चार महिला प्रहरीमाझ मैले उनलाई पहिलोचोटि देखेथेँ, मेरै क्लिनिकमा । दिउँसो १२ बजे पुलिस सुपर महोदयको फोन आउँदासम्म मैले स्थितिको गम्भीरता बुझिसकेथेँ । अघिपछिको दसवटा अपोइन्टमेन्टलाई बेलुकीको निम्ति पोस्टपोन गरेँ अनि चेम्बरमा मलाई सघाउने अटेन्डेन्टदेखि, बाहिर रहेको औषधी पसल अनि सिक्योरिटीसमेतलाई गम्भीर निर्देश दिएँ तयार बस्ने।
आफू उमेरको सातौं दशक उक्लिसकेको अनि सरकारी चिकित्सकको जागिरबाट मुक्त भइसकेको वर्षौं भइसक्दा पनि पुराना रोगीहरूको अनुरोधमा अनि यदाकदा यस्ता न्यायिक हिरासतमा रहेका मानसिक रोगीहरूकै निम्ति पनि बिहान दसदेखि दुई अनि बेलुकी पाँचदेखि आठ, सोमबारदेखि बिहीबारसम्म हिलकार्ट रोड, सिलगढीको रजनी बगानस्थित क्लिनिकमै बस्ने बाध्यता छ मेरो । आजको यो नयाँ नौलो एडभेञ्चरको निम्ति न्वारानदेखिको शक्ति र आँट लिएर तयार थिएँ ।
चालीस-बयालीसकी गोरी तर कलेटी र कत्लाले उसको स्वाभाविक रङ्ग चिन्न गाह्रो थियो । उसको रङ्गसित कुनै सरोकार पनि थिएन मलाई । पुलिस सुपर सरको आज्ञा निभाउने फर्म्यालिटी थियो तर सबैभन्दा बढी थियो उनको अवस्था निरीक्षण परीक्षण गरेर चिकित्सासम्बन्धी सुझाउहरू पेस गर्ने कर्तव्य ।
मैले ऊतिर नहेरी नै सोधेँ – “नाम ?”
दनदनाउँदो आत्मविश्वासमा उत्तर आयो- “प्रिया ।”
पछिल्तिर उभिएकी महिला प्रहरीले उसलाई कुहिनोले हल्का हान्दै भनी- “अबे, सही नाम तो बता… ”
“सही तो बताया !” चारै जनाको पकडबाट आफूलाई छुटाउने प्रयास गर्दै उसले भनी ।
त्यतिखेरै आइशा खातून मेरो क्लिनिकभित्र छिरी । म आइशालाई त्यसबेलादेखि चिन्थेँ जब ऊ यहाँ सरूवा भएर आएकी थिई । नशाको पञ्जामा परेको भाइलाई उसले निरन्तर चिकित्सा, माया र सेवा दिएको देखेर म आह्लादित भएको थिएँ । आज उसको भाइ अजान नशामुक्तिको निम्ति बनाइएको फाउन्डेशन ‘नयाँ बिहानी’ को सेक्रेटरी छ । त्यस सङ्गठनको आजीवन संरक्षकको हैसियतमा मलाई राखिएको छ ।
“देख्दा कुरा जति सिम्पल लाग्दैछ नि त्यति सिम्पल चैं होइन सर । प्लीज सर, मैले नै तपाईँको नाम रेकमेन्ड गरेको हुँ । सर, हिजो राति स्टेशन एरियामा ड्रगएडिक्टहरूको रेड प्रोग्राममा फेला परेकी हो सर । खास नाम चैं असगरी रहेछ तर यसले प्रिया हो भन्छे । सर, मे बी अ केस अव् मल्टिपल पर्स्न्यालिटी । हेरिदिनुहोस् है, माइ रिक्वेस्ट सर ।”… भन्दै फाइलमा कता कता तीन चार ठाउँ सही गर्न लगाई उसले ।
चारै जना महिला दरोगालाई निर्देश दिँदै अनि चेम्बरबाट निस्कँदै उसले भनी – “ह्याण्डल विथ केयर । तर भाग्न चैं नपावोस् नि । सबको नौकरी जान्छ, मेरो पनि । अँ, सरलाई पनि केस लाग्न सक्छ, बुझ्यौ तिमारले ?”
“कसरी भाग्छ आइशा…?”, एउटा हातले आफ्नो अर्को हातको नाडी समातेर उसको हातको ह्यान्डकफतिर औँल्याउँदै मुस्कुराउँदै मैले सोधेँ । दैलोमा पुगेकी आइशा पनि मुस्कुराइ । ह्युमरको यो सानो टिन्टलाई बचाउन सफल भएकोमा आफैँमा रमाएँ । यतिखेर मनमनै कार्ल जुङको कालजयी वाक्य – “व्हाट वी सेभ सेभ्स अस्” सम्झेछु ।
“सर, यसको नाम प्रिया होइन…”, एउटी महिला दरोगाको तीखो आवाज आयो, “सर, यसको हातमा असगरी भनेर खोपेको छ, यी हेर्नुहोस् सर..” हथकडीले दुवै हात बाँधिएकी त्यस युवतीको कुर्ताको बाहुला माथि सार्दै उसले देखाइदिई । मैले एउटा गज्याङमज्याङ आकारमात्रै देखेँ ।
“खै कहाँ ?”, मैले फेरि सोधेँ ।
पछिल्तिर उभिएकी अर्की प्रहरीले मुस्काउँदै भनी – “सर, उर्दूमा लेखिएको छ नि त !”
“भनेपछि तिमीलाई उर्दू आउँछ होइन ?”- बाहुला सुर्काएर अक्षर आकृति देखाउने प्रहरीलाई मैले सोधेँ ।
“आउँछ सर, म त पहाडेसित बिहे भएर पो त यतैको जस्तो देखिएकी । मायाका त मेरो मुजफ्फरपुर हो नि साब, मोतीपुर अञ्चल। मलाई उर्दू, फारसी सब आउँछ, मैले मदरसामा सब पढेको हो सर ।”, बडो जोशसित उसले उत्तर दिई ।
“उसो भए तिमी उसलाई राम्ररी सोध, उसको घर-परिवारबारे, जग्गाबारे… तिम्रै कौमको पनि त रहेछ । सोध त उसको रिश्तेदार, जान-पहचानबारे…”, बिस्तारै मेरो लवज पनि उसको जस्तै हुँदै गएको भानबिच यति भनेँ ।
बता… बता दे… – बिमारीको कपाल केही जगाट्दै उसले प्रिया – जो अहिले भर्खर मात्र असगरी भएकी थिई – लाई केरकार गर्न थाली ।
“साहेब सब बोल्ते हैं माने बोल्छे जे मैं असगरी हूँ लेकिन कसम से मैं प्रिया हूँ साहेब । मुझको जबर्दस्ती ई सब लोग असगरी बनाने पर तुले हुए हैं । ई लोगन सब जहन्नुम में जाएँगे”, भन्दा भन्दै उसले फेरि एकचोटि तिनीहरूको कब्जाबाट अलिकति फुत्कने प्रयास गरी ।
चेम्बरको दैलोबाहिर अठासी किलो ओजनको एकाबिहानै जिम धाउने सिक्योरिटीको भरोसामा मैले प्रहरीहरूलाई ईशाराले नै छोडिदेऊ भनेँ । तिनीहरूले अन्कनाउँदै छोडिदिनासाथ ऊ मेरो टेबलमा लमतन्न परी । हतकडीले बाँधिएको दुई हातलाई एकातिर केही ढल्काउँदै मेरो आँखामा आँखा जुझाएर चञ्चल ईशारा गर्दै उसले भन्न थाली –
“साहेब, हम तो प्यार में पकडे गए, माने , बोल्छी, प्यार करना कोई गुनाह थोडै है। हम प्यार किए, दुनियाँ जालिम हो गई साहेब ।”
यति भन्दा भन्दै मेरो डेस्कटपमा रहेको पहाडको सुन्दर दृश्य देखेर त्यो हेरेको हेरेकै भई। जति हेर्दै गई त्यतिकै गुनगुनाउँदै पनि गई, मानौं त्यो केहीबेर सुस्ताउन चाहन्थी । टेबलको ऐनामा त्यसको कँजिएको हात सुल्किन्दै गयो, जति सुल्कियो, उति छाला पिल्सिन्दै गयो, तर त्यसलाई त्यस दुखाइको आभाससमेत थिएन, त्यो गुन्गुनाउँदै डेस्कटपसितै टाँस्सिइन् पुगी, मानौं त्यो त्यस चित्रमा भएको पहाडमा पुग्न चाहन्थी ।
“हात खोलिदेऊ यसको ।” मैले आदेश दिएँ । भर्खरै मैले जिम्मा लिइसकेको रोगीको मेरो आँखाअघि नै यस्तो मायालाग्दो अवस्था मेरो लागि असहनीय थियो । मेरो मस्तिष्कमा बायोएथिक्सको पहिलो सिद्धान्त चहरायो –
अटोनोमी- ‘मुक्ति’
मैले नरम शब्दमा त्यसको नाम उच्चारेँ – ‘असगरी’ ।
दुई ठूला ठूला आँखा फुकाल्दै त्यसले मलाई रिसले हेरी । डेस्कटपबाट पर हट्दै त्यो बडो फूर्तीसाथ अघिल्तिरको चौकीमा दुवै पाउ उचालेर पलेँटी कँसेर बसी अनि टेबुलको पेपरवेट खेलाउन थाली । त्यसले चाल नपाउने गरी एउटी महिला प्रहरीले त्यो पेपरवेट खोस्न खोज्दा उसले जोडतोडले विरोध प्रकट गरी । त्यही मौकामा मैले टेबलमा भएको मेरो डायरी, पेन, मोबाइल फोन, स्टाइलस सबै हतार हतार ड्रअरभित्र हालें ।
“तूने किससे प्रेम किया प्रिया ?”
‘असगरी’ भनेर सम्बोधन गर्दा भर्खरै भएको प्रतीकात्मक विरोधलाई पन्साउने युक्तिमा अघिभन्दा नरम लवजमा मैले सोधें ।
‘प्रिया’को सम्बोधनले त्यो लल्याकलुलुक भई । चौकीबाट मतिर लम्कदै टेबुलमा दुवै हात बाँधेर त्यो एकछिन घोप्टो परी । म पर्खिरहेँ, एकछिनपछि मुन्टो उठाउँदै लजाउँदै त्यसले भन्न थाली, “साहेब, ऐसे ही बुलाता था हमको वो…। उसका नाम असीम है साहेब… हमको कभी अकेला नहीँ छोडता था, रातको भी साथ साथ रहता था। हम शादी किए उससे…” । नयाँ दुलहीको अनुहारमा देखिने लज्जाको लाली त्यसको कलेटीसरिको अनुहारमा थियो ।
“अभी कहाँ है तुम्हारा असीम ?” मैले थप जानकारी लिन चाहेँ ।
“यही लोग मार मारके भगाए है उसको । बोलो है कि नहीँ…”
दैलोको छेउमा लहरै उभिएका चारै महिला प्रहरीहरूतिर हेर्दै त्यो झर्किँदै बोली । ऊ झर्किएको देखेर चारै जना मरीमरी हाँस्न थालेका थिए । क्रिया-प्रतिक्रियाको विसङ्गतिले मेरो बाह्र बाइ चौधको चेम्बर जादूघरमा बदलिसकेको थियो ।
“साहेब, मेरे जिन्दगी में जो है ना, असीम ही है, हमका उससे मिला देना माने उस को खोजते खोजते हम रेल चढके यहाँतक आ गये” – अब भने उसलाई म हानि नपुर्याउने मानिस लाग्न थालेछु । यहाँनेर मैले आफूलाई चिकित्साको दोस्रो सिद्धान्त पालन गर्न सकेकोमा सन्तोष बोध गरें –
नन म्यालिफेसेन्स अथवा हानिरहितता ।
“पहले दवाई खा के ठीक हो जाओ, फिर असीम से भी मिलवा देँगे ।” आश्वासनको मिठो खुराक पिलाउँदै मैले दोस्रो नैतिकता अप्नाएँ – उदारताको । केही औषधीहरू लेखेर मैले असगरी उर्फ प्रिया अनि प्रहरी टोलीलाई त्यस दिन बिदा दिएँ, एक सातापछि फेरि मकहाँ ल्याउने निर्देशसितै ।
एक सातापछि कुनै फिल्मी हिरोइन जत्तिकै स्टाइलमा त्यसले एन्ट्री गरी । श्याम्पू गरिएको कमरसम्मको घुङ्गुरो कपाल, सफा हात-अनुहार देखेर मलाई रमाइलो लाग्यो । हातमा हथकडी थिएन, त्यसको अर्थ थियो साताभरि त्यसले कुनै ठूलो उत्पात मच्चाएकी थिइन् । मैले ईशाराले ती प्रहरीहरूलाई “आज किन यसको हात खुल्ला ?” भनेर सोधेँ । तिनीहरूले पनि हाँस्दै, “तपाईँले हथकडी लगाएको निको मान्नुहुन्न नि त सर !” भन्ने उत्तर ईशाराले नै दिए ।
“कसले नुहाइदियो यसलाई ? निकै चिटिक्क पो देखियो त आज !”, ब्लड प्रेसरको मसिन प्रिया उर्फ असगरीको पाखुरामा कस्दै मैले सोधेँ ।
“हमै नुहाइदिए सर। अरू कोहीसँग त माने पो…”
तिमीसँग मान्यो ? केही चकित बनेँ म । यस महिला दरोगाबारे भनाइ प्रचलित थियो, जस्तै ढिठ महिला अपराधीले पनि उसको लौरोअघि सबै लुरुक्क बन्छ भनेर । अहिले उसले मेरो प्रश्नको उत्तरमा खुसीसाथ ‘हो’ मा टाउको हल्लाई।
‘असगरी’… मुखबाट भूलवश निस्किसकेको ध्वनिलाई मुखभित्रै बिलाउने प्रयास गर्दै सक्दो सुनिने गरी उच्चारेँ – ‘प्रिया’!
ऊ फेरि मेरो नजिक आई, त्यही कुर्सीमा पलेँटी मारेर बसी, प्रत्येक दिन बदलिरहने मेरो डेस्कटपको स्क्रिनमा आज संयोगवश पहाडको त्यही दृश्य थियो ।
केहीबेर त्यसले त्यतैतिर हेरिरही । म पर्खिरहेँ, फेरि अनुहारबाट कपाल पन्साउँदै मेरो टेबलमा राखिएको पानी घट्घट् पिई । केही सम्झे जस्तो गरी त्यसले, मलाई कडा शब्दमा भनी –
“डाक्दर बाबु, आप कहे थे न हमसे माने मिलाई देंगे असीम से। आप बोले तो हम सब दवाई वबाई ठीक ठाक से खाये। बोल्छी ईन लोगन से झगडा भी नही किये…”
फेरि मेरो टेबलमा दुवै हात बाँधेर घोप्टो परी। अनुहार अलिकति उचालेर उसले मलाई आँखी भौं नचाउँदै सोधी – ‘कहाँ है असीम?’
“ए ! सरके साथ तमीज से बात कर ।”
पछिल्तिर उभिएकी निकै पातली महिला दरोगाले त्यसलाई धम्काई । एक जना प्रहरीले तत्काल आएर उसलाई जबर्जस्ती सोझो भएर बस्न लगाई । मैले दुवैलाई हातको ईशाराले रोकेँ । असगरी उर्फ प्रियाको अन्तर्तह उत्खनन् गर्न अझ बाँकी नै थियो।
“तेरा असीम दिखता कैसे है माने हम उसको पहचाने कैसे ?” मैले आफ्नो काम अघि बढाउँदै गएँ।
“एकदम सुन्दर, हिरो माफिक, माने असलम जैसा तो बिल्कुलै नहीं ।”
उसको मुखबाट अर्को पुरूषको नाम सुनेर म अवाक् भएँ । उपयुक्त मौका देखेर त्यतिखेरै अर्को प्रश्न गरें – “असलम कौन ?”
घृणाले अनुहार खुम्चाउँदै त्यसले भनी – “हमारा घरवाला ।”
“कहाँ है तुम्हारा घरवाला प्रिया ?”- मैले त्यसलाई प्रिया बनाइराख्नुबाहेक अरू उपाय देखिनँ ।
मेरो प्रश्न सुनेर दुवै हात चौकीमा बजार्दै अनि लगभग चिच्याउँदै त्यसले भनी- “जहन्नुम में…”
त्यसको यस्तो कठोर उत्तर सुनेर पनि मैले आफ्नो अनुहारमा कुनै असजिलोपन त्यसलाई देखाइनँ । त्यसले एकछिन मलाई हेरिरही अनि फेरि कुनै हिन्दी गीत गुन्गुनाउँदै डेस्कटपतिर हेरिरही ।
मधुरो आवाजमा मैले त्यसलाई सोधें- “तुझे पहाडी बहुत पसन्द है न प्रिया !”
त्यसले त्यतैतिर फर्किएर मुन्टो हल्लाइरही।
फेरि भनेँ- “तेरा असीम भी वहीं रहता होगा ना !”
त्यसले ‘हो’ मा मुन्टो हल्लाइरही । अब मैले त्यसको रहस्य थोरै थोरै बुझ्न थालेको थिएँ ।
यसैबिच त्यसको तस्बिर पुलिस विभागले सामाजिक सञ्जाललगायत क्राइम ब्राञ्च, अन्तर्राज्यीय पुलिस सबैतिर जारी गरिसकेको थियो । चौथो सेसन भएकै भोलिपल्ट जम्मू अनि कश्मीर पुलिसको राजौरी थानाबाट फोन आयो । लगभग चार महिनाअघि नै असगरी बेगमको नाममा उसको श्रीमान् असलमले मिसिङ डायरी गरेको रहेछ । असलमले दिएको फोटोसित यता असगरी उर्फ प्रियाको अनुहार अनि वर्णन काट्टीकुट्टी मिलेपछि राजौरीका इन्सपेक्टरले फोन गरेका रहेछन् । तीन दिनपछि कश्मीर पुलिसका केही जवानहरूसहित असलम सिलगढी आइपुगेछन् ।
अन्तिम सेसनको निम्ति असगरीलाई ल्याइँदा यसपालि हातमा असगरीको भोटर कार्ड बोकेर असलम पनि साथमा थियो । असलमलाई आफूछेउ देखेपछि निकै ह्रिँसक भइछ असगरी, आज उसको हातमा फेरि हथकडी थियो।
दैलोबाट छिरेपछि नै हातमा भोटर कार्ड लिएको लगभग पचास वर्षको झैं देखिने अग्लो, गोरो, दुब्लो असलम खुरूखुरू मकहाँ आयो । उसले आफ्नो जुत्ता खोलेर मेरो खुट्टामा रूँदै ढोग्दा मैले अचम्भित भएर उसलाई उठाएँ अनि अघिल्तिरको कुर्सीमा बस्ने ईशारा गरेँ । असगरी अझै पनि विद्रोही भइरहेकी थिई अनि आज प्रहरीहरूलाई उसलाई सम्हाल्न निकै गाह्रो परिरहेको थियो । मैले अहिले असलमसित मात्रै बात मार्ने निधो गरेँ, जो अझ रोइरहेथ्यो । असगरीलाई बाहिर लाने निर्देश दिएँ ।
“तो तुम ही असलम हो ? असगरी तुम्हारी बीबी है ?”
पहिलो प्रश्नको उत्तरमा स्वीकृति दिँदै टाउको हल्लाए पनि दोस्रो प्रश्नमा उत्तर नदिएर ऊ अझ जोड जोडले रून थाल्यो ।
“साहेब, असगरी से जो भी जुर्म हुआ है उसे माफ कर दीजिएगा । उसे अपना होश नहीं है, मैं आपकी सारी भरपाई कर दूँगा, खुदा वास्ते उसे कोई सजा मत दीजिएगा…”
मेरो दुवै हात च्याप्प समात्दै उसले ठेट कश्मीरी लवजमा यति भनिसकेपछि म घुमीफिरी रूम्झाटारमै पुगें। असगरीको लवजमा रहेको बङ्गालीपना अनि असलमको लवजमा देखिएको विशुद्ध कश्मीरियत दुवै मेरा लागि गाढा रहस्य झैं हुनथाले । अब असलमबाट रहलपहल सत्य उकेर्नुबाहेक मसित कुनै विकल्प थिएन।
“सच सच बता, तुम कौन हो और असगरी कौन है ?”, कठोर शब्दमा मैले उसलाई सोधेँ।
पुलिसलाई केही नबताइदिने सर्तमा उसले जे भन्यो त्यसबाट असगरीको रोगको तहमा पुग्न नसके पनि एउटा रहस्यमय अतीतको पाटो भने मसामु उघ्रिन थाल्यो । त्यही अतीतको फेर समाएर असलम भविष्यतिर लम्किरहेको थियो भने त्यही भुँवरीमा परेर प्रिया उर्फ असगरी अतीतको माखेजालोमा अल्झिरहेकी थिई । शायद पल्लो बङ्गालमा भ़ड्किएको साम्प्रदायिक हिंसाले प्रिया उर्फ असगरी आफ्नो सम्पूर्ण गुमाएर विक्षिप्त अवस्थामा यता छिरेकी थिई । महिनौं भट्केपछि यस्तै अवस्थामा उसलाई असलमले भेटेको थियो।
असलमले बयान गरेअनुसार रेशमको व्यापारी असलम आफ्नो सामान लिन स्टेसनमा आउँदा बङ्गालबाट आएको कुनै ट्रेनबाट फेला परेकी रहिछ, असगरी उर्फ प्रिया । बेहोस अवस्थामा स्टेसनमा लडिरहेकी असगरीलाई घरमा लगेर स्याहारसुसार गरेर जाती बनाएछ उसले । धेरैचोटि पुलिसको केरकार भए पनि, जात-बिरादरीले उसलाई बेला बेला अपमानित गरे पनि उसले कसैगरी पनि असगरीलाई आफूदेखि अलग गरेनछ । बिस्तारै उसलाई असगरी आफ्नो लाग्न थालेछ। आमाबिनाका उसका दुई साना साना नानीहरूले आमा पाउँछन् भनेर उसले असगरीलाई आफूसँगै राखेछ। मानसिक रूपले अस्वस्थ असगरीको उसले सकेसम्म ठाँउ-ठाँउमा लगेर उपचार गराउने प्रयास गरेछ, डाक्टरकै भनाईमा स्रिजोफेनियाकी रोगी ठहरिएकी असगरी समय समयमा यति ह्रिँसक हुन्थी कि उसलाई थुनेर राख्न असलम बाध्य हुन्थ्यो । ऊ एउटा यस्तो अवस्थामा बाँचिरहेकी हुन्थी, जहाँ उसले अप्रत्यक्षलाई प्रत्यक्ष देख्थी अनि प्रत्यक्षसित उसको कुनै वास्ता नै हुँदैनथ्यो।
“तो क्या उसका नाम प्रिया है ?” असलमको वृतान्त सुनेपछि मैले पुनः सोधेँ ।
“नहीँ मालूम साहेब, वो खुदको क्यों प्रिया समझती है ? वैसे नाम में क्या रखा है जनाब । ये मेरी असगरी है साहेब । मेरी जिन्दगी में जो है असगरी है, उसके बिना हम जी नहीं सकते साहेब । मेहरबानी कर हमारी असगरी हमें लौटा दीजिए, उसे कोई सजा मत दीजिए ।” असलम फेरि रून थाल्यो । मैले उसलाई बाहिर बस्ने निर्देश दिँदै कलिङ बेल बजाएँ । मलाई ऊबाट बायो एथिक्सको चौथो सिद्धान्तको अपेक्षा थियो –
फिडालिटि अथवा सत्यनिष्ठा ।
चेम्बरबाट निस्कन्दै गरेको असलमलाई परैबाटै सोधें – “एक बात बता के जाओ असलम, उसके हाथ में ये नाम तो बचपन से होगा ना ?”
दैलोमा पुगेको असलमले आँसुसरिको आँखा पुछ्दै जवाफ दियो –
“साहेब, हमें मालूम था ये कभी न कभी जरूर भागेगी, इसलिए एक दिन मेले में हमने चुपके से इसके हाथ में गुद्वा दिया था – हमारी पहली बीबी का नाम” – ‘असगरी’ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ माघ २०८२, बुधबार 










