सन्तोष मान्नुपर्छ मैले । त्यो छाया थोते मुस्कानले मलाई घाइते तुल्याउने चेष्टा गर्दागर्दै फेरि हराइहाल्छ । तर म ऊतिर थिइनँ । ऊतिर हुन सक्ने सम्भावनाको फाँटलाई अगाडि आँखा चिम्लिएर पल्टिएकी स्वास्नीमान्छेको गन्धले बाउन्ने तुल्याइदिएको थियो ।

त्यो हो तरुनी स्वास्नीमान्छेको ज्यान । तरुनी स्वास्नीमान्छेको ज्यान नै यस्तो जसले लोग्नेमान्छेलाई एकोहोर्यादिन्छ । त्यो छायातिर अन्धो वा बहिरो भइदिनुमा सम्भवतः मेरो दोष छैन, दोष त छ त्यही स्वास्नीमान्छे गन्धको ।

तर यो हो एकतर्फी फैसला, एकलौटे स्वरको चिप्लेटी । तरुनी स्वास्नीमान्छेको गन्धले लोग्नेमान्छेको मनलाई भेडो तुल्याएर घिच्च्याउन सक्छ भने लोग्नेछोराको तरुनो गन्धले पनि त तरुनी छोरीलाई बाँदर्नी तुल्याएर नचाउन सक्छ ।

कुरो खालि यत्तिकै हो— बल्ने मैनबत्तीको झैँ यो सच्याइलाई त्यो छायाले पनि अस्वीकार गर्न सक्तैन । त्यो छायाको भोजपत्रे हरफमा मैले यो सत्यलाई नाङ्गो किसिमले अनुभव गरेको छु । एक पटक होइन, दशौँ पटक, पचासौँ पटक र सयौं पटक ।

फेरि पनि ऊ के खाँचोले हामी दुईको आँखामा स्वीकृतिको बीचमा पर्खाल बन्न आइपुग्छ । हामी दुईको स्वतन्त्रतामा किन पो तगारो बन्छ ऊ ।

हरे ! कति कन्सिरीको रौँ तताउने खालको मुस्कान हुन्छ उसको । ऊ आइपुग्यो कि हजार–हजार पहाडले थिचेजस्तो भान हुन्छ । स्वयम् उसको भोजपत्रे भाषाले ओकल्ने गरेको रौरव नर्कभन्दा पनि चर्को, कुम्भीपाक नर्कभन्दा पनि चर्को किसिमको छेडखानी असह्य छ । उसको विरोधमा ढुङ्गा उचालूँ कि भनेझँै लाग्छ ।

मेरो उमेर आठ वर्षको छँदा एकपल्ट जब मैले उसको विरोधमा ढुङ्गो उचालेको थिएँ त्यतिखेर “पख्–पख्, म तँलाई भीष्म तुल्याइदिन्छु” भनेर मेरो बाबुको चोलामा साटिएको थियो ऊ ।

बा, जसलाई मैले आफू सानो छँदा संसारको सबभन्दा बलियो मान्छे ठानेको थिएँ र हरेक त्रासबाट मुक्ति लिन उनैलाई ढाल सम्झन्थेँ भने फेरि म कसरी उसको विरोधमा ढुङ्गो उचाल्न सक्थेँ !

सत्ते–सत्ते भीष्मकै डुप्लिकेटमा अनुवाद भएको थिएँ त्यसताका । केही दिनअघि मेरी आमा खरानी भइसक्नुभा थियो । बा अर्कीको निम्ति तरखरमा छटपटाइरहनुहुन्थ्यो रातोदिन ।

सानीमा ल्याइदिन्छु भनेर मलाई प्रतिज्ञा गर्नुपरेको थियो । साँच्ची भए नहोला बाले इशारेको भलादमीको घर गएर मैले हात जोरेर भनेको थिएँ— “हामी टुहुरा भयौँ, हामीलाई आमा दिनुहोस् ।”

तर कुराको भित्री तहमा भीष्म बन्नुपरेको गुनासो त छ अर्थाभावको । बा दुई सय बिघा भूमिको मालिक हुनुहुन्थ्यो । तर दुर्भाग्य, २०२१ सालमा भूमिसुधार कानून लागू हुँदा आफू थिएँ मात्र चौध वर्षको ।

मेरी कान्छी आमाको कोखबाट बर्सेनि जन्मँदै गएका त झन् मभन्दा कति साना कति साना । कानूनको दृष्टिमा छुट्टिएको भए पनि नछुट्टिएको भए पनि सोह्र वर्षमुनिका बाबुआमाको एउटै परिवार गनिने ।

हदबन्दीको नियमले बाबुसँग अट्ठाईस बिघा रह्यो— बाँकी सबै सरकारको । पछि अंशमा फेला पर्यो चार बिघा मात्र, त्यो पनि मोहियानी कायम भएको ।

यो साँच्चो कुरो हो— त्यो छायाले मलाई त्यस दिन भीष्मको डुप्लिकेटमा अनुवाद नगर्दिएको भए आज म अर्कै हुने थिएँ । तर त्यो दुष्ट छाया मभित्रभित्रै भौँतारिरहेको पीडाको स्वरलाई सुन्दै सुन्दैन ।

उसको भोजपत्रे हरफ त एकोहोरो किसिमले अड्डी लिन्छ– “देखेको पाइँदैन, लेखेको पाइन्छ, बदमास कहीँको ।”

जाती भयो अहिले त्यो स्वास्नीमान्छे निदाइरहेकी छे । हुन सक्छ ऊ काम गर्दा–गर्दा थाकेकीले सुतेकी होओस् । हुन सक्छ उसलाई निद्रा लाग्ने रोगले छोएको होओस् । हुन सक्तछ निद्राको छल उडाएर स्वयम् मलाई निम्ता गरिरहेकी होओस् ।

तर जे होस् ऊ सुतिरहेकी छे । उसलाई त्यो दुष्ट छायाले आफ्नो अस्तित्वको बोध दिन सक्तैन । आफ्नो घिनलाग्दो थोते मुस्कानले उसको स्वाधीन किसिमको मनस्थितिलाई बिथोल्न सक्तैन ।

मेरो तरुनाइको गन्ध फिँजिन्छ र फिँजिँदै जान्छ उसलाई ताकेर । निश्चय नै लोग्नेछोरोलाई भेडो बनाउन सक्ने उसको शक्ति अझै धारिलो हुन सक्छ । उसको नाकमा हीराको फुली छैन । हीराको नभए सुनको, सुनको पनि नभए पित्तलको अवश्य हुनुपर्ने हो तर त्यो पनि छैन ।

उसको नारीमा सुनका चुराहरू हुनुपर्ने थियो । सुनको चुरा पनि नभए काँचकै भए पनि हुन्थ्यो । तर एक किसिमले ऊ कच्ची छे । उसको यौवनको इच्छा मानौं चिच्च्याउँछ, नयाँ सारी र चोलो; उसको यौवनइच्छा मानौँ चिच्च्याउँछ नारीभरि नयाँ किसिमका चुरा ।

भित्रभित्रै म समर्थन गर्छु । अत्तरको छिटो हालिदियो भने उसको स्वास्नीमान्छेपनको गन्ध अझ मादक हुन सक्छ ।

मनमनै बोल्छु म— “उसको आवश्यकतालाई पूरा गर्दिनु छ मैले जसरी भए पनि, जे गरेर भए पनि ।”

तर मेरो आयको स्रोत जम्मा चार बिघा, त्यो पनि मोहियानी हक कायम भएको । यस हिसाबले मेरो वार्षिक आय मात्र छयालीस मन धान । त्यसमा पनि सात मन त मालपोत नै बुझाउनुपर्ने ।

त्यो छाया फेरि उघ्रिएर मतिर उही थोते घिनलाग्दो मुस्कान उडाइदिन्छ । त्यो स्वास्नीमान्छेको सिमलको भुवाझैँ नरम छालामा चिप्लिरहेको मेरो खस्रो हात झन् खस्रो भएझैँ म अनुभव गर्न थाल्छु ।

मलाई जङ चल्छ । म आफ्नो स्वरलाई आफैँमा अनुभव गर्छु । यहाँ किन ? उसको भोजपत्रे हरफ दावा गर्न थाल्छ ऊ मेरो पुर्खाको सम्यक् आचरणको प्रतीक रे ! तर म भने देवता र पितृहरूलाई बिर्सिदिन्छु रे !

मेरो त्यो स्वास्नीमान्छेसँगको शारीरिक सम्बन्धको सम्भावना अनैतिक रे, म उसलाई स्वीकार गर्ने पक्षमा छैन । चाहे बिहेको विडम्बना गर अथवा नगर; आखिरीमा कुरो एउटै किसिमको हो । शारीरिक सम्बन्धभन्दा अर्थोक के पो त हो बिहे भन्ने कुरा देव र पितृको पर्खाललाई भत्काइदिने हो भने ।

तर त्यो छायाले स्वास्नीमान्छेलाई के पो गर्दिन्छ कुन्नि ऊ निद्राबाट बिम्झिन्छे । त्यो छायाको थोते हाँसो र भोजपत्रे हरफमाथि उसलाई पनि जङ चल्नुपर्ने हो मलाई जस्तै ।

मसँगको उसको सम्बन्धमा करकाप थिएन । ऊ पनि मजस्तै स्वेच्छाको मालिक । तर यतिखेर त्यो कुराको सम्भवतः हेक्का नै रहँदैन । ऊ त त्यो थोते हाँसोलाई पो महत्त्व दिन थाल्छे जुन कुरो मलाई भने पटक्कै मन परेको छैन ।

मैले सम्झाउँदा ऊ त बरु त्यसै–त्यसै चट्किन थाल्छे— “के म वेश्या हुँ ?” चड्कँदाचड्कँदै रुन थाल्छे— “वेश्या हुने रहर छैन मलाई ।”

म बुझिरहेको छु ऊ हिप्नोटाइज भएकी छे । उसको रोग निश्चय पनि पञ्चैबाजा नबजाईकन निको हुँदैन । तर मेरो आर्थिक भित्ता कमजोर, साहै– साह्रै कमजोर ।

अब कसको ढुकुटी फोरेर दश जना जम्मा गर्ने हो मैले ? दश जना जम्मा पारेर होममा कुन सम्पत्तिले चरु हाल्ने हो । देव–पितृ नमनाई उसको सिउँदोमा सिन्दूर हाल्न सक्तिनँ म । सिन्दूर हाल्ने चेष्टा गरेँ भने सम्भवतः उसको स्वास्नीमान्छेपनको मृत्यु हुनेछ ।

०००

त्यो स्वास्नीमान्छे अब आमाको चोलामा साटिइसकेकी छे । उसभित्रको नारीत्वको पूर्णता पनि सम्भवतः यही नै हो क्यारे । डाक्टरले साफ–साफ भनिदिएको छ उसलाई डाइट नखुवाई हुँदै हुन्न । दिनको कम्तीमा एक पाउ मासु, एक–दुइटा फल, एक मानाजति दूध त जसोतसो गरेर भए पनि खुवाउनुपर्छ–पर्छ ।

यस्तै खुवाउनुपर्ने रोग लागेको छ उसलाई । हिसाब मिलाएर औषधिपछि ती वस्तुहरू उसको पेटमा पार्न सकिएन भने उसको मरन हुन बेर छैन ।

त्यो स्वास्नीमान्छेको जेठो छोरो विद्रोही भएको छ । विद्रोही हुनाको कारण के भने ऊ हिप्पीहरूले झैं फाटेको र टालेको लुगा लगाएर साथीभाइको बीचमा हाँसोको पात्र बन्न चाहँदैन ।

उसकी छोरीचाहिँको रुवाइ के छ भने उसले कोर्सका किताबहरू नै किन्न सकेकी छैन । किताब लिएर नआए मास्टरहरूले उसको नाम काटिदिने धम्की दिएका छन् ।

यी कुरा हुँदाहुँदै पनि दशैं आउँछ । वल्लो घर र पल्लो घरमा बोका कराउन थालिसकेका छन् । जाबो खर्दारी जागीर, भएको जग्गा पनि त्यो स्वास्नीमान्छेसँग बिहे गर्दा आधा त मास्नुपर्यो ।

अब बाँकी एक बिघा, एक बिघा होइन दुई नै बिघा रे ! त्यो पनि बेचियो भने चार जवान व्यक्तिको पेटमा हाल्ने के ? उफ् ! के पो गरूँ म आफू एक्लो मान्छे ! स्वास्नीको ज्यान हेरूँ भने छोराछोरी छुट्ने, छोराछोरीतिर ध्यान दिऊँ भने स्वास्नी नै बित्ने ।

कार्यालयबाट फर्कन्छु । धेरै दिन भयो त्यो छायालाई नदेखेको । राम्रो कुरा हो उसबाट हुन सक्ने घातबाट बच्न सकिरहेको छु । समस्या समाधान गर्ने उपायहरू खोज्दै म के घरभित्र पस्छु त्यो छायासँग ढोकैमा भेट हुन्छ । ऊ आज ज्योतिषीको चोला लिएर देखिएको छ ।

म शून्य हुन्छु, जब म शून्य स्थितिबाट स्वाभाविक स्थितिमा फर्किन्छु, त्यो छाया उही थोते मुस्कान मलाई उडाएर हराइसकेको हुन्छ । तर म सन्तोषी हुन सक्तिनँ ।

भित्र कोठामा पस्नासाथ त्यो स्वास्नीमान्छे गुनासो उठाउन थाल्छे छोराको बर्तमन्न गर्नुपर्यो भनेर । उसको आयु अब लामो छैन रे । यही महिनाभित्र बर्तमन्नको साइत छ, बर्तमन्न नगरी भएन रे !

म घोरिइरहन्छु पुर्पुरोमा हात राखेर । उफ् ! त्यो छायाको प्रभाव मेरी स्वास्नीमाथि कति चर्को किसिमले परेको छ । ऊ त्यो छायाको भोजपत्रे हरफलाई आफ्नो हरफमा टिप्न झैँ थाल्छे— “बुझनुभयो ! छोराको बर्तमन्न भएन भने मेरो क्रिया–कर्म कसले गर्छ ?”

मलाई झोक्किन मन लाग्छ यो बर्तमन्न सर्तमन्न भन्ने कुरो केही होइन भनेर । तर म भन्न सक्तिनँ । उसको दयनीय स्वर आफ्नै लयमा बडबडाउन थाल्छ— “मलाई तपाईं किन नर्क पार्न चाहनुहुन्छ ?”

म दह्रो हुने कोशिश गर्छु । “स्वर्ग, नर्क, पूर्वज भन्ने कुरा सब कोरा कल्पना हुन् । आजसम्म कसले देख्या’छ त्यो काल्पनिक नर्क र स्वर्गलाई !” आदिआदि म फलाक्छु पनि ।

तर मेरो तर्कले त उसलाई झन् साह्रो रुन्चे रोग लगाइदिन्छ । उफ् ! त्यो छायाको प्रभाव कति चर्को छ उसमा !

०००

एउटा आत्मघाती दृश्य बरफको चक्कूझैँ आँखामा धसिन थाल्छ । निश्चय नै म जात्रा होइन । न त त्यो स्वास्नीमान्छेका छोराछोरी नै जात्रा हुन् । फेरि पनि म घेरिएको छु, छोरीहरू घेरिएका छन्, किसिम–किसिमका अनुहार र आँखाले अझ त्यो छाया त टसदेखि मस हुन्न ।

ढुङ्गो धसिन्छ । तर अहिले पनि म उसको अस्तित्वको बोधले थिचिने पक्षमा छैन । त्यो स्वास्नीमान्छेलाई माध्यम तुल्याएर उसले मलाई निहुराउने कुरामा जे पनि गर्न सक्छ ।

तर त्यो स्वास्नीमान्छे भने अब स्वास्नीमान्छे होइन लाश भइसकेकी छे । स्वास्नीपनको गन्ध अब विरक्तिको गन्ध भइसकेको छ । लोग्नेछोराको मनलाई हिप्नोटाइज गरेर भेडो तुल्याउन सक्ने अनुहारलाई अब लाली–फा होइन खरानी चाहिएको छ ।

तन्नेरी छातीलाई उत्तेजित तुल्याउने उसको ज्यानलाई लुगाफाटो र गहना–गुरिया होइन कात्रो चाहिएको छ । अब उसलाई सुत्ने बिछ्यौना होइन चिता चाहिएको छ । सत्ते भए नहोला अब त उसको नाटकको पर्दा खसिसकेको छ ।

आश्चर्य ! उसको लाशलाई पनि पैसा चाहिने रे ! उसको निम्ति बनाउनुपर्ने अर्थीलाई पनि पैसा चाहिने, उसको शरीर छोप्नुपर्ने कात्रोलाई पनि पैसा नै चाहिने अनि चिता रच्नुपर्दा हाल्नुपर्ने दाउरालाई पनि पैसा नै चाहिने ।

हिजोआज जीवनको हरेक तार हरे ! कसरी पैसासँग जोडिएको छ । पैसाको अभावले हरे ! वरिपरिका सम्भावनाहरूलाई कसरी काटिदिएको छ ! सम्भवतः छोरो पैसाको अभावलाई बुझिरहेको छ क्यारे ! त्यसैले ऊ हराए–हराएझैँ छ !

तर छोरी भने त्यसै त्यसै रोइरहेकी छे । हुन सक्छ आमाचाहिँसँग बिछोड हुनुपरेको पीडाले ऊ रोइरहेकी होस् । हुन सक्छ मृत्युको सन्त्रासले रोइरहेकी होस् । हुन सक्छ त्यो लाशलाई सेलाउन लैजालान् भन्ने डरले रोइरहेकी होस् ।

त्यो स्वास्नीमान्छेको सारा सौन्दर्यलाई खरानी तुल्याइसकेपछि पनि त्यो छाया फर्किएको छैन । उसको चोलाले पुरेत्याइँको गन्ध उडाइरहेझैँ म अनुभव गर्न थाल्छु ।

तर म बुझिरहेको छु, राम्रोसँग बुझिरहेको छु । के त्यो स्वास्नीमान्छेको मृत्युप्रति यो छुसी उत्तरदायी छैन र ? उसले बिहेको विडम्बनालाई नबिम्झाइदिएको भए के मेरो भूमि घट्ने थियो ?

लौ बिहेको विडम्बनाले दुई बिघा त घट्यो–घट्यो रे, त्यसले त्यतिसाह्रो केही बिग्रेको थिएन । न्वारान, पास्नी, बर्तमन्न आदिको विडम्बनाको छनकमा त स्वाहा नै भएँ ।

उसलाई राम्रै थाहा हुनुपर्छ अब मसँग केही छैन । मेरो टाट पल्टिसकेको छ । फेरि पनि त्यो छाया कसरी त्यतिबिघ्न निर्लज्ज हुन सकेको होला !
म त्यो छायातिर घृणा उडाइदिन्छु आँखा र अनुहारहरूलाई छलेर । तर त्यो निर्लज्ज फेरि पनि थोते मुस्कान उडाइदिन्छ पहिले–पहिले जस्तै मलाई ताकेर । कस्तो जुकाजस्तो टाँसिन सकेको होला ऊ ।

उसको अस्तित्वलाई छिनालिदिनेबारेमा चिन्तित हुन्छु म । तर उसको भोजपत्रे भाषा फेरि रुमलिन थाल्छ मलाई छोएर । क्रियापुत्रीले गर्नुपर्ने कामकुराका बारेमा प्रकाश पार्दापार्दै राम्रा–राम्रा सामग्री राखेर शय्यादान गर्नुपर्ने कुरामा जोड दिन्छ ।

तर म उसलाई सुन्ने पक्षमा छैन । उसलाई छिनाल्ने नै पक्षमा झन् चर्को हुन्छु । तर ऊ पनि कम छैन । भन्छ— “सके दिनदिनै शय्यादान गर्नुपर्छ ।”

तर म उसलाई सुन्न चाहन्नँ बरु झुक्याउने सुर कस्छु । तर उसलाई झुक्क्याउनुभन्दा पहिले आफ्नोवरिपरिका आँखा र अनुहारलाई हेर्नुपर्छ मैले । हरेक आँखामा उसैको छाप, हरेक अनुहारमा उसैको छाप ।

म दिक्क हुन्छु । ऊ भन्दै जान्छ— “एकसरो भाँडाकुँडा नभइ त हुँदैन, बरबिछ्यौना, गहना, लुगाफाटा, झूल–पलङ, छाताजुत्ता दान गर्न कदापि बिर्सनु हुँदैन ।”

म फेरि वरिपरिका अनुहार र आँखातिर हेर्छु । तर तिनमा धूलो उडाउने, ढुङ्गो हान्ने चाहना बिम्झिरहेझैँ अनुभव गर्न थाल्छु म । उफ् ! कस्तो नबुझेका होलान् आफूले आफैँलाई चपाउनुपर्ने स्थितिलाई ।

चकमन्न हुन्छु म । त्यो छाया त्यो स्वास्नीमान्छेको प्रेतछायाको तस्वीरझैँ खिच्न थाल्छ । म दौडेर उसको मुख बन्द गर्दिने बारेमा विचार गर्न थाल्छु । तर छोरी भने उसको शब्दमा उसकी आमाजस्तै हिप्नोटाइज हुँदै जान्छे…. हुँदै जान्छे ।

मेरो र मेरो वरिपरिका बीचमा एउटा पर्खाल उभिँदै गएझैँ अनुभव हुँदै जान्छ । लाग्न थाल्छ साँच्चोलाई साँच्चो किसिमले ग्रहण गर्न दिने पक्षमा छैन ऊ । उसको त्यस किसिमको अस्तित्व हरेक क्षणले उचालिरहन्छ क्यारे ।

सम्भवतः त्यसबाट मुक्त हुन सकिँदैन । त्यसबाट मुक्तिका लागि असाधारण शक्तिको माग नगरी सुख छैन ।

जति–जति म उसको घृणित मुस्कानको बारेमा घृणा उडाउने चेष्टा गर्छु झन् उति–उति पो उसका नाटकका पर्दा उचालिँदै जान्छन् । तर म भने चिसिन्छु र चिसिँदै जान्छु ।

सत्ते ! सत्ते ! अब बाँकी भएको कुरो बेचें भने म जिउँदै लाश हुन्छ ।

हो, जिउँदो लाश दिनदिनैको आत्महत्या, तर त्यो छाया !

(अभिव्यक्ति, वर्ष ९, अंक १, २०३५)
(आख्यानकार विष्टको ‘आँसु त्यसै त्यसै छचल्किन्छ’ कथाकृतिबाट ।)