‘सविता, मुख सुक्यो फेरि । केही झोल खाऊँ न ।’, कोठाभित्रबाट समीरको आवाज आइरहेको थियो ।
सन्नाटा । सन्नाटा ।
त्यही सुनसानबिच सविताले तातो पानीको थर्मस ल्याएर राखिदिइन्, ‘सारेर खानू ।’
ओछ्यानबाट हात र खुट्टा कमाउँदै उठेर समीरले गिलासमा पानी सारे । बिस्तारै पिए ।
उनी यसरी ओछ्यान परेको धेरै त भएको छैन, तर डाइवेटिज रोगको सिकार भएको चाहिँ निकै वर्ष भयो ।
रित्तो कोठामा एक्लै छन् उनी । उनको साथी भनेको एउटा मोबाइल छ । एउटा लौरो छ । एउटा चस्मा छ । अनि कोठाका झ्याल र ढोकाहरू छन् । त्यसभित्र गुम्सिएको शून्यता छ । चकमन्नता छ । आँखा चिम्लिएर आफ्नै विगतका पाइतालाले स्पर्श गरेका पदचापहरू छन् । आफैँले हिँडेका उत्तेजक गोरेटाहरू छन्, जसले उनलाई त्यागिसके । बिर्सिसके ।
अनि उनीसँग जम्मा एउटा स्मृति छ । एउटा नोस्टाल्जिया छ ।
आँखा बन्द गरे । अनि फेरि आँखा उघारे । कोठाभित्र र बाहिर दुवैतिर अँध्यारो थियो । अनि मनभरि पनि अँध्यारो देखे ।
‘सविता, बत्ती बालिदेऊ न !’
‘कति गनगन गरिराख्या ? मैले पनि त भ्याउनु पर्छ नि ! नोकरलाई अराएजस्तो सधैँ ……!’
सविताले आएर कोठाको बत्ती बालिन् । जाडो महिना भएकोले हिटर पनि बालिदिइन् । र उनी किचनतिर गइन् ।
एकछिनमा थालीमा सुक्खा रोटी र सागको तरकारी ल्याएर आइन् ।
‘खानू ।’
‘टोकिँदैन ।’
‘दाँत लगाउन अल्छी लाग्छ !’
‘अलिक कमला बनाउनु नि !’
‘आफैँ बनाएर खानू भन्न मिलेन । के गर्नु, जाने ठाउँ पनि त कतै छैन,’ लामो सुस्केरा हालिन् सविताले ।
‘कति मलाई धम्क्याउँछौ ? राम्री देखेर आफैँले रोजेर बिहे गरेको । …….’,समीर भकभकाए, मुरमुरिए एक्लै ‘लिच्चड !’
‘मलाई लिच्चड भनेको ? तपाईँले जिन्दगीभर यही एउटा शब्द प्रयोग गरेर सारा साथीहरू सिद्ध्याउनुभयो । आज किचन ट्वाइलेट एकै ठाउँमा हुँदा हिजो ललौरा तुन्दै आउने तपाईँका काइते ग्याङ खोइ ? कहाँ मरे ? खान पाउन्जेल त बिहानदेखि बेलुकासम्म ढुकुवा लाग्थे त ! चाडबाड आउनुहुँदैनथ्यो, अघि गेटमा आएर बोलाउँदै हुन्थे । फोन आउँथ्यो तारन्तार । देउता मान्थे त ती भजनमण्डलीहरूले ! तिनले तपाईँका यस्ता जङ्गली भाषालाई पनि आनन्द किन माने थाहा छ? खान पाएकाले । अहिले यहाँ पनि रक्सीका कार्टुन राखेर बोलाउनु त ती भजनमण्डलीहरूलाई, दश दिन दश रात यहीँ बस्छन् । बिर्सन्छन् घर, अनि परिवार । तर जीवनमा श्रीमती मात्रै यस्तो निस्वार्थ साथी हो नि, जस्तोसुकै परिवेशमा पनि जिम्मेवारी लिएर बस्छन् । भाग्दैनन्, बुझ्नु भयो ? यति कुरा बुझेको भए मैले जीवनभर किन दुख पाउँथे ?’
निकै लामो, तर मुटु हल्लिने गरी शिक्षा दिएर सविता किचनतिर लागिन् ।
जाडो पनि छ कोठामा । साँझ ढल्किँदै छ कोठाभित्र पनि । समीर दुवै हात मुठी पारेर आँखा चिम्म पार्छन् । ती दुवै मुठ्ठी आफ्नै छातीमाथि राख्छन् । आफ्नै धड्कन अनुभूत गरिरहेका छन् । तिनै मुठ्ठीले नापिरहेछन् धड्कनको गहिराइ । र आफ्नै अतीतमा पोखिन्छन् ।
त्यो साँझको बाहिरी अँध्यारोभित्र, अनि आफ्नै आत्मामा छाएको अँध्यारोभित्र उनले आफ्ना ती दुई मुठी भरि आफ्नै अतीतको उज्यालो पक्रिएको देखे । उज्यालो छाएको अनुभूत गरे । त्यो त अनुभूति न थियो, कहाँबाट आउनु उनको जीवनमा त्यो गुज्रिसकेको उज्यालो ? त्यो अस्ताइसकेको घाम ? कहिल्यै ऊ सम्म आई नपुग्ने उज्यालो ! कहिल्यै नआउने उज्यालोको पर्खाइमा लमतन्न छन् पलङमा उनी ।
उनी त्यही लमतन्न पल्टिएर बन्द आँखामा आफ्नै जिन्दगीको त्यो कृत्रिम उज्यालो हेर्न थाले । र कृत्रिम मुस्कुराउन थाले ।
०००००
हामी समयको दास हुँदा रहेछौँ । समयले उनलाई त्यहाँबाट यहाँ हुत्त्याएर ल्याइदियो ।
उनको जिन्दगी फूलैफूलको घारीमा उम्रिएको बिरुवा थियो । उनले नफुलेर के भयो र? परिवारमा अरूले फुलिदिएकाले ऊ ढकमक्क देखिन्थेँ । उनले फुलिरहनु पर्दैनथ्यो । उनी काँढा भएर बाँच्दा पनि उनी सबै सबैका लागि फूल थिए । सबैले फूल भन्थे । उनको सौगन्ध छ भन्थे । उनकै अगाडि र पछाडि गिर्दा लाग्थे । उनकै वासनाका भोगी हुन्थे ।
विद्यालय पढ्दा पनि समीरको सौगन्ध कम थिएन । कक्षामा हल्ला गर्थे, कक्षामा बारबार अनुपस्थित हुन्थे । तर कुनै सरहरूले गाली गरेको थाहा छैन । कुट्न त परैको कुरा ! बरु सरहरूलाई गाली गर्थे । ढुङ्गा हान्थे । एक दिन अङ्ग्रेजी पढाउने सरलाई कक्षामा रातो न पिरो पारे, ‘सर, टी ओ टु हुन्छ, तर जि ओ गु किन हुँदैन ?’
सर खै के के भन्न थाले, उनले नै उत्तर दिए, ‘गनाउँछ भनेर होइन, सर ?’
कक्षाभरि अनियन्त्रित हाँसो र हल्ला फैलियो ।
त्यसपछि सर जानुभयो घण्टी नै नलागी ।
उनले कहिल्यै होमवर्क गरेनन् । कहिल्यै पूरै किताब झोलामा हालेर बोकेनन् ।
तर पनि सरहरूले उनलाई किन नसिहत दिएनन् ? किन कारबाही गरेनन् ? किन फेल पारेनन् ? किन बालाई कुनै उजुरी गरेनन् ?
अनि परीक्षामा चाहिँ समीर सधैँ पास भए ।
यसरी विद्यालयको जाँच पास गरेर समीर क्याम्पस पढ्न गए । केही दिन त उनी वाल्ल परे । त्यसपछि क्याम्पसको माहौल थाहा पाए । केही विद्यार्थीहरूको समूहको सङ्गतमा पुगे । तिनीहरूको ठुलै ग्याङ थियो । तिनको उपस्थिति एउटा थ्रिलर मुभी जस्तो हुन्थ्यो । ती चन्दा उठाउँथे । कार्यक्रम गर्थे । क्याम्पस प्रशासनलाई बाध्य पार्थे । घेर्थे । धम्क्याउँथे । तालाबन्दी गर्थे ।
‘भ्रष्ट क्याम्पस प्रशासन, राजीनामा दे, राजीनामा दे ।’ कयौँ पटक यस्ता जुलुस निकाले ।
एक पटकको कुरा हो, सरस्वती पूजा आयोजना गर्न क्याम्पस प्रशासनले उनीहरूलाई नदिएर आफैँ आयोजना गर्यो । उनीहरूले क्याम्पस प्रशासनको कुर्सी जलाए ।
उनीहरूले सिफारिस गरेको मान्छेलाई आंशिक करारमा प्राध्यापक नियुक्ति नगरी अर्को पार्टीकोलाई नियुक्ति गर्दा क्याम्पस प्रमुखलाई कालो मोसो दले ।
प्रायः समीरका साथीहरू क्यान्टिन र पार्टीका कार्यक्रमहरूमा भेटिन्थे । परीक्षा आउँथ्यो, ती जाँच दिन्थे । अनि पास हुन्थे । समीर पनि तिनीहरूको अनुयायी भए । तिनका हरेक कर्महरूमा उनी उपस्थित हुन थाले ।
अर्थात् समीर तिनको भए । ती समीरका भए । अनि ती भए ।
यही भाव दिमागभरि बोकेर क्याम्पसको पढाइ सकेपछि घर आए समीर । जागिर त खानै थियो । तर उनी घरमा आएपछि राजनीतिक दलमा सक्रिय भए । कार्यकर्ता भए । दलको झन्डालाई प्रेम गर्न थाले । नामलाई प्रेम गर्न थाले । त्यसका नेतालाई प्रेम र श्रद्धा गर्न थाले । गाउँमा अधिकांश केटाहरू उनकै मुठीमा थिए । त्यही भएर होला, चन्दा उठाउनेमा समीर एक नम्बर भए । पार्टी कार्यालय बनाउन अथाह पैसा जुटाउनेमा भूमिका खेले । चुनावका बेला भोट माग्न हिँडे । केटाहरू लिएर हिँड्दा रक्सी र मासुको पहाड खान्थे । सुई….पार्दा केटाहरू गुटुटु आइपुग्थे ।
जसलाई जे भने पनि, जसलाई जे गरे पनि, कोही पनि समीरको अगाडि बोल्दैन थिए । विरोध गर्नु त खोलापारिको कुरा ! नेतालाई पनि मुख छाड्थे, तर ती पनि केही भन्दैन थिए । पार्टीको तलको निकायदेखि माथि केन्द्रसम्म दबदबा बनाएर राख्न सफल थिए उनी ।
राति अबेरसम्म फोनमा बोलिरहेको हुन्थे ।
‘जय नेपाल, हजुर । ती झारपातसँग डराउनु पर्दैन । उज्यालो हुन दिनु न’, समीरको यो वाक्य प्राय धेरैलाई प्रयोग गर्ने वाक्य थियो । यही वाक्य उनको बल थियो । श्रीसम्पत्ति थियो । पहिचान थियो । हतियार थियो । यसैले गर्दा कोही पनि उनको सामु मुख लाग्ने हिम्मत गर्दैन थिए ।
शिक्षा ऐनले शिक्षकको अस्थायी नियुक्ति दिन सञ्चालक समितिलाई अधिकार दिएको थियो । समीरले पनि महेन्द्र माविमा आवेदन हाले । अरू चार जनाले पनि हाले एउटै विषयमा ।
लिखित परीक्षा र अन्तर्वार्ताको दिन आउँदै थियो । समीरको तयारी केही थिएन । थियो त तिनै क्याम्पस पढ्दाका साथीहरू । अनि उनको आफ्नै राजनैतिक दल र तिनका नेतासँगको अटुट उठबस ।
उनले केटाहरूलाई परिचालन गरे परीक्षाको दिन । प्रश्नको उत्तर गलत लेख्ने सर्तमा मात्रै ती बाँकी चार जनाले परीक्षा दिन जान पाउने बाध्यकारी अवस्था बनाए ।
ती चार भाइ आए पनि । जाँच दिए पनि । तर पास भएनन् ।
समीर शिक्षक भए । अर्थात् ज्ञानको ज्योति छर्ने द्वीप बने ।
एक वर्षपछि स्थायी भए । अनि लगत्तै प्रधानाध्यापक भए ।
त्यसको तीन वर्ष पछि बढुवा भए ।
बधाई दिनेहरूको धुइरो लाग्थ्यो ।
उनका फेसबुकका भित्ताहरू बधाई र शुभकामनाहरूले भरिएका हुन्थे ।
उसबेला उनी समाज र जिन्दगीको चरम आनन्दको शिखरमा बाँचिरहेका थिए । जागिर पनि आउन थाल्यो । अनि आफ्नै सहकर्मी शिक्षिकासँग बिहे गरे । उनी सुन्दर थिइन् । कलिली थिइन् । लामो गर्धन, लामा लामा हात खुट्टा भएकी लक्ष्मी लाग्यो । लाग्यो, उनको घर जग्मगाउने छ । लक्ष्मी र सरस्वतीको बास हुने छ । त्यस्तै पनि भयो ।
उनले जे चाहन्थे, हासिल गरेरै छाड्थे । लिएरै छाड्थे । खोसेरै छाड्थे । किनभने उनको सामाजिक योगदान धेरै थियो — निर्णय तहमा बसेकाहरूलाई सन्तुष्टि पार्थे । होटेलका टेबलबाट निर्णय गराउँथे । उनका अगाडि सबै नतमस्तक हुन्थे ।
त्यस बेला उनको परिवारमा धेरै मान्छे थिए । बाबु, आमा, फुपू, दाजु, भाउजू, खेतमा काम गर्ने हली, खाना पकाउने फूलवती नाम गरेकी केटी । ती सबै मूल घर र पालीमा बस्थे । गाइको दूध खान्थे, तर गाई कुन रङको छ भन्दा भन्न सक्दैन थिए । खसी काट्थे घरैमा । खसी कति उमेरको छ भन्न सक्दैन थिए ।
बिस्तारै आफ्नै तीन छोरी थपिए ।
छोरीहरू घरछेउका आँप र लिचीका रूखमा खेल्दा भगवान् नै बगैँचामा आएर खेलेजस्तो सुन्दर परिवेश बन्थ्यो । तिनले चिच्याउँदा साक्षात् देवीको आवाज गुञ्जायमान भएजस्तो आभास हुन्थ्यो । तिनले हाँस्दा स्वर्गका देवीहरू हाँसेको जस्तो गञ्जिन्थ्यो त्यो घरको परिवेश ।
‘मेरा यी छोरीहरू होइनन्, देवीहरू हुन्’, छोराछोरीको बारेमा सोध्ने मानिसहरूलाई यस्तो जवाफ दिन्थे समीर ।
समीरको बुबा पनि उहिले उपप्रधानपञ्च भएकाले होला, बिहान उनीहरूको घरमा चिया खान आउने मानिसको जुलुस लाग्थ्यो ।
समीरको पारिवारिक पृष्ठभूमि: सबल थियो । ती धनाढ्य थिए । अभावको अनुभूति उनका बुबा बाहेक कसैलाई भएन । बुबाले राजनीति र व्यापार दुवै काम गरेर कमाएको सम्पत्ति थियो त्यो । तर उनले एक रूपैया पनि भ्रष्टाचार गरेनन् । दुनियाँ साक्षी थियो । समीरले तिनै बाबुको काँधमा चढेर आफू अग्लो भएको भ्रम पालिरहे । उनका बाबुले पनि छोरालाई काँधमा बोकेर आफू बाँचुन्जेल छोराको उचाइ नापिरहे ‘छोरो कत्रो भयो’ भनेर ।
तर बाले आफ्नो उचाइ कहिल्यै पनि नापेनन् ।
समीर शिक्षकहरूको नेता भए । युनियनको पनि अध्यक्ष भए । चुनौतीहरू थपिए । राजनीतिको चुनौती । शैक्षिक प्रशासन र शैक्षिक पेसागत हक र अधिकारको आवाज उनी समानान्तर बहन गर्थे । प्रशासक भएर शिक्षकहरूलाई टिपुरी देख्थे र समितिको बैठकमा भन्थे, ‘यी लुटेराहरूलाई कारबाही नगरी स्कुल सुध्रिँदैन ।’
अनि युनियनको बैठकमा जान्थे र भन्थे, ‘शिक्षक कसैका हली गोठाला होइनन् । बुझे हुन्छ सबैले ।’
यो दुई वटा नाउमा उनका खुट्टा भएको सबैलाई थाहा थियो । तर कोही बोल्न सक्दैन थिए ।
उनी व्यस्त थिए । सञ्चालक समितिको काम । विद्यार्थीको काम । पार्टीको काम । साथीहरूको काम । अनि बेलुका होटेलका टेबुलमा राख्नु पर्ने बैठकहरूको काम ।
यसले उनको घर परिवार बेखबर बनायो । राति अबेर घर पुग्थे । तारन्तार फोन आइरन्थ्यो । फोन उनको साथी थियो । फोन उनको धड्कन थियो । फोन उनको भात र पानी थियो । फोन उनको सत्ता र शक्ति थियो । फोन उनको जीवन थियो ।
घरमा पुगेर पनि उनकी श्रीमती साथी बनिनन् । छोरीहरू साथी बनेनन् । बाआमा साथी बनेनन् । भाइबहिनी साथी बनेनन् । फुपू साथी बनिनन् । दाजु साथी बनेनन् । गोठका गाई बाख्रा साथी बनेनन् । घरका बिराला र कुकुर साथी बनेनन् । बरु ती उनलाई देख्दा डराउँथे । उनको छेवैमा जाँदैन थिए । यसको परिणाम अकल्पनीय बन्यो । छोरीहरूले पनि दूरी बनाए । यति दूरी बनाए कि तिनले आफैँ केटा छाने । आफैँ प्रेम गरे । अनि आफैँ बिहे गरेर गए ।
उज्यालो हुन पाएको हुँदैन थियो, अघि बाहिर गेटमा कराउन आइपुग्थे उनका साथी ।
अनि उनी हतार हतार उठेर लुगा लगाउँथे । कपाल फुस्रै हुन्थ्यो । गालामा रातभरि झरेका ¥याल धुन पनि नपाइ हिँड्थे उनीहरूसँग ।
अनि जयजयकार गर्थे उनको, ‘समीर सर, तपाईँ त हाम्रो अन्नदाता हुनुहुन्छ ……’
उनी मुन्टो हल्लाउँथे मुस्कुराउँदै । अङ्कमाल गर्थे मुस्कुराउँदै ।
‘आज समीर सरको बर्थ डे । बबाल जान्छ आज । समीर सर ?’ मुकुन्देले तेल घस्यो ।
‘खै हरेलाई फोन ग¥यौ ? किशोरलाई भन्यौ ? असीम खातेलाई पनि बोलाओ ! किस्ने लिच्चडलाई पनि फोन लगाओ….’ समीर बरबराउँदै थिए ।
‘को लिच्चड ? कसलाई लिच्चड भनेको ? मर्ने बेलामा पनि कुकुरको पुच्छर सीधा भएन होइन ?’ सविता कराउँदै आइपुगिन्, ‘शान्त सँगले बस्नु नि रोगी मान्छेले त ! अब त अलिक मीठो बोलिदिए पनि हुन्थ्यो जस्तो लाग्छ । यी कान नराम्रो भाषा सुनेरै थोत्रा भएर सकिए ।’
‘होइन, होइन । म त उहिलेको कुरा सम्झिन पुगेछु । साथीहरूसँग मेरो जन्मदिन मनाउन होटेलमा जम्मा हुँदै गरेको, साथीहरूलाई फोन गरेर बोलाउन लगाएको सम्झेछु । उत्तेजनामा आएछु । अनि बोलेछु पनि !’
सन्नाटा ।
‘घर खण्डहर जस्तै छ । कोही छैनन् । छोरी छैनन् । बाआमा बितेको धेरै भयो । दाजुभाइ बिते । ……………त्यो सम्पत्ति र पेन्सनको पैसाको कुनै अर्थ पनि रहेन, जसका लागि मैले सबै खाले हर्कतहरू गर्न उद्धत रहेँ । आज यी सब रङ्ग उडेको इन्द्रेणी भएका छन् । हरेक मान्छे जीवनभर भ्रममा बाँच्दो रहेछ’, उनी बरबराउँदै थिए मनमनै ।
‘तपाईँले आफू भ्रममा आजीवन बाँचेको स्वीकार गर्नुभयो । मैले यही दिन पर्खेकी थिएँ । चालिस वर्ष लाग्यो । म जीवनमा पहिलोचोटि खुसी भएको दिन हो यो । पख्नुस् है ।’
त्यसपछि सविता किचनमा गइन् र एउटा कार्टुन लिएर आइन् । त्यहाँभित्र केक थियो । केक समीरको अगाडि टेबलमा राखिन् र भनिन्, ‘ह्याप्पी बर्थ डे !’
समीरले हातका मुठी फुकाए । र हात सवितातिर बढाए । अघि उनका मुठीभित्र मात्रै रहेको उज्यालोलाई आहिले केकको माथि राखेको मैनबत्तीको उज्यालोले खिचिदियो ।
समीरका आँखामा आँसु टिलपिलाइरहेको प्रस्ट देखिन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










