदरपूर्ण व्यवहार र बोलीको अर्थ मैले आज पनि उनको मप्रतिको समर्पणयुक्त आशक्ति यथावत् रहेको रूपमा लिए र वर्षौं अगाडिको अतृप्त इच्छा पूर्ण हुनेमा म झनझन आश्वस्त र दृढ हुँदै गएँ, एउटा सातिर सिकारी जस्तै ।

उनले त्यतिञ्जेलमा चिया, अम्लेट, कुकिज लगायतका खानेकुराहरू तयार गरी ल्याइन । दुवैजना आमनेसामने बसेर कहिले शब्दले कहिले मौनताले इतिहासमा खुब डुबुल्की मार्यौं, चिया र कुकिजको साथमा ।

बिहानी छलफलमा अतीतमा रमाउने काम भयो । डिले सेड्युल राखिदियो भने भोली नै फर्कनु पर्ने भएको हुँदा साँझको एक छाक खाना उनकोमै खाने प्रस्ताव राखिन् सहमतिमा तत्काल मेरो टाउको हल्लियो र छुट्टिए अगाडि ठिङ्ग उभिएको निलगिरी कुनै पनि हालतमा विजय गरी छाड्ने दृढ निश्चयकासाथ ।

दिनभर साँझको सम्भावित प्राप्तिको योजना मिलाउँदै कल्पनामै रमाइ रहेँ । प्रतीक्षित साँझ आइपुग्यो । आगमनको सङ्केत स्वरूप टकटक आवाज दिएर भावी कल्पनामा रमाउँदै उनको ढोकामा निमेषभर उभिन पाउँदा  नपाउँदै ढोका खुल्यो । मृदु मुस्कानकासाथ दुई हात जोडेर उभिएको सुन्दरताको प्रतिमूर्तिका जोडिएका हातलाई मेरा दुवै हातले मुसार्दै म भित्र पसेँ यसै क्रममा मेरो एउटा हातले उनको चिउँडो मुसार्न पुगिसकेको थियो । उनले यसलाई स्वाभाविक रूपमा नै लिइहोलिन्; कुनै प्रतिक्रिया आएन ।

एकछिन औपचारिक कुराकानीमै बित्यो । म मेरा शब्द तौलीतौली र योजनाबद्ध ढङ्गले राख्दै गएँ । कुराकानी कै क्रममा कहिले पिठ्यूँमा धाप लगाउँथे, कहिले टाउको मुसार्थे । म पूर्ण रूपमा प्रायोजित थिएँ, उनी स्वाभाविक । उनले मेरा कतिपय अनावश्यक हरकतको प्रतिरोध  गरिनन् जसले गर्दा मैले दिनभर बुनेका मेरा योजना सही दिशामा गइरहेको थियो भन्नेमा म विश्वस्त थिएँ ।

मेरो चरित्रमा आएको बदलावले अन्यत्र अरूसँग खुले जसरी किन किन यहाँ खुल्न सकेको भने थिइन । कता कता उही पुरानै सङ्कोच हाबी हुन खोज्दथ्यो । तर दृढ निश्चयकासाथ आएको र यस्तै अनुभवले खारिएको म, सङ्कोचलाई कुल्चँदै निर्लज्ज अगाडि बढ्दै गएँ ।

खाना तयार भैसकेको थियो । मेरै आग्रहमा दुवैजना सँगै खान बस्यौँ । उनी त, शिष्टतावश पहिला मलाई खुवाएर मात्र खान चाहन्थिन् । बेलाबेलामा मैले मायालु आँखाले आसक्त भावमा उनीलाई हेर्थे । उनले कसरी के बुझिन कुन्नि ? म भने निरन्तर अगाडि बढ्दै थिएँ ।

टेबुलमा खाना राखेर दुबैजना पलङमा बसेर खाइरहेका थियौँ । हामी बिच हेराहेर भयो उनका आँखामा सन्तोषको आभा झल्किन्थ्यो । उनले खान लागेको गाँसतर्फ लोलाएका आँखाले हेर्दै आँऽऽ गरेँ उनले पनि त्यो गाँस मेरो मुख तिर बढाइन् जसै मेरो मुखनेर आइपुगेको थियो मैले अगाडि बढेर खान खोज्दा फरक्क फर्काएर आफ्नै मुखमा हालिन् र मुस्कुराइन् ।

खाना खाइसकेपछि म उनको बेडमा पल्टिएँ । उनी मेरो नजिकै उभिएकी थिइन् । उनको आँखामा आँखा मिलाउँदै अँगालोमा आऊ भन्ने आशयअनुसार दुवै हात फैलाएर आफूतिर बोलाएँ । उनी नजिक त आइन् तर अपत्यारिलो, संशय एवं संयमित मुद्रामा । मैले दुवै हातले उनको पिठ्यूँमा समाएर आफू तिर ताने । उनी ढलेको रुखसरि मैमाथि घोप्टिन आइन् । मैले उनको अनुहारमा आउँदै जाँदै गरेको भाव पढ्न तिर समय खर्च नगरी मेरो सम्मुख आएको उनको निधार, गाला, ओठमा आफ्नो ओठ दौडाउन थाले । उनी प्रत्येक क्रियाकलापको हल्का विरोध गर्दै मबाट उम्कन प्रयत्नरत थिइन् । उनीबाट समर्थन नपाएकोले ममा पनि शिथिलता आएको थियो र उनी फुर्तीसाथ मबाट अलग भइन् ।

‘थापा सर !’

‘हुँ !’ अनुहार नै नहेरी प्रतिउत्तर दिएँ ।

‘के हुनु भएको हजुर ? के गर्न खोज्नु भएको हो ?’

म ट्वाल्ल परिरहेँ कुनै जवाफ दिन सकिन ।

‘थापा सर !’ एक क्षणको मौनतापछि उनी बोलिन् र मैले उनको अनुहारमा पुलुक्क हेरेँ ।

उनले मतर्फ हेर्दै नहेरी बोल्न थालिन् ‘मैले हजुरलाई के सोचेकी थिएँ आज यो के रूप देख्दै छु ? हो म हजुरप्रति आसक्त थिए । जिज्ञासु किशोरवयमा सुन्दर, हँसिलो एवम् आकर्षक व्यक्तित्वको धनी हजुरलाई आफ्नै घरमा पाउँदा ज्यादै खुसी थिएँ । रहँदा बस्दा हजुरप्रति मेरो चासो बढ्दै गएको थियो र हजुरलाई आकर्षण गर्न हर सम्भव कोसिस गर्दै रहेँ । उमेरका कारण ममा रहेको चरम यौन जिज्ञासा सैद्धान्तिक र व्यवहारिक रूपमा हजुरबाटै शान्त पार्न उद्धत थिएँ म । मेरो अधीर, चञ्चल यौवन हजुरलाई लुटाउन आतुर थिएँ । तर हजुर संयमित रहनु हुन्थ्यो । तत्क्षण नै मलाई आफ्ना क्रियाकलाप प्रति ग्लानि हुन्थ्यो, हीनताबोधले ग्रसित हुन्थे । तर फेरि हजुरको सामिप्यता र मायालु बोली व्यवहारले गर्दा पुनः हजुरलाई प्राप्त गर्न उद्धत रहन्थेँ । एकान्तमा खाली हजुरसँगै अभिसाररत रहेको कल्पना गर्दथेँ । ममा हजुरलाई प्राप्त गर्ने उत्कण्ठा अभिलाषा थियो र हजुर त्यहाँबाट सरुवा भएर गएपछि पनि कायमै रहेको थियो । मेरो तन मनले हजुरलाई धेरै पछिसम्म खोजी रह्यो र त खोजी खोजी फोन गरिरहन्थेँ ।’

‘थापा सर !’ उनी सास फेर्न एकछिन रोकिएर पुनः बोल्न थालिन्, ‘हजुरको ठाउँमा अर्को पुरुष हुन्थ्यो भने मेरो यौन भोक र जिज्ञासा त मेटिन्थ्यो होला तर नारीले पालन गर्नु पर्ने संवेदनशील सामाजिक मान्यता एवम् मर्यादाबाट च्युत हुन्थे र जिन्दगीभर यही पिडामा बोझिलो जीवन बाँच्न अभिशप्त हुन्थे ।’

उनी बोली नै रहिन्, ‘मैले लाख कोसिस गर्दा पनि हजुरलाई पाउन सकिन । बिस्तारै बिस्तारै हजुर सम्पर्कमा आउनै छोड्नु भयो, मेरो व्यवहारमा पनि परिपक्वता आउन थाल्यो । म हजुरभन्दा अर्को पुरुषलाई त्यसरी माया गर्न सक्दिन थिएँ । बुवा भाइप्रतिको जिम्मेवारी र कर्तव्य बोधले बिस्तारै म व्यस्त हुन थालेँ पछि क्रमशः यस्ता भावना आउन कम हुँदै गएका थिए तर हजुरको सम्झना भने बेलाबेलामा आई नै रहन्थ्यो ।’

‘एकदिन हजुरको खुब सम्झना आयो । विगतका आफ्ना क्रियाकलाप सम्झेँ, ममा आत्मग्लानि हुन थाल्यो । जति जति सम्झँदै गएँ उति उति आफूप्रति घृणा र हजुरप्रति श्रद्धा बढ्दै गयो । हजुरलाई मैले त्यस दिन ईश्वरको रूपमा पाएँ । हजुर मेरो हृदयमा प्रेमी एवं आकर्षक लोग्ने मानिसको रूपमा त हुनुन्थ्यो नै खाली मानकमा परिवर्तन भई मेरो अस्मिता र कट्टेल खानदानको इज्जत जोगाइदिने ईश्वरको रूपमा प्रतिस्थापित हुनु भयो । अन्यथा जीवनभर म मेरै नजरमा गिरेर चरित्रहीन नारीको रूपमा रहन्थे होला । तर हजुर त…’ वाक्य पूरा नहुँदै सुँक्कसुँक्क रुन थालिन् र त्यसपछि अलिबेर नै चुप लागिन् । सायद मेरो प्रतिक्रिया पर्खेकी पो थिइन् कि ?

म उनीसँग बोल्न सक्ने अवस्थामा थिइन तर मनमा अनेक आँधीबेहरी खेलिरहेको थियो । मेरै दुर्व्यवहारको कारण उनी प्रताडित भइन् भन्ने छर्लङ्ग भैसकेको थियो । कस्तो गलत अर्थ लगाएछु मैले उनको व्यवहारको । मैले हतार नगरेको भए पनि हुन्थ्यो । ‘छ्या ! के गरेँ मैले यस्तो’ मनमा छटपटी हुन थाल्यो, अनेक कुरा खेल्न थाल्यो । ‘सरी !’ सम्म भन्न सक्ने आत्मबल शेष रहेन ममा ।

‘थापा सर !’ अलिबेरको मौनतापछि लगाएको लुगा तानतुन पारी मिलाउँदै अलिक पर सरेर बसिन् र पुनः बोल्न थालिन्, ‘अहिले हजुरले सोचिरहनु भएको होला हजुरको दुर्व्यवहारले म प्रताडित भएँ भनेर । यसरी सोचिरहनु आवश्यक छैन । मैले मेरो यो शरीर त पहिल्यै हजुरलाई समर्पण गरिसकेकी थिएँ जसलाई अहिले जोगाउनुको कुनै औचित्य छैन र मैले त्यसो गरिरहेकी पनि छैन । तर जसलाई मैले ईश्वरको दर्जा दिएर जीवनको अन्तिम घडीसम्म समर्पित रहने प्रणका साथ उसको अनुपस्थितिमा दिनरात पूजा गरेँ आज त्यही ईश्वर प्रत्यक्ष हुँदा आफ्नो स्थानमा रहन सकेन र पतित भयो । आज त्यही आराध्य देवको पतन, मेरो अविचलित आस्थाको पतनले मात्र मलाई विचलित बनाएको छ, छाँगाबाट खसेजस्तै भएकी छु ।’

उनले दुवै हात उठाएर समर्पणको भावमा मतिर हेर्दै अविराम बोल्दै रहिन् ‘हजुरको इच्छै त्यस्तो छ भने आउनोस् भोग्नुहोस् यो भावनाविहीन शरीर । हजुरले मेरो भावना आजसम्म कहिले पो बुझ्नुभएको थियो र अहिले बुझ्नुहुन्थ्यो ?’

म किंकर्तव्यविमूढ भएँ । न बोल्न सकेँ न उनलाई आँखा उठाएर हेर्न नै सकेँ । उनको हृदयाकाशबाट यसरी खसेँ कि अब सम्हालिएर पुनः हिँड्न सक्ने तागत रत्ती शेष रहेन ममा । अस्तु ।

****

* त्यस बखत मुस्ताङमा कुखुरा, चामल, गोलभेँडा आदि उत्पादन नहुने हुँदा प्रायः यस जिल्लामा कार्यरत केही कर्मचारीहरूसमेतले यस्ता खाद्यान्नहरू लगायतका सामानहरू पोखराबाट जहाजमा मगाउने गर्दथे ।